Baldev Bhatta – Dhrubiya Bipatti Haru

बलदेव भट्ट – ध्रुबिय बिपत्तिहरु

सङ्कटकालिन भूगोलको जीवन-चक्र
धरापमा अभिसापहरु लुकाएर
चियाउँदै छन सुपरब्वाइजका भबिष्यहरु
डढाएर पैरवी आँखाहरुमा ।

रडारको आँकलनमा हिडेका
सर्बनाशी टाइटानिक यात्रीहरु
आफ्नै छातीमा घोपी रहेछन
बिनाशका जहरिला संगिनहरु ।

निलो समुद्र निला सपनाहरुसँग
रगतमा साट्दैछ आफ्नो वासस्थान,
सुनाखरी फुलाएर छातीमा मान्छेहरु
हेर्दैछन चराचरहरुको दाहसंस्कार ।

मैदानको अनुहार फुस्रीदै
जुत्ताहरुको भारी बोकेर,
मृत गोडाहरुलाई
सिकाउँदै छ जीवनको पाठ ।

आफ्ना गरिब सन्ततिहरुको निम्ति
ध्रुबिय बिपत्तिहरु जम्मा गर्दै
आजको रातो शिकारमा
क्रुर नियति पस्किइ रहेछन अभियन्ताहरु ।