Lakshmi Mali – Bansghaari

अलिकति हावा लाग्नु हुँदैन
धेरै हल्ला गर्न थाल्छ
आफ्ना वृद्ध पातहरु झारेर
वरपरको भूमि कब्जा गर्न थाल्छ
पातहरु छरेर विस्तारै विस्तारै
आफ्नो भूमि बढाउँदै लान्छ
कुनै मुआब्जाविना
यसरी समयसँगसँगै
उसको क्षेत्र फैलिरहेछ
झ्याङ्गिरहेछ
प्रत्येक साँझ ऊ
सारुङ्गहरुलाई स्वागत गर्दछ

बास दिन्छ
तिनै सारुङ्गमार्फत्
हल्ला फैलाउन सफल हुन्छ
त्यही हल्लाले
वरपरका बकैना, आरु र कल्कीका स्वरहरु
दबाउन सफल भइरहेछ
अन्धकार र दुर्गन्धलाई
सहस्र स्वागत गर्छ
त्यसैमा हुर्किन्छ, बढ्छ र झयाङ्गिन्छ
फेरि थप्छ, अन्धकार र दुर्गन्ध
फेरि अलिकति बतास चल्छ
फेरि बेस्सरी हल्ला गर्छ
आफ्नो प्रभुत्व जमाउँछ

आफ्ना वृद्ध पातहरु झार्दै
आफ्नो क्षेत्र फैलाउँछ
यो बाँसघारी ।