Saroj Dhital – Timilaai Chindaa

सरोज धिताल – तिमीलाई चिन्दा

तिमीलाई चिन्दा
के तिम्रा आखाले खोलेथे ढोका
र प्रवेश गरेथे तिम्रो सानो संसारमा ?
तिमीलाई चिन्दा
के तिम्रा स्वरहरूले खोलेथे ढोका
र प्रवेश गरेथे तिम्रो मनको विहारमा ?
तिमीलाई चिन्दा
तिम्रो ओठमा लिपेको मुस्कान
वा तिम्रो परेलीमा झुन्डिएको थकान
तिम्रो ठाडो शिरमा देखिने आत्मसम्मान
वा तिम्रो सुकोमल अनुहारमा लुकेको स्वाभिमान
केले खोलेथ्यो द्वार
प्रिये †
र मैले पाएथे तिम्रो संसार ?
आज
जब
हाम्रा स–साना संसारहरूबीच
कुनै सीमा रहेन
एकाकार भैसकेका छन् ती
अब त्यो
तिम्रो रहेन, मेरो रहेन
अझै पनि चञ्चल मन
उत्सुक छ जान्न
भन न प्रिये,
कसले खोलेथ्यो त्यो द्वार
र मैले पाएथे तिम्रो सानो संसार ?