Sarubhakta – Akhet Parba

सर्पदंशित समय
मृत्युको जन्मदिन मनाउँदै छ
कफ्र्यू लागेका मनहरु
हत्याका कन्सर्टहरु सुन्दैछन्
सांग्रिलाभरि
राष्ट्रिय डाँकाहरु
मान्छेका विस्कुनहरु सुकाएर
वैकल्पिक देश खोज्दैछन्
ग्रहण लागेको वेला
प्रायश्चितमा नोबेलका डाइनामाइटहरु रुन्छन्
टाटपल्टेका राष्ट्रियताहरु
वाणासुरका हातहरुमा पर्छन्
ए के भयो यो देशलाई ?
कतै म्यागलुङ जलेको छ कतै जुम्ला ध्वस्त छ …
भूपरिवेस्टित देश
हामी आँसुका समुद्र खन्दैछौं
हाइड्रोसिफालस ः प्रतिगमनका हाउगुजीहरु
के हामी पराभूतपुस्ताका बहादुरीले
क्षेप्यास्त्रका शान्ति खोज्दैछौ ?
हेर ! हेर !
बाघहरुको देशमा स्यालहरुको आतङ्क छ
यसर्थ एकथरी भद्रभलादमीहरु
भ्यालेन्टाइन दिवसका मुखुण्डालाएर
विश्वपरिभ्रमणमा निस्किसके
कुन गान्धारीको सरापले सर्वसंहारयुद्ध व्यस्त छन्
नेपाली यदुवंशीहरु ?
आजभोलि श्रीकृष्णजीहरु छद्मभेषमा
रत्यौली पो खेल्दैछन्
ए, जगेडा नेपालीहरु कहाँ छन् ?
आउ, सतीको सरापलाई रक्षा गरौं
अनि सधैं देशको कुभलो चिताऔं
आखेटपर्वीय होम
स्वाहा ! स्वाहा ! वीरताका इतिहासहरु
हिजो गोर्खालीहरुदेखि वैरीहरु डराउँथे
आज नेपालीहरु देखि नेपालीहरु डराउँछन्