Bimal Nibha – Ghadi

हत्याराले धेरै चीजबीजहरु
छाडेर गएको थियो
केही महत्वपूर्ण थिए
जस्तो कि छुरा, आतंक र
एउटा घडी
छुरा रगतमा लतपतिएको थियो
र आतङ्क गहिरो
घडीमा कुन्नि कति बजेको थियो
हुल निकै थियो
मानिसहरु भयभीत
र लास त्यहीं राखिएको थियो
वातावरणमा सबभन्दा
स्मरणीय थियो
त्यो घडी
जहाँ समय कैद थियो
(२०४२)