Balakrishna Adhikari – Patra Ra Bhumika

बालाकृष्ण अधिकारी – पात्र र भूमिका
(Source: मधुपर्क, चैत २०६७)

कथा सुरु भएकै थिएन । कथाको एउटा अनिर्धारित पात्र आएर आˆनो भूमिकाका बारेमा मसँग सोध्न लाग्यो । म असमञ्जस्यमा परेँ । पात्रकै रूपमा निर्धारण गरिनसकेको पात्रले आˆनो भूमिकाका बारेमा सोध्न आउनु कहाँसम्मको चाकडी ! मैले उसको भूमिकाको बारेमा नबताएपछि ऊ एकछिन अचम्म मान्दै यताउति घुमिरहृयो । सायद उसलाई लागेको थियो होला कि मैले उसलाई उसको भूमिकाका बारेमा सोचेर बताउँदै छु । करिब एक घण्टा कुरिसकेपछि मेरा कथाको अनिर्धारित पात्रले सहिरहन सकेनछ बिचरा ! कसरी सहिरहोस् त ? उसले जे सोधेको थियो त्यसमा मैले न त ‘राम्रो भूमिका दिएको छु’ भनेर जवाफ दिएँ न त ‘नराम्रो भूमिका दिएको छु’ भनेर जवाफ दिएँ । अलि झर्को लागेको जस्तो देखिए पनि ऊ मेरो नजिकै आयो र मिठो स्वरमा अनुरोध गर्‍यो, “कृपया कथाकारज्यू ! तपाईंको कथामा मेरो भूमिका कस्तो राखिदिनु भएको छ भनी दिनुस् न । राम्रै छ होला नि ! अलि सशक्त राखिदिनुस् है !”

म अझै घोरिइरहेको थिएँ । मेरो कथाको त्यही अनिर्धारित पात्रले बोलीले मात्र हुने नदेखेर होला सायद आˆना हातहरू सक्रिय गराउन थाल्यो । शरीरका विभिन्न अङ्गहरू सुम्सुम्याउँदै मलाई फकाउन थाल्यो । उसका हातको स्पर्श एकदमै नरम, मायालु र आग्रहले युक्त थियो । नरम हातका सुम्सुम्याइले म उसको भूमिकाका बारेमा भन्ने वा नभन्ने निर्णयमा पुग्न भुलिरहेको रहेछु । लामो समयसम्म स्पर्श गरिरहँदा पनि मेरो जवाफ नआएकोमा उसको धैर्यमा आगो लाग्नु स्वाभाविकै थियो । विस्तारै उसका हातको नरमपन घट्दै गइरहेको मैले अनुभव गरेँ ।

उसले मलाई पुनः सम्बोधन गर्दै भन्यो, “कथाकारज्यू ! हैन, तपाईंको कथामा मेरो भूमिका कस्तो छ भनिदिनुस् न । राम्रै भूमिका दिनु भएको छ होला नि हैन त ! अत्यन्त सशक्त, प्रभावकारी, सकारात्मक र आदर्शवादी है ! यस्तो भूमिका राखिदिनु भयो भने म तपाईंलाई तपाईंको लेखकीय परिश्रम र महान्ताको कदर स्वरूप दक्षिणा टक्र्याउँछु नि !”

यति भन्दै उसले झण्डै हावाबाट टिपेझैँ गरी एउटा नोटको बिटो मतिर तेर्सायो । मलाई पर्‍यो समस्या । यो घूस लिने र दिने चलन लेखक र पात्रका बीचमा पनि चलिसकेको रहेछ भन्ने मैले आजै थाहा पाएँ । मैले कथा लेख्न पनि सुरु गरेको थिइन । हल्काफुल्का घटना र पात्रको मानसिक खाका मात्र तयार गर्न थालेको थिएँ । घटनाहरू पनि पूर्ण थिएनन् । कति पात्र राख्ने, कस्ता पात्र राख्ने, को को पात्र राख्ने र तिनीहरूको चरित्र तथा भूमिका कस्तो दिने भन्ने कुराको पनि निर्णय गरिसकेको थिइन । मलाई घटनाक्रमको त्यति धेरै सम्झना पनि थिएन । त्यसका पात्र त झन् सपनामा देखेका मान्छेजस्ता लाग्थे । कुनचाहिँ पात्र प्रमुख थियो, कुनचाहिँ पात्र शक्तिशाली थियो, कुनचाहिँ पात्र अनुकूल र कुनचाहिँ पात्र प्रतिकूल थियो भन्ने कुराको पनि कुनै स्मरण थिएन । त्यसैले म कथा लेख्ने विचारले मेरो स्मृतिपटलमा घटना र पात्रहरूलाई बोलाउने प्रयत्नमा थिएँ ।

घटना घट्दा साल जन्मेर बामे सर्दै थियो । यहाँ समयको आँचल समातेर प्रत्येक बाह्र महिनापछि नयाँ साल जन्मिन्छ । जन्मिएर हरिलो भरिलो हुन नपाउँदै साल विस्थापित हुन्छ अथवा मर्छ र मात्र इतिहास बनेर भित्तेपात्रोका पानाहरूमा अङ्कित हुन्छ । त्यसैले नयाँ हुनु भनेको अनिश्चित हुनु पनि हो । मेरो कथाको घटना पनि त्यस्तै छ । एकपटक नयाँ नै थियो । घटना ताजा थियो । ताततातै कथाका रूपमा परिणत गरेर पाठकसमक्ष पठाएको भए त्यसले ठूलो वाहवाही पाउने पनि थियो र त्यसको तयारी पनि मैले राम्रै तरिकाले गरेको थिएँ तर समस्या यस्तै भएको थियो । कथाका पात्रहरू तँछाड मँछाड गर्दै भूमिका माग्न तम्सिए । त्यति मात्रै होइन ठूलै द्वन्द्व भयो पात्रहरूका बीचमा । धेरै पुरुषहरूमध्ये एक्ली नारी पात्र भएको चाहिँ याद छ मलाई । सबै पुरुष पात्रहरू उक्त नारी पात्रको एकलौटी वा सामूहिक नायकका रूपमा उभिन चाहन्थे भन्ने कुराको भेद भने मैले जान्न बाँकी थियो । जुन पात्र मैले असल, अनुकूल र भव्य ठानेँ त्यही पात्र खराब, प्रतिकूल र निक्रिस्ट भएर देखिएपछि मैले पात्र चयन गर्न सकिन । पात्र चयनमा असफल भएपछि म कथाकार होइन भन्ने दसी जुटाएँ मनमनै । त्यसपछि महिनौँसम्म उक्त घटना मेरो मानस पटलबाट विस्मृत प्रायः भएर गयो ।

एक्कासि एक दिन मेरो मरेको मस्तिष्क चलमलाउन थाल्यो । अनि मैले सोचेँ मेरो कथाकार मरेको रहेनछ । ऊर्जा पाएको भए मेरो कथाकार कुम्भकर्णे निद्रामा पर्ने रहेनछ । त्यस दिन किनकिन मेरो कथाकार कुम्भकर्णे निद्राबाट आँखा उघार्दै मलाई क्वारक्वार्ती हेर्न थाल्यो । आँखाभरि आँसु बनाएर भन्न थाल्यो, ‘साथी ! म मर्न सकिन । त्यस घटनाका बारेमा कथा नलेखी मलाई स्वर्गलोकमा ठाउँ मिलेन । त्यसैले अब म जागिरहेको छु । म गम्भीर भइरहेको छु कथा लेख्नलाई ।’

यति भनिसकेपछि म/ऊ अर्थात् कथाकार उक्त घटना र त्यस घटनाका पात्रहरूलाई कथाको कुन साँचोभित्र हालेर लेख्ने भनेर सोचमग्न हुँदाहुँदै अगाडि घूस दिने पात्र जुर्लुङ्ङ देखा परेको थियो । पाठक महोदय ! उक्त अनिर्धारित पात्रले आफूलाई नायक बनाउन मसँग गरेका सबै किसिमका कर्तुत र प्रयासहरू म तपाईंसमक्ष बताउँदै छु धैर्य गर्नुहोस् । हतारिएर भने सुनेको कुनै फाइदा छैन ।

अँ त, चाप्लुसीले मेरो दाल गल्ने नदेखेर उसले आˆनो स्वभावमा परिवर्तन ल्याउन थाल्यो । नरमबाट कडातर्फ, आग्रहबाट धम्कीतर्फ ऊ आफूलाई परिवर्तन गर्दै गइरहेको थियो । एउटा राजनीतिज्ञले आफूसँग भएका सबै शस्त्रअस्त्रहरूको प्रयोग गरेर जनतासँग भोट मागेझैँ उसले पनि अब उसँग बचेखुचेका शस्त्रअस्त्रहरू प्रयोग गर्न खोजिरहेझैँ लाग्थ्यो ।

“ए कथाकार ! तेरो कथामा मेरो भूमिका के हो, किन

भन्दैनस् ? तँलाईं आˆनो ज्यानको माया भए भन् अथवा मलाई तेरो कथामा एकदम असल, सकारात्मक, सशक्त, परोपकारी र आदर्शवादी भूमिका दे । होइन भने … … … !” एक्कासि ऊ धम्की, रिस जोस र आक्रोसका साथ चर्कियो ।

बाफरे बाफ, पाठक महोदय ! मेरै कथाको अनिर्धारित मानस पात्रले मैलाई धम्क्याउँदै हातमा पिस्तोल समातेर मलाई नै ताक्न थाल्यो । म एकचोटि बेसरी डराएँ । सायद तपाईं भएको भए पनि डराउनु हुन्थ्यो होला

हगि ! कस्तो अनिश्चित छ जीवन ! को आˆनो, को अर्काको भन्ने कुराको कुनै भेद रहेन अब । कसले गर्न सक्ने, कसले गर्न नसक्ने त्यसको पनि कुनै अर्थ रहेन अब । जीवन बाँच्नु र मर्नुको दोसाँधमा घडीको पेन्डुलमझैँ हल्लिरहेको देख्दा लाग्छ जीवन अनिश्चय र अस्वाभाविकताको मुहानबाट बगिरहेको छ । यसको टुङ्गो पनि छैन र बगाइको अर्थ पनि त छैन । नबगिकन एक ठाउँमा स्थिर भएर बस्नुको पनि कुनै अर्थ छैन । जीवन निरर्थकहरूको पुञ्जबाट बनेको वाफ हो । कहिले बर्सिन्छ साउनमा, कहिले जम्छ माघमा र कहिले उड्छ चैतमा । जसले जसरी अथ्र्याए पनि अर्थिने तर अर्थहरूका भ्रान्तिले स्वयम् अर्थलाई अनर्थ भोग्न विवश बनाइदिने । केही गर्न खोज्नु पनि जीवन, केही गर्न नदिनु पनि जीवन । अर्थहरूको टुङ्गोमा पुग्न खोज्दा बुङ्गो बनेको जीवन । यस्तो जीवनसँग तपाईं भएको भए पनि पक्का डराउनु हुन्थ्यो, बुझ्नु भयो । हुन सक्छ, तपाईं मलाई ‘यो कथाकार त निकै कायर पो रहेछ’ भनि रहनुभएको होला । ठीकै हो । म कायर नै छु । वीरहरू त लड्न जान्छन् सिमानामा । बैरीहरूले सीमा मिच्दा कथा लेखेर बस्ने फुर्सद कहाँ छ

उनीहरूलाई ? वर्गशत्रुहरूले शोषण, दमन, अन्याय, अत्याचार गरे र देश खोक्रो बनाए भनेर कथा लेख्ने फुर्सद कहाँ र उनीहरूलाई ? म लड्न सक्दिन, त्यसैले कथा लेखेर आˆनो कायरताको परिचय दिइरहेको छु । यदि त्यस्तो ठान्नुहुन्न भने केही छैन म कायर होइन भन्ने कुराको प्रमाण पनि म तपाईंलाई दिन सक्छु ।

हो त, मैले अघिको घटना त भन्नै भुलेको रहेछु । उसले अर्थात् मेरो कथाको अनिर्धारित पात्रले आˆना दुवै हात दह्रो बनाएर समातेको कालो पिस्तोल ताकेपछि मैले बाँच्ने उपाय निकाल्न खोजेँ । तपाईं भएको भए पनि यसै गर्नु हुन्थ्यो होला हगि ?

“ओ पात्रजी ! तपाईंको पिस्तोल हेर्नुस् एकपटक । मलाई त त्यसमा गोली नै छैन जस्तो लाग्यो । पक्का हो, म तपाईंको भलाइकै लागि भन्दै छु । यहाँ मान्छेहरू बाँच्ने गोली खान नपाएर भकाभक मरिरहेका छन् । यस्तो बेलामा तपाईंको मर्ने गोलीको के महìव छ र ? पक्कै पनि तपाईंको पिस्तोलमा गोली छैन ।”

मेरो कुराले उसलाई केही प्रभाव पारेछ क्यारे । ऊ अलि सतर्क भयो । यद्यपि उसले मलाई ताकेरै टि्रगर दबायो ‘खच्याक् खच्याक्’ । साँच्चै हो रहेछ । गोली निस्किएन, यसको मतलब पिस्तोल पड्किएन । ऊ नतमष्तक भयो । म हाँस्न थालेँ । मेरो कथाको अनिर्धारित पात्रले लाज र ग्लानिले आˆनो अनुहार रातो बनाएको मैले देखेँ । मैले उसलाई धेरै नै गिल्लाएँ । साह्रै भएपछि उसले राताराता आँखा बनाउँदै भन्यो, “पख्, म गोली लिएर आउँछु । अनि कसरी नभन्दो रहेछस् मेरो भूमिका ! गोली भरिएको पिस्तोलले ‘घच्याँ घच्याँ’ छका छचोटि हानेपछि अनि मलाई जिस्काउलास् !”

यति भनेर ऊ सरासर हिँड्दै गयो । एक छिनपछि दौड्दै गयो । अझ एक छिनपछि उड्दै गयो र अलप भयो ।

बल्ल मलाई तìवबोध भयो । रहस्यको संसारबाट अब म पूरै होसहवासमा आएँ । मलाई घटना याद भयो । पाठक

महोदय ! यस कथाकी नायिका एकजना आइमाई मान्छे हुन् । हुन त कथाका नायिका सबै आइमाई मान्छे नै हुन्छन् । उनी अहिले बेहोस छिन् । लगभग पैँसठ्ठी वर्षकी मेरो कथाकी नायिका नायकविहीन छन् । नायक नभएकी एक्ली नायिका घरमा एक्लै बसेको देखेका तेह्रजना खलनायकहरू -जसको अनुहार मैले चिन्दछु, तर अहिले सम्भिmसकेको छैन ।) पनि थिए उक्त घटनामा । एउटा निम्नवर्गीय जीवनस्तर सुहाउँदो घरभित्र पसेर ती तेह्र जना खलनायकहरू मध्ये दुई जनाले मेरो कथाकी नायिकाको हाततिर र दुई जनाले खुट्टातिर समातेर ताने र पालैपालो … … … । बस्, घटना यत्ति हो । कथाको सामग्री पनि यत्ति हो ।

पाठक महोदय ! तपाईंलाई लाग्न सक्छ ‘यति जाबो घटनाले पनि कथा बन्छ र ?’ म तपाईंसँग सहमत छु कि यति घटनाले त कथा बन्दै बन्दैन । भन्नका लागि थप अर्को कुरा पनि छ मसँग, जतिसुकै घटनाले पनि कथा बन्दैन । घटना एक्लैले कथा बनाउने भए यो संसारका सम्पूर्ण घटनाहरू कथा बनेर आफैँ कथासङ्ग्रहमा बस्थे । त्यस्तो भएको देखिँदैन । कथाका लागि त पात्र पनि चाहिन्छ नि होइन त ! हो त, मेरो कथाको लागि पात्र त चयन भएकै छैन । अब मलाई एकैछिन कथाका पात्रको चयन र भूमिकाका लागि सोच्न दिनुस् । मलाई एक जना पात्रको अनुहार याद आयो । कताकता देखेजस्तै पात्र छ । मैले सम्भिmने प्रयत्न गरेँ । ओहो, पाठक महोदय ! त्यस घटनाका खलनायकहरूमध्ये एउटा अनुहार अघि मसँग आˆनो असल, अनुकूल, भव्य र आदर्श भूमिका माग्ने त्यही अनिर्धारित पात्र हो । हो हो ! अब उसको भूमिका स्पष्ट भइसकेको छ । अब ऊ मेरै कथाको खलपात्र हो । अब मैले कथामा उसको भूमिकाका बारेमा तपाईंहरूलाई बताइरहनु पर्दैन होला ।

पाठक महोदय ! यहाँ धेरै पात्रका भूमिका रहस्यमयी बनेका छन्, विस्मृत बनेका छन् । चनाखो भएर कथा पढ्नु होला । मेरो कथाकी नायिका होसमा आएपछि म तुरुन्त तपाईंहरूलाई खबर गर्नेछु । कथाका अन्य बाह्र जना खलपात्रको भूमिका थाहा पाएमा पाठक भएका नाताले तुरुन्त मसँग सम्पर्क राख्नु होला । यदि यसो भएमा मेरो कथा पूर्ण हुने छ ।

– पर्वत

Leave a Reply

Your email address will not be published. Required fields are marked *