Taranath Sharma – Paris Ki Pokchi

ताना शर्मा – प्यारिसकी पोक्ची (बेलाइततिर बरालिंदा)

प्यारिस टेकेको तीन घण्टापछि सेन नदीको सौन्दर्यमा आफूलाई सम्पूर्ण रुपले हराएर रु दु पोएँ नेफ्को साँघुमाथि म उभिएको थिएँ। उत्ताउला न उत्ताउला रङ्ले ठाँटिएर कुर्सी भरिभरि बसेर कराइरहेका र रक्सीले टुन्न भइरहेका असङ्ख्य पर्यटकहरुलाई जिउभरि स्याउँ-स्याउँती सलबल्याउँदै ललामा यन्त्रचालित नाउहरु ममुनिबाट ओहोर-दोहोर गरिरहेका थिए। अल्छी पाराले म असंख्य मोटरहरु दगुरेको कुरालाई ध्यानै नदिएर पेटीपेटी उत्तर फर्किंदै गएँ। अकस्मात् मेरो देब्रेपट्टिका घरको कुनामा ‘के दु लुभ्र’ (Quai du Louver) लेखेको हेर्न मेरा आँकाहरु पुगेछन्। ‘लुभ्र’ भन्ने शब्द कता कता परिचित-परिचित जस्तो, प्रख्यात-प्रख्यात जस्तो, चिनेको-चिनेको जस्तो लाग्यो। मेरा खुट्टाहरु त्यतै बाङ्गिए।

म हिंड्दै गएँ, पेटीपेटी हिंड्दै गएँ। मोटरहरु मुटु थर्काउँदै दुगुरिरहे, दुगुरिरहे। निकै हिंडेपछि मेरो दाहिने हाततिर एमानको पुरानो घर देखा पर्यो जसका भित्तामा रिङगै तेर्सा र ठाडा फलामका घोचाहरु मरम्मत गर्ने मचानको रुपमा (Scaffolding) बाँधिएका थिए। पेटी ठाउँ-ठाउँमा भत्केको थियो र एक्कासि दुइटी अमेरिकाली केटीहरु उभिएर मच्ची-मच्ची बात मारिरहेका भेटिए।

अग्ली चाहिंले भनि, ‘लुभ्र दरबार यही त हो नि!’

अर्कीले थपी, ‘यतैबाट भित्र पसे पनि हुन्छ।’

सस्यानो फाटकबाट अनि म त्यस विशाल पाले दु लुभ्र (Palais du Louver) भित्र पसें।

भित्र विस्तृत चोक रहेछ र घुइँचो घुइँचो मान्छेहरु सलबलाइरहेका रहेछन्। एक फ्र्याङ्क तिरेर भित्र पसें। निर्देशनपत्र किन्ने सुद्दी नै रहेन। धेरै वर्ष फ्रान्स बस्ने हाम्रा प्रसिद्ध चित्रकार-साहित्यकार लैनसिंह बांगदेलको एउटा लेखको सम्झना गर्दै बौलाहा जस्तो खुड्किलाहरु चढ्दै जाँदा लुभ्रको एउटो कारिन्दो उभिइरहेको भेटें र हातले सोधें, ‘मोना लिजा?’

फ्रान्सेलीमा कुन्नि के जवाफ दिंदै उसले माथिल्लो तलातिर देखाएकाले त्यतै लागें।

भित्ताभरिभरिका फ्रेम लागेका रंगीन चित्रहरु अहिले नै बोलिहाल्लान् कि जस्तो लागेर मलाई हेरिरहेका थिए। नाङ्गा आइमाईहरु मन लोभ्याइरहेका थिए र भर्खरका फ्रान्सेली, स्पेनियाँ र अमेरिकाली ठिटीहरु सगरमाथा र मकालु तेर्स्याएर मलाई सशरीर ठेल्दै आफूतिर तानिरहेका थिए। तिनीहरुको न्यानो घोचाइमा चेप्टिए पनि धेरै धेरै बेरसम्म मेरा आँखा ती रनेसँस् कालका फोटो जस्तै चित्रहरुमा टाँसिइ नै रहे। तर कसो कसो म चेप्टिंदै गएछु र थाहै नपाई कोठाहरु छिचोलिंदै गएछन्।

हठात् मेरो अगाडि कोठाको सामुन्ने भित्ताको बीचमा हरियो अगाडि बढेको भित्तो खडा गरेर अति नै महत्व दिइएको एउटा सस्यानो पोक्ची आइमाईको चित्र केन्द्रभागमा मलाई नै पर्खेर बसिरहेकी आइपर्यो। त्यसका ओरिपरि मान्छेहरुको थुप्रो थुप्रो घुइँचो थियो।

एउटा पहेंलो सारी लाउने पच्चीस वर्षे तरुनी कम्मर नांगै पारेर कामुक कामुक बीच बेन्चमा बसेर त्यस पोक्चीतिर टोह्लाइरहेकी थिई। छातीमा सुन्तला लुकाएका फुचीहरु नांगै तिघ्रा पारेर त्यस पोक्चीको फोटो खिचिरहेका थिए।

एउटी पातली आइपुगी मलाई भुतुक्कै पार्दै। दूबो रङ्को खाँडीको कुर्ता र पातलो खयर रङको सुर्वाल र पछ्यौरा लगाएकी, कालो केश कैलिन लागेकोलाई पछाडि चपक्क छोडेर सिल्पटमा खुट्टा र आधा पाखुराहरुमा सेतसेतो मलाई मन पर्ने रङ देकाउँदै आँखाले भनी, ‘म पनि तिमीलाई मन पराउँछु।” तैंले मलाई अगुल्टे नै ठानिस् र मन पराइस् तर आज मलाई के भयो कुन्नि म तँलाई अगुल्टेनी जान्दा जान्दै पनि मन पराइरहेछु। ऊ एक्लै भएकी भए सके म बोल्थें हुँला तर ऊ एउटी अक्कासे कुर्ता र सेतो सुर्वाल लगाउने गरुडको जस्तो नाक र ज्यादै लामो मुखको दुलो भएकी केटी र एउटा केटासित थिई। उनीहरु पश्चिमे हिन्दीमा कुरा गरिरहेका थिए तर मेरी केटी भने मलाई मात्रै घरी घरी पुलुक पुलुक हेरिरहन्थी र कुरा कम बोल्थी।

गरुड भन्दै गई ‘दश लाख फ्र्याङ्कमा बिमा गरेको थियो यसलाई अम्रिका पठाउँदा!’

मेरी केटी मैतिर हेर्दै थिई। म मुस्काएँ। ऊ लाजले भुतुक्क भइ र पछ्यौीको छेउ टोक्न थाली।

पोक्ची रिसले चूर भई, काली न काली भई। त्यसपछाडिको खोलो धमिंलिंदै गयो, दुईतिरका जङ्गलका थुप्राहरु कालाम्मे भए।

केटीको जिउँदो मासु-रङ, आइमाई गह्नाउने पसीनाले पूर्ण काखी, लचक्क मर्किने बारुले कम्मर, दारिम दाँत र पानी-आँखा मलाई बित्याँस पारिरहेका थिए अनि पोक्चीको कालो पछ्यौरा र पोटिला एक-अर्कामाथि राखिएका हातहरु त्यसै त्यसै विवश विवश भएझैं प्रतीत भए। पहेंलो सारीले खुट्टा चलमलाई। पोक्ची केही मुस्काउन लागेको हो कि जस्तो कोमल र उदास आँखा लिएर देखा परी। उसका पोक्चे गालाहरु कुन्नि केले गर्दा हो रातिंदै आएको मैले अनुभव गरें।

यत्तिकैमा फ्रान्सेली फुचीहरुले मलाई सुन्तलै सुन्तलाले चेप्ट्याए। ‘कस्तो लाजसरम पचेका यी कुइरिनीहरु!’ ईर्ष्याको पल्लो टुंगोमा पुगेर युवकको हात किच्न पुगी गरुडनीले अनि घाँसरङे कुर्ता चाहिं हाँस जस्तै नितम्ब नचाएर मेरो आँखालाई घरी घरी आह्वानको काणले हिर्काउँदै आप्नो त्रिदलीय संस्थासितै नचाहँदा नचाहँदै पनि मबाट चोइटिएर गई।

बल्ल पोक्चीका आँखा प्रेमले रसाएर आए। जति हेर्दै गएँ उति नै धमिलो र घुर्मैलो रङ्की पोक्ची उघ्रिंदै र उज्यालिंदै आई। बीच-टाउकामा सिउँदो काढेकी, देब्रे पाटोतिर केही ढल्केकी, दाहिने हात देब्रे हातमाथि राखेकी पोक्ची सबै सन्तुलन ठ्याक्क मिलेकी घाँसरङ्गे कुर्ता जस्ती कृत्रिम तरुनी होइन। ऊ ता प्राकृतिक पो रहिछे, कुनै पनि आइमाई, साधारण आइमाई त्यस पोक्ची झैं हुन सक्छे। तर त्यो उदास उदास, मुस्काउन आँटे आँटेझैं, प्रेम देखाउन खोजे-खोजेझैं, केही हराएको-हराएको वा पाएको-पाएको झैं भावनाहरु मिश्रित पोक्ची झैं कुनै पनि आइमाईलाई सधैं नै पाउनु असम्भव कुरो हो। तर पोक्ची भने सधैं त्यस्तै छे छे। एउटो कुरो मलाई लाग्यो। सो के भने हरेक लोग्नेमान्छेले त्यस पोक्चीको भावप्रकाशनमा आफ्नै प्रेमिकाको चित्र देख्छ, सधैं उत्सुक-उत्सुक, खिन्न-खिन्न, असहाय-असहाय, अगाध-अगाध, मायाँलु-मायाँलु, ईर्ष्यालु-ईर्ष्यालु, खिसीपूर्ण-खिसीपूर्ण, रिसालु-रिसालु, दयालु-दयालु!

पोक्चीको जन्म सोह्रौं शताब्दीमा भएको थियो। उसका पिता लोओनार्दो दा भिन्ची इटालीका थिए तर फ्रान्समा उनको मृत्यु भएको थियो। उनको मृत्यु वास्तवमा पोक्चीले हुनै दिएकी छैन र हुन दिन्न पनि।

पोक्चीभन्दा धेरै नै झिलिमिली लुगा र गहना लाउने अनि सेतो छाला भएका चम्किला तरुनीहरु भित्ताभरि र भुइँभरि छरिइरहेका थिए। पहेंला सारी पनि अझैं टोह्लाइ नै रहेकी थिई तर म भने हजारौं माइल तय गर्न हिंडेको यात्री थिएँ र त्यसैले हृदयमा भक्कानु सह्मालेर प्यारी पोक्चीसित बिदा माग्दै थिएँ।

‘तिम्रो फोटो त हेर्न पाइहाल्छु नि जाँ गए पनि।’ नेपाली शब्दहरु मेरा कामिरहेका ओठबाट फ्यास्स फुस्किए।

आश्चर्यको कुरो के थियो भने मेरो वाक्य भुइँमा खसि नसक्तै ऊ एक्कासि कालाम्मिंदै आई, धुम्मिंदै आई। मेरी पोक्ची रोई। मनै भरंग भएर आयो।

म कला जान्दिनँ, चिन्दिनँ। चित्रकलाबारे मरी जाउँ केही थाहा छैन तर यो मोना लिजा जो उति राम्री आइमाई हुँदै होइन किन मन परी मलाई।

जबर्जस्ती पोक्चीको दृष्यबाट आफूलाई च्यातें र फटाफट बाहिरतिर हिंडे- पहेंलो सारीले मैलाई पो हेरिरहेकी रहिछे। अरु वेला भए त्यससित म चिनाजानी गर्ने थिएँ, तर अहिले त पोक्ची देवीबाट छुट्टिंदै थिएँ, छाती चसचस बिझिरहेको थियो।

पोक्ची देवी! सारा शरीर काम्यो। फर्केर हेरें – ऊ मैतिर टाढा हेरिरहेकी रहिछे। ऊ मतिर त्यति सारो एकोहोरिरहेकी थिई तर कोठाभरिका मान्छेहरु भने उसैतिर हेररहेका थिए। पोक्चीले पक्षपात गरेको पनि उनीहरु सहिरहेका थिए।

अरु कोठाहरुमा इजिप्ट जम्मै रित्त्याएर भेला पारेका चित्र र मूर्तिहरु, चिहानका ढुङ्गाहरु, मरेका ममी राख्ने मनुष्याकार काठ र ढुङ्गाहरु, भाँडाबर्तन, गरगहना हेर्दै जाँदा वाक्क भएँ। एक ठाउँ मणिरत्नजडित तर्वार र दामी गहना ऐनाभित्र राखेको थिएँ। त्यहीं लुई पन्ध्रौंको र अर्को राजाका रत्नहरु-जडित श्रीपेचहरु र टुप्पोमा चौकाठ (cross) भएको नेपोलिअनले लगाएको मामूली श्रीपेच रहेछन्। नेपोलिअनका हरियो रत्न भएको र अरु औंठीहरु हेरें र थाकेर हैरान भए पछि फर्कने सुरले हिंडें।

एक ठाउँमा दुई बन्दूकहरु रहेछन्। त्यहाँ साँच्चै नै ती बन्दूक राखेझैं लाग्यो र छेउमा गएर छुन खोज्या त तस्बीर पो रहेछ, चित्रकला पो रहेछ।

अनि हिंडें, हिंड्दै गएँ। कुनामा काफे रहेछ। एक पेप्सीकोला किनेर कुर्सीमा बसें। बसिमात्र सकेको थिएँ घाँस-रङ् दुईलाई तान्दै लजाएर आइपुगी। पछ्याउँदै रहिछे मलाई। मेरै छेउमा बसी ऊ। उनीहरुले कफी खाए क्यारे। ऊ थाकेजस्तो भई, बोल्दै बोलिन् गरुडनाके चाहिं अक्कास-पत्ताल जोडिरहेकी थिई। उनीहरुले अंग्रेजी बोलेर मागेको र कर्मचारीले फ्रान्सेली बोलेर जवाफ दिएको अति रमाइलो लाग्यो।

छेउमा ऊ पसीनै पसीना भई। केश फुकाली र चिम्टीले सँगाल्ने उपक्रममा छड्के हेर्न पाएर मतिर काण हिर्काउन थाली।

पोक्चीलाई बिहे गर्नु असम्भव र अक्कासे भएझैं यस नाउँ नभएकी सुन्दरीलाई पाउनू पनि उत्तिकै असम्भव लागेर आयो। हात हेरें मोरीका कलकलाउँदा थिएँ। खुट्टा हेरें, लाम्चा थिए। गाला रातिंदै थिए, आँखा पानी थिए काला धूपीका रूखहरुद्वारा घेरिएर। कम्मर कसिंदो मर्किंदो थियो, बटारिंदो थियो। यस्ती आइमाई पाए म जीवन धन्या मान्ने थिएँ। तर झल्याँस्स सम्झें – मेरा मुलुकमा पनि त युवतीहरु यसभन्दा कम छैनन्। आ मर् है तारा, जाँसुकै मर्।

जुरुक्क उठें र सरासर पोक्चीतिर गएँ। पहेंलो सारी अझै थिई र मतिर उत्सुक उत्सुक हेर्दै मुस्काई। म त्यसलाई हेर्न आएको थिइनँ।

एउटी आइमाई फ्रान्सेली उच्चारणको अंग्रेजीमा पोक्चीलाई धुरीमा उचाल्दै थिई। थुप्रो थुप्रो उसको दलका मान्छेहरु ध्यानमग्न भएर सुनिरहेका थिए। बयान सुनिसकेपछि मैले पोक्चीलाई निकै बेर हेरें लाटाले पापा हेरेझैं। हाँसिरही। जान्छु भनें, मुस्काइरही, ट्वाल्ट्वालती हेरिरही। बोलिन।

ऊ मैतिर नै हेरिरहेकी थिई। ती मायाँलु आँखालाई कसरी बिर्सनु मैले? ती उदास आँखालाई कसरी मनबाट हटाउनु मैले? ती रुन्चे मुस्कानले टुलटुल हेरिरहने बल्ययाङ्ग्रे आँखालाई हृदयबाट कसरी हुत्त्याउनु मैले?

म गएपछि पनि मैतिर हेरिरहली ऊ, बाटो मेरै हेरिरहली ऊ। म मरें भने पनि उसले मेरो बाटो हेर्न छोड्नेछैन। कस्ती विश्वासपात्र? कति उत्सुक? कति मायाँलु? के कुनी युवती यस्ती विश्वासपात्र, उत्सुक र मायाँलु हुन सक्ली? आफ्नै हिजो सम्झें। छाती चिरिएर आयो।

हतार हतार हिजोलाई बलैले विस्मृतिको हाब्रोलाई निलिदिएँ अनि आँखाभरि-भरि हेरिरहें प्यारी पोक्चीलाई। सुन्तलेहरुले ठेलेर पोक्चीको बित्तो बारेको डोरी छोए। रक्षकहरुले फ्रान्सेलीमा केके भन्दै तिनलाई पछि हटाए। त्यस्तो ध्यान भङ्ग पार्दा पनि पोक्चीले डोरीतिर हेरिन, पटक्कै हेरिन, मैतिर एकोहोरो हेरिरही, हेरिरही।

प्रेम यस्तै अटल हुनुपर्छ, मायाँ यस्तै एकोहोरे र अमर हुनुपर्छ।

आँखा हामी दुवैका रसाएर आए! जेसुकै जोसुकैले भनोस्। मलाई कसले चिन्छ र याँ? रोएँ, तरर्र आँसु चुहियो।

अनि धमिला आँखाले मायाँलु पोक्चीलाई नमस्कार गरें र हुँडलिएको ह्याकुलोभित्र उखर्माउलोसित उफ्रिरहेको मुटुलाई मिच्तै अन्धाधुन्ध सेनतर्फ लागें।

[ग्राँदोतेल् द शाँपाइन्
१७, जाँ लाँतिए
पारो
१ जुलाई १९६३]

‘बेलाइततिर बरालिंदा’बाट
(साझा प्रकाशन)

Mitra Pathak – Ja… Da… (Nepali Laghu Katha)

मित्र पाठक – ज…द.. (लघुकथा )

बाटोमा पुरानो साइकल डोराउदै हिड्दै थिए अचानक राति कारको टि-टिट हर्नले झस्किएँ । गाडी तर्फ फर्केर हेरें मलेसियामा सँगै काम गरेको साथी आफैं कार चलाएर हिंडेको । उसलाई देख्नासाथ मैले भनिहालें – “मलेसिया जान छाडेर यहीं कार चलाउन थालेको ?”

उसले अल्लि अफ्ठ्यारो मान्दै भन्यो- “हैन आफ्नै हो । ”

मैले थपेँ- “तेरो जोक गर्ने पुरानो बानी अझै उस्तै छ है..।”

उसले मलाई विश्वास दिलाउन सकेन । र, “ल ल फेरि भेटेर कुरा गरौंला” भन्दै अगाडी बढ्यो ।

सुरुदेखिनै हाम्रो कुरा सुनिराखेको एउटा मान्छे मेरो नजिकै आयो र भन्यो- “उसले ठिकै भन्यो त । त्यो कार उसको आफ्नै हो । अहिले त ऊ यो एरियाको चिनिएको ज.. ..द हो त ! कार चढ्नु के ठुलो कुरा भो र! उसले त करोड कमाई सक्यो ।”

मैले आत्तिएर सोधें- “के हो यो ज.. ..द भनेको ?”

“जग्गा दलाल,” उक्त मान्छे पनि यति भन्यो र आफ्नो बाटो लाग्यो ।

म पनि सबै कुरा बुझें अनि थोत्रो साइकल डोर्याउँदै लागें आफ्नो गन्तब्यतिर…….।

Maya Thakuri – Ago Ko Jwala

माया ठकुरी – आगोको ज्वाला
(गरिमा)

‘हेर्नोस् त मिस ! हामीले यो फूलबारी कति राम्रोसँग गोड्यौँ।’ विनयले आफ्नो समूहका अरू तीनजना बालकसहित रमिलाको अगाडि गएर भन्यो।

‘ए, हो ? खोइ हेरूँ त !’ रमिला मिस बालगृहको प्राङ्गणमा रहेको फूलबारीनेर पुगिन् र भनिन् – ‘ओहो ! कस्तो राम्रो गोडेर सफा बनाएछौ ! कति राम्रो देखिएको छ।’

त्यति नै खेर नोर्बुले पनि रमिलाको छेऊमा आएर भन्यो- ‘मिस ! हामीहरूले पनि कुखुराको खोर सफा गरेर अन्डाहरू जम्मै डालामा राखेका छौँ।’

‘ल ल, जाओ तिमीहरू, ज-जसले आफ्नो काम सक्यौ, हातमुख धोओ।’ रमिलाले भनिन् – ‘त्यसपछि खाना खानुपर्छ। अनि केहीबेर आराम गर्नुपर्छ।’

स्कुलमा मीनपचासको लामो बिदा सुरु भएयता बालगृहमा बस्ने बत्तीस जनाजति बालक यस्तै विभिन्न कार्यक्रममा व्यस्त भएका थिए। कहिले काठमाडौँका अनेकौँ ऐतिहासिक र रमणीय स्थल घुम्ने, कहिले खेल्ने, कहिले चित्र बनाउने, कहिले कथा र कविता लेख्‍नेजस्ता गतिविधिमा ती बालकहरू सहभागी हुने गरेका थिए। यी चारदेखि आठनौ वर्षका बालकहरू कोही सडकबालक थिए, कोही पाटीतिर फेला परेका थिए भने कोही आफ्नै जन्मदातृ माताद्वारा त्यागिएका पनि थिए। तीमध्येका धेरैजसो बालक प्रतिभाशाली भएको कुरा उनीहरूले गरेको कामबाट प्रमाणित भएको थियो।

मुग्लिनबजारको ‘होटल आँखीझ्याल’ अगाडि एउटा यात्रुबस आएर अडियो। यात्रुहरू बसबाट ओर्लेर धमाधम होटलभित्र पसे।

‘ल, छिटोछिटो खानाको अडर ली है कान्छी !’ साहुनीले उज्यालो अनुहार लगाएर भनी।

लगभग बाह्रतेह्र वर्षकी, खिरिलो शरीर भएकी केटी एउटा अधबैँसे मानिस बसेको टेबुलछेउ गई र ‘तपाईँलाई के ल्याइदिऊँ ?’ भनेर सोधी।

‘मलाई त तिमीलाई खानु छ कान्छी ! खाऊँ ?’ त्यो मानिसले आफ्नो टाउको कान्छीतिर लाँदै भन्यो।

‘आब्बुइ ! के गर्नुभएको ?’ कान्छी तर्सेर पछाडि सरी।

‘किन डराएकी ? म बाघभालु होइन। आऊ न आऊ, मेरो नजिक आऊ !’ त्यस मानिसले कान्छीको पाखुरा समातेर उसलाई आफूतिर तान्यो।

त्यसप्रकारको अप्रत्याशित बर्तावले गर्दा कान्छी आतङ्कित भई र बलपूर्वक उसको हातबाट आफूलाई छुटाएर दगुर्दै भान्साकोठातिर गई।

‘ए साहुनी, कान्छी त भागी नि ! उसैको हातमा खाना पठाऊ है। उसको हातले ल्याएको खानाको स्वादै भिन्नै।’ भन्दै त्यो मानिस ठूलो स्वरमा हाँस्यो।

भान्साकोठामा दुवै हातले आफ्नो अनुहार छोपेर कान्छी चित्त दुखाईदुखाई रुँदै थिई। त्यत्तिकैमा झुत्रे लुगा लगाएको एउटा सातआठ वर्षको केटो कान्छीको नजिकै आयो र उसको कुममा हात राखेर भन्यो – ‘के भो दिदी ? कल्ले पिट्यो ? किन रोकी ?’

आफ्नो एकमात्र सानो भाइबाट स्नेहपूर्ण शब्द सुन्नासाथ कान्छीले भाइलाई गम्लङ्ग अँगालो हाली र हिक्कहिक्क गर्दै रुन थाली।

‘ए ! तिमीहरू दिदीभाइ त यहाँ अँगालो मारेर बसेका छौ ? उता ग्राहक भने कराइरहेका छन् !’ साहुनी रिसाउँदै भान्सामा आएर कराउन लागी। ‘जा छिटो गएर खाना दे। अनि, तँ फुच्चे ! तँ पनि अब त जग र पानी बोकेर जानुपर्दैन दिदीलाई सघाउन ! त्यो बिचरो रामेले कताकता भ्याओस् !’

कान्छीले हत्केलाले आँसु पुछी र आफूलाई सामान्य अवस्थामा ल्याउने प्रयास गर्दै उठेर ग्राहकहरू भएतिर लागी। त्यो फुच्चे केटो पनि सकी नसकी पानीको जग उठाएर दिदीको पछिपछि हिँड्यो।

दिनभरिको व्यस्ततापछि पनि राति अबेरसम्म त्यो केटी कहिले भाँडा माझ्ने, कहिले तरकारी काट्ने र कहिले ग्रहकहरूको मागअनुसार खाना टेुबुलमा पुर्‍याने काममा लागिरहन्थी। आफ्नो शरीर र उमेरले धान्न नसक्ने परिश्रम गर्दा पनि ऊ आफूलाई सुरक्षित अनुभव गर्दिनथी। ऊ राति राम्ररी निदाउन पनि सक्तिनथी। उसको भाइ सानो हुनाले ओछ्यानमा पर्नासाथ निदाइहाल्थ्यो तर प्रायजसो मध्यरातमा ऊ झस्कँदै, चिच्च्याउँदै वा कहालिँदै ब्यूँझन्थ्यो। कान्छीले भाइलाई थुमथुम्याउने र सुताउने प्रयास गर्दागर्दै रात बित्थ्यो।

एक बिहान त्यो सानो केटो उठ्ता उसकी दिदी होटलमा थिइन। निकैबेर दिदीलाई होटलमा नदेखेपछि उसले अधीर भई साहुनीलाई सोध्यो – ‘दिदी खोइ ?’

‘मैले तेरी दिदीको ठेक्का लिएकी छु र मलाई थाहा हुने तेरी दिदी कहाँ गई भनेर ? हिरोइन हुन गई कि पोइल गई, मलाई के थाहा ?’ साहुनी च्याँट्ठिई।

आफूलाई एकाएक दिदी छोडेर गई भन्ने सुनेर त्यो सानो केटो हतास हुँदै ‘दिदी, दिदी !’ भन्दै लेघ्रो तानेर रुन थाल्यो।

‘ए केटा ! बिहानबिहानै यसरी लेघ्रो तानेर अलच्छिन नला है। तेरी दिदी अब कहिल्यै फर्केर आउँदिन। हामी भने दुःख पाएर, गाउँघर छोडेर आएका केटाकेटीलाई बस्नेखाने मेसो मिलाईदिन्छौँ। उनीहरू भने दुईचार दिन बसेपछि मात्तिएर भाग्छन्। जे भयो भयो, अब के गर्छस् ? यहीँ बस्, सकेको काम गर्, खा। तँ रोएर तेरी दिदी फर्कने होइन।’ साहुनीले भनी।

त्यसपछि त्यो केटो त्यहीँ आफूले सकेको सानोतिनो काम सघाएर बस्यो।

तीनचार महिनापछिको कुरा हो। एक दिन एकजना ग्राहक भात खान ठिक्क परेका बेला उसलाई पानी दिने क्रममा त्यो केटाको हातबाट जग खस्यो र भातको थालमा बजारियो। केटाले के भयो भनेर सोच्न नभ्याउँदै ग्राहकले उसको कलिलो गालामा जोडसँग झापड लगायो र भन्यो – ‘कुकुर ! पानी दिन पनि सोमत छैन तँलाईँ?’

झापडले झनझनाएको टाउको समाएर त्यो केटो थचक्क भुइँमा बस्यो। साहुनी त्यो ग्राहकको अघि गएर अनुनय गर्न थाली – ‘के गर्ने हजुर ! केटो सानो छ, काम गर्न त्यति जान्दैन। म अर्को खाना लगाउँछु।’

‘होइन, तपाईँ यस्तो कामै नजान्ने केटालाई किन राख्‍नुहुन्छ बेकारमा ?’ ग्राहक आँखा तर्दै थियो। उसको रिस मरेको थिएन।

‘के भन्ने र ! केही कुरो भन्यो भने बरू मूढो बोल्ला, यो बल्दैबोल्दैन। सास फेरेको छ, त्यसैले मान्छेजस्तो छ, नत्र मान्छे पनि होइनजस्तो भइसक्यो।’ साहुनी भन्दै थिई। रामेले तात्तातो भात र मासु ल्याएर ग्राहकको अगाडि टेबुलमा राखिदियो। ग्राहक सपासप भात खान थाल्यो।

साहुनीले भनी – ‘ए फुच्चे ! ल पानी पनि दे, नपोखीकन।’

त्यो सानो फुच्चेले पानी भरिएको जग ल्याएर ग्राहकले भात खाँदै गरेको स्टिलको खन्डेथालमा एकाएक जोडसँग बजारिदियो। थाल उछिट्टियो र खानेकुरा त्यो ग्राहकको अनुहार र कपडामा छरपस्ट भयो। आफूले कल्पनै नगरेको घटना भएकामा त्यो मान्छे पनि क्षणभरका लागि स्तब्ध भयो। उसले देख्यो, त्यो सानो फुच्चे आँखामा घृणाको भाव बोकी उसको अगाडि निर्भयपूर्वक ठिङ्ग उभिएको थियो। सानो केटाको दुस्साहसबाट क्रुद्ध त्यस मानिसले उसलाई समात्न हात बढाएको मात्र के थियो, त्यो केटो बिजुलीको गतिमा होटलबाहिर दगुर्‍यो। त्यसपछि निकैबेरसम्म उसलाई खोजियो तर ऊ फेला परेन।

होटलबाट दौडेर त्यो फुच्चे नकै वर आई एउटा अड्याइराखेको बसभित्र गई लुकेको थियो। एकछिनमा बस काठमाडौँतिर हान्नियो।

साँझ लगभग चार बजेको थियो। चियानास्ता गरिसकेपछि सबै बालक बालगृहको आँगन र मैदानमा विभिन्न खेलमा रमाइरहेका थिए। केही बालक गोठछेउ ठुङ्गा, माटो पराल लिएर सानासाना नमुना घर बनाउँदै थिए। कृष्ण, शम्भु, युगल, रोसनहरूचाहिँ अलि पर बसेर आआफ्ना कापीमा चित्र कोर्दै थिए भने अन्य बालकहरू अलि पर चौरमा फुटबल खेल्दै थिए। बालगृहका सञ्चालिका अम्बिका जोशी र सदस्यहरू रमिला मिस, दामोदर सर र गोविन्द सर आँगनको एउटा कुनामा बसी कुनै विषयको छलफलमा व्यस्त देखिन्थे।

अचानक नजिकै ठूलो कोलाहल सुनियो। केही बालक कसैलाई लखेट्दै यता र उता दगुर्दै थिए। उनीहरूका पछिपछि पाले दाइ पनि ‘के भयो ? के भयो ?’ भन्दै दौडँदै थिए। त्यस हल्लाले सबैको ध्यान उतै तानियो। दामोदर सरले एकजना बालकको पाखुरा समाती सोधे – ‘के भयो ? तिमीहरू किन यसरी दगुरादगुर गरेका ?’

‘हेर्नुस् न सर ! हामीले कति दुःख गरी बनाएको घर त्यसले भताभुङ्ग पारिदियो।’ त्यस बालकले परतिर देखाउँदै रुन्चे स्वरमा भन्यो।

‘कसले, के भत्काइदियो ?’ रमिला मिसले उत्सुकतापूर्वक सोधिन्।

‘अरू कसले हुन्थ्यो, त्यही कुमारले हो नि हाम्रो घर भत्काइदिएको। त्यसले जहिले पनि हामीले बनाएको घर भत्काइदिन्छ, चित्र च्यातिदिन्छ। अनि सबसँग निहुँ खोज्छ, झगडा गर्छ। केही बोल्दैन एक्लै बस्छ, मिलेर खेल्दैन। त्यलाई यहाँ राख्‍नुहुँदैन, खेदिदिनुपर्छ।’ नौबर्से वर्णले गम्भीर स्वरमा भन्यो।

‘त्यसो भन्नुहुँदैन। ऊ पनि तिमीहरूको साथी हो। उसले नराम्रो गर्‍यो भन्दैमा हामीले पनि उसलाई नराम्रो गर्नुपर्छ भन्ने होइन। उसलाई माया गरी सम्झाइबुझाइ गर्नुपर्छ। अनि त ऊ पनि तिमीहरूजस्तै ज्ञानी भइहाल्छ नि ! कति भयो र ऊ यहाँ आएको ! भर्खर बीसबाइस दिन न भयो। सुरुसुरुमा यहाँ आउँदा यहाँको नौलो वातावरण बस्नुपरेपछि सबैले यस्तै केके गर्छन् नि ! पछि सब ठीक हुँदै जान्छ।’ रमिला मिस बालकहरूलाई सम्झाउन खोज्दै थिइन्।

दामोदर सरले थपे – ‘हो, रमिला मिसले ठीक भन्नुभयो। तिमीहरू सबै असल र ज्ञानी बालकहरू हौ। तिमीहरूको सङ्गतले ऊ पनि तिमीहरूजस्तै असल हुनेछ। भैगो, अहिले तिमीहरू खेल।’

त्यस दिन कुमारलाई सम्झाइबुझाइ गरे।

यो घटना भएको लगभग हप्ता दिनपछिको कुरा हो। बेलुकाको खानपिन सकी सबै बालक सुत्‍ने तरखरमा थिए। अचानक बाहिर पाले दाइ चिच्याएको सुनियो – ‘आगो लाग्यो, आगो !’

सबैजना हस्याङफस्याङ गर्दै बाहिर निस्के। गोठमा दनदनी आगो बलेको थियो। पाले दाइले गोठका दुइटा भैँसीको दाम्लो खोलिसकेका रहेछन्। सबै मिस-सर बाल्टी बोकेर आगोमा पानी खन्याउन थाले। एकछिनपछिको प्रयासपछि उनीहरू आगो निभाउन सफल भए।

‘आगो कसरी लाग्यो ?’ गोविन्द सरले पाले दाइसँग जिज्ञासा राखे।

‘खोइ, म त यताउता गर्दै थिएँ। अचानक गोठबाट उज्यालो देखियो। आगो लागेको रहेछ। म त भैँसी फुकाउन लागेँ।’

त्यही बेला सातबर्से अङ्कितले प्याच्च भन्यो – ‘सर ! कुमारले आगो लगायो होला।’

‘किन त्यसो भनेको अङ्कित ? तिमीले कसरी थाहा पायौ ?’

‘ऊ जहिले पनि आगो लगाइदिन्छु भन्छ।’

‘खोइ त कुमार ?’

सबैका आँखाले कुमारलाई खोजे। कुमार कतै पनि देखिएन। सबैजना उसलाई धुइँधुइँती खोज्न लागे।

‘बाबु त भोगटेको रूखपछाडि पो लुकिराखेका रहेछन् त !’ पाले दाइले एकछिनपछि बालगृहको ठूलो हलमा कुमारलाई डोर्‍याउँदै ल्याए र भने – ‘आउनै मानेका थिएनन्, बल्लबल्ल ल्याएँ।’

‘कुमार ! तिमी किन लुकेको ?’ रमिला मिसले सोधिन्।

‘तिमीले हो गोठमा आगो लगाएको ?’ रमिला मिसको कुरा नसकिँदै दामोदर सरले सोधे।

कुमार घोसे मुन्टो लगाएर उभिइरह्यो।

‘हेर, यति राम्रो मान्छे भएर पनि यस्तो नराम्रो काम गर्नु हुन्छ ? यहाँ हामी सबैले तिमीलाई कति माया गर्छौँ। तिमीले स्कुल पढ्न पाएका छौ, राम्रो खान पाएका छौ, साथी पाएका छौ। यति हुँदाहुँदा कसैको कापी, चित्र च्यातिदिने, कसैले बनाएको घर भत्काइदिने, झगडा गर्ने र हुँदाहुँदै त आज गोठमा आगो लगाउने आँट गर्‍यौ तिमीले ? तिम्रो कसले के बिगारिदिएको छ र ? किन त्यसो गरेको भन त ? अलि हप्काएझैँ गरी दामोदर सरले प्रश्न गरे।

कुमारले केहीबेरसम्म स्थिर दृष्टिले सरको अनुहारमा हेरिरह्यो।

‘हामीले पनि उनीहरूको के बिगारेका थियौँ र ? हाम्रा बालाई गोली हानेर मारे अनि आमालाई चुल्ठो तान्दै लछार्दै लगे, घरमा आगो लगाइदिए। हामीले के बिगारेका थियौँ र ?’ शताब्दीऔँदेखि सुषुप्त ज्वालामुखी अचानक विस्फोट भएझैँ फुच्चे बालकको मुखबाट शब्द आगोका ज्वालाझैँ बनेर निस्के। वातावरणमा एकाएक मसानस्तब्धता छायो।

एकछिन त्यहाँ भएका सबैजना अवाक् भई त्यस बालकको अनुहार हेरिरहे। त्यसपछि बिस्तारै पाइला चाल्दै रमिला मिस अघि बढिन् र कुमारको अगाडि घुँडा टेकेर बसिन्। त्यस क्षण उनका आँखामा आँसु टलपलाउँदै थियो। उनले बिस्तारै आफ्नो हात फैलाएर त्यस बालकलाई आफ्नो छातीमा टाँसिन्। उनी शब्दको माध्यमद्वारा उसलाई सान्त्वना दिन चाहन्थिन् तर हृदयभित्र उर्लेको पीडाको ज्वारभाटाले उनको गला अवरुद्ध गरायो। उनी सुँक्कसुँक्क गर्न थालिन्।

अचानक कुमार ‘दिदी…..! दिदी …..! ‘ गर्दै कङ्कलास्वरमा रुन थाल्यो। त्यहाँ भेला भएका बालकहरू र सरहरू सबै कुमारको नजिक पुगी रानी माहुरीलाई अरू माहुरीले घेरेझैँ घेर्न लागे।

Harihar Khanal – Sunaulo Sapana Ra Andhyaro Galli

हरिहर खनाल – सुनौलो सपना र अँध्यारो गल्ली

बिहान सबेरै उठ्नु पर्छ, पाँच बजेको हाराहारीमा। त्यति नगरे काममा समयमा पुगिन्न। समय घर्केपछि काममा जान राधेश्यामका लागि कत्ति पनि राम्रो लाग्दैन। ऊ ठान्छ, त्यसो गर्नु भनेको ठगेर खानु हो। ठगेर खानु र चोर्नुमा के अन्तर छ? ऊ त्यो अन्तर हेर्ने प्रयत्न गर्छ। एक हिसाबले ती दुवै उस्तै कुरा हुन्, नामका मात्र फरक। ऊ त्यस्तै ठान्छ। त्यसलाई त्यस्ता कुराहरू पटक्कै मन पर्दैनन्। त्यसैले अलिकति चाँडै उठ्नु परे पनि उसलाई त्यो कुराले कुनै असर गर्दैन। आधा घन्टामा त ऊ फ्रेस भैसक्छ। उसले लुगा लगाइ सक्तानसक्तै शकुन्तला उसको टेबुलमा एक कप तातो चिया राखिदिन्छे। हुन त ऊ एकाबिहानै शकुन्तलालाई उठाएर दुःख दिन चाहँदैन। त्यो काम भरसक आफै गरूँ भन्ठान्छ, तर आफैले चिया बनाएर नदिएसम्म शकुन्तलाको मन मान्दैन। हिउँद–बर्खा एकनासले काममा लागिरहनु कम पट्यारलाग्दो कुरा होइन। तर राध्येश्यामलाई त्यसको कामप्रति एक प्रकारको लगाव छ। त्यो बिना हिचकिचाहट, सधैं एकनासले तल्लिनतापूर्वक आफनो काममा लागिरहन्छ।

बिहान गाउँको पब्लिक क्याम्पसमा तीनवटा क्लास लिइसकेपछि ऊ पहिलो ड्युटीबाट मुक्त हुन्छ। नौ बजे घर पुगेपछि ऊ एकछिन त्यत्तिकै आराम गर्छ। राजु स्कुल जान थालेको यसपाली तीन वर्ष पुग्यो। त्यो स्कुल ड्रेसमा ठाँटिएर घरबाट निस्किएको दृष्य राधेश्याम र शकुन्तला दुवैजनालाई खुबै राम्रो लाग्छ। कहिलेकाहीँ त्यसकी बहिनी सिर्जना पनि दाजुसँगै स्कुल जान्छु भनेर उसलाई पछ्याउन खोज्छे। भर्खरै तीन वर्षमा हिँड्दै गरेकी सिर्जनाका लागि आमाको काख छाडेर स्कुलको बाटो लाग्न उसका लागि अझै कुर्नुपर्छ। तर राजुलाई भने त्यो झन्झट अब छैन। नर्सरी र के.जी. सजिलै पास गरेको उसका लागि स्ट्यान्डर्ड् वन् झनै राम्रो लागेको छ। अझ त्यो भन्दा पनि राम्रा उसका साथीभाइ छन् र त्यहाँको वातावरण छ। त्यसैले हुनसक्छ, स्कुल जाने भनेपछि ऊ सधैँ निकै रमाउँछ।

राधेश्याम दिउँसोको समयमा एउटा सरकारी क्याम्पसमा पढाउँछ। साँझ छिमेकी पब्लिक क्याम्पसमा स्नातकोत्तर तहमा कक्षा लिनका लागि भर्खरै नियुक्त भएको छ। क्याम्पसको कामबाट निर्लिप्त भएर घरतिर फर्कँदा घाम क्षितिजपारि लुकिसकेको हुन्छ। राधेश्याम आफ्नो काम, कर्तब्य र उठबसप्रति बढी नै सजग छ। झ48डै चार किलोमिटर परको क्याम्पसमा पढाएर फ््कर्कदासमेत ऊ साँझ आठबजे भन्दा ढिलो भएको अझसम्म रेकर्ड छैन।

शकुन्तला घर समाल्छे। राधेश्याम बाहिरतिर काम गरेर परिवारका लागि चाहारो जुटाउँछ। उसले उच्च शिक्षा हासिल गरेको छ। शकुन्तला चाहिँ इन्टरमिडियट पास गरेपछि अघि बढ्न सकिन। हलक्क बढेकी छोरी, राधेश्यामजस्तो एउटा होनहार युवक फेला पारेपछि उसका बाबु–आमाले नाइनास्ती गर्न सकेनन्। बिहेको लगत्तै उसले घर समालेर बस्नुपर्‍यो। त्यसपछि त्यसको अध्ययनमा ब्यवधान आइपर्‍यो।

राधेश्याम उसका समकालीन अरु युवक भन्दा भिन्दै प्रकारको एउटा होनहार युवक थियो। त्यसैले हुनसक्छ, शकुन्तला उसको जीवनमा आएको एउटा अलग्गै प्रकारको मोडमा उभिएर पनि ऊ खुसी थिई, सुखी थिई। त्यो त उतिबेलाको कुरा हो। त्यसपछिका दिनमा छोराछोरी र घरगृहस्थीले एउटा नयाँ बान्की लिइसकेका थिए। त्यसको सन्चालन र संबर्धनको रथ हाँक्ने सारथी स्वयम् शकुन्तला थिई। राधेश्याम त केवल आफ्नो कर्तव्यपथमा लागेको अर्जुन मात्र थियो।

तिनीहरूको एउटा सानो घर थियो, थोरै खेतिपाति थियो र सानु परिवार थियो। राधेश्याम इलममा लागेको थियो। एउटा प्रतिष्ठित पेशामा संलग्न थियो। गाउँघर र वरपर सबै मानिसहरू उसलाई आदरपूर्वक संबोधन गर्थे। मानिसहरूले कल्पना गरेकैजस्तो तिनीहरूको एउटा सुन्दर सन्सार, एउटा सुखी परिवार थियो। तिनीहरूको जीवन अरुहरूका लागि र तिनीहरूकै लागि पनि सुखी र सम्पन्न थियो। सम्पन्न यस अर्थमा थियो कि तिनीहरूका सीमित आकाङ्क्षा थिए। तिनीहरूसित जे थियो त्यसैमा सन्तुष्ठ थिए।

राधेश्याम आज सदाको भन्दा केही ढिलो घर फर्क्यो। सधैंको समयमा नआएपछि शकुन्तलाले ऊ आउने बाटोतिर आँखा बिछ्याई, धेरै बेरसम्म कुनै साइँसवद आएन। सधै सात बज्दानबज्दै आँगनमा मोटरसाइकलको घाइँघुइँ सुनिन्थ्यो, त्यो आज भएन। सडक दुर्घटनाका अवान्छित खबर दिनदिनै सुन्ने गरेका शकुन्तलाका कानले कतै आज पनि त्यस्तै क्यै सुन्न पर्ने त होइन भन्ठानेर त्यसको मन भित्रभित्रै असाध्यै तड्पियो। तर राधेश्याम हेलचक्य्राइँ गरेर सवारी साधन हाक्ने मानिस होइन भन्ने कुरा
उसलाई राम्ररी थाहा थियो। त्यसैले उसको मन अलिकति आस्वस्त भयो।

रातको नौ बज्न थालेको थियो। राजु र सिर्जना दुवै निदाइसकेका थिए, शकुन्तला भने टि.भी. हेरेर समय धकेल्ने चेष्टा गर्दै थिई। त्यसका आँखा टि.भी.को स्कि्रनमा भए पनि राधेश्यामको बरपरकै चक्कर लगाइरहेको थियो। बाहिर सडकमा एकाएक देखिएको उज्यालोले त्यसका आँखा त्यतै तान्यो। घरै नजिक आइपुगेपछि मोटरसाइकल उसको आँगनतिर सोझयो। बल्ल त्यसको मुटुको धडकन अलि शान्त भयो।

“कहाँ जानु भएको थियो यति अबेलासम्म?” आँगन टेक्न पाउँदानपाउँदै राधेश्यामको अनुहार ताकेर उसले सोधी।
“कहिलेकाहीँ कामको सिलसिलामा ढिलो भैहाल्छ नि।” मोटरसाइकल ग्यारेजतिर धकेल्दै राधेश्यामले उत्तर दियो।
“रातबिरात ढिलो आउँदा हामीलाई अत्यास लाग्दैन कि क्या हो? कि बिहानै खबर गरेर जानुपर्छ ढिलो हुन्छ भनेर।” शकुन्तला आत्मिय भावमा बोल्दै थिई।
“काम बन्लाजस्तो छ। आज त्यो मान्छेलाई भेटेर आएको।” खाना खाँदाखाँदै राधेश्यामले भन्यो।
“के काम?” कुराको केही भेउ नपाएझैं शकुन्तलाले भनी।
“त्यै क्या त्यै, एच्.एस्.एम्.पी.को काम।” राधेश्यामले अलिकति क्लु दिँदै भन्यो, “तनहूँतिरको एजेन्ट रहेछ त्यो। मान्छे पक्का छ रे। दाम लिएपछि काम पनि पक्का गर्ने।” उसले सम्झाउँने शैलीमा शकुन्तलालाई भन्यो।
एच्.एस्. एम्. पी, अर्थात् हाइली स्किल्ड् म्यानपावर। केही समयदेखि यस कार्यक्रम अन्तर्गत मानिसहरूको कल्पनाको स्वर्ग बेलायत जानका लागि पढेलेखेका मानिसहरूसमेत छँदाखाँदाको राम्रो जागिरलाई तिलाञ्जली दिएर दिलोज्यानले त्यतातिर लागेका थिए। सुरुमा अनिच्छा जाहेर गरे पनि साथीभाइको उक्साहटमा लागेर राधेश्यामले त्यसको मनलाई निकै चञ्चल बनाइरहेको थियो। केही दिन पहिले कुराको प्रसङ्गमा उसले शकुन्तलालाई पनि त्यो कुराको अलिकति शङ्केत गरेको थियो। शकुन्तलाले कुरा बुझी। राधेश्यामको अनुपस्थितिमा त्यसले घरब्यवहार कसरी चल्ला भन्ने कुराको लेखाजोखा गरी। त्यस्तो कुराको कल्पना गर्दा त्यो एक पटक भित्रभित्रै निकै डराई।
“पर्दैन भो त्यो अर्काको देशमा हेलिन। यहीँ ठीक छ हाम्रोलागि।” त्यसले अलिकति आत्तिएको स्वरमा भनी।
“ल हेर, तिमी पनि अहिल्यै हिँडिहाल्न लागेझैं गर्न थाल्यौ। पहिलो कुरा त हाम्रो प्रारम्भिक प्रयास हो यो। हुनका लागि त कता हो कता। दिल्ली धेरै टाठा छ। अहिल्यै किन आत्तिनु पर्‍यो?” राधेश्यामले
संझाउने प्रयत्न गर्‍यो।

मानिसले आँटेपछि त्यसलाई पुर्‍याउन ऊ हर सम्भव प्रयत्न गर्छ। राधेश्यामले शकुन्तलालाई जेजे भनेर फुल्याए पनि त्यसले उसको मुराद पुर्‍याएरै छाड्यो। विगत तीन वर्षदेखि खाइ–नखाइ गरेर संचित गरेको एक लाख पचास हजार रुपियाँ एजेन्टलाई बुझाएपछि उसको बाटोमा हरियो बत्ती बल्यो। काठमाडौं स्थित बेलायती राजदुतावासको भिसा सेक्शनले उसको प्रवेशाज्ञा मिलेको खबर गर्‍यो। त्यो खबरले राधेश्यामलाई निकै प्रफुल्लित बनायो।

प्रवेशाज्ञा मिलेपछि घर फर्केको राधेश्यामले शकुन्तलालाई धेरै कोणबाट सम्झायो। बेलायत पुगेपछिको समयको रुमानी कल्पना गरेर उसले शकुन्तलालाई एउटा सुन्दर सपना देखायो। केही वर्षभित्रै काठमाडौंमा एउटा राम्रो घर, एउटा गाडी र राम्रो बैङ्क ब्यालेन्स, त्यसपछिको सुखी जीवन। कल्पना गर्दिन भन्दाभन्दै पनि शकुन्तलाको मनको एक कुन्तरमा त्यस कुराले आकार ग्रहण गरिहाल्यो। छोराछोरीलाई राम्रो स्कुलमा पढाउनेदेखि आफ्नो भविस्यको सुन्दर कल्पनाले उसको मनलाई निकै चञ्चल तुल्यायो।

भोलिपल्ट स्थानीय रुटमा चल्ने टेम्पो घर नजिकै पुगेपछि रोकियो र त्यसबाट राधेश्याम उत्रियो।
“मोटरसाइकल खै त?” उसलाई देख्ने वित्तिकै शकुन्तलाले सोधी।
“अब त्यसको के काम?” लगभग प्रशन्न मुद्रामा त्यसले भन्यो, “दिएर आएँ आज।”
“कसलाई? किन?” शकुन्तलाले फेरि प्रश्न दोहोर्‍याई।
“बेचें के। के गर्ने अब त्यो, आफू जाने भएपछि?” उसले त्यसरी नै भन्यो। शकुन्तलालाई भने केही हराएझैं, केही लुटिएझैं लाग्यो। त्यसको मन भित्रभित्रै कुँडुलियो। त्यसको अनुहारको भावसमेत फेरियो।

शकुन्तलाले बाहिर भन्दा हुन्न भने पनि त्यसको भित्री मनमा सम्भावित उज्यालो र सम्पन्न भविस्यको रेखा कोरिइसकेको थियो। त्यसले थोरतिन शङ्कालु भाव व्यक्त गरेकी भए पनि एक पटक गए जाउन् न त भन्ने नै ठानेकी थिई। त्यसैको आडमा यतिसम्म काम अगाडि बढिसकेको थियो। तर आज भने उसलाई निक्कै नरमाइलो लाग्यो। हिँजो–अस्तिको तुलनामा तिनीहरू दुवै कम बोलिरहेका थिए। दुवैको अनुहारको भाव–भङ्गिमा पनि प्रष्टै देखिने गरी फेरिएको थियो। राधेश्याम दराज र टेबुलका घर्रातिर रहेका कागजपत्र र अरु याबत् चिजलाई सुब्यवस्थित गर्नमा तल्लिन थियो। शकुन्तला खाटको डिलमा बसेर त्यो हेर्नमा व्यस्त थिई। राधेश्याम त्यसरी तल्लिनतापूर्वक काममा लागिरहँदा यता शकुन्तला भने उसको अनुपस्थितिमा घर–ब्यवहारमा आइपर्ने सम्भावित असजिला दिनहरूको कल्पनामा डुबेकी थिई। खुट्टो उचालिसकेको लोग्नेलाई रोक्न सक्ने त्यसले कुनै उपाय देखिन। त्यो प्रकट रूपमा उसको भावना पोखेर राधेश्यामको चित्त दुखाउन पनि चाहन्नथी। दोधार मनस्थितिमा रुमल्लिएकी शकुन्तला दिक्क मानेर खाटको छेउमा यत्तिकै पल्टिई।

सबै कुराको बन्दोबस्त मिल्यो। राधेश्याम हिँड्ने दिन पनि आइपुग्यो। घर छोड्ने समय जतिजति नजिकिँदै थियो त्यै अनुपातमा ती जोइ–पोइको मन पनि विचलित हुँदै गैरहेको थियो। तिनीहरूको मनमा पिरको जेजस्तो हुन्नरी मच्चिएको भए पनि प्रकट रूपमा भने तिनीहरूले एक–अर्कासित त्यो कुरा भन्न सकिरहेका थिएनन्। राजु र सिर्जना पनि निकै नरमाइलो मानिरहेका थिए। त्यस्तो समयमा राधेश्यामले तिनीहरूलाई अलिकति मिठाई र अलिकति पैसा दिएर फुल्याउने प्रयत्न गर्थ्यो।

बिदा हुने बेलामा शकुन्तलाले अलिकति आँसु बगाई। राधेश्यामले पनि त्यसको मन थाम्न सकेन। शकुन्तलाका आँखामा आँसु देखेपछि त्यसका आँखा पनि रसाए। उसले पनि अलिकति आँसु बगायो। त्यसपछि तिनीहरू दुवैले मनमनै बिदाइका हात हल्लाएर बिदा भए।

रातको आठ बजे उसको जेट विमानले गौचर एयरपोर्टको धावनमार्ग छाडेर आकाशको अँध्यारोलाई चिर्दै निरन्तर अगाडि बढ्न थाल्यो। राधेश्यामको विमान रातको निष्पट्ट अँध्यारोलाई चिर्दै आकाशमार्गमा हेलिएको थियो। उसलाई लाग्यो, ऊ पनि उसको बिमानझैं अँध्यारो भविस्यको अथाह गर्ततिर लगातार बगिरहेको छ। गैरहेको छ।

भोलिपल्ट बिहान स्थानीय समयअनुसार सात बजे ऊ ग्याट्विक बिमानस्थलमा उत्रियो। बिहानको कलिलो घाममा बेलायतको आकाश छ्याङ्ग खुलेको थियो। इमिग्रेशन पार गरेर आगमनद्वारबाट बाहिर निस्कने बित्तिकै ऊ एउटा निकै ठूलो कभर्डहलमा पुग्यो। त्यसको दाहिनेतिरको लङमा मानिसहरू आफन्तहरूलाई रिसिभ गर्नका लागि आतुर भएर तिनीहरूका आँखा आगन्तुकहरूतिर बिछ्याइरहेका थिए। त्यो भीडमा उसले त्यसका आँखा फिँजाएर कुनै परिचित मान्छे देखिन्छ कि भनेर खोज्ने प्रयत्न गर्‍यो, तर बिरानु त्यो मुलुकमा एकजना पनि परिचित मानिस देखिएन। सुरेन्द्र मानिसहरूको त्यो भीडमा कतैतिर कुनै ठाउँमा उसको प्रतीक्षामा, उसलाई रिसिभ गर्नका लागि पर्खेर बसिरहेको भए कति जाति हुँदो हो? उसको मनको एक कुनामा यस्तो सोचाई आयो। “मैले उसलाई खबर गरेको भए ऊ पक्कै पनि मलाई लिन यहाँसम्म आउँदो हो।” यस्तो सोचेर ऊ भित्रभित्रै निकै कुँडुलियो। “मेरै सुद्धि उस्तै।” बिरानु ठाउँमा आउने भएपछि मैले आफै खबर गर्नु पर्ने। त्यसले आफूलाई आफै गाली गर्‍यो।

मानिसहरू आइरहेछन्, गइरहेछन्। ऊसले अब के गर्ने होला। कता जाने होला। केही भेउ पाउन सकेन। पकेट डायरीको एक छेउमा उसले सुरेन्द्रको फोन टिपेको थियो। आफन्तलाई लिन त्यहाँ पुगेकी एउटी नेपाली चेलीलाई देखेर त्यसको मनमा अलिकति आशाको त्यान्द्रो पलायो। ऊ त्यो नजिकै गयो र आफ्नु परिचय दिँदै सुरेन्द्रलाई भेट्न कुनै किसिमले सहयोग गर्न सक्छिन् कि भनेर सोध्यो। संक्षेपमा भलाकुसारी गरेपछि त्यो महिलाले त्यसको सेल फोनमा सुरेन्द्रको नंबर थिची।
“यस् प्लिज, सुरेन्द्र स्पिकिङ्।” फोनको पल्लो छेउबाट आवाज आयो।
“हेलो सुरेन्द्र, म राधेश्याम बोलेको।” राधेश्यामले सहज लवजमा भन्यो।
“को राधेश्याम।” अलिकति तटस्त भावमा उसले प्रश्न गर्‍यो।
“म क्या म। तिम्रो साथी राधेश्याम। नेपालबाट भर्खरै आइपुगें। ऐले ग्याटविक यएरपोर्टमा छु।” सुरेन्द्रले बुझहाल्यो। केही दिन पहिले फोनमा कुरा हँुदा बेलायत जाने प्रयत्न गर्दै गरेको कुरा राधेश्यामले उसलाई बताएको थियो। एकैचोटि बेलायत पुगेर उसले फोन गरेको सुनेर ऊ तीनछक पर्‍यो।
“ए, राम्रो। खुसी लाग्यो। बेलायतमा तिमीलाई स्वागत छ। सुरेन्द्रले औपचारिकता निभायो।
“सुरेन। मलाई लिन आउ न। म अलमलमा परें। तिमी कहाँ छौ?” राधेश्यामले अनुरोधको शैलीमा भन्यो। त्यसको कुरा सुनेर सुरेन्द्र छक्क पर्‍यो। तै पनि उत्तर त दिनै पर्थ्यो। उसले भन्यो। “हेर राधेश्याम यो सम्भव छैन। तिमीले आफू आउने दिन एकिन गरेर मलाई पहिलेनै किन जानकारी नगराएको? अहिले यतिबेला आएर तिमी एक्कासी लिन आउनु भन्दै छौ। यो सम्भब छैन। म सेन्ट्रल लन्डनको पश्चिमी भाग ओइम्लीमा बस्छु। यहाँबाट तिमी भएको ठाउँमा पुग्न मात्रै कम्तिमा पनि साडे दुई घन्टाको ड्राइभिङ् छ। त्यसैले यो सम्भव छैन। एनी वे। त्यहाँबाट तिमी ट्रेन समातेर आऊ। म भिक्टोरिया स्टेशनमा तिमीलाई पखर्ुँला। त्यहाँ पुगेपछि मेरो सेल फोनमा मलाई सम्पर्क गर्नु।” सुरेन्द्रले विस्तारमा भन्यो।
राधेश्याम बिलखबन्दमा पर्‍यो। त्यो भन्दा बाहेक अरु उपाय पनि थिएन। ऊ जसोतसो ग्याटविक टर्मिनलबाट बाहिर निस्कियो र ट्रेनको प्रतीक्षामा प्लेटफर्म कुर्न थाल्यो।

पहिलो पल्ट लन्डन टेकेको राधेश्यामका लागि हरेक कुरो नयाँ र नौलो थियो। कल्पना गरेभन्दा अलि फरक जीवनपद्धति र ब्यवहारको तौरतरिका। त्यो त्यसै निसासिएर बिलखबन्दमा परेको थियो। प्लेटफर्ममा स्वचालित मसिनबाट अरुले टिकट लिएको देखेपछि उसले पनि थोरैतिन सोधखोज गर्‍यो र ट्रेनको टिकेट लियो। प्रबेशद्वारमा रहेको पोलमा टिकेट छुवाएपछि ढोका खुल्यो र ऊ भित्र छिर्‍यो।

हरियो घाँसका मैदानहरू, हरियो रङ्गका बुट्यानहरू र हरिया फाकटहरू, ठाउँठाउँमा देखिने झुरुप्प परेका बस्तीहरू, क्षितिजसम्म छ्याङ्ग खुलेको नीलो आकाशको किनारालाई क्रमशः पछिल्तिर धकेल्दै पश्चिमतिर दौडेको रेल झ48डै दुई घन्टापछि भिक्टोरिया स्टेशनको १६ नंबर गेटमा पुगेर रोकियो। अरु यात्रुहरूका लहरमा मिसिएर राधेश्याम पनि त्यो आनन्ददायक यात्राको अन्त्य गर्दै तल झर्‍यो। नयाँ ठाउँको नयाँ परिवेश, अलिकति असजिलो महसुस गर्दै प्लेटफर्मका कुनाकाप्चा छामिरहेको राधेश्यामका आँखा विपरित दिशातिरबाट ऊतिरै आउँदै गरेको सुरेन्द्रमाथि परे। त्यसको अनुहार खुसीले धप्प बलेर उज्यालो भयो। एक अर्काका नजर जुधेपछि तिनीहरू झनै प्रफुल्ल भए र एक अर्कालाई अङ्कमाल गरे।

प्लेटफर्मबाट बाहिरिएपछि सुरेन्द्र पार्किङ् एरियामा राखेको उसको कारतिर बढ्रयो। राधेश्याम उसका पदचाप पछ्याउँदै गयो। सुरेन्द्रले नजिकै पुगेपछि रिमोटको स्वीच थिचेर कारको ढोका खोल्यो र ड्राइभिङ् सिटमा बस्यो। राधेश्यामलाई पछाडिको सिटमा बस्नका लागि ढोका खोलिदियो। वातानुकुलित कार निकै आरामदायी थियो। नयाँ ठाउँको नयाँ परिस्थिति र यावत् चिजहरूसित एकाकार हुन राधेश्याम प्रयत्नरत थियो। सुरेन्द्रले सेन्ट्रल लन्डनको मुटु चिर्दै खरानी रङ्गको त्यसको मर्सिडिज बेञ्जकार पश्चिम दिशातिर हुइँक्यायो।

इङ्गलिस च्यानलको पश्चिमपट्टि देखिने झलक्क हेर्दा बुटजुत्ता आकारको बेलायतको नक्साभित्रको वास्तविक धरातल देखेर राधेश्याम दङ्ग परिरहेको थियो। सफा चौडा सडकहरू, आवासक्षेत्रका एकैनासे घरहरू, प्रायः सुनसान लाग्ने बाटाहरू र केही किलोमिटरको अन्तरमा भेटिने ठूलठूला हरिया पार्कहरू। लन्डन पुगेको केही दिनसम्म सुरेन्द्रको पाहुना भएर बसेको राध्येश्यामले त्यहाँको वातावरण, आफ्नो देशको वातावरण भन्दा निकै फरक भएको पायो। धुवाँ छैन, घुलो छैन मानिसहरूको भीडभाड छैन। हल्लीखल्ली छैन। वातावरण नै विल्कुलै भिन्दै।

सुरेन्द्र बेलुकी रात निकै घर्किएपछि घर फर्कन्थ्यो र लगत्तै कम्प्युटरमा बस्थ्यो। त्यो भोक लागेपछि फ्रिज खोल्थ्यो र खाने कुरा झकेर माइक्रोवेभमा तताउँथ्यो, इच्छाअनुसारको ड्रिङ्क लिन्थ्यो र फेरि कम्प्युटरमा जोतिन्थ्यो। त्यो ओछ्यानमा पल्टिँदा मध्यरात कटिसक्थ्यो। त्यति बेलासम्म राधेश्याम भने मस्त निद्रामा सपना देखिरहेको हुन्थ्यो।

चार–पाँच दिन बितेपछि राधेश्यामको थकाई पनि पूर्ण रूपमा मेटियो। सुरुका केही दिनसम्म त्यसको समयमा केके नमिलिरहेकोजस्तो लागिरह्यो त्यसलाई। घाम आकाशमा माथिनै हुँदा त्यसलाई निद्राले छोप्थ्यो। बिहान भने ऊ सबेरै बिउँझन्थ्यो। सुरेन्द्र भने त्यति बेला निद्रामा मस्त घुरिरहेको हुन्थ्यो। सुरेन्द्र बिहान अबेला, लगभग दश बजेतिर उठ्थ्यो, बाथरुम पसेर फ्रेस भैसकेपछि किचेनतिर छिर्थ्यो र ब्रेकफास्ट लिएपछि फेरि उही पुरानो रुटिङ् पछ्याउँदै हतार–हतार बाहिर निस्कन्थ्यो र कार घुइँक्याएर कामतिर दौडन्थ्यो। आइतबार भने त्यसको ड्युटी अफ् हुन्थ्यो। त्यसैले ऊ त्यो दिन पूर्ण आराम गर्थ्यो। कहिलेकाहिँ बिदा मनाउन ऊ सी साइड जान्थ्यो। त्यो आइतबार उसले राध्येश्यामलाई सी साइड लिएर जाने योजना बनायो।

सेन्ट्रल लन्डनको बाहिरी किनाराबाट निस्केर सफा चौडा भीमकाय सडकमाथि बगिरहेको नदीजस्तै लाग्ने कारहरूको हुलमा मिसिएर तिनीहरूको कार पनि सडकमा बग्न थाल्यो। तिनीहरूले हरिया फाकटहरू, शहरजस्तै देखिने ससाना गाउँहरू, वनजङ्गलहरू र बाटामा पर्ने कैयौ कुराहरूलाई पछि धकेल्दै गए र झन्डै तीन घन्टापछि तिनीहरूको कार ब्राइटन पुगेर रोकियो। नीलो समुद्र अगाध जलराशीले भरिएर पृथ्वीको सतहमा ढलपल ढलपल गरिरहेको थियो। राधेश्यामले उसको जीवनमा साँचैको समुद्र देखेको त्यो नै पहिलो घटना थियो। त्यो त्यसको सुन्दरता देखेर मन्त्रमुग्ध भयो। समुद्रको किनारमा अर्धनग्न नरनारीहरू बेफिक्री सूर्य–स्नान गरिरहेका थिए। हेर्न पनि असहज नलाग्ने किसिमको थियो तिनीहरूको त्यहाँको अवस्थिति। राधेश्यामलाई त्यो सबै देखेर किन्चित असजिलो मशसुस भयो। तर कसैले कसैको कुनै वास्ता गरिरहेको थिएन। उसले पनि विस्तारै त्यसलाई सहज किसिमले लिने प्रयत्न गर्‍यो।

“सुरेन, तिमीले मलाई यहाँ जसरी आश्रय दिएर राखेका छौ त्यसका लागि तिमीलाई धन्यवाद छ। तर हेर भाइ, खाँदाखाँदैको जागिर र आफ्नो परिवार छाडेर यो सात समुद्र पारि आउने मेरो उद्धेस्य तिमीलाई
थाहा नभएको पनि होइन। म यसरी तिम्रो पाहुना भएर बेकारमा कति दिन बसुँ?” राधेश्यामले धेरै दिनपछि फुर्सतमा भेटेको सुरेन्द्रसित लामै गुनासो गर्‍यो।
“हेर राधेश्याम, तिमीले सुरुमा मैले भनेको पत्याएनौ। मानेनौ र मैले सुख्खै नपाएर तिमीलाई यहाँ आएको खन्डमा सकेको गरौंला भनेको हुँ। तर हेर, बेलायतमा रुखका बोटमा पाउन्ड र डलर फलेको सपना देख्ने तिमीहरूको सोचाई सत् प्रतिसत् गलत छ। हुँदाखाँदाको जागिर छाडेर नहिँड भनेकै थिएँ मैले। तिमीले मेरो कुरा सुनेनौ। कतै मैले तिमीलाई रोक्न खोजें कि भन्ठान्यौ। हेर्नकै लागि पनि तिमी यहाँ आउन खोज्यौ। अब तिमी यहाँ आइसकेका छौ र यहाँ के रहेछ त्यो देखिसकेका छौं। तिमी प्रोफेसर साहेब। तर तिम्रो त्यो प्रोफेसरी त्यहीँको लागि हो। यहाँ त्यसको कुनै अर्थ छैन। तिमीजस्ता मान्छेहरू यहाँ धेरै छन्। ती सबैले गर्ने भनेको म्यानुवल वर्कनै हो। त्यो पनि त्यति सरल छैन। अब तिमी त्यै पनि गर्न तत्पर हुन्छौ भने म तिम्रो लागि सानोतिनो काम खोज्ने प्रयत्न गरौंला।” सुरेन्द्रले राधेश्यामको अनुहारमा आँखा अड्याएर लामै भाषण गर्‍यो। राधेश्याम कोलको बीचमा परेर निचोरिँदै गरेको कागतीको गेडाजस्तै महसुस गर्न थाल्यो आफूलाई।

फुर्सतको समयमा जतिसुकै कुरा गरे पनि कामको समयमा भने सुरेन्द्र विल्कुलै फेरिएको रूपमा देखा पर्छ। ठीक समयमा उठ्ने, ठीक समयमा घरको काम भ्याएर ठीक समयमा जागिरमा जाने। त्यसको नियमित जीवन देखेर राधेश्यामसमेत आजकल यो ठाउँमा समयको कति धेरै महत्व रहेछ भन्ने कुरा अनुमान लगाउन थालेको छ। उसले केही भन्न पाउँदा–नपाउँदै सुरेन्द्र तयार भैसक्छ र हतारहतार गाडी हुँइक्याएर घरबाट बाहिरिन्छ। त्यसपछि सुरु हुन्छ राधेश्यामको त्यही एकाङ्गी जीवन। यन्त्रवत् घुमिरहेको घडीको लङ्गुरजस्तो समय। त्यो सबै हेरेर, भोगेर राधेश्याम त्यसै त्यसै वाक्कदिक्क हुन थालेको छ।

“भोक लागेको बेलामा तिमी आफै तयार गरेर खान सक्छौ।” उसको पाहुनाका रूपमा त्यहाँ बस्न पुगेको उसको साथी राधेश्यामलाई खाना खाने समयमा स्टोर र फ्रिजका खाने कुराहरू देखाउँदै
सुरेन्द्रले भनेको थियो।

जीवन यन्त्रवत् हुन पुगेको छ। काम क्यै छैन। साथीको घरमा पाहुना भएर बसेको छ। उठ्नु, खानु र सुत्नु। उसको काम नै त्यत्ति मात्र भएको छ। उसको साथी समय भएपछि काममा गैहाल्छ। घरमा बसिन्जेल पनि कि कम्प्युटरमा व्यस्त हुन्छ कि टि.भी.मा। बोलाएको बेलामा बोल्छ, बस्। तर झर्को मान्दैन। राधेश्याम भने अधिकाङ्श समय एक्लै हुन्छ।

उसलाई सजिलोे पनि छ, एक किसिमले हेर्दा। झन्डै बीस वर्ष पहिले बेलायत पसेको उसको
साथी सुरेन्द्र यतिबेला बेलायती नागरिक भैसकेको छ। उसका जहान–छोराछोरी सबै नै बेलायती नागरिक। उसको राम्रो ब्यवस्था छ। घर छ। स्वास्नी, छोराछोरी छन्। छोराछोरीको कलेजमा यतिबेला बिदा छ र यतिबेला तिनीहरू आमासँगै तिनीहरूको पुर्ख्यौली थलो घुम्नका लागि नेपालको भ्रमणमा पुगेका छन्। सुरेन्द्र भने उसको घर–ब्यवहार चलाएर बसेको छ। उसको ब्यवसाय भनेको त्यही रेष्टुरेन्ट हो। बेलायत पुगेको केही समयपछि उसले पनि घट्ट पिस्न सुरु गरेको थियो। एउटा इन्डियनको होटेलमा काम गर्दागर्दै केही वर्षपछि त्यो काममा त्यसले दक्षता हासिल गर्‍यो र त्यो अबधीमा केही दाम पनि जम्मा गर्‍यो। त्यसैको बलमा उसले वर्क् पर्मिट् पायो। त्यही नै उसका लागि स्थायी रूपमा बेलायत बस्ने एउटा माध्यम बन्न पुग्यो। केही समयसम्म अरुको कामदारका रूपमा बसेको उसलाई त्यहाँबाट सिकेको सिपले त्यै किसिमको काम गर्नका लागि निकै सघाऊ पुग्यो। अहिले ऊ त्यही प्रकारको आफ्नै काममा व्यस्त छ।

बिहान १० बजे घरबाट निस्केपछि सुरेन्द्र बेलुकी १२ बजेपछि मात्र घर पुग्छ। ऊ घर पुग्दा राधेश्याम मस्त निद्रामा परिसकेको हुन्छ। भोलिपल्ट बिहान धरतीमा भुक्भुके उज्यालो खस्न थाल्दानथाल्दै राधेश्याम बिउँझन्छ। यसो हेर्छ, देख्छ, वातावरण विल्कुलै निर्जन छ। 137यालबाट बाहिर हेर्छ। देख्छ, सडक सुनसान छ। वातावरण पनि विल्कुलै सुनसान छ। सडककिनारमा दुवैतिर निजी गाडीहरू लहरै पार्किङ्मा राखिएका छन्। नजिकै एउटा ठूलो अपार्टमेन्ट भवन छ। त्यो पनि सुनसान छ। अल्लि परतिर त्यस्तै प्रकारको अर्को अपार्टमेन्ट छ। होला, त्यसको प्रत्येक फ्ल्याटमा मानिसहरूले आफ्नो आवाद विस्तार गरेका होलान्। तर बाहिरबाट हेर्दा त्यो पनि सुनसान छ।

राधेश्याम बस्ताबस्ता वाक्क, दिक्क हुन्छ। सुरेन्द्रको बैठक कोठामा ठूलो फिलिप्स टि.भी. छ। त्यो निरस समयलाई धकेल्न ऊ रिमोट थिच्छ। बि.बि.सी.का मात्रै थुप्रै च्यानल छन्। न्युज च्यालन, इन्टरटेनमेन्ट च्यानल, पार्लियामेन्ट च्यानल आदि आदि। अरु पनि थुप्रै च्यानल छन्। तर ती कुनै पनि च्यानलले उसको मनलाई धेरै बेरसम्म स्थिर राख्न सक्तैनन्।

आज दिउँसो उसले एउटा होम कलिङ कार्ड किनेर ल्यायो र घरमा फोन गर्‍यो। राजु र सिर्जना सुतिसकेका रहेछन्। शकुन्तला पनि सुत्ने तर्खर गर्न लागेकी। सुरुमा सामान्य भलाकुसारी भयो। कुरा गर्दै जाँदा दुवैका गला अवरुद्ध भए। शकुन्तला त सुँक्कसुँक्क समेत गर्न पुगी। “आउनोस्, घर फर्कनोस्। कामै नपाएपछि कति दिन बेइलमी भएर बस्नु? क्यै बिग्रिएको छैन अझै। हाम्रो घर छ। जग्गा–जमिन छ। तपाइँको जागिर पनि यति चाँडै त गैसकेको छैन होला नि। सुख–दुख सँगै बाचौँला, सँगै मरौंला।” शकुन्तलाले राधेश्यामलाई सम्झाई। हो जस्तो पनि लाग्यो, तर उसले तुरुन्तै फर्किइहाल्ने कुरामा स्वीकृति जनाएन। त्यसको मन निकै आन्दोलित भैरहेको थियो। त्यति राम्रो तीन तीन ठाउँमा पढाउने काम छाडेर, भए भरको साँगा बिगारेर ऊ एउटा सुनौलो सपना बोकेर अनिश्चयको एउटा अँध्यारो गोरेटोमा टेकेर घरबाट हिँडेको थियो। गाउँघरको इतिवृत्त उसलाई राम्ररी थाहा थियो। त्यहाँका मानिसहरूको प्रवृत्तिसित पनि ऊ पूरै परिचित थियो। अरुका कुरा काट्न पाउँदा तिनीहरू खुबै प्रशन्न हुन्थे। ‘ठूलो भाग खान गएको थियो, यी देख्यौ, दुई दिन पनि बस्न सकेन र फेेरि फर्केर आइपुग्यो।’ ऊ फर्केर घर गएको खन्डमा मानिसहरूले उसप्रति गर्ने टिप्पणी यस्तै हुनेछन् भन्ने उसले अनुमान गर्‍यो।

सुरेन्द्र उसको एकदमै मिल्ने पुरानो साथी भएको हुनाले आजसम्म उसलाई बस्न खानको कुनै समस्या परेको थिएन। उसले प्रेमपूर्वक भनेको थियो “तिम्रो काम नमिलेसम्म तिमी निसङ्कोच यहाँ बस। काम पाएपछि एउटा सुर गरौंला।” राधेश्यामलाई ढाढस दिँदै सुरेन्द्रले यसो भन्यो। तर त्यसरी कति दिन निर्बाह चल्नु? केही दिनपछि सुरेन्द्रको परिवार पनि नेपालबाट फर्कने छ। त्यसपछि उसको बसाई पक्कै पनि अहिलेकै जस्तो सरल र सुगम हुने छैन भन्ने कुराको कल्पनाले त्यो भित्रभित्रै झन् अत्तालियो। के खानु, बस्नु र सुत्नु नै जिन्दगी हो? उसले यसरी सोच्यो। उसले के सोचेर घरबाट हिँडेको थियो, अहिले के हुँदैछ त्यो देखेर राधेश्याम अत्यन्त पीडित भयो।

बस्ताबस्ता थकित भएको राधेश्याम खुट्टा तन्काउन भनेर घरबाट बाहिर निस्कियो। पाँच मिनेटजति हिँडेपछि ऊ एउटा पार्कको प्रवेशद्वार नजिक पुग्यो। “न्युटन इकोलोजिकल गार्डेन।” प्रवेशद्वारसँगै एउटा हरियो बोर्ड टाँगिएको थियो। प्रवेशद्वारबाट भित्र पस्ने वित्तिकै उसले देख्यो, देब्रेतिर एउटा ठूलो झाडी छ र त्यहाँ काला जङ्गली एैसेलु लटरम्म फलेका छन्। अल्लि परतिर हरिया स्याउ हाँगा लच्काएर तलतिर झुन्डिइरहेका छन्। सोझै अगाडि बढेपछि अल्लि परतिर एउटा ससानु चिल्ड्रेन पार्क छ र त्यो भन्दा पर निकै ठूलो जमिनको हिस्सामा किसिम किसिमका फूलका बिरुवाहरू र नर्सरीका ड्याङ् छन्। बीचमा प्लाष्टिकको दुईपाखे छानु भएको एउटा लामो ग्रिनहाउस छ। त्यति ठूलो संरचनाभित्र पनि मानिसको भने कुनै सङ्केत छैन। केही चराहरू चिरविर गर्दै रुखको एक हाँगादेखि अर्कोमा भुर्र उड्दै गएको देखिन्छ। बस्। त्यो भन्दा केही छैन। विल्कुलै निर्जन। त्यो निर्जन ठाउँमा बस्न त्यसलाई झन् अत्यास लागेर आयो। त्यो त्यहाँ पुगेको केही समयपछि एउटा कुइरे युवक त्यै बाटो भएर लमकलमक गर्दै अगाडि बढ्यो। त्यो त्यसरी जाँदा नितान्त आफ्नै धुनमा थियो र त्यसले यताउता हेर्दासम्म हेरेन। त्यो निरस ठाउँका मानिसहरूको जीवनशैली , शिष्टता र संस्कृति देखेर त्यसलाई झनै दिक्क लाग्यो। उसको गाउँघरमा भएको भए त्यसरी बाटोमा भेट भएको अपरिचित मान्छेले पनि कुनै न कुनै बहानामा उसित
कुरा मिसाउँथ्यो र बाटो लाग्थ्यो। यहाँ त्यो आत्मियता खै? बेलायतको जीवनपद्धति देखेर त्यसैत्यसै दिक्क लागेर आयो उसलाई।

सुरेन्द्र साबिकसरह त्यै समयमा घर फर्क्यो। ऊ घरभित्र छिर्दा सधैँ ओछ्यानमा मस्त निदाइरहेको हुन्थ्यो राधेश्याम, तर आज भने ऊ कम्प्युटरको स्कि्रनमा जब् अपर्च्युनिटीका बिज्ञापनहरू हेरिरहेको थियो। सुरेन्द्रले उसको अनुहार पढ्यो र मनस्थिति पनि बु137ने प्रयत्न गर्‍यो। एकैछिनको नीरिक्षणपछि, ऊ आज धेरै मुडअफ छ भन्ने कुरा उसले सजिलै अनुमान लगायो।

बाथरुमबाट फ्रेस भएर किचेनमा पसेको सुरेन्द्रले फ्राइड प्राउन, बदाम र चिकेनका परिकार अनि स्याम्पेन् लिएर बैठकमा भित्रियो।

“सुन साथी, आज अलिकति इन्ज्वाय गरौं। भोलि मैले मेरो ड्युटी अफ् मिलाएको छु। हामी भोलि कतै घुमौला। आज तिम्रो विषयमा अलिकति सोचेर पनि आएको छु।” अन्तर्मुखी स्वभावको सुरेन्द्र आज अलिकति बढी नै खुलेर बोलेको थियो। राधेश्यामलाई ती कुनै पनि कुराहरूप्रति चाख लागिरहेको थिएन। एक हिसाबले हेर्दा सबै कुराप्रति वितृष्णाभाव जागिरहेको थियो। तर सुरेन्द्रको आग्रह टार्न नसकेपछि ऊ बस्यो र त्यसपछि ती दुवैजना खान र पिउनमा व्यस्त रहे।
“सुरेन, सात समुद्रपारिको यो बिरानो मुलुकमा तिमीले मलाई आश्रय दियौ। त्यसको लागि तिमीलाई धन्यवाद छ। तर हेर साथी, म यसरी शरणार्थी भएर कति दिन बसुँ? मलाई पनि कुनै न कुनै काम त खोज्नु पर्‍यो नि।” अल्कोहलको अलिकति मात्रा पेटमा परेपछि अल्लि बढी निर्धक्क भएर बढो भावुक शैलीमा राधेश्यामले भन्यो। त्यसका कुरा ध्यानपूर्वक सुनिसकेपछि प्रत्युत्तरमा सुरेन्द्रले भन्यो :
“हेर राधेश्याम, तिमी एकजना प्रोफेसर मान्छे । जस्तोसुकै काम गर्ने कुरा पनि भएन। तिम्रो योग्यताअनुसारको काम पाउन सम्भव पनि छैन। जस्तोसुकै काम गर्ने हो भने म तिमीलाई भोलिनै काममा लगाउन सक्छु।” सुरेन्द्रले बिना हिच्किचाहट भन्यो।
सुरेन्द्रका कुराले उसका मनमा अलिकति आशाको टुसो पलायो, तर त्यो जे पनि काम गर्नका लागि मानसिक रूपबाट तयार भैसकेको थिएन। तथापि उसले त्योसित सोध्यो, “जस्तो पनि कामको अर्थ के हो?”
“मैले एउटा इन्डियन रेष्टुरामा तिम्रालागि अलिकति कुरा गरेको छु। गर्ने नै हो भने भोलि म कन्फर्म गर्न सक्छु।” सुरेन्द्रले त्यसको मन छाम्न खोज्यो। राधेश्याम निकै दोधारमा पर्‍यो। त्यसको एउटा मनले भन्यो, मर्नु भन्दा बौलाउनु निको भन्छन्, हुन्छ भनौ कि त?तर त्यसको अर्को मनले त्यो कुरा पटक्कै स्वीकारेन। बाघले घाँस खाएको कुरा उसलाई थाहा थिएन। हुनु र नहुनुको द्वन्द्वमा फँसेको त्यसको मनले त्यो काममा हात नहाल्ने निधो गर्‍यो।
“त्यस बाहेक अरु क्यै हुन सक्तैन?” राधेश्यामले सुरेन्द्रको अनुहारमा आँखा अड्याएर सोध्यो।
“सेक्युरिटीमा जाने? तर त्यसका लागि पनि पहिले तिमीले अल्पकालीन तालिम लिनुपर्छ। अनि काममा लाग्नुपूर्व तिमीले पिन अर्थात् पर्सनल आडेन्टिफिकेशन नंबर लिइसक्नु पर्छ। सुरुमा बेलायती समाजमा एड्जस्ट् हुनका लागि अलि झन्झटै छ।” सुरेन्द्रले यस पटक अलि बढी उदार भएर कुरा गरिरहेको थियो।

भोलिपल्ट सुरेन्द्रले राधेश्यामलाई सेन्ट्रल लन्डन घुमाउन लग्यो। तिनीहरू भूमिगत रेलमार्ग भएर हाइडपार्क स्टेशन पुगे। रेलबाट बाहिर निस्केपछि मुसाका दुलाजस्ता सुरुङ्मार्ग हुँदै र दायाँ बायाँ घुम्दै लामो विद्युतिय भरेङ्बाट माथि उक्लेपछि तिनीहरू भूमिगत स्टेशनबाट बाहिर खुला आकाशमा निस्के। तिनीहरूले देखे, दाहिनेतिर भर्खर बढारकुढार गरेर राखेजस्तो एउटा विशाल चउर फैलिएको थियो र त्यसको बीचबीचमा यो छेउदेखि त्यो छेउसम्म पुग्ने चिल्ला फराकिला सडकहरू थिए। छुट्टी मनाउन त्यहाँ पुगेका मानिसहरूका झुन्ड यता उता छरिएर हिँडिरहेका थिए। सुरेन्द्र र राधेश्याम तिनीहरूझैँ नै मानिसहरूका हुलमा मिसिएर पार्कभित्र प्रवेश गरे।

झन्डै पन्द्र मिनेटको पैदलबाटो हिँडेपछि तिनीहरू पार्कको उत्तरपूर्वी कुनामा पुगे। त्यहाँ, गिटी ओछ्याइएको एउटा खस्रो पिचतिर औंल्याउँदै सुरेन्द्रले राधेश्यामलाई स्पिकर्स् कर्नर देखायो। त्यसपछि तिनीहरू त्यहाँबाट निस्केर बकिङ्घम प्यालेसतिर सोझए। तिनीहरू जताजता गएपनि राधेश्यामको मनमा भने द्वन्द्वको एउटा ठूलै भूमरी चलिरहेको थियो। तिनीहरूले बेलायतकी रानीको दरबार अगाडिपट्टिको स्क्वायरमा अबस्थित फाउन्टेनको किनारामा बसेर केही स्न्याप फोटो खिचे। त्यसपछि तिनीहरू सेन्ट जेम्स पार्कतिर लागे। त्यो पार्कको बीचमा रहेको लाम्चो आकारको सानु तलाउ र त्यसको किनारको चउरमा थरीथरीका हाँसहरू खेलिरहेका थिए। मानिसहरू प्रकृतिका बरदान ती चराहरूको उन्मुक्त खेल मन्त्रमुग्ध भएर हेरिरहेका थिए। केही पर्यटक भने त्यो मनमोहक दृष्यलाई आफ्ना क्यामरामा लुकाउन तँछाडमछाड गरिरहेका थिए। ती दुवै पार्कको बीचतिर पुगेपछि एकछिन अडिएर पछाडितिर फर्केर हेरे। खैरो रङ्गको बकिङ्घम प्यालेस निकै सुन्दर देखियो। त्यसपछि तिनीहरूले पूर्वतिर फर्केर हेरे। लन्डन आई थेम्स नदीको पूर्वी किनारामा उभिएर विस्तारै घुमिरहेको थियो।

सेन्ट जेम्स पार्कबाट बाहिरिएर ट्राफलगर स्क्वायर पुगेपछि एकछिनसम्म घुमघाम गरेर तिनीहरू टेन डाउनिङ् स्ट्रिटको बाटो हँुदै लन्डन ब्रिजतिर लागे। केही माथि पूर्वतिर टावर ब्रिज, केही तल पश्चिमतिर पार्लियामेन्ट स्क्वायर। थेम्स नदी त्यसका दुवै किनारामा भीमकाय बिल्डिङ्हरू बोकेर मन्द गतिमा बगिरहेको थियो। त्यै समयमा तिनीहरूले क्वीन एलिजाबेथ सेइलिङ् म्युजियम नाम दिइएको सेतो रङ्गको एउटा पुरानु तर निक्कै ठूलो जहाज थेम्स नदिको पश्चिमी किनाराको सतहमा निश्चल तैरिरहेको देखे। थेम्स नदीमा खुला छत भएका अरु ससाना पानी जहाजहरू पनि पर्यटक बोकेर ओहोर दोहोर गरिरहेका थिए।

रहँदा बस्ता डेड महिना समय त्यसै चिप्लिएर गएछ। त्यो अबधीमा राधेश्यामको मन छट्पटी र बेचैनीमा तड्पिएर निकै बोझलो बनेको थियो। उसले अब राम्ररी बुझसकेको थियो, लन्डन मानिसहरूका लागि एउटा स्वप्न–सन्सार थियो, तर उसलाई भने त्यो केही पनि लागेन। त्यसका मनमा त्यसको घर–सन्सार, त्यसका स्वजनहरू, त्यसका आफ्ना साथीभाइ र आफ्नो गाउँठाउँ, त्यहाँको आत्मिय भाव र याबत् चिज असाध्यै प्रिय लागे। ती सबै कुराहरूले घरिघरि आएर त्यसको मन चिमोट्न थाले। सुरेन्द्रको परिवार पनि नेपालमा छुट्टी मनाइसकेर अब चाँडैन लन्डन फर्कने कुरा उसले सुरेन्द्रबाटै सुनिसकेको थियो। उसलाई लाग्यो, उसका भविस्यका दिनहरू अवश्य पनि सरल हुने छैनन्। धेरै सोच विचार गरिसकेपछि उसले घर फर्कने निर्णय गर्‍यो र फिर्ती टिकट कन्फर्म गर्नका लागि टिकट बुकिङ् एजेन्ट अफिसमा फोन गर्‍यो।

एक दिन सुरेन्द्र अगिपछिको भन्दा केही छिटो घर फर्क्यो। ऊ घर पुगेपछि देख्यो, राधेश्यामले उसको लगेज कसिसकेको थियो। त्यसको त्यो चाल देखेर ऊ दङ्ग पर्‍यो।
“के हुँदै छ राधेश्याम? उसले छक्क परेको मुद्रामा उसलाई प्रश्न गर्‍यो।
“भयो सुरेन। मलाई पुग्यो। म आज जाँदैछु। सक्छौ भने मलाई एयरपोर्टसम्म पुर्‍याइदेऊ।” त्यसो भनिरहँदा त्यसको स्वर गंभीर तर दृढ थियो। उसले बिस्तारै भावुक मुद्रामा थप्यो : “म मेरा प्रियजनसँगै दुःखसुख गर्दै मेरै माटोमा मर्न चाहन्छु। भो, भयो, मलाइ यहाँको यो बैभव चाहिएन। मलाई त यो चकाचौध भन्दा मेरै गाउँघरको सरलता राम्रो लाग्यो। म यहाँको यो बिरानु बाताबरणलाई, यो बैभवलाई यहीँ छाडेर जाँदैछु।” त्यसो भनिरहँदा राधेश्याम निकै शान्त र दृढ भैरहेको जस्तो आभास भयो सुरेन्द्रलाई।

हिथ्रो विमानस्थलको डिपार्चर गेटबाट भित्र छिर्ने बेलामा ती दुवै साथीहरूले एक–अर्कालाई अङ्कमाल गरे। सुरेन्द्रका आँखाबाट अनायासै आँसु झरेछ, त्यो देखेपछि राधेश्यामले पनि उसको मन थाम्न सकेन। अघि भर्खरसम्म जून छरिएको त्यसको अनुहारलाई पनि कालो बादलले ढपक्कै ढाक्यो। त्यसका आँखा रसाए। त्यसले बलैसान्ती त्यसलाई दबाउने प्रयत्न गर्‍यो र हात हल्लाउँदै इमिग्रेशनको बाटो लाग्यो।

रातको लगभग दश बजेको हुँदो हो, कतार एयरवेजको बोइङ् जेट बिमान झन्डै चार सय यात्रुहरू बोकेर बेलायतको आकाशलाई चिर्दै लगातार दक्षिण–पूर्वतिर हानियो।

४ मार्ग २०६५
धापासी ७, काठमाडौं।

Nripendra Purush – Ma Doctor Bhaina

नृपेन्द्र पुरुष ‘यादि’ – म डाक्टर भइनँ
(मधुपर्क २०६७ असोज)

मान्छेको जस्तै संसारको पनि भाग्य हुन्छ भन्ने कुरा अब प्रस्ट भइसकेको छ । संसारलाई न त विश्वयुद्धले बदल्न सक्यो नत विश्व क्रान्तिले ।

मान्छे के ले सञ्चालित छ त, संसारजस्तै, सृष्टि के हो, प्रलय ?

छन् त अरू पशुहरू ! कि त भन्नु पर्‍यो पशुहरू अर्को जुनीमा के हुने ? मान्छेले त आफूलाई सुधार्‍यो भने राम्रो होला ! अवश्य कर्मफल र उसको अबको कर्मफल ।

म काठमाडौँको पुतली सडकको पद्मोदय हाइस्कुलमा पढ्न भर्ना भएपछि यसैतिर लागे- डाक्टरी शास्त्रले तान्न थाल्यो ।

अब मलाई मनपर्ने विषय नै शास्त्र डाक्टरी भएको छ, यसपछि मात्र दर्शन शास्त्र, इतिहास, मनोविज्ञान । म फुर्सदमा दर्शन शास्त्र खुब पढ्छु-उपनिषद्, योग वाशिष्ट मलाई अति मन पर्छ । दर्शन शास्त्र अँध्यारोको उज्यालो हो । दर्शन शास्त्रले पनि मलाई म को हुँ, भन्न सकिनँ । डाक्टरले पनि दर्शन शास्त्र पढे, सृष्टि र प्रलय बुझेर परोपकारी नै हुन्थ्यो धर्मबोध हुन्थ्यो ।

डाक्टरको धर्म नै जीवन दान गर्नु -मान्छेलाई बचाउनु, प्राणीलाई बचाउनु । मैले स्कुलमा डाक्टरीलाई चाहिने विषय नै लिए ।

विज्ञान, गणित, शरीर शास्त्र मेरो अर्को रुचिको शास्त्र संस्कृत पनि हो । ममा धुन चल्न थाल्यो-डाक्टर भएको दिन कस्तो होला ! प्राणीलाई मर्न नदिने -प्राणीलाई रोग लाग्नै नदिने – म के हुँला ! के मलाई मेरो जन्मले सुन्ला ?

मेरो सरलपन र आजसम्मको मस्तिष्कको बोधोपन-कहीँ काम नलाग्ने, मैले धुमधाम नाम चलेको स्कुल र अति उच्चतहका मास्टरहरूको पढाइले पनि मद्दत पाइनँ ।

डाक्टरीका लागि त अत्यन्त अब्बल दर्जाको मान्छेको स्वभाव र मस्तिष्क हुनै पर्छ ।

अति तेजस्वी डाक्टर, बैद्यले अरूजस्तो भएर हुँदैन ।

म्ष्कतगचदभम, लगचखष्यगक, भ्हअष्ष्मि, अबचभभिल आदिआदि हुनु हुँदैन । क्भचखष्अभ स्वभावको हुनै पर्छ त्भलमगधबथ । क्रियाशील आदि आदि …..।

केही गरुँ भन्ने खालको, सेवा गर्ने, धर्मात्मा-ईश्वरमा विश्वास राख्ने समय थियो- डाक्टर, बैद्य, झारफुकेलाई प्राणीको आयु थप्ने, निरोगी बनाउने भनेर मानिन्थ्यो ।

एक त, त्यो समय मान्छेलाई रोग नै लाग्दैनथ्यो । उन्नति गर्न-उनितिशील मस्तिष्क यस्तो स्वभाव नै चाहिन्छ शरीर नै परिश्रमी, त्यस्तै परिस्थितिको, अनि भाग्य, दर्शन शास्त्रका लागि दार्शनिक मान्छे पर्‍यो भने उसले केही गर्ला ?

पढाइ भन्नु नै अनुसन्धान पनि हो -अँध्यारो हटाउनु, अरू के के ……. SLC मा मेरो ज्यादै तल्लो स्तरको नतिजाबाट, म सावित भएँ, म डाक्टरी पढ्न सक्दिन । हरेक विषयमा माथिल्लो नम्बर चाहिन्छ र त्यहीँ विषयमा एकोहोरो नै ।

म कम्पार्टमेन्टलमा उत्तीर्ण भएँ, एक विषयमा, अरू विषयमा पनि मेरो पास मात्रको नम्बर रहृयो । कलेज पढ्ने बाटो चाहिँ पाएँ ।

मेरो जीवनले ठूलो धक्का दियो । त्यत्रो मिहिनेत र इच्छा त्यसै गयो । न हाँस्न सकें, न त रुन …….।

समाजले मान्छेलाई उन्नतिको स्थान दिने उसको काम र विचार हेरिदिने हो । तल्लो मान्छेलाई तल्लो स्थान र माथिल्लोलाई माथिल्लो स्थान, यही नै राम्रो प्रणाली हो नै ।

कैय्यन डाक्टर यस्ता छन् जो डाक्टरी पास गरेर डाक्टर पनि हुन नसकेर थन्किएका छन् । अवश्य नै मान्छे भाग्यको शिकार हो -ऊ केही गर्न सक्दैन । उसलाई उसको जन्मले जे गर्न पठाएको छ त्यहीँ गर्ने हो, विचरो मान्छे दुई दिनको जन्म हो । मान्छे केही दिनको खेल हो ।

न पाउनु छ भने ऊ केही पनि पाउँदैन, पाउनु छ त उसले केही पनि गर्नै पर्दैन, त्यसै पाउँछ ।

यो सृष्टिको विशेषता र पूर्णत मान्छेको कर्मफल अनि सृष्टि विधि । मेरो विश्वासमा मान्छे, मान्छे नै होइन, दुई दिनको रामछायाँ, एउटा सपना-एउटा भोग उसलाई आउनै पर्छ र जानै पर्छ अरू के के । विचरो म अर्कैतिर गएँ, वाणिज्य शास्त्र पढ्न थालेँ । हाम्रो देशमा वाणिज्य शास्त्र भरखरै खुलेको थियो- यस समयका युवकको सक्रियतामा ।

आखिर मलाई केले छोएको छ । त्यसले नराम्रोसँग उठ् बस् गर्न दिएको छैन र वातावरण नै मिल्दैन कसलाई दोष दिनु ?

मेरो बोधोपनले म बल्लबल्ल आई.कम. भएँ र बी.कम. पढ्न थाले । यसपछि फेरि चाटर्ड एकाउन्टेन्ट पढ्ने धुन रहृयो । यसै समय मलाई राजनीति र साहित्यले अलमल्याउन थाल्यो । लेख्न त म सानैदेखि लेख्थेँ भने राजनीति पनि ।

अहिले नै मेरो आत्महत्या गरे बराबर छ ।

वाणिज्य शास्त्रलाई अहिलेको तस्करी शास्त्रले राज्य गरेको छ, अराजक मात्र होइन पापी राजनीति छ, पापले विश्व, देशको शासनमा पापी । म डाक्टर भएको भए ?

लोक प्रसिद्ध हुन्थेँ नै, किनकि मेरो हृदयकै यो मेरो काम पर्‍यो, विश्व प्रसिद्ध पनि यसै कारण मलाई देशबाट बोलावट आउँथ्यो ।

संसारमा सबै कुरा एउटा दुइटाले मात्र जान्दैन, सबै जना एक ठाउँमा भएपछि, कुरो अर्कै हुन्छ । डाक्टरी शास्त्रमा अनुसन्धात्मक भए ज्यादै राम्रो अवश्य हुन्छ र ब्मखबलअभ त्भअजलयष्निथ को सफल प्रयोग पनि हुन्छ ।

अबको मान्छेले विज्ञानको उपयोग पाउनै पर्छ । नयाँ कुरा पत्ता लगाउनुपर्छ, नयाँ तरिका पत्ता लगाउनुपर्छ ।

त्भकत त्गदभ द्यबदथ को ल्भनबतष्खभ पक्ष मात्र जरुरी छैन तर असारमा पानी पर्न छाडेको १५ वर्ष भयो भने पुस-माघमा पहिलेको जाडो अहिले छैन-चिसो पनि छैन-कुहिरो लाग्दैन । यो वातावरणीय परिवर्तन मान्छेका लागि खतरनाक भइसकेको छ । मेरो अन्दाजमा अब १० वर्षमा हाम्रो देशमा अनिकाल निश्चित छ ।

मेरो ध्यान अवश्य नै आफ्नो देशमा प्राणीलाई निरोगी बनाउनु नै हुने थियो । यसका लागि योगको उपयोग गरेर होस्, बैद्यको औषधि -आयुर्वेदलाई अघि बढाएर देशमा सबै डाक्टर, बैद्य बेरोजगार भए पनि, निरोगीको वातावरण अवश्य नै हुनुपर्ने वातावरण हो तर निरोगी मान्छेले गरेर हुँदैन, हुँदै हुँदैन दैव इच्छा हो । मान्छे पतनमा गइसकेको छ । संसार अशुद्ध भएर पनि विषादी भइसकेको छ ।

हावापानी, विषादी भएर माटोले उत्पादन दिन छोडेको छ-मान्छेलाई र प्राणीलाई सङ्कट पारेको छ ।

अब चाँडै मान्छे बाँच्न कठिन हुने अवस्था छ, पुराणले भनेजस्तै सोचाइ तलतल हुँदै पतनबाट विनासतिर गइसकेको छ, समाज, दरिद्र विचारमा छ-सबै निच भइसकेका छन्, पापी पुराणले भनेको छ-अब संसारमा अनिष्ट मात्र हुन्छ । संसारलाई सुख हुँदैन तर मेरो बोधो दिमागले डाक्टरी गरेपछि झन् के होला फेरि ?

अहिले डाक्टर, बैद्य, झारफुकेको लडाइँ माथिल्लो अवस्थामा छ, यसबाट देशले दुःख पाइरहेछ, कमसेकम यो लडाइँ म हुन दिने थिइनँ । बरु आयुर्वेदकै बढ्ता प्रयोग गराएर, मान्छेलाई मृत्युञ्जयी गराउन यत्न गर्नु पर्छ कि ? अबको अवस्था भनेको मान्छेको प्रकृतिमाथि विजय हो ।

जे होस्, डाक्टर र बैद्यको लडाइँ हटाएर मिलेर काम गर्न नेतृत्व लिनेछु-बैद्य ठीक छ, बैद्यको औषधि डाक्टरीभन्दा उच्च कोटिको चाहिँ छ नै-हिमालयको जडीबुटीबाट निर्मित औषधि । डाक्टर बैद्यको लडाइँ व्यापारिक र कमिसनको लडाइँ हो, यो हानिकारक छ नै । यी दुईको अस्तित्वको पनि हो ।

अहिले पनि झारफुकेहरू प्रशस्त कमाउँछन् -उनीहरूको औषधि लाग्छ अनि कमाउँछन् । स्वास्थ्य क्षेत्रका अस्पतालमा अहिलेसम्म व्यापार, तस्करी र अस्वच्छ, अशुद्ध काम निर्मूल गरेर अस्पताललाई आराम गर्ने ठाउँ र आरोग्यभवन बनाउने थिएँ । यसमा देशको तमाम नर्सिङ होम, क्लिनिक छन् । सबै कमाउन मात्र लागेका छन् । यस कारण सक्नेले मात्र यसबाट फाइदा उठाउने, नसक्नेले आफ्नो पीडा सहेर बस्ने र मर्ने यो आजसम्मको कुनै पनि शासन व्यवस्थामा छ, जुन राम्रो हुँदैन । देशको यो स्थिति आजसम्मको कुनै पनि आन्दोलनले हटाउन सकेन, बरू यो ओरालो लागिसकेको छ ।

अस्पतालमा डाक्टर, सिस्टर र अरू कर्मचारी छिर्दा, अस्पतालमा राम्रो वातावरण होस् र रमाइलो होस्, बिरामी राम्रो होउन् । बिरामीको आधा रोग निर्मूल होस् । अस्पताल अस्पतालजस्ता छैनन्-बिरामी बस्न सक्दैनन् ।

अर्को कुरा स्वास्थ्य क्षेत्र निःशुल्क हुनुपर्छ, औषधि उपचार निःशुल्क हुनैपर्छ । सबैस्वास्थ्य कर्मीहरूको आपराधिक प्रतिस्पर्धा हटाएर सबैलाई ठीक ठाउँमा ल्याउने थिएँ । यिनको नियुक्ति, तलव, भत्ता, सुविधा, पेन्सन, फि राम्रो बनाइ दिएर अपराध हुन दिँदैन थिएँ । यिनलाई चाँडो रिटायर्डमेन्ट दिँदैन थिएँ- र यिनलाई समाजमा सम्मानित बनाउने थिएँ । अहिले डाक्टर अपहरणमा किन पर्छन् ? दूषित राजनीतिक र सामाजिक कारणले त हो नि डाक्टर बैद्यको व्यापारिक कारणले नै हो । डाक्टर, बैद्य, झारफुके कोही पनि ठीक ठाउँमा छैनन् । डाक्टर नै देशको सच्चा सेवक किन नबन्ने ? देशमा पानी सर्वसुलभ गराउन र स्वच्छ पानी, आयुर्वेदिक पानी उपलब्ध गराउन सरकारसँग सङ्घर्ष गर्न नेतृत्व लिने थिएँ । अहिलेको बागमतीको यो दुर्दशा देखेर म हैरान छु । पुराणले भनेको छ कलिमा नदीहरू स्वर्ग जान्छन् । अहिले देश दूषित भएकोले समाज-समाजको मान्छे, समाजको राजनीति र अरूलगायत धर्म पनि दूषित भएर, धर्मको क्षय भएको छ । देशमा पाप बढ्दै गएको छ ।

पुराणले भनेको कुरा प्रत्यक्ष स्थापित हुँदै गएको छ ।

नेपाल हाम्रो देशमा मान्छे निरोगी हुनुपर्ने । अब त गाउँका मान्छे पनि बिरामी भएका छन् । शिक्षा क्षेत्रजस्तै स्वास्थ्य क्षेत्र पनि दूषित भइसकेको छ । हिमालयको काखमा रहेको मेरो देश कसरी रोगी भयो ?

अवश्य पनि अहिलेका मान्छेको पापले, अब झन् के होला !

म मेरो देशको असल डाक्टर भएर संसारलाई देखाउने थिएँ-नेपालको औषधि र उपचारी । मेरो ध्यान असङ्ख्य गरिवप्रति हुने थियो, जो बाँच्न नसकेका-मर्न नसकेकाहरू-देशको भाग्यको विरोधमा उभिएर, भाग्यमानी नेता, कवि, कलाकारको विरोधमा उभिएर असङ्ख्य विरामीलाई निरोगी बनाउने थिएँ ।

प्रत्येक देशवासीको आशा केन्द्र बन्ने थिएँ ।

डाक्टरी शास्त्र, दर्शन शास्त्र र मनोविज्ञानको सच्चा प्रयोग गरेर संसारलाई देखाउने थिएँ । अब पनि आदर्शको युग हो भन्ने सावित गर्ने थिएँ । दुष्ट र पापीलाई शासनमा जान दिने थिइनँ, अहिले जस्तो ।

डाक्टर भनेका यमराज होइन, धर्मका अवतार हुन्, साँच्चिकै ईश्वर हुन भन्ने देखाइदिने थिएँ ।

हेरुँ मेरो कर्मफलले मलाई कहाँ पुर्‍याउने हो ?