Acharya Prabha – Banda Baakas

आचार्य प्रभा – बन्द बाकस

सधैं बिरक्तिमा सुस्ताएर
मनलाई निचोर्दै
हाँस्न बाध्य अधरहरु
कलेटीको पाप्रासँगै
सम्झौतारुपी थुकहरु
निल्न वाध्य छन् ।
सास्तीहरुको पाहुपासभित्र
आफूलाई चाबी लगाएर
स्वतन्त्रता र शान्तिको
चाबीले खोल्न ब्याकुल
ती मनहरु,
तालाका प्वालहरुमा चाबी
हुल्न नै डराइरहेछन्
किन कि चाबी खोल्ने हातहरु
काँपी रहेछन
गोली बारुदको आट्टहासरुपी
आवाजको त्रासमा ।
सचेत मन त छ
तर छैन सचेतता कसैमा
कोमल भाव त छ
तर कोमलता छैन कसैमा
त्यसैले कस्को साहस?
स्वतन्त्रा र शान्तिको ताला खोल्ने ।
साँचो बोल्न पनि
बोली तौलिनु पर्छ
सत्य अपनाउन पनि
असत्यलाई अंगाल्नु पर्छ
त्यसैले त हरेक मन
पक्षघातको शिकार बनिरहेछ
हर पौरखी र बलिया पाखुराहरु पनि
सुस्तताको डोरीले बाँधिएको छ ।
हो त्यसैले ती हातहरु
लग्लग काँपी रहेछन्
अनि,
शान्ति र सभ्यताको
शब्द ओकल्ने अधरहरु
थर्थराइ रहेछन ,
विवशताको कठ्घरामा
थुनिएर ।
त्यसैले बन्द छ त्यो बाकस
अशान्ति र अन्यायको
तालामा जकडिएर ।
सारा हातहरु लालायित छन्
त्यो अर्घेलो तालाको
बन्धन तोड्न ,
हेरौँ अब कहिले जुर्ने हो?
त्यो सुनौलो अवसर
त्यो क्रुर तालाको
पलायनताको समय ।