Shreeshisha Rai – Andhyaro Ma Mero Akriti

तिम्रो आँखाको ऐनामा
मेरो अनुहार हेर्नकै लागि
म तिमीतिर दौडिरहेको छु

तिम्रो आँखाको ऐनामा
मेरो अनुहार हेर्नकै लागि
म दौडिरहेको त छु तर
सरासर तिमीसम्म आएर
सामुन्ने उभिएर म
तिम्रो आँखामा हेर्न सक्दिन
किनभने बर्तमान अँध्यारो छ
यहाँ हेर्नलाई
आँखाहरु नै देखिंदैनन्

अब मैले आफ्नो अनुहार हेर्न
तिम्रो आँखाभित्रै घुस्ने अठोट गरेको छु
यसका लागि म
तिम्रो मलद्धारवाट छिरेर
शरिरका आन्तरिक अवयवहरु हुंदै
तिम्रो आँखासम्म पुग्ने कोशिस गरिरहेछु

तिम्रो शरिर भित्र
झन् अन्धकार छ
तिमीभित्रको हिंड्ने वाटो
जवरजस्त दुर्गम छ
म तिम्रो रगत र पिसावमा
लतपतिंदै घस्रिरहेछु
तिमीभित्र खर्लप्पै कोशी बगेपछि
म विस्थापित भएको छु
दनदनी बलिरहेका चिमहरु
अब स्वीच अन गर्दासमेत बल्न छाडेका छन्
र आत्महत्या गरेको जिन्दगी झैं झुण्डिएका छन्
तिमीभित्रको कुनै परिवेश पनि
संघर्षले खालि छैन
तिम्रो पेटभित्र आफ्नो आयतन खोज्नेहरुले
यात्रामा चक्काजाम गरेपछि
म तिम्रो कलेजोनेर रोकिएको छु
तैपनि मैले सपाट आकृतिकै लागि
हिंड्नुको जोखिम उठाएको छु

बल्ल बल्ल छिचोलेर चक्काजामहरुलाई
म तिम्रो घाँटी हुंदै संघीयताको उकालो चढ्दैछु
घाँटीको सांगुरो भूगोल, तिम्रो आफ्नै आवाज
र मेरो शरिरको अस्पष्ट आकार
यो भीडमा म अल्मलिएको छु
निस्सासिएको छु
यो साहै नै प्रिय जटिलता हो
यसपछि जब म
तिम्रो आंखातर्फ लम्कनेछु
त्यतैतिर मेरो देश र आकृति
नयाँ हुनेछ

तिम्रो आँखाको ऐनामा
आफ्नो अनुहार हेर्नकै लागि
म तिमीतिर दौडिरहेको हुं

२०६६ बैशाख ११, तरहरा