Bhaupanthi – Yatra Jangal Bhitra Bhitrai

भाउपन्थी – यात्रा जंगलभित्रभित्रै
(नेपाल साप्ताहिक)

खोला पनि त्यस्तै न छन्, बगुवा बालुवाको, जति चलमलायो उतिउति भासिँदै जाने। थामिने पीँध त कता हो कता! म एकपटक त्यस्तोमा फसेको छु। कसोकसो गरेर निस्कन सफल भएँ। त्यो कुन खोलो थियो, तै नाम बिर्सेछु। तर होइन, त्यै स्याली त हो। राजमार्गभन्दा उत्तरपट्टि। त्यो बेला र यो बेला। स्यालीमा बर्खाको पानी घटेको थियो र पनि पानीको भित्री बेग अझै कायमै थियो। बर्खा बितेको थिएन। माथि आकाशमा बर्सिन तरखराइरहेका घना कालाकाला बादल खापैखाप थिए। खोला पनि भर्खर स्खलित उन्मत्तता सेलाएझैं शिथिल थियो। बालुवा पनि पानीको प्रवाहसँगै त्यस्तैत्यस्तै ढिस्काढिस्कामा रूपायित हुँदै अनेक तरेलीतरेलीमा परिणत भइरहेको थियो। म साइकलमा थिएँ। त्यता साइकलमा भुली गाउँतिरको ट्रिप लगाएर आइरहेको। भन्नु छैन, झन्डै साइकलसहित म त्यो बगुवा बालुवामा धसिएर जलसमाधि लिन नपुगेको। साइकल त गायबै भएको झन्डैझन्डै। जसरीतसरी न्वारनको बल लगाएर थुतेँ त्यसलाई र किनारमा ल्याएर त्यसलाई पनि पछारेँ खोलाको रसि पोख्नलाई र आफू पनि लखतरान चिसो जीउ बर्खाले पिटेको बगरमाथि पसारिएँ।

गाउँ जसलाई म बिर्सन सक्दिनँ र अझै पनि भित्रबाट चिच्याएर डाक्छ, ए आइज न गाउँमा! तर, अब गाउँ छ तर जंगल छैन, अतिक्रमित छ, सखाप छ। मन्त्रीदेखि वन माफियाहरूले क्लिन सेभ गरेका छन् जिल्लाको वन। वन हराएपछि स्रोतहीन खोला पनि बूढा भए, सुक्खासुक्खा उदासउदास बग्छन्। गाउँको सम्झना त आइरहन्छ परदेश लागेको तन्नेरी लोग्नेको यादझैं।

विश्वका समुद्र, पहाड, वनजंगल र आकाश सबैसबै नाप्नु जरुरी छ पैदलै,यस्तो म अझै पनि ठान्छु। त्यही यायावरीय भोक मेट्न म कहिले ट्रेकिङ् गर्थें, चुरेको डाँडाको टुप्पामा बसेको मलासतिर भने कहिले पुग्थेँ जोगबुडासम्म। पहिलेपहिले कहिले हो कहिले खुइलिएर गएको जुगमा जब मान्छे हिँडेरै पुग्थ्यो एक ठाउँदेखि अर्को गन्तव्य। चुरेको थाप्लामा ती बूढाहरूका पाइलाका डाम पहिल्याउँदै र डाँडाकाँडाको एकतमासको भित्री आत्माको सुसेली सुन्दै।

अहिलेको यात्रा हामी, हामी भन्नाले म र अमर, रिछा बजारसम्म पैदलै गइरहेका छौँ। रिछा बजार यो नाम थारू भाषाको हो। म यसको निरुक्ति गर्न सक्तिनँ। बजार कुन हो, त्यो म भनुँला।

त्यो समय गजबको थियो। २०/२५ वर्षअघि मात्र पनिनिर्भय हिँड्नुको आनन्द थियो। साथमा यात्राको डगर (बाटो)को खाका थियो। सिसैयातिरबाट नगएर हामी यता उल्टाखामबाट छिरेका थियौँपैदल। ट्रेकिङ्जस्तो। ट्रेकिङ् नभनूँ। ट्रेकिङ् भन्यो कि मलाई पहाडका गोरेटा, छहरा, खोचखोल्सा आदि भएको वातावरण नै हो भन्ने लाग्छ।

बागफाँटा, उल्टाखामउता चौँधरपारदिेखि जंगल सुरु हुन्थ्यो, चारकोसे। अब त त्यो चारकोसे स्मृतिमाकुँदिएको एउटा नाममा सीमित छ। जंगलहरू विस्तारै किरयिापुत्रीको खौरिएको कपालझैं स्वाहा भइरहेका छन्। हजामको धारलिो उस्तुरा लागेको टाउकोबाट झरेका रौँझैं जंगल कतिबेला हो, निमिट्यान्न भइसकेका छन्यसबेला।

अमर माने अमर डगौरा ! डगौरा थारू। मेरो साथी, सहपाठी। ऊ मलाई लिन आएको छ। ऊ भनिरहेछ, यता बसबाट कलुवापुर-बन्सा हुँदै जाऔँ। बीचमा अरू गाउँ पनि अचेल गजमोरिएका छन्। तिनको उल्लेख यहाँ साध्य हुँदैन तर मलाई सकसक लागिरहेछ कि कममा पनि एउटा यात्रा यतैबाट बनोस्, जंगलैजंगल। उसले कति भन्दा पनि मैले मानेको थिइनँ। अमरले हार खाएर भन्यो, “लौ त, जे भन्छस्।” अब त अमर पनि बूढो भइसक्यो। तर, उसको र मेरो आत्मीयता टुटेको छैन। यो तय भयो, बिहान खाईवरी निस्कने रिछाका लागि। रिछाभन्दा उता लक्ष्मीपुरमा छ अमरको घर। यसबेला जंगलभित्र कुहिरोले डम्म ढाकेको हुन्छ र मान्छेहरूको आउजाउ पनि शून्यप्रायः हुन्छ। त्यस्तोमा एउटा डर पनि हुन्छ कि कतै बाघले हमला नगरोस्। अमरलाई यही डर छ। तर, म मान्दिनँ किनभने मलाई लाग्थ्यो कि अमर साथमा छ भने म बाघको मुखबाट पनि उम्कन सक्छु। मतलब अमर बाघसित लडेर भए पनि मलाई बचाउनेछ। ऊ टार्जन होइन तर टार्जनको वंशज लाग्थ्यो। मैले बाघसित लड्ने अमरको के हुने हो, त्यता सोच्दिनथेँ।

अमरले एकपटक मलाई तर्साउन पनि भन्यो, “त्यो झाडीमा अस्ति भर्खर एक जना मान्छेलाई बाघले खाएको हो। माँ कसम !” मैले भनेँ, “छोड्दे यार, नतर्सा। बाघ मूलाले के नै पो गर्ला र?”

जंगलको एउटा दुर्निवार आकर्षण हुन्छ। मतलब घना जंगल त्यो पनि सालका रूखैरूख। एकपछि अर्को रूखले टम्म भरिएको जंगलभित्र पसेपछि र बीचमा त्यसका जराहरूमाथिबाट नै पनि जाने गाडाको लिकमा वा गोरेटामा हिँड्हिँड्दै अर्कोपट्टि निस्कने आनन्द र रोमाञ्च अर्कै हुन्छ। हुन्छ होइन हुन्थ्यो किनभने मैले यात्रा गरेको त्यो जंगल अब छैन, बूढाको थोते मुख भएको छ त्यो भाग।

अगाडि चौँधर थियो। यसको बगरबगरमा तरकारी खेती गर्ने चलन सुरु भइसकेको थिएन।

चौँधर तरेपछि हामीले सोझै त्यही बाटो समात्यौँ, जुन जंगलभित्र आलस्य लाग्दो गरी छिरेको थियो र त्यसमाथि हामी हिँड्दै थियौँ अनामन्त्रितझैं। बाटो यति मौन थियो मानौँ व्यथित भएर भनिरहेको थियो, “फर्कफर्क। यो अज्ञाततिर कता जान्छौ?” “अरे यार यसमा के छ र, जंगल त हो! जाडोको जंगल !” मैले आफैंलाई सम्बोधन गरेँ। मनमा कताकता भयको आशंका पुत्ताउन थालेको थियो। तर, भित्र एउटा रमाइलो अनुभूति पनि भइरहेको थियो कि आखिर म जंगलको बाटैबाटो यात्रा गररिहेछु। “साला पागल होस् तँ !” अमरले भित्रको डर व्यक्त गर्न फुसफुसाएर भन्यो।

जंगलको सान्निध्यमा मन रमाइरहेको पनि थियो। डर मात्र यस कारणले थियो, जाडोको क्षीण उज्यालो छिर्न सकेको थिएन। अलि पर अँध्यारोअँध्यारो लाग्थ्यो। एउटै चरो पनि बोलिरहेको छैन। यसभित्र हरनि र ढेँडु बाँदर देखिन्थे। आज अझै जागेका छैनन् कि ती अन्यत्र कतै चर्न गइसके ! सुनसान लागिरहेछ। जंगलको भयोत्पादक प्रभाव। जंगल मत्त थियो। समय यही हो, जंगल मात्ने। गर्मीमा त यो पात झरेर नांगै भएको हुन्छ। हपक्क पोल्ने पनि भएको हुन्छ। गर्मीमा पनि जंगलको तमथतमाइलो सौन्दय हुन्छ। सुकेका सुनौला पात भुइँभरि ओच्छिएका हुन्छन्। तर, त्यस्तोमा यात्रा खासै सम्भव हुँदैन। यात्रा त अहिले पनि त्यतिविधि आनन्ददायी छैन। तर, म खुसी छु कि जंगल छिचोलेर हामी अघि बढिरहेछौँ र बाटो हामीभन्दा अघि लागेर हामीलाई गन्तव्यतिर डोर्‍याइरहेछ।

“अर्कोपटक हामी, बुझिस् ऊ उताको चुरेतिर जाने।” मैले उत्तरतिर हातले इसारा गरेर भनेँ। मलाई यो सेरोफेरो जम्मैको तिर्खा छ। म एकएक पाइला हिँडेर यस ठाउँलाई नाप्न चाहन्छु। पैदलैपैदल। म यो ठाउँको एकएक खोलानाला, रूखपात, ढिस्का, गाउँगोरेटा र घरछाप्राका मान्छे एकएकलाई चिन्न चाहन्छु। म पिउन चाहन्छु, यसैको गन्धलाई, यही साल वनको सुसाइलाई आफूभित्र भर्न चाहन्छु, मीठो गीतझैं। उसै पनि पैतलामा चक्र छन् र मभित्र डुलुवा पसेको छ, यस्तो लाग्छ मलाई। पैतालाका चक्रले नै बेलाबेलामा जंगलजंगल गाउँगाउँ हिँडाइरहन्छ।

यात्राको पहिलो चरणमा हामी इमलिया पुग्यौँ। गाउँ जागिसकेको थियो। इमलियामा अमरका काका थिए। उनकामा पसेर हामीले बिहानै भए पनि दुईचार खोरी (दुनो) जाँड खायौँ। चमेना त्यही हुन्थ्यो। पहिले भएको भए सिमठारी चामलको जमोठ भातको डल्लो भुङ्रोमा पोलेर खाइन्थ्यो। तर, त्यो जातको धान अचेल लुप्त भइसकेको छ। कति जातका धान विलुप्त भइसकेकुन्नि? त्यसको सम्झना छैन। अर्को एउटा गुर्रा थरीको धान थियो, जसको बास्ना अति नै मीठो हुन्थ्यो। त्यो धान पनि हरायो। मानवसभ्यताको यात्रामा त्यस्तात्यस्ता धानका जात कति हराए, हराए। इजिप्टको तुतनखामनको चिहानमा कतै ती धानका बीउ भेटिएलान्? कसले भन्न सक्छ कुन सभ्यता कुनसित गाँसिएको छ? तर, नागर सभ्यताको विकास र परविर्तनमा यस्ता धान र चामलका कुरा कसैले वास्ता गर्दो रहेनछ। पैसा कमाउन पाए पुग्छ। हामी प्रविधि महासभ्यताको यात्रामा छौँ तर पनि यस महासभ्यताको पीँधमा मेरो त्यो जंगल यात्रा अझै आलैताजै छ। म बाँचुन्जेल कुनै पनि प्रविधिले यसलाई विस्मृत गराउन सक्दैन।

इमलिया जागिसकेको छ। त्यहाँ गाउँले घरअगाडि वा ओसारोमा पातपत्कर, झिंजादाउरा बटुलेर ठूलै मूढो जोतेर आगो तापिरहेछन्। गाउँलेहरूको जीउमा मैलो धुस्सा वा एकसरो बर्को छ वा त्यो पनि छैन। फाटेको मयलले कालो पल्टिएको स्यान्डो गन्जी छ र एउटा कच्छा। जीउमा ध्व्ााँसोको गन्ध छ। हामी पनि एकछिन त्यहीँ घुस्रेर हात र जीउ सेक्छौँ र अघि बढ्छौँ। एकातिर ओसारोको ढिकीमा धान कुटेको जीवन्त स्वर पनि सुनिएको छ। आज सखारै धान कुटिएनछ होला। कुटेको धान निफनेको पट्याँसपट्याँस पनि सँगसँगै भोक जगाउने गरी आइरहेछ।

गाउँ यस किसिमले जागेको छ कि माउ कुखुराका वरपिरि चल्लाहरू चिर्बिराउँदै चारो टिपिरहेका छन् र चनाखो माउ आमाको दायित्व निर्वाह गरेझैं क्वाँटक्वाँट गर्दै वरपिरि आसन्न आक्रमणको खतराबाट सन्तानलाई जोगाउन घाँटी ठाडो पार्दै यताउति टाउको घुमाएर हेररिहेकी छ। गाईगोरुहरू अझै फुकाइएका छैनन् तर स्कुल जानेहरू अलि सलबलाएजस्तो छ। डुल्न निस्केको मात्र थिएँ म। यसलाई छोटो यात्रा भनिदिँदा हुन्छ। मात्र यात्रा निर्वाहको यायावरीय हुटहुटी। हामी भात खाने बेलासम्म लक्ष्मीपुर पुग्छौँ होला। तर, यात्रा अझै धेरै शेष छ भनेर दर्शन छाँट्नुपर्ने बाटो विकट पनि छैन। घाम नलागे पनि उज्यालो मनग्गे भइसकेको छ। टाढा कता हो फँडानीकटानी भएका जंगलका शव ओसार्ने वाहन डुक्रेको आवाज यहीँ पनि सुनिँदैछ। यात्रामा कुनै जलविहीन मरुभूमि, समुद्र, हिमाल, तीर्थ, गगनचुम्बी भवन, अट्टालिका, ऐतिहासिक स्थल त्यस्तो केही पनि आकर्षण थिएन। तर, दुर्निवार आकर्षण थियो।

जाडोको समय। यस भेकका खोला, वषर्ात्को पानी निथ्रेर सुस्तसुस्त बगिरहेका खोला। खोला पनि त्यस्ता ऐतिहासिक होइनन्, जसका छेउमा सभ्यताहरू विकसित वा विनष्ट भएका होऊन्। म सोच्दै हिँडिरहेछु। यो एउटा अज्ञात क्षेत्रजस्तो छ। नयाँ मुलुक भनिए पनि नयाँ खोज्न कोही पनि आउँदैन। डीडीटी छर्केर उन्मूलनअघि औलोको डर थियो। मान्छे कामज्वरोले थला पर्थे र उपचारविहीन मर्थे। भाबर भनिने यो विपुल जंगलका धनी अचेल दीनहीन छन्। साल, सिसौ र खयरको धनी यो सुनखानी ठहरयिो। यसको चोरीकटानी धनीले पनि गर्‍यो र गरबिले पनि, विद्रोहीले पनि गर्‍यो र राज्यले पनि। यो अचेल टाट पल्टेको छ। टाट जुन जुवाको खालमा ओछ्याइन्छ र खाल उठेपछि टकटकाइन्छ, त्यो अर्थलाई यसले मूर्त गरेको छ। धन अर्कैले कुम्ल्याएका छन् र यहाँका आदिवासी थारू आदिकालभन्दा पनि झन् तन्नम भएर बाँच्न बाध्य छन्।

हामी फेरि जंगलभित्र छिर्छौं।

जंगल अघिभन्दा बढी जागिसकेको छ। अघिभन्दा उज्यालो पनि भएको छ। भित्रभित्र जंगलले हामीलाई स्वीकार गर्दै गएको भान हुन्छ। बाटो गोरेटो छ। हामी गाडाको लिक छोडेर गोरेटोबाट हिँडिरहेछौँ। छोटकरी। अमर यस जंगललाई आफ्नो घरको चोटाकोठाझैं चिन्छ, जान्छ पनि। जंगलले पनि उसलाई चिन्छ, आफ्नै सन्तानझैँ।

दक्षिण च्यापेर हामी हिँड्दैनौँ। त्यो हाम्रो दिशा होइन। त्यहाँ अझ घना जंगल छ र दक्षिणतिर सिमानामा महाकाली नदी पनि बग्छ। अहिलेलाई मलाई जंगलकै बाटो रमाइलो लागिरहेछ।

यात्राभरि जंगललाई भित्रभित्रै स्मृतिमा उतार्नु पनि छ, रिछा, अचेलको बेलौरी बजार नपुग्दासम्म ।

नेपाल साप्ताहिक अंक ४१२

Pravin Rai Jumeli – Binduko Gynoexile

प्रवीण राई जुमेली – बिन्दुको गाइनोएक्जाइल
(Sent to Sanjaal Corps via Email)

त्यस दिन बिन्दु सुटुक्कै नै ड.सित पसेकी थिई – फुड-कोर्टमा । ढ. भने कता छाडियो, त्यो आजको उसको चासो भएन अहिलेलाई। भनूँ आजको दिन उसले ड.लाई नै समर्पित गरिदिई। तापनि उसको आइफोनमा ढ.को कल घरि-घरि आइरहेथ्यो जसलाई उसले काटिदिइहाल्दथिई। ड.ले उनीहरु दुवैजनाको लागि फलको रस र पकौडा मगायो।

उनीहरुको गफमा त्यस्तो खासै गहिराइ थिएन। तर बिन्दु आज केही असहज जस्ती देखिन्थी। ड.ले उसको आइफोन हेर्दै ‘बजारमा आउने नयाँ-नय़ाँ ग्याजेटहरु तिम्रो क्रेज होइन?’ सोध्यो।

मुस्कुराई बिन्दु, त्यसपछि ‘रहर अब केको छ सोधन’ पनि भनी। ड.ले प्रश्नमय आँखाहरु बिन्दुको अनुहारभरि छरिदियो।

‘आइप्याड्को’, भन्दै छातीमा हात राखेर ‘थ्याङ्कयु एप्पल’ पनि जोडेकी थिई।

‘एप्पललाई चाहिँ किन थ्याङ्यु?’, सोध्यो ड.ले।

‘आइप्याड्को सिर्जना नै त त्यसकै होइन अन्त?’ भनिनसक्दै बिन्दुको आइफोनमा म्यासेज-टोन बज्यो। ढ.ले निष्ठुरी, अब म तिमी जहाँ छौ त्यहीं आउँदैछु भन्ने एसएसएस पठाएको रहेछ। बिन्दु सतर्क भई।

ड.ले उसको तनाउको कारण बुझे जस्तै गरी ‘कसको म्यासेज रहेछ?’ सोध्यो।

बिन्दुले उसको जन्मयसो नै ढ.सित पनि अफेयर चलाउँदै आएको कुरा सार्वजनिक विषय थियो। विशेषतः उसको जन्म नेपाली समाजमा भएकोले यी दुइभन्दा बाहेक अरुसित भने उसको लहसाइ थिएन भनिदिँदा असत्य हुँदैन। नेपाली स्त्रीहरुले बिन्दुबाट केही सिक्नपरे त्यही लहसाइको द्वैतताबाटै त्यस केहीलाई दोहन गर्न सक्दथे। जसरी पुरुषहरुले धेरैजना बिहा गर्दा पनि सहजै स्वीकार गरिने समाजमा द्रौपदीले पाँच-पाँचजना पुरुषहरुसित सम्बन्ध कायम राखेर अपवाद सिर्जना गर्ने साहस जुटाएकी थिई, त्यसै दृष्टान्तबाट हेर्दा बिन्दुको द्वैत सम्बन्ध कतै अजायज लाग्दैन। यसलाई हामी द्रौपदीको उछृङ्खलता भनेर परिभाषित नगरी वर्षौंसम्म स्थापित मूल्य र मान्यता भञ्जित भएको यथार्थको दूर्पिनबाट ह्ऱ्यौं भने केही पाउनसक्छौं। विशेषतः समाज बनिनुको प्रागैतिहासिक कालदेखि नै नारीमाथि शोषण गरिँदै आइनुको पितृसत्ता यहाँ चुनौतीको घेराभित्र बाँधिन पुग्दछ। वास्तवमा बिन्दुको ड. र ढ.सितको द्वैत सम्बन्ध पनि परम्पराको विनिर्माण थियो। परम्परा रुचाउनेहरु विनिर्माण, भञ्जन, परिवर्तन, ध्वंश आदि घटकहरुसित डराउँदछन्। किनकि त्यसपछिको अनाम विस्व र व्यवस्था जानिएको हुँदैन। परम्पराले मानिसलाई अभ्यस्त बनाएको हुन्छ। विरोध र परिवर्तनको स्थापनाले नयाँहरुसित परिचित र अभ्यस्त बन्नपर्ने चुनौती थोपर्छ। चुनौतीका मोहीहरु कमै हुन्छन् कमै जन्मिन्छन् समाजमा। यसैले उनीहरु वर्षौंसम्म शोषण र पीडामा बाँचिरहन्छन्। हरेक जीवनको अर्थ मृत्यु नै हो भनेर जान्दा-जान्दै पनि मानिसहरुले बाँच्नको निम्ति हजार कायरताहरु उमारेर बस्ने गर्दछन्। तर बिन्दु कायर छैन।

अहिले भने ड.तिर फर्की उ खिसिक्क मात्र हाँसी र ढ.को एसएमएसको उत्तर स्वरुप ‘म अहिले गान्तोक बाहिर जाँदैछु। फर्केर बात गरौंला’ फर्काई। ढ.को पानीखेदोबाट बाँच्ने उसले खोजेकी यो डिजिटल उपाय भनौं। त्यति गरेपछि उ ढुक्क भई र ड.ले मगाएको जुस र पकौडातिर जाइ लागी।

‘तिमी अब साँच्चै किताबहरुबाट उम्किएकी हो त?’, जुस पिउँदै सोध्यो ड.ले र फेरि ‘सुन्दैछु कम्प्युटरिकृत गर्ने क्रममा तिमीलाई त अर्कै keyमा जडान गरिएको छ अरे’ पनि थप्यो।

‘पृथ्वीबाट तारालाई तिमी के देख्छौ? पानीको अथवा माटोको सबैभन्दा सानो कणलाई के भन्छौ तिमी?’, सोधी बिन्दुले। सोधेर पकौडा चबाइरही, जुस पिएर अरु शब्द जोड्न मुख खोली, ‘उ त्यो स्त्रीको निधारको टीकालाई हेर। हेर उर्दुको फ़, ख़, क़ औ अङ्गरेजीको i र j लाई पनि। बिन्दुको बचाइको फाँटवार त्यहाँ-त्यहाँ पनि त पुगेकै छ।’ अझ बोल्दै गई उ, ‘तापनि म सोंच्दैछु यति र यसरी बाँच्नु मात्र पर्याप्त छैन मलाई। मैले मैभित्र उम्रिनलागेको विद्रोहको ताप बोध गर्दैछु अहिले-अहिले। म एउटा त्यस्तो आवाजको कल्पना गर्दैछु जो मबाटै जन्मियोस् र विस्वलाई थर्कमान पारोस्।’

‘आज मात्राहरुको बैठक बस्यो अरे यहींनेर। उनीहरुलाई तिम्रो निष्कासनले सतर्क बनाएको होला हगी?’ बिन्दु रोकिँदा अरु भन्दै गयो ड.ले र ‘के तिमीलाई आफू मात्रा औ वर्ण नहुनुको दुःख छ?’ पनि जोड्यो।

‘के तिमीलाई चाहिँ आफू वर्ण हुनुमा गर्व लाग्छ?’ सोधाइमाथि सोधाइ थपेर टेबलको सनग्लास र वालेट उठाउँदै दैलोतिर स्निकरयुक्त पयरहरु लम्काई बिन्दुले। फेरि केही पर पुगेर पछाडि फर्किँदै ‘प्लिज डोन्ट फर्गेट टु पे द बिल’ भनिराखी। ड.ले काउन्टरमा बिल तिरिसक्दा बाहिर एमजि मार्गमा लागेको टन्टलापुर घाममा सनग्लास चढाइएका उसका आँखाहरु पयरहरुभन्दा छिटो-छिटो कुद्नलागेका थिए।साथसाथै वरपरका मेस्कुलिन-आँखाहरु पनि उसले धरेकी जिन्स र टिसर्टमा टाँसिएर हिंडिरहेका थिए। ड.लाई पर्खिने उसित जँच्दो अर्थ थिएन। वल्लोपट्टिको ओह्रालो जाने सिंडी झरेर उ राजश्रीको छेउ हुँदै गुड बुक्सतिर गई।

‘मेरो किताब आइपुग्यो?’, सोधी पुगेर। काउन्टरको अनुहारले अहँ-सूचक टाउको हल्लायो। किन? – भन्ने प्रत्युत्तरमा शब्द अफालेन तर बिन्दुले। के-के सोंच्दै उ फर्की सडकमा। उसले ज्याक लकाँ र जुलिया क्रिसटेवाद्वारा साइकोएनालिसिस र न्युरोसिसमाथि लेखिएका किताबहरु मगाएकी थिई त्यहाँ जो तर कुनै कारणवश आइपुगेको थिएन। नआइपुग्नुको कारणमा उसको चासो छैन किनकि दोकानेहरु बहाना बनाउन खप्पिस् हुन्छन् र त्यस्ता बहानाबाजीको शब्दविनिमयबीच अल्झिरहनु समय खेर फाल्नु हो बिन्दुको दृष्टिकोणमा। ड. कतातिर लाग्यो होला – नसोंची हिंडिरह्यो उ।

पर्यटन कार्यालय अगाडि उभिएर उसले पुनः आफ्नो आइफोनमा एउटा नम्बर डायल गरी। अर्कोतिर ढ.को स्वर सुनियो। ‘म एमजि मार्गमै छु, आउँदैनौ……टुरिजम अफिस अगिल्तिर’ बिन्दुले ढ.लाई भनी।
एकै मिनट पनि नबित्दै ढ. बिन्दुको अगिल्तिर उपस्थित भयो र सोधिहाल्यो पनि, ‘अगि त कहाँ पो जाँदैछु भन्दैथ्यौ त?’

‘जोतिदिएको नी तिमीलाई त्यस्सै’, मुस्कुराई उ।

‘अब मेचीपारि तिम्रो अस्तित्व नै हराइसक्यो भन्दा पनि हुन्छ। यता वारि पनि तिम्रो निष्कासन र वरण सम्बन्धमा ठूलो विवाद चलिरहेको छ। हामी जस-जसले तिमीलाई माया गर्छौं……..तिम्रो वकालती र चाहना गरिबस्छौं’, ढ.ले उसको मन खोल्न चाह्यो।

‘जसको भाग्य कलमको निबमा अल्झिएर बसेको छ उनीहरुको न त बोली छ न त आग्रहको शक्ति नै। त्यसो त हामी पनि आफूलाई जड होइन भन्ने किटान गर्छौं भने भञ्जन र परिवर्तनलाई स्वीकार्न तयार हुनु जरुरी छ होइन र? कुनै न कुनै रुपमा त अस्तित्व हाम्रो पनि रहिरहला नी।’ केही उदास स्वर झिकेर भनी बिन्दुले।

ढ. पनि त्यही ओवरटोनमा बोल्यो, ‘दुःख त केमा पो लाग्यो भने जोहरुले तिम्रो अस्तित्व बचाउने कुरा गरे उनीहरुले नै तिमीलाई भुले पनि।’

‘तिमीहरु बाँचे त भइगयो त होइन, अचानक बिन्दुले आफ्नो आवाज खिरिलो बनाई, वर्ण र मात्रा बिना नेपाली भाषाको लेखन कदापि पनि पूर्ण हुँदैन। यतिसम्म कि म जस्तै भएर पनि रेफ, चन्द्रबिन्दु र अनुस्वरहरुको पनि केही महत्व त गरिरहेकै छ। म पो कहाँ तिमी र ड.को पुच्छरमा व्यर्थै झुन्डिनु पुगें त!’, हाँस्दै भनी बिन्दुले।

‘म त ब.को कथा पढेर छाँगाबाट खसेको थिएँ, बुझ्यौ? त्यहाँ त बिन्दु अहिले कोमामा छ बनेर पो लेखिएको छ त’, ढ. छक्क परेको अभिनयसित भन्दैथ्यो, ‘अनि तिमी चैँ किन हाँसिरहेकी त?’ पनि सोध्दै।

‘अन्त रोएर पनि त भएन होला नी साथी?’, शान्त भएरै बोली बिन्दु र ‘म अर्कै कुरा सोंच्दैछु। तिमी मलाई एउटा सानो कुराको सहयोग गर्छौ?’ पनि थप्दै गई।

‘के कुराको?’

‘म एउटा आइप्याड किन्न चाहन्छु। तिमी मलाई केही दिनको लागि केही सापट दिनसक्छौ?’, सहजता कायमै छ बिन्दुको बोलीमा।

केहीक्षण नबोलिरहेको ढ.लाई यहाँ देखिरह्यो बिन्दुले। हजार कसम र मायाहरु रुपियाँको कथात्ममा आइपुग्दा धुलीसात बनेका उदाहरणहरूले झस्काइरह्यो उसलाई। मानिसले लेखेका गीत र कविताहरुले आत्मा, मन र पराभौतिकताको परिपाट लगाए तापनि सरीरको उपस्थितिबिना कसैले पनि उसको इच्छा र भोकको विपना पाएको छैन। बिन्दुले पनि एउटा सरीर बोकेकी छे जुन सरीर उमेरको ढल्काइसँगै स्थूल बनेर गइरहँदा ड. र ढ. झैं पुरुषहरुका माया पनि ढुङ्गा हुँदै गइरहन्छ। उमेर छँदै उनीहरुको त्यस्ता कायर इच्छा र लिप्साबाट केही दोहन गरिराख्ने स्वार्थ साँच्नु पनि आफ्नो यौवनको दुरुपयोग मात्र नभएर शोषणका अरु-अरु उपकथाहरु जोड्नु होइन कसरी नभन्नु र? बिन्दु सोंच्छे, यसैले, कि उसले आफूलाई आर्थिक परतन्त्रताको घेरा तोडेर बाहिर निकाल्नुपर्छ। त्यसले मात्रै उसलाई अरु शक्ति दिनेछ र कथित पितृसत्ताको विरोधमा आफ्नो अभियान जारी राख्न सक्नेछ पनि।

‘किन चाहियो नी तिमीलाई आइप्याड चाहिँ?’…….नबोलिएका केही क्षण बितेपछि ढ.ले प्रश्न गरेको सुनियो।

बिन्दुले वालेटबाट झिकेर केही लेखिएको कागजको टुक्रा देखाई जहाँ मारी वुल्सटोनक्राफ्ट, वर्जिनिया वुल्फ, सिमोन द ब्युवो, जुलिया क्रिस्टेवा, एलेन सुवाल्टर, केट मिलेट, टोरिल मोइ, गायत्री चक्रवर्ती स्पिवाक आदि अनेक नाम र उनीहरुद्वारा लिखित किताबहरुको सूची थियो। ढ. स्वयं लेखक होइन, न त पाठक नै हो उ। कतै एक नेपाली लेखक नै भए पनि उसले यस्ता तमाम किताबहरु पढेको हुनु सम्भव नभएको अवस्थामा हुनेथ्यो उ किनकि ती किताबहरु नेपाली भाषामा अनुवाद नभएको अथवा नलेखिएको जिँउदो अवस्थामा बाँचिरहेको छ उ। त्यसै पनि अङ्ग्रेजीको उपनिवेशी आतङ्कले व्याप्त समाजमा उ झैं वर्णको अस्तित्व नै पनि सङ्कटको घेराभित्र पसिसकेको छ। पाठ्यपुस्तकबाट गेसपेपर, चिट्ठीबाट एसएमएस र इमेल, ज्ञानबाट मनोरञ्जनतिर हाम फाल्दै गइरहेको समाजमा वर्ण, मात्रा र बिन्दु झैं डाइक्रिटिक्सको अस्तित्व सङ्कटमा पर्नु कुनै छक्क पर्नुपर्ने विषय होइन। अब महाकाव्य र हजार पृष्ठको उपन्यास लेखेर साहित्यको अलख जगाउने समय छैन। आज प्रायः मानिसहरु (लेखक र पाठक दुवै) पढेको ज्ञानभन्दा सुनेको ज्ञानको भरमा बोल्नथालेका छन्, ब. भन्थ्यो। कुनै नयाँ कुराको बारेमा जान्नपरे आज मानिसहरु पुस्तकालय जाँदैनन् तर इन्टरनेट खोल्छन्। यस्तै लेखक र पाठक दुवै रुपमा असफल भएको ढ. अहिलेलाई बिन्दुको लागि खतरा उत्पादक थिएन।

‘लौ तिमी भन, यी किताबहरु किनेर सबै एकैपल्टमा बोकेर हिंड्न सक्छु म? तिमी हिंड्नसक्छौ?’ बिन्दुले भनी, ‘तर यी सबैलाई मैले आइबुक(पिडिएफ) फर्मेटमा कुनै ल्यापटप अथवा आइप्याडमा डाउनलोड गरेर त बोक्नसक्छु नी औ जहीँ र जतिबेला पनि खोलेर पढ्नसक्छु, होइन? अनि……मैले देखेको त्यो आइप्याड चाहिँ आइबुक कम्प्याटिबल रहेछ।भनूँ ठूलो आइफोन जस्तै।’

‘अनि यो तिम्रो आइफोनमा चाहिं त्यो सबै हुँदैन?’ ढ.ले व्यर्थ बहस गऱ्यो किनकि त्यसले बिन्दुको जिद्धीपनलाई कदापि पनि जित्ने होइन। ‘फेरि ल्यापटपले नै पनि त काम चल्र्ने रहेछ त?’ बहस अझ तन्काइरह्यो उसले।

केहीक्षण नबोलेकी भइरही बिन्दु। फेरि भनी केही गम्भिरतासित, ‘दिँदैनौ भने चाहिँ लामो गफ नछाटौं होला साथी! म हिंडें है।’

‘ए पर्ख, पर्ख न ए’, भन्ने ढ.को आग्रहले हिंडेका उसका पयरहरु थामिएका झैं भए। त्यो वाक्यले केही आशा उमारेको जस्तो थियो अथवा बिन्दुको त्यसरी हिंड्नु स्वयं पनि दोकानेसित भाउ नमिल्दा पल्लो दोकानतिर गई किनूँला भन्ने धम्की जस्तो मात्रै पो थियो कि? ड.सित बिन्दुले सद्भावनाको आशा गर्न सक्तिनँ, यसैले आइप्याडको निम्ति पनि ढ.सितै सापट आग्रह गरिनु बिन्दुको वाद्यता पो थियो कि? खेल एउटी नारीद्वारा खेलिएको थियो, उसै केही ठोस भनिहाल्न नमिलेको भनूँ यसैले। बिन्दुको जाने अभिनय र उद्वारा भनिएको वाक्यले त्यसरी अल्झाउनुमा मनोरञ्जनको भास पाइरहेथ्यो ढ.ले।

‘दिऊँला नी, रिसाइहाल्नुपर्ने त थिएन त’, फेरि ढ.द्वारा बोलिएको यति वाक्य नै पर्याप्त भयो बिन्दुको अनुहारमा मुस्कान फर्काइल्याउन।

‘हाउ प्लेजरेबल’, बिन्दु हावामा उँडी, ‘यसलाई पो भन्छ त रियल एडमिरेसन। तिमी सफल भयौ ढ. तिम्रो परीक्षामा। थ्याङ्कयु वेरी मछ्।’ फेरि झन्डै अँगाली पनि ढ.लाई। वरपरबाट अनेकौं आखाहरु उनीहरुलाई ताक्न व्यस्त थिए, त्यसैको छ्यानले सतर्क गरायो दुवैलाई।

‘कम अन बोइ, यसको खुशीयालीमा म तिमीलाई आमिर खानको ‘पिपली लाइव’ देखाउँछु’, भन्दै हिंड्ने आग्रह गरी बिन्दुले ढ.लाई। दुवै नारायणदासको छेउ हुँदै डेन्जोङ सिनेमा-हल पुगे। १ बजिसकेको थियो तर २ बजेको ‘सो’को टिकट काट्नलाई १.४५सम्म पर्खिनुपर्ने रहेछ।

‘अब के गर्नु?’ सोध्यो ढ.ले।

‘यतै गफ गर्दै उभिबसौं न हुँदैन?’ भनी र हल अगिल्तिरको फलामे रेलिङमा ठडिन पुगी। ढ.ले पनि त्यसै गऱ्यो। ‘तिमीलाई थाहा छ…..यस सिनेमामा नत्थू झैं एक दलित-शोषित कमनम्यानको माध्यमद्वारा मिडिया र राजनीतिको असली चित्र देखाइएको छ। वा…व, आमिर इज जिनियस।’ पनि जोडी बिन्दुले।

‘तिमीले त हेरिसकेकी पो हो?’ ढ.ले केही अचम्भसित सोध्यो। ‘अम्म्म…..वेट फर वन मिनेट’, भन्दै उ अलिपरको पानदोकानतिर गई र केही प्याकेट चिप्स र जुस किनेर फर्की र अगिकैमा थपी, ‘फरक केही पर्दैन मिस्टर ढ.। मैले आजको दिन तिम्रो नाममा लेखिदिइसकें….अन्डरस्टुड?’

ढ.को मनमा आइप्याडको दामलाई लिएर उथलपुथल अगिदेखिनै थियो। तैपनि जिज्ञासा पोखाइहाल्दा फेरि बिन्दु तर्सुवा गाई झैं बन्ने पो हो कि…..भन्ने डरले त्यसबारे सोधिहाल्न नसकिरहेको थियो। उ सोंचिरहेथ्यो कि उसले जीवनमा खाई-नखाई गरेको बचतले ठूलो मूल्य राख्दछ। कतै सापटै नतिरी बिन्दु पनि चम्पटराम भई भने? कालो कमाइको बारेमा त उसले हजारौं गफडाबाजी सुनेको भए तापनि आफ्नो पसिनाको कमाइ व्यर्थ खर्च गर्न मन नमानेको तथ्य पनि उसित छ। तथापि अर्कोतिर बिन्दुको इच्छाले उसको बाटो रोकिराखेको हुनु पनि तगारोकै रुपमा खडा छ अहिलेघडी। उसको के गरौं-को दोधारलाई तर बिन्दुको ‘निधारमा यी कस्ता धर्साहरु उमाऱ्यौ मिस्टर ढ.?’ भन्ने प्रश्नले खज्मजाइदिएको थियो।

केही क्षण पर्खिनुपऱ्यो बिन्दुले उसकोबाट उत्तर पाउन।

‘केही होइन, म सोंच्दैथिएँ कि आइप्याडको दाम चाहिँ कति होला भनेर?’ केही घुमाएर भए पनि उसले कुरा चाहिँ भनिछाड्यो, ‘त्यति रकम ब्याङबाट झिक्नपर्ने भयो नी त, होइन?’

‘डलरमा भनूँ?’, तर उसको मनको हाउलाई हावा दिने जस्तो थिएन बिन्दुको उत्तर। सायद बाँकी दिने उ भएपछि त्यस चिजको मूल्य जान्नु पनि उसकै अधिकारभित्र पर्छ होला। बिन्दुलाई हेर्दै उ मुस्कुरायो। बिन्दुले वालेटबाट पेन झिकेर उसको हत्केलामा ‘$499’ लेखिदिई। त्यसलाई उसले मोबाइलको कन्वर्टरमा हालेर हेऱ्यो। ` २२९७२।

त्यसको भोलिपल्ट ढ.ले बिन्दुको हत्केलामा माथि उल्लेख गरिएको रकम ब्याङबाट झिकेर थम्याइदिएको थियो। त्यसको धेरै दिनपछि मात्र बिन्दुले ढ.लाई फोन गरेर एमजि मार्गमा बोलाई र त्यो आइप्याड देखाई। त्यो आइप्याड त थ्रिजि पनि रहेछ। अनि त्यसभित्र कैद गरिएका अनेकौं आइबुकहरू पनि देखाई। ढ.ले सर्सर्ती हेर्दा अ विन्डिकेसन अफ द राइट्स अफ वुमन, रुम अफ वन्स ओन, द सेकेन्ड सेक्स, फेमिनिस्ट क्रिटिसिजम इन द वाइडरनेस आदि-आदि थाहा गऱ्यो।

केहीक्षणपछि ‘सबै अङ्ग्रेजी मात्रै रहेछ’ पनि भन्यो।

‘सबै अङ्ग्रेजी होइन, कतिपय अङ्ग्रेजीमा अनुवाद गरिएका हुन्’, जवाफ फर्काई बिन्दुले।त्यसपछि उसले प्याट्र्रियारकल, मेस्कुलिनिटी, जेन्डर-बायस, पर्सुएसन, विनिवोलेन्ट डिक्टेटरसिप, गाइनोक्रिटिसिज्म आदि अनेकौं शब्दहरुमाथि वक्तव्य छाँटी। त्यस दिन ढ. लाटो श्रोताको रुपमा अनुवाद भएर बसिरह्यो, बस् बसिरह्यो मात्रै। अन्तमा बिन्दुले ‘म विवाह कहिल्यै कसैसित गर्दिनँ’ पनि भनिराखी र बेपत्ता भई। उसको फोन नट-रिचेबल भयो र उसको इमेल प्रतिक्रियाहीन। एकदिन ड.ले उसलाई फोन गरेर भन्यो कि बिन्दुले उसकोबाट चलाएको सापटी त्यहाँ छाडिराखेकी छे भनेर।

‘हे मिस्टर ढ., म अब नेपाली वर्णहरुको रखैल रहिनँ। म डाइक्रिटिक्स भएँ।’ बितेका अनेकौं दिनहरुपछि फेरि ढ.ले यो खबर आफ्नो इमेलको इनबक्समा फेला पाऱ्यो। त्यसै दिन उसले मेट्रो-पोइन्ट नजिकै अवस्थित जैनको बुक्समा गएर भर्खरै छापिएको अक्सफोर्ड डिक्सनेरी किन्यो र घरमा गएर पल्टाउँदै हेऱ्यो। त्यहाँ हरेक i र j को शीर-शीरमा र फूलस्टपहरुमा उभिएर आफ्नो गाइनोमुस्कान छरिरहेकी थिई बिन्दुले। बिन्दुलाई हाम्रो खुट्टा-खुट्टामा उभ्याउने व्यवस्था चाहिँ कसले बनायो होला? नेपाली वर्णमालामाथि पल्टिएर सोंचिरह्यो ढ.ले चाहिँ।।

Kumud Adhikari – Jiwan Ek Yatra

कुमुद अधिकारी – जीवन एक यात्रा

उफ् ….! यो हल्ला….! यो चिच्याहट ! यी मान्छेहरूले कसरी सहन सकेका होलान् यो सब ? मलाई त साह्रै झर्को लाग्छ । बसमा बस्यो कि कानै फाट्ने गरी “बदाम…. ए.. बदाम… ए चटपटे…नारियल…मेवा….आजको ताजा खबर….” मानौँ व्यापार भनेको यही मात्र हो र ग्राहक बसभित्र मात्र छन्। तर म निरुपाय छु। अरू मानिसहरूलाई हेर्छु, कति मज्जासँग बसेका छन्। सायद यी सबैलाई मजा लाग्दो हो यो कोलाहल। कोही त मस्तसँग निदाइरहेका पनि छन्। जे भए पनि सहनै पर्‍यो….सायद जिन्दगीमा सहनुको अर्को विकल्प छैन, कमसे कम मेरा लागि।

सुन्दर मिथिलानगरी जनकपुर। यही जनकपुरको बसपार्कमा एउटा विराटनगर जाने बसमा बसेकी छु म। बितेका वर्षहरू, महिनाहरू र दिनहरूले ममा अचम्मलाग्दो निस्सारता भरिदिएका छन्। जीवनलाई सुन्दर बाटो र त्यसको यात्रा ठान्ने मेरा विश्वासहरू केही डगमगाउन लागेझैँ हुन्छन्। विश्वास डगमगाए पनि मैले तिनलाई ढल्नचाहिँ दिएको छैन। त्यस्तै विश्वासहरू थामेर जीवनयात्रालाई निरन्तरता दिनु नै छ। निस्सारतालाई पुस्तकमा साट्ने गरेकी छु मैले अचेल। केही पछुतो पनि लाग्छ, कहिलेकाहीँ, किन बेलैमा पुस्तकहरूसँग मित्रता गाँसिनँ मैले। अहिले सम्झन्छु मैले ती दिनहरूमा पुस्तकहरूसँग मित्रता गाँसेको भए मेरो जिन्दगीको बाटो अर्कै हुन्थ्यो होला। सायद म जीवन्त जीवन जिउँथे होला। तर समयको धारलाई न कसैले बदल्न सक्यो न सक्छ। जुन कुरो हुन सकेन त्यसमा समय खेर फाल्नुभन्दा जे हुनसक्छ त्यसमा चिन्तन गर्नु नै ठीक होला ? यी कुरा पनि मैले पुस्तकहरूबाट नै थाहा पाएकी हुँ।

म जनकपुरको बसपार्कमा बसभित्र कहिले यसले यात्रा थाल्छ होला भनेर पर्खिरहेकी छु। दिएको समय त बाहिरिइसक्यो तर बस गुड्ने सम्भावना अझै देख्तिनँ। नेपाल न हो, हामीले समयलाई कहिले चिन्यौँ र ? जे भए पनि बसले विराटनगर त पुर्‍याउला नै।… अब के गर्ने त ? म मेरो छोरासँग बसको दाहिनेपट्टिको 6 नम्बरको सिटमा झ्यालनेर बसेकी छु। झ्यालबाहिर पनि हेर्दै छु र बेलाबेलामा छेउमा बसेको छोरालाई पनि हेर्दै छु। मेरो छोरो मसँग टाँसिएर बसेको छ। अब म बसभित्र र बाहिर आफ्नो जिन्दगी खोज्न थाल्छु।

उः बाहिर श्री भवनाथ झा हिँडिरहेका छन्। म झ्यालबाट स्पष्ट देखिरहेकी छु।श्री भवनाथा झा मेरा श्रीमान् हुन्। तर म उनकी श्रीमती हुँ कि हैनँ ? शङ्कै छ धेरैलाई ? म आफैँलाई ? खै कुन्नि ? उनीसँग उनको छोरो छ, म छु। कस्तो अचम्म मैले मेरा श्रीमान् र छोरासँग आफूलाई हिँडिरहेको देखिरहेकी छु। मेरो छोराले अचानक आग्रह गर्छ- “बाबा ! मलाई चाउचाउ किनिदिनुहोस् न !” म र मेरो छोरो दुवै आस गर्छौँ चाउचाउ किनिदिनुहुन्छ कि भनेर। तर छोराले त्यसो भनेपछि श्री भवनाथ झा हामीबाट अलि परपर हिँड्न थाल्नुभयो। मलाई लाग्यो चाउचाउ दोकान नभेटेर होला। तर त्यो दूरी बसपार्क आउन्जेल कम भएन। चाउचाउ त कता हो कता। छोरो रटेको रट्यै छ “चाउचाउ…..चाउचाउ….!” हेर्छु छैवैमा पसल छ। किनिदिन्छु एक प्याकेट चाउचाउ। सन्तुष्ट हुन्छ ऊ। तर मेरो सन्तुष्टि त कता गयो कता। मलाई श्री भवनाथ झाको हामीसितको दूरी राम्रो लागेन, मैले बुझ्न पनि सकिनँ। बस छेउमा पुगेपछि बर्साउँछु क्रोधका लहरहरू- “तपाईँ किन हामीबाट परपर हिँड्नुभएको ? छोराले त्यत्रो चाउचाउ किनिमाग्दा पनि किन वास्ता नगरेको ?”

उहाँको उडेको अनुहारले बतायो- “बाबुले ‘बाबा’ भनेर बोलायो क्या ! यहाँ कसैलाई थाहा छैन, मैले तिमीसँग बिहे गरेको कुरा।”

“थुक्क ! आफ्नो सन्तानलाई परिचय दिन नसक्‍ने तपाईँ कति लाछी ? के गर्नु र मैले तपाईँलाई के भन्ने? जति भने पनि जीवन उल्टा बग्दै बग्दैन।” लाग्‍नथाल्यो विवशताका पनि आआफ्नै संस्करण हुँदा रहेछन्। गोदानको होरीको विवशता र मेरो विवशता एकै नभए पनि असरहरू झन्डै एकै थिए। बिचरा होरी ! सामन्ती समाजिक रीतिरिवाजले पिल्सिएको ऊ र त्यस्तै पुरुषप्रधान सामाजिक रीतिरिवाजले पिल्सिएकी म पनि।

घ्यार्र….घ्यार्र…. ए बस स्टार्ट हुन लागेछ। अब त विराटनगर पुर्‍याउला कि ? बसको इन्जिनको घ्यार्रसँगै मेरो पनि जिन्दगीको एउटा नयाँ पाटो सुरु हुन गइरहेको छ। हेरौँ कहाँ पुगिन्छ।

बसभित्र चाहिँ उकुसमुकुस छ। म छोरासँग बसेकी छु। वरिपरि मानिसहरू छन्। दुई सिटअगाडि एउटी महिला बसेकी छन्। अगाडि फर्केर खै के हेर्दै छिन्। हेर्छु, म नै जस्तो लाग्छ। अचानक उनी पछाडि फर्किन्, अरे यो के ? उनी त म नै हुन्। म, दुई वर्ष अगाडिकी म। लुगा केही मैलो, कपाल राम्रो नकोरेकी। अनुहारबाट निराशाको झलक आउने। फेरि मैले आफूलाई नै भेटेँ बसमा। दुई वर्षअगाडि म निराश थिएँ, जिन्दगीबाट केही आस थिएन। बाच्नुको अर्थ थिएन। जीवनलाई घचेट्नुपर्ने थियो।

म दुई वर्षपहिले इलाम जिल्ला, लक्ष्मीपुर गाउँको श्री सिंहवाहिनी माध्यमिक विद्यालयमा प्राथमिक तहकी शिक्षिका थिएँ। त्यसो त अहिले पनि छु र त्यो पद अझै कति रहने हो थाहा छैन। तर फरक छ, त्यसबेला मैले जिन्दगी जिउनुको कारण भेटेकी थिइनँ, अहिले भेटेकी छु। अब मेरो जिन्दगीको लक्ष्य छ। मैले आफ्नै बाटो तय गरेकी छु। म छोरोसँग एउटा डेरा लिएर बसेकी छु। म, निर्मला निरौला उर्फ निर्मला झाका पति र छोरो विश्वेश्वर झाका पिता श्री भवनाथ झा जनकपुरमा बस्छन्। पहिले उनी पनि यतै थिए।

लक्ष्यहीन जिन्दगी घचेट्दाघचेट्दै एक दिन मैले विद्यालयको कहिल्यै नखोलिएको लाइब्रेरी खोल्न पुगेँ। केही भेट्‌छु भनेर त हैन तर त्यसै कुतूहल जाग्यो, हेरौँ न त के छ भनेर खोलेकी थिएँ। प्रधानाध्यापकले पहिले त साँचो दिनै मान्नुभएको थिएन। म केही गडबडी गर्दिनँ भनेर विश्वास दिलाएपछि साँचो दिनुभएको थियो। खोलेर हेरेँ। चारवटा दराजहरूमा पुस्तकैपुस्तक थिए। दराज वर्षौँदेखि खोलिएका थिएनन्। मैले यस विद्यालयमा काम गरेको पनि 12 वर्ष भइसक्यो मैले कहिल्यै यो कोठा खोलेको देखेकी थिइनँ। कोठाभरि धूलो र माकुराको जालैजालो थियो। एउटा लठ्ठी टिपेर माकुराको जालो पन्छाउँदै, भित्र पसेँ र ढोकाको छेउको दराज खोलेँ। कब्‍जामा खिया लागेकाले निकै बल लगाउनुपर्‍यो। खातका खात किताबमाथि मेरो नजर पर्‍यो। यौटा पुस्तकको धूलो यसो टकटक्याएर हेरेँ, देखेँ विश्वेश्वर लेखेको छ। अरे मेरै छोराको नाम, किताब निकालेर शीर्षक हेरेँ, विश्वेश्वरप्रसाद कोइरालाको सुम्‍निमा रहेछ। किताब लिएर त्यस कोठाको ताला लगाएर निस्केँ र पढाउन कक्षा कोठातिर लागेँ। मनमा केही नौलो अनुभूति भइरह्यो।

बेलुका घर आएर हतारहतार खाना पकाएर छोरालाई खुवाएँ, आफूले पनि खाएँ। के छ त सुम्‍निमामा, कुतूहल त छँदै थियो। तर मलाई यो के भइरहेछ ? अगिसम्म मेरा गोडाहरू घिस्रिन्थे भने अहिले हिँडिरहेका छन्। होला केही। छोरो सुताईवरी मैले सुम्‍निमाको यात्रा आरम्भ गरेँ। सुम्‍निमा….सोमदत्त….सुम्‍निमा…सोमदत्त…। समय बगेको थाहै भएन। तीन घण्टा बितिसकेछ, मेरो सुम्‍निमा र सोमदत्तसँगको यात्रा पनि टुङ्गिएछ। कस्तो अचम्म तीन घण्टाअघिकी म र अहिलेकी ममा निकै अन्तर फेला पारेँ। त्यसबेला कता जाऊँ भन्ने दुविधैदुविधाले घेरिएकी मलाई अहिले मेरो अगाडिको बाटो स्पष्ट भइसकेको थियो। सुम्‍निमा र सोमदत्तसँगको यात्रा सुरुवात थियो…………….।

म फेरि दुई वर्षअगाडिकी मबाट वर्तमानकी ममा आइपुगेँ। बसभित्र मेरो मैसित साक्षात्कार। बस जनकपुरबाट उत्तरतर्फ लागिसकेको रहेछ। हेर्छु वरिपरि सबै आफन्तैआफन्त भएझैँ लाग्छ, यो के भएको मलाई ? मेरा आफन्तहरूसित मात्रैको यात्रा हैन यो। कमसे कम अघिसम्म त त्यस्तो थिएन। हेर्दाहेर्दै ढल्केबर आइपुगेछ।ढल्किएको बर। बरमात्रै किन र मानिसको जिन्दगी पनि ढल्किन्छ यसरी नै। तर जीवनलाई कसरी र कता ढल्काउने हो भन्ने कुरो नितान्त ढल्काउने मानिसमा भर पर्छ। केटाकेटीमा ढल्काउने बाबुआमा र समाज हुन्छन् भने, मानिसको चेत फिरेपछि ऊआफैँ।

बस रोकियो केही बेरका लागि। छोराले फेरि चटपटे भन्न लाग्यो। के गर्ने, केटाकेटी हो, कति सम्झाउँछु बाटामा बेच्न राखेको खानेकुरा खानुहुँदैन भनेर तर पटक्कै मान्दैन। विशेष यात्रा गर्दा बस रोकियैपिच्छे उसलाई केही न केही खान चाहिन्छ नै। किनिदिन्छु अलिकति र आफू खाने लोभ पनि सम्हालेर राख्‍न सक्तिनँ र आफूलाई पनि किन्छु अलिकति। हरेक मानिसमा अलिकति बालापन भएकै राम्रो लाग्छ मलाई।

बसले फेरि गुड्न सुरसार कसेको छ। देख्छु अगाडिको ढोकाबाट उमेर ढल्किएका एक जोडी पस्छन्। अचम्म ! मेरा आमाबाबु। मेरा आमाबाबु मेरै सिटको दाहिनेपट्टिको सिटमा बस्छन्। मेरी आमा ! गजबकै बानी थियो उहाँको। म उहाँहरूकी एक्ली छोरी। मेरा दाजु छन् जो म सानै छँदा अरबतिर गएकाथिए रे र धेरै पछिमात्र फर्केर आएका। वास्तवमा भन्ने हो भने मेरो बालापन दाजुबिनै बित्यो। एक्लै बित्यो। मैले जान्दादेखि मेरी आमा साह्रै ढिलो काम गर्नुहुन्थ्यो। एक बिहानको भात तरकारी बनाउन उहाँलाई चारपाँच घण्टा लाग्‍ने। अर्थात् मेरी आमाको सम्पूर्ण समय घरधन्दैमा बित्यो र मैले चाहँदा पनि उहाँको केही समय म चोर्न सक्तिनँथेँ। आमामात्रै त्यस्तो भए त चित्त बुझाउने ठाउँहुन्थ्यो होला तर बुबा ! उहाँ पनि त्यस्तै तर बुबाको व्यस्तता पूजाआजा र जपमा नै सीमित थियो। बुबाको पूजाआजा बिहान एघार बजेसम्म चल्ने र फेरि दिउँसो अनि बेलुका पनि त्यही पाराको ध्यान र जप। मैले बाबुआमाको सान्निध्य कहिल्यै पाइनँ। मेरा जो थिए सङ्गीसाथी नै थिए, त्यसैले मेरो उपस्थिति आफ्ना घरमा खान र सुत्‍नका लागि मात्र हुन्थ्यो।

अहिले म बसमा मेरा बाबुआमा देखेर उनीहरूलाई धिक्कारिरहेछु। एक छाक भात-तिउन राम्ररी पकाउन नसक्‍ने मेरी आमा र अहिलेको जन्मलाई भएभरको दुःख दिएर अर्को जन्म सफल बनाउन पूजाआजा गरिरहने मेरा बा। जिम्मेवारीको बोध यदि उहाँहरूमा अलिकति भइदिएको भए मेरो यो हालत हुन्नथ्यो कि ? मैले उहाँहरूलाई दोष यस कारण दिएँ कि मैले जुन बेला बाटो बिराएँ त्यसबेला मेरो सोचाइ त परिपक्व भएकै थिएन, मैले सही र गलतको निर्णय गर्न सकेकी थिइनँ। तर उहाँहरूले त युग देख्‍नुभएको थियो,आफ्नो समय बाँच्नुभएको थियो र समाज देख्‍नुभएको थियो।

मैले त्यस दिन लाइब्रेरी नखोलेको भए, ममा यस्तो सोच विकसित हुने थिएन। न मेरो कथा म अरूलाई भन्न सक्‍ने थिएँ। मलाई लाग्छ, मेरो जन्मदिनभन्दा प्यारो दिन मैले लाइब्रेरी खोलेको दिन। मेरो पुनर्जन्मको दिन। सुम्‍निमापछि मेरो यात्रा नरेन्द्रदाइसँग भयो, हिटलर र यहुदीसँग भयो, पारिजातको शिरीषको फूल, डायमन समशेरको सेतो बाघ, वसन्ती अनि अरू सयौँ पुस्तकहरूसँग मेरा यात्राहरू हुँदै गए। मैले जिउनुको अर्थ भेट्दै गएँ। सुखको अनुभूति गर्दै गएँ।

यसपालि पनि जनकपुर यात्रामा मैले पुस्तक किन्न बिर्सिनँ। यसपालि अब गएर शरत्‌चन्द्र चट्टोपाध्यायसँग यात्रामा निस्कन्छु। अनि आँटेकी छु, आफ्ना अनुभवहरूलाई कागतमा उतार्नलाई। हेरौँ कहाँसम्म म मेरो कथा लेख्‍नसक्छु। म मेरा आमाबाबुतिर फुस्रो दृष्टि दिन्छु। हेर्छु उनीहरूको अनुहारमा पश्चातापको पीडा र मलिनता छाएको छ। तर के गर्नु पश्चाताप र मलिनताले खोलो कहिल्यै उँभो बगाउन सक्तैन। किन यस्तो भएको हो मेरा आमाबाबु म जता गयो त्यतै आउँछन्। के उनीहरू अझै पनि मेरै जीवनका पाटाहरू हुन् ? के म उनीहरूबाट अलग्ग रहन सक्तिनँ ……?

म झ्यालबाट बाहिर हेर्नथाल्छु। बाटाका छेउका रूखहरू पछाडि कुदिरहेका छन्। देख्छु अलिक परपरका घरहरू पनि पछाडि कुदिरहेका छन्। पछाडि कुद्‍ने यो क्रम यही बसमै मात्र त हो नि। बसबाहिर निस्केपछि फेरि सबैथोक अगाडिमात्र कुद्छन्। पछाडि कुद्‍ने त कल्पनामै सीमित रहने भयो।

बसको कुदाइ जारी छ। एकतमासको कुदाइ। कुदाइकै क्रममा बस कतै यात्रु चढाउन र ओराल्न रोकिएको छ। हेर्छु, बाहिर ठाउँ त उराठलाग्दो छ। फुस्रो जिन्दगी र त्यस ठाउँको रसहीनता उस्तै छन्। तर त्यहाँबाट एक हूल स्कुले केटीहरू बसमा चढे। खै कहाँ जाने हुन् ? सेतो सर्ट र नीलो जामा लगाएका नौ-दस कक्षामा पढ्ने केटीहरू। ती केटीहरूमध्ये म कतै छु कि भनी खोज्न थालेँ, अरे ! मेरो अहोभाग्य, मैले भेटेँ मलाई। मेरै पछाडि। मेरै पछाडि म उभिएकी छु। मेरा भावनाहरू उर्लंदा छन्। जीउ कसिएको छ। अङ्गहरूमा मादकता भरिएको छ। मलाई लाग्‍न थालेको छ मलाई केटाहरूले हेरिरहून्। मेरा अङ्गहरू हेरिरहून्। म उनीहरूका लागि नभई नहुने चीज बनूँ।
म लक्ष्मीपुरको श्री सिंहवाहिनी माध्यमिक विद्यालयमा कक्षा नौमा पढ्छु। मेरो पढाइ राम्रो नभएकाले जसोतसो कक्षा चढ्दै यस कक्षासम्म आइपुगेकी छु। खै सानैदेखि पढ्नुपर्छ भन्ने, पढाइले मानिसको जिन्दगीलाई सुबाटामा लान्छ भन्ने कुराको हेक्का रहेन र कसैले सम्झाएन पनि। हाम्रो स्कुलमा जनकपुरबाट श्री भवनाथ झा आउनुभएको छ, विज्ञान-शिक्षकको नियुक्ति लिएर। उहाँलाई बस्‍ने ठाउँको समस्या आइपरेको छ। गाउँमा छलफल भएपछि हाम्रा घरमा राख्‍ने निधो हुन्छ उहाँलाई। सायद मेरा बाबुआमाले मेरो पढाइका निमित्त त्यसो गर्न लागेका होलान्। ठीकै छ त्यसो भए पनि। तर मलाई पढ्न मन पटक्कै लाग्दैन। जीउ एकतमासको भइरहन्छ। खै कुन्नि उमेरले हो वा केले हो।

ल ! म त भूतकालमा पो यात्रा गर्न थालेँछु। भूतकालका घटनाहरूले हामीलाई किन यति साह्रो पछ्याइरहेका होलान् ? सोचिरहन्छु म। तर समाधान कहीँबाट पाउँदिनँ। त्यसै बेलादेखि नै हो मेरो अवसान सुरु भएको, जुन कुरो म अहिले थाहा पाइरहेकी छु।
मेरा घरमा बुबा, आमा र म थियौँ। दाजु कतै हराउनुभएको थियो। अरब जानुभएको छ भन्थे तर मलाई सम्झना छैन। हाम्रो तीनतले घर थियो, तल्लो तलामा दुई कोठा थिए। एउटामा भान्सा थियो र अर्को पूजाकोठा। आमा सधैँ भान्सामा र बुबा सधैँ पूजामा व्यस्त हुनुहुन्थ्यो। दोस्रो तलामा दुई कोठा थिए। एउटामा बुबाआमा सुत्‍नुहुन्थ्यो भने अर्कामा म सुत्थेँ। मुख्य घरको सिकुवामा कोठा निकालेर श्री भवनाथ झालाई दिइएको थियो। उहाँ हाम्रैमा खाना खानुहुन्थ्यो र मलाई साँझ-बिहान पढाउने गर्नुहुन्थ्यो। तेस्रो तला सबैकै जस्तो भण्डार वा बुइँगल थियो।

मेरो कोठामा म र सर बसेर पढ्थ्यौँ। वा भनौँ सरले मलाई पढाउनुहुन्थ्यो। केही दिन त मलाई नौलो लाग्यो। र अररिएको जिउ लिएर पढिरहेँ। मलाई पढ्नमा पटक्कै रुचि भएन। पहिले पनि थिएन। पढाइको महत्त्व बुझेको पनि होइन र मलाई कसैले बुझाएन पनि। बिस्तारै म सरका छेउमा गएर बस्‍नथालेँ। उहाँको जिउलाई नजानेजस्तो गरेर छुन्थेँ। उहाँले केही प्रतिवाद गर्नुभएन र मेरो आँट बढ्न थाल्यो। बिस्तारै उहाँको हात समाउन थालेँ, आफ्नो छाती उहाँमा टँसाएर बस्‍न थालेँ। हप्तौंसम्म यो क्रम जारिरह्यो। मेरो इच्छा केही होस् भन्ने थियो। यस्तै हुँदाहुँदै एक दिन अचानक म लड्ने बहानामा उहाँको काखमा पछारिएँ, उहाँले मलाई च्याप्‍नुभयो र त्यही काम भयो जुन मैले निकै अगाडिदेखि चाहिरहेकी थिएँ र सायद उहाँले पनि त्यही चाहनुभएको थियो। यहीँबाट मेरो ओरालो यात्रा सुरु भएको थियो। त्यसबेला त त्यो यात्रा ओरालो लाने हो भन्ने बुझ्ने कुरै भएन। अब सुरुवातपछि त हाम्रो नियमित काम त्यही भयो। अहा क्या मजा ! जिन्दगीभरि यस्तै गरिराख्‍न पाए त हुन्थ्यो नि जस्तो लाग्थ्यो त्यस बेला।

हामी सधैँ त्यसै गरी पढ्थ्यौँ, आमा खाना पकाइरहनुहुन्थ्यो र बुबा पूजा गरिरहनुहुन्थ्यो। अहिले मलाई रिस उठ्छ आमाबाबुदेखि, किन उनीहरूले वर्षौँ झा सरले मलाई पढाउँदा चियो गरेनन् ? किन छोरीको पढाइमा केही पनि सुधार भएको छैन भनेर सोधीखोजी गरेनन् ?
त्यसदिन देखिको मायाको खेल झाङ्गिदै गयो। खै मायाको खेल पनि के भन्ने, मायाकै खेल भएको भए त सुखदायक र दीर्घजीवी हुनुपर्ने। जे होस् त्यसबेला, त्यो सुखदेखि बाहेक अन्य केही पनि सुख हुन्छन् र जस्तो लाग्थ्यो। हाम्रा दिनहरू कति राम्ररी बित्थे, त्यसको बयान म सायद अहिले गर्न सक्तिनँ। उहाँको फुर्सत हुनासाथ हाम्रो रोमान्सयात्रा सुरु भइहाल्थ्यो। हामीले कन्यामका चियाका बुटाहरूसँग बात मार्दै अन्तुडाँडाको परिदृश्य हेर्‍यौँ, मिरिकलाई चिन्यौँ, खरसाङको चियो गर्‍यौँ। हामी एक अर्काको अँगालामा बाँधिएर चियाका बुटाहरूसँग रमाउँदै हिँड्यौ। घण्टौँसम्म उहाँका अँगालामा बाँधिएर रमिता हेर्न मलाई साह्रै मजा लाग्थ्यो। उहाँका काखमा सुतेर आकाशमा डुलिरहेका बादलहरूसँग यात्रा गर्दा लाग्थ्यो म स्वर्गमा छु। यो भन्दा बढी आनन्द के हुनसक्थ्यो होला र ?

राजदुवालीको कन्काईमाईको पुल पनि हामीबाट अछुतो रहेन। इलामको बम्बईसनले जिब्रो मीठो पार्दा मायाभन्दा मीठो अरूथोक केही छ भने त्यो बम्बईसन नै हो कि जस्तो पनि लाग्थ्यो। मूर्ति डाँडा, जौबारी भन्ज्याङहरू हाम्रा क्रियाकलापका साक्षी थिए र छन्। प्रेम र युद्धमा जे पनि जायज छ भनेझैँ हाम्रा क्रियाकलापहरूले सामाजिक सीमा पनि नाघेछन्। त्यसको हेक्का अहिले हुँदै छ।

अचानक बसलाई केही झट्‌का लाग्यो र मेरो दृष्टि फेरि पर्‍यो चुरे पहाडहरूमा। थाहा छैन मलाई यी चुरे पहाडहरू कहिलेदेखि यहाँ उभिएका छन्। यिनीहरूको जस्तो दृढताले एउटै सिद्धान्तमा अडिन सकेको भए जीवन निकै सुखी हुन्थ्यो होला। तर भन्छन् जीवन गतिको अर्को नाम हो। जीवन चल्नैपर्छ। चल्ने जीवनले बाटामा के भेट्‌छ के त्यो त कसले भन्नसक्ला र । मेरै जीवन पनि त त्यसरी नै बदलिँदै गयो। श्री भवनाथ झासँगको सम्बन्धको यात्राले थुप्रै वर्षहरू छिचोलिइसकेछन्। आनन्दमय दिनहरू कति छिटो बित्दा रहेछन्, थाहै हुन्न। असहज परिस्थितिका ज्वारभाटाहरूले हिर्काउन थालेपछि मात्रै चेत फिर्ने रहेछ।

उफ ! मैले ‘म’लाई हेरिरहन सकिनँ। दृष्ठि फेरेँ। लाग्यो म त्यही कुरामा अल्झिइरहन सक्तिनँ। बस कतै रोकियो र ती सबै केटीहरू उत्रिए। तिनीहरूसँगै मेरो बितेको केही समय पनि ओर्लियो।

त्यहाँ खाजा खाने घोषणा गरे बसका कर्मचारीहरूले। बससँगै मैले पनि केही क्षण बिसाउने निधो गरेँ र ओर्लिएँ छोरासँग । एउटा पसलमा गएर समोसाचिया खायौँ आमाछोराले। जीवनका यावत् पक्षहरू देखिन थाले। तिनै पक्षहरूसँग हातेमालो गरेर एकछिन बिसायौँ। फेरि बसमा चढ्ने उपक्रम त गर्नैपर्‍यो। हेर्छु बसभित्र एउटी गर्भवती महिला चढ्न खोज्दै छिन्। पछाडिबाट सहारा दिन्छु र चढाउँछु उनलाई बसमा। भित्र पुगेर आफ्ना सिटमा बस्छु र एउटा नजर दिन्छु ती महिलामा। ल ! म त तीन छक्क। मै पो रहेँछु ती महिला त। मैले नै मलाई सहारा दिएर बसमा चढाएकी रहिछु।

म गर्भवती। लक्ष्मीपुरमा हाम्रा घरमा श्री भवनाथ झा बस्‍नुहुन्थ्यो। म उहाँमा यतिसारो आसक्त थिएँ कि मलाई संसारको सबैभन्दा राम्रो पुरुष उहाँ नै लाग्‍नुहुन्थ्यो। मेरो आसक्तिको परिणामले नै त म गर्भवती भएकी थिएँ। मलाई थाहा थियो उहाँ विवाहित हुनुहुन्थ्यो र पहिली पत्‍नीपट्टिबाट उहाँका तीन छोराछोरी पनि थिएँ। तर प्रेमको आशक्तिले के देख्छ र ? भविष्यको कुरा त मैले सोच्न जानेकै थिइनँ। सिकाएन पनि कसैले। मलाई माग्‍न कैयौँ केटाहरू आए। तर मैले ठाडै बिहे गर्दिनँ भनेर सबैलाई टारेँ। मलाई हेर्न केटाहरू आइरहेका थिए। मेरा आमाबाबुलाई पनि मेरो बिहेको केही हतार लागेको थियो त्यसबेला। एकपल्ट एउटा केटाले मलाई मन पराएर गएछ। मेरा बाबुआमाले उससँग मेरो टीकाटालो गरिदिने भएछन्। म त्यसदिन निकै अत्तालिएकी थिएँ, किनभने मलाई त्यस कुराको जानकारी दिइएको थिएन। केटो आयो, सबै प्रक्रिया पूरा भयो। मैले लज्जावश केही गर्न सकिनँ तत्कालै। तर बेलुका केटाले दिएको सबै सरसामान एक घण्टा लाग्‍ने केटाको घरमा पुर्‍याएर, म तिमीसँग बिहे गर्न सक्तिनँ भनेर आएँ। मेरा दिमागमा भवनाथ झादेखि बाहेक कोही थिएन। उहाँदेखि बाहेक मैले अरूसँग जाने वा बिहे गर्ने कुरा कल्पना पनि गर्न सक्तिनँथेँ। उहाँ श्री सिंहवाहिनी माध्यमिक विद्यालयमा विज्ञान-शिक्षक हुनुहुन्थ्यो। मेरो बिहे केही गरे अर्को मानिससँग नहुने देखेपछि उहाँले नै भन्नुभयो- “निर्मला ! तिमी एउटा छोरो पाऊ न त। हेर जिन्दगी एक्लै कसरी कट्‍छ ? म कहिलेसम्म तिमीलाई साथ दिनसक्छु थाहा छैन।” मलाई थाहा थियो उहाँको बाध्यता। बाध्यताले बाँधिएको मानिसलाई मैले कति माया गरेँ कति। मलाई त अरू के चाहिएको थियो र ? त्यस दिन उहाँले मलाई जुन सुख दिनुभयो त्यसको त म बयानै गर्न सक्तिनँथेँ। हामी एकाकार भयौँ। हाम्रा मन मिले, तन मिले। त्यस दिन उहाँ मेरो हृदयको सबैभन्दा नजिक पुग्‍नुभयो। त्यस दिन उहाँबाट छोरो निस्केर मभित्र पस्यो।

केही महिनापछि त्यही छोराले रूप देखाउन थाल्यो। अब त गाउँलेले उछितो काढ्न थाले। मेरो र उहाँको सम्बन्ध जति नै गाढा भए पनि समाजका लागि, मेरा घरका लागि सुपाच्य थिएन। सोच्यौँ, विचार्‍यौँ र एउटा उपाय निकाल्यौँ। उहाँले मलाई विराटनगरमा एउटा कोठामा ल्याएर थन्क्याउनुभयो र आफू चोखो पल्टिन गाउँ फर्किनुभयो। पछि मैले थाहा पाएँ गाउँमा गएर उहाँले गाउँलेको सातो लिनुभएछ- “मैले निर्मलालाई भगाएँ रे ? खै देखाओ ! मलाई गाउँका केटी भगाउने देख्यौ ?”

अब मेरा दुर्दिनहरू सुरु भए। नजानेका मान्छे, नचिनेको सहर। श्री भवनाथ झाले छोडेर गएका पैसाले सौदा ल्याउँदै खाना एक्लै पकाउँदै खानुपर्ने। आपत् ! ग्यासमा खाना बनाउन न कसैले सिकायो न आफूले सिक्‍ने मौका पाएँ, लक्ष्मीपुरमा ग्यास चलाउने कुरै भएन। अरूबेला बाहिर जाँदा केको चासो थियो र ? जे होस् भाँडामा हालेर ग्यास बालेपछि पाक्दो रहेछ र मात्रै नत्र काँचै खानुपर्ने। अबको काम थियो पकाउनु, खानु र कोठामा एक्लै बसिरहनु। गर्भमा शिशु छ। त्यसका लागि। मेरो भविष्यको सहारा होला कि ? छोरी जन्मी भने र मजस्तै भई भने ? चिसो पसिरहन्थ्यो मनमा। दुई महिनामा एकपल्ट मेरा उहाँ आउनुहुन्थ्यो मसँग दुई दिन बस्‍नुहुन्थ्यो र फर्किनुहुन्थ्यो। तनावैतनावमा बिते ती गर्भावस्थाका दिनहरू। मेरा आफन्तहरू आउँथे मसँग कहिलेकाहीँ भेट गर्न । अहिले म सम्झन्छु तिनीहरूको अनुहारको भाव। ती सबै अनुहारहरूमा घृणा र खुच्चिङ लुकेको हुन्थ्यो। त्यस बेला त म त्यस्ता भावहरू पढ्न सक्तिनँथेँ। म उनीहरूलाई सुखी छु भनेर देखाउन खोज्थेँ। कति गाह्रो हुन्थ्यो मलाई अभिनय गर्न। मनमा एकथोक र अनुहारमा अर्कैथोक। आखिर जिन्दगी नै अभिनय रहेछ। बस फेरि कतै रोकिएको छ। मेरा आँखाले फेरि अघि बसमा चढेकी ‘गर्भवती म’लाई खोजे। अरे ! उनी त छैनन्। कतिबेला कहाँ हो बसबाट उत्रिसकिछन्।

त्यहाँबाट एक महिला र एक पुरुष बसमा चढे। उनीहरूको कुरा सुन्दा उनीहरू शिक्षक-शिक्षिका रहेछन्। उनीहरू अहिलेका परीक्षाहरूमा हुनेगरेका विसङ्गतिका बारेमा कुरा गर्दै थिए। विसङ्गति, के हो यो ? उनीहरूले जे कुरा गरिरहेका थिए, त्यसबाट त म पहिले नै गुज्रिसकेकी छु। मलाई थाहा छ पढ्नुको साटो मैले के गरेँ श्री भवनाथ झासँग। श्री भवनाथ झाले मसँग जे गरे त्यसको क्षतिपूर्ति गर्न खोजे, मलाई एस.एल.सी पास गराएर, शिक्षा-सेवा आयोग पास गराई जागिर खुवाएर र मलाई छोरो दिएर। आज मसँग मैले आर्जन नगरेको प्रमाणपत्र छ, अर्कैद्वारा पास गराइएको जागिर छ र श्री भवनाथ झाको छोरो छ। ती शिक्षकशिक्षिकाहरूको कुरा म अहिले राम्ररी बुझिरहेकी छु। परीक्षाको विसङ्गति के हो मलाई अब थाहा भएको छ।

उः कोसी ब्यारेज पनि आइपुगेछ। कोसीको पानी सलल बगिरहेको छ, तलतिर। पानी तल बग्‍नु त प्रकृति नै हो, पानी कैले उकालो बग्दैन। तर जीवन, जीवन त ओरालो बग्‍नुपर्ने होइन। के मेरो जीवन मैले गर्दा ओरालो बग्यो त ? मैले मेरो जीवन ओरालो बगेको छ भनेर थाहा पाएदेखि उकालो लाने प्रयास गर्दै छु। तर बाटाहरू सीमित र साँघुरा छन्। जतिबेला जीवन अगाडि बाटाहरूको कमी थिएन, त्यसबेला मैले बाटो रोज्न जानिनँ। अब के गर्नु र ? समयलाई उल्टो बगाउन सकिँदैन। मैले मेरै जीवनलाई कति पटक यो यात्रामा भेटिसकेँ। अरूका नजरमा जे भए पनि, कुनै बेला लाग्छ यही त हो जिन्दगी ?

कोसी तरियो।एउटा खड्‌गो कट्यो। अब त विराटनगर पुगिन्छ छिट्टै। विराटनगर गएर फेरि पुस्तकहरू किन्नु छ। आफ्नो जीवनको बाँकी भागलाई यो छोरो पढाउन र पढ्न खर्च गर्नु छ। शिक्षिकाको जागिरले भात खान दिएकै छ। मैले जानेर वा नजानेर गरेका भूलहरूलाई कोसीपारि नै छाडेर अगाडि बढ्नु छ। यो कोसी-तराइलाई मैले ठूलो खड्‌गोको रूपमा लिएकी छु। अब म कोसी तरेर फेरि श्री भवनाथ झालाई भेट्न जनकपुर जानेछैन। मैले मेरो यात्रा अनौठो हिसाबले तय गर्नु छ। मेरा छोरालाई स्वावलम्बी बनाउनु छ, मै पनि आत्मनिर्भर बनिरहनु छ।

यी सबैभन्दा धेरै मलाई लक्ष्मीप्रसाद देवकोटासँग विचार-विमर्श गर्नु छ, गुरुप्रसाद मैनालीका कथा भन्नुछ, विश्वेश्वरप्रसाद कोइरालासँग तर्क गर्नु छ, भूपि शेरचनलाई चिन्नु छ, बालकृष्ण समसँग नाटक खेल्नु छ, रवीन्द्रनाथ ठाकुरका गीत, कथा र कवितामा नुहाउनु छ, प्रेमचन्दका कथा र उपन्यासहरूमा डुब्नु छ, चेखब, गोर्की र टोल्सटोयका रचनाहरूसँग भोदका खानु छ। मोपासा, ओ हेनरी, हेमिङ्गवे, इलियट, वर्डसवर्थसँगै बसेर सेम्पेन पिउनु छ। मिर्जा गालिबलाई पिएर मातिनु छ।

विराटनगरबाट मैले एक अर्को नवीन यात्रा सुरु गर्नु छ । जनकपुरबाट विराटनगर पुग्‍न लाग्दा जति मैले जीवनलाई भेटेकी थिएँ, त्योभन्दा अझ उच्चस्तरको जीवनलाई भेट्‍तै जानु छ। अब ममा यात्रा सुरु गर्दाको निस्सारता छैन। मैले उज्यालो बिहानी भेटिसकेकी छु।

Bishwa Raj Adhikari – Ghar Bhitra Harayeko Mero Ghar

विश्वराज अधिकारी – घर भित्र हराएको मेरो घर

डेरामा बस्दा बस्दा दिक्क लागिसकेको थियो। एक वर्ष हो, दस वर्ष भएको थियो डेरामा बसेको। यस यल सी दिएर जब म पहाडबाट काठमाडौ आएँ यस्तै २०५० तिर हुनु पर्दछ, त्यो बेलादेखि डेरामा बसेको थिएँ। दस वर्ष डेराको बसाइमा डेरा पनि दस ठाउँमा सरेको हुँला। घर धनीहरु पनि थरि थरिका देखें। भोगें तिनीहरुलाई। त्यो दस वर्षमा संगाले, विभिन्न किसिमका अनुभवहरु, देखें मानिसका विभिन्न थरिका आडम्वरहरु, घमण्डहरु, मान्यताहरु, विश्वाशहरु, अन्धविश्वासहरु। नयाँ वानेश्वरको डेरामा बसेको भने कहिले बिर्सन सक्तिन। डेराहरुको बसाइको सम्झना आउने बित्तिकै वानेश्वरको बसाइको याद तुरुन्त आउँछ।

नया बानेश्वरको डेरामा बस्दा नै मेरो भेट आकृतिसँग भएको थियो। त्यति खेर म आइ कम मा पढ्थे, कुरा २०५२ सालतिरको हो। म जुन घरमा बस्थे, त्यै घरको छेउको घरमा आकृतिको डेरा थियो। आकृति आफ्नी दिदीसँग बस्ने गर्थिन। उनीसँगको भेटको सँयोगको पनि आफ्नै राम कहानी छ। कहानी के थियो भने – हाम्रो घरमा ठूलो पानी टंकी थियो, पानीको ज्यादै अभाव नहोस भनेर बनाइएको। वाटर सप्लाइ र रोअर पम्पको पानी मिसाउँदा पानीको अभाव पटक्कै हुन्थेन। तर आकृति बसेको घरमा भने जहिले पनि पानीको अभाव हुने। उनी बसेको घरमा कोठा धेरै तर पानीको टंकी भने अति सानो। दुइ आना जग्गा, घर भने पाँच तल्ले। म बसेको घरमा भने बस्ने मान्छेहरु कम तर पानीको टंकी ठूलो। दुइ तल्ले घरमा जम्मा चार जना। पहिलो तल्लमा हामी दुइ भाइ, दोस्रो तल्लामा घर धनीका दुइ भान्जाहरु। घर धनी अमेरिकामा बस्थे। त्यहाँको कुनै ठूलै शहरको युनिभर्सिटीमा पढाउथे। आफ्नो घर हेर्न भनी मामाले ती भान्जाहरुलाई राखेका थिए। त्यो घरमा पानीको व्यवस्था मिलाउने काम मेरो थियो। भान्जाहरुले त के गर्थे, मामाको पैसामा पुल पुलिएर बसेका ती भान्जाहरु। बिहान घरबाट हिँडेका ती भान्जाहरु राति कुनै बेला आउँथे थाहा नै हुन्थेन। राति ढिलो आँउदा मैले नै ढोका खोलिदिनु पर्ने भएकोले थाहा हुन्थ्यो तिनीहरु आएको। ढोका खोल्नु पर्ने नभएको भए त्यो पनि थाहा हुन्थेन। उनीहरुले आफ्नो दैनिकीको हिसाब किताब कसैलाई बुझाउनु पर्थेन।

आकृतिले पानी माग्नु परे मसँग नै माग्नु पर्थ्यो। पानी माग्न प्राय आइ नै रहन्थिन। पानी माग्दा माग्दै एक दिन मन पनि मागिन। दिएँ मन पनि। म बसेको घरको टंकी ठूलो भए झै मेरो मन पनि ……………….। म अलि सोझो मान्छे, उनले मेरो मन मागेको पनि एक वर्ष पछि थाहा पाएँ। एक वर्ष पछि थाहा पाउने मूर्ख नभए अरु के हुन सक्छ। कहिले काहि धेरै भलादमी हुनु कायर र मूर्खताको सम्मिश्रण हुँदो रहेछ।

आकृतिले पानी माग्ने नाता झाँगिन थालेको मैले थाहा नपाउनुमा दुइवटा ठूला कारणहरु थिए। पहिलो थियो मेरो डर। म डराउँथे मैले कुनै किसिमबाट आफू उनीतिर आकृष्ट भएको देखाएमा उनी रिसाउने हो कि र त्यसैले पनि उनको मनको कुरा थाहा पाउन सकेको थिइन। उमेरमा कुनै पनि पुरुष कुनै पनि महिला प्रति छिटै आकर्षित हुने विशेष व्यवहार देखाउन चाँहन्थिन म। दोस्रो कारण थियो म जहिले पनि पढाइ र जागिर खोज्नमा व्यस्त र मस्त हुन्थेन। मेरो आँखामा जहिले पनि एउटा सपना घुमिरहेको हुन्थ्यो। त्यो सपना थियो अलि चल्ने विषय पढेर राम्रो डिभिजनमा पास गर्ने अनि राम्रो पैसा आउने जागिर समात्ने। राम्रो डिभिजनमा पास हुनका लागि कडा अध्ययन गर्नु पर्ने भएकोले म जहिले पनि पढ्नमा व्यस्त हुन्थे। कोठामा आएर पढ्नु बाहेक मेरो अर्को कुनै काम नै हुन्थेन भने पनि हुन्छ। नाता गोता, साथी भाइहरु कहाँ पनि खास जान्थिन। मेरो दिनचर्या टाँगाको घोडा जस्तो थियो विहान क्याम्पस जाउ, फर्क, त्यस पछि अफिस जाउ अनि फर्क।

घटना यस्तै २०५२ सालको अन्ततिरको हो। एक दिन म कोठामा पढिरहेको थिएँ, साझको बेला थियो, आकृति पानी माग्न आइन। पानी थाप्न मैले बाथरुमको ढोका खोलि दिएँ। आफू फेरि कोठामा आएँ। आकृति बाथरुममा पस्नुको साटो मेरो कोठाको अगाडि उभिन। कोठा अगाडि निकै बेर उभिएको देखे पछि मैले मेरो कोठा भित्र आउन भन्नु त पर्यो नि। मैले कोठा भित्र आउन भने। उनी कोठा भित्र आइन। हामी दुइ बिच लामो समयसम्म गहिरो कुराकानी भयो। र त्यस पछि शुरु भयो उनी मेरो कोठामा आउने अनि लामो समयसम्म कुराकानी गर्ने सिलसिला। त्यस दिन देखि हामी दुइ भावनात्म र भौतिक दुबै रुपमा नजिक हुन पुगेका थियौ। त्यै दिन आकृतिले मलाई मन पराएको प्रष्ट रुपमा भनेकी थिइन। म पनि कस्तो, हुस्सु भनौ या ज्यादै भलादमी ,त्यो दिन पनि मैले भन्न सकेको थिइन, आकृति म तिमीलाई मन पराउँछु भनेर। उनले मलाइ मन पराउँछु भने पछि मात्र आफूले पनि मन पराएको तथ्य जाहेर गरे। तर आकृतिले मलाई मन पराएको कुरा उनको मुखबाट सुन्दा मलाइ अलि अनौठो र रोमान्चक दुबै लागेको थियो। अनौठो किन लागेको थियो भने मैले बुझ्न र भन्न नसकेको कुरा आकृतिले बुझेर र मेरो अगाडी बिना कुनै संकोच प्रष्ट रुपमा भनिदिएकी थिइन। म आफूलाई ज्यादै भलादमी या कायर, के भनौ, आफूले कसैलाई मन पराएको पनि भन्न नसक्ने।

आकृतिसँगको प्रेम प्रसंग्ङले मलाई एउटा, मेरो बुझाइमा, जीवन उपयोगी दर्शन बोध गराएको थियो, र त्यो दर्शन थियो, ज्यादै भलादमी हुनु पनि कुनै परिस्थितिमा, कायर हुनु सरह हुँदो रहेछ। खास अवस्थामा अलि सार्हो अलि………. त्यस्तै ………..पनि हुनु पर्दोरहेछ।
त्यो घटना पछि मेरो र आकृतिको भेटघाट प्राय जसो नियमित रुपमा हुन थाल्यो। मेरो आइ कम सकिन थालेको थियो। आकृतिको भने आइ कम शुरु मात्र भएको थियो। पढाइको कारण दर्शाएर पनि आकृति मेरो कोठामा आउन सजिलो भएको थियो। हुनत आकृतिको दिदीले हामी बिचको सम्बन्ध थाहा पाई सकेकी थिइन । तर छर छिमेककाहरुले दस थरिका कुराहरु गर्ने हुनाले आकृतिले मसँग ट्युसन पढ्न आएको भनी अरुलाई भन्न सजिलो भएको थियो म सँग नियमित किसिमले भेट्न आउँदा।
२०५३ सालमा हामी, म र आकृति विवाह बन्धनमा बाँधियौ। विवाह ज्यादै सामान्य किसिमबाट भएको थियो। घरबाट आमा र बा मात्र आउनु भएको थियो, काका काकी, फुपुहरु आउनु भएको थिएन। विवाह ज्यादै छोटकरीमा गुहेश्वरीमा गर्ने भनिएकोले मेरो घरतिरका धेरैले चाहेर पनि आउन सकेका थिएनन् त्यो विवाहमा। सानोतिनो खर्चमा विहे सकियो। त्यस्तै आकृतिको घरतर्फबाट पनि भएको थियो। तर मेरो एउटा ठूलो सपना भने पूरा हुन पाएन त्यो विहेमा। सपना के थियो भने विहे आफ्नो घरबाट गर्ने, डेराबाट होइन।

२०६० सालमा मैले मास्टर डिग्री सक्याएँ। पढ्दै जागिर गर्दै गर्दा जागिर पनि राम्रो नै पाएको थिएँ। एउटा गैरसरकारी बैकको शाखा प्रबन्धक जस्तै भएको थिएँ, बि कम पढ्दा खेरि नै। तर मेरो अलि गतिलो आम्दानी गरेर घर बनाउने इच्छा पुरा हुन सकिरहेको थिएन, त्यो आम्दानीले। हुन त आम्दानी नराम्रो थिएन तर आम्दानी बढ्दै जाँदा जिवनस्तर पनि ह्वातै बढेको हुनाले बचत गर्न सकिएको थिएन। उता काठमाडौमा एउटा गतिलो घर बनाउने मेरो इच्छा झन झनै आकासिंदो थियो।
देशमा काहाली लाग्दो द्वन्द एकतिर, घर बनाउन जसरी पनि कमाउनु पर्छ भने उच्च आकांक्षा अर्कोतिर, यी दुइको चेपुआमा परेर म २०६१ सालमा म कतारको राजधानी दोहा पुगे।
दोहा आए पछि मैल तलबबाट राम्रो आम्दानी गर्न थाले, राम्रो तलब आउने जागिर पाएकोले । तर बडो हिफाजत साथ खर्च गरेर गतिलो बचत काठमाडौ पठाउन थाले।

विदेश कमाउन जाने, पाँच सात वर्ष टन्न कमाएर काठमडौमा घर बनाउने अनि विदेशबाट फर्के पछि हातमा रहेको पैसा बैकमा राखेर मस्तसँग बसेर खाने। त्यसैल जसरी भए पनि कमाउन विदेश जाने। मेरा यी इच्छा र लालसाहरु आकृतिलाई पटक्कै मन परेको थिएन। उनी जहिले पनि भन्थिन- जे जस्तो कमाई छ त्यसमा नै पुराएर आफ्नै देशमा बस्नु राम्रो हो। हामी डेरामा बस्दा मलाई डेराको बसाई दिक्दारी लागेता पनि, साथीहरुलाई म डेरामा बस्छु भन्दा लघुताभास भएता पनि आकृतिलाई त्यस्तो कहिले पनि भएन। जहिले पनि उनीलाई हाँसी खुसी नै देख्थे। काठमाडौमा डेरामा बस्दाको आफ्नै किसिमका पिडाहरु, जुन बयान गर्न पनि सकिँदैन, त्यस्ता डेराहरुमा बस्दा पनि आकृतिले दिक्क मानेको मैले कहिले पाइन।

एक चोटी डेरा सर्ने क्रममा म बुध्दनगरको एउटा घरमा पुगे। हाम्रो विहे भएको पाँच वर्ष पछिको कुरा हो, आकृति सुत्केरी हुने थिइन, त्यति बेला। त्यो घरमा सरेको भरखर छ महिना मात्र भएको थियो। एक दिन घर धनीले आएर भने – तपाँईहरु बसेको कोठा हामी आफैलाई चाहियो। मेरी श्रीमति सुत्केरी हुने छिन। उनलाई सहयोग गर्न आउने मान्छेलाई राख्न थप कोठा चाहियो। घर धनीको कुरा सुने पछि एकै छिन म अक्क न मक्क भए। डेरा सरेको छ महिना पनि भएको थिएन। मैले घरधनीलाई भने – हेर्नुस, मेरी पत्नी सुत्केरी हुने छिन, पाँच महिना पछि, यस्तो बेलामा कहाँ जाउँ म डेरा खोज्न। मेरो अनुरोधको कुनै असर ती घर धनी माथि परेन। उनले भने -त्यो तपाँइको समस्या हो मेरो होइन।

केही सिप नलागेर घर धनीले सूचना दिएको एक महिन पछि बुध्दनगरमै अर्को घरमा डेरा सरे। तर मलाई कौतुहलता लागेको थियो, किन ती घर धनीले यसरी हामीलाई हटाए आफ्नो घरबाट। मैले वा आकृतिले त्यस्तो कुनै काम गरेका थिएनौ। जम्मा हामी दुइ जना थियौ उसको घरमा बस्ने। पछि थाहा भयो आकृति सुत्केरी हुने भएकोले त्यस्तो अवस्थाको महिलाले घर धनीकी पत्नी( सुत्केरी हुने अवस्थाकी) लाई हेर्न वा छुन हुँदो रहेनछ। छोएमा नराम्रो हुने उनीहरुको विश्वास थियो। जे होस, जस्तो सुकै डेरामा बस्दा पनि, अर्को डेरामा सर्दा पनि त्यो घटनालाई जीवनलिलाको सामान्य अंश मानेर आकृतिले कहिले पनि यस्तो उस्तो भनिन। बरु रमाएको जस्तो देखिन, जहिले पनि। प्राय आकृतिले दार्शनिक किसिमले भन्ने गर्थिन – कस्तो घरमा बसिएको छ भन्ने कुरा ठूलो होइन त्यो घरमा कति सन्तुष्टिका साथ मिलेर बसिएको छ त्यो ठूलो कुरा हो। घरका सदस्यहरु मिलेर रमाएर बस्नु ठूलो कुरा हो। तर म आकृतिसँग सहमत हुन्थिन। मेरो सपना -काठमाडौमा एउटा सुबिधासम्पन्न घर हुनु पर्छ भन्ने तर्कको अगाडि उनको केही लाग्थेन।

२०६३ सालमा आकृतिले मेरो निर्देशन अनुसार बुद्धनगरमा जग्गा खरिद गरिन। घर बनाउन पनि आरम्भ गरिन। २०६५ सालमा घर बनेर तयार भयो। घर सम्पन्न हुँदा सम्ममा करीब एक करोड जति खर्च भयो। आफूसँग भएको बचतले नपुगेर केही रकम साथीहरुसँग पनि लिए। तैपनि पुगेन, बैंकसँग ऋण लिएँ। तर जे होस, भने जस्तो, मैले सपना देखे जस्तो घर तयार भयो। दुइ तल्ले घरमा तल्लो तल्ला भाडामा थियो। माथि आकृति बस्थिन। एउटा काम गर्ने सहयोगी थियो उनको साथमा। पहिलो सन्तान जन्मेको एक वर्ष पनि बाँच्न सकेन। दस महिनामा नै बित्यो। अर्को सन्तान भएन त्यस पछि। दोस्रो पटक सुत्केरी हुने भएकी थिन आकृति तर गर्भ रहेको छ महिनामा नै बच्चा गयो। सन्तानको रुपमा आएको पहिलो बच्चा छोरो थियो भने छ महिना पनि पुरा नरहेको गर्भमा छोरी थिई रे।

२०६६ सालको साउन महिनामा म नेपाल फर्के, कतार सँधैका लागि छाड्ने गरी। कतारबाट हिँडने बेलामा पुरा अठोटका साथ फर्केको थिए, अब सँधै नेपालमा बस्ने भनेर। दोहामा साथीहरुले रोकेका थिए, फेरि नफर्किने गरी नजाउ भनेर। मेरा घनिष्ट मित्रहरुले भनेका थिए -देशको स्थिति त्यस्तो छ, फर्केर तिमीलाई फ्रस्टेसन बाहेक केही पनि हुँदैन। बरु एक महिनाको बिदा लिएर जाउ। तर मैले उनीहरुलाई भने- होइन, मैले अब जाने निधो गरिसकेको छु।

जब म काठमाडौ फर्के, घर देखेर दङ्ग परे। मैले जस्तो नक्सा कोरेर पठाएको थिएँ, ठिक त्यस्तै घर बनेको रहेछ। घरको संरचना त मैले चाहे अनुसारको थियो थियो नै, त्यो घरको भित्री सजावट ‍पनि मेरो योजना अनुसारको थियो। मैले मेरो कल्पना साकार भएकोमा आकृतिलाई निकै धन्यवबाद दिएँ। प्रशंगवस वा विना प्रशंग पनि म मेरो घरको तारीफ गर्थ्ये। मान्छेको अगाडि घरको प्रशंसा गर्दा आकृतिको पनि उत्तिकै प्रशंसा गर्थे। र मान्छेहरुलाई भन्थे – मेरो दायित्व त पैसा पठाउनु मात्र थियो। यो घर बनाउने त खासमा आकृति हुन। यसको श्रेयता आकृतिलाई जान्छ। तर अचम्म, यी सब कुराहरु सुनेर आकृतिको मुहारमा खुसीको चमक भने देखिन्थेन। मैले उनको योगदानको प्रशंसा गर्दा उनी केही प्रतिक्रिया दर्शान्थिन। उनको मुहारमा भाव शून्यता हुन्थ्यो।

दोहाबाट फर्केपछि मैल आकृतिको व्यवहारमा निकै ठूलो अन्तर पाएँ। सानो सानो कुरामा पनि उनी रिसाउँथिन। उनीबाट कुनै कुरा विस्तारमा जान्न खोज्यो भने मैले उनीमाथि संका गरेको भन्ठान्थिन। म दिन भरि जसो घरकै अनेक काममा व्यस्त रहन्थे। र त्यस्तो गर्दा मलाई रमाइलो लाग्थ्यो पनि। घरका सजाबटका धेरै सामानहरु किन्न बाँकी थियो। रङ्ग रोगन गर्न पनि बाँकि थियो। म चाहन्थे आकृति पनि म सँगै हिँडुन त्यस्ता सामानहरु किन्न। तर मसँग बजार जान आकृति पटक्कै रुचाउँथिनन्। बजार जानु पर्छ भन्यो कि उनी भन्थिन -म यो घर बनाउँदा बनाउँदा थाकि सकें। तपाई आइ हाल्नु भयो अब बनाउनुस बसेर। तपाइललाई यस्तो कार्य गर्न रमाइलो लाग्छ पनि र फुर्सत छ पनि। के गर्ने, म एक्लै जान्थे बजारतिर। प्राय बजारबाट म घर फर्किँदा आकृति घरमा हुन्थिनन्। साँझमा आउँथिन। साँझ हुँदासम्म बाहिर किन बसेको, किन ढिला आएको भनि सोध्दा झर्केर जबाफ दिन्थिन। एक दिन झमक्क साझ परे पछि बाहिरबाट आइन। किन ढिलो गरि आएको, कस कहाँ गएको भनी सोध्दा उल्टो रिसाएर भनिन म कहाँ गए कसलाई भेटे सबै कुराको हिसाब किताब बुझाउनु पर्छ। एक दिन त राति दस बजे आइन। किन ढिलो आएको भनी मैले सोधे। आकृतिले राम्रो जबाफ दिनुको साटो झगडा पो गर्न थालिन। हामी बीच निकै बेर झगडा पनि भयो। त्यो रातिको घटना पछि आकृति जति ढिलो गरी आए पनि मैले कहाँ गएको किन ढिलो गरी आएको भनि सोध्न लगभग बन्द नै गरे। दिउँसो कतै जाँदा पनि मैले कहाँ जान थालेको कुनबेला आउने हो भनि सोध्न बन्द गरे। आकृति घरमै हुँदा पनि हामी बिच केवल औपचारिक कुराहरु मात्र हुन्थे। पति पत्नी बीच हुने किसिमको कुराकानीको क्रम लगभग बन्द नै भइसकेको थियो।

दोहाबाट म फर्केको दुइ महिना भइसकेको थियो। यो दुइ महिनामा हामी बीच सम्बन्ध राम्रो हुनुको साटो झन झन बिग्रिदै गएको थियो। एक दिनको कुरा हो मैले हाम्रो सुत्ने कोठामा टेबुलमाथि पुरुषले लगाउने सन ग्लास फेला पारे। त्यो सन ग्लास राम्रो गरी निरिक्षण गरे। मेरो सन ग्लास थिएन त्यो। भाइले भैसेपाटीमा घर बनाएर बसेको थियो, उसलाई नबुझिने गरि, कुनै खास किसिमको प्रसँगमा मिलाएर त्यो सन ग्लास बारे सोधे। त्यो सन ग्लास उसको रहेनछ भनी उसले प्रष्ट पार्यो। त्यो सन ग्लासले मेरो संकाको सीमानालाई झनै बिस्तारित पारेको थियो।

अर्को दिन यसै गरी म हाम्रो बेड रुममा सजावटका सामानहरु मिलाउँदै थिए, मेरो आँखा दराजको तल रहेको एक जोर मोजामा पुग्यो। त्यो मोजा हेर्दा प्रष्ट रुपमा थाहा हुन्थ्यो, कुनै पुरुषले लगाउने हो भनेर। मोजा नया थिएन। लगाएको मोजा थियो त्यो।

यसै गरी एक दिन म बेडरुममा रहेका फर्निचरहरु मिलाउँदै थिए, मेरो पढ्ने टेबलमा मैले एउटा पुस्तक देखे। त्यो टेबल मेरो विद्यार्थी जिबनदेखिको रहेकोले बडो हिफाजतसाथ त्यसलाई राखेको थिए र त्यो कुरा आकृतिलाई पनि थाहा थियो। कवितै कविता भएको पुस्तक थियो त्यो। त्यो पुस्तक मेरो थिएन। मलाई साहित्य त्येति मन पर्दैन पनि। आकृतिको पनि साहित्यमा पटक्कै रुचि थिएन। त्यो किताब आयो कहाँबाट? यो प्रश्नले पनि मलाई निकै पिरोल्यो। आजसम्म पनि त्यो प्रश्नको उत्तर पाउन सकेको छैन मैल।

म संकाको दलदलमा झनै भास्सिन थाले। तर पनि मैल आकृतिलाई न त्यो सन ग्लासको, नत त्यो मोजाको बारेमा सोधे। न त त्यो किताबको बारेमा नै।

आकृतिको रुखो व्यवहारमा कुनै पनि किसिमको सकारात्मक परिवर्तनको लक्षण देखा परिरहेको थिएन। म पनि अलि बढी नै संकालु हुन थालेको थिएँ कि, म बुझ्न सकिरहेको थिन। एउटै छाना मुनी हामी भएता पनि बडो अचम्मको मनोवैज्ञानिक स्थितिमा थियौ हामी।

मंसिर महिनाको अन्ततिरको कुरा हो, बडो डरलाग्दो दुख:द घटना भयो। आकृतिले विष सेवन गरिन। राति एक दुइ बजेतिर उनले विष खाएकी थिन, त्यस्तो लग्थ्यो। त्यो रात म बैठकमा सुतेको थिएँ। राति ढिलोसम्म फिल्म हेरेको हुनाले बैठक बसेको थिएँ म । कुन बेला निद्रा पर्यो थाहा भएन। फिल्म हेर्दा हेर्दै सोफामा म निदाउन पुगेको थिएँ। टि भि पनि अफ गर्न सकेको थिन। विहान तिन बजेतिर आकृति कराएको आबाज सुत्ने कोठाबाट आएको हुनाले डराएर दौडिदै म त्यो कोठातिर गए। आकृति रोइरहेकी थिन। उनले रुँदै भनिन -मैले प्वाइजन खाएको छु, ज्यादै हेभी डोज। त्यसैले मलाइ बचाउने कोशिस नगर्नु होला। र मलाई बाँच्ने इच्छा छैन पनि।

हतारिँदै भाइलाइ फोन गरे। साथीहरुलाई पनि फोन गरे। छिमेकीहरुको सहयोगमा आकृतिलाई अस्पताल पुर्याए। अस्पताल पुर्याएको तीन चार घण्टा पछि डाक्टरहरुले उनलाई मृत घोषणा गरे।

आकृति बितेको एक महिना भयो। यो एक महिनामा कसरी बित्यो, कस्ता कस्ता डरलाग्दा बिचारहरु मेरो दिमागमा आए त्यसको कुनै लेखाजोखा छैन।

कस्तो अचम्म, जुन बेला मसँग घर छ, यो घर भएको अवस्थालाई मैले घर मान्न सकिरहेको छैन। आकृति छैनन् मेरो साथमा, घरको अनुभूति छैन। इट, ढुङ्गा, सिमेन्ट, फलामको घर हुँदो रहेनछ। जति बेला मेरो आफ्नो घर थिएन, म डेरामा बस्थे, त्यो नै घर थियो किनभने अहिले जस्तो म नितान्त एक्लो थिइन, त्यहाँ। जति सुकै वर्ष म डेराहरुमा बसेता पनि ती डेराका बसाइहरु नै मेरो लागि घर थिए किनभने साथमा मेरो परिवार थियो त्यहाँ, आकृतिको साथ थियो, त्यहाँ। घर बनाउने सपनाको पछि लागेर महँगो घर त बनाए तर त्यो घर बन्दा बन्दै, म मेरो घरदेखि धेरै टाढा पुगेछु।

यो समय बिन्दुमा म सोँचदै छु, गल्ति मेरो नै हो। मैले घर त दिएँ आकृतिलाई, समय दिन सकिन।

Basudev Guragain – Satta Ko Sinu

वासुदेव गुरागाईं – सत्ताको सिनु

विश्व ब्रह्माण्डको कुनै एक कुनामा एउटा सानो देश थियो । सानो भईकन पनि त्यस देशमा उपलब्ध नहुने चिजवस्तु केही थिएन । सबै किसिमको भौगोलिक उपलब्धता रहेको त्यस देशमा प्रचुर मात्रामा नदीनाला र वनजङ्गल पनि थियो । हराभरा डाँडापाखा, हिउँदबर्षा हरबखत कलकल सङ्गीत भरेर नाच्दै दौडिरहने नदीनाला, स्थिर आसनमा रमाएका सेता हिमाल र अन्य कतिपय मनोरम वातावरणले त्यस देशको सुयश विश्वका अन्य कुनाकाप्चामा पनि पैmलिएको थियो । सधैँको हराभरा भूमि, चिसो पानी र प्रिय वातावरणले त्यहाँका सबै प्राणी मुग्ध थिए । रमाइरमाइ आ–आफ्ना गुजारा चलाइरहेका थिए ।

एकाएक त्यस देशमा अन्य प्राणीका तुलनामा स्यालको सङ्ख्यामा निकै बृद्धि हुन थाल्यो । मान्छेहरु जङ्गल त के गाउँका बस्ती र सहरमा समेत हिँडडुल गर्न डराउन थाले । ‘के दिन के रात, के बिहान के साँझ’ स्यालहरुको हुइँया मान्छेका बस्तीबस्तीमा घन्कन थाल्यो । स्यालहरु मान्छेका अधीनमा बस्न पटक्कै रुचाउँदैनथे । तिनलाई अनुशासनमा राखी ठेगान लगाउन सक्ने अरु ठूल्ठूला पशुहरु पनि त्यतिखेर त्यहाँ थिएनन् । न त तिनलाई बलियोसँग बाँध्न सक्ने कागजी दाम्लो नै त्यहाँ बाट्न भ्याइएको थियो । त्यसैले पनि स्यालका खुट्टा भुइँमा थिएनन् । मिठोमिठो आहाराका लागि तिनीहरु यत्र–तत्र–सर्वत्र जहाँ पायो त्यहाँ दौडिन थाले । जसले जे लुछ्न सक्छ त्यही लुछ्न थाले । ठूला स्यालले ठूला भाग र साना स्यालले सानै भाग लुछ्न थाले । लुछ्नु तिनको संस्कृति बत्र पुग्यो ।

यसरी एकाएक स्यालको बिगबिगी बढ्दै गएपछि त्यसको न्यूनीकरणका लागि बस्तीका मान्छेहरु आपसी सरसल्लाहमा जुटे । स्याललाई निर्मुल नै गर्ने सोच कसैको थिएन । केवल तिनको स्वभावसँग मात्र बस्तीका मान्छे आजित भएका थिए । स्यालको बिगबिगीबाट मान्छेका बस्ती कसरी जोगाउने भत्रे चिन्ताका विषयमा मात्र तिनीहरुका बीच छलफल हुन थाल्यो । कसैले के भने कसैले के । विचारमा मतैक्यता भएन । तैपनि तिनको अभियानमा कुनै विचलन आएन । छलफललाई निरन्तरता दिँदै गए । ‘वादे वादे जायते तत्व बोध’ भनेभैmँ पछि गएर यस प्रयासले केही सकारात्मक विन्दु फेला पा¥यो ।

गाउँबस्ती र सहरमा जहीँतहीँ दुःख दिने ती स्यालहरु सबै एकैनासका थिएनन् । कोही झालेमाले, कोही ध्वाँसे । कोही घोर्ले, कोही सिँगारे । कोही राता, कोही पहेँला । कोही आफ्नै बस्तीमा जन्मेहुर्केका, कोही रातसाँझ अन्यत्रबाट प्रवेश गरेका । बसाइस्थान अनुसार कसैको कस्तो, कसैको कस्तो रुप । हावापानी, भौगोलिक वातावरण र तिनको वंशजका आधारमा कराइ पनि कसैको कस्तो, कसैको कस्तो । सबैतिर विविधता । पत्याउनै पनि गाह्रो ।

जातिगत रुपमा सबै स्याल भए पनि यिनै विविधताले गर्दा तिनीहरुका बीच पनि पर्याप्त मनमुटाव थियो । मान्छेका अगाडि जातिगत हिसाबले कहिलेकाहीँ एक भएजस्ता देखिए पनि तिनीहरुबीच भित्रभित्र आपसी सद्भाव, मेलमिलाप र विश्वास पटक्कै थिएन । सबै आ–आफ्ना स्वादअनुसारको सिकारका लागि दौडिन्थे । लड्थे । स्यालका यस्ता गुह्य कुरा र व्यवहारसँग बस्तीका सबै मान्छे जानकार थिए ।

हुन त त्यस बस्तीका मान्छेको पुर्पुरो पनि त्यस्तै थियो । स्यालको बिगबिगी सुरु हुनु अघि त्यस बस्तीमा एउटा डरलाग्दो सिंहको जगजगी थियो । सिंहको त्यो जगजगी स्यालहरुको विद्यमान बिगबिगीभन्दा निकै चर्को थियो । असह्य थियो । सङ्ख्याका हिसाबले स्यालभन्दा कैयन् गुणा कम भए पनि सिंह र यसका डमरुसँग बस्तीका मान्छेहरु बढी प्रताडित थिए । बढी थिचोमिचोमा जकडिएका थिए । बढी डराउँथे । अरु त के बोल्नसम्म पनि निकै होस पु¥याउनु पथ्र्यो । बस्तीभित्र बोलेका कुनै पनि कुरा कुनै न कुनै प्राणीले सिंह कहाँ पु¥याउँथ्यो । निश्चित रुपमा त्यसको परिणाम निकै पीडादायी हुन्थ्यो । यसरी अति भएपछि बस्तीका मान्छेले सिंहको अस्तित्व नै लोप हुने गरी तिनलाई बस्तीबाट हटाएका थिए ।

सिंहको जगजगीको ताजा सम्झना मनमा पालेका बस्तीका मान्छेहरु स्यालप्रति बढी नै सद्भाव राख्थे । आदर गर्थे । यिनै आस्थाका कारण चिथोराचिथोर नै भए पनि बस्तीका मान्छेहरु ती स्यालहरुसँग बोल्न कराउन कत्ति डराउँदैनथे । हाकाहाकी मुख खोल्थे । चित्त नबुझेका कुरामा दोहोरी चल्थ्यो । यस्तै कराइ र दोहोरीका कारण कहिलेकाहीँ बस्तीका एकाध मान्छेहरु अचानक अलप पनि हुन्थे । भेटिँदैनथे । ती कसरी कहाँ अलप हुन्थे बाँकी मान्छेले पत्तै पाउँदैनथे । अलप भएका व्यक्तिको खोजतलासमै कतिको जीवन नै बरबाद हुन पुग्थ्यो । तर स्यालहरुलाई मान्छेको त्यस्तो सास्ती र त्यस किसिमका अप्रिय घटनाप्रति कुनै किसिमको चासो हुँदैनथ्यो । पीडा हुँदैनथ्यो । उनीहरु आफ्नै धुनमा मस्त भएर नाचिरहन्थे ।

गाउँबस्तीका मान्छेले गाईबाख्रा र तिनको आचरण तथा व्यवहारलाई नजिकबाट नियालेर त्यसबाट प्राप्त ज्ञानका आधारमा स्याल धपाउने उपायको सूत्र निकाले । गाईबाख्रा हरियो घाँसमा रमाएजस्तै स्यालहरु पक्कै सिनुमा रमाउँछन् भत्रे अनुमानका नजिक तिनीहरु पुगे । जसरी गाईबाख्रा हरियो घाँस अघिअघि देखेपछि त्यसैका पछिपछि दौडन्छन्, त्यसरी नै अघिअघि सिनु देखाएपछि स्यालहरु पनि दौडन्छन् भत्रे निष्कर्षमा उनीहरु पुगे । निष्कर्ष निकाल्ने काम मात्र होइन, त्यस उपायलाई कार्यान्वयनमा ल्याउने सामूहिक अठोट पनि तिनले गरे ।

सबै प्राणीको बस्ती भएका ठाउँमा स्यालहरु हुनु कुनै अनौठो कुरा थिएन । यी सबै स्यालको एउटै स्वभाव हुन्छ भत्रे पनि थिएन । खासमा दुःख दिने स्यालहरु शक्तिसम्पत्र ठूल्ठूला जम्बु स्याल थिए । ती ठूल्ठूला जम्बु स्याललाई मात्र पाखा लगाउँदा पनि गाउँबस्ती शान्त हुन सक्थ्यो । समाजमा अमनचयन कायम हुन सक्थ्यो । त्यसैले बस्तीका मान्छेले तिनलाई छानीछानी एकीकृत गर्ने योजना बुने । योजना अनुसार तिनले कुनै न कुनै निहुँ बनाएर दुःख दिने त्यस्ता जम्बु स्यालहरुलाई छान्दै गए । यी मध्ये पनि कम प्रताडकलाई गाउँमै अरुको ठालु बनाएर राखे । तीभन्दा अलि बढी प्रताडकलाई इलाका, क्षेत्र आदिमा लगेर थन्क्याए । ती भन्दा अझ बढी प्रताडकलाई जिल्लामा लगेर थुपारे ।

सिनु अघिअघि देखाइन थाल्यो । कसैले वारिबाट देखाए, कसैले पारिबाट । स्यालहरु पछिपछि दौडन थाले । गाउँ, इलाका, क्षेत्र र जिल्लामा अल्मल्याइएका स्यालका लागि पनि तिनको शक्तिअनुसार सिनुका स–साना अंश फालिए । तिनीहरु आ–आफ्नो औकातअनुसार त्यसैमा अल्मलिए । अन्त्यमा सिनुको ठूलो र अति आकर्षक हिस्सा देशको मुख्य केन्द्रमा पु¥याएर राखियो । त्यस्तो रहरलाग्दो सिनु देखेर त्यहाँ पुगेका सबैभन्दा छट्टू जम्बु स्यालहरु रमाएर नाच्न थाले । सिनुका बरिपरि झुम्मिएर लुछाचुँडी गर्न थाले । सिनुको उपलब्धताले तिनीहरु औधि रमाए । यसपछि आफ्नो पुख्र्यौली थलो पनि तिनले बिर्सन थाले । बेलाबेलामा अरुले सम्झाइदिएपछि उल्टै ‘ए ! हो र ?’ भत्रे प्रश्न गर्न थाले ।

गाउँबस्तीका मान्छेद्वारा छानिएका ती जम्बु स्यालहरु समयान्तरमा यति मोटाए, यति शक्तिशाली भए कि एकले अर्कालाई सिनुमाथिको प्रवेश निषेध गर्न थाले । गाउँबस्ती त शान्त भयो, तर सबैको आँखा पर्ने देशको मुख्य भाग नै दिनानुदिन हुने सिनुको लुछाचुँडीले दुर्गन्धित हुन पुग्यो । आपैmँ सिनु खोज्ने काम त परै जावस् बस्तीका मान्छेले उपलब्ध गराएको सिनुको उपभोग समेत तिनले राम्रोसँग गर्न सकेनन् ।

एकातिर स्यालहरु सके आपैmँ र नसके अरुसँग मिलेर भए पनि सिनुमाथि आफ्नो कब्जा जमाउन चाहन्थे । अर्कातिर गाउँबस्तीका सर्वसाधारण बासिन्दा यसरी स्यालको बिगबिगी देशको मुख्य भागमा केन्द्रित गराउन सक्ने त्यस्तो सिनु केको रहेछ ? भनेर जात्र चाहन्थे । यस कुराको रहस्य बस्तीका केही टाठाबाठा बाहेक अरुलाई थाहा थिएन । प्रश्न उठेपछि स्वाभाविक रुपमा छलफल सुरु भयो । सिनुका विषयमा सर्वसाधारणलाई जानकारी दिने कि नदिने ? भत्रे विषयमा निकै चर्काचर्की बहस पनि भयो ।

बहस यत्रतत्र सर्वत्र चर्कियो । यसले लामो समय लियो । अन्त्यमा तिनै सर्वसाधारणको सहयोगले स्यालहरुलाई गाउँबाट लखेट्न सकियो भने फेरि यिनैलाई त्यस्तो अनौठो सिनुका विषयमा जानकारी दिन किन नहुने ? भत्रे कुरामा सबै एकमत भए । छलफलका सहभागीबीच जब यस्तो मतैक्यता भयो तब एउटा चर्को स्वर भएको व्यक्तिले सबैभन्दा अग्लो डाँडामा गएर सबैले सुत्रे गरी करायो,— ‘हामीले स्याललाई गाउँबाट सहरसम्म डो¥याउन देखाइएको त्यो सिनु ‘सत्ता’ को थियो ।’

यो जानकारीपछि बस्तीका मान्छेहरु छक्क परे । यस किसिमको अनौठो सिनुका विषयमा उनीहरुले यसअघि कहिल्यै सुनेका थिएनन् । यति सुनिसकेपछि प्रत्येक बस्तीका मान्छेहरु आ–आफ्ना नजिकका अग्लाअग्ला डाँडामा उक्ले । सिनु लुछाचुँडीका लागि भइरहेको त्यो घिनलाग्दो रमितामय दृश्य अघाउन्जेल हेरिरहे । डाँडामा उभिएर पनि नदेख्नेहरुले अर्काका काँधमा चढेर भए पनि त्यो दृश्य हेरिछाडे ।

सिनु लुछाचुँडीको प्रयत्नमा संलग्न स्यालहरुलाई भने त्यसको कुनै परवाह थिएन । उनीहरु सत्ताको त्यो अनौठो तर स्वादिलो सिनु लुछ्ने योजनामा अभैm तँछाड–मछाड गरेर घम्साघम्सी गरिरहेका देखिन्थे । यता गाउँबस्तीका मान्छेहरु भने त्यस्ता जम्बु स्यालहरुलाई सत्ताको सिनुमा अल्मल्याएर आपूmहरु ढुक्कसँग गाउँबस्तीमा रहनबस्न पाएकोमा मनमनै हर्षित थिए । तर ‘धेरै भएपछि चिनी पनि तीतो हुन्छ’ भनेभैmँ स्यालहरुको सधैँको त्यो कल्याङकुलुङले उनीहरुको निन्द्रा र सपना देखाइमा भने हुनसम्म आघात पुगिरहेको थियो ।