Sarubhakta – Trasadi Gatha

चिसो मरुभूमिमा
ध्वजावाहक काला जादुगरहरु
इन्क्युवेटरमा वालुवाका सपनाहरु
कोरल्दैछन्
अपधर्मका पैगम्वरहरु
कुहिरोको सुरुङभित्र पसेर
मरुद्यान – ओयसिस तृष्णाका पूmलहरु
फुलाउँदैछन्
ठिंगुराभित्र
वालुवाका मान्छेहरु
अल्झिरहेछन् जिन्दगीका प्रायोरीहरु
अकालमुखे बच्चाहरु
प्लाष्टिकका दूधेमुन्टा चुस्दैछन्
सोनीहरु कविता खोज्दै रारा पुगे
अनि उतै हराए
एम्वुलेन्सको अभावमा सुत्केरीव्यथा
बल्झेको छ
के गर्भको शिशुलाई थाहा छैन
आज नेपाल बन्द छ ?
भूपरिवेष्ठित देश
कहाँबाट आउँछन् समुद्री आँधीहरु
लाक्पादोर्जे हिमालहरुमा ?
ए ! म गडुवाहरुको वस्तीमा आईपुगें
यहाँ सबै आश्चर्यचकित छन्
किन मेरो घाँटीमा गाँड झुण्डिएको छैन ?
बर्लिन पर्खाल भत्केपछि
हामी काँडेतारका पर्खाल लाइरहेछौं
नपत्याए हेर, पिकेट पोष्टमा मुसाहरु
कति अलर्ट छन्
हिट एण्ड रन
हिट एण्ड रन्
हामी एउटा जीवनशैलीको अभ्यास गर्दैछौं
निर्णायक मुठभेड कहिले हुन्छ ?
आह ! देशको त्रासदीगाथामा
म व्यास बन्न अनिच्छुक छु !