Rajesh Natansh – Jeeawan Ka Goretoharu Rahechha

राजेश नतांश – जीवनका गोरेटोहरू रहेछ

साँच्चै जिन्दगीका हरेकपलहरू कष्टप्रद हुँदारहेछन् । जीवनपथका हरेक खुड्किलाहरू अप्ठ्यारा हुँदारहेछन् । हिँड्न नजान्दा लखराएर लडिदो रहेछ । लडेर के हुन्छ ? त्यो त परिस्थितिले नै बताउँदो रहेछ जीवनका मोडहरूमा ।त्यतिखेरका मेरा सुनौला दिनहरू निकै रोमाञ्चकारी भएर बित्ने गर्दथे । अथवा भनौं ती दिनहरू मेरो स्मृतिपटलमा अझैसम्म ताजै छन् । प्रवेशिका परीक्षामा पास भएकैले होला मनमा हर्षका रंगीन बुट्टाहरू पलाउँदै गरेका थिए । नयाँ जोश, जाँगर अनि हर्षा साथ क्याम्पस भर्ना भएको थिएँ । सानैदेखि मेरो धोको व्यवस्थापन विषय लिएर पढ्ने थियो र सोही अनुरूप अध्ययनमा तल्लीन भएँ । नौलो उमंग अनि हर्षहरू मनमा उम्रेका थिए । नयाँ-नयाँ साथीहरूसँग चिनजानले गर्दाका हरेकपलहरू अविस्मरणीय भएर बाँचेका थिए मेरा मनमा । ‘कृतिका’सँगको परिचयपश्चात त झन् यो संसार साँच्चै रौनकमय भएको थियो । यी बादलहरू अनि हावाका झोंकाहरू मेरो खुशीमा समाहित भएर रोमाञ्चित बनाएको भान हुन्थ्यो मलाई त्यतिखेर । यसलाई मैले जीवनको नौलो अनुभूतिको रूपमा ग्रहण गरेको थिएँ ।

साँच्चै कृतिका निकै लजालु तथा मिजासिली थिई अनि सहयोगी पनि । उनको सुन्दरताको वर्णन गर्नका लागि उपयुक्त शब्दावलीहरू भेट्न मुश्किल पर्दथ्यो मलाई । एक निमेषको हेराईले नै म लठ्ठ परेको थिएँ वा भनौं एकै नजरको त्यो हेराईले नै म आफैंमा हराउन पुगेको थिएँ । यसअघि मैले त्यस्तो अनुभुति कहिल्यै गरेको थिइनँ । उनीसँग कसरी परिचय गर्ने – मेरो लागि निकै ठूलो चुनौती थियो । आफ्नो कक्षा कहाँ छ ? भनेर अल्मलिएकी उनीलाई कक्षा देखाउनु मेरो परिचयको बहाना बन्यो । मानौँ, त्यसदिनदेखि हाम्रो मित्रताको आँकुरा लागेको थियो ।

कतिखेर हाम्रो मित्रता प्रेममा परिणत भयो हामीले थाहा पाएनौं भनौं हामीलाई प्रेमस्तावको कुनै आवश्यकता परेन । आखिर दुई मनहरूको मिलन भएपछि के नै चाहिन्छ र ? हामी एकअर्कामा समाहित भएका थियौं । एकदिन नदेख्दा पनि यी नजरहरू बैचैन हुने गर्दथे । विना समय परेको निष्ठुरी झरीझैं उराठलाग्दो हुन्थ्थे पलहरू ।

अहिले म जिन्दगीलाई नजिकबाट नियालिरहेको छु र सोचिरहेको छु कसरी मेरो जीवन यति निस्सारलाग्दा विरासिला भए ? सायद मेरो व्यवहारले मलाई यति निराश बनाएको छ । यो अरबको मरूभूमिमय खाँडीको जिन्दगी ४५ डिग्री तापक्रममा भत्भती पाकेको जिन्दगी । मेरा पौरखी हात निर्जीवजस्ता भइसकेका छन् यतिखेर । न समयमा खान पाइन्छ न त सुत्न नै । यस्तो निस्सारपूर्ण मेरो जिन्दगीप्रति अहिले आफैँलाई घीन लागेर आएको छ । हामी युवाहरूले गरेका यतिका मेहनतहरू आफ्नै जन्मथलो नेपालमा गर्न सकेको भए कति विकसित हुन्थ्यो हाम्रो नेपाल । कति भौतिक संरचनाहरू निर्माण गर्थे होलान् यी पौरखी हातहरूले । आज निकै प्रायश्चित गर्दैछु मैले चालेका पाइलाहरूको । यहाँ प्रत्येक निमूखा अनुहारका आ-आफ्नै कथाव्यथा छन् जसलाई सुन्नुबाहेक अरू विकल्प छैन ।

साँच्चै आमा विमारी नभएको भएँ म यसरी यो खाँडीमय संसारमा भासिने थिइन होला । नचाहँदानचाहँदै यिनीहरूको शोषणमा पर्ने थिइन होला । भर्खर १२ कक्षामा पढ्दै गरेको थिएँ म । फुर्सदका समयमा घर खर्च र्टार्न सानातिना कामहरू गर्दै थिए । कृतिका र मैले कति सपनाहरू सजाएका थियौँ । हामी दुई मिली सजाएका कल्पित सपनाहरू मिलेर पूरा गर्नु थियो हामीले । अचानक आमा काम गर्न नसकेर थला परेको दिन ममा ठूलो बज्रपात नै भयो । छदाखाँदाको पढाई, जागिर अनि अधुरा सपनाहरूलाई ताल्चा लगाउँदै श्रमका लागि भौतारिनु पर्यो मैले । ममा ठूलो जिम्मेबारी थोपरिएको थियो । जसरी भएपनि मेरा आश्रति परिवारका लागि साहारा बन्नुपर्ने पर्ने थियो । मेरा इच्छा, चाहना अनि आवश्यकताहरूलाई पाखा लगाउँदै परिवारको गर्जो टार्नका लागि खाडीको तातो हावा खान पीडादायी कुण्डमा होमिनुपरेको थियो ।

हिजो मात्र घरबाट टेलिफोन आएको थियो । आमा अचानक स्वर्गेबास हुनुभएछ । त्यो खबरले ममा वेचैनको सुनामी नै ल्यायो । पैसा कमाएर आमाको उपचार गरौँला, यहाँ आउँदा लिएका ऋणहरू चुक्ता गरौंला अनि आरामसँग नेपालमै बसी पौरख गरौँला भन्ने मेरा सपनाहरू सबै चकनाचुर भए । घण्टौंसम्म रोएँ म । त्यसरी रूनुको कुनै अर्थ थिएन । आखिर रोएर आमा फर्किने पनि त हैन । भावनाहीन र संवेदनाहीन विरानो सहरमा रूनुको कुनै अर्थ थिएन । यहाँ आँसुको कुनै मूल्य थिएन । आफूले आफैँलाई सम्हालेँ । अनायासै मैले परिस्थितिसँग सम्झौता गर्नुपर्यो ।

अहिले बहिनी घरमा एक्लै छे । विचरीलाई कति पीडा परेको होला यतिखेर । एक्लै भए भन्दै होली । अनि मेरी प्राणप्यारी यतिखेर मेरै प्रतिक्षामा दिन गन्दै होलिन् । मेरो सम्पूर्ण समवेदनाहरूलाई आफ्नै ठानी बिचरी मेरी कृतिकाले र मेरो घरको सम्पूर्ण व्यवहार थामिदिएकी छिन् । प्रिया, तिम्रो ‘विलम्ब’ चाँडै आउँदैछ तिमीलाई बादलपारिको देशबाट भेट्नलाई । अनायास मेरा ओठबाट यी शब्दहरू निस्कन्छन् ।

Bhagirathi Shretha – Rupantaran

भागीरथी श्रेष्ठ – रूपान्तरण
(मधुपर्क)

अचानक राति फोनको घण्टी बज्यो । त्यो आवाजले मेरो मुटु र कानलाई छेडेर गयो । अशुभ समाचार हो कि भन्ने डरले निकैबेर फोनको रिङ बज्दा पनि झ्वाट्टै फोन उठाउने आँट आएन । लाग्यो मानौं स्वयं फोनसेट नै आतङ्ककारी भएर उपस्थित भएको छ मेरो सम्मुख । बल्लबल्ल फोन उठाएर ‘हेलो’ मात्र भनेकी थिएँ उताबाट स्वास्नीमान्छेको रूवाइ सुनेर बिस्मित भए म । यो सपना हो कि विपना हो ? जति रूवाइ सुन्छु त्यति त्यो रूवाइको स्वर चिरपरिचित लाग्यो । नत मैले को रोएको भनेर सोध्न नै सकें नत फोन राख्न नै सकें तर त्यो स्वरले गिज्याइरहृयो, रन्काइरहृयो मेरो सर्बाङ्गभरि ।

त्यसपछि उसको आवाजको स्पर्श मेरो कानभरि गुञ्जायमान भयो । त्यो आवाज सुनेर म दुःखको लोकमा पनि पुगिना, सुखको लोकमा पनि पुगिना तर म आफ्नै नितान्त, रोमाञ्चक र अनौठो लोकमा पुग्न थालें त्यो आवाजको सिंढीमा चढ्दै ।

“म अल्का बोल्दैछु । यद्यपि मैले आˆनो उन्माद र चञ्चल हृदयको प्रवाहमा बगेर तपाईंजस्तो ज्ञानी, इमानदार लोग्ने र हीरामोतीजस्ता छोराछोरीलाई छोडेर पतनको बाटो लागे । मैले तपाईंहरूमाथि कति ठूलो जघन्य अपराध गरे । हुनत म क्षमालायक त छैन तर म तपाईं र छोराछोरीको मायाले बाँधिए म फर्केकी छु र यसरी तपाईंसाग बोल्ने साहस जुटाएकी छु । त्यतिबेला समयले मलाई किन अपराधी बनायो, आजको समयले फेरि मलाई पश्चातापको अनीकुण्डमा डुबाइरहेछ- मैले बुझ्न सकेकी छैन । यदि मैले यसरी अलाप विलाप गर्नु थियो भने कुन सुखको खोजीमा हिंडे त्यस्तो सुखी र खुसी संसारलाई छोडेर । दुई महिनादेखि अशान्तिको ज्वालामा डढिरहेकी छु म । कहीं शान्ति र सुख पाइन मैले । पश्चातापको अग्निमा डढेर फर्केकी छु हरेक पल । मैले त शरीरमात्र ल्याएकी रहिछु मुटु तपाईंहरूमै छोडेर । यो शरीरको अङ्गप्रत्यङ्गहरूमा तपाईं र छोराछोरीको अस्तित्वबाहेक केही छैन । मलाई माफ गर्नुहोला ।

म फेरी तपाईं र छोराछोरीहरूसाग नयाँ जीवन सुरूवात गर्न चाहन्छु । म पूर्णरूपले रूपान्तरण भएर फर्केकी छु । मलाईं एकपल्ट अवसर दिनुहोला । जुन केटासाग म भागेर गएकी थिएँ – मेरो आँखाबाट अनवरत आँसु झरेको देखेर उसले अनुमति दिँदै भनेको छ- “तिमी मसाग सुखी हुन सक्तिनौं । तिमी आˆनै पहिलेकै लोग्ने र छोराछोरीकहाँ र्फक । मलाई विश्वास छ- तिम्रो सज्जन पति नरेन्द्रले अबश्यै तिमीलाई क्षमा दिनेछ ।” मलाई स्वयम् विश्वास छ-तपाईंले मलाई पक्कै पनि स्वीकार्नु हुनेछ । हुन त मैले तपाईंलाई बाध्य त गर्दिन तर मेरो यो अन्तरहृदयको सत्य पुकार हो – अनुनय-विनय हो । म अत्यन्त व्याकुल र मर्माहत छु । म सार्‍है आत्तिएकी छु तपाईंहरूलाई हेर्न र भेट्न । मलाई विश्वास छ समयले मलाई पक्कै पनि आशीर्वाद दिनेछ तर पनि आˆनो अन्तरात्मासाग सोध्नोस् । म भोलि झिसमिसेमा नै घर आउने छु ।”

यति बिलौना गर्दै अल्काले फोन राखी मेरो प्रत्युत्तरलाई नपर्खी नै ।

यो के हो ? के भएको यस्तो ? यस्तो पनि हुन्छ र ? हुने रहेछ नि । एकछिन केही देखिना – अन्धोजस्तै भए आँखा र मन । केही सोच्न सकिना – सोचाइको प्रवाह नै रोकिएजस्तै भयो ।

सागै पलङमा मस्त सुतिरहेका छोराछोरीलाई हेरें-दुईमहिनादेखि जुनदिन अल्का भागी त्यही दिनदेखि यी दुई छोराछोरीले अल्काको साडी ब्लाउज च्यापेर सुत्छन् । कति टिठलाग्दो दृश्य ! आमा हुँदै पनि टुहुरा झैं भएका मेरा छोराछोरी !

यो कस्तो दुष्कर परीक्षा हो मेरो लागि ।

अल्काको भन्दा यो समय मेरोलागि अत्यन्त चुनौतीको समय हो । म अहिले यही समयको चापमा थिाचिदै छु । यो समयको चापलाई कसरी खोल्न सक्छु म ?

खै किन हो अल्काप्रति मभित्र न त रिस नै उठ्यो न त घृणाले फणा उठायो । न त उसलाई हप्काउने प्रयास नै गरे ।

ऊ भोलि आउँदै छे, यो सोच्दा लाग्यो । यो सत्य हो कि असत्य ? के साँच्चै ऊ आउँदै छे ? कसरी उसले धृष्टता गर्न सकी ? शरीरभरि यसरी काँडाहरू उठे, मानौ म स्वयम् काँडेघारी भएको छु – म कसरी यो काँडेघारीबाट छिचोलिन सक्छु ?

ऊ हाम्रो लागि सुख भएर आएकी छे कि दुःख भएर आएकी छे ?

उसले भनी मेरो आासु र पश्चाताप नै मेरो रूपान्तरणको प्रमाण हो । के यही हो त सबुत ?

दुईमहिनाअघि आˆनै घरमा डेरा गरेर बस्ने योगेश भन्ने गुरूङ युवकसाग भागेर गएकी अल्काले फेरि यही घरमा फकिर्ने कसरी हिम्मत गर्न सकी ?

तर उसले जे गर्दै थिई- म रोमाञ्चित हुँदै थिएँ । अचम्मको खुसी र उत्साहमा छलाङ मार्दै थिएँ । रिसाउन खोज्दा पनि रिसाउन सकिन ऊसाग किनभने उसलाई घृणा गर्ने कुनै पनि बैगुनहरू उसमा भेटिना जति खोज्दा पनि मान्छेलाई सम्झने पनि उसको गुन रहेछ – बिर्सिने पनि उसको बैगुन रहेछ । अल्का यो घरकी हर्ताकर्ता नै थिई- एउटी विश्वासी र मायालु पत्नी र छोराछोरीकी प्यारी ममी थिई ऊ । घरका सात् व्यवहार उसकै सरसल्लाहमै हुने गथ्र्यो । जहाासम्म लाग्छ उसलाई मैले हरेक कुराबाट सन्तोष दिएको थिएा । खै कहाानेर भूल भयो मेरो ? मेरो एउटै भूल थियो म बिहानदेखि सााझसम्म आˆनो काममा खट्नु र घर व्यवहार हेर्न नसक्नु । त्यो एउटा अल्लारे ठिटोसाग कुन सुखको खोजीमा, कुन उज्यालोको चाहनामा यस्तो सुन्दर संसारलाई लात हानेर गई ? कुन तृष्णामा बसिभूत भएर गई ? कति निष्ठुरी हुन सकी ऊ ? मान्छेको मनको संसार कतिखेर, के कारणले परिवर्तन हुन्छ ? कुन बेला मनले के के खोज्छ ? कुन बेला सुखी मन दुःखी हुन्छ ? त्यसको कुनै सीमा नै छैन । अल्का जाँदा दुनियाँले बदनाम गरे । द्वेषका राक्षसले दार्‍हा किटे । सबैले तिरस्कार गरे । उसको बुद्धि र कर्मलाई धिक्कारे । मैले उसलाई कति घृणा गर्न खोजें- कति गाली गर्न खोँजे तर सकिना । उनकै गुनहरूले मलाई नतमस्तक बनाए । बरू कतिकति रातहरू आँखा भिजेर त्यसै बिते उसको अभाव र सम्झनामा । ऊ हुँदाको घरको वातावरण बिहानीको सूर्योदयको जस्तो थियो भने ऊबिनाको घर ढलेको रूखजस्तो थियो, हाँगा भाँचिएर पातहरू झरेका । उसले घरको सारा सुखशान्ति हरेर लगेकी थिई । सोच्थे- अन्तरहृदयदेखि – अल्का फर्कोस्- उसले गरेका गलत मेरो कर्महरू मेरो र सबैको मनबाट विस्मृति भएर जावस् । फेरि गृहस्थीको नयाँ सङ्गीत सुरू होस् । मृत्यु भएको मेरो गृहस्थी संसार फेरि अनुप्राणित होस् । यो घरको निभेको मूलबत्ती फेरि बलोस् । अल्काले फोन गरेपछि आश्चर्य चकित भएर सोचेँ- ऊभित्रको चाहनाको सूत्र मभित्रको चाहनाको सूत्र कसरी जोडियो ?

आठ वर्षको छोरो निरज र सात वर्षकी छोरी नीताले सधैा सोध्थे -“बाबा ममी कहाा जानु भयो ? कहिले आउनुहुन्छ ?

म विश्वासपूर्वक भन्थेँ – “तिमीहरूकी ममी दुई तीन महिनापछि तिमीहरूलाई धेरै कोसेली लिएर आउँछे ।”

यसरी झूट बोलेर छोराछोरीलाई आश्वासन दिन्थेँ । मलाई लाग्थ्यो झूट बोलेर कसैको भलो हुन्छ भने झूट बोल्दा कुनै पाप लाग्दैन । यदि एउटा झूटले धेरैको कुभलो गर्छ बोल्नु पाप हो । त्यसैले झूट बोलेर छोराछोरीको मनमा आˆनी ममीप्रति आशाको दियो बालिदिन्थेँ । उनीहरूसाग सत्य बोलेर आˆनी ममीप्रति घृणाको भाव जगाउने कहिल्यै धृष्टता गरिना । सोच्थेँ आखिर जन्मदिने आमा हो, जीवनको यात्रामा कहीँ न कतै यिनीहरूको आˆनी ममीसाग भेट हुनसक्छ ।

जब अल्का आज परिमार्जित र परिष्कृत भएर, छहारी भएर भरिपूर्ण कारण र घामजस्तै न्यानो, जुनजस्तै शीतल भएर फर्केकी छे भने किन स्वीकार नगर्नु ? उसको लागि यो घरको ढोका सदा खुला छ । हामीजस्ता लोग्ने मान्छेहरूले यही समाजमा कतिवटी बिहे गरेर ठाँटसाग बसेका छन् भने अल्काको एउटा गल्तीलाई किन माफ गरेर सकिन्न ? दुनियाँले मलाई ‘नामर्द’ भनेर आरोप लगाओस् । घृणाको तातो पानी खन्याओस्, मैले कसरी अल्कालाई अस्वीकार गर्नसक्छु । आखिर ऊ मेरी पत्नी हो – दुइटा छोराछोरीकी आमा । ऊ आउँदा मेरा छोराछोरीले ‘ममी’ भन्दै अँगालो मार्न जाँदा म कसरी छुटाउन जानसक्छु ?

लाग्यो कुनैबेला कालो समयको कैदी भएर बाटो बिराएर हिँडेकी अल्का फेरि बाटो सम्झेर फर्केकी छे ।

जीवन हो, यो जीवनमा कसले गल्ती गर्दैन र ? क्षमा दिन सक्नुपर्छ । करूणा, सदासयता र उदारता नै मानवीय उच्च भावना हो । मैले अल्कालाई प्रेम र सम्मानपूर्वक स्वीकार्नुपर्छ किनभने ऊ शरणागत र समर्पित भएर फर्केकी छे अनन्यभाव लिएर ।

लाग्यो-म त खुसीको उत्ताल तरङ्गमा तैरिन लागेछुँ । खुसीका नैसर्गिक हलचल मनभित्र चल्न थाले ।

सोचेँ- मैले फेरी कुशल र मायालु पत्नी पाउनेछु ।

मेरा छोराछोरीले आमाको ममताको छहारी पाउनेछन् ।

यो घरले एउटा इमानदार माली पाउने छ ।

जीवन फेरि अधोगामीबाट उध्र्वगामी भएर जानेछ ।

म सबै निरूपाय स्थिति र यन्त्रणाबाट मुक्ति पाउनेछ ।

अनेक सोचको संसारमा रमन गर्दागर्दै बिहान भएको थाहै पाइँन- एकैचोटि ढोकाको घण्टी बज्दा पो झल्याँस्स भएँ । खै कुन जोस् र उल्लासमा ढोका खोल्न जाँदा हातमा ठूलो व्याग बोकेकी अल्काले अश्रुपूर्ण नयनले सङ्कोचपूर्वक मलाई हेरी त्यस्ती हृष्टपुष्ट थिई ऊ दुइ महिनमा मै खर्लप्पै दुब्लाइछ ! मैले ढोका पूरा खोलेँ तर एउटा असजिलो मौनता हामीबीच तेर्छिएको थियो । लाग्यो उसको समग्र व्यक्तित्व हेर्दा- त्यो दुब्लो अल्काको कायाभित्रबाट मातृत्वको प्रकाश चम्केको छ । पश्चातापको खहरे बगेको छ । मानौ ऊ कतै टाढा परदेशबाट फर्किंदै छे । मनमा गाँठो पर्‍यो तर मैले दिल खोलेर उसलाई अँगालोमा आबद्ध गर्न सकिना ।

ऊ चुपचाप खुरूखुरू मेरो पछिपछि आई । खुलेर न त म बोल्न सकें, न त ऊ नै बोली । यद्यपि मेरो मनमा ऊप्रति कुनै दुर्भावना थिएन । एउटा सङ्लो संवेदना बग्दै थियो मभित्र ।

ऊ सरासर मेरो कोठामा आएर छोराछोरीलाई अँगालेर रूनथाली । छोराछोरी जराकजुरूक्क उठे । दुवली ममीलाई देखेर एकैछिन अलमलिए तिनीहरू । रूदै दुबैले एकैपटक चिच्याउFदै भने-“‘ममी’ ! कहा जानु भएको थियो तपाईं हामीलाई छोडेर ? ममी ! के ल्याइदिनु भ यो हामीलाई ?”

ममीको अगालोबाट फुत्केर उनीहरूले ब्याग खोतलखातल गर्दै सामानहरू झिक्न थाले ।

भुइभरि छरिए- बिस्कुट, चक्लेट, चिजबल, लेज र अनेक खेलौनाहरू !

छोराछोरीहरू खुसीले उफ्रन थाले बुरूक्कबुरूक्क गर्दै । लाग्यो मलाई, मानौ यतिखेर आकाशबाट खुसी र उत्सबका फूलहरू वषिर्रहेछन् । कोठाको वातावरण अत्यन्त करूण भएको थियो ।

चुपचाप टोलाएर हेरिरहे ती करूण दृश्यहरू । लाग्यो ती बितेका पि्रय र हार्दिक दिनहरू फेरि फर्केर आएका छन् । भिन्न अनुभूति, नौलो स्वाद र आकर्षक रङ लिएर ।

अल्कालाई मैले मात्र होइन, यो घर र घरको सारा वातावरणले माफी दिएका छन् । छोराछोरीको प्रेम पाएर अझ झन सङ्ग्लिएकी छे ऊ ।

बाहिर झलमल्ल घाम लागिसकेको थियो । सदाझैं आज पनि अल्का उठेर बाहिर गई । सायद घरधन्दातिर होला । मनबाट धेरैधेरै उकुसमुकुस र पीडाका भारहरू हटेर गएको अनुभव गरें ।

Krishna Dharawasi – Bhitte Ganesh [Anubhuti]

हरेक बिहान अफिस जान माइक्रोबस चढ्नुपर्छ भित्ते गणेशबाट। भाडा तिर्ने बेलामा खलासीले सोध्छ― “कहाँबाट चढ्नुभएको?” उत्तर दिन्छु― “भित्ते गणेश।” शायद गणेशको यो नाम काठमाडौंका थुप्रै गणेशभक्तहरूलाई थाह छैन। कस्ता भव्य-भव्य विनायकहरूका अघि यो फुच्चे भित्तेको के मूल्य?

चोक त यो हुँदै होइन? चोक हुनलाई चारैतिर बाटा भागेर जानुपर्छ। गल्लीगल्ली निस्केर जाने यस्तो ठाउँलाई के चोक भन्नू? चक्रपथ, चप्पलकारखानाबाट विशालनगरतिर जाने सडकको एक किलोमिटर जति तल बायाँपट्टिको एउटा घरकम्पाउण्डको पर्खालमा सानो मन्दिरजस्तो भित्तामा टाँसिएको छ यी गणेशलाई सपरिवार। साना-साना ग्रिलका ढोका र साना-साना घण्टी पनि छन्।

भर्खरै राजधानी सरुवा भएर आएको थिएँ। कार्यालय जान थालेको तीन दिन भएको थियो। डेराबाट दुई मिनेट जति हिँडेपछि पुगिन्छ गाडी चढ्ने त्यो ठाउँमा। के नाम भन्नुपर्छ त्यो स्टेण्डको, थाह थिएन। अगाडि किरानापसल रहेछ उदयराज पाठकको, त्यहींं उभिएर परिचय गरें र सोधें। उनले चोर औंलोले देखाएर भने-

– यो ठाउँको नाम ऊ त्यही हो। यसो हेरें। एउटा पर्खालको भित्तामा गणेश टाँसेको।
– हाँस्दै भनें- भित्ते गणेश?

– एकाएक हाँसे उनी पनि र भने- हो-हो! कसरी जान्नु भो देख्नेवित्तिकै?
– भित्तामा टाँसिएपछि भित्ते भएन त? हाम्रो उतातिर भित्तीको पुछार खाने झयाम्ले, मुन्द्रेहरूलाई त भित्ते भन्छौं, यो त झ्न् टाँसिएकै छ।

– उनलाई रमाइलो लागेछ मेरो कुरा। सोधे- उता भनेको कता?।
– झ्ापातिर, मेरो उत्तर थियो।

यस्तै रमाइलो परिचय गर्दागर्दै एकाएक म गम्भीर र अचम्मित भएँ। मेरो अघि उभिन आइपुग्नुभयो अम्बर गुरुङ। भर्खरै भित्तातिर हेरेर गफ गर्दैगर्दा एकजना बूढोमान्छे गणेशलाई ढोग्दै, घण्टी बजाउँदै गरेको देखेको थिएँ, उहाँ नै पो हुनुहँदो रहेछ। उहाँले चिन्नुअघि नै नमस्ते गरिवरी आफ्नो परिचय दिएँ। ८२ वर्षको त्यस उमेरमा स्मृति ताजै रहन्छ भन्ने कुरा आउँदैन। रहने नै भए पनि कतिलाई सम्झ्िरहनु? परिचय दिनासाथ खुशी भएर हात मिलाउँदै सोध्नुभो―
– कहिले आउनुभएको? कहाँ बस्नुभएको छ?

– यहीँ नजिकै छु, भरत भारद्वाजको घरमा।
गाडी आइसकेको थियो, फेरि भेट्ने गरी नमस्ते गरेर हतारहतार चढें। बेलुका खुत्रक्क उत्रंे त्यही भित्ते गणेशमा। यसो हेरें― गणेश दिनभरि त्यत्तिकै थिए, तर त्यहाँ अम्बर गुरुङ थिएनन्, म थिइनँ र थिएनन् अरू पनि थुप्रै उनका भक्तजनहरू। साँझ् परिसकेको थियो, लागेँ ‘ह्रालो।

दिनचर्या नै भएको छ, प्रत्येक बिहान र बेलुका भित्ते गणेशको दर्शन। शिरमा शिवपार्वती, दायाबायाँ ऋद्धिसिद्धि, पयरमा मुसो, हातमा अङ्कुश डोरी, पलेँटी कसेर बसेको एक सानो गजधम्म मूर्ति टाँसिएको छ भित्तामा। एउटै ढुङ्गामा कपिएको रहेछ, छेउमा गएर हेर्दा देखें। हात्तीको टाउको, नाइटोसम्म झ्ुण्डिएर बटारिएको सूँड, ठूलो भकारी जत्रो भुँडी, सर्पको पटुका, चारवटा हात, छोटा खुट्टा, हेर्दै अनौठो र हाँसउठ्दो आकृति छ उनको। तर मातापिता सुन्दरताका प्रतीक छन्― यौन दर्शनका प्रतिष्ठाता। दायाँबायाँ रूप लावण्यले युक्त दुई पत्नी ऋद्धि र सिद्धि सजिएका छन् आकर्षक उन्मादमा। ठूलो गणेशका वरिपरि सानासाना मूर्तिहरूले एउटा परिवारको बिम्व बोकेका छन्। प्रायः यस्तै हुन्छन् अरूतिर पनि, नयाँ कुरा केही थपिएको थिएन यहाँ।

आध्यात्मिक भक्तिभावनाको यो प्रतीकात्मक अभिव्यक्तिका पछाडि हाम्रो सांस्कृतिक र ऐतिहासिक विषयले ठूलो अर्थ राख्दछ। तर किन किन मलाई यो भित्ते गणेश देखेपछि मनमा अनौठो विचार पलाएर आयो। मैले त्यस गणेशमा हाम्रो वर्तमान जीवन र पद्धतिको अनौठो व्यङ्ग्य प्रतीकको अनुभूति गरें। जहिले पनि गाडीमा जाँदाआउँदा एकपल्ट देख्नै पर्ने तिनमा आफूले भोगिरहेको वर्तमान बिम्वको सशक्त प्रतीक लाग्छ।

सोच्छु― प्रत्येक आध्यात्मिक कार्यको प्रारम्भ श्री गणेशाय नमः बाट गर्नुपर्छ। गणेश स्थापना नगरी कुनै प्रकारको पूजा शुरु हुनसक्दैन। हरेक आध्यात्मिक संस्कृतिको सभापति हो गणेश। सबै देवताहरूले मानेको र अग्रस्थानमा राखेको प्रतिभा। तर जब म तिनको स्वरूप हेर्छु― अचम्म लाग्छ।

हात्तीको टाउको छ, मान्छेको शरीरमा जोडिएको। डल्लो पुड्को छ, विशाल उदरका साथ। चार वटा हात हुँदाहुँदै, पाँचौं हातसरहको सूँड छ, सास फेर्नुपर्छ त्यही सूँडको नाइटोनेर झ्ुण्डिएको टुप्पोदेखि। वाहनको रूपमा पाएको छ मुसो। हात्ती र मुसोको यो कस्तो सम्बन्ध? के हात्तीलाई बोकेर हिँड्न सक्छ मुसो? कस्तो अनौठो बिम्व! फेरि त्यस्तो कुरुप र असहाय जस्तो शरीरलाई कसले दिएछ होला त्यति राम्रा छोरीहरू! बाबुआमाले दिइहाले पनि के रुँघेर बसेका होलान् तिनीहरू?

गणेशको यो रूपबारे सोच्दासोच्दै पुराणको एउटा उपकथा याद आउँछ। दाजु कुमार र भाइ गणेशबीच को ठूलो र वीर भन्ने कुरामा बहस भएछ। दुवैजना उत्तर माग्न आमाबाबुका अघि पुगे। शिवजीले दुवैलाई संसार घुम्न जानु, जो पहिला घुमेर आइपुग्छ त्यही ठूलो भने। कुमार वाहन मजुरलाई लिएर उडिहाले। गणेश आफ्नो वाहन मुसोलाई हेरेर अलमल्ल परे। गणेशको अवस्थादेखि दया लागेर मुसोले भन्यो― आफूलाई जन्म दिने आमाबाबु नै संसार हो। उनीहरूले जन्म नदिएको भए संसार देखिने थिएन। त्यसैले आमाबाबुको वरिपरि घुम्नुहोस्।

एकाएक हाँसे उनी पनि र मुसाको सल्लाह मानेर दुवैहात जोडी गणेशले बाबुआमाको वरिपरि तीन फन्को लगाएर भने― मलाई जन्म दिएर यो संसार देखाउने नै तपाईंहरू भएकाले तपाईंहरू भन्दा अर्काे कुनै संसार छैन मैले घुम्नुपर्ने। मैले घुमें।

गणेशको बुद्धिबाट सारै प्रभावित मातापिताले उनलाई आशीर्वाद दिएर तिमी नै विजयी भयौ भने। मयुरमा चढेर सुमेरु पर्वत तीन फन्को लगाई आइपुगेका कुमार हेरेका हेरेकै भए, आफू उभिएको ठाउँबाट डेगै नचली गणेशले बाजी जितेको सूचना पाएर छक्क परे।

उतिबेलै छक्क परेका कुमारका अघि आज मैले छक्क पर्नुको अर्थ त के छ र? तैपनि कहिलेकाहीँ जब म आफ्नो वर्तमानको मूल्याङ्कन गर्छु, जताततै गणेशवाद-जिन्दावाद! देखेर विरक्त हुन्छु। शिवले नै असक्त, कमजोर, कलाहीन, मुसेबुद्धि, कुरुप, र चाकडीवाजलाई तथास्तु दिएर शुरु गरेको भजन संस्कृतिका अघि आज हामीले भोगिरहेको अव्यवस्था र विकृतिको के आलोचना गर्नु?

प्रत्येक व्यक्ति, सत्ता, शक्ति आफ्नो क्षमता र बुद्धिको प्रशंसा खोज्दछ, उसलाई गणेशहरूको आवश्यकता पर्दछ। आलोचना नगर्ने, विरोध नगर्ने र सदा प्रशंसा गर्ने, हात जोडेर वरिपरि परिभ्रमण गरिरहने र उनको शक्तिको व्याख्या गरिरहने पूजक र भजकहरूको तिनलाई माया लागिरहन्छ। जस्तै चलाख, बुद्धिमान, क्रान्तिकारी र आधुनिक हुँ भन्नेहरू पनि गणेशका अघि लल्याकलुलुक परेर नतमस्तक भइरहेका हुन्छन्। गणेशले तिनीहरूलाई जो उनीहरू होइनन्, त्यही समेत बनाइरहेका हुन्छन्। उनीहरूलाई एकपल्ट पाएको शक्ति र सत्ता अनन्त कालसम्मको उपलब्धि हो भन्ने बोध गराइदिन्छन्। तिनले गरेका अपराध, लुट, शोषण, भ्रष्टाचार र व्यभिचारलाई समेत तिनका गहना भनिरहेका हुन्छन्। गणेशले तिनलाई विगतका सबै गलत थिए र ती ढले, तपाईं नै वास्तविक महान हुनुहुन्छ र अब तपाईंलाई ढाल्न सक्ने कोही हुँदैन भनिरहन्छन्।

पत्याइरहन्छन् उनीहरू गणेशलाई र उनीहरूको बुद्धिमा भरिंदै जान्छ गणेशको भुँडी। त्यत्रो ठूलो गणेशले आफ्नो भुँडी मालिकको बुद्धिमा स्थापित नगरे कसरी भर्नु त! सत्तामा बस्न आउने हरेक शिवपार्वती गणेशको खोजीमा लागिसक्छन्। शिवले नभ्याए पार्वती आफ्नै मयलबाट भए पनि गणेशको उत्पत्ति गर्छिन्― भाइ, भदा, बहिनी, काकाका ज्वाइँ आदिको रूपमा, कष्टका साथ।

प्रत्येक अड्डाअदालत, मन्त्रालय, दरबार, पार्टी कार्यालय, घरगृहस्थी र मठमन्दिरमा जताततै गणेश उपस्थित छन्। अचम्म लाग्छ मलाई― जसको टाउको हात्तीको जत्रो भए पनि बुद्धि मुसाको हुन्छ, जो हिँड्न सक्दैन, जो हेर्दै डरलाग्दो र कुरुप छ, त्यसैले संसार चलाएको छ, त्यसैले शासन गरेको छ। योग्य, शिल्पवान, चलाख, क्षमतावान, बुद्धिमान र स्वाभिमानीहरू जहाँ पनि फुटपाथमा छन्, सडकमा छन्, अवमूल्यनमा छन्। बुद्धिले स्वाभिमानी विद्यार्थी शिक्षकलाई घमण्डी लाग्छ, सैद्धान्तिक अडान भएको कार्यकर्ता नेतालाई विश्वासघाती लाग्छ, इमान्दार कर्मचारी हाकिमलाई स्वाँठ लाग्छ।

काम गर्न नसक्ने, कुरा गर्न सक्ने, सधैँ मालिकका वरिपरि घुमिरहने र अनेक समाचारहरू सुनाएर तिनको दिमाग ताजा गराइराख्ने गणेशहरू पदोन्नति, नियुक्ति, विदेशभ्रमण र पुरस्कारका हकदार हुन्छन्। सधैँ पयरमुनि देखिने गणेशहरू पयरमुनि हुँदैनन्, मालिकको मूल आसनलाई रूँघेर बसिरहेका हुन्छन्। त्यो आसनमा बस्न जो आइपुग्छ, त्यसैका गणेश हुन् तिनीहरू। गणेशको टाउकै आफ्नो होइन भने उसको मालिक कसरी एउटै हुन सक्नु? अर्काको शरीरमा अर्काको टाउको बोकेर उसले जीवन काट्नु छ― कति गाह्रो!

मैले देखेका हरेक परिवर्तनले नयाँनयाँ शिवहरूलाई आसनमा पुर्‍यायो। नवशिवको अनुहारमा देखिएको चमकले मन प्रशन्न हुन्थ्यो। पर कतै सुनौलो भविष्य चम्किरहेको देख्थें तर विस्तारै शिवको अनुहार पुरानै फोटोमा विलाउँदै गएको हुन्थ्योे र गजधम्म गणेश पुरानै आकृतिमा सूँडले तिनको पयर मुसारिरहेका हुन्थे।

आज पनि म शिवको नयाँ अनुहारमा पुराना गणेशका सूँडहरूले सुम्सुम्याएको देखिरहेछु। ब्युटिपार्लरकी सेविकाले अनुहारका रौं र मुजा मिलाइदिए झ्ंै गणेशका सूँडले शिवको अनुहारमा परम्परागत रोगन दलिरहेछ। शिव मन्दमन्द मुस्कुराइरहेछन्, कुम हल्लाउँदै। बेलाबेला काउकुती पनि लाग्दो हो! जीवनमा पहिलोपल्ट कसैले त्यो आसनमा राखेर उनलाई सुम्सुम्याइरहेछ।

देख्दादेख्दै गणेशहरू पाउबाट उठेर हातका अङ्कुश उज्याउँदै सुरक्षागार्ड भएका छन्। पासो थापेर स्वाभिमानीहरूलाई अल्झ्ाउँदै शिवका पयरमा ल्याएर पछारिरहेका छन्। गणेशको यो शाश्वत रूपलाई देखेर अलमलिइरहेको मैले जब पहिलोपल्ट भित्तामा तिनलाई देखें― माया लाग्यो।

विचरालाई कसले समातेर ल्याएर यो भित्तामा टाँसिदिएछन्, ग्रिलले छेकिदिएछन् र बन्धनमा पारिदिएछन्? त्यसो भए के अब गणेशहरू थुनामा परेका हुन्? अब उनीहरू शिवका पाउमा हुँदैनन्? वा मुसाको बुद्धिले होइन हात्तीकै टाउकोले सोच्दछन्? के उनीहरू त्यति उदार होलान्?

अम्बर गुरुङ्गले ढोग्दै घण्टी हल्लाइरहेका गणेशलाई एकपल्ट मैले पनि मनमनै नमस्कार गरें र भनें― हे गणेशजी! कृपया अब तिमी यही भित्तोमा बसिराख सधैँ। तिमी हाम्रा देशका संचालकहरूलाई आफ्नो चाकरीबाट मुक्त गरिदेऊ। तिम्रो कुरुपताबाट तिनीहरू मुक्त बनून्। कृपया एकपल्ट मात्र भए पनि कुमारको मयुरलाई पखेटा फटफटाउन देऊ।
तर उनी त भित्तामा निर्जीव थिए।

माथिबाट माइक्रो आयो। आज पनि अम्बर गुरुङ्गसँग फेरि भेट्ने बाचा गर्दै गाडी चढें।

Sushma Manandhar – Raat Rahe (Nepali Laghu Katha)

सुषमा मानन्धर – रात रहे… ! (लघु कथा)

जागिर खाएको वर्षौं भैसक्यो तर उसको बढुवा भएको छैन । यसबीचमा एक दुई पल्ट बढुवाको लागि पदहरू नखोलिएका पनि हैनन् तर उसले नाम निकाल्न सकेन । अब यसलाई उसको दुर्भाग्य भन्ने हो वा म्यानेजमेन्टले नै नचाहेको, यकीन भन्न गाह्रो छ । ऊ मिहिनेती र इमान्दार छ र पनि ऊ भन्दा कनिष्ठहरूले धमाधम बढुवा खाइसके । प्रभुको लीला ठान्दै उसले आफ्नो पालो पर्खेको छ ।

अहिले फेरि उसको अफिसमा बढुवाको लागि विज्ञापन खुलेको छ । साथीभाइहरू र उपल्ला केही हाकिमहरूले समेत पनि उसलाई निकै हौस्याएका छन् । “तपाईं जस्तो इमान्दार मान्छेलाई बढुवा नगरे, कसलाई गर्ने । यसपालि तपाईको जरुर हुन्छ ।” अरु कर्मचारीहरूको यस्तो टिप्पणीमा ऊ निकै आशावादी छ । यद्यपि ऊ ठूला हाकिमहरूमा “यसपालि त हेरिदिनु पर्यो हजुर ।” भन्दै बिन्ति बिसाउन गएको छैन तैपनि ऊ आफ्नो बढुवा हुने कुरामा धेरै हदसम्म विस्वस्त छ । संस्थामा यत्तिका वर्ष विना कुनै विवाद, गुनासो, धैर्यपूर्वक काम गर्नुको आखिर उसले केही पारितोषिक पनि त पाउनु पर्यो ।

हिजो साँझ पदपूर्तिको वैठक बसेथ्यो । वैठक लगत्तै हाकिमका पि.ए.ले फोन गरेर एक अर्थले बधाई झैं दिएका थिए,“भोज ख्वाउने जोरजाम छ कि छैन ?” सफल उम्मेदवारको लिस्टमा आफ्नो पनि नाम कल्पना गर्दै पुलकित ऊ, रातभरी सुत्न सकेन ।

भोलिपल्ट तरोताजा भै अफिस पुग्दा सबै जना अफिसको सूचनापाटी अघिल्तिर झुम्मिएका थिए । बढुवाको परिणामवारे उसले हिजै हल्का संकेत पाइसकेको भए पनि उसलाई सूचनापाटीमा प्रत्यक्ष हेर्न मन लाग्यो । सवै उसलाई हेर्दै थिए । ऊ तिनीहरूलाई पन्छाउँदै सूचनापाटीनिर उभियो । लिस्टमा सर्सती हेर्यो, दोहोर्याएर हेर्यो, अझै चित्त बुझेन । घरिघरि हेर्यो, त्यहाँ उसको नाम थिएन । विज्ञापन नम्बर अर्कै पो पर्यो कि भनी हेर्यो, त्यो पनि हैन । लिस्ट हेर्नेहरू गाईंगुईं गर्दै थिए । उसले केही सुनेन, कोही देखेन । उसलाई आफ्नो बढुवा नभएको मात्र हैन कि एक तह घटुवा नै भए झैं लाग्यो ।

Hem Nath Ghimire – Badshaha Ko Atyadhunik Poshak

हेमनाथ घिमिरे – बादशाहको अत्याधुनिक पोशाक

प्राचीन युगको कथाका बादशाह निरङ्कुश तथा मूर्ख थिए । भारदारहरु उनको निरङ्कुशताबाट आजित भई उनको मूर्खताको फाइदा उठाई उनको बेईज्जत गर्न विद्वानले मात्र देख्ने अत्याधुनिक पोशाक लगाइदिने नाममा बादशाहलाई नाङ्गै शहर घुमाए । सजायँको भय तथा मूर्ख भइने डरले कुनै पनि नागरिकले सत्य बोल्ने हिम्मत गर्न सकेनन्, केवल बादशाहको अत्याधुनिक पोशाकको तारिफ गरे । तर एउटा अबोध बालकले बादशाह नाङ्गै भएको कटु यथार्थ छर्लङ्ग पारिदियो ।

यी त भए प्राचीन युगका निरङ्कुश तथा मूर्ख बादशाह । तर यो अत्याधुनिक युगका बादशाह भने न मूर्ख छन् न त बाहिर आफू निरङ्कुश भएको छनक नै दिन्छन् । बरु अरुलाई मूर्ख बनाउन उनी निकै सिपालु छन् । बादशाह आफूलाई निकै उदार देखाउँछन् र आफ्ना मन्त्रीहरुको चयन गर्ने अधिकार जनतालाई नै दिएका छन् । तर जनताबाट चुनिएका मन्त्रीहरुभने आफूलाई अर्कै ग्रहका प्राणीझैं सोच्छन् र जनतालाई बिर्सिएर बढीभन्दा बढी सहुलियत प्राप्त गर्न तथा बादशाहको साखिल्ले बन्नको लागि उनकै अन्धभक्त भएर उनको चाकडीमै मात्र लाग्छन् । उनीहरुको लागि जनता भनेको वनको कुनै जन्तु हो जस्तो लाग्छ ।

बादशाह आफ्नो चलाखीले यी मन्त्री भनाउँदाहरुलाई कठपूतली बनाउन पाउँदा धन्य सम्झन्छन्् र विभिन्न जुक्ति लगाएर तिनीहरुलाई मूर्ख बनाईरहन्छन् । यस्तै जुक्ति सोच्ने क्रममा यी मन्त्रीहरुको बौद्धिक धरातल तथा नियत जनतासामु छर्लङ्ग पार्नको लागि बादशाहलाई एउटा नयाँ जुक्ति सुझ्छ । बादशाहले मन्त्रीहरुलाई पालैपालो बोलाएर आफ्नो आधुनिक दराजभित्र रहेको विद्वान बाहेक अरुले नदेख्ने अत्याधुनिक पोशाकको दर्शन गराउँछन् । सबै मन्त्रीहरु आफूलाई विद्वान देखाउन भएभरको बुद्धि लगाएर पोशाकको तारिफ गर्छन् । बादशाहले यदि यो पोशाक लगाएर शहर परिक्रमा गरेमा विशेष उपहार दिने प्रलोभन पनि देखाउँछन् । उपहार पनि पाईने र बादशाहको नजीक पनि हुन पाईने मौका गुमाउन मन्त्रीहरु चाहँदैनन् र बादशाहको शर्त मान्न तुरुन्त राजी हुन्छन् । बादशाहको चलाखीले गर्दा हरेक मन्त्रीलाई यो शौभाग्य प्राप्त गर्ने नीज मात्रै हो भन्ने भ्रम परेको हुन्छ ।

योजना अनुसार हरेक मन्त्रीलाई छुट्टा छुट्टै समयमा बोलाएर प्रत्येकलाई भिन्दा भिन्दै कोठामा लगी उक्त अत्याधुनिक पोशाक पहिर्याईन्छ, मन्त्रीहरु आफूलाई भाग्यमानी सम्झन्छन् । हरेकलाई पोशाक लगाएर तयार पारेपछि सबैलाई एकै समयमा शहरको मुख्यद्वारमा पुर्याईन्छ । आफ्ना अन्य सहकर्मीलाई पनि देखेपछि मन्त्रीहरु हतोत्साहित हुन्छन् । तर तुरुन्त समालिएर मुक्त कण्ठले एक अर्काको पोशाकको प्रशंसा गरी आफूलाई बढी विद्वान सावित गर्न पछि पर्दैनन् । आफूलाई मात्र सो पोशाक दिईएको भनेर भ्रममा पारेकोमा खिन्न हुनुभन्दा पनि आफूले मात्र नभई अरुले पनि उपहार पाउने भए भनेर भित्र भित्रै धेरै चित्त दुखाउँछन् ।

उता शहरमा बादशाहले झ्याली पिटाइसकेका हुन्छन् – मन्त्रीहरु आज अत्याधुनिक पोशाकमा शहर घुम्न आउनेछन्, आफ्ना गुनासाहरु सुनाउने मौका नगुमाउनु । मन्त्री बनेपछि आफूलाई अर्कै ग्रहका प्राणी सोच्नेहरु एकमुष्ट शहरको भ्रमणमा आउने र आफ्नो गुनासो पनि सुन्ने भएपछि यो अद्वितीय मौका उम्कन नदिई सबै जनता शहरको मुख्यमार्गको दायाँ बायाँ जम्मा भईसकेका हुन्छन् ।

मन्त्री भनाउँदाहरु बडो फुर्तीसाथ शहरको मुख्यमार्गमा एकमुष्ट प्रस्तुत हुन्छन् । प्रतीक्षारत जन समुदायमा एक्कासी कोलाहल मच्चीन्छ – “हे भगवान , हरे शिव ! यस्तो के देख्नु पर्यो, मन्त्रीहरु बौलाए, छिः छिः ।” यस्तै यस्तै शब्दहरु गुन्जिरहन्छन् । जनताहरु अचम्भित र आक्रोशित हुन्छन् । मन्त्रीका आफ्ना नजीकका भनाउँदाहरु गएर मन्त्रीहरुलाई यथार्थ बताउँछन् र छिट्टै फर्केर आफ्नो लुगा लगाएर आउन अनुरोध गर्छन् । तर मन्त्रीहरु भने ठाँटले आफूले लगाएको अत्याधुनिक पोशाक विद्वानले मात्र देख्ने बताई उल्टै ती आफ्ना भनाउँदाहरुलाई मूर्ख बनाई हाँसोमा उडाउँछन् । नाङ्गा मन्त्रीहरुको हुल देखेर जनतामा हाहाकार मच्चिन्छ, उनीहरु आँखा छोपेर आ–आफ्नो घरतिर लाग्छन् । तर मन्त्रीहरु भने जनतालाई नै मूर्ख बनाउँदै एकदम फूर्तीका साथ शहर परिक्रमा गरिरहन्छन् ।

हेमनाथ घिमिरे,
बाहुन डाँडा, लमजुङ् ।

बानेश्वर, काठमाडौं,
२०६१ माघ १६