Pravin Rai Jumeli – Bhakte Le Scooter Kinena

प्रवीण राई जुमेली – भक्तेले स्कूटर किनेन

“आसकाल त जोरथाङमा पनि माङ्नेहरू कत्ति धेरै फैलिएछ हौ!’ बजारबाट भर्खरै आएको भक्तेले लुगा फेर्दै गर्दा धनमायालाई भन्यो।
“जॉंगर हराएपछि तेसरी नै त पलापिन्छ मान्छे’-प्रत्युत्तरमा चाहिँ त्यसो भनी धनमायाले पनि।
तर हतारले गर्दा त्यति कुरा बढ़ाउँनै पाएन भक्तेले, लुगा फेरिसकेपछि हातमा केही सिफारिश-पत्रहरू अँठ्याएर ऊ स्कूलतिर कुदिहाल्यो।
“अब कहॉं कुदेको हौ एति हतारसित?’-धनमायाले त्यो सोद्धा ऊ आँगन पनि ओह्ऱ्लीसकेथ्यो।
“स्कूटर किन्ने मेलोमेसो गर्नु हौ’ भनेर हॉंस्दै टाड़ियो भक्ते चाहिँ।

डॉंड़ामा निस्केर स्कूलको प्रांगनतिर निक्कै चियो गर्दा उसले त्यहॉं थुप्रै मान्छेहरू सल्बलाइरहेको देख्यो। आज त्यहॉं उनीहरूको मन्त्री-महोदय आउनेवाला छ र गाउँलेहरूलाई चाहिँ आफ्नो-आफ्नो दुःखहरू सुनाउनुपर्ने सार्वजनिक निमन्त्रणा भएकोले नै उ पनि त्यतातिर जॉंदैछ। मन्त्री-महोदय क्षेत्रीय विधायक पनि भएकाले गाउँलेहरूका “माङ’-हरू धेरथोर पूरा हुन्छ कि भन्ने आशा छ-भक्तेको मनमा।

भक्ते स्कूलको प्रांगनमा सेंसें र फें फें भई पुग्दा प्रांगनभरि नै गाउँलेहरू झुण्ड-झुण्डमा बॉंटिएर गफ गर्नमा मस्तराम देख्यो। तिनीहरूका व्यग्र आँखाहरू मन्त्री आउने सम्भावित दिशा-सिम्बल डॉंड़ातिर घरिघरि उठिरहन्थे। अथवा मन्त्री आइपुग्नासाथ आफ्नो दुःखेसो लिएर सबैभन्दा अघि पस्रिने व्यग्रता सबै चेहराहरूमा समान्तर रूपले बसेको देख्न पाइन्थ्यो। ती झुण्डहरूमा पनि पञ्चायतहरू एकतर्फी, सरकारी नोकरीवालाहरू एकतर्फी, चेली मोर्चा एकतर्फी, लफंगे केटाहरू एकतर्फी र सिधा-साधा गाउँलेहरू एकतर्फी छुट्टेर बसेका थिए। त्यहॉं भेला भएका सार्वजनिक अनुहारहरूले जात-जातका अभिव्यक्तिहरू बोकिराखेका थिए, तापनि भक्तेलाई कता-कता थाहा थियो कि तिनीहरूका प्रवृत्तिमा समाविष्ट छद्म अनुहार भने एउटै छ। जुन भीड़मा उसले पनि आफ्नो अनुहार खोज्नलाई नै यसरी हाटबजारमा राम्ररी किनबेच पनि नगरी मन्त्री महोदयको एक झलक पाउने लालसासित यहॉं आइपुगेको छ।

“आइपुगेको छैन रैछ नि बूढ़ो?’ भक्तेले नजिकै उभिरहेको लालबहादुरलाई सोध्यो। लालबहादुरले चाहिँ ओंठ लोफ्राएर टाउको मात्रै हल्लायो, बोली फुटाएन। भक्ते घुम्दै पर पञ्चायतहरू उभेका ठाउँमा पनि पुग्यो, पञ्चायतहरूले उसलाई सशङ्कित पाराले हेरे। “यहॉं सबैकै एउटा-एउटा दाउ छ। एउटाले अर्कोको भाग पो खोसाइदिन्छ कि… अथवा अरूले थाहा नपाई भित्र-भित्रै गर्दै गरेको धॉंदली पो चाल पाइहाल्छ कि? भनेर चंखो बस्नैपर्छ। म मात्रै लाटा भएछु, सरकार दाइने हुँदा पनि केइ त खोसाई खानै सकेको छुइनॅं’ इत्यादि कुराहरू भक्तेले सोंच्यो।

“मिनिस्टर सापको लागि एसो गेट्-सेट् बनाउनु पनि सल्लै पो भइना नि?’ भक्तेले केही मधुरो स्वरमा सोध्यो।

प्रत्युत्तरमा, पञ्चायत सचिवले नै “हिज-अस्तिसम्म गाउँमा पिरा पनि नपाउने मोरो-भाग्गेले मात्रै चौकी पाको हौ। केको गेट् र सेट्‌ चाहियो? भनिदियो।
भक्तेले अरू केही सोध्न सकेन र चेली-मोर्चाका कर्मठहरू बसेका पल्लोपट्टि डिलमा गएर एउटा बिँड़ी सल्कायो। गैह्री खोल्सामा झोड़ा बॉंध्ने विषय लिएर टी.बी. सरलाई लेख्न लगाएको अर्जीपत्र एकपल्ट खोलेर हेऱ्यो उसले। “त्यो काम पाए….? उसको पनि ठूलो सपना लुकेर बसेको छ त्यहॉं-स्कूटर किन्ने सपना। यो सरकार बहाली भएदेखि यता गाउँमा थुप्रै बेकारी केटाहरूले स्कूटर कुदाउन थालेको दश्य झल्झली आँखैमा छ उसको। स्वास्थ्य उप-केन्द्रमा खॉंबोहरू नलाएर हुन्छ कि, पार्टीको मिटिङमा विधायकले दिएको मान्छे ओसार्ने गाड़ीको पैसा खाएर हुन्छ कि, मेलामा “हउसी’ खेलाएर हुन्छ कि, टेण्डर-सेण्डर हुँदा “युथ’बॉंधिएर “पर्सन्टेज’ खॉंदै हुन्छ कि- लाटा जनता र देशलाई नै लुट्नुपर्ने त रहेछ नि? खै, सरकारले पनि केही नगर्दो रहेछ त? उहिल्यै बाजे-बराजुको पालादेखि यता… बारीमा दश नंग्री खियाएर त कसले पो के गर्नसकेको छ र? यसरी लाटा भएर बसिरहॅंदा त सबैले नै पो छोड़िराख्ने रहेछ है…’सोंच्दा सोंच्दै भित्रदेखि हताश भएर आयो भक्ते। त्यसरी उसले एउटा बिँड़ीको आधाभन्दा बेसी भागलाई धुँआ बनाइसक्दा मात्र “”मिनिस्टर साप आयो है” भन्ने हल्ला सुन्यो। एकाध मान्छेहरू ग-र-र-र सिम्बल-डॉंड़ातिर कुदेर पनि गए, एकाध चाहिंँ सिरीमानको घरदेखि यतै अल्याङ-टल्याङ गर्दै बसे। केही क्षणपछि-कमिलाहरूले घेरिएको किरा झैं भएर मन्त्री-महोदय स्कूलको प्रांगनमा आइपुग्यो र.. पञ्चायत र युवामोर्चाले प्रबन्ध गरेको चौकीमा बसेको देख्यो भक्तेले, त्यसपछि त गाउँलेहरूले पूरै घेरिहाले। घेरिनु मात्रै होइन तर निम्न प्रकारका शब्दकोशहरू वैरिन थाले-

“पञ्चेतले बनाको लिस्टी भइना, च्यादरको लागि नयॉं लिस्टी बनाउनुपर्छ।’
“मन परेकोलाई मात्र दिएर हुँदैना, गरीबले पैला पाउनुपर्छ’
“नोकरीवालहरूले चाहिँ केइ पाउँदैन भने भोट पनि नहाल्दा भयो हैन?’
“अम्लिसो रोप्ने लोन केना मैले पाइना?’
“बिरुवा रोप्ने पैसा एक पैसा नबॉंटी पञ्चेतले सप खाको छ।’
“एमेले भएर गाउँमा के-के हुँदैछ केना खोज्दैनौ?’
“भाषणमा त ठूल्ठूलो कुरा गर्थ्यो… खै पुऱ्याएको?’
“भोट नसकिञ्जेल आऊ-आऊ, भोट सकेपछि जाऊ-जाऊ, क्याउ एस्तो?’

बिचरा, मन्त्री महोदय? प्रश्नहरूको यति भयानक दहमा फॅंसेका थिए कि उनको अस्तित्व नै डुब्न लागेको थियो। उनीसित आउने केही चम्चे र सुरक्षाकर्मीहरूको प्रयास पनि भिड़लाई साम्य पार्नुबाट नाकाम भएका थिए। फेरि एक्कासी… पञ्चायत, युवा-मोर्चा र चेली-मोर्चाबीच नै भयानक भनावैरी शुरू भयो र “ढ्याक’, “ढुक’, “प्ल्याट’ जस्ता इत्यादि हाथापाइका स्वरहरूसितै “अइया’, “आत्था’, र “माऱ्यो नि’ भन्ने शब्दहरू पनि भुइँका धूलोहरूसितै उछिटिँदैबाहिर आउनथाले। कमिलाको गोला फुटे झैं भीड़ छरपस्टिँदा मात्र मन्त्री महोदय पनि फुत्केर आफ्ना सहकर्मीहरूसित सिम्बल-डॉंड़ातिर कुदे जहॉं उनको गाड़ी रोकिएको थियो। यता भीड़ले चाहिँ हाथपाइ छोड़ेर अब अश्लील गाली र किसिम-किसिमका आरोपहरूले एकार्कालाई हानाहान गर्न लागेका थिए। भुइँभरि सिफारिश पत्रहरू छरपस्टै लड़िरहेका थिए र मन्त्री महोदयको कालो चश्मा पनि एकातिर कच्चाक-कुचुक परेर लड़िरहेको थियो।

भक्ते, मनभरि आशंका र डरहरू लिई अघि नै कुदेर स्कूल माथिको किम्बूको रूख छेउमा पुगिसकेको थियो। उ त्यहीं फ्यात्त बस्यो, किंकर्तव्यविमूढ़ थियो उसको दिमाग। तर निक्कै-निक्कै बेरपछि उसले त्यहीं मुनितिर लड्न-लड्न आँटेको पुरानो स्कूललाई हेऱ्यो, जसको विषयमा चाहिँ कसैले केही-केही बोलेन। उसले गाउँलेहरूले भोग्नपरेको पानीको दुःखलाई सोंच्यो-जसको विषयमा पनि कसैले मन्त्री-महोदयलाई केही नै भनेन। उसले स्वास्थ्य उप-केन्द्रको हाल पनि झल्झली देख्यो जो एकजना गुरूबाबुको घरमा कुचुक्क परेर बसेको छ। गाउँको शीर्षमा अवस्थित आले जंगलको सुरक्षार्थ “मास्टर-रोल’-मा मान्छे राख्ने सम्बन्धमा, स्कूलमा गणित र विज्ञान पढ़ाउने शिक्षकहरूको अभाव विषयमा, बिरुवा रोप्ने सम्बन्धमा… अहॅं कसै-कसैले पनि सिफारिश गरेन। उसलाई लाग्यो-कहींबाट पनि आउन पर्दैन रहेछ भिखारीहरू यो देशमा, तिनीहरू त यहीँबाट पो उम्रिँदा रहेछन्। तर उसको कल्पनामा चाहिँ त्यति भयानक तस्वीर आजसम्म बन्नसकेको थिएन, जस्तो भर्खरै मात्र उसले देखिसकेको छ।

ओफ! अचानक भक्तेले हातमा अँठ्याएको अर्जी-पत्रहरू च्यातेर टुक्रा-टुक्रा पारिदियो र चुपचाप घरतिर लाग्यो। उ घर छेउसम्म आइपुग्दा पनि तल स्कूलको प्रांगनबाट चाहिँ चिच्चाहटका स्वरहरू आइरहेका थिए। बेलुकीको खाना खाएर धनमाया र नानीहरू ओछ्यानमा पस्दासम्म उ अगेनाको डिलमा नै आगो ताप्दै बसिरह्यो। समयको छ्यान उसलाई रहेन, सधैं ठट्टा गरिरहने भक्तेको आज त्यस्तो गम्भीर रूप देखेर धनमाया पनि छक्क पर्दै निदाई।

त्यसरी नै धेरै दिनहरू बितेर गए। आफ्नो दैनिक क्रियाकलापमा भक्ते हिज-अस्ति भन्दा ज्यादै खट्नथालेको तर.. सधैंभन्दा निकै कम्ति बोल्न थालेको कुराहरू धनमायाले पनि थाहा गरी। त्यसपछि पनि कतै-कतै मन्त्री-महोदयहरू आएका र आउनेवाला खबरहरू सुनेर पनि उ त्यतातिर गएन। प्रत्येक दिन नभए तापनि केही दिन बिराएर.. “”स्कूटर” किन्ने रहर दोहोऱ्याइरहने भक्तेले त्यसउसो त्यो कुरोलाई झिकेन, धनमाया छक्क पर्थी।

एकदिन भक्तेले उसको घरको सिकुवाको खॉंबोमा झुण्डिरहेको सानो ऐनामा आफ्नो अनुहार हेऱ्यो। सधैंको भन्दा निकै अर्कै-अर्कै भइसकेछ ऊ… र हेर्दाहेर्दै उसको त्यो अनुहार बिस्तारी तन्किँदै र खुम्चिँदै घरि पञ्चायत-सचिवको जस्तो, घरि चेली मोर्चाको सभापतिको जस्तो, घरि मन्त्रीको चम्चेको जस्तो.. भइरह्यो। हॅं? उसले अनुहार झट्काएर ऐनामा राम्ररी हेऱ्यो र आवेशले गर्दा मुखभरि जमिएको थुक ऐनाभित्रको त्यो आफ्नै अनुहारतिर थुकिदियो… “थू’। अनुहारमा भने कुनै प्रतिक्रिया आएन तर थुक चाहिँ ऐनाको सतहमाथि बग्दै-बग्दै गएर भुइँसम्म चुह्यो…. तु-यु-यु-यु। अनि भक्तेले उसको अधुरो बाल्यकाल, अधुरो यौवनावस्था … र समग्रमा भन्नु हो भने उसको अधुरो जीवनलाई नै सोंच्यो।

“धना!’ ओछ्यानमा पसेर बत्ती पनि निभाइसक्दा एकदिन.. भक्तेले धनमायालाई उसको फूलनामबाट बोलायो, “लाले भन्थ्यो सिलगढी जान्दा प..रतिर सिभोक रोड भन्नेको छेउछाउ थुप्रै बॉंदरहरू बसिरहेको हुन्छ अरे; मान्छेहरूले गाड़ीबाट फ्यॉंकिदिएका खानेकुराहरू पर्खिँदै-पर्खिन्दै बसिरहन्छ अरे; फेरि.. कसैले फ्यॉंकिदियो भने बाझ्दै लुछाचुँड़ी गरेर खान्छन्‌ अरे; सुन्यौ? त्यहॉं एउटा लंगड़े बॉंदर पनि छ अरे… र त्यसले चाहिँ त्यो खोसामारमा कहिले केही पाउँदैन अरे। के त्यतातिरको जंगलभित्र गिठा-भ्यागुरहरू छैन र?
कहिल्यै सिलगढ़ी नगएकी र कहिल्यै “सिभोक रोड’-को वरिपरि फैलिएका पटेर जंगल नदेखेकी धनमायालाई भक्तेको त्यो प्रश्नको उत्तर दिन निक्कै चर्को पऱ्यो, तापनि पतिदेवको मन राखिदिन “”किन नहुनु होला र?..। तरूल, कन्दमूल नभएको जंगल पनि कहीं हुन्छ र?.. भनिदिई।

“हो’, केही बेर बिसाएपछि भक्तेले भन्यो, “ठीकै भन्यौ.. जंगली फल, तरूलहरू नभएको जंगल कहीं हुँदैन। हाम्रो बाबुले भन्थ्यो-उहिले हाम्रो गाउँमा बजारको बगड़ा खाने पनि कोही-कोही हुन्थेन अरे; बारीमै उमारेको अन्न र साग-सब्जीले मनग्गे पुग्थ्यो अरे, अनिकालमा मात्तै त मान्छेहरू यो माथिको आले जंगलमा गिट्ठा-भ्यागुर खन्न जान्थ्यो अरे; र पनि.. मान्छेलाई ठीकै थियो। सप्पै मान्छेहरू खुबै मिलेर बस्थे अरे गाउँमा पनि।”

बोल्दा-बोल्दै बिचमै रोकियो भक्ते। धनमायाले मात्र भक्तेको लामो निश्वासलाई सुनी। दुवै धेरै बेरसम्म केही बोेलेनन्। निक्कै-निक्कै बेरपछि भक्तेले अघिकै कुरामा-“अहिले हेर, गाउँ-गाउँमा सरकारले विकास दिएको छ, सप्पै पढ़े-लेखेको छ, कुरा ठूल्ठूलो गर्छ… र पनि मान्छेहरू किन नमिलेको होला? किन पशुजस्तो भएको होला? हो, नभई नहुनेहरूले त पाउनैपर्छ तर पुगीसरी हुनेहरूले चैं लोभ र स्वार्थले गर्दा आफ्नो धर्म-कर्म, मान-मर्यादा सप्पै बिर्सिनु ठिक हो?’ भनेर थपनी जोड्यो।

“तर.. यो सब थाहा भएर पनि कसले बुझिदिन्छ र? कि आज धनराजले खोसाउँदा टी.बी. सर ठगिन्छ भनेर; टी.बी. सरले लिन्दा लाले पछिपर्छ भनेर; लालेले माग्दा म लुटिन्छु भनेर र… मैले थाप्दा थुलुङहरू मर्छ भनेर? … बुझेरै पनि कसैले कति छोड़िदिएको छ र?
फेरि अचानक नै भक्तेले बत्ती जलायो।

“के मेरो अनुहार मॉंग्नेको जस्तो छ?’उसले आफ्नो अनुहार धनमायातिर फर्काउँदै सोध्यो।
के भन्ने धनमायाले? उसले चुपचाप सानो नानीलाई झैं भक्तेलाई सुताई र बत्ती पनि निभाई।
“धना!’ अनि केही क्षणपछि भक्तेले धनमायाको छात्तीभित्र मुख लुकाएर भन्यो, ” म स्कूटर किन्दिनॅं ल?’ कुन्नि किन हो, धनमायाले भक्तेका आँखाहरू छाम्दा भिजेका पाई।

Alok Chalise – Sambandha

आलोक चालिसे – सम्‍बन्‍ध

किस्सा १.

दीप शिक्षा र संस्‍कारमा महत्‍व दिने मध्‍म बर्गिय परिवारको आदर्श पात्र हो । नामधन्‍य बिध्‍यालयबाट राम्रो श्रेणीमा माध्‍यमिक तह उत्तीर्ण गर्छ । डाक्‍टर बन्‍ने धोको छ उसको ! तर उस्‍का पिता साधारण ब्‍यापारी, लाखौंलाख खर्च गर्न सक्‍ने आमत छैन । दीप मानसीक ज्‍वारभाटमा छ , अब के गर्ने ? संझौता !! स्‍थानिय उच्‍च मा बि मा ब्‍यबस्‍थापन बिषयमा दाखिल हुन्‍छ ।

दीपका प्रत्तेक कृयाकलाप र रुपगुणलाइ नियाल्न थालेकी छन्‌ जलुले । उनी पिताको रोजगारी सँगै भारतीय औधोगीक शहर मुम्‍बाइमा जन्‍मेकी आधुनिक बिचार मन पराउने केटी हुन्‌ । दुबैमा आकर्षण छ , घमण्‍ड पनि ! मौनतालाई जलुलेनै चिर्ने जमर्को गर्छीन्‌ । उनको प्रष्‍ताबलाई सहर्ष स्‍विकारर्‍यो दीपले । फलस्‍वरूप २१ वर्षे दीप र १९ की जलुमा एउटा सम्‍बन्‍धको अङ्‌कुरण भयो । सामाजिक पुरातन बिचार बिरुद्ध बिद्रोह गरे । परिणाम अन्‍तर जातीय बिबाह भयो उनिहरुमा,पारिवारीक मन्‍जुरी बीना । दीपलाई छात्रबृत्तीले जापान डोर्‍यायो । ऊ मेहेनतमा तल्‍लिन थियो । “जति टाढा रह्‌यो , उति माया मौलाउँछ “,दीप को ब्‍यबहारले यसै भन्‍थ्‍यो । तर जलुका बैशालु मनमा बिस्‍तारै बिस्‍तारै अषन्‍तोष पैदा गर्दे थियो – रहर र उमङगका चाहनाले । भनिन्‍छ नि “नौ दिन नदेख्‍दा नौलो, बीस दिन नदेख्‍दा बिर्रस्‍यो “। जलुका मनमा दीपका बिरुद्द गुनासा र अबिस्‍वासका चम्‍काहरु चुलिदै गए । ऊनको नजरमा अब दीप नालायक पती छ । न जलुलाई भौतिक – मानषिक सुख दियो, न यथेष्‍ट सम्‍पती नै । केबल भूगोलको सीमापारी कतै नाममात्रको सम्‍बन्‍ध छ । ऊन्‍को सोचमा कहालीलाग्‍दो पाहाड उभिए । अहिले उनिहरु एउटै भूगोलको सिमानामा छन्‌ तर साथ छैन । नत कानुनी रुपमै अलग छन ! सुनिन्‍छ , आजकाल दीप मानसिक बिछिप्‍त छ रे प्रेम बीयोगमा ।

किस्सा – २

धनबहादुर, ब्‍यापारको क्रममा बनेपाबाट बसाइ सरेर आएका नेवार परिवारको कान्‍छो छोरो । सम्‍पन्‍न वर्गको नभएपनि साथीभाइ बीचमा ऊस्‍को छुट्‌टै रवाफ छ । मिठाई, चकलेट र आइसक्रीमको भोज गर्न सक्‍ने उस्‍को आमत छ । शत्ति सधैं सम्‍पन्‍नता कै पछाडी त घुमेको हुन्‍छ । राजनीतिमा हेर्नुस्‌, इतिहासमा हेर्नुस्‌, समाज र संगठनको त कुरै छोडौं, बिद्वानमा पनि बिचलन आउछ सम्‍पन्‍नताको अगाडी । अनि त्‍यो फुच्‍चे केटोको त के कुरा ? खुल्‍ला आकाशको रोमान्‍चक उडानमा हराइदिन्‍छ आफ्‌नो जिन्‍दगीलाई ।लहैलहै न हो, लागू पदार्थको सेवनमा फस्‍छ । धन्‍नै दिदीका श्रीमान्‌ परिवारमा चल्‍ता-पुर्जा रहेछन्‌ र बिदेशको टीकट कटाइदिए , दु‍रर्ब्‍यसन्‌ले जकड्‌नु अगावै ।अब देख्‍यो धनबहादुरले देशमा गरेको दादागीरी र नबाफी पन । बल्‍ल तल्‍ल हारगुहार गरेर काम पाउने भाथ्‍यो , पर्यटकीय आगमनको इजाजतको समयाबधिले हात हल्‍लाउन थाल्‍यो ‘सायोनारा’ भन्‍दै।

अब धनबहादुरमा बच्‍पना सुधार्ने दृढता छर्लङगै देखिन्छ बिदेशको संगत र हण्‍डरले । उस्‍ले भिसा अनुमती नभएपनि नफर्किने निधो गर्‍यो । “पातलो गाठीको फराशिलो धनेको भाग्‍य पनि गतिलै रेछ “। साथीहरु खासखुस गर्थे । कारण उस्‍को सत्‍कार गर्ने भोजनालयमा एकजना स्‍थानीय युबती लठ्‌ठ परिसकेकी थिइन्‌ धनको ब्‍यबहार बाट। युबाहरुमा एउटा होडहुन्‍छ , बिपरीत लिङ्‌गीको मान जीत्‍ने । दौंतरी बीचमा धनले त्‍यो दौड जितिसकेको थियो । सम्‍बन्‍धलाई जीबन्‍त रुप दिने योजनामा मस्‍त थिए उनीहरु, दूर्भाग्‍यले अध्‍यागमन निरिक्षकको बल्‍क्षीमा पर्‍यो धन ।बचावटका शब्‍द थिनन्‌ । अध्‍यागमन अनुमतीलाई लत्‍याएको थियो उस्‍ले । बन्‍दी कक्षमा आ-आफना रुची र बिषयमा हराइरहेका झुण्‍ड भन्‍दा परको कुनामा बस्‍यो । नेपाल हुंदाको बीगत र जापान आएपछीको आइच्‍यान सँग मिलेर देखेको सपनाबारे गम्‍न थाल्‍यो ।’ के हाम्रो सम्‍बन्‍ध यत्तिकैमा तुषारापात हुने भो त ?’ ‘ आइच्‍यानले मलाई चटक्‍कै बिर्सन सक्‍छे ? ‘…गरोस्‌ पनि के ! जन्‍म थलोको सारा सुख-सुबिधा छोडेर किन आउँछे म जस्‍तो अल्‍लारेको पछिलागेर ? बुढो सारसले पँकेटा फड्‌फडाउँदा उडेका प्‍वाँख जस्‍तै महसुष गर्‌यो उस्‍को प्रेमसँबन्‍ध धुजाधुजा भएर उडेको । हुनपनि त अति-बिकशीत शहरका मान्‍छेहरुमा मानषिक सँबेदना भन्‍दा ज्‍यादा यान्‍त्रीक गती र भाव सुन्‍य मनको बाहुल्‍याता हुन्‍छ । बिस्‍तार अरुकोही आउनेछ ऊस्‍को मनमा । सोझी छ, दूख नपाए हुन्‌थ्‍यो !!आषा मार्‍यो त्‍यो सम्‍बन्‍धको ।

‘धन, मैले वकीलसँग कुरा गरें ।’ एकै सासमा थपी-हाम्रो बिबाह दर्ता नभएपनि भावनात्‍मक सम्‍बन्‍ध र साथको प्रमाड जुटाउछु म ।हामी सँगै छौं नि महिनौं देखी। म तिमीलाई टाढा हुन दिनेछैन आफुबाट !’ मंगोलीयन बनोटको भिउंटे मुहारमा ठुलाठुला आँखाको तरेली भिजाउँदै शीशाको पर्दा बीचमा अन्‍तरापबाट बेदना पोखी ऊस्‍ले । तिमी… यहासम्‍म…??? बक्‍बकाउँदो स्‍वरमा सोध्‍यो आश्‍चर्य चकित धनले । डुब्‍न लागेको स्‍वासमा एउटा त्‍यान्‍द्रोको सहारा देख्‍यो धनले । साँच्‍चै त्‍यो मिहिनेती केटीले अध्‍यागमन कानुन्‌सँग कुश्‍ती खेलेर जिती उस्‍को प्रेमलाई । कसरी भन्‍ने , सम्‍बन्‍ध कच्‍चा धागो हो ? ऊनीहरुको सम्‍बन्‍ध त माया र बिश्‍वाषको बलियो गाँठोले जोडिएको छ ।

किस्‍सा ३

प्रीतीमा, सम्‍पन्‍न परिवारकी सुशिल केटी । सभ्‍यता छ । सुसंस्‍कार छ । नेपाली-हिन्‍दी चलचित्रमा शोख छ उन्‌को । अनि चलचित्र घर जान सक्‍ने आर्थिक पहुंच पनि । जब ऊ किशोराबस्‍थामा प्रबेश गर्छे, लोक कथामा मधुकरले दानबहरु बाट छुटाएर लगेको मालतीको रोमान्‍चकारी कल्‍पनामा डुबाउन रुचाउछे आफुलाई । चलचित्रका नायक-नायीकाको भाबभङ्‌गीमा हराउछे । अनी उमेरकै दोषहोला, सहपाठीको आकर्षक रुपबाट सम्‍मोहीत छ उ आजकाल ।साँच्‍चै मधुकर र मालतीको दुनियामा हराउने बाचामा दुबैजना घरमा थाहैनदिई भाग्‍छन्‌ । घरमा खल्‍लिबल्‍ली चल्‍छ , अत्तोपत्तो छैन उनको । गाइगुई चल्‍छ-भागे रे पृतीमा र आकाश !

उनका अभिभावकले निकै जोड गर्छन्‌ छुटाउनलाई – सम्‍पन्‍नताको दम्‍भ र यथार्थताको बिष्‍लेषण मिसाएर । ”छोडिदे छोरी,केही बिग्रेको छैन । पढ लेख , सबै ठीक हुन्‍छ २-४ बर्षमा । बिर्सिदेऊ तेसलाई।” पृतीमाकी आमाले भनिन्‌। उनी मौन छिन्‌ । दुबैमा दृढ अठोट छ आजिबन साथको । यथार्थको धरातल अर्के छ । माध्‍यमिक तह पनि पास नगरेको केटोले बिहा गरेर कसरी पारिवारीक दायित्‍व सम्‍हाल्‍ने ? कल्‍पनामा त जिन्‍दगी गुज्रिन्‍न । आकाशमा हिनता र अत्‍यास बढ्‌दो छ । बिपरीतमा प्रितीमा दृढ छ । बिहान घर धन्‍दा गर्छे , दिउसो क्‍याम्‍पस जान्‍छे । अनि हरतरहले आकाशको परिबारलाई खुशी तुल्‍याउने ध्‍येयमा लाग्‍छे बाकी समय । आकाश बिस्‍तार-बिस्‍तार असन्‍तुलित हुदै छ । परिबारमा उस्‍को प्रभाब र महत्‍व गीर्दो छ । त्‍यसैले होला चिडचिडाहट र क्रुरता पनि बढ्‌दो छ उस्‍मा ।

पृती भने धर्ती जत्तिकै सहनशील छ । सारा पीडालाई एकान्‍तमा आँसुका ढीक्‍कामा बगाइदिन्‍छे । प्रमाण पत्र तह पनि पुरा गरिसकी उसले । आजकल पिताजीको भन्‍सुनले नोकरीपनि पाएकी छ। आकाश आफुलाई अपमानित महषुस गर्छ पृतीको यो सफलताबाट । पेटमा उनीहरुको मायाको निसानी बढ्‌दो छ । पृतीमाको एकमात्र आषा छ, सन्‍तान भएपछि आकाशमा बदलाब आउने छ । अहँ, स्‍थिती सहन र नियन्‍त्रण बाहिर गैसकेको छ । पित्री प्रधान समाजमा उन्‍ले छोरीलाइं जन्‍माएपछी त झन उग्रता बढेको छ आकाश र उस्‍को परीवारमा । केही लागेन पृतीमाको, छ महिनाको सन्‍तान च्‍यपेर आफ्‍नो अल्‍लारे प्रेमलाई धिक्‍कारर्दे माईतीको शरणमा जान्‍छे । अब जीन्‍दगी ऊस्‍लाई वाक्‍क भैसक्‍यो । माया-प्रेम-सँबन्‍ध सबै सबै उस्‍लाई मशान घाटको कथा जस्‍तै लाग्‍छ आजकाल । आकाशको धम्‍की र ताडना जारी छ । नशामा मातेर जान्‍छ ऊ पृतीमाको जन्‍म घर । तथानाम असभ्‍यता ओकल्‍छ । “छिमेकमा पनि नाकै देखाउन नहुने पारिसक्‍यो । ” पृतीकी आमा फतफताउँछीन्‌ । झन्‌ दुख्‍छ पृतीको मन – धारीलो फलामले रेटे जस्‍तै । उनी पलायन हुन चाहन्‍छीन आकाशको नजर बाट , यो बीरही समाज बाट । पारिवारीक सल्‍लाह र एकजना नातेदारको सहयोगमा उनी जापान पुग्‍छीन्‌ । यात्राभरी ऊनको मन चङगा जस्‍तै हलुका भएर उड्‌छ जहाज सँगै । प्रेम, बिबाह, लोग्‍ने, घर…सबैलाई सँझिन्‍छीन‌ । शब्‍दमा पनि घृणा लाग्‍छ । कहालीलाग्‍दो बिगतमा फर्केर पनि हेर्ने ईच्‍छा हुन्‍न । ऊनी द्रिढ भएर सोच्‍छीन्‌- ” एउटा नया जीन्‍दगी बाँच्‍छु , निष्‍फिकृ-स्‍वतन्‍त्रताको ।जसमा कुनै लैङगीक बिभेद हुन्‍न , श्रीमान पनि हुन्‍न र बन्‍धन्‌ पनि !”

नौलो समाजमा खुल्‍ला पंक्षी भएर बाँच्‍न चाहन्‍छीन ऊनी । अब यही एउटै मात्र धोको छ । समयको प्रबाह बग्‍दो छ । खात्राक-खुत्रुक काम पाएकी छन । तर आम्‍दानी खासै छैन , खोजी जारी छ । यसै सीलसीलामा एकजना फरासीलो सहयोगी भेटीन्‍छ । प्रवेश साँच्‍चै सहयोगी छ, मीहिनेती छ, एउटा आदर्श गुँण बोकेको युबक । पृतीमाको समय भागदौडमै बितिराखेको छ । सँघर्ष छ , नयाँ भाषा र परीबेष मा, तर बिगतको भन्‍दा कता हो कता सहज । नारी मन नहो, भाबनाको कोमल पत्र छेड्‌दै कहीलेकाहीं फुर्सदको समयमा अनायासै लहर उठ्‌छ-“यदी मेरो आकाशमा प्रवेशको ब्‍यबहार भैदिएको भए…।” कल्‍पनाको तड्‌पनबाट ओर्लीएर मन बुझाउँछे- “शुरुमात ऊ पनि कहाँ त्‍यस्‍तो थियो र ? सब यस्‍तैहुन्‌ लोग्‍ने मान्‍छे ! “उनको मनले खबरदारी गर्छ- फेरी त्‍यही मायाको भोक छ तँलाई ? कम्‍जोरी हो यो माया । घण्‍टौँ सम्‍म ओल्‍टे र कोल्‍टे फेरेर बिताउँछे । मनभरी प्रश्‍नोत्तरका तुफान उठ्‌छन्‌ । बिहानीपख बल्‍ल आँखा लागेछ । ऊ त सपनामै युद्‌धको जेहाद छेड्‌दै थिई- बिहा गर्नु, लोग्‍ने हुनु मात्रै पबित्र सँबन्‍ध हो ? कदापी होइन ! एक्‍लो जन्‍मीनु, मर्नुको बीचमा किन कसैको सहारा चाहीन्‍छ? फेरि म तेही दलदलमा फसुँ ?? महाभारत कालमा अर्जुनलाई श्रीकृष्‍ले संझाएका थिए- पार्थ, तिमी युध्‍दको मैदानमा छौ-धर्म र न्‍याय को वकालतको लागी । नाता- सँबन्‍ध केबल भ्रम हुन्‌ । च्‍यतेर हटाउ भ्रमका पर्दालाई ।त्‍यो नव परिचित फरासिलो केटोलाइ टाढा पन्‍छाउने प्रयाशमा थिइन मनको कुनाबाट । आकाशको दानबी रूप संझीदा बद्रोहको आगो दन्‍किन्‍थ्‍यो मनमा । त्‍यसैको ज्‍वालामा कागजका पत्ता सरी जलाउँदै थिइन्‌ पुरुष प्रधान समाजमा महीलाको दासत्‍व सम्‍बन्‍ध । झिसमीसे बिहान भैसकेको थियो । झ्‍यालको अन्‍तराप बाट भित्रिएको चिसोपनले कोठा ओसींदै थियो । तर उनी ऊष्‍णतामा छट्‍पटाइ रहेकी थिइन्‌ । पुस्‍तौं देखी बज्‍यैबाट आमा र आमाबाट उन्‌मा आएको नारी सुलभ कोमल मनले बिद्रोहको आधुनिक बिचारलाइ अबरोध सिर्जना गरी रहेको स्‍पष्‍ट देखिन्‍थ्‍यो । अन्‍तर मनमा त्‍यो नवपरिचीत आकर्षक युबकले बलियो घर बनाइसकेको थियो ।

उनका हातहरु बिस्‍तरा भित्रै सल्‍बलाइ रहेका थिए लोग्‍नेको न्‍यानो आलिङ्‌गनको लागी, अनि फेरि एउटा सँबन्‍ध रोपणकालागी । निद्रामै बरबराउंदै बिच्‍छ्‌यौना बाट जुरुक्‍क उठीन्‌-“सबै पुरुष आकाश हुँदैनन्‌ ।…एउटा परिपक्‍व संबन्‍धको खाँचो छ !”

टोकीयो, डिसेम्‍बर २००७

Shreedhar Sharma – Sankat Kaal (Nepali Laghu Katha)

श्रीधर शर्मा – सङ्कटकाल
(मधुपर्क बैशाख, २०६७)

दिनानुदिन बढ्दो हिंसाका कारणले गर्दा सरकार ज्यादै त्रशित बनेको थियो । दुई जनाले पहिलो हत्या मोटरसाइकलमा चढेर गरेको कुरा थाहा पाएपछि सरकारले ‘मोटरसाइकलमा सवारी गर्न दुई व्यक्तिले नपाउने’ भनी प्रतिबन्ध लगायो । जसबाट थुप्रै मोटरसाइकल सवारलाई पुलिसले पक्डियो ।

हत्या कम भएन । फेरि साइकलमा चढेर हत्यारा भाग्न सफल भए । सरकारले साइकलमा चढ्ने हरेकलाई साइकल नचढ्न आदेश दियो । सबै साइकलवालाहरूले आ-आपmना घरमा साइकल थन्क्याएर पैदल हिँडे ।

जब तेस्रोपल्ट हत्या भयो तब हत्याराहरू नीलो पोसाकमा देखिए । अब पुलिसले फेरि नीलो लुगा लगाउने जतिलाई पक्डिँदै थुन्दै गर्न थाल्यो । त्यसपछिको हत्याकाण्डमा हत्याराले मात्रै गन्जी र कट्टु लगाएको पाइयो । अब बिचरा, गन्जी र कटटु लगाउने मात्रै हैसियत भएकाहरूले गन्जी पनि लगाउन छोडिदिए पुलिसले पक्डिएला भन्ने डरले ।

हत्याराहरूलाई अझै पुलिसले पकड्न सकेको थिएन अब हत्याराले कतै अर्को हत्या कट्टुमात्रै लगाएर गरे भने आफू पुलिसको भयङ्कर कुटाइबाट बच्नको लागि कहाँबाट लुगा ल्याएर आफ्नु शरीरलाई ढाक्ने ? अति विपन्नवर्गका जनतालाई चिन्ता पर्न थालेको छ ।

Dr. Rajendra Bimal – Rato Passport

डा. राजेन्द्र विमल – रातो पासपोर्ट
(असोज मधुपर्क, २०६८)

गजफै भयो ! दुई थान सक्कली सांसद्ज्यूहरू र दुई थान नक्कली सांसद्ज्यूहरूलाई खोरको शोभा यसरी बनाइयो, जसरी तामाभित्र हीरा हालेर बाँडाले औँठीको शोभा बढाइदिन्छ । राष्ट्रिय कारागारको चर्चित ‘आइटम’ बन्न पाउनु उहाँहरूका लागि जातीय गौरवको ऐतिहासिक उपलब्धि हो । जिन्दगीको एकएक छिन पनि मज्जाले काट्न साईबाबाको कृपा चाहिने हामी भोकानाङ्गा नेपालीहरूका लागि तात्तातो पाकमा झुरुमझुरुम गरी तयार पारिएका वफाउँदो जेरीजस्तो स्वादिलो ताजा समाचार हो ।

यी कुलगौरवहरू किन झ्यालखाना परे, यिनको भूत, वर्तमान, भविष्य के छ त्यो जान्नु पी.एच.डी.को विषय हो-होइन, त्यसबारेमा त्रि.वि., केन्द्रीय विभागका प्राध्यापकहरूमा विवाद छ तर इन्टरपोल, नेपाल प्रहरी वा नेपाल सरकारको मन्त्रिपरिषद्मा कुनै विवाद देखिएन ।

गएको माघ महिना दुई जना एम.पी.साहेब रातो पासपोर्ट अर्थात् कूटनीतिक राहदानी बोकेर युरोप र अमेरिकाको भ्रमणका लागि पुष्पक विमानबाट आकाश-मार्गतिर लागे । इत्तेहाद एयरलाइन्सबाट अस्टे््रलिया उडेकोमा उनीहरू अबुधाबी ट्रान्जिटमा समातिए । त्यहाँ रहेको अधिकारीलाई रातो पासपोर्ट देखाउँदा अधिकारी झस्कियो -मानौँ, त्यस रातो पासपोर्टभित्र रहेको गोमनको रातो जिब्रो ल्यापल्याप गर्दै थियो । उसले महान् राष्ट्रका महान् सभासद्लाई एकछिन नियाल्यो, यस्तो नियाल्नुका अभ्यस्त यी सांसद्हरू के अत्तालिन्थे ? अटल हिमालको देशमा अटल सांसद्को नक्कली नाउँ पनि अटल सिंह रहेको हुँदा उनी टल्नेबाला थिएनन् । त्यस्तै उनकी तथाकथित श्रीमती सांसद् कलियुगी देवी पनि कालोरूप धारण गरी उभिइन् । अधिकृत साह्रो स्वरमा बोल्यो-“मिस्तर अतल । हाम्लाई इन्तरपोलले खबर गरेको छ, तपाईंहरूको यो रातो पासपोर्त नक्कली रहेछ ।”

त्यस मान्छेले दुवै नक्कली सांसद्लाई डोर्‍याएर लिˆटतिर लगे । लिˆट दसौँ तल्लामा रोकियो, जहाँ एउटा धम्मरधुस, दाह्रीवाल मुसलमान घुम्ने मेचमा बसेको थियो । लग्ने हाकिमले अरबी भाषामा केके बोल्यो । दाह्रीवाल भुँडे हाकिमको अनुहार कठोर हुँदै गयो । उसले दुवै हात उचालेर मन्त्रजस्तै केही फलाक्न थाल्यो । संभवतः कुरआनपाकका आयतहरू थिए अथवा दरुदशरीफका हरफहरू, यी नेपालीहरूले बुझ्न सकेनन् । त्यसपछि मौलानाका जस्ता दाह्री भएको हाकिमले आफ्ना आग्नेय दृष्टि यी बबुरा, बेइमान नेपालीतिर प्रक्षेपित गरेर मेसिनगनबाट गोलीको बौछार गरेझैँ प्रश्नहरू वषर्ाउन थाले ।

“हजुरहरू यति महान् व्यक्ति भएर पनि यस्ता नक्कली, जालीफटाहा काममा संलग्न हुँदा सुहाउँदो काम भएन ।”

“जाली, फटाहा भएरै पो महान् बन्न पाइयो ।” -नक्कली अटलसिंह बनेका चौअनियाँले जवाफ दियो ।

“धत् ! यो के कुरा गरिबक्सेको ? फट्याइँ नगर्ने असली भगवान्हरू, महापुरुषहरू छैनन् ?” चेलोले गुरुलाई प्रश्न गरेझैँ हामिकले प्रश्न गर्‍यो ।

हाम्रो देशमा भगवान् भनाउँदा र महापुरुष भनाउँदाहरूको नक्कलीपन र द्वैध चरित्रको कुरा गरियो भने त दिन त्यसै बित्छ । लौ भैगो भगवान्को कुरा, तपाईंले असली मान्छे भेट्टाउनु भयो भने भन्नुहोला ।”-जहन्नुमी बेगमले जवाफ दिई ।

“किन ? आठ अर्ब मान्छेमा कोही असल छैन ?”

खै, मैले त कतै भेटिनँ । भित्रको मान्छे अर्कै र बाहिरको अर्कै बनेर, दिनभरि आफ्नै अनुहारलाई सयथरीको मखुण्डो बनाएर छिनछिनमा फेर्दै हिँड्ने मान्छेलाई तपाईं असली मान्छे भनेर पत्याउन सक्नुहुन्छ ?” नक्कली सांसद् सिंहले प्रतिप्रश्न गर्‍यो ।

“होइन यो हजुरको अलिकति नकारात्मक सोच हो । यस्तो सोचले नै हो संसार ग्याँसच्याम्बरमा परिणत भएको । संसारमा सकारात्मक सोच भएका मानिसहरू सधैँ रहेका छन्, रहने छन् र तिनकै सकारात्मकताले संसार बाँचेको छ । हाकिम आशावादी देखियो ।

“झूठ ! बिल्कुल झूठ ! संसार टिकाउने शक्ति छ ती व्यक्तित्वहरूमा जसको हातमा राजनीतिक शक्ति छ र ती सबै जाली, फटाहा, कपटी, स्वार्थी, षड्यन्त्री, हिंस्रक, अहङ्कारी, कामाशक्त र द्वैधचरित्रका हुन् । त्यसैले म त संसार नकारात्मक शक्तिमा बाँचेको देख्तछु ।” के सोचेर हो, चौअनियाँ एक्कासि हाँस्न पो थाल्यो ।

“हा….हा…..हा….हा….हा…! अमेरिकासित शक्तिशाली बम छ भने चीनसित पनि छ । एउटाले हान्यो भने अर्कोले पनि हान्छ । अनि दुइटैमा मर्नुपर्छ भन्ने डर जबसम्म छ यो संसार बाँचिरहने छ । भय र आतङ्कमा बाँचेको अनौठो शक्ति सन्तुलनको यो संसार !” चौअनियाँले चौअनियाँ मुस्कान दियो ।

“सिंह वनबाट सिंह विलुप्त हुँदै गएजस्तै मान्छेको जङ्गलबाट मान्छे विलुप्त हुँदै गएको यो संसार ।”-जहन्नुमी बेगम दुःखी देखिई ।

“जति ठूलो बेइमान त्यति महान् हुने यो

संसार !……किसानहरू, मजदुरहरू, श्रमजीवीहरू कम बेइमानी गर्न पाउँछन् वा गर्न सक्छन्, त्यसैले ती सबभन्दा तल परेका छन् । मान्छेलाई उल्लु बनाई पछिपछि लगाएर मात्र होइन, कि त मारेर वा सहिद बन्न उल्काएर, उनको लासलाई कुल्ची सत्ताका सिंहासनमा बस्न सफल हुने नेताहरूकै हातमा मानव जातिको वर्तमान र भविष्य रहेको यो संसार !!”-चौअनियाँले खुइय्य सुस्केरा काड्यो । हाकिमले सोच्यो-“मान्छेमा सुन्दर संसारभित्र बाँच्ने आकाङ्क्षा उसको जिजीविषा बाँकी रहेछ, यसैले बँचाएर राख्छ संसारलाई । यो संसार त्यसै ध्वस्त हुँदैन । यो संसार सुन्दर अवश्य बन्ने छ ।” मनमा आशाका थुप्रै किरणहरू झुल्किए र ऊ जुरुक्क उठ्यो-“हस् त नक्कली सांसद्ज्यूहरू-दुवैथरी ! हजुर म पनि त कहाँ असली मान्छे हुँ र ? नक्कली व्यवस्थाको पङ्खामा नटभोल्ट भएर हामी फनफन्ती घुम्दै छौँ । यो व्यवस्थाले नै हो हाम्रो जीवनलाई नक्कली बनाएको । जीवनको घाम डाँडा काट्न लागेको बेलामा मेरो मनले भन्छ, हामी बदलियौँ भने व्यवस्था बदलिन्छ ।”

त्यसपछि फरिस्ताजस्ता देखिने त्यो ठूलो हाकिमले हुकुम गर्‍यो-“यी नक्कली नेपाली सांसद्हरूलाई असली सम्मानसाथ आफ्नो बुद्ध र जनकजस्ता महान् ऋषिमुनिको देशमा फर्काइदिनु । यिनका विषालु तर्कहरूले हाम्रा सन्तानलाई पनि एकैछिनमा भ्रष्टाचारी बनाइदिनसक्छन् । म यिनको विलक्षण नेपाली वाक्कलाबाट औधि प्रभावित छु र यस्तै तीक्ष्ण नकारात्मक बुद्धिले नेपाल उत्तरोत्तर उल्टो दिशामा भयङ्कर प्रगति गर्दै गएको तथ्यसित परिचित भएको छु । धन्यवाद ।

परिस्थितिको गम्भीरता हेर्दै विचरा नक्कली सांसद् चौअनियाँले सोच्यो-‘त्यो मोरो इन्टरपोलको मान्छे पनि असली थियो कि नक्कली, के ठेगान ? हाम्रो शत्रु करमुद खान सञ्जालको मान्छे हुनसक्छ तर पनि अब लोप्रेकान लाएर नेपालै फर्किनुमा कल्याण छ ।

उनीहरू राति एउटा होटेलमा बसे र ती असली सांसद्लाई गाली गर्न थाले, जसलाई डेढडेढ करोड रुपियाँ तिरेर उनीहरूले यी कूटनीतिक राहदानी लिएका थिए । आफूहरू नक्कली राहदानी बोकेकोमा चिन्ता थिएन तर ठूलाठूला सूटकेसभित्र जुन नक्कली अफिम थियो त्यसको चिन्ताले रोमान्समा बाधा दिएको थियो । चौअनियाँ र जहन्नुमी चिठ्ठामा परेको रोमान्स गर्ने यो दुर्लभ मौका आँखीभौँ चुमुक्क पारी चिन्ता र तनाउमा गुमाउन चाहन्नथे । त्यसैले उसलाई यत्रतत्र-सर्वत्र कुत्कुत्याउँथे र भन्थे -“पासपोर्ट नक्कली, तस्करीको अफिम नक्कली र हामी लोग्नेस्वास्नी नै कहाँ सक्कली हौँ ? तँ कहाँकी, म

कहाँको ? तेरो असली नाउँ जहून्नमी बेगम, मेरो नाउँ चौअनियाँ यादव । तेरो नक्कली नाउँ कलियुगी देवी, मेरो नक्कली नाउँ अटल सिंह । त्यो डेढ करोड रुपियाँको कुरा पनि थाहै छ ।” यति भन्नासाथ दुवै मरीमरी हाँस्न थाले र रातभरि थकाइ नमारी फिस्टाफिस्टीको प्रणयलीला दोहोर्‍याइतेहेर्‍याइ रहे ।

नेपाल पुगेपछि परराष्ट्र सचिवले ती दुवै नक्कली दम्पतीलाई नक्कली पासपोर्टसहित समातेर ल्याउने आदेश दिए ।

सचिवले अलिक कड्केर सोध्यो-“तपाईंहरूले बोकेको राहदानीको फोटोकपिको फोटामा भएको अनुहार र कूटनीतिक राहदानी जारी हुँदा परराष्ट्र मन्त्रालयमा पेस गरेको फोटोको अनुहार मिल्छ ?”

“मिल्दैन !”

“संविधानसभा परिचयपत्रको फोटोकपिको अनुहार र राहदानी लिँदा पेस गरेको फोटोको अनुहार मिल्छ ?”-सचिवले फेरि सोध्यो ।

“मिल्दैन !”

“अनि ?”

“अनि के ? “उल्टै कठोर भए नक्कली दम्पत्ति ।

” तपाईंहरू जाली, किर्ते, नक्कली होइन ?”

” जुन दिन मेरो जन्म भयो त्यसदिन मेरो बुबाले खोटो चौअन्नी पाएका थिए । त्यसैले मेरो नाउँ चौअनियाँ भएको हो ।”

” तपाईहरू सांसद् हो ?”

“होइन !”

” तपाईंहरू कोको हुनुहुन्छ ? कहाँकहाँको मान्छे हुनुहुन्छ ? आफ्नो पूरा हुलिया-ठेगाना बताउनुहोस्, नत्र….”सचिव राँको ओकल्दै थिए ।

” सुन्नुस्, हामी यहाँ फोकटमा केही गर्दैनौँ-क्याँट गन्छौँ, क्याँट ।”जहन्नुमीले नोट गनेको स्वाङ पारी ।

” म बङ्गलादेशमा जन्मिएँ । मोहम्मद कासिम मेरो अब्बाजानको नाउँ हो । पाकिस्तान-बंगलादेशको युद्ध हुँदा मेरा एक जना साथीका पिता जसको नाउँ मोहम्मद रोस्तम हो, यहाँ हाकिमलाई यही क्याँट गनेर यहाँको नागरिक भए । मलाई आफ्नी छोरी बनाएर उहाँले नागरिकता दिलाउनुभयो । अहिले मेरो खानदानै नेपाली भइसक्यो-मधेस आन्दोलनताक । जहन्नुमी एकछिन चूप लागी र फेरि प्वाक्क बोल्न थाली- “हामी तीन ठाउँका नागरिक हौँ-बंगलादेश, भारत र नेपाल । तीनै ठाउँमा तस्करीको धनले हामीले ठूलठूला उद्योगधन्दा चलाएका छौँ ।”

” केकेको उद्योग छ ?”

“तपाईलाई थाहा छैन ? नक्कली औषधि, नक्कली ड्रग्स, नक्कली रक्सी, नक्कली हीरा, पोखराज आदि पत्थरहरू, नक्कली जडीबुटी र रुद्राक्ष आदि कैयौँ उद्योग-व्यापारहरू देशभरि छ्याप्छ्याप्ती फिजाएका छौँ हामीले । तर त्यसै होइन, क्याँट तिरेर ।”

सचिव उसको निर्भीकताबाट प्रभावित हुँदै थियो । ‘क्याँट-क्याँट’ शब्दको उच्चारण धेरैपटक गर्दा, त्यस शब्दमा मन्त्रको प्रभाव आएको थियो । त्यो हिन्दू धर्मावलम्बी सचिव यस मन्त्रबाट सम्मोहित भयो । त्यसले क्याँटको प्रसङ्ग बढाउनै चाहेको थियो तर यति छिटो एउटी आइमाईको अगाडि नाङ्गिनु उचित लागेन । त्यसैले संयम भयो तर आइमाईहरू यस्ता कुरा गम्न खप्पिस हुन्छन् । त्यसैले उसले कारबाट घिसारेर ल्याएको एउटा स्यानो बोरा झिकी, त्यसभित्र रहेको क्याँट खोलेर देखाई र विनम्र स्वरमा बोली-“यो सरलाई उपहार !”

” ठीक छ, ठीक छ”-सचिवले अहिलेसम्म गुरु, गंभीर बनिरहनु उचित ठान्यो- ” यसलाई मेरो टेबलमुनि सार्दिनोस् ।”फेरि त्यो चौअनियाँ यादवतिर फर्कियो-

“तपाईंको पूरा परिचय ?”

“म…..म…..म ?”-एक्कासि चौअनियाँ यादवको रक्तचाप बढ्यो- “मलाई चिन्नुहुन्न ?” तपाइर्ंलाई थाहा छैन ? तपाईंको बी.ए.को नक्कली प्रमाणपत्र मैले बीस हजारमा बेचेको ? भन्दिऊँ ? भन्दिऊँ मिडियालाई

सबैकुरा ??”

सचिव गिड्गिडाउन थाल्यो- “यस्तो अन्याय नगरिदिनोस् सी.वाई.सर ।” आज म सचिव हुँ, त्यो तपाईंकै कृपाले । यो सोधपुछ त औपचारिकता मात्र हो, सर । के गर्ने ? जागिर खानलाई ।” वाक्य पूरा नगर्दै सचिव उठ्यो र चौअनियाँ यादवको खुट्टा छुन थाल्यो । चौअनियाँले फेरि भन्यो-“चूप लाग्नोस् डंगोलज्यू । यो देश नै नक्कली मान्छेहरूले चलाएको छ । तपाईंलाई थाहै छ, मेरो सिङ्गो जीवन नक्कली रहेको छ । क्याँट दिएँ, क्याँट लिएँ । कहिले बनारसको नक्कली नेपाली बाबा बनेर त्यहाँको एउटा मन्दिरको भए जतिको श्रीसम्पत्ति हात पारेँ । फेरि सबै बेचबाच पारेँ । सुपाडी लिएर मान्छे मार्न थालेँ । केन्द्रीय नेताहरूको बुथ कैपचरिङ मेरो गिरोहले ठेक्कामा लिन्थ्यो । कोठी चलाउँथ्यो र ठूलठूला उद्योगपति, नेता र विदेशी पर्यटकहरूलाई सप्लाई गर्थेँ । अनेक जुक्तिले अकूत सम्पत्ति आर्जन गरेको छु । मैले भण्डाफोर गरेँ भने नेपालका अनेक महान् हस्तीहरूका गोडामुनिका जमिन भासिन्छन् । लौ छोड्दिनुस् र मलाई मुक्त गरिदिनुहोस् । जहन्नुमीले ठीकै भनिन्-यो संसार अहिले दुई नम्बरको बाटो समाउनेहरूको हातमा छ । जुन दिन एक नम्बरको बाटोमा हिँड्नेहरूको हातमा आउनेछ, त्यसदिन हामी र हाम्रा सन्तानले फेरि सोच्ने बेला आउँछ । अहिले म सक्कली मान्छे भएर बाँच्न खोजेँ भने मेरै आपराधिक सञ्जालका मानिसहरूले मलाई गोली हानेर मार्छन् । अनि तपाइर्ंले आत्मपरिवर्तनको कुरा गर्नुभएको हो कि चोला परिवर्तनको ? चौअनियाँ पेट मिचिमिची हाँस्न थाल्यो ।”-हा…..हा…..हा….हा…..कसले गर्छ परिवर्तन ? संसारको सबभन्दा शक्तिशाली राष्ट्रको राष्ट्रपतिले ? मैले पी.एच.डी. गरेको हुँ । योग्यताअनुसारको जागिर नपाएपछि म दुई नम्बरको बाटोमा हिँड्न बाध्य भएको हुँ ।….मेरा…बा….मेरी….आमा…..मेरी बहिनी…..एकएक गरी सबै कसरी संसारबाट बिदा भए, म कसरी बिर्सुं ?” यति बोलिसकेपछि सी. वाई. सर. रुन थाले ।

सचिव अकमक्क पर्‍यो । आफूलाई समालिसकेपछि चौअनियाँ यादव फेरि बोल्न थाल्यो-“स-साना बच्चाहरूलाई देख्नुभएको होला ? स-साना दूधे बच्चाहरूसँगै खेल्छन् । एउटा हातमा चकलेट हुन्छ, अर्कोलाई पनि खाने इच्छा जाग्छ तर ऊसित हुँदैन । उसले माग्छ, दिएन भने ठगेर भए पनि, लछारपछार गरेर भए पनि खोस्न खोज्छ । भन्छौँ उसलाई बुद्धि छैन अहिले । ऊ ठूलो हुन्छ । उसलाई कुनै केटी मनपर्छ, अनि ऊ जिद्दी गर्छ-“आमा मलाई त्यही केटी चाहिन्छ । ऊ अझ ठूलो हुन्छ । देशमा राजनीतिज्ञ बन्छ, अनि जिद्दी गर्छ-‘मलाई प्रधानमन्त्रीकै कुर्सी चाहिन्छ ।” त्यसका लागि रगतको खोलो बगाउन तयार हुन्छ । त्यसैगरी, अमेरिका, चीन, जापान, भारत वा अन्य कुनै शक्तिराष्ट्रको सर्वाधिक शक्तिशाली राष्ट्रपति वा प्रधानमन्त्री बन्छ र एउटा बच्चाले अर्को बच्चोसित चकलेट खोसेजस्तै अर्को देशका स्रोत-सम्पदा हात पार्न, तेलको खानी कब्जा गर्न, त्यस देशमाथि निर्ममतापूर्वक अविरल बम वषर्ा गर्छ । तपाईं नै भन्नोस, चकलेट खोस्ने त्यो बच्चोमा, मन्त्री वा प्रधानमन्त्रीको कुर्सी खोस्ने नेतामा वा तेलका लागि अथवा अन्य प्राकृतिक सम्पदाका लागि अर्को देशमाथि बम वषर्ा गर्ने शक्तिराष्ट्रका राष्ट्रपति वा प्रधानमन्त्रीमा के फरक

छ ? के यी सबै बच्चै होइनन् ? के यी सबै नक्कली जीवन बाँचिरहेका छैनन् ?”

सी.वाई.सर स्याँस्याँ गर्न थालेका थिए । डंगोल ढुङ्गाका मूर्तिझैँ स्तब्ध थिए । उनले विस्तारै घन्टी थिचे । कार्यालय सहयोगी आयो । उनले भने-“पानी” ! पानी आयो । सी.वाई.सरले खाए र पागलझैँ फेरि बोल्न थाले- ” तपाईंका सभासद्हरूमध्ये एउटाले अर्कोलाई सभा भवनभित्रै चप्पल हान्छ, हत्याको आरोप लगाउँछ । यो भन्दा अगाडि सयौँ पटक राहदानी दुरूपयोगका मामिलाहरू आए र त्यसै गए । कुनै युवालाई प्रहरी निरीक्षक बनाइदिन्छु भन्ने प्रलोभन दिएर एकलाख रुपियाँ घुस लिइरहेकै अवस्थामा एउटा सभासद् रङ्गे हात पक्राउ पर्छ । प्रहरीको मस्ट वान्टेड सूचीमा परेका सांसद्हरू छाती फुकाएर संसद् भवनभित्र र बाहिर हिँड्छन् । संसद् भवनभित्र केही सांसद् दिनदहाडै बन्दुक लिएर प्रवेश गर्छन्, केही सांसद्हरू कोठीमा फेला पर्छन्, कोही आफूलाई राम्रो गाडी नपठाएकोमा प्रमुख जिल्ला अधिकारीलाई तिरिमिरिझ्याइँ देख्नेगरी थप्पड हान्छन् । कतिले चोरीको गाडी देखाइदेखाइ चढ्छन्, कतिपयहरू रुख तस्करी, चन्दन चस्करीमा लागेका छन् । संसद् भवनभित्र अर्थमन्त्रीलाई बजेट पेस गर्नै लागेको बेला लछारपछार गर्दै कुट्छन् । संविधान समितिको बैठक चलिरहदै गर्दा चौथो तल्लाबाट तल कुर्सी ˆयाक्छन्, यी तपाईंकै मातृभूमिका भाग्यविधाता कहलाउने । के यिनको चरित्र नक्कली

होइन ? लोक वा जनताले हराएकालाई समानुपातिक चुनाउलाई आधार बनाई प्रधानमन्त्रीसम्म बनाउने व्यवस्थालाई असली लोकतन्त्र भन्ने कि नक्कली ?”

जहन्नुमीयाले थपी-“फेरि जुन दलले काखी च्यापेर उसलाई प्रधानमन्त्री बनायो उसैले त्यस दलको खैरो खन्न थाल्यो । के यो सत्ताको फोहोरी खेल होइन ? लोकतन्त्रको असली खेल हो कि नक्कली ?”

जहन्नुमीले फेरि थपी-“सबैलाई क्याँट चाहिन्छ क्याँट । क्याँटले नै पावर आउँछ, पद आउँछ, प्रतिष्ठा आउँछ, ठूलठूला डिग्री आउँछ, सुख-सुविधाका सामान आउँछ । सबैको जरो हो क्याँट । …..बुझ्नुभयो सचिवज्यू । त्यसैको लागि सत्ता पाउन तँछाड-मछाड छ । असली-नक्कलीको चक्करमा नफस्नोस् । …..मातृभूमिका लागि आफू होइन, आफूहरूका लागि मातृभूमि चाहिन्छ ।

यो कुरा सुनेर सचिवलाई के भयो कुन्नि, रुन पो थाल्यो । बाहिर झमझम पानी पर्न थालेको थियो । त्यसैबेला पाँच जना प्रहरीले संसद् भवनबाट बाहिर निस्किनासाथ असली अटलसिंह र कलियुगी देवीलाई अदबसाथ लिएर आए । उनलाई सचिवले स-सम्मान कुर्सी दिए । अनि ठट्टा गर्ने मुडमा सी.वाई.सरलाई सोधे “होइन, सी.वाई.सर, यिनी असली अटलसिंह हुन् ?”

“कहाँको हुनु ? यिनी पटलसिंह हुन् ?” यिनको घर पनि बिहारमै छ । मधेस जागरण दलका अध्यक्षज्यूको कृपाले यिनी सभासद् छन् । यिनी सोह्रै आना नक्कली हुन् । अटलसिंह यिनका दाजु थिए, नेपालका नक्कली नागरिक ।

एम.ए.को नक्कली प्रमाणपत्रको भरमा दस जना युवासित नक्कली कलेज खोलेर नक्कली प्राध्यापक बनेका थिए । समानुपातिक तर्फका नाउँका सूची बनाउँदा तिनले अध्यक्षज्यूलाई बीस लाख रुपियाँ दिएका थिए तर ती मरे । उनको शैक्षिक प्रमाणपत्र र नागरिकता प्रमाणपत्र लिएर यी अटलसिंह बनेर मोज गर्दैछन् । तिनै अध्यक्षकी यी कलीयुगी देवी रखेल थिइन्, यिनी पनि समानुपातिकमै ….?”

अटलसिंहलाई झ्वाँक चल्यो । कराएर बोल्न थाल्यो-“सचिवज्यू, यो मोरो चौअनियाँलाई त मैले गोली हान्दा पनि पाप लाग्दैन । म फाँसीमा झुण्डिए पनि गम छैन ।” यति भनेर उसले नक्कली लाइसेन्स भएको पिस्तोल गोजीबाट झिक्यो । प्रहरीहरूले हात समाइहाले । “के भयो, के भयो अँ, सांसद्ज्यू ? ?” सचिव अत्तालिए । “सर, यसलाई मैले नक्कली रातो पासपोर्ट बनाउन दिएँ । यसले मलाई दिएको डेढ करोड नोट, सबै नक्कली ठहरिए !!”-सांसद्को यो कुरा सुनेर सचिवले आˆनो टेबुलमुनि रहेको उपहारको बोरातिर पुलुक्क चिहायो तर बोलेन । त्यत्तिकैमा सचिवलाई एउटा फोन आयो । उसले फोन उठायो र कुरा गर्न थाल्यो । उसको मुखबाट घरिघरि अत्तालिएको स्वर निस्किन्थ्यो-

“अँ ? अँ ?…..अरे, यो त अँधेरै भयो !….लौ, लौ !”

सचिवलाई चिटचिट पसिना आएको देखेर अटलसिंहले सोध्यो-“के भयो, सचिवज्यू ?”

“ब्याड न्यूज ! भेरी ब्याड न्यूज !!…..सर तपाईंले नक्कली राहदानीबाट जुन डेढ करोड पाउनुभएको थियो, त्यो त नक्कली थियो, तर अनेक छलबलले तपाईंले ती नोट बजारमा चलाउन सफल हुनुभएको बुझिन आयो । अनुसन्धान विभागको सूचनाअनुसार, ती नोटले तपाईंले जुन सिमेन्ट, गिट्टी, डण्डी किन्नु भयो र चारतले घर ठोक्नुभयो, ती सब नक्कली परेछन् । अहिलेको वषर्ामा तपाईंको त्यो महल गल्र्यामगुर्लम्म ढलेछ रे ! त्यसैमा कलयुगीज्यूका बालबच्चा पनि परे अरे ।”

त्यसपछि जहन्नुमीको फोन बज्यो……टि्रङ…. टि्रङ…… टि्रङ…..। फोन उठाई स्पिकर अन थियो-“हलो, हलो, म तेरो बाबा बोलेको, बङ्गलादेशबाट…..हलो……म मोहम्मद कासिम……तेरो बाबु……”

“हजुर, भन्नोस् बा ?”

“तैँले दिएको फोन नम्बर नक्कली रैछ । मैले सक्कली नम्बर तेरो साथीबाट बल्ल पाएर फोन गर्दैछु ।”

“ठीक छ अब्बाजान ! त्यहाँ कस्तो छ ।”

“ठीक छैन बेटा ।” उतातिरबाट बूढो आवाज आयो-“तरकारीमा हालेको मसला नक्कली परेर तेरी आमालाई फुडप्वाइजनिङ भयो, अस्पतालले ढुसी परेको नक्कली सलाइन चढाइदियो …..झण्डै खुस्केकी थिई । ऊ बेहोसीमा पनि छटपटाएको देखेर अब बाँच्तिन कि भनेर असहृय वेदना हुन थाल्यो । म सहन सक्तिन बेटा, उसको विछोड !….अनि…..अनि” बूढोको आवाज निकै भावुक थियो-“अनि, अनि बेटा, मैले राति विष खाइदिएको त साले नक्कली पो परेछ, म र तेरी आमासँगै छौँ सदर अस्पतालमा । तँ आइजा !”

खबर पाएकी जहन्नुमी रुन थाली । उसको रुवाइ रोकिएकै थिएन कि सम्मानित अन्तर्राष्ट्रिय व्यापारी चौअन्नीलाल यादवले खबर पाए-“आफ्नै कारखानामा तयार पारिएको नक्कली र विषालु जाँड खाएर उनको एक मात्र छोरो मरेछ र अहिले ढोका फोरेर मान्छेहरूले लास झिकेर आँगनमा राखेछन् ।

एकैछिनमा त्यहाँ चारै जनाको रुवाबासीले सचिवको कोठामा ठूलो खल्लीबल्ली मच्चियो । फेरि के भयो कुन्नि, चारैजना जर्‍याकजुरुक एकसाथ उठेर निस्किए र पागलझैँ सडकमा भाग्न थाले । सिंहदरबार अगाडि चार जना कुद्दै थिए र प्रहरीहरू हान्निएर उनीहरूलाई समात्न पछ्याउँदै थिए । विचराहरू, घर नपुग्दै समातिएछन् र परराष्ट्र मन्त्रालयको कडा आदेशले झ्यालखानाको शोभा बन्न पुगेछन् विचराहरू !!

मान्छेहरू नक्कली भए पनि झ्यालखाना भने असली थियो ।

Mahesh Bikram Shaha – Madhyarat Ma Manhattan

महेशविक्रम शाह – मध्यरातमा म्यानहटन
(नेपाल साप्ताहिक)

मध्यरातमा म्यानहटन असंख्य जूनकीरीहरूको उज्यालोमा जगमगाइरहेको थियो । टाढाबाट हेर्दा बिजुलीका चिमहरू जूनकीरीझैँ प्रतीत हुन्थे ।
हिजो मात्र पूरै न्युयोर्कभरि हिउँ बर्सेको थियो । हिउँले सम्पूर्ण जमिनलाई ढाकेको थियो । म्यानहटनका गगनचुम्बी भवनहरू र चिल्ला सडकहरू पनि जाडोले कठ्यांग्रिएका प्रतीत भइरहेका थिए ।
अलि पर थियो ‘स्ट्याच्यु अफ लिबर्टी’ स्वतन्त्रता र स्वच्छन्दताको प्रतीक ! म्यानहटनको एक विशेष आकर्षण । यता ‘टाइम स् क्वायर’को गल्लीमा रहेको एकतले घरको एक कोठामा बसिरहेकी छे ऊ, माया, ती पात्रहरूको प्रतीक्षामा जो स्ट्याच्यु अफ लिबर्टीलाई हेरेर वाक्क र दिक्क हुँदै ऊछेउ आउनेछन् र उसको शरीरको रापले आफ्नो थकान र न्युयोर्कको जाडोलाई भुल्दै हतारँिदै भाग्नेछन् ।
ऊ भने फेरि अर्को ग्राहकका लागि आफूलाई तयार राख्न मेकअपले पोतेको अनुहारमा फेरि अर्को पत्र थप्न थाल्नेछे ।
“हिजो मात्र आएकी । एसियन केटी हो, मात्र ५० डलर !” घरको भुइँतलामा रहेको पसलको मालिक, जो उसको दलाली पनि गर्थ्यो, कसैसँग कुरा गररिहेको थियो । ग्राहक ‘हिजो मात्र आएकी’ भन्ने शब्दलाई पत्याइरहेको थिएन, ऊ हाँसिरहेको थियो । “मलाई नझुक्याऊ न यार !” ऊ आफूलाई यस काममा नयाँ नभएको संकेत दिन चाहिरहेको थियो । पसलको मालिक एक रेड इन्डियन थियो । पसलका साथै घरको माथिल्लो तलामा चोरीछिपी यौनधन्दा पनि चलाइरहेको थियो । उसको पसलमा गिफ्टका सामानहरूका अतिरत्तिm पोर्नोग्राफीसम्बन्धी सामग्रीहरू बग्रेल्ती थिए । थरीथरीका ब्लु फ्लिम र सेक्स डिभाइसले भरएिको थियो त्यो पसल । माथिल्लो तलामा रहेका दुई कोठाहरूमध्ये एउटा साँघुरो कोठामा माया बसिरहेकी थिई । उसका कान कोठाबाहिरको काउन्टरमा केन्दि्रत थिए, जहाँ रेड इन्डियन र ग्राहक अझै कुरा गररिहेका थिए, अथवा ‘मोल’का लागि बार्गेनिङ् गररिहेका थिए । मायालाई आशा थियो कि आफ्नो मन परे पनि वा मन नपरे पनि त्यो ग्राहक मुटु कँपाउने यस जाडोमा ५० डलर तिरेर उसको शरीरको तातो नलिई घर फर्किनेछैन ।
“मात्र ५० डलर हो महाशय ! यति रकममा त तपाईं कुनै एउटा राम्रो रेस् टुराँमा खाना पनि पाउन सक्नुहुन्न । यहाँ त सारा रेस् टुराँ यानी सम्पूर्ण स्रीको शरीर नै तपाईंको काखमा हुनेछ । मनले चाहेअनुसार जे-जे मन लाग्छ, गर्नोस् !” रेड इन्डियन अझै ग्राहकलाई कनभिन्स गर्ने प्रयास गररिहेको थियो ।
“पहिले त्यसलाई हेर्न पाए हुन्थ्यो नि !” ग्राहक बोल्यो ।
कतै पसलेले देखाउन ल्याउने त होइन ! उसको मन सशंकित भयो । उसले हत्तपत्त ऐनामा आफ्नो अनुहार हेरी । उसको जीउडाल ठीकै भए पनि अनुहार भने मान्छेले पहिलो हेराइमै मन पराउने खालको थिएन । आफूलाई हेरेपछि सोही भाउमा त्यो ग्राहकले सुत्न मान्ला भन्ने कुरामा उसलाई विश्वास थिएन । आफूलाई आकर्षक बनाउन उसले फेरि थप मेकअप गर्न सुरु गरी ।
“छिटो गर्नोस् महाशय ! तपाईं म्यानहटनका लागि पक्कै नयाँ हुनुहुन्न । तपाईंलाई थाहा छ, यहाँ ‘रेडलाइट जोन’ छैन र वेश्यावृत्तिलाई पनि वैध मानिँदैन । हामीले यो काम लुकीछिपी गर्नुपर्छ । पुलिसले जुनसुकै बेला पनि छापा मार्न सक्छ । तर, मेरो पसलमा भने अहिलेसम्म पुलिसको आँखा पर्न सकेको छैन ।” रेड इन्डियनको भनाइप्रति प्रतिक्रिया जनाउँदै आगन्तुक खितखित हाँस् यो र ऊतिर फर्केर भन्यो, “यस् तो जाडोमा कहाँ ˚ुर्सद छ र पुलिसलाई छापा मार्ने ! सबै जना क्रिसमसको तयारीमा छन् ।”
“अनि त्यो केटीका बारेमा नि ! छिटो गर्नोस् महाशय, तपाईं साहै्र बोलक्कड हुनुहुँदो रहेछ ।” रेड इन्डियन छिटो कुरा टुंग्याउन चाहन्थ्यो ।
“मलाई अचम्म यस कुरामा लागिरहेको छ कि म्यानहटनजस् तो सहरमा पनि ५० डलरमा केटी पाइन थाले ।” ऊ फेरि गलल्ल हाँस् न थाल्यो ।
“हाम्रो अर्थतन्त्र ओरालो लागेर यस् तो भएको हो कि !” उसले आ˚ैँ आफ्नो प्रश्नको जवाफ खोज्ने प्रयास गर्‍यो । ऊ यहाँ आफ्ना लागि केटी खोज्नभन्दा पनि केटीको धन्दाका बारेमा बुझ्न आएको मान्छेजस् तो लागिरहेको थियो । तर, यस अनुमानलाई लत्याउँदै ऊ बोल्यो, “एउटी एसियन केटी मात्र छ र यहाँ, अरू केटीहरू छैनन् ?”
“छे, एउटी छे ।” रेड इन्डियन बोल्यो ।
“गोरी वा काली ? अमेरकिी वा अपि|mकी  ? कुन रंग र देशकी परी ?”
“गोरी ! तर, कालो केश भएकी क्यारेबियन हो ।” रेड इन्डियन बोल्यो ।
“क्यारेबियन !” उसको स् वरमा खुसी झल्केको थियो । “क्यारेबियन केटी हुँदाहुँदै नामै नसुनेका देशबाट भित्रेका केटीहरूको पछि के लाग्नु ! मलाई क्यारेबियन मन पर्छ । दे आर रयिली स् वीट एन्ड हट !” ग्राहक बोल्यो । ऊ क्यारेबियन केटीसँग जान इच्छुक देखिएको थियो ।
कोठाभित्र ग्राहक आउने आशामा शरीर र ओछ्यानमा पफ्र्युम स्प्रे गररिहेकी माया अचानक झस्की । उसले निन्याउरो अनुहार लगाई । पल्लो कोठाकी केटीले ग्राहक भेट्टाउन लागेकामा मायाले उसको भाग्यमाथि ईर्ष्या गरी ।
“ओहो ! त्यो मोरो पक्कै काले अमेरकिी नै हुनुपर्छ, नत्र क्यारेबियन गोरीका लागि भनेर किन ज्यान फाल्थ्यो  ?” आफू अमेरकिी वा क्यारेबियन नभएकामा उसले आफ्नो भाग्यलाई सरापी ।
“महाशय, क्यारेबियनका लागि हो भने ५० डलरले मात्र त पुग्दैन नि !” रेड इन्डियन जिब्रो चपाएर बोल्यो । उसले आगन्तुकको कमजोरी समातिसकेको थियो ।
“कति डलर हो नि ?” ऊ तुरुन्त बोल्यो ।
“सय डलर !” रेड इन्डियनले आगन्तुकले प्रश्न सिध्याउन नपाउँदै जवाफ दियो ।
“म्यानहटनको यस मध्यरातको जाडोमा एउटी क्यारेबियन कलकलाउँदी केटीका लागि सय डलर पनि धेरै होइन कि ! कसो ?” आगन्तुक फेरि हाँस्न थाल्यो ।
आगन्तुकको अहिलेको जवाफले रेड इन्डियन छक्क पर्‍यो । उसले ट्वाल्ल परेर आगन्तुकको अनुहारमा हेर्‍यो र भन्यो, “थ्यांक यू जेन्टलम्यान  ! हो, तपाईं साँचो भन्दै हुनुहुन्छ । मैले थाहा पाएसम्म कुनै बेला मान्छेहरूले कम्तीमा दुई सय डलर पनि तिर्ने गर्थे । यहाँलाई हार्दिक स् वागत छ महाशय !” सुरुदेखि अन्त्यसम्म लगातार तिनीहरूको वार्तालाप सुनिरहेकी मायाले मनमनै कल्पना गरी कि रात अझै धेरै बाँकी छ र म्यानहटनका सडकहरू खाली नहुन्जेल ग्राहकहरू बार, पब र नाइट क्लबबाट ढुनमुनिँदै ह्वीस् कीले निकालेको ज्वरो शान्त पार्न यहाँ आइपुग्नेछन् । “बाहिर कति जाडो होला ? सम्भवतः मैले अनुमान गरेभन्दा बढी नै !” उसले काँचको झ्यालबाट बाहिर हेर्दै सोची । साँझपख ऊ यस पसलमा छिर्ने बेलामा पनि जीउ कँपाउने जाडो थियो । सडकमा जमेको हिउँ पग्लिसकेको भए पनि पेटी र पार्कहरूमा जमेको हिउँ जस्ताको तस्तै थियो । घरका छानाबाट हिउँ पग्लिँदै तपतप चुहिरहेको थियो । पसलभित्र पस् नेबित्तिकै रेडिएटरको न्यानोले ऊ एकैछिनमा रापिएकी थिई ।
पसलमा त्यो रेड इन्डियन अन्य ग्राहकका विभिन्न प्रश्नहरू झेलिरहेको थियो । केही ग्राहकहरू भर्खर मात्र उत्पादित ब्लु फ्लिमको खोजीमा थिए, जसको विज्ञापन तिनीहरूले इन्टरनेटको यु ट्युबमा देखेका थिए । उक्त ब्लु फ्लिम एउटी चर्चित नायिका र निजको ब्वाइप|mेन्डसँग सम्बन्धित थियो । तर, उसको पसलमा त्यो फ्लिम आइपुगेको थिएन । इन्टरनेटबाटै त्यो ब्लु फ्लिमका लाखौँ प्रति अगि्रम बुकिङ् भइसकेका थिए । स् कुल र कलेजमा पढ्ने विद्यार्थीझैँ देखिने केटाकेटीहरू आफ्नो कलेजको पढाइलाई पूरा गर्न आफ्नो ‘भर्जिनिटी’लाई इन्टरनेटमार्फत लिलाममा राखेकी ‘टिन’ केटीको नग्न तस् िबर छापिएको पत्रिका ‘छ कि छैन’ भनेर सोधिरहेका थिए । अधबैँसे महिला र पुरुषहरू यौनवर्द्धक सामानहरूतिर बढी केन्दि्रत थिए । ऊ आफूसँग भएका सामानहरू बिक्री गर्दै हरयिा डलरका नोटहरू हात पाररिहेको थियो । पसलमा आएका ग्राहकहरूको अनुहार नियाल्दै ऊ कुनै-कुनै ग्राहकको कानमा सुटुक्क भन्ने गथ्र्यो, “केटी चाहन्छौ ? मसँग छे हिजो मात्र म्यानहटन आइपुगेकी एउटी एसियन केटी ! एकपटकका लागि मात्र ५० डलर !”
कोही चाख मानेर उसको कुरा सुन्थे । थप प्रश्नहरू जस् तै कस् ती छे, कुन उमेरकी हो, कुन देशकी हो आदि सोधेर आफू जिज्ञासु भएको संकेत दिन्थे । कोही ट्वाल्ल परेर उसलाई हेर्थे । कोही चुप लाग्थे । कोही हाँस् थे त कोही झर्केझैँ गर्थे । कोही भने शिष्टता देखाउँदै ‘नो थ्यांक्स’ भन्थे । ऊ भने फतफताउन थाल्थ्यो, “खोइ, यो केटीको भाग्य कस् तो हो, मैले त बुझ्नै सकिनँ । एसियन केटी भन्यो कि बिनासित्ति किन मुख ङच्िच पार्छन् मान्छेहरू, हँ ?”
माया पसलको मालिक र ग्राहकबीचका हरेक गतिविधिलाई आवाजको माध्यमबाट अनुभूत गररिहेकी थिई । उसले ग्राहकहरूले आफूमाथि कुनै चाख नराखेको कुरा पनि महसुस गररिहेकी थिई । तर, अझै पनि उसले आश मारसिकेकी थिइन ।
‘झुक्किएरै भए पनि एक जना त कसो नआउला !’ उसको मनमा आशाको झीनो त्यान्द्रो झुन्डिएकै थियो । उसको कोठासँगैको अर्को कोठामा पसलमा आएको पहिलो ग्राहक क्यारेबियन गोरीसँग भिडिरहेको थियो । त्यो ग्राहकको मुखबाट निस् केको शीत्कार र जीउ हल्लेको आवाजले मायाको हृदयमा ईर्ष्या र कुण्ठा भरििदएको थियो ।
उसको भागमा अझै पनि एक जना ग्राहक परेको थिएन । ऊ कुर्सीमा झोक्राएर बसिरहेकी थिई । उसको दिमागमा आइरहेका थिए विभिन्न दृश्यचित्रहरू, उसको जिन्दगीका उतारचढावहरू । आफ्नो देश छोडेर अमेरकिा भासिँदा उसले देखेका रुमानी सपनाहरू, हातमा हरयिा डलरका बिटाहरू, आफ्नो घर, चमचमाउँदो कार, गोरा बाबुको न्यानो अँगालो, सुखी र मोजमस् तीले भरएिको जिन्दगी, जता हेर्‍यो त्यतै सप्तरंगी इन्द्रेणीझैँ लाग्ने जीवनका लोभलाग्दा मधुरतम क्षणहरू !
“हरे ! आखिर के पाएँ मैले यस अमेरकिामा  ? यस सपनाको देश अमेरकिामा ! कहिले मारयिा, कहिले मेनका, कहिले मिङसाङ, कहिले मिसी त कहिले मायाको नामको खोलभित्र आफ्नो काँचो मासु बेचेर पनि म घर फर्किने रकम जुटाउन नसक्ने भएँ ।” माया आफ्नो कहालीलाग्दो अवस् थाप्रति चिन्तित र द्रवित हुन थाल्छे ।
“ए केटी, मैले पसल बन्द गर्ने बेला भयो । तेरा लागि आज एउटा पनि कुकुरको छाउरो आफ्नो बांगो पुच्छर हल्लाउँदै यहाँ आएन । मलाई पनि घाटा भयो । के गर्छेस् हँ तँ ?” रेड इन्डियनले कोठाभित्र टाउको छिराउँदै भन्यो ।
“म्यानहटनका सडकमा गाडीहरू गुड्न कम भए र ! के अझै अलिकति समय पनि बाँकी छैन र ? कुनै ग्राहक आइहाल्छ कि ?” उसले मलिन अनुहार लगाई । उसको ओठ सुकिरहेको थियो ।
“के म घर नगई तेरा लागि रातभर पसल रुँगेर बसिरहूँ ? बाहिर फेरिहिउँ बर्सेलाझैँ भएको छ ।” रेड इन्डियन बाहिर चियाउँदै बोल्यो ।
मायाले रेड इन्डियनको मुखमा हेरी । ऊ उसैलाई हेररिहेको थियो । माया मुस् कुराई । उसले रेड इन्डियनका आँखाभित्र हेर्दै भनी, “पसलमा कोही मान्छे छैन र तिमी पनि ˚ुर्सदमा छौ भने २५ डलरमा तिमी मसँग सुत्न सक्छौ । कसो महाशय ?”
रेड इन्डियनले उसलाई तिरस् कृत आँखाले हेर्दै भन्यो, “के तँ मलाई मूर्ख ठान्छेस् ? मलाई थाहा छैन र ! तेरो शरीरभित्र एचआईभीका जीवाणुहरू सलबलाइरहेका छन् । सित्तैँमा पनि म तँसँग सुत्दिनँ, बुझिस् !”
“कहिल्यै नसुतेको भए पो यसो भन्न सुहाउँछ । ” मायाले रेड इन्डियनतिर हेर्दै भनी । माया अब एकछिन पनि पसलमा बस् न चाहन्नथी । उसले ओभरकोट लगाई, काँधमा ब्याग झुन्ड्याई, टाउकोलाई स्कार्फले छोपी र फटाफट माथिल्लो तलाबाट भुइँतलामा झरी । रेड इन्डियन पनि उसको पछिपछि आइरहेको थियो । मायाले फर्केर उसलाई हेरी र विनीत स् वरमा भनी, “यदि तिमी पनि घर जान लागेका छौ भने केही परसम्म छोडिदिन सक्छौ  ? त्यहाँबाट कोठासम्म म हिँडेर जान सक्छु, नजिकै छ ।”
“के कुरा गरेकी तैँले हँ ? तँलाई चिन्ने मान्छेहरूले मेरो कारमा तँ चढेको देखेपछि मेरो इज्जत बाँकी रहला ?” रेड इन्डियन घृणित नजरले उसलाई हेर्दै बम्कन थाल्यो । “ल, यो दस डलरले तँलाई घर जान बसभाडा पुग्छ ।” रेड इन्डियनले पर्सबाट १० डलरको नोट झिकेर उसलाई दियो ।
“सित्तैँमा म पनि कसैसँग पैसा लिन्नँ, बुझ्यौ ? आफ्नो मासु बेच्न पाउनु मेरो अधिकार हो, चाहे यसमा कीरा परेका हुन् वा नहुन् ! ओके, गुडबाई !!” यति भनेर माया पसलको ढोका उघारेर बाहिरइिर् ।
बाहिर सुसु हिउँ बर्सिरहेको थियो । रेड इन्डियनले आश्चर्यचकित हुँदै माया बाहिर गएको हेर्‍यो । ऊ पनि बाहिर आयो । “हे ईश्वर, कति जाडो !” ऊ एकैछिनमा चिसोले कक्रक्क पर्न थाल्यो । माया लडखडाउँदै सडकको पेटीमा छिटछिटो पाइला बढाइरहेकी थिई ।
“ए पागल केटी, कता हिँडिरहेकी ? मर्लिस् नि यस् तो जाडोमा !” रेड इन्डियन चिच्यायो ।
ऊ एकैछिनमा सेताम्मे भइसकेकी थिई । हिउँले छोप्ने प्रयास गररिहेको थियो उसलाई तर ऊ शरीरको हिउँ टकटकाउँदै अगाडि पाइला बढाइरहेकी थिई । उता ‘स् ट्याच्यु अफ लिबर्टी’लाई भने हिउँले पूरै छोपिसकेको थियो ।

नेपाल साप्ताहिक ३४१