Kumar Simkhada – Alchhi Ra Laaparwaahi Maanis Haru

कुमार सिंखडा – अल्छी र लापर्वाही मानिसहरु
(छहारी कथा संग्रह)

यो तीस बर्षको बिचमा कति आए, कति गए। विभागका भवनहरु भत्किए, थपिए। प्रत्येक वर्ष अप्रिल महिनामा नयाँ मान्छेहरु हाम्रो अफिसमा भर्ना हुन्छन्। तर ती कुनै पनि धेरै वर्ष टिक्दैनन्। तिनीहरु काम पनि त्यति गर्दैनन्। फिल्डमा जाँदा हामीलाई अर्डर दिन्छन्। काम सफल भए तक्मा र जस कमाउँछन्। असफल भए गाली पनि उनीहरु नै खान्छन्, तर रिस भने हामीमाथि पोख्छन्। हाम्रै कामको आधारमा २-४ वर्षैमा या त बढुवा भएर केन्द्रतिर लाग्छन् या सरुवा भएर अरु अफिसमा पुग्छन्। तर लगातार म र पुष्पक भने यही प्रकोप विभागमै छौं।

आज मध्येदिनमा एक्कासि अफिसमा साइरन बज्यो र स्वचालित एनाउन्स आयो – “सफलनगर छब्बिस नम्बर वार्ड, चार नम्बर सडकको एघारौं घरको त्रिचालिसौं तल्लाबाट धुवाँ आएको छ। गम्भीरता ६५ प्रतिशत। घटनास्थलसम्मको सबभन्दा छोटो दुरी २ दशमलब ७ किलो मिटर, घटनास्थल पुग्नको लागि लाग्ने समय १ मिनेट १७ सेकेन्ड। सबभन्दा छोटो दुरीबाट जानको लागि –” एनाउन्स सुनिरहने समय थिएन। मेरो नयाँ बोस सञ्जयले मलाई हिंडिहाल्न निर्देश गर्यो। अफिसको पार्किङ् लटमा पुग्दा पुष्पक कारमा बसिसकेको रहेछ। म सिटमा बस्दासम्ममा उसले घटनास्थल पुग्ने रुटको योजना गरिसकेको थियो। कारको स्वचालित नेभिगेटरले सूचना गर्यो – “हालको स्थान १९ समानन्तर र २ नम्बर सडकको चोक। घटनास्थलसम्मको सबभन्दा छोटो दुरी २ दशमलब ७ किलोमिटर, घटनास्थल पुग्नको लागि लाग्ने समय १ मिनेट १७ सेकेन्ड। सबभन्दा छोटो दुरीबाट जानको लागि कृपया १९ समानन्तरबाट पूर्वतिर २ ब्लक जानुहोस् र ४ नम्बर सडकमा देब्रेतिर मोडिनुहोस्। ४ नम्बर सडक आएपछि उत्तरतर्फ ५ ब्लक — ” हामी अफिसबाट २ नम्बरको सडक लिएर उत्तरतर्फ लागिसकेका थियौं। नेभिगेटरको एनाउन्स बिचैमा फेरियो।
“पुष्पक तिमीले गलत बाटो पक्डियौ। सबभन्दा छोटो दुरीबाट जानको लागि १९ समानन्तर लाग्नु पर्ने थियो। पछाडि फर्क!”
एनाउन्सलाई मतलब नगरी हामी समानन्तर १८ मा आइपुग्न लागेका मात्र के थियौं, एनाउन्स फेरि पनि फेरियो – “पुष्पक, म तिमीलाई फेरि पनि भन्दैछु। तिमीले गल्ती बाटो पक्डियौ। यहाँबाट घटनास्थलसम्म सबभन्दा कम दुरीले पुग्नको लागि अब समानन्तर १८ मा दाँयातिर मोड।”
मैले नेभिगेशन बन्द गरिदिएँ। वास्तवमा १८ समानन्तर र ४ नम्बर सडकको चोकमा हिजो भर्खर एउटा दुर्घटना भएको थियो। एउटा सन्काहाले बाटोको बिचमा जबर्जस्ती गाडी रोकिदिएकोले पछाडिबाट लगातार २१ वटा गाडीहरु एक पछि अर्को गरी ठक्कर खाएका थिए। हामीलाई सडक सुचारू गर्न पुरै १३ मिनेट लागेको थियो। गाडीका सबै सिटमा इमर्जेन्सी डन्लपहरु निस्केकोले मानिसहरु हताहत भने हुन पाएनन्। तर यो तीस वर्षे क्यारियरमा २५ जना घाइते हुनेगरी भएको दुर्घटना मैले पहिलो पटक सम्हालेको थिएँ। हामीलाई दिइएको निर्देशन अनुसार अति आवश्यक कारण बाहेक दुर्घटना भएको सडक ४८ घन्टासम्म प्रयोग गर्न मनाही थियो। त्यसैले नेभिगेटरको सहयोग आज लिन नसकिने पक्का थियो। हिजो भएको दुर्घटना सायद नेभिगेटरमा अपडेट गरिएको थिएन। अल्छी र लापर्वाही मानिसहरु!

हिंडेको ५५ सेकेन्डमै हामी प्रगतिचोकमा आइपुग्न लागेका थियौं। पुष्पकले इमर्जेन्सी साइरन बजायो। अगाडिबाट आउने मोटरहरु रोकिन आँटेका देखिए। ठीक पाँच सेकेन्डमा हामी दाइनेतिर मोडिएर समानन्तर १४ पक्डेर पूर्वतिर हानियौं। घटनास्थल पुग्नको लागि अँझै ३३ सेकेन्ड लाग्ने अडकल काटें। मैले सञ्जयलाई हामी १२:०३:३५ मा घटनास्थल पुग्ने अनुमान भएको सूचना पठाएँ। ऊ हाम्रो युनिटका अरु ५ जनासहित दमकल लिएर पछि-पछि आउँदै थियो। सञ्जयले हामीलाई घटनास्थलमा तत्काल जाँच गरेर मानव उद्दार सुरु गर्ने निर्देशन दियो।

अनुमान गरेको समयमै हामी ४ नम्बर सडकको चोकमा देब्रे मोडेर एघारौं घरमा आइपुग्यौं। यस सडकमा मोडिने बेलामा नै मैले कारको छानोलाई खोलेर घटनास्थल हेर्न भ्याएँ। एघारौं घरको सबभन्दा माथिल्लो तल्लाबाट कालो धुवाँ निस्किंदै थियो र अलि अलि रातो राँको बाहिर आउला जस्तो गरी बढ्दै थियो। हिसाब गर्दा सञ्जयहरु आइपुग्न ५३ सेकेन्ड अरु लाग्थ्यो। त्यति समय खेर फाल्न कदापि पनि सकिने थिएन।

त्रिचालिस तल्लामाथि तत्काल पुग्नको लागि हामीसँग एक मात्र विकल्प थियो। मैले पुष्पक तिरहेरें, उसले सहमति जनाउँदै टाउको हल्लायो। यतिञ्जेल अर्ध रुपमा स्वचालित गाडीको ह्यान्डललाई पुष्पकले पूर्ण रुपमा म्यानुअल मोडमा फेर्यो। र गाडीलाई सडकबाट पेटितिर बढायो। घरको भूईं तल्लामा आइपुग्दासम्म मैले आफ्नो सिटबेल्ट कम्मर र छाति २ ठाउँमा बाँधिसकेको थिएँ र पुष्पकको सिटबेल्ट बाँध्ने बटन पनि थिचें। पाङ्ग्रालाई सामान्य मोडबाट भ्याकुम मोडमा फेर्ने बटन दबाएँ। एकै छिनमा हाम्रो सिटमुनिबाट पेचीले चल्ने फलामका चार वटा लिफ्टर तल भूईंतिर बढे र बिस्तारै गाडीलाई उचाले। सडकबाट ३० सेन्टीमिटर उठेपछि चारवटै पाङ्ग्राको वरिपरि सोली आकारका ठुला ठुला बाक्ला प्लास्टिकहरु फिताहरु बाहिर पर्ने गरी गाडिए। यतिञ्जेलमा पुष्पकले गाडीबाट लामो लिभर त्यस बिल्डिङ् तिर जाने गरी पुर्याइसकेको थियो। लिभरको टुप्पामा भएका भ्याकुमका सोलीहरु बिल्डिङ्को बाहिरपट्टि अड्याएर गाडी भूँईसँग नब्बे डिग्री परेर झुन्डियो । चार वटै पाङ्ग्रा त्यस बिल्डिङ्गका भित्तामा अडिएपछि पुष्पकले लिभरलाई फिर्ता तान्ने बटन दबायो। सञ्जय आइपुग्दा हामी बिल्डिङ् चढ्न तयार भइसकेका थियौं।

पुष्पकले गाडी हाँक्यो। पाङ्ग्रामा जडान गरिएको सोली बिल्डिङ्को भित्तामा धसिंदा निस्कने भ्याकुमको शक्तिको भरमा हामी बिल्डिङ् उक्लन थाल्यौं। ४३ तल्लाको शिशा फोरेर भित्र पस्दा एउटा बच्चा रुँदै बाहिर निस्कने प्रयास गर्दै थियो। ऊ ढोकाको भित्रपट्टि राखिएको स्क्रिनका अंकहरुमा हात लगाउँदै ढोका खोल्ने प्रयत्न गर्थ्यो। तर, सही गोप्य-अंक थाहा नभएर ढोका खुल्दैनथ्यो। उसको क्रन्दन सुनेर सँगैको भित्तापट्टिको पलंगमा सुतिरहेकी बृद्दा (जो सायद उसकी हजुरआमा थिई) उसलाई सहयोग गर्न खोज्दथी तर ऊ पनि आफैंमा असक्त थिई। उसको देब्रे खुट्टा पलंगमा टाँगिएको डन्डीसँग बाँधिएको थियो। लाग्थ्यो उसले यही दुई‍-तीन दिन अगाडि खुट्टा भाँचेकी थिई। बृद्दा र बालकका आँखा ठुला ठुला थिए र ती दुबै जना ढोकातिर हेर्दै चिच्याउँए। हाम्रो कोठामा प्रवेशसँगै उनीहरुको चिच्याहट अलि कम भयो। मैले बिशेषाधिकारको कोड प्रयोग गरेर ढोका खोली बालकलाई बाहिर पुर्याउँदासम्ममा पुष्पकले त्यस बृद्दा सुतेको खाटलाई कुर्ची मोडमा परिवर्तन गरी पाङ्ग्राहरुलाई गुड्ने मोडमा फेरेर ढोकातिर धकेल्यो। बृद्दालाई बाहिर ल्याएपछि लिफ्टमा ती दुईलाई चढाई लिफ्ट सिधै भूईं तल्लामा मात्र रोकिने गरी छोडिदियौं। हाम्रो युनिटका मानिसहरु पहिलो तल्लामा उनीहरुलाई कुर्दै बसेका थिए।

आगलागी भएको कोठामा पुन: प्रवेश गर्दा आगो निकै बढिसकेको थियो। हामी यस कोठामा आइपुग्न अरु २ मिनेट लागेको भए ती दुई बालक-बृद्दा जलेर भष्म हुने पक्का थियो किनभने आगो त्यस बृद्दाको खाट रहेको ठाउँसम्म आइपुगेको थियो र कोठाका हरेक फर्निचर आगोका शिकार हुँदै थिए। आगोको बिच-बिच हाम्फाल्दै पुष्पक अघि फोरेको शिसाको भित्तातर्फ गयो र खल्तीबाट सेतो टेप निकालेर त्यसलाई तन्काउँदै प्वाललाई पुरिदियो। मैले कोठालाई पुरै बन्द गर्ने स्वीच दबाएँ। बल्ल कोठा र बाहिरबिच हावा सर्न नपाउने भयो। मैले “आगलागी-बटन” थिचें र कार्बनडाइ-अक्साइडले पुरै कोठा भरिदिएँ। केही क्षणमै पूरै आगो मर्यो र कोठा पुरै सेतो, कुहिरो कैद गरिराखेको जस्तो, देखियो। हामी पुन: ढोकालाई बिशेषाधिकार कोड प्रयोग गरी खोलेर निस्कनु र सञ्जय लिफ्टबाट बाहिर निस्क्नु एकै साथ भयो। आगो पूर्ण रुपले दबाएको जानकारी दिंदा उसले लामो सास तान्यो।

सञ्जयको काम भने भर्खर मात्र शुरु भएको थियो। उसले घरमुली ४२ औं तल्लामा बस्ने कुरा पत्ता लगाइसकेको रहेछ। हामी पनि सँगै तल्लो तल्लासम्म भर्याङ्बाट ओर्लियौं। घरमुली निस्कन मानेन तर सञ्जयले ढोका फोरेर भनेपनि भित्र छिर्ने धम्की दिएपछि भित्रबाट एउटा ३५ बर्षनाघेको मानिसले ढोकाबाट टाउकोमात्र निकालेर सञ्जयतिर बन्दुक सोझ्याउँदै भाग्ने चेतावनी दिन थाल्यो। मैले प्रकोप बिभागमा काम गर्दा अहिलेसम्म यस्तो परिस्थितिको सामना गर्नु परेको थिएन। तत्काल निर्णय लिनु पर्ने अवस्था आयो। म हत्तपत्त सञ्जयको अगाडि उभिएँ। त्यस मानिसले हाम्रो प्रतिरक्षाको चाल बुझ्न नपाउँदै पुष्पकले त्यस उसको टाउको र दाहिने हात समात्यो। हतारमा उसले गोली चलाउँदा सञ्जय चिच्याउन पुग्यो तर उसलाई केही भएको भने थिएन। गोली मेरो घुँडामा लाग्यो र भूईंमा झर्यो।

घरमुलीलाई नियन्त्रणमा लिएपछि थाहा लाग्यो, अघिका बृद्दा र बालक उसकी आमा र पहिलो श्रीमती तर्फको छोरा रहेछन्। उसकी दोश्री श्रीमती ऊसँग झगडा गरेर रिस फेर्न ती ज्यामा-नातिको कोठामा आगो लगाएर कोठा बन्द गरी हिंडेकी रहिछ।
“अनि कोठामा आगो लाग्या थाहा पाउँदा पाउँदै किन यो कोठामा चुपचाप आफैंलाई थुनेर बसेको त? तिम्रो कर्तव्य छैन आफ्नो आमा र छोरालाई बचाउने?” सञ्जय कुर्लियो।
“तिमीहरु प्रकोप बिभागबाट ४-५ मिनेटमा आएर ठिक पार्न सकिहाल्थ्यौ नि! र, सक्यौ पनि। यस्तो थाहा हुँदा हुँदै मैले किन दु:ख गर्नु पर्यो?” त्यस मानिसबाट उत्तर आयो। ऊ घटना हुँदा ४२ तल्लामा थियो। त्यसैले हिसाब गर्दा, यदि उसले चाहेको भए, हामीले गरेको काम उसले डेढ मिनेट अगाडि नै फत्ते गर्न सक्थ्यो।
“तँलाई लाछी!” सञ्जयले उसलाई हतकडी लगाउँदै भन्यो, “तेरो मानवता कता गयो? यी दुई रोबोटहरु नभएको भए तेरो सारा परिवार डढेर नष्ट हुन्थ्यो। अँझै यस्ता कुरा गर्छस्? तँलाई मेरो प्रहरी बिभागबाट प्राप्त बिशेषाधिकार प्रयोग गरी मानव जीवनमाथिको हेलचक्र्याइँ अनि प्रकोप बिभागको अफिसरको हत्याप्रयासको अभियोगमा गिरफ्तार गर्दछु।”
मैले मेरो घुँडामा लागेको गोली भूईंबाट टिपें र गोली लागेको ठाउँ नियालें। सानो खत लागेको रहेछ। सायद मानिस भएको भए ह्वालह्वाल्ती रगत आइरहेको हुने थियो। घटनाको रिपोर्ट तयार गरें।
“यो मानव समाज के हुन आँटेको हो आजकल? रोबोटको भरमा बाँच्न थालेपछि त कर्तव्य र ममता नै बिर्सिन थालिसके नि!” सञ्जय फत्फताउँदै थियो।
मैले आन्तरिक संचारमार्फत पुष्पकलाई गाडीमा फर्किन इशारा गरें। हामी दुई पुन: ४३ तल्लामा उक्ल्यौं, भर्खरसम्म आगलागी भएको कोठामा पस्यौं। पुष्पकले अघि टालेको टेप झिकेर फाल्यो र अड्याइराकेको गाडीको चालक सिटमा बस्यो। अनि मलाई गाडीतिर तान्नको लागि हात दियो।

“४२ तल्लामा भएको मान्छे, ४३ तल्लामा आगो लाग्दा पनि सहयोग गर्न नजाने। यी मानिसको जात कति अल्छी? कति लापर्वाही?”

Madhuwan Paudel – Amrita Ki Chhori

मधुवन पौडेल – अमृताकी छोरी

“आमा ! मेरो आई–पड् ल्याप्टप्मा जोडिदिएको हो ?”छोरीको फोन सुन्नासाथ अमृता झसङ्ग भई । दिउँसो तीन बजिसकेको थियो, पाँच बजे त छोरी आइसक्छे ! ऊ हतारहतार छोरीको कोठातिर लागी । बिहान अफिस जाने बेला छोरीले भनेको सम्झी उसले—“आमा म आफैँ अफिसमा आई–पड् चलाउन थालेँ भने त सबैजना त्यसै गर्न थाल्छन् अनि काम केही हुन्न !”
सतीश अर्थात् अमृताको लोग्नेको दुई वर्ष अगाडि दुर्घटनामा मृत्यु भएपछि उसकी छोरी अनुस्काले नै उनीहरूको कन्सल्ट्एन्सी अफिस सम्हालेकी थिर्ई । वास्तवमा अमृतालाई पनि अनुस्काले त्यति राम्रोसँग छिटो समयमा बाबुको व्यापार सम्हाल्ली भन्ने पटक्कै विश्वास थिएन । उसले हेर्दा त अनुस्का न भान्छाको काममा सिपालु न त यताउती नाता कुटुम्बसँग उठबस गर्ने न त आफुलाई चाहिने सामान बाहेक अरू गृहस्थीका सामान किन्न जान्ने लठ्ठक थिई ।
अमृता आफ्नो जमानाको कुरा सम्झन्छे । उसकी आमाले उसलाई एउटी राम्ररी घर गर्ने छोरीको रूपमा हुर्काइन्, भातभान्छाको काममा सिपालु, पाहुनापासाको राम्ररी सत्कार गर्ने, घर सफा–सुग्घर राख्ने आदिआदि । आई.ए.पास गर्नासाथ सतीशसँग उसको बिहे भएको थियो । बिहेपछि उसले अरू धेरै कुरा सिकी, तर ती सब कुरा कसरी लोग्नेलाई खुशी पार्ने र कसरी लोग्नेको घर गर्ने सम्म सीमित थिए ।
बिहेपछि सतीश आफ्नो ठूलो परिवारसँग छुट्टिएर बेग्लै बस्न थालेको थियो । त्यसपछि त अनुस्का नजन्मुञ्जेल अमृताको संसार उसको लोग्ने र घर व्यवहारमै सीमित भयो । उसले लुगा सिउन सिकी, कृत्रिम फूल बनाउने तालिम लिई, घर चलाउन अझ निपूण भई । उसका साथीहरू सबैजसो कतै न कतै काम गर्थे, स्कूलतिर पढाउँथे पनि । यदाकदा सतीशलाई “एक्लै बस्न पनि पट्यार लाग्छ केही गर्ने हो कि ?” भन्दा ऊ झडङ्ग रिसाउने गर्थ्यो । “किन दुःख गर्नु पर्यो ? आनन्दसँग बसे त भइहाल्यो नि !” सतीश अमृतालाई केवल गृहिणीको रूपमा हेर्न चाहन्थ्यो ।
अमृतालाई सतीशको कुरा केही खट्किन्थ्यो, तर ऊ केही प्रतिवाद गर्दैनथी । त्यसपछि त उनीहरू लामो समय विदेशिए । सतीशले विदेशिएको केही समयपछि मात्र पाँच पाँच वर्ष अमृतालाई घरभित्रै किन राखेँछु जस्तो अनुभव गरेको थियो । “हत्तेरी ! समयअघि बुद्धिचाँहि पछि लागेछ हगि अमृता ? तिमीले भनेजस्तो केही गरेको भए पनि त यो भन्दा बढी पैसा पाउने काम भेट्थ्यौ कि ?” अमृताले केही प्रतिक्रिया जनाएकी थिइन, उसकी आमाले उसलाई ओठेजवाफ दिन कहिल्यै सिकाइनन् । एकाध वर्ष जसोतसो गरी बिताएपछि अनुस्का जन्मिहाली, अनि त झन् ऊ त “फूल टाइम् गृहिणी” भइहाली । अमृतालाई यदाकदा आफु नितान्त गृहिणीको सीमित घेराभित्र बाँच्नु परेकोमा ग्लानिको आभास हुने गर्थ्यो, तर ऊ तुरुन्तै संयमित हुने गर्थी । उसका लागि उसकी मृतक आमा आस्था र प्रेरणाको स्रोत मार्गदर्शक सबैथोक थिइन् र उनैले स्वास्नीमान्छेको धर्म भनेको लोग्नेलाई सबैतिरबाट सँधै प्रशन्न राख्ने र आफ्नो गृहस्थी जीवनलाई शान्त र सुखी बनाउने हो भन्ने सिकाएकी थिइन् । समयले कोल्टे फेरे पनि अमृताले कहिल्यै आफ्नो आजको बिस्तारित सीमारेखा के हो भन्ने जान्न खोजिन, बरु आफ्नो धरातल भनेको आमाले सिकाएकै अनुसारको संसार हो भन्ने सपनाभित्रै आफुलाई हराइ । यही नै तुस थियो उसको मनमा ! किन उसले समयमै आफ्नै चिनारी आफ्नै पहिचान राख्न चाहिन?
अहिले अनुस्काले पनि उसलाई त्यसै भन्ने गर्छे— “आमा ! तपाईंको उमेर पनि भयो धेरै दुःख गर्नुभयो अहिलेसम्म ! अब आनन्दसँग बस्नुस् न !” आफ्नी छोरीले मायालु भाकामा दिएको यस्तो अभिव्यक्ति भए पनि अमृतालाई कता कता च्वास्स घोच्ने गर्छ । सतीशले पनि त्यसै भन्थ्यो । एउटा युग बित्दा पनि अमृताको स्थिति जहीँको त्यहीँ थियो— घर गृहस्थी, भात भान्छा, किनमेल र अरू सामाजिक व्यवहार ! सतीश बाँचुञ्जेल ऊ झपक्क गहनाले लादिएकी हुन्थी, शृङ्गारले उसको भौतिक देह धपक्क बलेको हुन्थ्यो।
“आबुई ! भाउज्यूले कसरी मेन्टेन गर्नुभाको ? आफ्नो त…” उसका नन्दहरू जिस्काउने गर्थे । तर त्योभन्दा भित्र अर्थात् अमृताको मनमा के थियो उनीहरू कहिल्यै सोच्दैनथे । सतीश त झन् सँधै थाकेर घर फर्केपछि छेड्ने गर्थ्यो — “आज भुतुक्कै भइयो कामको चटारोले ! तिम्लाई जस्तो आनन्द भए पो हगि अमु ?” “भनेको त हो नि ! मलाई पनि काम सिकाएको भए अहिले म पनि सघाउँथेँ नि !” मनमा धेरै नै बिझेको बेला अमृता यतिसम्म भन्ने गर्थी । हुन त अरूले हेर्दा त केही नगरी यसरी जीवनभर बस्न पाउनु नै सौभाग्य होला, तर अमृताको मन भने सँधै नै आफ्नो अस्तित्व नै नभएको हो कि भन्ने पीडामा हुने गर्थ्यो । तैपनि अमृता आफ्नो आँसुलाई परेलीमै बग्न दिन्नथी— आफ्नी आमाले दिएको संस्कारलाई सम्झेर !
सतीशको मृत्युपछि अमृताको मनको पीडा झन् बल्झेको थियो । “दाइले सात जुनीलाई पुग्ने सम्पति कमाइदिएकै छ, के भो र !” भन्ने नन्दहरूको तीखो प्रहारले उसको मन चिराचिरा पर्थ्यो । उसले सँधै आत्मनिर्भर बन्न चाहेकी थिई, तर उसको संस्कार र समयले पनि उसलाई सतीशकै भर परेर बाँच्नुपर्ने बनाइदियो । अहिले त उमेरले डाँडा काटिसकेको छ, मनमा इच्छा भएर पनि उसमा सामर्थ्य छैन । तर पनि ऊ अनुस्काले सतीशले भनेझैँ— “किन केही गर्नुपर्यो? आनन्दसँग बसे भइहाल्यो नि !” भनेको सुन्न चाहन्नथी।
अमृता हर्नको आवाजले झसङ्ग हुन्छे । कतिबेला पाँच बजिसकेछ ! अनुस्का घरभित्र छिरेकी थिर्र्ई । ऊ यसो उठ्न पाएकी पनि थिइन । “आमा ! म त थकाइले भुतुक्क भएँ” भन्दै ब्याग सोफामा फ्याँकेर ऊ अमृताको काखमा लमतन्न परी । अमृताले त्यसपछि सबैकुरा बिर्सी र छोरीको कपाल मुसार्नथाली ।
“आमालाई जस्तो मज्जा भए पो हगि ?”
अमृताको मुटु हजार सियोले घोचे जस्तो भयो । तैपनि उसले भनी—
“हो छोरी, मेरो भाग्यै त्यस्तो !”

भाद्र १०, २०६६
भिमनिधी मार्ग, काठमाडौं

Biwash Pokhrel – Ban Ki Chari (Nepali Laghu Katha)

विवश पोखरेल – वनकी चरी
(Source: Gorkhapatra/Shanibar)

अदालत परिसरमा गम्भीर मुद्रामा बसेको यिो ऊ । झुस्स दाह्री पालेको उसले घँडामा चिउँडो अडाएको थियो । मलाई देख्नासाथ फिस्स हाँस्यो ऊ, एउटा खल्लो हाँसो । धेरै वर्षपछि भेट भएको थियो ऊसँग मेरो ।

‘अनि आज कताबाट यहाँ ?’ मैले सोधेँ ।

“सानो काम थियो ।” अप्ठयारो मान्दै छोटो उत्तर दियो उसले ।

“हिँडिस्योस् ।” केही छिनपछि एउटी सुन्दर महिला हतारिँदै ऊ नजिक आई । ऊसँगै अर्की एउटी महिला पनि थिई ।

“एकछिन है !’ असहजता अनुभूत गर्दै ऊ महिलहरू सँगसँगै लाग्यो ।

त्यसपछि फेरि अदालतको इजलासभित्र भेट भयो ऊसँग मेरो । सम्भवतः म अदालतमा छु भन्ने उसलाई थाहा थिएन । मलाई देखेपछि ऊ अझ गम्भीर भयो । स्पष्ट देखिन्थ्यो, उसका आँखाहरू रसिएका थियो । डम्म बादल लागेको आकाशझैँ धमिलिएको थियो उसको अनुहार । केहीछिनसम्म उसले मलाई हेर्न सकेन । मेरो अप्रत्यासित उपस्थितिले ऊ अप्ठयारो महसुस गरिरहेको थियो शायद ।

“तपाईंहरू मन्जर हुनुहुन्छ ?” न्यायाधीश सोधिरहेका थिए ।

“हजुर !” महिलाले सहमति जनाई ।

“अनि तपाईं ?” न्यायाधीशको प्रश्न फेरि ऊमाथि तेर्सियो ।

“हजुर ! म पनि सहमत छु ।” जवाफसँगै अझ धमिलियो ऊ र उसले पनि स्वीकृतिको टाउको हल्लायो ।

“ल सही गर्नुस् ।”

थररर कामेका हातले महिलासँगै रायकिताबमा सही गर्‍यो उसले । सही गरिसकेपछि अँध्यारो अनुहारसँगै उसले ट्याप्प मेरो पाखुरा समायो र अघि मैले भेटेकै ठाउँमा लिएर गयो । सम्भवतः सम्हालिने एउटा आड पनि खोजिरहेको थियो ऊ ।

“के हो ? केही बुझ्न सकिनँ ?” असहज र अप्ठ्यारो मान्दै सोधँे उसलाई ।

“वनको चरी वनैमा उडाई दिएर मित्र ! ” प्रतीकात्मक भाषा बोल्यो उसले ।

“अनि ‘डिभोर्स’ नै गर्नुपर्ने स्थिति पर्‍यो ?” मैले फेरि सोधेँ

“हो, उसले त्यही चाहेकी थिई ।” थररर कामिरहेको थियो ऊ । सकि नसकी बोल्यो उसले । बररर आँसु झार्‍यो र दह्रोसँग हात मिलायो र बाटो लाग्यो ।

अर्को कारूणिक दृश्यले अझ मर्माहत बनायो मलाई । “बाई पापा !” यो दुःखद घटनासँग अनभिज्ञ एउटा सानो फुच्चे आमाले समाएको हात फुस्काएर फर्कीफर्की उसलाई हेर्दै हात हल्लाइरहेको थियो ।

Deepak Jadit – Rogi Gham

दीपक जडित – रोगी घाम

कत्रो मुर्खता! कत्ति न बिधी माया गर्छे मलाई भनेर मख्ख परेको रहेछु म । आज सम्झन्छु, कता कता सपनामा पो भेट भएको थियो कि अथवा कथामा पो पढेको थिएँ कि जस्तो लाग्छ । साँच्चै मान्छे त मैले माया पाएको छु भन्ने भ्रम पालेर पो बाँच्दो रहेछ । अझ मैले माया गरेको छु भन्ने भ्रम फैलाउन त झन खप्पिस हुँदो रहेछ ।

आज बुझ्दा मान्छेले माया पाएको अनि माया दिएको त मैले कहिँ पनि देखिंन, आफ्नै जिन्दगीमा पनि ।

एकदिन, एकझर दर्के पानी परेर आकाश सफा भएको थियो । साँझको बेला पहेँलो घाम टिलिली लागेर रमाईलो पारेको वातावरणमा असारे फूलको फूलैसँग लत्रेको हाँगो सम्हालेर तह लाउँदैथिई उ । उसको खुट्टाभरी माथी पिँडौलादेखि नै पहिले पानीले निथ्रुक्क भिजेका असारे फूलहरु पोखिएका थिए अनि त्यसमाथी पहेँलो घाम पोतिएको थियो । मैले उसको खुट्टाहरुमा मन लठ्ठै पार्ने तर मेसो नबुझिने कुनै अमुर्त चित्रकारी देखें र ट्याप्पै समातेर चुमिदिएं उसको खुट्टा । उ छक्क परेर मलाई हेर्न थाली । वाक्यमा उसले चुँ! सम्म उच्चारण गर्न सकिन तर आँखाले मसँग यतिविघ्न बातमारे जस्तो गरी कि, केके भनी केके; मैले परि लाउंनै सकिंन । अनि मैले नै भनिदिएँ, ‘तेरो यो घिनलाग्दो खुट्टाभरी यसरी नै फूलहरु सजिईरहुन् अनि म सँधैं चुम्न पाईरहुँ ।’

उ अझै अवाक् उभिएर मलाई हेरिरहेकि थिई । उसको मुहारभरी पनि पहेँलो घाम छताछुल्लपोतिएको थियो र उसलाई सुवर्णको प्रतिमाझैं टलक्क पारेको थियो । न उसका आँखाका पुतलीहरु नै चले, न उ नै चल्मलाई । यहाँसम्म कि ठिक त्यतिबेला उसको कपालको यौटा केशसम्म पनि हल्लाईदिन त्यहाँ बतास धरी आईदिएन ।

त्यसबेलासम्म उसले मलाई कम से कम मुस्कानले स्वागत गर्नुपर्थ्यो । तर अहँ, उ त प्रस्तर मुर्तिझैं ठिङ्ग उभिई मात्र । मान्छेहरुलाई कसरी जङ्ग चल्छ कुन्नि मलाई भने त्यसबेलासम्म जङ्ग चलिसकेको थियो । यो आदत मलाई सँधैभरी बिझाईरहन्छ । यस्तोबेलामा म केहि न केहि बिगार गरिहाल्छु । मैले नजिकै भएको गमलालाई कस्सेर लात्तले हानिदिएँ । उ नराम्रो गरी झस्की । उसको मुहारमा यौटा गमला फुटेर जानुको पीडा भरिएर आयो र पोखिएर गयो पनि । रुन्चे आँखाले मलाई हेरेर उसले बल्ल भनि, ‘ नाईँ के, तपाईं त जहिले पनि यस्तै गर्नुहुन्छ ।’
उ गमलानेर आई । फुटेर छरिएको गमलालाई छोई र उठेर भनि,’ धन्न! यस्मा भएको फूल अर्को गमलामा पनि छ ।’

यसो भनेर उ मैले गरेको गल्तिलाई गल्ति नै हैन भने झैं पार्न खोजिरहेकि थिई । मलाई थाहा थियो जति चित्त दुखेपनि उ मेरो गल्ति प्रति चित्त नदुखेजस्तो ब्यावहार गर्थी । उ मेरो छेवैमा आई र काननेर मधुरो बोली, ‘चिसो पानी ल्याईदिउँ?’

म राम्रै सेलाईसकेको थिएँ । मलाई लाज लागीसकेको थियो । भर्खरै गरेको उपध्रो पचाउने बहानामा मैले थेतरिँदै भनें, ‘अहँ मलाई त मोई चाहिन्छ ।’

‘मोई?’ झट्ट म तिर नजर फर्काएर सोधी उसले ।

मैले चोर औंलाले उसको दुबै ओठहरुलाई छोएर त्यहि औंला चुम्दै भनें, ‘अँ मोई ।’

उसले मेरो अघिल्लो चाल बुझि सायद स-साना फूलिरहेका तिउरी फूलहरु फट्किएर नाघ्दै फूलबारीको पल्लो छेउमा पुगेर भनि, ‘मोई त भा’पो । आज पारेकै थे’न ।’

यसरी बित्थे हाम्रा रमाईला दिनहरु । कैले नदि जस्तै सलल बग्थ्यो त कैले बगर जस्तै स्थिर पनि रहन्थ्यो । म आफ्नै मनको क्यानभासमा कल्पनाको कुचि चलाएर बिभिन्न रंगहरुले आफ्नै भविश्यको चित्र कोरिबस्थें । साँच्चै पनि चित्रहरु कोर्दा म आफ्नै भविश्यको दिनहरुको कथा कोर्न खोज्थें । चित्रमा म आफुलाई मनपर्ने पँहेलो रंगलाई सकेसम्म सामेल गराउन खोज्थें र त्यसले जहिले पनि मेरो भविश्यको चित्रलाई रोगी बनाईदिएझैं लाग्थ्यो ।

अर्कोदिन म आफुले बनाएको यौटा चित्र लिएर उसलाई देखाउन गएँ । चित्रमा सानो यौटा पराले झुपडी, आँगनको कुनामा यौटी नारी भाँडा माझीरहेकि, उसका वरिपरी तीनवटा भाल्टाङ भुल्टुङ कोहि खेल्दै गरेका, कोहि रुँदै गरेका र आँगनको अर्को छेउमा यौटा पुरुष भैंसीको पाडो तान्दै गरेको देखिन्थ्यो । पक्का नेपाली गाउँको कुनै घर परिवारको सजीव चित्रण गर्ने सक्दो मेहनत गरेको त्यो चित्र उसलाई देखाउँदै मैले भनेको थिएँ, ‘ल हेर हाम्रो भविश्यको चित्र ।’

मेरो चित्र हेरेर उसले हाँस्दै प्रश्न गरेकि थिई, ‘बस् यस्तै? के हामी यो भन्दा माथी जाँदैनौ?’

प्रत्युत्तरमा मैले भनेको थिएँ। ‘यो वातावरणको सुख हेर न, यहाँ भन्दा माथी गएपछि यो सुख कहाँ रहन्छ?’

‘लु भयो यस्तो संसार तपाईंको कल्पनामा मात्र हुन्छ मेरो कल्पनामा यो भन्दा अर्कै हुन्छ ।’ त्यसदिन उसको फुर्सद नभएर वहस अगाडी बढेन । तर उसको कल्पनामा सँधै भौतिक सुबिधाले सम्पन्न भविश्यको चित्र हुन्थ्यो भने मेरो कल्पनाले सँधै सुबिधालाई भन्दा सुखलाई जोड दिन्थ्यो । भौतिक सुबिधा प्राप्त गर्नु नै सुख हो भन्ने उसको गलत धारणालाई मैले सच्याउन बाँकी थियो । त्यो बाँकि नै रहयो ।

मलाई दिनहुँ उसँग नभेटि हुदैनथियो । प्रायजसो म साँझतिर नै उसलाई भेट्न जान्थें । खाडीको पिपलको रुख, गाउँ नजिकैको चउर र खोला किनारको समिको फेद ईत्यादि हाम्रा खास खास ठाउँहरु थिए साँझमा टहल्ने । उमेरले म भन्दा केहि सानी उ शारिरिक बनावटले अझै सानी थिई । उसको कोमल मन र छरितो सानो शरिरमा प्रसस्तै संयम र साहस थियो ।

एकोहोरो सान्निध्यताले हाम्रो माया साँच्चै हो को भ्रम सम्म आईपुगेछ । अहिले हेर्दा त्यो भ्रम रहेछ भन्ने ज्ञान छ म भित्र तर उ बेला मेरो लागी पनि यथार्थ थियो । त्यहि भ्रमले हामीलाई एकाकार बनायो । भ्रमले नै हामी माझ समझदारी र सामाञ्जस्यता स्थापना गरायो । तब हामीले केहि कुरामा टाउको दुखाईरहनु पर्ने भएन र केहि कुरामा नदुखेको टाउको पनि दुखाउनु पर्ने भयो । हामीले आ-आफ्नो मनबाट आपसमा नमिलेका केहि रहरहरु च्यातेर मिल्कायौं अनि आपसमा मिलेका थप केहि रहरहरु सजायौं ।

हामी क्रमश दुबैलाई मनपर्ने रंगहरु घोलेर भविश्यको साझा चित्र तन्मयताका साथ कोर्न थाल्यौं ।

अर्को एकदिन, साँझकै बेला उ आँगनमा बसेर सब्जीको लागी फर्सीको मुन्टा केलाउँदैथिई । मैले देखेँ उसको सारा शरिरलाई पँहेलो घामले अँगालो हालेको थियो । पँहेलो म्याक्सी भित्रबाट निस्किएको उसको खिरिलो पाखुरा, दुब्लाएको जस्तै देखिने उसको अनुहार, अलिकति देखिएको उसको छातिको माथिल्लो भागको हाड सबैमा पँहेलो घाम पोतिएर उसलाई रोगी जस्तै देखेँ मैले ।

दृष्टि फेर्नलाई मैले आँगन वरिपरी नजर दौडाएँ । रबरको विरुवा, अशोकको सुरिलो बोट, घण्टी फूलको बुट्टा, आँगनवरिपरी फुलिरहेका अरु साना फूलहरु सबैकुराहरु एकनाससँग पँहेलो घामले लिपिएका थिए र सबै सबै नै रोगी देखिएका थिए । मैले फेरी उसलाई हेरेँ । उ झनै रोगी देखिई ।

एकाएक मलाई त्यो बातावरणको पँहेलोपना बिझाउन थाल्यो । बिझाउनु मात्र हैन सबै सबै पँहेलो देखेर मलाई बान्ता हुन लागेझैं भाउन्न छुट्यो । मेरो मुखबाट अचानक निस्किएछ, ‘छि! आज कस्तो रोगी घाम लागेको ।’

‘किन नि, तपाईंलाई त यस्तै पँहेलो घाम मनपर्थ्यो त?’ आश्चर्यमा परेर उसले भनी ।

‘हो हुनत, तर खै किन आज सबै कुरा यो पँहेलो घामले रोगी देख्दैछु । तँलाई पनि ।’ मैले मनमनै भनेँ, ‘बरु तँ भित्रै बसेर तरकारी केला न ।’

प्रकटमा म केहिपनि बोलिँन । उ त्यहि रोगी घाममा बसेर फर्सीको मुन्टा केलाउन तल्लिन थिई । म भने पुरै वातावरणलाई र उसलाई झनझन रोगी देख्दैथिएँ ।

निक्कै लामो तिथीमिती पचाईसक्यो समयले । आज समय लगायत धेरै कुराहरुले मलाई पछि छोडेको छ । मेरी उसले पनि मलाई छोडेर गैसकी तर यो रोगी घामले भने मलाई अझै छोडेको छैन । अझैसम्म लखेटिरहेको छ यो रोगी घामले मलाई ।

म भागीरहेँ यो रोगीघाम देखि । अझै भागीरहेकै रहेछु । आज सोच्दैछु म किन ब्यर्थै तर्सेर भागीरहेछु यो पँहेलो रोगी घामदेखि ? म नभागे के हुन्छ? पहिले पहिले मलाई साँझको पँहेलो घाम साह्रै प्रिय लाग्थ्यो । एक्कासी किन म पँहेलो घामलाई रोगी देख्न थालेँ ? के भ्रम हो यि दुईवटामा ? पहिले पहिले पँहेलो घाम प्रिय लाग्नु भ्रम हो कि? पँहेलो घामलाई रोगी देख्नु भ्रम हो ? म सोचाईहरुको भूमरीमा पस्न थालेँ । यस्तो पनि लाग्यो कि म यो रोगी घामदेखि भागेरै त आजसम्म आएको छु नत्र उहिल्यै मलाई यो रोगी घामले उम्कनै नसक्ने गरेर अँठ्याउंने थियो ।

हैन त्यस्तो नहुन पनि त सक्छ । मैले साँझको घामसँग आमनेसामने भएर भलाकुशारी गर्न थालेँ भने त्यो घामलाई म रोगी नदेख्न पनि त सक्छु । त्यहि पँहेलो घाम मलाई फेरी प्रिय लाग्न पनि त सक्छ । ओच्छ्यानमा पल्टिएको थिएँ म । पल्टि पल्टि मैले आफ्नो गाला मुसारें । हात पाखुरा छामें । लाग्यो म रोगी घामदेखि भागेको भाग्यै पो बरु रोगी भएँ कि? अवश्यै म उबेला फर्सीको मुन्टा केलाउँदै गरेकि उ जस्तै रोगी देखिएको छु होला । आजभोली सबैले मलाई दुब्लाएर झिट्टी भैसकिस भनेर दया पोख्छन् । मलाई आफ्नो अनुहार ऐनामा हेर्न मन भयो । आज यो कोठामा ऐना छैन । ऐनाको आवश्यकता नरहेपछि यो कोठाको ऐना हटाईसकिएको छ । मलाई उठेर ऐनासम्म पुग्ने जाँगर आएन तर सम्झिएँ कि यौटा सानो ऐना टेबल मुन्तिरको सन्दुकमा उसको सामानहरुसँग छ । सुतिसुति अलि लम्किएर मैले सन्दुकबाट ऐना निकालेँ । ऐनासँग यौटा सानो फोटो अल्बम पनि बाहिर निस्कियो । त्यसमा सबै उसका तस्विरहरु छन भन्ने थाहा थियो । सबै तस्विरहरु मैले पहिले सयौं पल्ट हेरेको पनि छु फेरिपनि मलाई ऐना हैन फोटो अल्बम नै हेर्न मन लाग्यो । पल्टाएँ उसको पहिलो तस्विरमा उसले मलाई छोडीसकेपछिको कुनैदिन मैले आफैंले लेखेको रहेछु ।

तँ छैनस् अब एक स्थलमा सर्वत्र ब्याप्त छेस्
देख्न दिमागमा र छुन दिलमा प्रयाप्त छेस् ।

अझै पनि दुख्छु म उ छैन भन्ने कुराले । यो दुई लाईन कविता लेख्दा कति दुख्दै लेखेँ होला ? त्यत्रो दुख्दा पनि उसलाई मैले यहि दिलमा छामेर सञ्चो भएँ कि ? फेरी दिलमा छामेर हेरेँ र सोचें कसरी आयो खै त्यत्रो ठुलो वियोगमा यत्रो आत्मज्ञान ? मलाई अल्बमको थप पाना पल्टाउन मन भएन । ऐना र अल्बम छोडेर म बाहिर निस्किएँ । उसैगरी आज पनि साँझ नै थियो । उसैगरी आजपनि पँहेलो घाम नै सर्वत्र पोखिएको थियो । मलाई यो घामलाई रोगी भन्न मन लागेन र यो पँहेलो घाम त्यति प्रिय पनि लागेन । यो पँहेलो घाम पहिले प्रिय लाग्नु त्यसपछि रोगी देख्नु सबै भ्रम रहेछन्, सबै सत्य रहेछन् । पहिले उ हुनु र अहिले उ नहुनु पनि भ्रम र सत्य दुबैकुरा रहेछन् । केहि पनि सत्य होईन रहेछ । केहि पनि भ्रम होइन रहेछ । मलाई आफु बराबरी सत्य र बराबरी भ्रमको माझमा उभिएको महसुस भयो र त्यहि माझैमाझ बरु सजिलो हिँड्ने बाटो भेटेको महसुस भयो ।

सबै प्रकारका कुलतहरुबाट टाढा बसेको थिएँ म तर आज मेरो खल्तिबाट मेरै हातहरुले चुरोट झिकेर ओठलाई च्याप्न अह्राए र सलाई कोरेर सल्काईदिए । म रोगी घामसँग अब देखि भाग्दिंन भन्ने अठोट गर्दै पँहेलो घाम अनुहारमा पारेर चुरोट फुक्न थालेँ बेफिक्री ।

Rajesh Natansh – Jeeawan Ka Goretoharu Rahechha

राजेश नतांश – जीवनका गोरेटोहरू रहेछ

साँच्चै जिन्दगीका हरेकपलहरू कष्टप्रद हुँदारहेछन् । जीवनपथका हरेक खुड्किलाहरू अप्ठ्यारा हुँदारहेछन् । हिँड्न नजान्दा लखराएर लडिदो रहेछ । लडेर के हुन्छ ? त्यो त परिस्थितिले नै बताउँदो रहेछ जीवनका मोडहरूमा ।त्यतिखेरका मेरा सुनौला दिनहरू निकै रोमाञ्चकारी भएर बित्ने गर्दथे । अथवा भनौं ती दिनहरू मेरो स्मृतिपटलमा अझैसम्म ताजै छन् । प्रवेशिका परीक्षामा पास भएकैले होला मनमा हर्षका रंगीन बुट्टाहरू पलाउँदै गरेका थिए । नयाँ जोश, जाँगर अनि हर्षा साथ क्याम्पस भर्ना भएको थिएँ । सानैदेखि मेरो धोको व्यवस्थापन विषय लिएर पढ्ने थियो र सोही अनुरूप अध्ययनमा तल्लीन भएँ । नौलो उमंग अनि हर्षहरू मनमा उम्रेका थिए । नयाँ-नयाँ साथीहरूसँग चिनजानले गर्दाका हरेकपलहरू अविस्मरणीय भएर बाँचेका थिए मेरा मनमा । ‘कृतिका’सँगको परिचयपश्चात त झन् यो संसार साँच्चै रौनकमय भएको थियो । यी बादलहरू अनि हावाका झोंकाहरू मेरो खुशीमा समाहित भएर रोमाञ्चित बनाएको भान हुन्थ्यो मलाई त्यतिखेर । यसलाई मैले जीवनको नौलो अनुभूतिको रूपमा ग्रहण गरेको थिएँ ।

साँच्चै कृतिका निकै लजालु तथा मिजासिली थिई अनि सहयोगी पनि । उनको सुन्दरताको वर्णन गर्नका लागि उपयुक्त शब्दावलीहरू भेट्न मुश्किल पर्दथ्यो मलाई । एक निमेषको हेराईले नै म लठ्ठ परेको थिएँ वा भनौं एकै नजरको त्यो हेराईले नै म आफैंमा हराउन पुगेको थिएँ । यसअघि मैले त्यस्तो अनुभुति कहिल्यै गरेको थिइनँ । उनीसँग कसरी परिचय गर्ने – मेरो लागि निकै ठूलो चुनौती थियो । आफ्नो कक्षा कहाँ छ ? भनेर अल्मलिएकी उनीलाई कक्षा देखाउनु मेरो परिचयको बहाना बन्यो । मानौँ, त्यसदिनदेखि हाम्रो मित्रताको आँकुरा लागेको थियो ।

कतिखेर हाम्रो मित्रता प्रेममा परिणत भयो हामीले थाहा पाएनौं भनौं हामीलाई प्रेमस्तावको कुनै आवश्यकता परेन । आखिर दुई मनहरूको मिलन भएपछि के नै चाहिन्छ र ? हामी एकअर्कामा समाहित भएका थियौं । एकदिन नदेख्दा पनि यी नजरहरू बैचैन हुने गर्दथे । विना समय परेको निष्ठुरी झरीझैं उराठलाग्दो हुन्थ्थे पलहरू ।

अहिले म जिन्दगीलाई नजिकबाट नियालिरहेको छु र सोचिरहेको छु कसरी मेरो जीवन यति निस्सारलाग्दा विरासिला भए ? सायद मेरो व्यवहारले मलाई यति निराश बनाएको छ । यो अरबको मरूभूमिमय खाँडीको जिन्दगी ४५ डिग्री तापक्रममा भत्भती पाकेको जिन्दगी । मेरा पौरखी हात निर्जीवजस्ता भइसकेका छन् यतिखेर । न समयमा खान पाइन्छ न त सुत्न नै । यस्तो निस्सारपूर्ण मेरो जिन्दगीप्रति अहिले आफैँलाई घीन लागेर आएको छ । हामी युवाहरूले गरेका यतिका मेहनतहरू आफ्नै जन्मथलो नेपालमा गर्न सकेको भए कति विकसित हुन्थ्यो हाम्रो नेपाल । कति भौतिक संरचनाहरू निर्माण गर्थे होलान् यी पौरखी हातहरूले । आज निकै प्रायश्चित गर्दैछु मैले चालेका पाइलाहरूको । यहाँ प्रत्येक निमूखा अनुहारका आ-आफ्नै कथाव्यथा छन् जसलाई सुन्नुबाहेक अरू विकल्प छैन ।

साँच्चै आमा विमारी नभएको भएँ म यसरी यो खाँडीमय संसारमा भासिने थिइन होला । नचाहँदानचाहँदै यिनीहरूको शोषणमा पर्ने थिइन होला । भर्खर १२ कक्षामा पढ्दै गरेको थिएँ म । फुर्सदका समयमा घर खर्च र्टार्न सानातिना कामहरू गर्दै थिए । कृतिका र मैले कति सपनाहरू सजाएका थियौँ । हामी दुई मिली सजाएका कल्पित सपनाहरू मिलेर पूरा गर्नु थियो हामीले । अचानक आमा काम गर्न नसकेर थला परेको दिन ममा ठूलो बज्रपात नै भयो । छदाखाँदाको पढाई, जागिर अनि अधुरा सपनाहरूलाई ताल्चा लगाउँदै श्रमका लागि भौतारिनु पर्यो मैले । ममा ठूलो जिम्मेबारी थोपरिएको थियो । जसरी भएपनि मेरा आश्रति परिवारका लागि साहारा बन्नुपर्ने पर्ने थियो । मेरा इच्छा, चाहना अनि आवश्यकताहरूलाई पाखा लगाउँदै परिवारको गर्जो टार्नका लागि खाडीको तातो हावा खान पीडादायी कुण्डमा होमिनुपरेको थियो ।

हिजो मात्र घरबाट टेलिफोन आएको थियो । आमा अचानक स्वर्गेबास हुनुभएछ । त्यो खबरले ममा वेचैनको सुनामी नै ल्यायो । पैसा कमाएर आमाको उपचार गरौँला, यहाँ आउँदा लिएका ऋणहरू चुक्ता गरौंला अनि आरामसँग नेपालमै बसी पौरख गरौँला भन्ने मेरा सपनाहरू सबै चकनाचुर भए । घण्टौंसम्म रोएँ म । त्यसरी रूनुको कुनै अर्थ थिएन । आखिर रोएर आमा फर्किने पनि त हैन । भावनाहीन र संवेदनाहीन विरानो सहरमा रूनुको कुनै अर्थ थिएन । यहाँ आँसुको कुनै मूल्य थिएन । आफूले आफैँलाई सम्हालेँ । अनायासै मैले परिस्थितिसँग सम्झौता गर्नुपर्यो ।

अहिले बहिनी घरमा एक्लै छे । विचरीलाई कति पीडा परेको होला यतिखेर । एक्लै भए भन्दै होली । अनि मेरी प्राणप्यारी यतिखेर मेरै प्रतिक्षामा दिन गन्दै होलिन् । मेरो सम्पूर्ण समवेदनाहरूलाई आफ्नै ठानी बिचरी मेरी कृतिकाले र मेरो घरको सम्पूर्ण व्यवहार थामिदिएकी छिन् । प्रिया, तिम्रो ‘विलम्ब’ चाँडै आउँदैछ तिमीलाई बादलपारिको देशबाट भेट्नलाई । अनायास मेरा ओठबाट यी शब्दहरू निस्कन्छन् ।