Kishor Pahadi – Awaj Mobile Ko (Nepali Short Story)

किशोर पहाडी – आवाज मोबाइलको
(Source: Madhupark, मंसिर २०६५)

महानगरको मध्यभागमा रहेको एउटा सानो हल ।

हलमा देशका केही रङ्गकर्मीहरू भेला भएका थिए । ज्यादै गम्भीर विषयमा उनीहरूको व्याख्यान चलिरहेको थियो- “नयाँ नेपालमा रङ्गकर्मीहरूको भूमिका” ।

सुरेखाजी बोल्दै हुनुहुन्थ्यो- “…अब देश गणतन्त्रात्मक भइसकेपछि रङ्गकर्मीहरूले पनि आफूलाई सोहीअनुहरूप प्रस्तुत गर्नसक्नुपर्छ ।…”

बीचैमा अचानक कसैको मोबाइलको घण्टी बज्यो । श्रीधरभाइको रहेछ । खल्ती समाउँदै, कुपि्रँदै उनी हलबाहिर निस्के ।

सुरेखाजीले ३-४ मिनेटमै बोल्न सिध्याएपछि अनि विगतका राजावादी सौभाग्य थापाले रङ्गकर्मभन्दा पनि बडो गर्वकासाथ आफू लोकतन्त्र प्रेमी भएको व्याख्यान छाँट्न थाले । त्यो व्याख्यानको सुरुमै कसैको मोबाइल फेरि बज्यो । मोबाइल हेर्दै, कुपि्रँदै रघु श्रेष्ठ पनि हलबाहिर गए ।

अब बोल्ने पालो श्रीधरभाइको थियो । ज्यादै छोटकरीमा आफ्नो विचार राख्दै थिए कि एकैचोटि दुई जनाको मोबाइल बज्न थाल्यो । ध्रुव र विजयको रहेछ । दुवैले आ-आफ्नो मोबाइल अफ गरे ।

अन्तमा वरिष्ठ रङ्गकर्मी तथा त्यस समारोहका सभापति सहदेव शर्मालाई “नयाँ नेपालमा रङ्गकर्मीहरूको भूमिका” विषयमा मन्तव्यका साथ सभा विसर्जन गर्ने अभिभारा दिइयो । शर्मादाइ उठ्नुभयो र माइकको अगाडि पुगी भन्नुभयो – “म अरू केही पनि भन्दिनँ । …यत्ति भन्छु- अबदेखि यस्तो समारोहमा सबैले आ-आफ्नो मोबाइलको स्विच अफ गरिराखौँ ।… … …”

उहाँले यत्ति मात्र के भन्नुभएको थियो, वातावरणमा फेरि मोबाइलको घण्टी गुञ्ज्यो । अहिलेको यो आवाज अन्तबाट नभई शर्मादाइकै खल्तीबाट आइरहेको रहेछ । अकमकिँदै सभापति सहदेव शर्माले आफ्नो खल्तीबाट फोन निकाल्नुभयो र माइक अगाडि उभिएको उभियै फोनमा भन्नुभयो- “हैलो… …म तिमीलाई एकछिनपछि फोन गरुँला ।… …”

Bhairab Aryal – Astha Ko File (Hansya Byangya)

भैरव अर्याल – आस्थाको फाइल (हाँस्य-व्यंग्य)

संसार विभागका निर्देशक श्री ईश्वरदेव उमेरको हदम्याद पुगी खोसुवामा परे। खाईपिई आएको आस्था अर्चनाको एक लक्षांश उनको निवृत्तभरणको रुपमा पाउने भए।

निर्देशकको पद खाली हुनासाथ रोल मेरो भनी अन्धविस्वासले दाबा गर्यो। धर्म धुमधुमती पर्यो, कर्म कनपारो कन्याउन थाल्यो। भाग्यले भगवानको साख्ये भाइ म हुँ भनी किरिया खायो। ज्ञान गनगन गर्दै थियो, विज्ञानले सबैको दाबी निराधार हुन् भनी एक-एकको पर्दाफास गर्यो। बुद्दि खितितित्त हाँसी, विवेक ट्वाल्ल पर्यो। भावना भागी संसार विभागको निर्देशकमा मान्छे स्वयं मनोनित घोषित भयो।

आफू निर्देशक हुनासाथ मान्छेले पाप धर्मको कानुन संशोधन गरी नरकअड्डा खारेज गरिदियो। मान्छेलाई धेरै शासन दिएको अभियोगमा यमराज सस्पेन्ड भए; अमृत र अप्सरामा लम्पट भएको अभियोगमा देवताहरु कार्यभारमुक्त भए। भाग्यको ठाउँमा पुरुषार्थ र अन्धविश्वासको ठाउँमा शिक्षा भर्ना भए।

एउटा हातमा शक्तिको ड्रम अर्को हातमा एटम बम लिएर विज्ञान सल्लाहकार भयो मान्छेको। संसार विभागको हर्ताकर्ता स्वयं भएकोमा गजक्क फुली टेबलमा थ्याच्च बसेर मान्छे गर्ज्यो – “संसार विभागका सहायिकाहरु को को छन्, लौ यहाँ आओ!”

मेच छँदाछँदै टेबुलमा बसेको निर्देशकलाई देख्ता मर्यादाले नमस्कारै नगरी मुन्टो बटारी। मान्छेले उसलाई अनुशासन नभएकी बुढी भनी तुरुन्तै निकालिदियो। अर्की सहायिकाले थर्र कामेर हात जोड्दै भनी – “म नैतिकता हुँ।” मान्छे च्याँठ्ठिएर गर्ज्यो – “यस्ती लुली सहायिका लिएर म यत्रो विभाग चलाउन सक्छु?” तेस्री सहायिका सद्भावनाले भनी – “म आफ्नो कार्यभारबाट राजीनामा गर्न चाहन्छु।” मान्छेले मर्यादाको ठाउँमा उच्छृङ्खलतालाई, नैतिकताको ठाउँमा स्वच्छन्दतालाई र सद्भावनाको ठाउँमा सङ्कीर्णतालाई भर्ना गर्यो।

पुनर्गठनपछि केही नयाँ ऐन बने। सत्ता, शक्ति, सम्पत्ति र विलासलाको साधनामा धेरैले सुविधा पाए। संसार विभागले सांसारिक विधिबन्धनहरुमा धेरै स्वतन्त्रता ल्यायो। तर अपसोच! केही दिनपछि संसार विभागमा साह्रै गोलमाल चल्न थाल्यो। कसैले कसैलाई टेर्न छाड्यो। विभागभित्रै अनाचार, व्यभिचारहरु बढ्न थाले। रिसारिस, भुत्लाभुत्ली र पिटापिट चल्न थाले।

हत्या, अपहत्या र आत्महत्याका टेलिफोन आउन थाले।

विस्फोट, युद्द र महायुद्दका आकाशवाणी आउन थाले।

मान्छे कहिले बोलाएजस्तो भई टेबुलमा उफ्रन्थ्यो, कहिले झोक्राएजस्तो गरी भूइँमा पसारिन्थ्यो। कहिले तमाम कर्मचारीलाई भेला गरी सोध्थ्यो – “आस्थाको फाइल खोइ?” कहिले तमाम कर्माचारी ऊसँग सोध्थे – “विश्वासको फाइल खोइ?” खोइखोइको डाँको भित्तामा ठोक्किएर प्रतिध्वनित हुन्थ्यो – “खोइखोइ!”

बान्की

Kusum Gywali – Arko Avatar (Nepali Laghu Katha)

कुसुम ज्ञवाली – अर्को अवतार (लघु कथा)

धुपको धुवाँले रंगमगिने थुम्को विस्फोटनको धुवाँले ग्रस्त बनेको छ। युद्धको विभिषिका भित्र पिपलडाँडा व्यारेक आज अन्तिम युद्ध लडिरहेको छ। वादल लागेको थिएन तैपनि सपोर्ट फोर्स लिएर आएको हेलिकप्टर बस्न सकेन डाडाँमा। सुरक्षाकर्मीसँग गोलि सकिएको आभाष पाउनासाथ “लङ रेञ्ज” बाट “क्लिएर” गरी डाडाँको मन्दिरमा ठूलो विस्फोटन गरेर कब्जा जमाए कमरेडहरुले।
“भत्काइदिउँ यो मन्दिर पनि! ” भाइस कमाण्डरले उनका कमाण्डरलाई सोधे। “चीनमा पनि यस्ता मन्दिरहरु भत्काइएका थिए, भत्काए हुन्छ, कमरेड।” राजनैतिक व्युरोका कमिसारले भने। आदेश पाउने वित्तीकै कामरेडहरुले मन्दिर भित्रको मूर्ति उखेलेर टुक्राटुक्रा पारी भिरबाट लडाइ दिए। “यहाँ हाम्रा सुप्रिम कमाण्डरको शालिक राख्नु पर्छ यहाँ।” छापामार महिलाले प्रस्ताव राखिन।
कुरा सबैलाई मनासिव लाग्यो। एकहप्ता भित्र कमरेडहरु बाटो लाग्दासम्म उनीहरुले त्यहाँ सर्वोच्च नेताको शालिक स्थापना गरिसकेका थिए।

मन्दिर महिना दिन सम्म बन्द रह्यो। क्रमशः मान्छेको आवत जावत मन्दिरमा बढ्दै गयो। बिस्फोटक पदार्थहरु त्यता देखा नपरे पनि मन्दिरको ढोका बन्दनै थियो अर्को महिना पनि।
बैशाख पूर्णिमामा सधैं झै मेला लाग्यो। पूजाको ठेक्का पाएका तल्ला गाउँका पूजेरी बाजेले मूर्ति फेरिएको थाहा त पाए तर बोल्न भने सकेनन। पूजा यथावत चल्यो। निरीह पशु त्यसैगरी रेटिए। भाकल गरियो। कुखुरा र बोकाहरु काटिए। रूद्री चण्डी पाठ गरियो। अचेल त्यही कमरेडको जुँगा भएको मूर्तिले धानेको छ यावत सम्पूर्ण अन्धविश्वासका श्रृङ्खलाहरू।

Manu Brajaki – Bhaigo Dinu Pardaina

मनु ब्राजाकी – भैगो दिनुपर्दैन

एहे खर्दारनी बजै ! आउनुस् आउनुस् कताबाट ?

आफ्नो भताभुङ्ग कोठामा बसेर खरदार सुन्दैछ र आफ्नो जनैको जुम्रा विक्षुब्ध भएर मार्दैछ। मार्दैछ र आफ्नो नङ्लाई नङ्ग्रा सम्झने भूल गर्दैछ जसले जुम्राबाहेक अरु केही मार्न सकेन- न आफ्नो अभाव, न अर्काको प्रभाव, न भोक, न शोक। ऊ झ्यालबाट देख्छ, खरदारनी बजै (ऊ आफू खरदार भैटोपलेकोले) पल्लो घर पोर्टिकोमा उभिएकी रहिछ। चाइजिन इँटको रातो बंगलाभित्रैबाट घन्किँदै रहेछ।

बाहिर किन ? भित्र आउनुस्।

खरदारनी बजै (जो यो माघदेखि पच्चीस पुगेर छब्बीस लागी) भित्र पसी। बङ्गलाका मालिक (जो चालीस पुगेर अझै माथि उक्लिसकेका छन् र पक्कै पनि बजैका नाति होइनन्)हिटरनेर बसेर आह्वान गर्दैछन्।

आउनुस्, बस्नुस्, सञ्चै छ ?

सञ्चै, नमस्कार !

नातिसामु बजै खुम्चेर सोफामा बस्छिन्। बस्दा कतै पनि बिझाउँदैन, जसरी खरदार बाजे बिझाउँछन्। रन्केको हिटरसामु पनि माघको जाडो बिझाउँछ, सँगसँगै संकोच पनि बिझाउँछ। उत्सुक र प्रसन्न नातिको अनुहार मुख हुन्छ।

अनि भन्नुस् ?

अघि हरिहर साहुले घरमा आएर लोग्नेलाई बेइज्जत नगरेको भए ऊ यहाँ आउने थिइन। घरमै बसेर पनि के गर्नु ? यत्रा यातायातका साधन हुँदाहुँदै कहीँ न कहीँ, कतै न कतै, कसैकहाँ त हात थाप्न जानैपर्थ्यो। तिरौँला भन्ने लोग्ने र स्वास्नीको संयुक्त अठोटले गर्दा ऊ यहाँ पाँचौ पटक पनि आउन सकेकी हो। वरिपरिका अन्य ठाउँहरुमा ‘पटकहरु’ गन्न अहिले सकिराखेकी छैन। यति बेइज्जति प्राप्त भइसकेपछि अब केही दिनका लागि हरिहर साहुतिर निश्चिन्त भए हुन्छ। तर वर्तमान त काखमै छ, फुल्याउनु कि रुवाउनु ? फुल्याउनै पर्‍यो।

कति कामले आउनु भएको थियो ?

ए अँ, अलिकति घरायसी किनमेल थियो………यहाँसित …………..

फेरि बिझायो, सोफा होइन, संकोच। पाँच पटकमा पाँच वटा तगारा। सबै तगाराहरु एकैचोटी फड्किन कति गाहारो !

ए बुझेँ बुझेँ, कति चाहियो ?

अहिलेलाई गोडा पच्चिसेक भए……

ऊ तगारोतिर अचम्म मानेर हेर्छे, बुरुक्कै फड्किसकिएछ।

ल लिनुस्……….अँ, खरदार बाजेलाई भन्नुहोला यसो सिमन्टी पत्तो लगाइराख्‍ने भनेर। ग्यारेजमा काम छ।

हजुरलाई पछिको पनि हिसाप दिनु छ………….

भो-भो दिनुपर्दैन, काम चलाउनुस्। यो त मैले हिजो पप्लुमा जितेको।

ऊ दातातिर हेर्छे। दाता विधाता झैँ टुलुटुलु ऊतिरै हेर्दै रहेछन्। ऊ झस्केर हातको जिताउरी पट्याउन थाल्छे। ‘दिनुपर्दैन’ ले धेरै कुरा लिन खोजेजस्तो लाग्छ। के- के ? विवरण प्रष्ट छैन। अस्पष्टताले कुनै अन्यौलमा पार्दैन। बुझेर नबुझ्नुलाई नै व्यवहारिकता भन्दछन्। आदर्श ज्ञान र व्यवहारिक अज्ञानको रेखा कहीँ न कहीँ गएर अवश्य काटिएला र एउटा कुनो (कोण) बनाउला। यी दुवै कहिल्यै समानान्तर हुँदैनन्। एक न एक दिन ज्ञानले अज्ञान भेट्टाउँछ र अज्ञानले ज्ञान। अनि भेट हुने कुनामा पप्लु चल्छ। एउटा हार्छ, अर्को जित्छ।

ऊ हातको जिताउरी अभ्यासवश चोलोमा हाल्न खोज्छे तर विधाता सामु हुनाले यसो गर्न सक्तिन। स्वास्नीमान्छेले ‘सम्पति’ कि त चोलोमा हाल्नुपर्ने, कि त पेटिकोटमा। के यस्तो चलन होला ? लोग्नेमान्छेका भने जताततै गोजी नै गोजी छन्। यो सोचेर उसलाई झर्को लाग्छ। जिताउरीलाई हत्केलामा जोडसित अँठ्याउँछे। अब समापन भाषण पनि त हुनुपर्‍यो। ऊ भन्छे-

यस्तो संकटमा पनि हजुरले यति गुन……….

आ….केको गुन ? फेरि पनि सार्‍हो गार्‍हो परे आए हुन्छ नि !

हस् नमस्कार ! अनुहार झन् उज्यालो छ।

घरमा आउँदा दुवै छोरा पाठ घोक्दै रहेछन्। लोग्ने खुइलिएको जर्किनमा ठुटो खोजेर धुवाउँदै रहेछ। लोग्ने र छोराहरुलाई देखेर उसले विधातालाई बिर्सी र समस्या समाधानको उज्यालो मुखले हाँसी

दियो ?

दियो, पच्चीसवटा। यति नै माग्ने भनेको होइन ?

अँ, लौ काम चलिहाल्यो। आज त माछा पनि पर्ने भएको छ।

काँ ?

खोलामा हैन अफिसमा क्या। कस्ती लाटी रैछ। बाठो लोग्नेले लाटी स्वास्नीलाई कुरा बुझायो।

अलि ठूलो माछा पारे पो। कैलेकाहीँ पार्नुहुन्छ। त्यै पनि बुदुना र भोटी।

असला पर्छ क्या असला। अनि त्यो हरिहरेको मुखमा बुजो ठोकौँला।

असला कत्रो हुन्छ र ? त्यै हरिहरेको मुखमा पनि नअटाउला। मदिसे रहु पारे पो अलिक दिन ढुक्क होला।

तेरो खर्दारको मात्रै मुख छ, हैन ? अफिसमा त अरु छँदै छैनन् ? जतो जाल त्यत्रै माछा।

छोराहरु माछाको प्रसङ्ग सुनेर पाठ बिर्सन्छन्।

सानो छोरो, कत्रा माछा ल्याउने बा ?

ठूलो छोरो, एफ आई एस एच फिस्, फिस् माने माछा।

चूप लाग, पढ्नु सढ्नु छैन। पढ् बसेर।

दुवै एक साथ भन्छन् र बेग्लाबेग्लै झर्किन्छन्। अनि आफ्नो कुराको प्रसंग सम्झेर दुवै फेरि मुखामुख हुन्छन्।

त्यो आएपछि म एउटा सारी किन्छु ल ? बाहिर निस्कन पनि लाजमर्नु भैसक्यो। ऊ झल्याँस्स विधातालाई सम्झिन पुग्छे।

अनि सम्झिएरै फेरि भन्छे, उनले यी रुपैयाँ फर्काउनु पर्दैन भनेका छन्।

आफ्नो थोत्रो जुत्ता सम्झिराखेको ऊ झस्केर सोध्छ, किन ?

कुन्नि ? पप्लुमा जितेका रे, दिनु पर्दैन।

ऊ घोरिएर स्वास्नीतिर हेर्न थाल्छ। भनिसकेपछि ऊ पनि झस्केर लोग्नेतिर हेर्न थाल्छे। आफ्नो सारी किन्ने हिसाबको तानामाना मिलार्न खोज्दा उसको सुद्धि हराएछ- यसोभन्दा कसो पर्ला भनेर। ऊ देख्छे, लोग्नेको आँखामा परम्परागत पुरुष ठिङ्ग उभिएको रहेछ। ऊ छोराहरुतिर हेरेर सहज हुन खोज्छे।

हामी माग्ने त होइनौँ ?

घर व्यवहार भएको मान्छे माग्ने हुँदैन। अनि सापटी लिने चलन नौलो पनि होइन। सापटी लिने परम्परामा सकभर सापटी फर्काउने चलन पनि छैन-गाउँघरदेखि अन्तर्राष्ट्रियसम्म। अन्तर्राष्ट्रिय जगतमा कसले कसको सापटी फर्काएको छ र ? बरु त्यसको सट्टा केही भित्री कुरा गए जाओस्। भित्री कुरा गएको कसले देख्छ र ? आफूले मात्र बुझिन्छ, जानिन्छ, अनुभव महसूस गरिन्छ। बुद्धि बढेर आउँछ। बुद्धत्वले छुन-छुन आँट्छ। कन्तुरको इज्जत कन्तुरमै रहन्छ। माग्ने त भइँदैन ?

एसएलसी पास गरेर अखबार पढेको बुद्धिले यति तर्क गरेपछि ऊ टोलाइराखेको स्वास्नीतिर फर्केर फेरि सोध्छ, अघिभन्दा किञ्चित् कठोर स्वरमा-

हामी माग्ने त होइनौँ ?

स्वास्नी दलिनभित्ता हेर्दैछ। उसलाई थाहा छ, यो लोग्नेमात्र होइन, लोग्नेमान्छे पनि हो। बहस गर्नु व्यर्थ छ। बरु झोला बोकाउनु बेस। अनि बल्ल खाली झोलाको शून्यमा लोग्नेमान्छे हराएर झोला बोकेको लोग्ने चतुर्भुज विष्णु झैँ ठिङ्ग उभिनेछ।

उनको भन्ने काम, भने। फर्काइदिउँला। ल, यो झोला लेऊ। यी रुपियाँ पनि। दुई किलो चामल, दाल होला, साबुन छैन, तरकारी आफूलाई चुरोट पनि ल्याउनू। कति ठूटो खाएको ? नखानू भन्छन्। टीबी हुन्छ रे।

झोला हातमा परेपछि उसले पनि परिस्थिति बुझ्यो। तिर्छु भनेपछि मन कत्रो भएर आउँछ ! बुझ्ने होइनन् यिनीहरु। उसले खाली झोलाको झटारोले खाटमा उक्लिँदै गरेको साङ्लोलाई हिर्कायो।

ए, अँ सिमन्टी खोजिदिनू भन्थे…..

मैले काम पाएको छैन र ? सक्तिनँ म त्यो सालाको सिमन्टी लिमन्टी खोज्न।

किन चिच्याएको ? सुन्लान् क्या, जसको खायो उसैलाई गाली गर्नु त भएन !

बाठो लोग्नेले फेरि कुरा बुझ्यो र चूप लाग्यो।

चूप लागेपछि गुम्सियो र रन्थनिँदै झोला बोकेर बाहिरियो।

एफ आई एस एच फिस्, फिस् माने माछा !

आमा ख्वै माछा ?

ऊ सडकमा आएपछि अनुहार छाम्छ, खस्रो लाग्छ। ब्लेड पनि किन्नुपर्ने। ऊ अझै रन्थनिएकै छ। तर सडकमा रन्थनिएर हिँड्नु भएन। किनभने कुनै रन्थनिएको वाहनसित जुध्न पुगिएला।

एउटा ल्याम्पपोस्टनेर एकछिन उभियो।

भएन, हुँदै भएन। ठ्याम्मै हिसाब मिलेन। बरु पचास माग्नुपर्ने रहेछ। के थाहा यति सजिलै पाइएला भन्ने। नत्र…………कसरी आदर्शवादीहरुले भौतिकवादीहरुसित रुपियाँ खुस्काउँछन् कुन्नि ?

थाप्लोमाथि गुलुप रहेछ, राति बल्ने। अहिले त सूर्य बलिराखेको छ- झलमल्ल। प्रकाश आँखासम्म आइपुग्छ, भित्र पस्दैन। त्यहीँबाट रिफ्लेक्ट भएर चारैतिर छरिन्छ र सबै कुरा देखिन्छ। देख्छ, बीस रुपैयाँ घरखर्च- जतिसुकै आओस् र पाँच रुपैयाँ आफ्नो गोजीमा। माछा समात्न अफिस पनि त पुग्नुछ। यसरी माछाको निहुँको हिसाबले आफूलाई सन्तुष्ट पारेपछि ऊ ल्याम्पपोस्टको छायाबाट अगाडि लम्कन्छ। यति वैज्ञानिक ढंगले त उसको अफिसको एकाउन्टेन्टले पनि अडिटरलाई सन्तुष्ट पारेको थिएन होला। अडिटर र ऊ सन्तुष्ट हुने एउटै गाँठी त हो- गोजीमा पाँच रुपियाँ।

अनुहार छाम्छ, खस्रै छ। दिक्क लाग्छ। पिउन गोकुलकी स्वास्नी, गाउँबाट आएकी कान्छीलाई फकाउन जाँदा पनि के यही अनुहार लिएर जानु ? छि छि यो त भएन।

अनि कान्छी पनि गाउँघरका जुँघामुठेहरुको बल्छीबाट फुत्किँदा फुत्किँदा छल्न खप्पिस् भएकी रहिछ। उसको जालमा पर्दैपर्दिन। हरे राम ! गरिपलाई कतै सुख छैन। होस् खस्रै अनुहार।

बीस रुपैयाँको जे जित आउँछ, किन्यो।

अब गोजीमा पाँच रुपियाँ छ, यसको आफ्नो निजी सम्पति। यसैबाट अब रोबरवाफ, कर्म कुकर्म, धर्म अधर्म सबै गर्नुछ।

पाँच रुपैयाँ छ। पुलकित छ।

ऊ यस लाइनको सबैभन्दा राम्री साहुनीकहाँ पुग्छ चुरोट किन्न। साहुनी, होटेल क्लब पार्टीमा जाने डाँफे मुनाल जस्तो चराचुरुङ्गी त होइन तापनि भँगेरो फिस्टो त हो नै।

दशओटा गैँडा देऊ त साहुनी मैयाँ ! ऊ अर्थपूर्ण ढंगले मुसुक्क हाँसेर पाँचको नोट दिँदै भन्छ।

साहुनी ‘मैयाँ’ शब्दले गर्दा झस्केर ऊतिर हेर्छे। ऊ पासो थापेर बसेको शिकारी झैँ चनाखो भएर साहुनितिर हेर्दैछ। साहुनीले उसको आँखा र हँसिलो अनुहारमा के देख्छे कुन्नि, बट्टा खोलेर छिटोछिटो दशवटा गैँडा चुरोट ऊतिर लम्काउँदै कन्तुरमा चानचुन खोज्न थाल्छे। ऊ दशवटा चुरोटको साथसाथै पाँचवटा औँला पनि तान्न खोज्छ, हुँदैन। साहुनी ध्यान चानचुन खोज्नतिर लागेकाले यस कुरातिर कुनै वास्ता हुँदैन।

चानचुन त छैन बाजे, अरु के चाहिन्छ ?

‘बाजे’ले उसलाई झस्काएर ‘नाति’ छेउ पुर्‍याउँछ। नाति झैँ मुसुक्क हाँसेर रवाफिलो स्वरमा अर्थपूर्ण दृष्टि दिँदै भन्छ, भैगो, दिनुपर्दैन।

ऊ निधारमा गाँठो पारेर भन्छे, किन ?

किन ? ऊ अलमलिन्छ। ऊ अलमलमा परिराखेकै बेला साहुनीले पसलभित्रको सानो ढोकाबाट के भन्छे कुन्नि एउटा लोग्नेमान्छे त्यहाँबाट गोजीमा हात हाल्दै बाहिर निस्कन्छ र चानचुन पैसा ऊतिर लम्काउँदै रिसाएको स्वरमा भन्छ, लेऊ।

ऊ परिस्थिति नबुझेर नाति झैँ कल्पनामा रङ्गमगिँदै उस्तै रवाफिलो स्वरमा घोषणा गरे झैँ भन्छ, भैगो भैगो पर्दैन।

किन पर्दैन बाज्या ? भनेर उसले चानचुन पैसा भूँइमा छर्दै उसको खुइलिएको जर्किन समातेर मुण्ट्याइदिन्छ।

पैसाको साथै झोलाका चीजबीजहरु पनि छरिएछन्।

ऊ ‘नाति’ को प्रभावलाई मनमनै सराप्दै आफ्नो अनुभव बटुल्न थाल्छ।

के भो ? के भो ?

मुण्टो उचालेर पुलुक्क हेर्दा उसलाई लाग्छ, त्यहाँ साहुनी मैयाँको सट्टा बजै मैयाँ ऊतिर हेरेर मुसुमुसु हाँस्दैछिन्।

मानिसहरु बटुलिन्छन्। मात्र तमासा हेर्ने।

(‘तिम्री स्वास्नी र म’ कथा संग्रहबाट)

Sushma Manandhar – Saathi (Nepali Laghu Katha)

सुषमा मानन्धर – साथी
(Source: मधुपर्क साउन, २०६७)

हतार हतार हिँडिरहेको उसले अत्यास लागेर एकपव्ट फेरि माथि हेर्यो । ऊ , … त्यो पहाडको टुप्पो । टुप्पोमा रहेको त्यो मन्दिर । ऊ त्यही पुग्नलाई हिँडेको छ । ठाडो उकालो र साँघुरो ढुङ्गे बाटोले गर्दा त्यहाँसम्म पुग्न विकट नै छ भन्ने जान्दाजान्दै पनि त्यहाँ साक्षात् ईश्वर बस्छन् र त्यहाँ पुगेपछि आफ्नो कुनै पनि कामना पूरा हुन्छ भन्ने आस्था र प्रचलित विश्वासका कारण उसले मन्दिरमा पुग्नुलाई आफ्नो गन्तव्य बनाएको छ ।

यात्रा थाल्दा ऊसँग सहयात्रीहरूका रूपमा एउटा निकै ठूलो जमात थियो । कस्तै गाह्रो परे पनि उनीहरूको साथ आफ्नो कठिन र लामो यात्रा सजिलै छिचोल्न सकिन्छ भन्ने आशामा ऊ हिँडिरहेछ । तर यात्रा नसकिँदै थाकेर, अल्मलिएको र गाह्रो भएर धेरैजनाले यात्राबाट बीचैमा उसको साथ छोडिसकेका छन् । निकै ठूलो भीडको रूपमा रहेका आफ्ना सहयात्रीहरू घटेर दुईतीन जना मात्र बाँकी हुन थालेकाले ऊ आत्तिन थालेको छ ।

लामो र उदेकलाग्दो बाटो । उसमाथि कहिले डढाउने घाम, कहिले झरी । आफ्नो अनवरत यात्रामा धरमराउँदै हिँडिरहेको बखत उसले देख्यो कि ऊभन्दा केही पर अलि दुब्लो देखिने एक व्यक्ति पनि ऊसँगसँगै हिँडिरहेको छ । डुब्न लागेकोलाई त्यान्द्रोको सहारा भनेझैँ उसमा थोरै भए पनि साहस पलायो । हुँदाहुँदा अन्तमा उसको साथ नछाड्नेमा त्यही दुब्लोव्यक्ति मात्र बाँकी रहन गयो । उसलाई छाडेर जाने साथीभाइहरूका के कुरा, ऊ आफैंले पनि यात्राको किचलो र कठिनाइसँग आजित भएर निकैपल्ट यात्रा छोड्न खोजेको थियो ।

‘यहाँसम्म त पुगिनैसक्यौ, फेरि किन हरेश खान्छौ ? हेर, कसैले साथ नदिँदा पनि म छु तिम्रो साथमा ।’ निराश भै फर्किन खोज्दा साथमा आउने दुब्लो साथीले बारम्बार सम्झाउँथ्यो । साथीको भरोसामा ऊ बढ्यो, बढ्दै गयो ।

धेरै दुःखकष्ट आए, त्यो साथीले उसको साथ छोडेन र अन्तमा साथीकै हौसलाले टुप्पोमा भएको मन्दिरमा पुगिछाड्यो । अथाह शान्ति थियो त्यहाँ र ऊ त्यतिबेलासम्ममा कामनारहित भैसकेको थियो । उसले पछाडि फर्केर आफ्नो उत्साह बढाउने साथीसँग उसको परिचय माग्यो । ‘अझै चिनेनौ मलाई ? म हुँ तिम्रो आडभरोसा, तिम्रो आफ्नै आत्मविश्वास ।’ साथीले उसको काँध थप्थपाउँदै हाँस्दै जवाफ दियो ।