Saroj Dhital – Manchhe Ko Chhori

सरोज धिताल – मान्छेको छोरी

वर्ष दिनकी मान्छेको छोरी
फर्केर हाँस्दै मतिर हेरी
छक्क परी सोध्यो यो मनले
यो फुच्चीले लौ न के गरी !

पढिछ कि कुन्नि उसले मेरो मन
सिँगाने अनुहारबाट मेरो हाँसोलाई
थन्क्याएर एक छिन्
मेरो आँखामा खोतले झैँ हेरी
ऊभन्दा अघि बोल्न थालेका
निर्मल आँखाहरूले
ठाडै सोधे मलाई—“साइनो पो खोज्दै छौ मसँग फेरि ?”

अल्मलिएको मलाई देखेर होला
फेरि हाँसी ऊ जोडसित

कलिला डोला हातहरूले टेबुल ठटाउँदै
स—सानो एउटा भाषणै गरी
“साइनो त
मान्छेको सिङ्गोपनको टुक्रा हो सानो
म टुक्रिनै नचाहने मान्छेकी छोरी ”

—हिउँद, २०६०