Sarubhakta – Asthi Pahad Ra Gilo Brihaspati

गुर्खा न्यूरोनः साइवर स्वस्थानी जात्राहरु
पञ्चवलिका वाजाहरु बजेका छन्
रिकुटेजात्रा – खोइ कहाँ हराए खलङ्गाका
श्वाभिमानहरु ?
मुखुण्डोहरुको जुलुस
अस्थि–पहाडमाथि उभिएर
चेसवोर्डका गोटीहरु चलेका छन्
ए, के भयो त्रिभुवन सदनमा ?
मधौरु एकलव्यहरु
ढीलोमृत्यु प्रतीक्षामा छन्
टुँडालका घण्टहरु
सावधान, कोतपर्व सकिएको छैन
हामी जीउ ठूला टाउको साना
सुर्तुरमुर्ग प्रजातिहरु – कथित कुमारी
हिमालहरु चढ्दैछौ
गिलो वृहस्पतिः खोई यास्नागोराका
काला मेडोनाहरु ?
आजभोलि सटायरिकनका ट्रिमाल्चिओहरु
लेदो भरिएका थिङ्क टयाङ्कहरु भर्दैछन्
जाऔं वलभद्रहरु रणजीतसिंहको फौजमा भर्ती हुन
हेर, निष्फल गौडाकुराइका तामझामहरु
ताङ वृत्तान्तमा वर्णित छन्
उः ! क्लौडियसका राज्यमा जन्मने भ्यालेन्टाइनहरु
अश्लील पहाड चढ्दैछन्
हत्या, हिंसा, आतङ्क … सवै दैवी
सिने छायाङ्कणका प्रकृयाहरु
हामी शाश्वत हिप्पीयुगीन झोंसेतिर
भाङ र घोट्टाले लठ्ठ छौं
‘हाई माइकेल ! तपाईहरुको संविधान कस्तो छ ?’
हामीसित त जता तन्कायो तन्कने
ग्याँटिसवाला सम्विधान छ
उनीहरु देशका लागि धेरैपल्ट जेल गए
आजभोलि विदेशका लागि सेल खान्छन्
खोई कहाँ हराए ज्योतिलिङ्कका ज्योतिहरु ?
आउ, देश भाडौं अनि विश्वको लागि
एक उदाहरण वनौं – ‘सवै नेपाली
भडुँवा हुन्, सवै भँडुवा नेपाली हुन् !’