Rajan Mukarung – Shunya Awataran

राजन मुकारुङ – शुन्य अवतरण

रात र दिन
या अँध्यारो र उज्यालो
जोसँग रुने र हाँस्ने हविगत सकिएको छ ।

ट्वाल्ट्वाल्ति पर–परसम्म
बजारमा
सुदूर भविष्यहरु पनि बेचिन्छन्
अस्वस्थ भाग्यका अगेनाहरु भुर्भुराउँछन्
जसमाथि–
र तिमी हुनुको दूरी काटिन्छ ।
हजामघरमा हामी केशहरु उखेल्छौँ
र मदमत्त या टिल्ल आँखाहरु बाल्छौं
क्षत–विक्षत !
अगेनाकै डीलबाट जुलुसको शुरुवात हुन्छ
जसको आकारलाई–
हामी फाल्नेहरुले नै छाप्न सक्तैनौं ।

कुनैपनि बेला आस्थाका पर्खालहरु भत्कन सक्छन्
र कमजोर काँचमा कठोर चट्टान हानिएर
हाम्रा विश्वासहरु फुट् न सक्छन्
हामी राग,द्वेष र क्लान्तताले चूर चूर हुन्छौँ
जसको अस्तित्वमाथि–
न प्रेमको अर्थ हुन्छ
न त मयाँकै मन हुन्छ ।

आखिर के गुमाएनौं हामीले ?
सबका सब–
जिन्दगी बाँचेका जसहरु गुमायौं
फगत अब–
तीतो भोग्नु छ हामीले