Baidyanath Upadhyaya – Ma Waakarudhha Bhayeko Chhu

वैद्यनाथ उपाध्याय – म वाकरूद्ध भएको छु

मान्छे
भनिरहेछ एकथोक
गरिरहेछ अर्कैथोक
उ जे भनिरहेछ
त्यो अर्थ बुझाउन
आज शब्दहरू अक्षम छन।

उस्को भन्नुमा
गर्नुमा
र हाम्रो बुझ्नुमा
जुन फासला छ
अब त्यो पूरा गर्न
भाषा असफल भएको छ।

उ जे भनि रहेछ
सही अर्थमा
त्यो नै भनिरहेको छैन
त्यसमा धेरै किन्तु, परन्तु
इत्यादि मिसिएका छन।

समग्रमा
उसको भन्नु
उसको गर्नुको बीच
अँध्यारा पाटाहरू भरिएका छन
बाहिर आफुलाई
चम्काउने प्रयास गरिरहेछ
तर भित्रबाट सडेको
दूर्गन्ध फैलिरहेछ।

यो स्थितिलाई
म आज के अभिव्यक्ति दिऊँ
म अवाक् छु
मेरो वाकरूद्ध भएको छ।

उदालगुडी, असम।