Shrawan Mukarung – Coffee Shop Ma

हिउँदको चिसो
या यस्तै केही…
छल्नु छ

धिरज राई, नवीन भट्टराई, विधान श्रेष्ठ
या बबीन प्रधानका थोत्रिँदै गएका
पपगीतहरूका कुरा

कृष्णभूषण बल, शैलेन्द्र साकार, विष्णुविभु
या विमल निभाका फाट्टफुट्ट आउने
टुक्राटाक्री कविताहरूका कुरा

सौरभ, नवीन सुब्बा, प्रकाश सायमी
या नारायण वाग्लेका आक्कलझुक्कल देखिने
देखिने लघु लेखहरूका कुरा

यस्तै केही…
अल्छीलाग्दो घाम
थानकोटवरपरका घुर्मैला पहाडहरू भएर नझरुन्जेल
या सल्किरहेको चुरोट आफैँ एस्ट्रेछेउछाउ कतै नखसुन्जेल
छेवैका गमलाका नाङ्गा फूलहरूमा
एक सौ बीस वाटका बिजुलीका तीखा र कामुक प्रकाशपुञ्जहरू
नपरुन्जेल
त्यत्तिकै…
अलमिलनु छ/गुथ्मुथिनु छ/धुम्धुमिनु छ

आजका अखबारहरूमा कुनै उत्तेजना छैन
बिल क्लिन्टनको मुख–मैथुन
वामदेव गौतमको सरकार छोड्ने
बाबुराम भट्टराईको सङ्घर्षको अर्को चरण
सब, सामान्य कुरा

नजिकैको शमीको रुखमा
एक बथान कागहरूबीच
भरे बासका लागि झगडा भइरहेको छ
अफिस छुटेको समय
ट्रााफिक आफैँले ट्राफिक जाम गरिरहेको छ
सब, सामान्य कुरा

हिउँदको चिसो
या यस्तै केही…
छल्नु छ

यस्तै–यस्तै
केही छल्न
केही यथानामहरू छन् सहरमा–
देश/राजा/जनता/प्रजातन्त्र/गणतन्त्र
कला/साहित्य/संस्कृति/सगरमाथा
सब, सामान्य कुरा

बतास
हिजोको भन्दा निक्कै चल्ने छ
ज्याकेटको चेन माथिसम्मै तानौँ !
पहेँलो घाम छोप्न–
स्वयम्भूमाथि बादलका उही झुप्पाहरू भेलिँदै छन्
मौसम बदलिन्छ कि जस्तो छ
विप्लवजी ! पकेटको अवस्था कस्तो छ ?

हिउँदको चिसो
या यस्तै केही…
छल्नु छ ।