Bimal Nibha – Mero Sansad Mitra

मेरो सांसद मित्रलाई
अचेल के भयो ?
ऊ दुवै आँखा चिम्लेर मुस्कुरायो
अहिले पनि यो देशमा केही हुनसक्छ
ताराहरु झरेर आकाश रिक्त भयो
उज्यालो हरायो
कम्युनिष्ट पार्टीहरुलाई
यसको कुनै खबर छैन
सबै महत्वपूर्ण मिटिङमा व्यस्त
हतार–हतार लम्किरहेको
उसलाई रोकेर सोधें
के छ माननीयज्यू ?
आज सदनमा येल्तसिनको भाषण छ
उसले रहस्यमय स्वरमा भन्यो
हाँगाबाट चराहरु उडेर गए
पार्टी हेडक्वार्टरमा
केही चमत्कारिक कमरेडहरुबीच
एकता भयो
धेरैको मेम्बरसिप खोसियो
एकदिन झोछेँको भट्टीबाट निस्केर
ऊ कराउन थाल्यो
राष्ट्र मुक्ति चाहन्छ
क्रान्तिको सम्भावना छ
तर जुलुसमा जान हामीसँग खुट्टा खोइ ?
उसको खुट्टा कामिरहेको थियो
पहाडको मेरुदण्ड भाँचियो
बादलहरु पराइ भए
लाहुर गएको महाकाली फर्केर आएन
यस्तोमा पोलिट्ब्यूरोका सदस्यहरु
अमेरिकातिर उडे
खसीको बडेमानको टाउको झुन्ड्याएर
कुकुरको मासु होइन
हामीहरु मान्छेको मासु बेच्छौं
ऊ सिंहदरबारअघिको सडकमा उभिएर
बेस्सरी हाँस्न थाल्यो
नयाँ पातहरु झरे
राता रंगहरु हावामा विलीन भए
जिल्ला–जिल्लाबाट
राम्रो मौसमको फ्याक्स आयो
महासचिव प्रफुल्ल
हिउँदे अधिवेशनको
अन्तिम बैठकबाट फर्केर
मेरो सांसद मित्रले
अकस्मात् घोषणा ग¥यो
मेरा मित्रहरु हो !
तिमीहरु विश्वास गर अथवा नगर
आउँदो चुनावमा म
स्वयम्लाई पनि भोट दिने छैनँ
(२०५५)