Laxmi Prasad Devkota – Shunya Ma Shunya Sari

संसार रुपी सुख स्वर्गभित्र,
रमें रमाएँ लिइ भित्र चित्र ।
सारा भयो त्यो मरुभूमि तुल्य,
रातै परेझैं अब बुझ्छु बल्ल ।
रहेछ संसार निशा समान,
आएन ज्यूँदै रहँदा नि ज्ञान ।
आखीर श्रीकृष्ण रहेछ एक,
न भक्ति भो, ज्ञान, नभो विवेक ।
महामरुमा कणझैं म तातो,
जलेर मर्दो बिनु आश लाटो ।
सुकी रहेको तरुझैं छु खाली,
चिताग्नि तापी जल डाल्न फाली ।
संस्कार आफ्नो सब नै गुमाएँ,
म शून्यमा शून्य सरी बिलाएँ ।
जन्मेँ म यो स्वर्गविषे पलाएँ,
आखीर भै खाक त्यसै बिलाएँ