Rishi Ram Neupane – Hoste Timile Gare

ऋषिराम न्यौपाने -होस्टे तिमीले गरे

खोली लोचन शीघ्र हेर अगुवा बालेर बत्ती तिमी
जुट्ने उच्च विचारमा छ गहिरो धाँजा परेको जिमी
शंका, त्रास र आशमा रुमलिंदा छाँया अँध्यारा परे
हैंसे गर्न तयार छन् छल बिना होस्टे तिमीले गरे

छाँया स्वार्थ र लोभका, कलहका फालौँ न हामी मिली
छन् झिल्काहरु भित्रका अनलमा गर्दै अझै पिल्पिली
मौकामा नफुके जुटेर अहिले बल्दैन आगो भरे
हैसे गर्न तयार छन् छल बिना होस्टे तिमीले गरे

पञ्जा थुत्न खुरुक्क बाघहरुका आऊ कसी कम्मर
चर्की वाद विवादमा अररिंदा ढल्छन् पला सुन्दर
बेलामा नबुझे विचार युगको रोपिन्छ काँढा भरे
हैंसे गर्न तयार छन् छल बिना होस्टे तिमीले गरे

आ–आफ्ना हठमा अडी, अडिरहे हुन्छौँ सबै निर्बल
बत्ती पौरखका र आत्मबलका बालौँ मिली झल्मल
बङ्गरा नथुते भुजङ्गहरुले चुस्छन् अरु झन् भरे
हैंसे गर्न तयार छन् छल बिना होस्टे तिमीले गरे।