Sarubhakta – Darun Nadi Ra Himal

साइवरपीडाः तारकयुद्ध सञ्जालहरु
जिन्दगीका मिथकयात्राभरि छन्
खोई कहाँ हराए हाम्रा स्वनामधन्य ख्रिचुङ
र आनिकहरु ?
अफिमखेतीः च्वेस्याङ र फाहियानहरु
श्रापित विरुपाक्ष भूमितिर
आजभोलि वाढीग्रस्त छन्
मितेरी साँधुहरु
ए ! के भईरहेछ प्लाजा डि टोरोसतिर ?
आजभोलि हामी हिँसाहरुको उपासनामा व्यस्त छौं
फरार मानवता – पतझडका वैसहरु बोकेर
वख्तरवन्द प्रजातिः खिया लागेका न्यूरोनहरु संरचना गर्छन्
मानव वंशवृक्षमा अद्यावधि जीवित छन्
महान कपिश्वरहरु
नेपोला निपार निपर नेपाल
भूपरिवेष्टित आँसुका सरोवरहरु
जहाँवाट बग्छन् दारुण नदीका
महापीडाहरु
साँग्रिला सम्वोधिः फालाफाल रुप्सेहरु
खोई कहाँ छन् साँढेम्यागुताका
आतङ्कहरु ?
शङ्कास्पद नेपालीहरु शङ्कास्पद नेपालीहरुको खोजीमा छन् …
कस्ले बुझ्नसक्छ, संसारको सवैभन्दा शक्तिशाली भूँडीवम
यहाँ उहिल्यैदेखि विस्फोटित छ !
उः ! हाम्रा हिमालहरु कति आग्ला छन्
हामी किन यति होंचा छौं !