Hem Nath Ghimire – Punarabritti

हेमनाथ घिमिरे – पूनरावृत्ति

सधैं झैं आज पनि बिहानको नित्यकर्म सकेपछि स्वास्थ्यचौकीबाट मूल सडकतिर ओर्लिएर मायाको चिया पसलतिर लागेँ । स्वास्थ्य शिविरको लागि यहाँ आएको दोश्रो पटकदेखि नै उनको पसलमा गएर बिहानको चिया पिउने बानी परेको थियो । स्वास्थ्यचौकीबाट उनको पसल पुग्न करीब १२-१५ मिनेट हिँड्नु पर्ने हुँदा मलाई बिहानको कसरत पनि हुन्थ्यो । त्यसैले अरु साथीहरू नगएको बेलामा म एक्लै भए पनि जाने गर्थेँ ।

वरपरका सबैले मायाकी आमालाई जेठी भन्ने गरेकोले मैले पनि उनलाई जेठीदिदी भन्थेँ । जे-जस्ता समस्या र छिमेकीसँग तीतो-मीठो जे परे पनि म पुगेको हरेक समयमा जेठीदिदी हँसिलो मुहार सहित मीठो बोलीमा “बाबुलाई सञ्चै छ ?” भनेर सोध्थिन् र मीठो चिया बनाएर दिन्थिन् । उनको त्यो हँसिलो मुहार र काम गराइको फुर्ती देख्दा मलाई अचम्म लाग्थ्यो । यस्तो पीडा र कष्टकाबीच पनि यी जेठीदिदी आफूले काँडाको घोचाइ सहेर अरुलाई फूलको जस्तो मीठो मुस्कान बाँड्न कसरी सकेकी होलिन्, आफूले बिष पिएर पनि अरुलाई अमृतरुपी बचन प्रदान गर्ने शक्ति यिनमा कहाँबाट आयो होला जस्तो लाग्थ्यो ।

तर आज पसलमा पुगेपछि पहिलो पटक यिनैलाई मुर्झाएको देख्दा मेरो मन पनि खिन्न भयो र “के भो जेठीदिदी आज ?” भनेर सोध्दै आफू सधैं बस्ने गरेको ठाउँमा गएर बसेँ । सधैं यति बेलासम्ममा तरकारी, सेल, मासु, अचार र चिया समेत तयार गरेर पाउनाको स्वागतमा मीठो मुस्कान छर्दै बस्ने जेठीदिदीको अनुहार आज फुङ्ग उँडेको थियो भने उता चूलोमा दाउरा समेत जोडिएको थिएन । एकदम मलिन स्वरमा उनले “बाबुलाई चिया बनाउँ है ?” भनेर सोधिन् । म सधैं यहाँ चिया पिउन नै आउँथेँ र कहिल्यै पनि उनले मलाई चियाकोलागि सोध्नु पर्थेन । तर आज मलिन स्वरमा उनले सोधेको देख्दा मलाई लाग्यो आज यिनलाई पक्कै कुनै ठूलो चोट परेको छ र यी होश हराए झैं भएकी छिन् । मैले सान्त्वनाको स्वरमा “जेठीदिदी आज म चिया पिउँदिन, भो दुःख नगर्नुस्” भनेँ र “माया कता गइन् त खै ?” भनेर सोधेँ । मायाको नाम सुन्नासाथ उनी झन् निद्याउरो भएर रुन पो थालिन् । मैले आफ्नो शंका सायद यथार्थमा बदलिएछ भन्ने लख काटेँ । जेठीदिदी छेउमै बसेर गुनासो गर्न थालिन् “बाबु, मैले त्यसलाई कति दुःख कष्ट गरेर हुर्काएँ, अरुको कस्तो बचन सहेर ठूली बनाएँ र स्कूल समेत पठाएँ । अहिले ल हेर्नुस् त, मलाई एक बचन नसोधी, मैले भनेको नटेरेर त्यही तिले डाईबरसित पो हिँडिछ । बाबुलाई थाहै छ मैले जति दुःख गरेर भएपनि त्यसलाई हाईस्कूल पास गराएर गाउँकै स्कूलमा पढाउन सक्नेसम्म बनाउँछु भनेकी थिएँ । तर आज त्यस्ले मेरो मुटु टुक्रा पारेर गई बाबु । मेरो जस्तो कष्ट त्यस्लाई खप्न नपरोस् भनेर सधैं आफैं खटेर भगवानसँग त्यस्को जिन्दगी राम्रो होस् भनेर प्रार्थना गरेँ । जे नहोस् भनेर चिताएको थिएँ, त्यही भयो । त्यो तिलेको घर ठेगान केही छैन रे । अब म के गरुँ बाबु ?” यति भन्दै उनी रुन लागिन् । जीवनमा अनेक दुःख कष्ट ब्यहोरेकी र खपेकी यिनलाई म भर्खरको युवाले के सम्झाउन सक्थेँ र । तैपनि ढाढस दिनको लागि “दिदी के गर्ने, आफ्नो भाग्यमा जे लेखिएको छ त्यही नै परि परि आउँछ, कसैले टार्न सक्दैन । अब चिन्ता लिएर बसेर मात्रै के हुन्छ र । हामीले त अब उसको भविष्य राम्रो होस् भनेर आशीक दिने, सकेको सहयोग गर्ने न हो । चिन्ता नलिनुस् दिदी, तपाईंको दुःखी जीवनमा अर्को एउटा दुःख थपियो, त्यत्ति सोच्नुस् र मलाई मीठो चिया बनाएर दिनुस्” भनेँ । मेरा कुराले मन केही हल्का भएछ क्यारे, उनी उठेर चूलोमा आगो जोरिन् र चियाको कित्ली बसालिन् ।

आफ्नो पढाइ सकेर काठमाडौंको नर्सिङ्होममा डाक्टरको जागीर गर्न थालेपछि हामी ४–५ जना सहपाठीहरू मिलेर जागीरसँगै समाज सेवा पनि गर्ने उद्देश्यले एउटा संस्था खोलेका थियौँ । प्रायः ४–५ महिनाको अन्तरमा उपत्यका नजीकैको गाउँमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेर केही मात्रामा गाउँलेहरूलाई सहयोग गर्ने क्रम शुरुगरेका थियौँ । त्यही शिलशिलामा अलि परकै गाउँसम्म सेवा पुर्याउने उद्देश्यले करीब २ बर्ष अघि स्थानीय पक्की सडकले छोए पनि स्वास्थ्य सेवा नपुगेको यस गाउँमा हामी आएका थियौँ । गाउँलेहरूको सहृदयता, यो ठाउँको रमणियता र यहाँको आवश्यकताले गर्दा हामी यहाँ २–३ पटक नै आएर हरेक पटक २ हप्ता जति बस्ने गरेका थियौँ । गत बर्ष मात्रै अन्य गैर सरकारी संस्था र गाउँलेहरूको सहयोग लिएर यहाँ एउटा सानो स्वास्थ्यचौकी स्थापना गरी गाउँलेहरूलाई केही बढी सुविधा प्रदान गर्न सफल भएका थियौँ । त्यही शिलशिलामा नै हाम्रो दोश्रो पटकको कार्यक्रम पछि नै सडक छेउको जेठीदिदीको यो पसलमा म हरेक बिहान आउने गरेको थिएँ ।

यी जेठीदिदी एक्लै थिइन् र आफूले कष्ट गरेर भए पनि छोरी मायालाई डेढ-दुई घण्टा परको स्कूलमा पढ्न पठाएकी थिइन् । शुरुमा यहाँ आएदेखी नै यिनको बोलीचाली र सहृदयताले मलाई तानेको थियो र हरेक बिहान चिया पिउँदै यिनका बिगतका तीता मीठा कहानीहरू दङ्ग पर्दै सुन्ने गर्थेँ । यिनी आफ्नो गाउँको हुनेखाने गनिएको घरकी एक्ली छोरी थिइन् । गाउँका ठूला ठालू भएपनि यिनका बाबु सहयोगी र सहृदयी भएकाले सबैका मान्य थिए । त्यसैले यिनी गाउँले सबैको हाई हाई मै हुर्केकी थिइन् । सबैले यिनलाई माया गरेर फूलमाया मैयाँ भनेर बोलाउने गर्थे । गाउँमा स्कूल नभए पनि बाबुले यिनलाई घरमै अलि अलि पढाएर चिठी लेख्नसम्म सक्ने बनाएका थिए । सबैको हाई हाई मै हुर्केकीले यिनलाई आवश्यकताभन्दा बढी नै उत्ताउलोपनाले छोएको थियो र नजानिदो रुपमा लुकिछिपी गाउँकै हर्केलाई आफ्नो लाली जोवन सुम्पेकी थिइन् । हर्के गाउँको गरीब परिवारमा हुर्केको भए पनि सानैमा घरबाट भागेर बजारतिर गई बरालिँदै बसेको थियो । पछि कताबाट हो गाडीवालाहरूको सङ्गतमा परेर आफूले पनि साहुको गाडी चलाउने भएछ र थोरै तिनै पैसा कमाएर हरेक पटक ४-५ महिनामा गाउँमा आउँदा लाहुरे झैं ठाँटिएर हिँड्ने गर्थ्यो । उसकै अनेक मीठा गफ र लोभ लालचमा फसिन् यी बिचरी फूलमाया । बाबुले सहरमा पढेर उतै राम्रो जागीर गर्ने पल्लो गाउँको मुखियाको छोरासँग यिनको बिहेको कुरा चलाएका थिए । तर यिनलाई किन किन हर्केको देखावटी पिरतीले नै बढी तान्यो र कसैलाई थाहा नदिई एक दिन सुटुक्क हर्केसँग भागेर यो सानो बजारमा आईपुगिन् र फूलमायाबाट जेठी भइन् ।

यहाँ हर्केको एउटा सानो कोठा बाहेक अरु केही थिएन । उसको डाइबरी पेशाले सबै धान्न गारो हुने भएकोले साहुसँग ऋण मागेरै भए पनि जेठीले चियाको सानो दोकान खोलिन् र त्यसमै मिहिनेत गर्न थालिन् । सुरुमा त हर्केले निकै माया पिरतीका कुरा गर्थ्यो, गाडी लिएर टाढा पुगे पनि २–३ दिनमा जसरी पनि फर्कने गर्थ्यो । तर बिस्तारै उसलाई अझ टाढा जानुपर्ने भयो र प्रायः हप्ता दश दिनमा मात्रै फर्कने गर्न थाल्यो । कहिले कहिँ त एक महिनामा बल्ल एक पटक आउने गर्थ्यो । तैपनि उसले जेठीलाई उत्तिकै माया गर्थ्यो र कमाएको पैसा पनि सबै ल्याएर दिन्थ्यो । उता हर्केले गाडीबाट पनि राम्रै आम्दानी गर्दै थियो र यता पसलबाट पनि राम्रो आम्दानी भएको थियो । अब उनीहरूको आफ्नै सानो घर बनेको थियो र त्यहीँ अलि ब्यवस्थित पसल चलाएकी थिइन् जेठीले । यसरी मिहिनेत अनुसार जेठीको जिन्दगी राम्रै बित्न थालेको थियो ।

तर माया जन्मेपछि भने हर्केको घरमा आउने क्रम पनि कम हुँदै गयो र जेठीलाई त्यति पैसा पनि दिन छोड्यो । “पसलकै आम्दानी छँदैछ, आजकाल गाडीमा त्यति कमाउन सकिएन” भन्ने र यस्तै अरु बहाना बनाएर हर्केले जेठीलाई सहयोग गर्नै छोड्यो । छोरी समेत भएपछि जेठीलाई पसलमा धेरै खट्न पनि गारो भएको थियो र आम्दानी घट्ने तर खर्च बढ्ने भएको थियो । उता हर्के भने अब केबल ४-५ महिनामा एक पटक आउने र उल्टै जेठीसँग पैसा माग्ने गर्नथाल्यो । पछि बुझ्दै जाँदा उसले कान्छी ल्याएर अर्कै ठाउँमा राखेको थाहा पाइन् जेठीले । त्यसपछि उनका दुःखका दिन सुरु भए ।

छिमेकीले पनि उनलाई नराम्रो ब्यवहार गर्न थाले र पसलमा ग्राहक पनि घट्न थाले । जेठीलाई अब बिहान बेलुकीको छाक टार्न समेत गारो भयो । सानी छोरी च्यापेर भएपनि पसल राम्ररी नचलेको मौसममा यिनले गाउँलेहरूसँगै मेलापात समेत गर्न थालिन् । आफ्नो भाग्य यस्तै रहेछ भनेर चित्त बुझाउँदै आफूले जति कष्ट गरेर भए पनि छोरीलाई हुर्काइन् र स्कूलमा समेत पठाइन् । माया स्कूल जाने भएपछि यिनले अझ बढी कष्ट गर्नु पर्यो । तर भगवानले यिनको दुःख देखेछन् क्यारे बिस्तारै पसलबाट आम्दानी बढ्न थाल्यो र यिनी फेरि पसलमै व्यस्त भइन् र त्यही आम्दानीले गर्जो टार्न सक्ने भइन् । हर्के पनि यसो ६–७ महिनामा एकपटक झुल्किने र छोरीलाई भनेर हरेक पटक एक दुई हजार दिने गर्नथाल्यो । त्यसपछि यिनले बल्ल फेरि ढुक्कको शास फेर्न पाएकी थिइन् ।

आफ्नो जस्तो दुःख कष्ट छोरीलाई नपरोस् भनेर आफूले जती कष्ट गर्नु परे पनि मायालाई हाईस्कूलसम्म पढाएर आफ्नै खुट्टामा उभिनसक्ने बनाउन उनी तल्लीन थिइन् । मायालाई आफूले गरेको गल्ती तथा दुःखकष्टका कहानी सुनाएर सधैं सजग गराइरहन्थिन् । तर माया भने आमाको कुरा एउटा कानले सुनेर अर्को कानले उडाउने गर्थी । उसको साथी सङ्गत पनि त्यस्तै भएकाले ऊ उत्ताउली पाराकी बन्दै गएकी थिई । दिउसो स्कूल गएपनि बिहान बेलुका ऊ पसलमै हुन्थी र त्यहाँका मुख्य ग्राहक स्थानीय गाडीवालाहरूसँग उसको सङ्गत हुन्थ्यो । जेठीले उसलाई आफ्नै कोठामा गएर पढ् भन्दा पनि ऊ पसलमै आउन र ग्राहकहरूसँग जिस्किन मन पराउँथी । मायाको यो ब्यवहारले जेठीलाई झन् शंका र पीर थपेको थियो र आफ्नो जस्तो हालत उसको नहोस् भनेर सक्दो सचेत भएकी थिइन् ।

मैले पनि मायालाई बेलाबेलामा पढाइमै बढी ध्यान दिन सम्झाउथेँ । तर ऊ भने झर्कंदै उल्टै मलाई गाली गर्थी । “कस्तो यो दाइ त, आफू पनि नजिस्किने अरुसँग पनि जिस्किन नदिने” भनेर मनका कुरा ठाडै बाहिर पोख्थी । म उसलाई आफ्नै पाराले सम्झाउन कोशिष गर्थेँ “हेर माया, यो सबै मैले तिम्रो राम्रो भविष्यको लागि भनेको हो । म त तिमीलाई बैनी भन्छु, बैनीसँग मैले त्यसरी छिल्लिएर जिस्किन सुहाउँदैन । अझ तिमी मान्छ्यौ भने त म तिमीलाई शहर लगेर धेरै पढाउन र उतै राम्रो ठाउँमा बिहे गरिदिन तयार छु ।” तर मेरा कुरा उसलाई बिष जस्तो हुन्थ्यो र उल्टै चर्को डाँकोमा मलाई हप्काएझैं ऊ भन्थी “पर्या छैन कसैको बैनी-सैनी हुन । बैनी त मलाई तिले डाइबरले नि भन्छ नि ! तर ऊ कस्तरी जिस्किएर मीठा कुरा गर्छ ।” यी सोझी केटीलाई के थाहा कि शब्द एकै भएपनि मैले भन्ने बैनी र तिलेले भन्ने बैनी बीचको भावनात्मक अर्थ, सम्बन्ध र उद्देश्यमा कति फरक छ । मैले अझ राम्ररी अर्थ्याउन खोज्दा ऊ झर्केर ठाडै भन्थी “भगाएर लैजाने हो भने जान्छु, तर बैनी-सैनी बन्न त जान्न ।” आफ्नो कुरकुरे बैंशको भावनालाई यसरी उत्ताउलोपनमा छरपष्ट पार्थी ऊ । सायद भर्खर उत्ताउलो बैंशले छोएकोले र अरुको बनावटी मीठा गफ र अनावश्यक लोभ लालचले पनि होला यिनको कलिलो दिमागमा नराम्रो छाप छाडेको थियो । त्यही सङ्गतले गर्दा यिनलाई अभिभावकत्वको शितल छायाँ रुपी हातले अङ्गालेर उज्ज्वल भविष्यतिर लम्किने चाहनाभन्दा पनि बनावटी माया पिरतीको निष्ठूर अङ्गालोमा मसक्क कस्सिएर अन्जान भविष्यको काल्पनिक मीठासपूर्ण खाडलमा हामफाल्ने तिर्सना बढी थियो । त्यसैले एक दूई पटकको प्रयासपछि मैले यिनलाई सम्झाउन छोडेको थिएँ ।

आज तीनै शंका उपशंका सच्चाइमा बदलिएको थाहा पाएर मलाई त्यति सारो अचम्म लागेन । तर यी जेठीदिदीको हालत देखेर भने सारै नरमाइलो लाग्यो । चिया पिइसकेर यिनलाई फेरि एकपटक सम्झाएँ र मनमनै अब फेरि पनि जेठी र मायाको जीवनको पूनरावृत्ति नहोस् भन्ने कामना गर्दै स्वास्थ्यचौकीतिर उकालो लागेँ ।

२०६३ चैत्र १४ गते ।
हेमनाथ घिमिरे,
बाहुनडाँडा ५, लमजुङ ।
(मैमना, अफगानिस्तान)

(होकुदाई बिसौनी, अङ्क ११ मा प्रकासित)

Hem Nath Ghimire – Andha Ra Hatti

हेमनाथ घिमिरे – अन्धा र हात्ती

एकादेशमा अन्धाहरूको राज्य थियो । सबै अन्धा भएपनि राज्य ब्यवस्था सुचारु रुपले चलिरहेको थियो र राज्य आत्मनिर्भर पनि थियो ।

अन्धाहरूले राज्य संचालनको लागि हरेक चार बर्षमा पाँचजना मन्त्रीहरूको चयन गर्थे ।

यी मन्त्रीहरू दिनहुँ राज्यका बिभिन्न ठाउँ डुलेर सबैको पिर मर्का बुझ्ने गर्थे र सक्दो छिटो समाधान पनि गर्थे ।

यस पटक बनेको मन्त्रीमण्डल पनि निकै सक्रिय थियो र जनताको समस्या छिटै समाधान गर्नुको साथै नयाँ नयाँ कामहरूको थालनी गर्ने घोषणा गरेको थियो । जनताहरू पनि मन्त्रीमण्डलको कामबाट सन्तुष्ट थिए । काम बढ्दै गएपछि मन्त्रीमण्डलको दौडधूप पनि बढ्दै गयो । अनि हिँडेर मात्रै सबै काम भ्याउन नसकिने बहाना पारेर मन्त्रीमण्डलले आफूहरूलाई सुबिधा थप्नेतर्फ उपाय सोच्यो । लामो छलफल पछि मन्त्रीहरूले अब देश भ्रमण गर्न हात्तीको ब्यवस्था गरिनु पर्ने ठहर गरी सोही अनुसारको प्रस्ताव जनतासामु लगे । यो मन्त्रीमण्डलले देशमा राम्रो काम गरेकोले उनीहरूबाट अझै राम्रो कामको आशा गर्दै जनताले उक्त प्रस्तावलाई पारित गरे ।

मन्त्रीमण्डलको देशाटनको लागि ठूलो धनराशी खर्च गरेर हात्ती किनेर ल्याइयो । मन्त्रीहरूको भ्रमणको योजना अनुसार हात्तीलाई देशका बिभिन्न ठाउँमा लग्नको निम्ति आँखा देख्ने माहुतेको खाँचो महसुश गरी अर्कै देशबाट धेरै तलब र सुबिधा दिने गरी माहुते पनि ल्याइयो । यसरी अन्धाहरूको राज्यले देशको ढुकुटीबाट ठूलो धनराशी खर्च गरेर मन्त्रीहरूलाई नयाँ सुबिधा प्रदान गर्यो ।

सुरु सुरुमा त मन्त्रीहरू हात्तीमा चढेर दिनहुँ टाढा टाढासम्मका ठाउँहरू डुल्न गए, जनतालाई सुख दिनको लागी धेरै नयाँ नयाँ कार्यहरू पनि गरे । तर समय बित्दै जाँदा मन्त्रीहरूलाई बिस्तारै मात चढ्न थाल्यो र दैनिक रुपमा देशाटन गर्न छोडी हप्ताको एकपटक मात्रै र केही समय पछि महिनाको एकपटक मात्रै डुल्ने गर्न थाले । तेश्रो बर्ष लागेपछि त उनीहरू छ महिनामा एकपटक मात्रै घुम्न निस्किए र अन्य समय मोज मस्ती गरेर नै बिताउन थाले ।

यसै बीचमा मन्त्रीहरूलाई आफूले चढ्ने गरेको हात्ती यथार्थमा कस्तो रहेछ भन्ने जिज्ञाशा जाग्यो । माहुतेले सधैं आफूहरूलाई सोझै हात्तीको पिठ्यूँमा राख्ने गरेकोले उनीहरूलाई सम्पूर्णरुपमा हात्तीको बारे जानकारी लिने ईच्छा जाग्यो । उनीहरूले माहुतेलाई आफ्नो ईच्छाको जानकारी गराए । माहुतेले पनि पाँचजनालाई छुट्टा छुट्टै लगेर क्रमशः हात्तीको सँुड, कान, खुट्टा, भुँडी र पुच्छर नजीक राखिदियो र हात्ती छाम्न भन्यो । आफूले हात्तीको जुन अङ्ग छामेका थिए हात्ती भनेको त्यही रहेछ भनेर मन्त्रीहरूले लख काटे । सुँड छाम्नेले हात्ती भनेको मोटो नरम नलीजस्तो हुँदोरहेछ भन्ने बुझ्यो । त्यस्तै कान, खुट्टा, भुँडी र पुच्छर छाम्नेले क्रमशः हात्ती भनेको नाङ्लो, काठको मोटो खम्बा, ठूलो घ्याम्पो र मोटो डोरी भन्ने बुझे । सबैले माहुतेलाई हात्तीको आफ्नै परिभाषा सुनाए, एक आपसमा छलफल गर्ने चेष्टा पनि गरेनन् । माहुतेले कुटील मुस्कान छोड्यो ।

मन्त्रीहरू अब जनताको काममा देशाटन गर्नुभन्दा दिनहुँ हात्ती छाम्न र मोज मस्ती गर्नमै ब्यस्त रहन थाले । उनीहरूले जनताको आवाज सुन्न पनि छाडे र दिनहुँ हात्ती छामेर त्यसको मालीक हुन पाएकोमा गर्व गरी खाली मोज मस्तीमै डुब्न थाले । उनीहरूले पहिला जसले जुन अङ्ग छामेका थिए, माहुतेले दिनहुँ त्यही अङ्ग मात्रै छाम्न दिन्थ्यो । अर्को अङ्ग छ छैन वा हात्ती भनेको यत्ती नै हो त भन्ने सोच उनीहरूमा कहिल्यै आएन र माहुतेलाई सोध्ने कष्ट पनि गरेनन् । देशको ढुकुटीबाट किनेको हात्तीको मालीक बन्न पाएको गर्व र अहंकारले गर्दा उनीहरूको बुद्धिमा बिर्को लागेको थियो ।

मन्त्रीहरूलाई डुलाउन नपरेकोले माहुते पनि बसि बसि खान पल्केको थियो । मन्त्रीहरूले आ-आफ्नै हिसाबले गरेको हात्तीको परिभाषाबाट फाईदा लिने कुटील उद्देश्यले माहुतेले एउटा प्रयोग गर्ने सोच निकाल्यो । उसले हात्तीलाई अर्को ठाउँमा सा¥यो र हात्तीको अङ्गहरूको स्थान अनुसार सँुडको ठाउँमा मोटो नली, कानको ठाउँमा नाङ्लो, भुँडीको ठाउँमा घ्याम्पो, खुट्टाको ठाउँमा काठको खम्बा र पुच्छरको ठाउँमा मोटो डोरी एकदम सतर्कताकासाथ मिलाएर राख्यो ।

भोलीपल्ट मन्त्रीहरू हात्ती छाम्न जाने समयमा उसले सदाझैं चलाखी गरेर जसले जुन अङ्ग छाम्ने गर्थे त्यही अनुसार राखिएको बस्तुको नजीक लगिदियो । मन्त्रीहरूले हात्तीको अङ्गहरूको बदलामा त्यही नली, घ्याम्पो, नाङ्लो आदि छामेर हात्ती त्यहीँ भएकोमा ढुक्क परे । आफ्नो प्रयोग सफल भएकोमा माहुते दङ्ग परेर मुसुक्क हाँस्यो ।

माहुतेले अब मन्त्रीहरू छ महिना वा एक बर्षमा मात्रै देश घुम्ने भएकोले ऊ आफू बसिरहनु पर्ने औचित्य नभएको हुँदा केही दिनको बिदामा आफ्नो देश जान पाउँ भनी निवेदन ग¥यो । मन्त्रीहरूले पनि आफू घुम्न जाने समयमा उसलाई खबर गर्ने र सो अनुसार माहुते त्यहाँ उपस्थित हुनुपर्ने सर्तमा उसको पारिश्रमिक दिएर उसलाई बिदा दिए ।

माहुतेले आफ्नो पूर्व योजना अनुसार हात्ती पनि सुटुक्क आफूसंगै लिएर गयो । मन्त्रीहरू भने डोरो, घ्याम्पो, नाङ्लो आदि छाम्दै आफू हात्तीको मालीक हुन पाएकोमा दङ्ग परी जनताको बेवास्ता गर्दै मोजमस्तीमै दिन बिताईरहे ।

हेमनाथ घिमिरे,
बाहुन डाँडा, लमजुङ् ।

Hem Nath Ghimire – Badshaha Ko Atyadhunik Poshak

हेमनाथ घिमिरे – बादशाहको अत्याधुनिक पोशाक

प्राचीन युगको कथाका बादशाह निरङ्कुश तथा मूर्ख थिए । भारदारहरु उनको निरङ्कुशताबाट आजित भई उनको मूर्खताको फाइदा उठाई उनको बेईज्जत गर्न विद्वानले मात्र देख्ने अत्याधुनिक पोशाक लगाइदिने नाममा बादशाहलाई नाङ्गै शहर घुमाए । सजायँको भय तथा मूर्ख भइने डरले कुनै पनि नागरिकले सत्य बोल्ने हिम्मत गर्न सकेनन्, केवल बादशाहको अत्याधुनिक पोशाकको तारिफ गरे । तर एउटा अबोध बालकले बादशाह नाङ्गै भएको कटु यथार्थ छर्लङ्ग पारिदियो ।

यी त भए प्राचीन युगका निरङ्कुश तथा मूर्ख बादशाह । तर यो अत्याधुनिक युगका बादशाह भने न मूर्ख छन् न त बाहिर आफू निरङ्कुश भएको छनक नै दिन्छन् । बरु अरुलाई मूर्ख बनाउन उनी निकै सिपालु छन् । बादशाह आफूलाई निकै उदार देखाउँछन् र आफ्ना मन्त्रीहरुको चयन गर्ने अधिकार जनतालाई नै दिएका छन् । तर जनताबाट चुनिएका मन्त्रीहरुभने आफूलाई अर्कै ग्रहका प्राणीझैं सोच्छन् र जनतालाई बिर्सिएर बढीभन्दा बढी सहुलियत प्राप्त गर्न तथा बादशाहको साखिल्ले बन्नको लागि उनकै अन्धभक्त भएर उनको चाकडीमै मात्र लाग्छन् । उनीहरुको लागि जनता भनेको वनको कुनै जन्तु हो जस्तो लाग्छ ।

बादशाह आफ्नो चलाखीले यी मन्त्री भनाउँदाहरुलाई कठपूतली बनाउन पाउँदा धन्य सम्झन्छन्् र विभिन्न जुक्ति लगाएर तिनीहरुलाई मूर्ख बनाईरहन्छन् । यस्तै जुक्ति सोच्ने क्रममा यी मन्त्रीहरुको बौद्धिक धरातल तथा नियत जनतासामु छर्लङ्ग पार्नको लागि बादशाहलाई एउटा नयाँ जुक्ति सुझ्छ । बादशाहले मन्त्रीहरुलाई पालैपालो बोलाएर आफ्नो आधुनिक दराजभित्र रहेको विद्वान बाहेक अरुले नदेख्ने अत्याधुनिक पोशाकको दर्शन गराउँछन् । सबै मन्त्रीहरु आफूलाई विद्वान देखाउन भएभरको बुद्धि लगाएर पोशाकको तारिफ गर्छन् । बादशाहले यदि यो पोशाक लगाएर शहर परिक्रमा गरेमा विशेष उपहार दिने प्रलोभन पनि देखाउँछन् । उपहार पनि पाईने र बादशाहको नजीक पनि हुन पाईने मौका गुमाउन मन्त्रीहरु चाहँदैनन् र बादशाहको शर्त मान्न तुरुन्त राजी हुन्छन् । बादशाहको चलाखीले गर्दा हरेक मन्त्रीलाई यो शौभाग्य प्राप्त गर्ने नीज मात्रै हो भन्ने भ्रम परेको हुन्छ ।

योजना अनुसार हरेक मन्त्रीलाई छुट्टा छुट्टै समयमा बोलाएर प्रत्येकलाई भिन्दा भिन्दै कोठामा लगी उक्त अत्याधुनिक पोशाक पहिर्याईन्छ, मन्त्रीहरु आफूलाई भाग्यमानी सम्झन्छन् । हरेकलाई पोशाक लगाएर तयार पारेपछि सबैलाई एकै समयमा शहरको मुख्यद्वारमा पुर्याईन्छ । आफ्ना अन्य सहकर्मीलाई पनि देखेपछि मन्त्रीहरु हतोत्साहित हुन्छन् । तर तुरुन्त समालिएर मुक्त कण्ठले एक अर्काको पोशाकको प्रशंसा गरी आफूलाई बढी विद्वान सावित गर्न पछि पर्दैनन् । आफूलाई मात्र सो पोशाक दिईएको भनेर भ्रममा पारेकोमा खिन्न हुनुभन्दा पनि आफूले मात्र नभई अरुले पनि उपहार पाउने भए भनेर भित्र भित्रै धेरै चित्त दुखाउँछन् ।

उता शहरमा बादशाहले झ्याली पिटाइसकेका हुन्छन् – मन्त्रीहरु आज अत्याधुनिक पोशाकमा शहर घुम्न आउनेछन्, आफ्ना गुनासाहरु सुनाउने मौका नगुमाउनु । मन्त्री बनेपछि आफूलाई अर्कै ग्रहका प्राणी सोच्नेहरु एकमुष्ट शहरको भ्रमणमा आउने र आफ्नो गुनासो पनि सुन्ने भएपछि यो अद्वितीय मौका उम्कन नदिई सबै जनता शहरको मुख्यमार्गको दायाँ बायाँ जम्मा भईसकेका हुन्छन् ।

मन्त्री भनाउँदाहरु बडो फुर्तीसाथ शहरको मुख्यमार्गमा एकमुष्ट प्रस्तुत हुन्छन् । प्रतीक्षारत जन समुदायमा एक्कासी कोलाहल मच्चीन्छ – “हे भगवान , हरे शिव ! यस्तो के देख्नु पर्यो, मन्त्रीहरु बौलाए, छिः छिः ।” यस्तै यस्तै शब्दहरु गुन्जिरहन्छन् । जनताहरु अचम्भित र आक्रोशित हुन्छन् । मन्त्रीका आफ्ना नजीकका भनाउँदाहरु गएर मन्त्रीहरुलाई यथार्थ बताउँछन् र छिट्टै फर्केर आफ्नो लुगा लगाएर आउन अनुरोध गर्छन् । तर मन्त्रीहरु भने ठाँटले आफूले लगाएको अत्याधुनिक पोशाक विद्वानले मात्र देख्ने बताई उल्टै ती आफ्ना भनाउँदाहरुलाई मूर्ख बनाई हाँसोमा उडाउँछन् । नाङ्गा मन्त्रीहरुको हुल देखेर जनतामा हाहाकार मच्चिन्छ, उनीहरु आँखा छोपेर आ–आफ्नो घरतिर लाग्छन् । तर मन्त्रीहरु भने जनतालाई नै मूर्ख बनाउँदै एकदम फूर्तीका साथ शहर परिक्रमा गरिरहन्छन् ।

हेमनाथ घिमिरे,
बाहुन डाँडा, लमजुङ् ।

बानेश्वर, काठमाडौं,
२०६१ माघ १६