भूपिन ब्याकुल – एउटा प्रतिक्षाको विपक्षमा
बरु मलाई
एक लर्कन गलत बाटो हिँडीराख
र पर्खिराख त्यो पुरानो चौतारीमा भन
बरु मलाई
यात्रामा चाहिने जुत्ता सिलाइराख भन
अनुहारमा सौन्दर्यहरु मुजा परेको कविताहरु लेखिराख भन
तर बिन्ती तिम्रो प्रतिक्षामा
बुलेट ट्रेनझैं समय उडिरहेको हेर्दै
प्लेटफर्मको भीडमा हराइरहेको कुनै समयझैं
चुपचाप प्रतिक्षामा बस नभन
चिसोले काँपिरहेको फिरन्ता पृथ्वीले
टक्क अडिएर
कहाँ गर्छ र प्रतीक्षा घामको ?
बगिरहने नदीले रोकिएर कहीँ
कहाँ गर्छ र प्रतीक्षा छालहरुको ?
हिँड्दाहिँड्दै थाकेर जून निदाउँछ
र उज्यालो ब्युँझिएर आकाशको दैलो लिप्छ
हिँड्दाहिँड्दै बाटोले बटुवाका पाइलाहरि भेट्छ
चराहरु उड्दाउड्दै प्रेमका गीतहरु बन्छन्
मलाई पनि जीवनका सीमानाहरुभित्र
उउडिरहनु छ / हिँडिरहनु छ / बगिरहनु छ
र तिम्रो प्रतीक्षा गरिरहनु छ
चुपचाप प्रतीक्षामा बस नभन
समयलाइ रङ बनाएर
मनका भित्ताहरु पोत्न बाँकी नै छ
मान्छेका सामर्थ्यसँग पराजित भगवान्लाई
मन्दिरमा गएर
शोकगीतहरु सुनाउन बाँकी नै छ
तिम्रो प्रतीक्षामा जीवनभरी भोगेका
भीषण यातनाहरुलाई
सबैभन्दा मनपर्ने गीत बनाउन बाँकी नै छ
र सबैभन्दा ठुलो कुरा
गल्तीहरु सच्याउनको लागिमात्र भए पनि
बाँच्नु अनिवार्य हुँदोरहेछ
यो अनुभूति आफन्तहरुलाई सुनाउन बाँकी नै छ
यति धेरै कुराहरु बाँकी छाडेर
तिमी नै भन
मा कसरी चुपचाप=चुपचाप बसिरहन सक्छु
सपनाको बीउलाई ढुंगामा छरेर
गरेँ, अझसम्म तिम्रो दिव्य-प्रतीक्षा गरेँ
जीवनका सबै-सबै प्राथमिकताहरु बिर्सिएर
र आज लाग्दै छ
चुपचाप प्रतीक्षा गरिरहनु
आत्महत्याजस्तै अप्रिय हुँदो रहेछ !