Kusum Gyawali – Nari Akarshan (Nepali Laghu Katha)

कुसुम ज्ञवाली – नारी आकर्षण (लघुकथा)

“होस्टेलको कोठा हो यो फिल्महल होइन बुझिस्” होस्टेलका वार्डेन सरले भित्तामा टासिएका चलचित्रका उभिनेत्रीका तस्विरहरू तर्फ लक्षित गर्दै छ कक्षामा तेस्रोपल्ट फेल भएको झ्वाँकमा शिशिरलाइ थर्काए । भित्तामा, किताबमा, कापिका हरेक ठाउँमा उहि नायिकाको फोटो । शिशिरको डायरीमा, पर्समा, ज्याकेटमा वा रूमालमा हरेक ठाउँमा उनै नायिकाको फोटो भेटे पछि वार्डेन सरलाइ उसको च्यावनप्रासे चाला देखेर झ्वाँक चल्नु पनि स्वाभाबिक थियो । एक चड्कन हानेर वार्डेन सर एक्लै भुतभुताए “छ कक्षा पास भाछैन के सारो बैश अाको हँ यो टिपुरे केटालाइ” । अाइन्दा “यस्तो हरकत” कायम रहे स्कुलबाट निकाल्ने धम्की पनि दिए । उसको ति नायिका प्रतिको लगाव एक इन्च पनि घटेको देखिएन, पढाइ भने दिन प्रतिदिन खस्किदो थियो ।
दश एघार बर्षको फुच्चै ब्यावसायिक फिल्मकी एउटी नायिका प्रतिको यो लगाबको खवर पत्रिकाको “निकै मनोरञ्जक समाचार” बन्यो, बजारको यस समाचारलाइ “शालीन (?)” गृहिणीहरूले टिप्पणी गरे “अचेलका बच्चा उम्रिदै तिनपात !”। समाजका जेठा बाठाहरू भने अहिलेका केटाकेटीहरूलाइ “अस्लील चलचित्रले बिगारेको” निस्कर्षमा पुगे । “केटी भने पछि केटाहरूको जातै यस्तो” क्याम्पस पढ्ने युवतिहरूले अाफ्नो थेसीस अगाडी सारे । “पाठ-यपुस्तकमा नैतिक शिक्षाको कमी भएको” ठोकुवा गरे भरखर नयाँ पार्टीमा पसेर अाफ्नै पुरानो राजावादी पार्टीलाइ सराप्दै हिड्ने “क्रान्तिकारी” नेताले ।

मनोचिकित्सकको टोलीले गम्भिर अध्ययन पछि “शिशिरकी दिबङ्गत अामाको अनुहार उक्त नायिका सङ्ग मिल्ने हुनाले नायिका प्रति यस्तो लगाव देखिएको” निस्कर्ष निकाल्यो ।

Bimalendra Mishra – Asal Purush

सत्या वरदानसँग निकै नै आकषिर्त भइसकेकी थिइन् । वरदानकोप ढाइ र सादापनले सत्याको मन खिचेको थियो । जसको कारणल मित्रता पनि झाँगिदै थियो । लाइबे्ररीमा बसेर घण्टौँसम्म यिनीहरू अध्ययन गर्थे । एकदिन सुत्याले वरदानलाई भनिन् ।

सत्याः म एउटा कुरा भन्छु तपाईं मान्नुहुन्छ ?

वरदानः भनन के कुरा हो ?

सत्या मुस्कुराइन् । वरदान पनि मुस्कुरायो । ‘म तिमीलाई माया गर्छु’ – भनेर सोझै भन्न उनीलाई अप्ठ्यारो लाग्यो । उनले कुरा अन्तै मोड्दै भनिन् ।

सत्या ः कति पढ्ने मात्र । कहिले कहि त मनोरञ्जन गर्नुपर्छ नि । बिदाको दिन हामी कतै डुल्न जाउन हुन्न ।

वरदान ः भैहाल्छ नि । एकदिन ती दुई पार्कमा गए । केटाकेटीका जोडी पार्कभरि देखिन्थे । त्यहाँ रहेका जोडीहरू आफ्नै मस्तिमा एक अर्कालाई माया गर्दै अँगालोमा बाँधिएका थिए । सत्या र वरदान चाहिँ आफ्नै धुनमा कुरा गर्दै पार्कभित्र भित्र गए ।

पार्क धेरै ठूलो थियो । एकान्त स्थान खोज्ने प्रेमी प्रेमिकालाई त्यस्तो ठाउँ पनि थियो, जहाँ बंैसले उन्मत्त जोडी एक आपसमा हराउँथें । ठाउँठाउँमा ससाना पोखरी बनाइएको थियो । त्यहाँ पहाडबाट झरेका खोल्चाहरू बगेका थिए ।

डाँडाको तरेली, उकाली ओराली, वातावरण असाध्यै रमाइलो थियो । प्राकृतिक छटाको वर्णन गरेर साध्य नै थिएन । ठाउँ ठाउँमा घामपानीबाट बच्नका लागि स-साना छाप्राको निर्माण गरिएको पनि देखिन्थ्यो । वरदान र सत्या आफ्नै शुरमा प्रकृतिलाई नियाल्दै हिँडिरहेका थिए । ठीक त्यही बखत सत्याको आँखा एक्कासी एउटा जोडीमा पर्‍यो । केटाको काखमा प्रेमिका पल्टिएकी थिइन् । यो दृश्यले सत्यालाई रमाइलो बनायो ।

केहीबेरको उकालो चढेपछि सत्यालाई थकाई लाग्यो । सत्यालाई प्यास लाग्न थाल्यो । उकालो चढ्ने बानी नभएकाले उनीलाई स्याँस्याँ पनि आउन थाल्यो । वरदानले त यस्ता उकाली आह्राली आफ्नो गाउँमा प्रशस्त गरेको थियो । उनी त शहरकी परिन् । सत्याले आफ्नो ब्यागबाट मिनरल वाटरको बोटल निकालिन् र पानी पिइन् । वरदान त्यो देखेर मुस्कुरायो । उसले मनमनै सम्झियो । यस्ता उकाली त हाम्रा गाउँले दिदीबहिनीको लागि कही न केही ।

उनीहरू एकदम एकान्त ठाउँमा पुगे । सत्यालाई त्यही बस्न मन लाग्यो । तिनीहरू नजिकैको पोखरीको डिलमा बस्न गए । पोखरीमा विभिन्न रङ्गका माछा देखिन्थे । माछा खेलेको मनोहर दृश्यले वरदानको ध्यान खिच्यो । सत्यालाई एकदमै वरदानसँग बोल्न मन लागिरहको थियो । वरदान भने माछा हेरेर एकोहोरियो । सत्यालाई त्यहाँ बसिरहन मन लागेन । उनलाई माछा हेर्ने सोख थिएन । यस्ता माछाहरू त आफ्नै कोठाको एक्वारियममा हेरेर सतयाको समय बित्ने गथ्र्यो । उनीलाई त वरदानसँग हाँसखेल गर्दै गफ गर्नु पो थियो । त्यसैले सत्याले अर्कैतिर जाउँ भनिन् । वरदान पनि बाँधिएको बोका जसरी सत्याको पछि लाग्यो ।

अलि टाढा पुगेपछि ठूलो रुख आयो । त्यो रुखको वरिपरि शितल छाहारी बनेको थियो । सिरिसिरी बतास चलिरहेको थियो । यी दुवै त्यही छाहारी मुनि बस्न गए । वरदान आफ्नै कल्पनामा थियो । सत्या चाहिँ वरदानको समीपबाट आनन्द लिन खोज्दै थिइन् । त्यसै बखत एक जोडी प्रेमी एक अर्कालाई अँगालो मार्दै उनीहरू बसेको ठाउँबाट अघि बढे । रोमान्टिक मुडमा रहेकी सत्यालाई भने त्यति रमाइलोलागिरहेको थिएन । वरदान भने निरस थियो । ऊ त्यो एकान्तमा पनि सत्यालाई स्पर्श गर्न खोज्दैनथ्यो । जिस्क्याउन खोज्दैनथ्यो ।

वरदानको भोलेपन देखेर सत्या मुस्कुराइन् । यो त ऋषिमुनिभन्दा पनि कडा पो रहेछ । यसलाई त मेनका, उर्वसी जस्ता अप्सराले पनि भुलाउन नसक्ने झैँ उनीलाई लाग्यो । त्यसैले उनको हातको हत्केला आफ्नो काखमा राखेर ठट्टैमा सत्याले भनिन् – ‘वरदान तपाईंको हातको रेखाले त तपाईं योगी जस्तो हुनुहुन्छ भनेर बताउँछ नि ।’ वरदान हाँस्यो मात्र । एउटा तरुनीले एकान्त ठाउँमा उसको हात समात्दा पनि उसमा केही पनि परिवर्तन आएन । सत्यालाई भने त्यो स्पर्शले निकै रोमान्चित बनायो ।

रात परिसकेको थियो । सत्या घर फकिसकेकी थिइन् । ओछ्यानमा पल्टिएर वरदानसँग दिउँसो बिताएका क्षणहरू सम्झदै उनी बसिन् । वदानलाई के भएको होला, उसले मलाई एकचोटि मात्र पनि अँगालो हालेन । उसले मलाई मन पराउँदैन त । त म मा के कमि छ र ! राम्री छु, पढेकी छु । के भएको होला, उसलाई त्यस्ता रोमान्टिक दृश्यहरूले पनि किन छुन नसकेको ? उसले मेरो हातसम्म पनि समाएन । बरु मैले नै उसको हात समाएँ ।

सत्या सोच मग्न भइन् । म जे गरिरहेको छु के त्यो ठिक त गरिरहेकी छु ? त्यस्तो एकान्त ठाउँमा वरदानले मलाई जे पनि गर्न सक्थ्यो । वरदानको सौम्यपनले अझ सत्याको मन खिच्यो । उनी पार्कको कुरा सम्झिएर बसिरहेकी थिइन, त्यही बखत सत्याको मोबाइल बज्यो । उनको ध्यान भङ्ग भयो ।

सत्या ः हेलो । तपाईं कहाँ ? वरदान ः म डेरामा । सत्या ः दिउँसो सन्चो थिएन कि क्या हो ? त्यति बोल्नु पनि भएन ।

वरदान ः म त सन्चै छु । तर मन ठेगानमा थिएन । सत्या ः के भयो ? किन ठेगानमा भएन ?

वरदान ः सत्या म धेरै दिनदेखि तिमीलाई यो कुरा भन्न चाहन्थ्यें । तिमीले मप्रति अति प्रेमभाव देखायौं । त्यसैले कुरा गर्न सकिन । अब मैले भन्नै पछ । म मेरो जिन्दगीको यथार्थ भन्न लागिरहेको छु । तिमी यो कुराले कति दिक्क नहोऊ है ?

सत्या ः हुन्छ भन्नुहोस् ।

वरदान ः तिम्रो मायाको बदला माया दिन म असमर्थ छु । किनकि म विवाहति हुँ । सत्या छाँगाबाट खसे जस्ती भइन् । उनले केही भन्नै सकिनन् । उनको मोबाइल हातबाट ओछ्यानमा खस्यो । उनले मानिस चिनन् । वरदानलाई अत्यन्त असल मानिस ठानिन् । वास्तवमा भन्ने हो भने सत्याले यस्तो भद्र मानिस आजसम्म देखेकी थिइनन् । वरदानलाई आफूले विश्वास गरेर कुनै फूल नगरेको रहेछु भन्ने उनको मनमा लाग्यो । वरदानले यो कुरा भनेर ठिक गरेको उनले सम्झिइन् । आफूले असल भएकोले असल मान्छे चिन्न सत्याले सकेकी थिइन् तर उनको मन मस्तिष्कमा भने ठूलो आँधी चल्न थाल्यो । अब आजको दिनदेखि उनले वरदान असल पुरुष नै भए पनि ऊसँग टाढा रहनु पर्ने विचार मनमा राखिन् ।

शनिबार, गोरखापत्र
पुस २५, २०६६

Balakrishna Adhikari – Patra Ra Bhumika

बालाकृष्ण अधिकारी – पात्र र भूमिका
(Source: मधुपर्क, चैत २०६७)

कथा सुरु भएकै थिएन । कथाको एउटा अनिर्धारित पात्र आएर आˆनो भूमिकाका बारेमा मसँग सोध्न लाग्यो । म असमञ्जस्यमा परेँ । पात्रकै रूपमा निर्धारण गरिनसकेको पात्रले आˆनो भूमिकाका बारेमा सोध्न आउनु कहाँसम्मको चाकडी ! मैले उसको भूमिकाको बारेमा नबताएपछि ऊ एकछिन अचम्म मान्दै यताउति घुमिरहृयो । सायद उसलाई लागेको थियो होला कि मैले उसलाई उसको भूमिकाका बारेमा सोचेर बताउँदै छु । करिब एक घण्टा कुरिसकेपछि मेरा कथाको अनिर्धारित पात्रले सहिरहन सकेनछ बिचरा ! कसरी सहिरहोस् त ? उसले जे सोधेको थियो त्यसमा मैले न त ‘राम्रो भूमिका दिएको छु’ भनेर जवाफ दिएँ न त ‘नराम्रो भूमिका दिएको छु’ भनेर जवाफ दिएँ । अलि झर्को लागेको जस्तो देखिए पनि ऊ मेरो नजिकै आयो र मिठो स्वरमा अनुरोध गर्‍यो, “कृपया कथाकारज्यू ! तपाईंको कथामा मेरो भूमिका कस्तो राखिदिनु भएको छ भनी दिनुस् न । राम्रै छ होला नि ! अलि सशक्त राखिदिनुस् है !”

म अझै घोरिइरहेको थिएँ । मेरो कथाको त्यही अनिर्धारित पात्रले बोलीले मात्र हुने नदेखेर होला सायद आˆना हातहरू सक्रिय गराउन थाल्यो । शरीरका विभिन्न अङ्गहरू सुम्सुम्याउँदै मलाई फकाउन थाल्यो । उसका हातको स्पर्श एकदमै नरम, मायालु र आग्रहले युक्त थियो । नरम हातका सुम्सुम्याइले म उसको भूमिकाका बारेमा भन्ने वा नभन्ने निर्णयमा पुग्न भुलिरहेको रहेछु । लामो समयसम्म स्पर्श गरिरहँदा पनि मेरो जवाफ नआएकोमा उसको धैर्यमा आगो लाग्नु स्वाभाविकै थियो । विस्तारै उसका हातको नरमपन घट्दै गइरहेको मैले अनुभव गरेँ ।

उसले मलाई पुनः सम्बोधन गर्दै भन्यो, “कथाकारज्यू ! हैन, तपाईंको कथामा मेरो भूमिका कस्तो छ भनिदिनुस् न । राम्रै भूमिका दिनु भएको छ होला नि हैन त ! अत्यन्त सशक्त, प्रभावकारी, सकारात्मक र आदर्शवादी है ! यस्तो भूमिका राखिदिनु भयो भने म तपाईंलाई तपाईंको लेखकीय परिश्रम र महान्ताको कदर स्वरूप दक्षिणा टक्र्याउँछु नि !”

यति भन्दै उसले झण्डै हावाबाट टिपेझैँ गरी एउटा नोटको बिटो मतिर तेर्सायो । मलाई पर्‍यो समस्या । यो घूस लिने र दिने चलन लेखक र पात्रका बीचमा पनि चलिसकेको रहेछ भन्ने मैले आजै थाहा पाएँ । मैले कथा लेख्न पनि सुरु गरेको थिइन । हल्काफुल्का घटना र पात्रको मानसिक खाका मात्र तयार गर्न थालेको थिएँ । घटनाहरू पनि पूर्ण थिएनन् । कति पात्र राख्ने, कस्ता पात्र राख्ने, को को पात्र राख्ने र तिनीहरूको चरित्र तथा भूमिका कस्तो दिने भन्ने कुराको पनि निर्णय गरिसकेको थिइन । मलाई घटनाक्रमको त्यति धेरै सम्झना पनि थिएन । त्यसका पात्र त झन् सपनामा देखेका मान्छेजस्ता लाग्थे । कुनचाहिँ पात्र प्रमुख थियो, कुनचाहिँ पात्र शक्तिशाली थियो, कुनचाहिँ पात्र अनुकूल र कुनचाहिँ पात्र प्रतिकूल थियो भन्ने कुराको पनि कुनै स्मरण थिएन । त्यसैले म कथा लेख्ने विचारले मेरो स्मृतिपटलमा घटना र पात्रहरूलाई बोलाउने प्रयत्नमा थिएँ ।

घटना घट्दा साल जन्मेर बामे सर्दै थियो । यहाँ समयको आँचल समातेर प्रत्येक बाह्र महिनापछि नयाँ साल जन्मिन्छ । जन्मिएर हरिलो भरिलो हुन नपाउँदै साल विस्थापित हुन्छ अथवा मर्छ र मात्र इतिहास बनेर भित्तेपात्रोका पानाहरूमा अङ्कित हुन्छ । त्यसैले नयाँ हुनु भनेको अनिश्चित हुनु पनि हो । मेरो कथाको घटना पनि त्यस्तै छ । एकपटक नयाँ नै थियो । घटना ताजा थियो । ताततातै कथाका रूपमा परिणत गरेर पाठकसमक्ष पठाएको भए त्यसले ठूलो वाहवाही पाउने पनि थियो र त्यसको तयारी पनि मैले राम्रै तरिकाले गरेको थिएँ तर समस्या यस्तै भएको थियो । कथाका पात्रहरू तँछाड मँछाड गर्दै भूमिका माग्न तम्सिए । त्यति मात्रै होइन ठूलै द्वन्द्व भयो पात्रहरूका बीचमा । धेरै पुरुषहरूमध्ये एक्ली नारी पात्र भएको चाहिँ याद छ मलाई । सबै पुरुष पात्रहरू उक्त नारी पात्रको एकलौटी वा सामूहिक नायकका रूपमा उभिन चाहन्थे भन्ने कुराको भेद भने मैले जान्न बाँकी थियो । जुन पात्र मैले असल, अनुकूल र भव्य ठानेँ त्यही पात्र खराब, प्रतिकूल र निक्रिस्ट भएर देखिएपछि मैले पात्र चयन गर्न सकिन । पात्र चयनमा असफल भएपछि म कथाकार होइन भन्ने दसी जुटाएँ मनमनै । त्यसपछि महिनौँसम्म उक्त घटना मेरो मानस पटलबाट विस्मृत प्रायः भएर गयो ।

एक्कासि एक दिन मेरो मरेको मस्तिष्क चलमलाउन थाल्यो । अनि मैले सोचेँ मेरो कथाकार मरेको रहेनछ । ऊर्जा पाएको भए मेरो कथाकार कुम्भकर्णे निद्रामा पर्ने रहेनछ । त्यस दिन किनकिन मेरो कथाकार कुम्भकर्णे निद्राबाट आँखा उघार्दै मलाई क्वारक्वार्ती हेर्न थाल्यो । आँखाभरि आँसु बनाएर भन्न थाल्यो, ‘साथी ! म मर्न सकिन । त्यस घटनाका बारेमा कथा नलेखी मलाई स्वर्गलोकमा ठाउँ मिलेन । त्यसैले अब म जागिरहेको छु । म गम्भीर भइरहेको छु कथा लेख्नलाई ।’

यति भनिसकेपछि म/ऊ अर्थात् कथाकार उक्त घटना र त्यस घटनाका पात्रहरूलाई कथाको कुन साँचोभित्र हालेर लेख्ने भनेर सोचमग्न हुँदाहुँदै अगाडि घूस दिने पात्र जुर्लुङ्ङ देखा परेको थियो । पाठक महोदय ! उक्त अनिर्धारित पात्रले आफूलाई नायक बनाउन मसँग गरेका सबै किसिमका कर्तुत र प्रयासहरू म तपाईंसमक्ष बताउँदै छु धैर्य गर्नुहोस् । हतारिएर भने सुनेको कुनै फाइदा छैन ।

अँ त, चाप्लुसीले मेरो दाल गल्ने नदेखेर उसले आˆनो स्वभावमा परिवर्तन ल्याउन थाल्यो । नरमबाट कडातर्फ, आग्रहबाट धम्कीतर्फ ऊ आफूलाई परिवर्तन गर्दै गइरहेको थियो । एउटा राजनीतिज्ञले आफूसँग भएका सबै शस्त्रअस्त्रहरूको प्रयोग गरेर जनतासँग भोट मागेझैँ उसले पनि अब उसँग बचेखुचेका शस्त्रअस्त्रहरू प्रयोग गर्न खोजिरहेझैँ लाग्थ्यो ।

“ए कथाकार ! तेरो कथामा मेरो भूमिका के हो, किन

भन्दैनस् ? तँलाईं आˆनो ज्यानको माया भए भन् अथवा मलाई तेरो कथामा एकदम असल, सकारात्मक, सशक्त, परोपकारी र आदर्शवादी भूमिका दे । होइन भने … … … !” एक्कासि ऊ धम्की, रिस जोस र आक्रोसका साथ चर्कियो ।

बाफरे बाफ, पाठक महोदय ! मेरै कथाको अनिर्धारित मानस पात्रले मैलाई धम्क्याउँदै हातमा पिस्तोल समातेर मलाई नै ताक्न थाल्यो । म एकचोटि बेसरी डराएँ । सायद तपाईं भएको भए पनि डराउनु हुन्थ्यो होला

हगि ! कस्तो अनिश्चित छ जीवन ! को आˆनो, को अर्काको भन्ने कुराको कुनै भेद रहेन अब । कसले गर्न सक्ने, कसले गर्न नसक्ने त्यसको पनि कुनै अर्थ रहेन अब । जीवन बाँच्नु र मर्नुको दोसाँधमा घडीको पेन्डुलमझैँ हल्लिरहेको देख्दा लाग्छ जीवन अनिश्चय र अस्वाभाविकताको मुहानबाट बगिरहेको छ । यसको टुङ्गो पनि छैन र बगाइको अर्थ पनि त छैन । नबगिकन एक ठाउँमा स्थिर भएर बस्नुको पनि कुनै अर्थ छैन । जीवन निरर्थकहरूको पुञ्जबाट बनेको वाफ हो । कहिले बर्सिन्छ साउनमा, कहिले जम्छ माघमा र कहिले उड्छ चैतमा । जसले जसरी अथ्र्याए पनि अर्थिने तर अर्थहरूका भ्रान्तिले स्वयम् अर्थलाई अनर्थ भोग्न विवश बनाइदिने । केही गर्न खोज्नु पनि जीवन, केही गर्न नदिनु पनि जीवन । अर्थहरूको टुङ्गोमा पुग्न खोज्दा बुङ्गो बनेको जीवन । यस्तो जीवनसँग तपाईं भएको भए पनि पक्का डराउनु हुन्थ्यो, बुझ्नु भयो । हुन सक्छ, तपाईं मलाई ‘यो कथाकार त निकै कायर पो रहेछ’ भनि रहनुभएको होला । ठीकै हो । म कायर नै छु । वीरहरू त लड्न जान्छन् सिमानामा । बैरीहरूले सीमा मिच्दा कथा लेखेर बस्ने फुर्सद कहाँ छ

उनीहरूलाई ? वर्गशत्रुहरूले शोषण, दमन, अन्याय, अत्याचार गरे र देश खोक्रो बनाए भनेर कथा लेख्ने फुर्सद कहाँ र उनीहरूलाई ? म लड्न सक्दिन, त्यसैले कथा लेखेर आˆनो कायरताको परिचय दिइरहेको छु । यदि त्यस्तो ठान्नुहुन्न भने केही छैन म कायर होइन भन्ने कुराको प्रमाण पनि म तपाईंलाई दिन सक्छु ।

हो त, मैले अघिको घटना त भन्नै भुलेको रहेछु । उसले अर्थात् मेरो कथाको अनिर्धारित पात्रले आˆना दुवै हात दह्रो बनाएर समातेको कालो पिस्तोल ताकेपछि मैले बाँच्ने उपाय निकाल्न खोजेँ । तपाईं भएको भए पनि यसै गर्नु हुन्थ्यो होला हगि ?

“ओ पात्रजी ! तपाईंको पिस्तोल हेर्नुस् एकपटक । मलाई त त्यसमा गोली नै छैन जस्तो लाग्यो । पक्का हो, म तपाईंको भलाइकै लागि भन्दै छु । यहाँ मान्छेहरू बाँच्ने गोली खान नपाएर भकाभक मरिरहेका छन् । यस्तो बेलामा तपाईंको मर्ने गोलीको के महìव छ र ? पक्कै पनि तपाईंको पिस्तोलमा गोली छैन ।”

मेरो कुराले उसलाई केही प्रभाव पारेछ क्यारे । ऊ अलि सतर्क भयो । यद्यपि उसले मलाई ताकेरै टि्रगर दबायो ‘खच्याक् खच्याक्’ । साँच्चै हो रहेछ । गोली निस्किएन, यसको मतलब पिस्तोल पड्किएन । ऊ नतमष्तक भयो । म हाँस्न थालेँ । मेरो कथाको अनिर्धारित पात्रले लाज र ग्लानिले आˆनो अनुहार रातो बनाएको मैले देखेँ । मैले उसलाई धेरै नै गिल्लाएँ । साह्रै भएपछि उसले राताराता आँखा बनाउँदै भन्यो, “पख्, म गोली लिएर आउँछु । अनि कसरी नभन्दो रहेछस् मेरो भूमिका ! गोली भरिएको पिस्तोलले ‘घच्याँ घच्याँ’ छका छचोटि हानेपछि अनि मलाई जिस्काउलास् !”

यति भनेर ऊ सरासर हिँड्दै गयो । एक छिनपछि दौड्दै गयो । अझ एक छिनपछि उड्दै गयो र अलप भयो ।

बल्ल मलाई तìवबोध भयो । रहस्यको संसारबाट अब म पूरै होसहवासमा आएँ । मलाई घटना याद भयो । पाठक

महोदय ! यस कथाकी नायिका एकजना आइमाई मान्छे हुन् । हुन त कथाका नायिका सबै आइमाई मान्छे नै हुन्छन् । उनी अहिले बेहोस छिन् । लगभग पैँसठ्ठी वर्षकी मेरो कथाकी नायिका नायकविहीन छन् । नायक नभएकी एक्ली नायिका घरमा एक्लै बसेको देखेका तेह्रजना खलनायकहरू -जसको अनुहार मैले चिन्दछु, तर अहिले सम्भिmसकेको छैन ।) पनि थिए उक्त घटनामा । एउटा निम्नवर्गीय जीवनस्तर सुहाउँदो घरभित्र पसेर ती तेह्र जना खलनायकहरू मध्ये दुई जनाले मेरो कथाकी नायिकाको हाततिर र दुई जनाले खुट्टातिर समातेर ताने र पालैपालो … … … । बस्, घटना यत्ति हो । कथाको सामग्री पनि यत्ति हो ।

पाठक महोदय ! तपाईंलाई लाग्न सक्छ ‘यति जाबो घटनाले पनि कथा बन्छ र ?’ म तपाईंसँग सहमत छु कि यति घटनाले त कथा बन्दै बन्दैन । भन्नका लागि थप अर्को कुरा पनि छ मसँग, जतिसुकै घटनाले पनि कथा बन्दैन । घटना एक्लैले कथा बनाउने भए यो संसारका सम्पूर्ण घटनाहरू कथा बनेर आफैँ कथासङ्ग्रहमा बस्थे । त्यस्तो भएको देखिँदैन । कथाका लागि त पात्र पनि चाहिन्छ नि होइन त ! हो त, मेरो कथाको लागि पात्र त चयन भएकै छैन । अब मलाई एकैछिन कथाका पात्रको चयन र भूमिकाका लागि सोच्न दिनुस् । मलाई एक जना पात्रको अनुहार याद आयो । कताकता देखेजस्तै पात्र छ । मैले सम्भिmने प्रयत्न गरेँ । ओहो, पाठक महोदय ! त्यस घटनाका खलनायकहरूमध्ये एउटा अनुहार अघि मसँग आˆनो असल, अनुकूल, भव्य र आदर्श भूमिका माग्ने त्यही अनिर्धारित पात्र हो । हो हो ! अब उसको भूमिका स्पष्ट भइसकेको छ । अब ऊ मेरै कथाको खलपात्र हो । अब मैले कथामा उसको भूमिकाका बारेमा तपाईंहरूलाई बताइरहनु पर्दैन होला ।

पाठक महोदय ! यहाँ धेरै पात्रका भूमिका रहस्यमयी बनेका छन्, विस्मृत बनेका छन् । चनाखो भएर कथा पढ्नु होला । मेरो कथाकी नायिका होसमा आएपछि म तुरुन्त तपाईंहरूलाई खबर गर्नेछु । कथाका अन्य बाह्र जना खलपात्रको भूमिका थाहा पाएमा पाठक भएका नाताले तुरुन्त मसँग सम्पर्क राख्नु होला । यदि यसो भएमा मेरो कथा पूर्ण हुने छ ।

– पर्वत

Kumud Adhikari – Tin Katha Tin Patra

कुमुद अधिकारी – तीन कथा-तीन पात्र
(साहित्य सरिता)

कथा एकः पात्र एक

कट्……..कट्…………कट्………उफ् ! फेरि बज्न थाल्यो पल्लो कोठाको खाट। यो खाटबजाइ पनि खै ! कुनै समयमा यो खाटबजाइ मेरा लागि आनन्द र लाजको कारक हुने गर्थ्यो तर के गर्नु खै, अहिले त यसले पीडामात्र दिइरहन्छ। कट्…..कट्…. उफ् ! म सहनै सक्तिनँ र बरन्डामा निस्कन्छु। बाहिर जुनेली रात रहेछ। चन्द्रमा ! आहा ! यो चन्द्रमा त मेरो चिरकालको साथी। अब त यही चन्द्रमा त रह्यो नि आफ्नो भन्ने ! चन्द्रलाई त निशाले लगिहाली नि।

पूर्णिमाको चन्द्रमालाई देखाउँदै चन्द्र भन्ने गर्थे – “थाहा छ आभा ! चन्द्रमाको यो शीतलताले हाम्रो सम्बन्धलाई चिरस्थायी बनाउनेछ।”

मलाई शङ्का लाग्थ्यो – “चिसो सम्बन्ध अनि चिरस्थायी ? कस्तो कुरा गरेको ?” मनमा साँच्चै चिसो पस्थ्यो।

उनी भन्थे – “धत् लाटी ! त्यो भनेको हो त ! शीतलता र चिसोपनाको फरक पनि थाहा छैन ? शीतलता जहिले पनि सुखदायी हुन्छ र चिसोपना जहिले पनि दुःखदायी। शीतलता कहिल्यै चिसो हुनै सक्तैन, यदि भयो भने त्यो शीतलता नै होइन।” खोइ ! कति बुझेँ कोनि मैले चन्द्रको कुरा ! त्यति धेरै त म त्यस्ता कुरा बुझ्दिनँ।
म फेरि भित्र पसेँ। बाहिर सिरेटोले हानेझैँ भयो। बत्ती बालेर पुनः त्यही खाटमा पल्टिएँ जुन चन्द्र र मैले पचास वर्षसम्म प्रयोग गरेका थियौँ। बिहे गरेको पचास वर्षपछि म एक्लिएकी छु। पल्टिँदा देखेँ अगाडि भित्तामा हाम्रो जीर्ण भइसकेको बिहेको माला उदास झुन्डिरहेको थियो। बिचरा दुबो न हो, ओइलाएर चाउरी परिसकेको छ। तैपनि मालाका बीचमा राखिएको हाम्रो ब्ल्याक एन्ड ह्वाइट फोटाको आभाले मलाई आलोकित बनाइरहेका छन्।

यो फोटो खिच्दा म कति साह्रो लाजले खुम्चिएकी थिएँ भन्ने साध्ये नै छैन। भर्खरकी बेहुली सोह्र वर्षकी। सम्बन्धदेखि लिएर घरबार, सरसामान, आफन्तहरू, साइनो सबै नितान्त नयाँ। खाट पनि नयाँ। बिहेअघि कहिल्यै खाट साझा नगरेकी मलाई निकै अफ्ठ्यारो लाग्यो तर मेरा कल्पनाका राजकुमारभन्दा पनि राम्रा र बलिष्ठ चन्द्रका बाहुपासमा बाँधिएर एउटै खाटमा सँगै सुत्दा मेरो आनन्दको सीमा रहेन। अठारै वर्षमा पनि परिपक्वताको झलक दिने मेरा श्रीमान् चन्द्रको देहका अङ्गहरूको ओज र शक्ति देखेर म छक्कै परेकी थिएँ। मेरा विवाहित साथीहरूको बयानभन्दा सयौँ गुणा उत्कृष्ट थिए मेरा चन्द्रका ओजयुक्त अङ्गहरू। मेरो त कुरा के गर्नु ! दैहिक सुख लिनेमा सायद म जति भाग्यमानी कोही थिएन।

यसरी सुखभोग गरेको पनि वर्षौँ बित्यो। बिहे गरेको वर्ष दिनभित्रै हामीलाई पुत्रप्राप्ति भयो। छोराको जन्मबाट मेरा शरीरमा अझै राम्रा परिवर्तनहरू भएको कुरा चन्द्रले बताउनुहुन्थ्यो। छोराको जन्मपछि पनि वर्षौँसम्म उहाँको र मेरो दैहिक सुखभोगाइमा रत्तिभर कमी आएन। अझ हामी प्रयोगवादी भएर आनन्दको लूट गर्नमै व्यस्त रह्यौँ। यसरी जिन्दगीको किताबका सुखद पानाहरू पढ्दापढ्दै करिब दस वर्षअगाडि एक दिन मलाई चस्स पेट दुखेको थियो । तल्लो पेट। दुख्यो, हरायो। चन्द्रले बेकार सुर्ता गर्नुहोला भनेर मैले उहाँलाई सुनाइनँ। तर दुखाइको क्रम बढ़ेपछि मैले सुनाउन करै लाग्यो। लाग्न थाल्यो म असमर्थ हुँदै छु, चन्द्रले भनेझैँ ममा कतै चिसो त पसेन ?

मेरो कुरो सुनेर चिन्तित चन्द्रले भन्नुभएको थियो- “आभा ! तिमीले पहिले नै भन्नुपर्थ्यो। ल हिँड ! हिँडिहालौँ स्त्रीरोग-विशेषज्ञकहाँ।”
त्यसपछि हामी विराटनगरस्थित स्त्रीरोग विशेषज्ञ शोभा श्रेष्ठकहाँ गएका थियौँ। अनेक किसिमका परीक्षणपश्चात् शोभा श्रेष्ठको घोषणाले हामी छाँगाबाट खसेका थियौँ। उहाँले भन्नुभयो- “हेर्नुस् आभा ! तपाईँको पाठेघरमा ट्युमर छ, त्यो पनि म्यालिग्न्यान्ट ! जति छिटो फ्याल्यो त्यति नै राम्रो। ढिलो गर्दा तपाईँको ज्यानलाई नै खतरा छ। राम्ररी बुझिराख्‍नुहोस् !”

मैले चन्द्रका अनुहारमा पुलुक्क हेरेँ।उहाँको त्यस्तो पीडैपीडाले भरिएको अनुहार कहिल्यै देखेकी थिइनँ। मेरो मनमा आफ्नो रोगले भन्दा पनि बढी पीडा चन्द्रको अनुहारले दिएको थियो।

करिब पाँच वर्षअघि मेरो पाठेघरसहितको ट्युमर मिल्काएर हामी यही कोठामा छिरेका थियौँ। त्यसपछिको समय निकै पीडादायक रह्यो। म साँच्चै चिसिएकी थिएँ। मलाई त चन्द्रका तिनै बलिष्ठ र ओजयुक्त अङ्गहरूले पिरोल्न थाले। ती अङ्गहरू हेर्दा तिनमा समयको हदले केही पनि असर नपारेका जस्ता देखिन्थे। चन्द्र सत्तरी वर्षको उमेरमा पनि बीसबर्षे जोस राख्‍नुहुन्थ्यो। यही गर्वको कुराले मलाई साह्रै पिरोल्न थाल्यो। उहाँ चुपचाप मेरा छेउमा आएर सुत्‍नुहुन्थ्यो। उहाँको मुखबाट कहिल्यै खुइ निस्केको थाहा पाइनँ। लाग्यो मेरो अङ्गहीनतालाई उहाँले आत्मसात् गर्नुभएको छ। मलाई चिसिएकै रूपमा स्वीकार गर्नुभएको छ। तर उहाँको देहले उहाँको मनलाई कहिल्यै साथ दिएन। छेउमा सुतेका चन्द्रका अङ्गहरूको शक्ति म जहिले पनि अनुभव गर्दथेँ। मलाई लाग्यो अब यो शक्तिको निकास जरुरी छ। समयको यत्रो अन्तरालमा हाम्रो परिवार बढेर ठूलै भइसकेको थियो। हामीमाझ अब छोरो, बुहारी, दुई जवान नाति र एउटी तरुणी नातिनी थियौँ। यस बेला हजुरबा चन्द्रलाई बिहे गर्नु भन्नु भनेको सामाजिक हाँसो र लाजको कुरो हुन्थ्यो तर के गर्नु उहाँको छटपटी म देख्‍नै नसक्ने भइसकेकी थिएँ। त्यसैले एक दिन चन्द्रलाई भनेँ – “हेर्नुस् चन्द्र ! यसरी कति दिन चल्छ ? तपाईँ अब बिहे गर्नुस्। म तपाईँको यो पीडा देख्‍न सक्तिनँ।” त्यसपछि तीनछक्क परेका चन्द्रलाई मैले अङ्कमाल गरेँ र सम्झाउन थालेँ किन उहाँले समाजको हेला खपेरै भए पनि बिहे गर्नुपर्छ भनेर।
चन्द्रको दोस्रो बिहे भएको वा उहाँले मलाई सौता हालेको पनि अब पाँच वर्ष बितिसकेछ। अहिले चन्द्र र निशाको कोठा पल्लोपट्टि छ। कट्….कट्….. फेरि खाट बज्न थाल्यो। ….. उफ् ….. अब जे होस् मैले यो खाटबजाइलाई सहज रूपमा लिनै पर्नेभयो, आत्मसात् गर्नेपर्ने भयो…. मेरा चन्द्रकै लागि भए पनि। उसो त चन्द्र हप्तामा तीन दिन मैसित सुत्‍नुहुन्छ तैपनि बाँकी रहेका तीन रातहरू बिताउन मलाई साह्रै गाह्रो पर्छ। के गर्नु पचास वर्षदेखिको बानी हो सधैँ सँगै सुत्‍ने।

कट्…..कट्…..कट्…. पल्लो कोठाको खाटसँगै चन्द्रलाई आफूछेउमा सम्झेर निदाउने कोसिस गर्न लागेँ।
—-

कथा दुईः पात्र दुई

कट्….कट्…..कट्….. उफ् ! फेरि बज्न थाल्यो यो खाट। हरे ! पल्लो कोठामा आभालाई कति गाह्रो परिसक्यो होला। यो खाट पनि खै ! कुनै समयमा यो खाटबजाइ आनन्द र खुसीको कारक हुने गर्थ्यो, तर के गर्नु खै अचेल त शारीरिक ऊर्जाको निक्षेपण गर्ने माध्यम भएको छ। कट्… कट्… कट्….! ऊ, ढोका उघ्र्यो ! आभा बाहिर निस्किइन् होला। बाहिर त जुनेली रात छ। चन्द्रमा ! आभाले चन्द्रमा हेरेर मेरो साथी त अब यो चन्द्रमा ने त रह्यो भन्ने सोचिरहेकी होलिन्। उनको चन्द्रलाई अहिले त निशाले निलेकी न छ। हो ! निशा र म एकाकार छौँ तर म रत्तिभर पनि आभाबाट अलग हुन सकिरहेको छैन।
पूर्णिमाको चन्द्रमालाई देखाउँदै म भन्ने गर्थेँ- ” थाहा छ आभा ! चन्द्रमाको यस शीतलताले हाम्रो सम्बन्धलाई चिरस्थायी बनाउनेछ।”
उनी सशङ्कित हुन्थिन्- ” चिसो सम्बन्ध अनि चिरस्थायी ? कस्तो कुरा गरेको ?” सायद उनीभित्र चिसो पस्थ्यो।
फेरि प्रस्ट्याउँथेँ- “धत् लाटी ! त्यो भनेको हो त ! शीतलता र चिसोपनाको फरक पनि थाहा छैन ? शीतलता जहिले पनि सुखदायी हुन्छ र चिसोपना जहिले पनि दुखदायी। शीतलता कहिल्यै चिसो हुनै सक्तैन, यदि भयो भने त्यो शीतलता नै होइन।” खोइ कति बुझिन् उनले मैले अन्दाज गर्न सकिनँ, थाहा छ मलाई कुरा बुझ्ने क्षमता नितान्त व्यक्तिगत हुन्छ।

म निशासँगै छु।दैलो फेरि बज्यो। सायद आभा भित्र पसिन होला। बाहिर सिरेटो चलेको छ। म पनि निशाका छेउमा पल्टन्छु। एक पटकलाई मेरो ऊर्जा निशामा खन्याएपछि म केही शिथिलझैँ भएको छु। बत्ती बाल्छु र छेउकी निशालाई हेर्छु। उनी आँखा चिम्लिएर पल्टिएकी छिन्। गजबको सौन्दर्य र दीप्ति छ निशाको अनुहारमा। शरीर पनि उस्तै राम्रो। तर किन हो निशा र म एकाकार हुँदा उनी कहिल्यै मलाई हेर्दिनन्। सायद उनको विगतले सताउँदो हो। खै किन हो म निशामा पनि आभाकै छवि देख्छु। सायद निशाको पनि त्यस्तै विवशता होला। म उत्तानो भएर पल्टिन्छु र मेरा आँखाहरू पर्छन् भित्तामा झुन्ड्याएर राखेको फ्रेमजडित बिहेको मालामा। तर यो माला मेरो-आभाको नभएर निशाको पहिलो विवाहको हो। खै जीवन पनि कस्तो हो ! जीवनभोगाइका आफ्नै रङहरू हुन्छन्। मैले निशाको जीवनलाई सम्मान गरेँ र त्यो माला उनीसँगै यहाँ यस कोठामा भित्रियो।

त्यस्तै माला छ हाम्रो पल्लो कोठामा र मालाभित्र मेरो र आभाको ब्ल्याक एन्ड ह्वाइट फोटो छ। मलाई राम्ररी थाहा छ त्यो फोटो खिच्दा सोह्र वर्षकी आभा लाजले निकै खुम्चिएकी थिइन्। उनको अपूर्व सौन्दर्य देखेर र पाएर म इन्द्रले मेनका पाएझैँ पुलकित भएको थिएँ। आहा ! यस्तो शारीरिक सुगठन ! अङ्गहरूको समानुपात ! म त कल्पनैले मात्र उफ्रेर स्वर्गमा पुग्थेँ – कल्पना हाम्रो मिलनको। कल्पना हाम्रो खाटको र त्यही आवाजको। मेरा विवाहित साथीहरूको बयानभन्दा सयौँ गुणा उत्कृष्ट थिए मेरी आभाका अङ्गहरू। मेरो त के कुरा गर्नु ! दैहिक सुख लिनमा सायद मजति भाग्यमानी अरू कोही थिएन।

यसरी सुखभोग गरेको पनि वर्षौँ बित्यो। बिहे गरेको वर्ष दिनपछि हामीलाई पुत्र प्राप्त भयो। छोराको जन्मपछि आभाको शरीरमा अझै राम्रा परिवर्तनहरू आएको मैले पाएँ। उनको शरीरमा थपिएको मातृत्वको ओजले छोराको जन्मको वर्षौँ पछिसम्म पनि उनको र मेरो दैहिक सुखभोगमा रत्तिभर कमी आएन। अझ हामी प्रयोगवादी भएर भएभरको आनन्द लूट गर्नतर्फ लाग्यौँ। जिन्दगीका सुखद पानाहरू पल्टाउँदा-पल्टाउँदै करिब दस वर्षअगाडि आभाले आफ्नो तल्लो पेट दुखेको कुरा गरिन्। केही दिन देखि उनको आभामा कमी त महसुस गरेको थिएँ मैले। केही लुकाएझैँ लाग्यो आभाले। मलाई दुःख लाग्छ भनेर लुकाएको पनि हुन सक्छ उनले। स्वभावै त्यस्तै छ उनको, दुःखजति लुकाएर सुखका पोकाहरू मात्र खोल्ने।

सुनेर म चिन्तित भएको थिएँ। र भनेको थिएँ- “आभा ! तिमीले पहिले नै भन्नुपर्थ्यो। ल हिँड ! हिँडिहालौँ स्त्रीरोग-विशेषज्ञकहाँ।”

त्यसपछि हामी विराटनगरस्थित स्त्रीरोग विशेषज्ञ शोभा श्रेष्ठकहाँ गएका थियौँ। अनेक किसिमका परीक्षणपश्चात् शोभा श्रेष्ठको घोषणाले हामी छाँगाबाट खसेका थियौँ। उहाँले भन्नुभयो- “हेर्नुस् आभा ! तपाईँको पाठेघरमा ट्युमर छ, त्यो पनि म्यालिग्न्यान्ट ! जति छिटो फ्याल्यो त्यति नै राम्रो। ढिलो गर्दा तपाईँको ज्यानलाई नै खतरा छ। राम्ररी बुझिराख्‍नुहोस् !”

आभाले मेरो अनुहार पुलुक्क हेरिन्। पीडैपीडाले भरिएको उनको अनुहारले मेरो अनुहारमा पनि पीडाकै थुप्रो देख्यो।

करिब पाँच वर्षअघि हामी आभाको पाठेघर मिल्काएर त्यही कोठामा छिरेका थियौँ। त्यसपछिको समय हामी दुवैका लागि पीडादायक रह्यो। उनी असमर्थ भइसकेकी थिइन्। उनको शारीरिक सुगठन पनि बिरामीले गर्दा ओइलिइसकेको थियो। म के गरूँ ? मेरो सत्तरी वर्षको बूढो शरीर पनि बीसबर्षे युवकको जस्तो जोस देखाउँछ। के गर्नु यस्तो शरीर पाएकामा गर्व गर्नुपर्ने ठाउँमा यही शरीर मलाई घाँडोजस्तो भएको थियो। मेरो शारीरिक ऊर्जा खन्याउने ठाउँ सुकिसकेको थियो। तर पनि मैले आभालाई कहिल्यै पीर गरिनँ। म शिथल भएर पनि, भित्रभित्रै उम्लिएर पनि आभाका छेउमा सुत्दा खुइय् गरिनँ।मैले सायद उनको अङ्गहीनतालाई आत्मसात् गर्न खोजिरहेको थिएँ। तर के गर्नु मेरो देहले मेरो मनलाई कहिल्यै साथ दिएन। मलाई शङ्का लाग्यो कतै मेरा अङ्गहरूको शक्ति र छटपटाहट कतै आभाले त अनुभव गरिरहेकी छैनन् ? र एक दिन दुई जवान नाति र एउटी तरुणी नातिनीकी हजुरआमाले म हजुरबालाई भनिन्- “हेर्नुस् चन्द्र ! यसरी कति दिन चल्छ ? तपाईँ अब बिहे गर्नुस्। म तपाईँको यो पीडा देख्‍न सक्तिनँ।” त्यसपछि तीनछक्क परेको मलाई उनले अङ्कमाल गरिन् र सम्झाउन थालिन् किन मैले समाजको हेला खपेरै भए पनि बिहे गर्नुपर्छ भनेर।

मेरो दोस्रो बिहे भएको वा मैले आभालाई सौता हालेको पनि पाँच वर्ष बितिसकेछ। अहिले मेरो र निशाको कोठा यो छ। म यसो निशालाई हेर्छु। उनी मतिर एकपल्ट हेरेर निःस्पृह भावले उता फर्किन्छिन्। उनको निःस्पृहताले मलाई फरक पारे पनि मेरो ज्याद्रो शरीरलाई केही फरक पार्दैन। शारीरिक ऊर्जाको निकास त खोज्नै पर्‍यो। कट्…..कट्…. सायद आभाले यो बजाइलाई आत्मसात् गर्ने कोसिस गर्दै होलिन्। उनी मेरा लागि जे गर्न पनि तयार छिन्। म पनि त निशासँग हुँदा पनि उनैसँग जोडिन पुग्छु। उसो त हप्तामा तीन रात म उनीसितै सुत्छु तर के गर्नु यो शरीरको शक्तिले तीन रात मलाई निशासँग सुताउँछ। आभासँगै सुतेको पचास वर्षको बानी न हो। एउटा पूरै जिन्दगी। जीवन जिउने एउटा तरिका।

कट्… कट्…. कट्…. उफ ! यो खाट फेरि बज्यो ! पल्लो कोठामा सायद आभा मलाई छेउमा सम्झेर निदाउने कोसिस पो गर्दै होलिन्…….।

कथा तीनः पात्र तीन

कट्… कट्… कट्… उफ ! फेरि बज्न थाल्यो यो खाट। हरे ! कुनै समय यो खाटबजाइ मेरा लागि आनन्द र लाजको कारक हुने गर्थ्यो तर अहिले विवशता पोख्‍ने ठाउँ भएको छ। पुरुषप्रधान समाजबाट अपहेलित एउटी आइमाई आफ्नो दोस्रो बिहेपछि विवशताबाहेक अरू के नै प्रकट गर्न सक्छे र? उसका सम्पूर्ण उत्साह, खुसी र आनन्द त पहिलो विवाहको असफलताले नै अँध्यारो खाडलमा हालिसकेका हुन्छन्। मसित अहिले चन्द्र हुनुहुन्छ र यो खाट यसरी बजिरहेको छ। म जति कोसिस गरे पनि उहाँप्रति समर्पित हुन सक्तिनँ। उहाँले मेरो शरीर भोगे पनि मेरो मनलाई केही गर्न सक्नुहुन्न। मेरो मनले नै मान्दैन मेरो शरीरलाई साथ दिन। त्यसैले म उहाँलाई खल्लो नहोस् भनेर आँखा चिम्लेर साथ दिन्छु वा भनौँ मेरो शरीरले साथ दिन्छ। मेरो निःस्पृहतालाई चन्द्रले सायद याद गर्नुभएको होला। तर खै केही भन्नुहुन्न। मेरो विवशताले मलाई चन्द्रसम्म ल्याइपुर्‍यायो। म अलिकति पनि आत्मनिर्भर भएको भए, मेरा बाबुआमाले मलाई स्वावलम्बी हुन सिकाएको भए मैले यसरी शरीर र मनलाई अलग पारेर बाँचिरहनुपर्ने थिएन। मैले चन्द्र र आभाका बीचमा पस्नुपर्ने थिएन।

केही क्षणलाई आँखा खोलेर पुलुक्क हेरेँ- भेन्टिलेसनबाट पूर्णचन्द्रको एउटा अंश देखियो। यो पनि गजब कै संयोग मान्नुपर्छ। चन्द्रमाको उज्यालो, पूर्णचन्द्र र त्यसको आभा चन्द्र, आभा र मलाई उत्तिकै मन पर्छन्। मैले चन्द्रकहाँ आईकन एउटा थप कुरा के जानेँ भने चन्द्रमाको उज्यालोले सबैलाई सधैँ सुख मात्र दिँदो रहेनछ। यसले दिने उज्यालोले विशेष मलाई र आभालाई पीर गर्छ। खै चन्द्रचाहिँ कत्तिको प्रभावित हुनुहुन्छ। शारीरिक सुखलाई मनबाट अलग्ग पारेर हेर्ने सामाजिक परिपाटीमा हुर्केका पुरुष न हुनुभयो उहाँ पनि। सायद त्यसको मिल्दो व्याख्या होला उहाँसँग।

सोह्र वर्षअगाडि मेरो बिहे विमलसँग हुँदा पनि चन्द्रमासँग, विशेष पूर्णिमाको चन्द्रमासँग थुप्रै सपनाहरू थिए मसँग। तर विमललाई राती बाहिर निस्कन पटक्कै मन नलाग्ने। म सोच्थेँ – हामी दुई पनि कोठा बाहिर निस्कौँ। म पलेटी कसेर बसूँ। मेरा काखमा विमलको शिर होस् र म उहाँको कपाल सुमसुम्याइरहूँ। पूर्णिमाको चन्द्रमाले हामीलाई भिजाओस् र हामी प्रेमालाप गरिरहौँ। तर सपना र विपनामा फरक त हुँदो नै रहेछ। तैपनि दुईजना पात्र भएको सपना। सपनाको एउटा पात्र त आफ्नो नियन्त्रणमा हुन्छ तर अर्को ? अर्को पात्रको पनि सपना एउटै हुन्छ र ? अब अहिलेको स्थिति नै हेरूँ न, जब म चाहन्थेँ त्यस बेला साथीले चाहेनन्, अहिलेका साथीले चन्द्रमा मन पराउँछन् तर यहाँको स्थिति नै यस्तो छ। बन्धुत्वको जालभित्र म बुनिन सकिरहेकै छैनँ। पारिवारिक स्थिति टाट पल्टेरै म यो स्थितिमा आइपुगेकी हूँ। मेरा दुईजना छोराहरूको जिम्मेवारीले मलाई यहाँसम्म ल्याइपुर्‍यायो।

बिहेपछिका पाँच वर्ष त विमलसँग खुसीसाथ बिते। विमल बाबुआमाको एक्लो छोरो हुनुहुन्थ्यो। बाबुआमाले पुलपुल्याएर पालेकाले र सम्पत्ति प्रशस्त भएकाले पढ्नेलेख्‍ने आवश्यकता नठानेका उहाँसँग बिहे गर्दा त मैले आफ्नो यो दुर्गति होला भनेर सोचेकी थिइनँ। तर दुई छोरा जन्मेपछि विमल मबाट विस्तारै टाढिन थाल्नुभयो।

ए ! चन्द्रले बत्ती बाल्नुभएछ। बत्ती बालेपछि देखेँ अगाडिको भित्तामा मेरो बिहेको माला उदास-उदास झुन्डिरहेको छ। मैले यस मालालाई माया मार्नै सकिनँ। बिहेमा विमलले लगाइदिएको मेरो जिन्दगीको अमूल्य निधि हो। तर त्यसमा मैले हाम्रो फोटो राखिनँ, निकालेर फ्याँकिदिएँ। फोटो नभएको रित्तो माला यस घरमा भित्र्याउन मैले चन्द्रसँग विशेष अनुरोध गरेकी थिएँ। विमलले कुलतमा लागेर सबै सम्पत्ति सखाप पार्नुभयो र मलाई बिचल्लीमा पारेर कतै हराउनु भयो।उहाँको फोटो त्यहाँ राखिराख्‍नु भनेको घाउ दुखाइरहनु थियो। मालालाई चाहिँ मैले कसै गरे त्याग्न सकिनँ। विमलको लापरबाही जेजस्तो भए पनि त्यो माला हाम्रो संस्कारको चिनो थियो। आफ्नो संस्कारको अवहेलना गर्न मैले सकिनँ र सँगै त्यस मालालाई चन्द्रका घरमा लिएर आएँ।

दुई छोराहरूको र आफूलाई सम्हाल्दासम्हाल्दै समयको कुन मोडमा म यस गाउँमा डेरा बस्न आइपुगेँ मलाई हेक्का रहेन। एक दिन चन्द्रसँग परिचय भयो। हेर्दा उहाँ चालीस-पैँतालीसको जस्तो देखिए पनि उहाँ पैँसठ्ठी वर्षको भन्दा मलाई विश्वास गर्न गाह्रो भएको थियो।

चन्द्रसँग मेलजोल बढ्दै गयो। उहाँको सहयोगी र राम्रो व्यवहारले मैले आफूलाई केही सुरक्षित अनुभव गर्न थालेँ। लाग्यो भलामानिसहरू भएका ठाउँमा मैले डराउनुपर्दैन। दुई छोरा हरू पनि उहाँसँग राम्ररी झ्याम्मिन थाले। अचानक उहाँले एक दिन मसँग बिहेको प्रस्ताव राख्‍नुभयो। आफूले अभिभावक ठानेका व्यक्तिबाट त्यस्तो कुरो आउँदा मलाई सोचिनसक्नुको पी़डा भयो। केही दिन त केही सोच्नै सकिनँ। घरेलु कामकाजमा पनि हातखुट्टाहरू फतक्क गल्थे। सोच्थेँ – स्त्री भएर जन्मिनु नै अभिशाप रहेछ। पहिले एउटाले मनलाग्दो खेलाएर छाडेर गयो भने अहिले अर्काले खेलाउन खोज्दै छ। यस्तै मानसिक उथलपुथलले चारपाँच दिन अन्यौलमै बिते, त्यसपछि केही गम्भीर भएर सोचेँ। चन्द्रले उहाँसँग बिहे गरेदेखि दुई छोराहरूलाई राम्रो शिक्षा दिलाउने वाचा गर्नुभएको थियो। मलाई लाग्यो म बनीबुताले मेरा छोराहरूको मुखमा माड त लगाउन सक्छु तर मबाट उनीहरूको उच्च शिक्षा पूरा हुन सक्तैन। त्यसैले मैले आफूलाई भत्काएर छोराहरूको भविष्य निर्माण गर्नु छ। फेरि मजस्ती परित्यक्ता नारीलाई समाजका ब्वाँसाहरूले पनि दुःख दिने सम्भावना प्रशस्तै थियो। सयौँ ब्वाँसाहरूबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा चिथोरिनुभन्दा त बरू एउटा छहारीमै छिर्न उचित लाग्यो। त्यसैले मैले मेरा छोराहरूको भविष्य र सामाजिक सुरक्षाका लागि चन्द्रसँग बिहे गरेँ। मैले आफूलाई ब्याकमेल हुन दिएँ। मैले बेचेँ आफूलाई छोराहरूका निम्ति र आफ्नै निम्ति। अहिले मेरा छोराहरू यस विराटनगरको प्रतिष्ठित बोर्डिङ स्कुलमा होस्टलमा बसेर पढ्दै छन् र मेरो एउटा स्थान छ समाजमा। मैले आफूलाई छोराहरूको भविष्यमा र चन्द्रकी दोस्री श्रीमतीको रूपमा पाएकी छु।

चन्द्र फेरि हलचल गर्न लाग्नुभएछ। उफ् ! यो खाट फेरि बज्ने भयो …कट्…कट्…कट्…। लोग्ने मान्छेको स्वभाव पनि अचम्मकै हुन्छ, बुझ्नै नसकिने। पचास वर्षको आभासँगको वैवाहिक जीवन। हाम्रा लागि त पचास वर्ष भनेको पूरै जिन्दगी नै हो नि। किन मलाई उहाँले भित्र्याउनुभयो उहाँका पक्षबाट आफ्नै तर्कहरू होलान् तर मलाई यो कट्…कट्…. को कुनै अर्थ छैन। कट्… कट्…. कट्…। म फेरि अर्थहीन काममा अग्रसर हुन्छु।

Pravin Rai Jumeli – Gantokma Dui Hallowmen

प्रवीण राई जुमेली – गान्तोकमा दुइ हलोम्यान

तिनीहरुको उपस्थितिको पत्तोफाँट कसैलाई थिएन त्यहाँ। कताबाट हो एसटिएनएमको अघिल्तिर फुत्त निस्केर मेट्रोतिर तिनीहरुले पाइला चाल्न सुरु गरिसकेका थिए। गान्तोकका सडक, फुटपाथ र चेपचाप सबै ठाउँहरु रङ्गी-बिरङ्गी मान्छेहरुको सल्बलाहटले सक्सकाइरहेथ्यो। तर सधैँ झैं एमजी मार्गको रौनकता भने त्यही हिजको अनुकरण नै थियो भनिदिँदा खेर नजालाअनि वातावरणको त्यस अनुकरणात्मकताभित्र खबरकागज, लटरी, टेन्डर, युवा, नोकरी र यस्तै-यस्तैहरु पनि आफ्ना युगीन सामासर्जामसित घन्किरहेथ्यो। त्यस्ता घन्काइ सुन्नेहरुको भूमिकालाई भने हामी वुल्फग्याङ आइजरले नामाकरण गरे झैं वास्तविक पाठक र सुनाउनेहरुलाई चाहिं हामीले नै वास्तविक पात्रको नाम दिइराखौं होला ! तर यो पाठमा हुल्न लागिएको अदृश्य दुइको भूमिका भने गान्तोकमा सधैँ सल्बलाइरहने भीड भन्दा अलग नै छ। पल वरहोवनद्वारा निर्देशित २ घन्टा १० मिनेट लामो अङ्ग्रेजी सिनेमा हलोम्यानमा केविन बेकनले जस्तो गलाउने किसिमको अभिनय गरेको छ, यी अदृश्य दुइको अभिनय भने त्योभन्दा अलग नै हुनेछ। यति चाहिँ पक्कै हो कि हलोम्यानको केविन बेकन झैं तिनीहरु पनि अदृश्य छन्। तर तिनीहरु त्यसरी अदृश्य हुनु चाहिँ कुनै वैज्ञानिक परिक्षणको प्रतिफल अवश्यै होइन। त्यसैले पनि आज यहाँ यो पाठको आवश्यकता महशूस गरिएको छ भनौं। तिनीहरु टाइटेनिक बिसाउनी पुगेपछि हामी उनीहरुको सम्वाद सुनेर पाठलाई अघि बढाउनेछौं। तिनीहरुको सम्वादले नै यस पाठको निर्मितिमा मुख्य भूमिका बेहोर्नपर्नेछ। अब सम्वादतिर लागौं।

ऐ……हामी अगिदेखि यो बाटोमा हिंडिरहेछौं, तर यी मान्छेहरुले किन हामीलाई देखे झैं गर्दैन त? एउटाले सोध्यो।

तिनीहरु जस्तो होइनौं हामी। बुझेको छैनस् अझ्झै? अर्कोले भन्यो, हाम्रो नियति त नदेखिनु नै हो। नदेखिएर नै बाँचिरहनु बोधहरुमा!’ थप्दै।

के हाम्रो काया जस्तै हाम्रो स्वर पनि नसुनिने नै छ मान्छेहरुलाई? अघिल्लोले जिज्ञासा बोल्यो।

हो नी लठ्ठक

तिनीहरु फुटपाथमा हिंड्नेहरुसित ठिक्किँदा कुनै असर थिएन; गजब त यतिसम्म थियो कि तिनीहरु मान्छेका सरीरबाट वारपार छिर्न पनि सक्थे। त्यसो गर्दा मान्छेहरुले थाहै पनि पाउँदैन थिए। तर यो अनुभव तिनीहरुलाई पुरानो भएकोले त्यसमा कुनै चार्म बाँकी रहेको थिएन। बस् हिँड्दै बात मारिरहनु तिनीहरुको कार्यव्यापार थियो।

चुपचुप चुप……..’, तर तिनीहरुको बातचितको श्रृङ्खला अघि बढ्न पाएन। पछिल्लो अदृश्यले चुप बस्ने सतर्कता दिइहाल्यो; त्यसैका आँखाहरुलाई पछ्याउँदै अघिल्लोका आँखाहरु पनि टाइटेनिक बिसाउनीको एउटा पिठिकामा गएर रोकियो। त्यहाँ एकजना दाह्रीवाला मान्छे अर्को चस्मा लगाउने मान्छेसित गफिँदैथ्यो। ती दुइ ब. र प्र. थिए। दुवैले आफ्आफूलाई धुरन्धर लेखक हो ठान्थे र भेट्नसाथ आफ्आफ्ना महाविस्वासहरुको छाला उदार्ने कामतिर लागिहाल्थे। अब यी ब. र प्र.को उपस्थितिसित ती दुइ अदृश्यहरु त्रासित हुनुको कारण पनि ती दुइबाटै जानौं। साथसाथै ब. र प्र.को महाविस्वास बारे समीक्षा गर्न पनि ती अदृश्य दुइलाई नै लगाए हामी धेरै सन्तुष्ट हुन सकौंला! कसो त पाठकज्यू?

ब.का ओठहरुले सधैँको उसको परिहासपूर्ण मुस्कान टाँसेरै राखेको छ। प्र. सधैँ अट्कलिरहन्छ ब.लाई। ब.लाई मात्र होइन चिनिएका हरेकलाई नै। प्र. यस्तै नमुनाहरुबाट आफ्ना अलिखित कथाहरुको लागि पात्रत्वको जिस्ट बटुल्ने फिराकमा हुन्छ। यो उसको साहित्यिक धुर्त्याईं हो। नेपाली जनसमूह सद्दे साहित्यिक पाठकमा अनुवाद हुन नसक्नुले गर्दा उनीहरु यस धुर्त्याईंबाट अनभिज्ञ छन्। यसलाई हामी त्यस असमर्थताले जन्माएको प्रतिकूलता भनी अर्थ्याउन सक्छौं। यहाँ हामी रोमन याकब्सनसित साथ लागेर भन्नसक्छौं कि पाठ तबसम्म निरर्थक हुन्छ जबसम्म त्यसलाई पढिँदैन। पाठलाई अर्थ दिने पाठक नै हुन्छ किनकि अर्थ पाठमा निहित हुँदैन। प्र. इच्छाअनुरुपको पाठक अन्वेषण गर्न चाहन्छ। खै त्यो उसको इच्छा पूरा हुने हो/होइन भन्न चाहिँ यसै सकिन्न।

के यिनी दुइबाट भागेर बाँच्नसक्छौं हामी? पहिलो अदृश्यले साउतीमा सोध्यो।

किन सकिँदैन त, भन्न सक्छौ? दोस्रोले पनि प्रश्नै तेर्सायो।

यिनीहरुकै कलमले हाम्रो काया भर्ने गर्छ; स्वतन्त्र छौं लाग्छ हामीलाई स्वतन्त्र कहाँ छौं र हामी?’ प्रश्नैमा जवाब भन्यो पहिलोले फेरि। आँखैले नदेख्दा पनि यिनीहरुले खेलाउँछ हामीलाई। यिनीहरुको पाठ भर्ने पूरकहरु भइदिएका हामी त, दोस्रो नबोलिरहँदा अलिक भरै यति थप्यो पहिलोले, एउटा पाठ-लेखन तुरिँदा हाम्रो भूमिका तुरिँदैन। अर्को पाठ-लेखनको अवस्थासम्म मात्र हामी खाली भएका हुन्छौं; किनकि पाठ लेखनको समाप्तिसितै हाम्रो पात्रत्व पनि जढ भइसकेको हुन्छ त्यहाँ। त्यसोप्रान्त अर्थोत्पतिको जिम्मा पाठकको काँधमा पुग्छ। हाम्रो कायाले अर्को पाठको प्रतीक्षा गर्नपर्ने हुन्छ। बुझ्यौ?’

हामी दुइ मात्र किन त यस्तो वाद्यतामा?’ दोस्रो पोख्छ जिज्ञासा।

हामी जस्ता त कति छन् कति। अहिले प्र. एउटा पाठ तयार गर्ने तर्खरमा छ र हामीलाई उसैले यहाँ ल्याइएको बनाएको हो। हामी लेखक ब. र प्र.का महाविस्वास उधार्न यहाँ उपस्थित छौं। यी दुवै म को हूँ अथवा म यो हूँको समस्याले जेलिएका छन, बुझ्यौ?’ जवाब पहिलोको।

भन्नपर्ला की दोस्रोले पर्खिरहन्छ पहिलोको अरु स्पष्टिकरणलाई। पहिलो भने मज्जा मान्छ दोस्रोको जिज्ञासामा।

यी दुइको लडाईं वास्तवमा आफ्-आफ्ना विस्वासको हो; सङ्घर्ष त्यसैले उमारेको छ, पहिलो बोल्छ,प्र. आफ्नो विस्वासलाई भ्रम मान्छ। ब. त्यहाँ सापेक्षित यथार्थ्य देख्छ। विगतमा पनि यस्तै भ्रम खेती गर्ने कसैको छाला काढेको बहस ऊसित छ

यस्तै महाविस्वासमा रमिरहँदै आफ्-आफ्नो हिस्साको जीवन बाँचिजानु मानिसको यथार्थ्य हो भन्दै एउटा पाठ कोरेको छ जस्तो लाग्यो प्र.ले, होइन? अब दोस्रोले पनि एउटा अनुभव बोल्यो।

त्यस्तो पाठले केही नाप्दैन गठ्ठे! विस्वास भत्किनु भनेको मान्छे भत्किनु हो। जसरी सोह्रौं-सत्रहौं शताब्दीतिर देकार्तले आइ थिङ्क देयरफोर आइ एम भनी मानवको सर्वोच्चतालाई देखाउन खोजेका थिए त्यसैको विरोधमा नविन दर्शनको खेतमा उभेर लकाँले भने आइ थिङ व्हेर आइ एम नट, देयरफोर आइ एम व्हेर आइ डु नट थिङ् ढिलो-छिटो होला, तर पछिल्लो विस्वास उभिनुलाई अघिल्लो मर्नैपर्छ बुझिस्?’ पहिलो यसरी घन्किन्छ।

हन अन्योल त यहाँ पो भयो पण्डित की दुवै बराबर जस्तै उमेरका भएर पनि मान्यताको विभिन्नता कसरी बाँचिरहेछन् ती दुइले?’ दोस्रो भने जिज्ञासाको मूलधारामै छ भनी जानौं

कुरा प्र.ले उसको कथापाठ ऋतुखेलमा हामीलाई कथित भ्रमको निम्ति नचाएपछि उठेको हो। ब.ले कुनै समय भ्रमकै कुनै गायकलाई सापेक्षितताको डन्ठाले कुटेथ्यो अरे। उसले सम्झेथ्यो, भ्रम नमरे पनि त्यसका गायकहरु मरिसके। आज फेरि प्र.ले कुरा उठाएपछि ब.को स्वाभिमान दुखिउठेको होला! उसले प्र. लिखित एउटा पाठको खिल्ली उडाउँदै कथा पनि लेखेको छ पहिलोले बुझायो, वास्तवमा प्र.को भ्रम ज्ञानको सन्दर्भमा हो। ब.ले उसको कथामा जस्तो १. भ्रम जरा समातेको भए बगाउने तर धन्न यथार्थ जरा समातेको रहेछ, २. तर पानी देऊ भनिनु भ्रम पटक्कै थिएन त्यो त सापेक्षित सत्य थियो आदि लेखेर जतिनै आफ्नो महाविस्वासको ढोल पिटोस् र प्र.को भ्रमको खिल्ली उँडाओस, ती सब मानिसको अस्तित्वलाई सङ्घर्षका केही नमुनाहरु मात्र हुन्। बुझिस?‘

दोस्रो बोलेन। पहिलोका अरु स्पष्टिकरणहरु पर्खिरहनु उसको नियति भयो। प्र. नै उनीहरुसित त्यहाँ भएका भए के भन्नेथ्यो होला? सोंचिरह्यो उसले। प्र. लिखित ऋतुखेलका केही पाठहरु पढेपछि ब.ले पनि प्रतिक्रिया स्वरुप एउटा कथा पानी, भ्रम अनि आककातीपासिका प्र. लेख्ने जमर्को गरेको थियो। त्यस कथाको एउटा प्रतिलिपि प्र.लाई पनि दिऊँ भनी गोजीमा बोकेर हिंडेको धेरै दिनपछि मात्र किरण ड्राइक्लिनर्स अघिल्तिर उसलाई भेट्टाएर ब.ले त्यस कथाको प्रतिलिपि थम्याएथ्यो। यो हो १८.७. २००९को कुरा। त्यस अगि ब.ले लेखेको कथा कतै कसैले पढेको थिएन। आफ्नो अभिमानको रक्षाकै लागि उसले कथालेखनको दहमा हाम फालेको हो भने त्यो दुखाइले पार नपाउला! उनाइसौं शदीका वैज्ञानिक दृष्टिकोणहरु बीसौं शदीमा आइपुग्दा धेरैजसो परिवर्तित रुपमा थिए। ती दृष्टिकोणहरुले वस्तुनिष्ठ तथ्यहरुमाथि घडेरी बसालेको थियो। आइन्सटाइनको सापेक्षतावादले पनि खुबै विस्वाससित हुँकार गरेको थियो समयको त्यस खण्डमा। त्यो जानकारीबाट निश्चयनै प्र. पनि अलग थिएन। उ जान्दथ्यो कि प्रकृति सधैँ आफ्ना सत्यहरु लिएर स्थिर छ। मस्तिष्क, बोध र तर्कहरु लिएर मानिसले सिर्जेका ज्ञानहरु त्यसैले संशयको घेराभित्र गुँडुल्किएको हुन्छ। ती बोध र तर्कहरु मानिसदेखि मानिससम्म मात्र सिमित रहेको छ। पशुहरुले पनि आइन्सटाइन प्रदत्त वस्तुनिष्ठताको बोध गर्छन् तर तर्क र विमर्शमा हारेका छन्। ज्ञानका बोध र अर्थहरु सधैँ एकनास हुँदैन हरेक व्यक्तिलाई। सस्युर प्रदत्त लाङ्गमा जब फाल हान्छौं हामी त्यहाँ अर्थको उपस्थिति पढ्छौं, जुन कुरा विरचनामा आइपुग्दा फेरि अर्थको स्थगन भनी पढ्छौं। सस्युर र डेरिडाको प्रभाव आफ्आफ्ना कालखण्डहरुमा प्रभावशाली थिए र छन्। भन्न नपर्ला कि अर्को विमर्श र तर्कको बेसमेन्ट पनि तर अघिल्लोकै टाउकोमा उभिएर बढेको देख्छौं। ज्ञानहरु जो मानव अभिमानको रक्षार्थ उभिएका छन् एक कालखण्डपछि अर्कोमा पुग्दा-नपुग्दै टुक्रिएका छन्, शङ्काको घेराभित्र परेका छन्। साधारण मान्छेले भोग्ने, सुन्ने र पालन गर्ने व्यवहारिकताहरुमा त्यो ज्ञानको भूमिका कुन रुपमा हुन्छ त्यो यसै भन्न सकिन्न। बिइङ एन्ड टाइममा मार्टिन हाइडेगरले अस्तित्ववादको उकीलगिरी गर्दै भनेका छन् कि मानिसको अस्तित्व उसको प्रदत्त हुनुमा छ जसलाई उनले दाजाइन भनी नामाकरण गरेका छन्। यसले यो तर्कलाई अगि सार्छ कि त्यस प्रदत्त हुनुको अर्थले मानिसको स्वतन्त्रतालाई चुम्काइदिन्छप्रदत्तता त्यो अवस्था हो जहाँसम्म मानिसको बोधले छुनसक्छ र त्यसभन्दा उता उसको अधिकार समाप्तिएर जान्छ। व्यवहारिक रुपमा भन्नपर्दा हामी आफ्-आफ्नो बोधभित्र र बोधसित मात्र खेलिरन्छौं। यस्तै खेलहरुले भ्रमका खेतहरु उमार्छ।

यो भ्रम पाठकको दृष्टिकोणबाट पनि छर्लङ्गिन्छ, पहिलो अझ भन्दै हुन्छ, यसलाई हामी हन्स रोबर्ट याउसद्वारा कथित प्याराडाइमको परिवर्तित रुपहरुले पनि बुझौं। एउटा तर्क एउटा प्याराडाइमको निर्मिति-क्रममा हुन्छ जो अर्को प्याराडाइममा पुग्दा-नपुग्दै प्रश्नचिन्ह भित्र पसिसकेको हुन्छ। विज्ञानका इतिहासकार थमस कनले उनको किताब दि इस्ट्रक्चर अफ साइन्टिफिक रिवोल्युसन्समा यस प्याराडाइमको व्याख्या गरेका थिए। कनले अरु सामाजिक विज्ञानहरुमा प्याराडाइम हुँदैन भने तापनि प्रथमपल्ट फर्डिनान्ड डि सस्युरले भाषाका समान्तर तत्वहरुको वर्ग  छुट्याउन प्याराडाइम शब्द चलाएका थिए। कन मुताबिक विज्ञानको प्याराडाइमले अभ्यासहरुको त्यो समुच्चयलाई बुझाउँछ जहाँ एउटा खास समयभित्रको वैज्ञानिक पद्वति परिभाषित हुन्छ।

पहिलोले कुरा भनिसक्दैन। तर दोस्रो टाउको कन्याँउदै हुन्छ। जे भए तापनि प्याराडाइमहरु असङ्ख्य मात्रामा हुन्छन् भनी  बुझ्छ उसले र ती विभिन्न कालखण्डहरु हुन् पनि बुझ्छ। एउटा कालखण्डको आवेग, रुप र बोध जसरी अर्कोसित मिल्दैन त्यसरी नै प्याराडाइमका रङ्गहरु पनि भिन्न-भिन्नै हुने गर्छन्। यसैले प्याराडाइमहरु विरोधाभासी  हुन्छन्। यसको अनुरुपता हामी थिङ्किङ आउटसाइड दि बक्स भन्ने वाक्यांशबाट पनि बुझ्नसक्छौं भन्ने कनहरुको भनाइ छ। विज्ञानमा थिङ्किङ इन्साइड दि बक्सले साधारण विज्ञानलाई मात्र बुझाउँछ। जब हामी बक्सदेखि बाहिर जान्छौं त्यो रुप र बोध क्रान्तिकारी हुने गर्छ।

अब हामी ब.को तर्कको केन्द्रतिर पसौं।

प्याराडाइम सिफ्टलाई भौतिक-शास्त्रमा १९०० शदीको अन्ततिर नाटकीय रुपले बलियो भएको पाउँछौं हामी जब लर्ड केविनले छाती फुकाएर भनेका थिए: ‘देयर एज नथिङ निउ टु बि डिस्कवर्ड इन फिजिक्स नाउ। त्यसको लगत्तै पाँच वर्षपछि अल्बर्ट आइन्सटाइनले सापेक्षतावादमाथि उनको लेखन छपाएका थिए। त्यहाँ उनले न्युटनेली यान्त्रीकीलाई चुनौती दिँदै अति साधारण विधिका समुच्चयहरुलाई प्रस्तुत गरेका थिए जसले शक्ति र गतिलाई लगभग २०० वर्ष यसो व्याख्या गर्दै आइरहेको थियो यहाँ एउटा नयाँ प्याराडाइमले अर्को पुरानोलाई स्थानापन्न गऱ्यो। कनको भनाइलाई एक समाज-विज्ञानी मातिइ डोगनले पनि सकारे। जब बुद्धी र बोधले वर्तमान सोचाइको इलाकाभन्दा परतिर जान नकार्छ तब प्याराडाइम प्यारालाइसिसको उत्पति हुन्छ। उदाहरणको रुपमा ग्यालिलियोको हेलियोसेन्ट्रिक युनिवर्स, विद्युतिकृत फोटोग्राफी, जेरोग्राफी र क्वार्ज घढीहरुलाई लिनसक्छौं। यसरीनै नेपाली साहित्यमा इन्द्रबहादुर राई आदिका लेखनले लेखकीय प्याराडाइम सिफ्टलाई दर्शाउँछ भने वर्तमानमा सहजबुद्धी लेखन, रोमान्टिसिज्म नयाँ-आलोचनाको मोह प्याराडाइम प्यारालाइसिस हो। कनको नकार हुँदा-हुँदै पनि एक हन्डा एम.एल.(१९८६)ले समाजिक प्याराडाइमका घटकहरुलाई चिन्हित गरेका छन्। उनले समाजमा शैक्षिक संस्थानहरुसितै अरु समाजिक संस्थानहरु कसरी बदलिन्थन्, त्यो देखाए। हन्डाले समाजमा संस्कृति र ऐतिहासिक पलहरुले कसरी मुख्य प्याराडाइमहरु कप्छ भन्ने कुरा दर्शाएका छन्। यसका कारकहरुमा व्यवसायी संस्थाहरु, जीवन्त नायकहरु, जर्नल र यसका सम्पादक, सरकारी अधिकर्ताहरु, शिक्षकहरु, फलप्रद सभा-सम्मेलनहरु, मिडियाका सूचनाहरु आदिलाई लिन सक्छौं पनि भनिएको साँच्चै सरीर र मान्छेको जीवन्तता यसका सास र चालका नैरन्तर्यमा हुन्छ भने बदलाउहरु अनिवार्य भएर जान्छन्। गान्धी र मन्डेलाहरुलाई  हेरेर राजनीति श्रद्दा लाग्नु  एउटा कालखण्डको मोह मात्र हो, चौकमा उनीहरुका मूर्ति हेर्दा सहजता लाग्छ यसैले। आजका  राजनीतिज्ञहरु देख्दा कस्तो अनुभूति हुन्छ ? सुधीर क्षेत्री कविता फ्याँक्छन्:

के लेखिबस्नु

यी पाखण्डीहरुबारे

सालाहरु

सुधीरको लेखकीय अर्थ-प्रक्षेपणमा श्रद्धाका मोहीहरु प्याराडाइम-प्यारालाइसिसमा पछारिन  पुग्छन्। नयाँ समालोचनाको वकालती गर्दै जब आइ. ए. रिचर्ड्सले इट इज नेवर व्हाट पोएम सेज  व्हिच म्याटर्स, बट व्हाट इट इज भनेका थिए तब काव्यकृतिहरु पढ्न छाडिए र पुज्न थालिए। नेपाली कविताको युगान्तरले पनि तेस्रो-आयामी लेखनको दमनमा आफ्नो पठन-क्षमता हराउँदै  लगिरहेथ्यो। त्यसो त आयामी-लेखनले पनि अर्थ-प्रक्षेपणको दृष्टिकोणलाई अवहेलना त गरेन तर  नेपाली पाठकको अर्थ-अभिग्रहण क्षमता नै त्यहाँ निरस्त भएको थियो। अझै पनि अलङ्कार-शास्त्रमा  कविताका भग्नावशेष समाती हिक्का बाँध्नेहरु प्रशस्त भेट्छौं हामी। तर बदलाउको रङ्गमा वर्तमान  कविहरु पाठकलाई यथेष्ट ठाउँ दिन्छन्। रेमिका थापाका शब्दहरुले समाजिक हिपोक्रेसीलाई कसरी  उदाङ्गो देखाउँछ त्यो बोध गरौं:

मालिकहरु लन्च र डिनर बुझ्छन् भोक बुझ्दैनन्

सप्पै थरी ड्रिङ्कस बुझ्छन् तिर्खा बुझ्दैनन्

पर्फ्युम बुझ्छन् पसिना र माटोको गन्ध बुझ्दैनन्

तर यसको माने यो होइन कि पाठकमाथि पाठको सत्ता कायम हुन्छ। किताब लेखेर त्यसलाई आफ्नो सम्पति मान्ने मान्छे(अथर)को उपस्थिति जरुरी छैन भन्ने रोलाँ बार्थको व्याख्यानसितै पाठ एउटा नायकको रुपमा हुँकार गर्दै अगाडि आइहाल्दैन। लेखकीय व्याख्याले सम्पूर्ण अर्थ समेटेको  हुनसक्दैन। यसैले पाठकको अभिग्रहण-क्षमताले नै सम्पूर्ण पाठमा अर्थ-प्रक्षेपण गर्छ। सोही रुपले पाठले तयार पारेको सम्भावनाभन्दा पनि उता-उता जानसक्छ पाठक। इन्द्रबहादुर राई नामक पाठकले परालको आगो पाठमा अनेक अर्थहरु देखे। त्यसरी नै भानुभक्तले प्रेरणा अभिग्रहण गरेका घाँसीको जीवनमा अर्को अप्रेरक घाँसीको जीवन-पद्वति देखे। पाठमा(ज्ञानमा) भ्रम देख्नु पाठक इन्द्रबहादुर राईको जानकार-पाठक(स्टानले फिश)को भाषिक-सामर्थ्य(नाओम चम्स्की) हो। एक जानकारपाठकले कम्तिभन्दा कम्ति पाठको पदयोजना र अर्थगत ज्ञान मात्रै नराखेर साहित्यिक परम्परा, विधि र सिद्धान्तहरुको पनि ज्ञान राख्नु जरुरी हुन्छ। यसरी नै पाठभित्र निहित शब्द-समायोजनले पनि अर्थ-अभिग्रहण प्रणालीमा फरक पार्छ। जस्तै सुधीर लिखित चिसो मृत्युको खोला स्वाट्ट पस्यो सहरबाट त्यसको शरीरभित्रले पाठकको बोधमा अनेक अर्थहरु निकास्छ जो एउटा पाठकको अभिग्रहण-क्षमता र अर्को पाठकको अभिग्रहण-क्षमता हुँदै अनेक पाठकहरुको अभिग्रहण-क्षमताहरुमा अलग-अलग अर्थहरुसहित उपस्थित हुन्छ। पाठभित्र अर्थको  बोध पाउन  हामी  घरि भाषा, घरि पाठ र घरि पाठकको  त्रिकोणीय  वृत्तमा घुमिरहन्छौं।  ज्ञानको  केन्द्रहीनता  यही  हो  जो  अनिश्चितिमा  सास फेर्छ। त्यसरी  नै उज्जवल बम्जन लिखित छरपस्ट छन् जहीं-तहीं आस्था हाँडीका टुक्राहरु र जय क्याक्टस प्रक्षेपित गीत पड्किन्छ धरतीको छातीमा एक टुक्रा समयलाई रगतपच्छे पारेरले पनि विचलनको पथगामी हौं  भन्दै यस्तै प्याराडाइम-सिफ्टको कथा बोक्छ।

ब. जान्दछ कि आइन्सटाइनको सापेक्षतावाद निउटनेली व्याख्यानको प्याराडाइमसिफ्ट हो। सापेक्षतावाद स्वयं एउटा कालखण्डमा कैद भइसकेको छ भने यसमा हामीले एउटा ठाउँ राख्नैपर्छ कि अब जन्मिने सिफ्टहरुमा पनि हाम्रो जीवन्त उपस्थिति होस् यहाँ पहिलोले अगिकैमा थप्दै गरेको सुनिन्छ, कि कसो गठ्ठ?

‘म के जान्नु ती सब कुरा?’ दोस्रोले जवाब फर्काउँदै हुन्छ म ता प्र.ले जसरी खेलाउँछ त्यसरी नै नाचिरहन्छु मात्रै। मलाई लाग्दैछ यी कुराहरु बखान्ने जिम्मा तिम्रो थियो होइन?’

खै कहाँ छ त प्र? पहिलो यहाँ ठाडो प्रश्न गर्छ देखिएको त्यो प्र. होइन जो ब.सित बात मारिरहेछ। देखिएको त्यो ब. पनि ब. होइन, बुझिय?’

हन क भन्? दोस्रो असरल्ल पर्छ।

कुनै कुरा नजानेको हुनुमा जसरी मान्छेहरु मज्जा मान्छन् त्यो मज्जा यो पात्रको अनुहारमा पनि उभार्दा अलिकति प्र. प्याराडाइमको बदलाउतिर जाँदैन। अरु अरबौं जोहरुले अबदलाउलाई माया गरेका छन् त्यो भीड्मा अल्मलिनु उसलाई असजिलो लाग्छ। ब.को बुद्धी तीव्र छ। उ पनि  आइन्सटइनलाई  समाइराख्न चाहँदैन। ब. यहाँ वुल्फगाङ इजर प्रस्तावित अभिप्रेत-पाठकको रुप धरेर  त्यस्तै बदलाउका कुराहरु सोंचिरहेछ जसले पाठका अर्थहरुमा रङ्ग पोत्छ। इजरको प्रसिद्ध भनाइ दि  टेक्स्ट प्रोपोजेस अर् इन्सट्रक्ट्स, दि रिडर डिस्पोजेस अर् कन्ट्रक्ट्ससित मोह राखेरै सले दोस्रो  कथाको लागि केही वर्णहरु(अल्फाबेट्स) टिपेको छ जोहरुको त्रिकोणीय प्रेमको बखान प्र.ले अब  लेखिनेवाला कथामा गरोस् भन्ने उसको चाहना पनि छ। भन्न नपर्ला कि प्र.ले त्यो कथाको जिस्ट  ब.बाट लिइसकेको  छ।

अब यहाँ माथि कथाको पहिलो अदृश्य पात्रले एउटा रहस्य खोल्नेवाला छ। ्यो सुनेर  मात्रै  छुट्टिनपर्छ होला होइन ?

टाइटेनिक बिसाउनीमा बात मारिरहने यी दुइ प्र. र ब. कसरी होइन ?पहिलो अदृश्यको जिज्ञासा नमरेकै छ अझ पनि।

अब होइन नै चाहिँ भनेको होइन मैले। हुन त यी दुइ प्र. र ब. नै हुन् तर असली चाहिँ होइनन्। यी दुइ पनि हामी जस्तै हुन्। पात्रहरु मात्र। असली ब. त कुन्नी कहाँ छ अहिले त्यो भन्न सकिन्न तर असली प्र. चाहिँ उसको कोठामै छ काखे कम्प्युटरमा यो कथा लेखिरहेको। दोस्रोले पुष्टि गर्छ।

ओहो त्यसो भए त हामी त्यसै पो डराइरहेका थियौ? भन्दै पहिलो रमाउँछ।

त पाठकज्यू, यहाँ आइपुगेर त्यस टाइटेनिक बिसाउनीमा देखिएका प्र. र ब.हरु असली होइनन् भन्ने सत्य उजागर भयो। कथालाई अबउसो लम्बित नगरौं। ब.ले दिएको जिस्टबाट अर्को कथा दोहन गर्नुछ प्र.ले। त्यही कथामा भेट्ने वाचा गर्दै छुट्टौं अहिलेलाई।।

जनवरी  २०१०