Chanki Shrestha – Hawa Ko Saundarya

जोड जोडले
विचरण गर्दै वायुमण्डलमा
सुसाउँदै सल्ला र बाँसका पातहरूमा
पन्छाउँदै धुलो, कसिंगरलाई
जब जब बहन थाल्छ हावा
जिन्दगीको कर्फ्युविरूद्ध एउटा अदम्य स्फूर्ती सञ्चार हुन्छ मभित्र ।

भोरको मन्द मन्द हावा होस्
वा मध्याह्नमा जोड जोडले चल्ने बतास होस्
अथवा साँझको शीतल-शीतल समीर
झुण्डका झुण्ड मलेवाहरू

झुण्डका झुण्ड चराहरू
हावामा विचरण गर्न पाउँदा
खुशीले जोड जोडले पखेटा फड्फडाउँदै
बासन्ती गीत गाउँछन्/उन्मुक्तिको गीत गुन्गुनाउँछन् ।

जुगदेखि नै एउटा शाश्वत सत्य बोकेर
उडिरहेछन् चराहरू मुक्त आकाशमा
हावाको शीतल प्रवाहमा खेल्दै, रमाउँदै
तर, जुगदेखि नै केही मान्छेहरू
तिनका प्वाँखहरू लुछ्न
काटेर पखेटा तिनको बगरमा फड्फडाएको हेर्न लालायित छन्
र, छन् लालायित हावाका विरूद्ध कर्फ्यु लगाउन ।

एकलास चौतारीको पिपलजस्तै
स्वतन्त्र भूमिमै बन्दी छौँ हामीहरू
स्वतन्त्रताभित्रै बन्दी छ खण्ड-खण्ड यो धरती
यद्यपि एक जुगदेखि नै
स्वतन्त्रताको गीत गाइरहेछौँ हामीहरू ।

उन्मुक्तिको संगीत सुुसेल्दै
जब जब बहन थाल्छ हावा
एकाएक स्फुर्त हुन्छ यो निस्तब्ध भूमि
साँच्चै स्फर्त हुन्छ ।