Tirtha Sigdel – Anugaman

तीर्थ सिग्देल – अनुगमन

तपाईलाई के थाहा ? यो उज्यालो अनुहार भित्र कति पीडा लुकेको छ भनेर । के यसो हेर्देमा मात्र मान्छेको भित्र के भइरहेको छ भन्ने थाहा हुन्छ र ?
तपाई लोग्ने मान्छेहरु त केबल बाहिरी आँखाले मात्र मान्छेलाई हेर्नुहुन्छ । झट्ट हेर्यो, मजा लियो बस्…
बाहिरी आँखाले त बाहिरी संसार मात्र नियाल्छ, केबल । त्यो दोशी पनि हुन सक्छ । तर, भित्री मनले पो हेर्नुपर्छ त । तब मात्र देख्न सकिन्छ, असली संसार ।
एकाहोरो यति कुरा सुनेपछि केही नबोल्दा त लाटो भन्लान् भन्ने पीर छ । केही त बोल्नै पर्यो भन्ने लाग्यो । तै पनि मनभित्रबाट उर्लेर आएको भावना घाँटीमा आएपछि अड्कियो । किनभने बोल्नु अघि सोचेर बोल्नु रे । बोलिसकेपछि कतै त्यही बोलीको अधिनमा बस्नु नपरोस् ।
उसले कालो चस्मा निकाल्यो र लगायो ।
फेरि अर्को डाइलग आयो ।
हेरन… कुरा टारेको…
बाहिर घाम लागेको छ । अलिकति आँखाको शान्तिका लागि पनि कालो चस्मा लगाउनु उचित हुन्छ । उसले त्यही प्रयास गर्यो । तर, जति आँखाले कालो चस्मा लगाएर शान्ति महसुस गरिरहेको थियो, मनमा अशान्ति भाव उर्लिरहेको थियो । अब बाध्यता आइलाग्यो । ऊँ अनी अरु….
……….
उसले दोस्रो बिहे गरिछे । शायद जीन्दगीको आबश्यकता नै होला की ? त्यो उसले बल्ल महसुस गरिछे । किनकी आज ऊ जुन रुपबाट र रंगबाट बाँचिरहेकी छे, त्यो उसको आफ्नो नीजि प्रयासबाट सम्भब भएको हो । हिजोसम्म न ऊ सकैको आशमा बाँचेकी थिइ न कसैको सासमा । तर, जब उसले जीवनको परिभाषा बदली, तब लाग्यो मान्छे परिबर्तन हुन कति दिन पनि नलाग्ने रहेछ ।
शायद महिलाका लागि सबै भन्दा दुःखको कुरा एउटै क्षणमा हुन्छ । त्यो दिन उनीहरु सम्झन पनि चाँहदैनन् । उसले त्यो दिन देखी, भोगी । कक्षा ७ मा पढ्दै गर्दा कसैले उसलाई माया गरेछ ।
ऊ आफैँ भन्थी, कस्सम होला… त्यो बेला मैले उसको कुनै कुरा नै बुझिँन रहेछु । तर एकदिन यस्तो अबस्था पनि आइलाग्यो मैले उसलाई अंगालेँ ।
यद्दपि, कुनै दिन यस्तो पनि आयो । उही मेरो मायाँले मेरी आफ्नै बहिनीलाई प्रेम गरेछ । त्यसपछि मैले उसलाई त्यागेँ…
आखिर लोग्ने मान्छे न हुन् । केबल बाहिरी संसार नियाल्न चाहन्छन् र क्षणिकतामा रमाउँछन् । उसले पनि त्यसै गर्यो । त्यसपछि मैले बिहे नगरी बस्ने निधो गरें ।
जवाफ फर्काउन करै लाग्यो । चिया पनि आइसकेछ ।
प्रकृतिसँग रमाउनुमा के को दोश ?
छोटो एक बाक्यको प्रतिक्रियाले यति धेरै उद्धेलन र उभार आउला भन्ने कसले सोचेका हुन्छ र ?
ए… यस्तो ? मान्छेको जीवनसँगको खेलबाडलाई चाहीँ कुन प्रकृतिसँग तुलना गर्ने नी ? शायद लाजवाफ प्रश्नको समुचित उत्तर दिने प्रयास गरेन उसले किनभने ऊ उसको कुनै सवालको जवाफदेहिता बोक्ने मान्छे होइन । ऊ न त सूचना अधिकारी नै हो, जसले खुरुक्क सबै जानकारी दिनै पर्छ ।
ऊ कालो चस्मा मिलाउँदै फेरि घामतिर हेर्ने प्रयास गर्छ ।
अ साँची… तिमी यसरी आफुलाई कसरी मेन्टेन गर्न सक्छौ हँ ?, उसले एउटा सवाल बरु उल्टै गर्यो ।
ऊ हाँसी । हाँस्दा उसका दन्तलहर प्रष्ट देखिए । गन्न नभ्याएपनि उसका ३२ बटै दाँत हुनुपर्छ । किनकी झट्ट हेर्दा त्यस्तो देखिन्छ । दाँत मात्र होइन । दश बर्षजति अगाडि देख्दा पनि ऊ उस्तै थिइ, आज पनि त्यस्तै देखिन्छे ।
कारण ? कारण त उसले आफैँ कसरी पत्ता लगाउन सक्थ्यो र ? यो कुरा त सोध्नै पर्छ । नत्र कसरी पत्ता लगाउनु र ? फेरि अर्काको मन भित्र पस्न पनि त सकिँदैन नी ।
अँ… सुन्नुस् त । तपाई रोजी भन्ने केटीलाई चिन्नुहुन्छ ।, उसको थप प्रश्नमा के अर्थ र कारण लुकेको छ यसै अनुमान गर्न गाह्रो थियो । तर, यसको प्रश्नमा धेरैबेर घोत्लिनु परेन । तैपनि एकक्षण भएपनि कुरा लम्ब्याउनु पर्ला भन्ने ठान्यो उसले र भन्यो, किन… के भने र ?
हैन.. हैन … खास कारण त केही छैन, तैपनि
तैपनि भनेको के हो ? कस्तो तैपनि । कुनै पनि कुराको चुरो कारण हुन्छ । नत्र यो मानस्पटले कसरी तँ यो कुरा भन भनेर अह्राउन सक्छ र ?
उसले कुरा खोली ।
ए… कारण त्यस्तो पो है ।
हन.. केटीहरुमा कत्रो डाहा । अरुले के के गर्छन् ? को को के गर्छन् ? यो सबको चिन्ता र चासो किन लिन्छन् केटीहरु ?
संगै बसेकी उसकी साथी पनि हाँसी र भनी, होला नी… केही ? तँ किन अर्काको धेर चासो र चिन्ता लिन्छेस् ?
त्यसपछि यसले कुरा मोडी । तर, उसले एउटा कुराको राज खोतल्न चाहिरहेको थियो । त्यही माथिको कुरा जुन कुराले आज पनि उसको मनमा खुल्दुली मच्चिरहेको छ ।
अँ… तिमी आफ्नै बारेमा चाहीँ बोलन । भो अरुका कुरा धेर के गर्नु ।
तपाईलाई यस्तो लाग्दैन । तपाईलाई मैले देखेको, बोलेको कति बर्ष भयो । तरपनि म तपाईलाई उस्तै देख्छु । किन…?
शायद तिम्रो हेराईले होला, भन्न कर लाग्यो । किनभने आज उसको कुरा गर्ने शैली अलिक भिन्न देखिरहेको छु । ऊ आज अलिक खुलिरहेकी छ । किन हो ?
उसले अचानक कपालको प्रसंसा गरी । तपाईको कपाल किन यसरी कालो देखिएको ? दश बर्ष अगाडि पनि जस्तो तपाई उस्तै आजपनि । झन् यो कपाल पनि फुलेकै छैन त ।
उसको प्रसंसाको पात्र बन्नुपर्दा अलिक कठिनाई महसुस गर्नु स्वाभाबिकै हो । तर, त्यो दिन त्यस्तो भएन । बरु एउटा कुरा थप्न मन लाग्यो । त्यो के भने, अनी आफुलाई चै कसले भन्देओस् । दश बर्ष अगाडि जस्तो देखेको आज पनि उस्तै कसरी ?
छ कारण ।, उसले कुरा चपाई ।,
ए… उसो भा । मेरो पनि उही कारण हो ।, उसले पनि त्यसै गर्यो ।
किन आफुले चैं कारण खोल्नु ।
यसो भनेपछि मात्र ऊ बोल्न थाली ।
भनी, म नी … खासै बुढी देखिन्न । हेर्नु त, मेरो गाला चाउरी परेको छ र ? छैन नी ।
हो, त्यही त भनेको नी…, अधुरो भनाई माथि खासै टिप्पणी गर्नु भनेको आत्मप्रसंसाको भागेदार बन्नु भन्दा केही फरक होइन । तर, महिलाहरुमा त्यस्तो प्रसंसाको भोक जागेको हुन्छ भन्ने कसरी बुझ्नु ? कतिबेला उनीहरुको मन कमलो हुन्छ र कतिबेला ढुंगा बन्छ भन्ने कसलाई पो थाहा हुन्छ र ?
उसको पनि समस्या नै यही हो । आज ऊ यसरी मनको भाब पोखिरहेकी छे की कुनै अनुमान लगाउन गाह्रो परिरहेको छ ।
उसको छेउमा बसेकी साथी धेरेबेर भो बोलिरहेकी छैन । शायद यस्ता बार्तालाप सुनेर ऊ मज्जा लिइरहेकी छे वा अल्छी मानिरहेकी छे त्यो पनि अनुमान गर्न सकिने स्थिती छैन । किनकी उसको मौनताले के भाव बोकेको छ भन्न सकिन्न । शायद ऊ फेसबुक मै जीवन खोजिरहेकी पनि हुन सक्छ ।
त्यत्तिकैमा ऊ बोली । भनी, दि… एउटा केटालाई एउटी केटीसँग सेल्फी खिच्दा कस्तो महसुस हुन्छ ?
त्यसपछि दुबै हाँसे । आफैँ तर्क गर्ने र आफैँ टिप्पणी गर्नेसँग के लाग्छ र ?
उसले सोध्यो, कसलाई सोधेको…?
त्यसपछि उनीहरु फेरि हाँसे । शायद के सोचे थाहा भएन ।
………………
अचानक नगरपालिकाबाट फोन आयो । प्रवक्ताको रहेछ,
सर त्यो अस्ती नै पम्हहरुको अनुगमन गरेको थियो नी । त्यसबारे पम्प संचालकहरुसँग सहमति भयो । त्यो सार्बजनिक गर्नु पर्ने भयो । कता हुनुहुन्छ ?
अनुगमन …?
हो, अनुगमन ।
त्यसपछि हिँड्नु पर्ने भयो । जानै लाग्दा उसले मोबाइल मागी र नम्बर सर्च गरी । शायद उसको नम्बर सेभ छ छैन भनेर हेरी क्यार ।
शायद नम्बर भेटिन । उसले आफ्नो नम्बर डायल गरेर मोबाइल दिइ र भनी नाम आफैँ राख्नु ।
उसले सोध्यो, के भनेर सेभ गर्नु ?
उसले भनी, अनु…
उसले हुन्छ भन्यो र नम्बर सेभ गर्यो ।
अनुगमन…

Krishna Bajgain – Ganatantra Pachhi Ko Prem

कृष्ण बजगाईं – गणतन्त्रपछिको प्रेम

पाठकवृन्द ! यो कुनै राजनैतिक लेख होइन। त्यसो भए तपाईंको अनुमान हुन सक्छ ‘गणतन्त्र जिन्दावाद’ भन्ने नारा लगाउने युवायुवतीको प्रेम कथा हो। अथवा ठान्नु भयो होला गणतन्त्रपछिको व्यवस्था मन पराउनेहरूको कथा। ती कुनै पनि होइनन् ।

यस कथामा नायक र नायिकाको भेट ठ्याक्कै आठ वर्षपछि भएको छ। यसअघि उनीहरूको देखादेखमात्र भएको थियो। यो पुनर्मिलन पनि होइन।
नायिकाले प्रस्टै चिनी नायकलाई। तर नायक अल्मलियो। हो वा होइनको दोसाँधमा रह्यो। नायकलाई लन्डनको इन्डियन रेस्टुराँमा देख्‍नु पर्ला भनेर नायिकाले सोँचेकी पनि थिइन।

रेस्टुराँको सबै कामदार नेपाली। मालिक नेपाली। नेपालीले चलाएको रेस्टुराँको नाम चाहीँ किन इन्डियन राखेको होला? जिज्ञासा हुन सक्छ पाठकवृन्दलाई। त्यही त हो नि ब्यापार भनेको। ब्रान्ड बेच्ने हो नि ! सामान बेच्ने हो र बजारमा?

‘म आएको दुई महिना भइसक्यो। खान बस्न गाह्रो भयो। जे जस्तो हुन्छ, जति पैसा दिनु हुन्छ। काम पाउँ हजुर।’ नायकको यस्तो याचना सुन्दा ‘खुच्चिङ पर्‍यो’ भनेर आनन्द लिई नायिकाले। पुरानो हिसाबकिताब चुक्ता गर्ने सुनौलो अवसर आयो, बदला लिउँ जस्तो लाग्यो नलागेको हैन। एक मनले भन्यो मालिकलाई भनेर नराख्नु भन्दिउँ। तर उसको नारी मन पग्लियो। विदेशी भूमिमा एउटा नेपालीले दु:ख पाएको सुन्न सकिन। आ.. होस् भनेर चुप लागी।

नायिकाको पारिवारिक आर्थिक पृष्ठभूमिले जेट विमान चढेर बेलायतसम्म आउने हैसियत राख्दैनथ्यो। पैसाको कारण बाबु गुमाएकी गरिब परिवारकी छोरी।
लामो समयदेखि चन्दा मागिरहेका थिए। कैयौं पटक धम्की आएको थियो। उनीहरूले मागेको चन्दा रकम एकपटक हो र हरेक महिना तिर्नुपर्ने। यही भएर उसको बुबाले पैसा दिन अस्वीकार गरेका थिए। औंसीको मध्यरात १०, १२ जनाको हूल आए घरमा। चन्दा रकमको कुरा गरे।

‘म प्राथमिक स्कुलको सामान्य शिक्षक। मेरो पाँचजनाको परिवार छ। मेरो तलब सबै तिमीहरूलाई दिन्छु। मेरो घर खर्च चलाउनु। बचेको पैसा तिमीहरूलाई नै भयो।’ बुबाको यस्तो जवाफले उनीहरू उग्र क्रान्तिकारी बने।

‘तेरो घर चलाउने ठेक्का हामीले लिएको छौं’ भन्दै बुबालाई घिसार्दै बाहिर निकाले। त्यो घिसार्नेको हूलमा कालो कोठी भएको त्यो नायकलाई प्रस्ट चिनी। नायकलाई धेरै पटक उसको स्कुलमा देखेकी थिई। स्कुलमा काली कोठे नामले चिनिएको थियो। ऊ आए पिच्छे स्कुलका ठूला कक्षाका केही विद्यार्थी हराउँदथे। कोही भन्दथे विद्यार्थीलाई पछि लगाएर लग्यो। कोही भन्दथे विद्यार्थी नै उसका पछि लागेर भागे। तर ऊ चाहिँ डराउँदथी अपहरणमा परिने हो कि भनेर।

बुबालाई बेपत्ता पारेपछि सदरमुकाममा आमाले उजुरी नगरेको भए सायद उनीहरू उतै हुन्थे होलान्। त्यो उजुरीले गाउँबाट उठीबास लगायो। काठमाडौंमा दु:खले जीविका चलाइरहेका मामाले दु:ख माथि थप दु:ख व्यहोर्दै सबैलाई उतै बोलाए।

आएको दुई वर्षपछि काठमाडौंबाटै एसएलसी पास गरी। ‘प्लस टु’ जाने सुरसार हुँदै थियो। टुरिस्ट गाइड उसको मामाले कैयौं गोरागोरीलाई दिदीको परिवारले पाएको दु:खको कथा सुनाइरहेका थिए। बरोबर नेपाल आइरहने एक दयावान् गोराले नायिकालाई लन्डन पुर्‍याउने सम्पूर्ण जिम्मा लियो। नायिका लन्डन पुगी।
नायिकालाई लिएर वचनका पक्का ती गोरा लन्डनको ग्रिनफोर्ड रोडमा अवस्थित रेस्टुराँमा छिरे।

‘तपाईंको रेस्टुराँमा मेरो लागि कुनै जागिर होला।’ नियमित ग्राहकको यस्तो कुरालाई रेस्टुराँ मालिकले ठट्टा सम्झिएर हाँसोमा उडाए।

‘म सिरियस्ली कुरा गर्दैछु।’ उसको कुरा सुनेपछि रेस्टुराँ मालिक अलिक गम्भीर भए।

उनलाई अनुमान गर्न गाह्रो भएन सँगै आएकी युवतीका लागि जागिर मागिएको हो भनेर। उसो त ऊ हरेक सप्ताहन्तमा आउने गर्दछ। यसपटक मात्र हो युवतीलाई लिएर बीचमा आएको। ऊ एक्लै आउँदैन, कम्तीमा पनि १०, १२ जनाको समूहमा आउँछ। आएपछि सबैभन्दा धेरै खर्च गरेर जान्छ। उसको समूहले एकपटक गर्ने खर्चले युवतीको पूरै महिनाको तलब पुग्छ।

नायिका अब कलेजको विद्यार्थीमात्र होइन रेस्टुराँमा वेटरको जागिरे पनि भई। खर्च जोगाएर पैसा नेपाल पठाउन थाली। नायिका खुसी छे।

पाठकवृन्द ! उता नायकको विदेश पलायनको कथा पनि कम दर्दनाक छैन। एसएलसी पास गरे पनि पढाइलाई बीचैमा रोकेर क्रान्तिमा होमिएका थिए। क्रान्ति र जनमुक्तिका लागि बुर्जुवा शिक्षाको काम छैन। जनवादी शिक्षाले सबै ठाउँमा काम चल्नेछ भनेर घोकेका थिए। सोही कारण स्कुल, गाविस भवन जलाउँदै हिँडे। झोलुंगे पुल, विद्युत्गृह र पानीको कुलो भत्काउँदै हिँडे। नायकको यस्तो गतिविधिले तीव्रता लिँदै थियो देशमा गणतन्त्र आइहाल्यो। बाँकी भौतिक संरचना उनको हातबाट नष्ट हुनबाट जोगिए।

जे खोजेका थिए त्यो नै अभिशापजस्तै भयो। गणतन्त्रले त उनको सर्वस्वहरण गरेजस्तै देखियो। उनीसँग कोही पनि डराउन छाडे। चन्दा उठ्न छाड्यो। नायकको पनि घर परिवार थियो। रोजीरोटी चलाउन गाह्रो भयो। पार्टीमा गएर जिम्मेवारी र काम मागे। पार्टीले उनीजस्ता कतिलाई ›यवस्था गर्न सक्थ्यो र? पार्टीका जिम्मेवार नेताहरूले हेरौंला, उपयुक्त जिम्मवारी दिउँला, काम खोजौंला भन्थे। अलिकपछि त उनीभन्दा तेज र चलाख झुन्डले पार्टीलाई घेर्न थाल्यो। हेर्दाहेर्दै उनी त्यो घेराभन्दा बाहिरै भए।

जीविकाका लागि अनेकौं काम सुरु गरे। उनीसँग न त राम्रो शैक्षिक योग्यता थियो न त पुँजी नै। त्यसैले बिना पुँजीको काम सुरु गरे। पत्रकारितादेखि जग्गा दलालसम्म। टुरिष्ट गाइडदेखि मेनपावर एजेन्टसम्म। हरेक ठाउँमा उनलाई असफलता हात लाग्यो। खुला वातावरणमा न त उनको बलिष्ठ पाखुरा काम लाग्यो न त चर्को क्रान्तिकारी भाषण। जताततै आफू ठगिएको, आफ्नो शोषण भएको देखे। एकदिन एउटा दाउ लाग्यो। भनौं भाग्य खुल्यो। र लन्डन आइपुग्न सफल भए।

लन्डन आएपछि उनको दु:खको दिन सुरु भयो। कामको लागि लन्डनको बाह्र चक्कर मारे। नेपालमा नभेटिएका नेपालीहरू लन्डनमा भेटिए। प्रहरी र सेनाका भगौडादेखि पार्टीका चलाख नेता, कार्यकर्ता र सरकारी कर्मचारीसम्मलाई जमेर बसेको देखे। उनीहरूको घर, फ्लाट, गाडी आदि देख्दा बेकारमा आफू क्रान्तिमा अल्मिलिएकोमा पछुताउ माने।

काम पाउन धेरैलाई गुहारे। पार्टी, जात, थर, नाता, गोत्र, क्षेत्र आदिको च्यानल लगाए। अहँ काम पाएनन्। काम खोज्दाखोज्दै गोजी नै रित्तिसकेको थियो। थाकेर चूर भएको एक साँझ ट्रेनमा भेटिएका एकजना नेपालीको सहयोगमा उक्त रेस्टुराँमा कामको मेसो मिलेको थियो।

रेस्टुराँमा काम पाएको पहिलो दिन मेहनतले काम गरे। बेस्सरी थाकेर आधा रातमा कोठामा पुगेपछि कम्प्युटर खोले। निक्कै लामो समयपछि फेसबुकमा एउटा ‘स्टाटस’ लेखे- ‘विदेशी दलाल नेपाली नेताको चाकरी गर्नुभन्दा विदेशमा भाँडा मोल्नुमा मलाई गर्व छ। म श्रमको सम्मान गर्दछु।’

उनको फेसबुकको ‘स्टाटस’ पढेपछि लन्डन पुगेका कुरा धेरैले थाहा पाए। पार्टीका केही कार्यकर्ताहरू एउटा अप्ट्यारो र अडबाङ्गे मान्छे पन्छियो भनेर खुसी भए। लन्डन पुगेर पैसा कमाउने भयो भनेर उनलाई चिन्नेहरू भित्रभित्रै जल्न थाले। रातभरी आफ्नो स्टाटसमा आएको प्रतिक्रिया हेर्दै बिताए। बिहानै अनिँदो आँखा लिएर फेरि काममा निस्किए।

नायकलाई काममा खुब जोताइएको छ। नयाँ कामदार आएपछि पुरानाले त्यसै गर्दछन्। आफ्नो भागको काम पनि नयाँलाई थपिदिन्छन्। मन नपर्दा उसका विरुद्धमा मालिकलाई चुक्ली पनि लगाउँछन्। यो रेस्टुराँभित्र काम गर्नेहरूको प्रवृत्ति हो।

गधाको जस्तै भारी बोकेका छन् कामको। गोरुले जस्तो जोतिरहेको छ कामले नायकलाई। र घोडाजस्तै दौडिरहेका छन् काम लिएर। कामबाहेक केही देखेका छैनन् उनले। रेस्टुराँका कामदारहरूको ब्यवहार हेर्दा उनलाई लागिरहेको छ यीभन्दा बढी सामन्ती अरूको होलान्? दुईजना कामदारको काम एक्लैले गरेपछि पाएको ज्याला हेर्दा लाग्दछ यो मालिकभन्दा ठूला शोषक को होला? लागेर के गर्नु? बाध्यताको फाइदा अरूले उठाइरहेका छन्। यी सब सहनु छ। अर्को विकल्प छैन।

उता नायकले कसरी काम गर्दैछ भनेर नायिका चियो गर्दैछे। रेस्टुराँ भित्र उसलाई दलाएको देखेर नायिकालाई खुब मज्जा आइरहेको छ। नायकको अगाडि चारपाँच किलो प्याजदेखि नायिकाले। दुईचारवटा प्याज काट्दा नकाट्दै नायकको आँखाबाट तरतरी आँसुका धारा चुहिए। आँसु पुछ्दै प्याज काट्दैछन् नायक। नायिकाले मनमनै भनी- ‘क्रान्ति गर्दा कतिका टाउका काटे। कतिका हातगोडा काटे होलान्। ऊ बेला नआएको आँसु अहिले आउँदैछ। मान्छे काट्नुभन्दा प्याज काट्नु कति गाह्रो रहेछ, देख्यौ क्रान्ति नायक !’

केही समयपछि नायिकाले किचेनमा हेर्दा नायक बडेमानको भाँडा घोटीघोटी धोइरहेका थिए। डढेको भाँडा पटक्कै सफा भइरहेको थिएन। उनी पसिनाले निथ्रुक्कै भएका थिए। ‘देख्यौ ! नेताको पाउ मोल्नुभन्दा भाँडा मोल्नु कति गाह्रो रहेछ त कमरेड?’ नायिका मनमनै प्रश्न गर्दछे।

चल्तीको रेस्टुराँ। ग्राहकको भीडबाट कामको चाप अनुमान गर्न सकिन्छ। बाहिर भर्खरै डेलिभरी दिने गाडीले किचेनको सामान छाडेर गयो। ठूल्ठूला बोरा र गह्रौं सामानका बक्सा नायकले सकिनसकी उठाएर भित्र लाँदै थिए। नायिका सो दृश्य हेरिरहेकी थिई। मनमनै प्रश्न गरी- ‘एउटा बोरा उठाउन त्यति गाह्रो छ, पाँचजनाको परिवारको बोझ उठाउन कति गाह्रो रहेछ। थाहा पायौं मुक्तिदाता?’

यसैबीच एउटा ठूलो बोरा काँधमा हाल्दा सन्तुलन बिग्रेर नायक भुइँमा पछारिए। नायिका जोडले हाँसी। नायकले आफ्नो अपमान भएको ठान्यो। र उसको मुहारमा क्रान्तिकारी परिवर्तन आयो। नायिका डराई। वातावरणलाई सहज बनाउन हत्तपत्त प्रेमपूर्वक मुसुक्क हाँसी। ऊ मुस्कुराएको देखेर नायक पनि मुस्कुरायो।
काम सुरु गरेको तेस्रो दिन मै थाकेर गलित, युद्ध हारेर शिर ढलेको सिपाहीजस्तो नायकको हुलिया हेर्न लायकको थियो। नायकले पाएको दु:ख, हन्डर देखेर ऊ प्रतिको रिस, बदला र घृणा विस्तारै कम हुँदै गयो नायिकामा।

बाबुलाई अपहरण गरेका दिनदेखि नायक र उसका पार्टीका सबैलाई खुब घृणा गर्दथी। एकदिन अवश्य बदला लिन्छु भन्थी। तर गणतन्त्र आएपछि कल्पना गर्नै नसकिने सम्बन्ध विकास भएको देखी। टाउकोको मूल्य तोक्ने र बहुमूल्य टाउकाहरू एउटै पार्टीमा काम गरेको देखी। महँगा होटेलमा सहभोज खाएको टीभीमा देखी। विध्वंसकारीहरू प्रजातन्त्रको रक्षा र देश पुनर्निर्माणमा लागेको कुरा पत्रिकाहरूमा पढी।

अनि नायिकाले समय पढी। समयको धार भन्दा उल्टो चल्नु हुँदैन भन्ने निष्कर्ष निकाली। आज पहिलोपटक उसले सबैलाई माफ गरिदिई। र नायकसँग प्रेमपूर्वक बोली। गणतन्त्रपछिको पहिलो प्रेम थियो उसको।

लन्डन, बेलायत

– शनीबार, 5 आश्वीन, 2070

Tirtha Sigdel – Bojh

तीर्थ सिग्देल – बोझ

पृथ्वीको सुन्दर रचनाले यसै मन खिच्छ । किनकी हर कोही मानिसले सुन्दर परिकल्पना गर्न सक्दैन । तर, मान्छेको जिवन यति सुन्दर त कहाँ हुँदो रहेछ र ?
यसको केही मिनेट नबित्दै यो भनाइले ध्यान खिच्छ ।

हातको रेखा हेरेर भाग्य देखिने भए, राशिफल पढेर लेखेको कुरा पुग्ने भए…

शायद जीवनको परिभाषा त्यतिबेला फेरिने थियो, जतिबेला हामी भाग्यमा बिश्वास गर्दछौं । त्यस्तै राशीफल पढेर दैनिकी सुरु गर्दा परिणाम प्राप्त हुने भए मानिसहरुमा उत्साह मर्ने थियो, जाँगर हराउने थियो ।

भाग्य र भबिस्यको फैसला यदी भाबीले लेखेको जस्तो भइदिने भए, छैठीको दिनमा लेखिएको कर्मको रेखा आजसम्म तन्किएर आँउदा पनि मान्छेले कर्म गर्न छाडेको छैन । कर्मको धर्ममा अल्झिएर मान्छे शायद मान्छे बनेको हो, नत्र ऊ अहिलेसम्म भगवान बनिसक्ने थियो ।

तर, एउटा कुरा त पक्कै हो । जसरी जून पछि घाम आँउछ, रात पछि दिन आँउछ, त्यसरी नै मान्छेको जीवनमा दुःख पछि सुख पक्कै आँउछ । यो सास्वत सत्य हो । तर, भाग्यमा भर परेर होइन, राशीफल पढेर होइन, कर्म गरेर ।

आज ऊ निक्कै भाबुक देखिई ।

मैले भने, उही कुरा दोहेर्याएँ ।

जून पछि घाम आँउछ, रात पछि दिन आँउछ, त्यसरी नै मान्छेको जीवनमा दुःख पछि सुख पक्कै आँउछ ।

उसले त्यति बिश्वास गरिन । यो कारण बुझ्न मैले त्यति कर त गरिन । तर, पछि ऊ आँफै खुल्दै गई । तब मात्र थाहा भो ऊ एउटा भयानक पीडाबाट गुज्रिएकी रहिछ ।

भनी, यो दुनियाँमा सम्झाउने मान्छेको कमी छैन, खाँचो छ त केबल सम्झने मान्छेको…

आज ऊ एउटा पीडा बोध गरिरहेकी छे । उसलाई आज आफ्नै जीवन बोझ बनिरहेको छ । केबल उसँग एउटी सहारा छे, छोरी । तर, ऊ उसलाई आफुजस्तै बन्न दिने पक्षमा छैन । हो, हरेक मान्छेहरुका सपना हुन्छन्, उनीहरु हरेक रात सपना देख्छन् । खासगरी आफ्नो र आफ्ना सन्तानका बारेमा सपना देख्छन् । र, सपनालाई बिपना तुल्याउन मरिमेट्छन् ।
सम्भवतः उसले पनि यही सपना देखेकी होला, बर्तमानमा । बिगत भने उसको त्यस्तो रहेन । उसले सानैमा बिहे गरी । अहिले ऊ त्यस कामलाई गल्ती ठान्छे । किनकी उसले धोका खाई । उसलाई परिबेशले धोका दियो । परिबेश आज उसँग छैन ।

ऊ पढ्न चाहन्थी, यद्यपि उसलाई परिबेशले पढ्न रोक्यो । किनकी ऊ कुलतमा फँसेको रहेछ । त्यही भएर त ऊ आज हत्तपत्त कसैलाई बिश्वास गर्दिन । उसको बिश्वास मरिसकेको छ । यतिसम्म की ऊ आजकल कसैको फोनसम्म रेस्पोन्स गर्न चाहन्न ।

अझ बढी पुरुष सँग त ऊ बोल्न नै चाहन्न । किनकी उसको परिबेशले दिएको धोकाको परिणाममा ऊ आज अरुसँग पनि उही ब्यबहार गरिरहेकी छ । उसलाई थाहा छ, हरेक पुरुषमा एउटा खराब पात्र लुकेको हुन्छ । गलत चरित्र हुर्केको हुन्छ । र, पुरुषले जहिल्यै पनि आफ्नो स्वार्थ मात्र सिद्ध गर्न चाहन्छ ।

म सम्झाउन खोज्छु ।

जिन्दगीमा जति अप्ठेरा परिस्थिती आउछन नि, त्यति नै नयाँ कुरा सिक्ने मौका मिल्छ । प्रायः मान्छेलाई सुखले भन्दा दुःखले बढी सिकाउछ ।

ऊ खासै सम्झन तयार देखिन्न ।

तर, मैले उसलाई कतिपय उदाहरण दिएर भनें । अब बिगतलाई हेरेर मात्र जिवनको परिभाषा लेखिन्न, बर्तमानमा पनि रमाउन र जिउन सक्नु पर्छ । नत्र जिवन निरस बन्छ । किनकी हाम्रो जिवन त आधा जसो बितिसकेको छ । अब बाँकी जिवन कसरी बिताउने भन्नेमा लाग्नु पर्छ । नत्र यही सुन्दर जिवन बोझ बन्छ ।

हरेक कुराको उदाहरण दिन सजिलो हुन्छ । तर, उदाहरण बनेर देखाउन त्यति नै गाह्रो हुन्छ, सर !

उसको यो भनाईमा भने म अलिकति सहमत देखिँए । र, मैले मेरो प्रयासमा केही हदसम्म सफलता पाएको महसुस गरें । किनकी अघिसम्म ऊ मेरा हरेक कुरामा त्यति ध्यान दिन्न थी । म बोलिरहँदा अधिकांस अर्कोतिर फर्केकी हुन्थी । तर, अहिलेदेखि उसको ध्यान मेरा कुरामा छ । ऊ म बोल्दा म तिर नै हेरिरहेकी छ ।

मैले आजसम्म जति यसप्रकारका समस्या भएका बिरामीहरुलाई परामर्श दिएको छु । आज लाग्दैछ, यो मान्छे अलिक भिन्न छे ।

मैले सोधें, तिमी अब के गर्न चाहन्छौ ? जागिर, ब्यापार वा अरु नै कुनै नयाँ काम ?

मलाई चुनौती मन पर्छ, ढुंगाहरुसँग जुध्न मन पर्छ, पहाडमा कुद्न मन पर्छ, कांडाहरुसँग खेल्न मन पर्छ, किनकी म यी सबमा जिन्दगीको परिभाषाहरु भेट्न चाहन्छु ।

उसको टिप्पणी यस्तो आयो । तब मलाई लाग्यो ऊ भित्रबाट एउटा ज्वालामुखी बिस्फोट भएर आयो, जसको माध्यमबाट म एउटा सफलता हासिँल गर्न चाहन्थें । साँच्चै भन्ने हो भने, म मेरो केशमा पर्फेक्ट हुन चाहन्थें । अब त्यो पूरा हुँदैछ ।

हुन पनि, के कारणले हो , मैले आजसम्म हेरेको केशबाट म पछि हट्नु परिरहेको छैन । एउटा मनोचिकित्सक हुनुको सफलता जो मैले प्राप्त गरेको छु ।
उसले मुख फोरी । डाक्टर साहेव…

म बास्तवमा पढ्न चाहन्थें । त्यसपछि जागिर खान चाहन्थें । कलेज जिवनले मलाई अल्मल्यायो । म कतै रुमल्लिएँ, अल्मल्लिएँ । अहिले सोच्छु, त्यो उमेर नै त्यस्तै रहेछ । शायद कुमालेको माटो जस्तो… चिया पकाउन तताएको पानीजस्तो, जहाँ दुध हालेर खाए पनि हुने त्यसै खाए पनि हुने । मैले गल्ती गरें ।

परिबेश मेरो कलेजको साथी बन्यो । कसरी, कसरी …? थाहा छैन, आज जब म त्यो दिन सम्झन्छु । तब आँखा त्यसै रसाउँछ, मन भक्कानिएर आँउछ । मैले कलेज पढ्दा पढ्दै बिहे गरें, उसँग । तर, उसँगको संगत र पारिबारिक जीवन मेरा लागि निरस बन्यो ।

उसले एक दिन यतिसम्म गर्यो । मेरो एसएलसीको सर्टिफिकेटसम्म च्यातिदियो । म त्यतिबेला जागिर खाँदै पढ्न चाहन्थें । त्यस पछि …
झुटो बोलेर गाँसिएको सम्बन्धले एकदिन सजाय पाउदो रहेछ सर…

त्यसकारण मैले बरु सत्य बोलेर सम्बन्धलाई विदा दिन तयार भएँ । मैले उसलाई त्याग्ने निर्णय लिएँ । किनभने असत्य धेरै दिन टिक्दैन भन्ने मलाई थाहा थियो, बरु सत्य बोलेर बाँकी जिवन फरक तबरबाट बिताउने निश्चय गरें मैलै ।

उसको भनाइलाई आजलाई मैले बिट मार्ने कोशिस गर्ने प्रयास गरें । र, यसो भनें
जिबनमा जति नै दुःख पीडा किन नहोस ? आखिर सम्हालिएर मुस्कुराउनु पर्छ । किनकी यहाँ दुःख पनि आफ्नै हो र दुख्ने मुटु पनि आफनै ।

त्यसपछि बल्ल ऊ हाँसी । र, भनी…

शायद डाक्टर साहेब । हो, आज म धन्य रहेछु । मैले तपाइजस्तो महान ब्यक्तिलाई भेट्न पाएँ, जसकारण मैले यति ज्ञान पाएँ । पक्कै तपाईले भनेजस्तो आखिर मुटु पनि आफ्नै हो, मन पनि आफ्नै मस्तिस्क पनि… ।

बास्तबमा यी तीन चिजको समन्बय नै मानब चेतना हो रहेछ । किनकी, जिवनमा आइपर्ने जति पनि दुःख हुन्छ, त्यसलाई पार लगाएर अघि बढेमा सफलता प्राप्त हुने रहेछ… ।

जिन्दगीमा जति धेरै अफ्ठ्याराको सामना गरिन्छ, उति नै प्रगतिको शिखर चढिने रहेछ । असफलता नै सफलताको जननी हो भनेको त्यसै होइन रहेछ …।

जिवनरुपि सफलताको सिँडी चढ्नलाई पक्कै पनि साह्रो त पर्ला नै । तर, त्यसपछिको खुशीले संसारलाई जित्न सकिने रहेछ …।

आफ्नै जिवन जलाएर खरानी बनाउनु भन्दा तत्कालीन परिबेशबाट मुक्ति पाउन कुनै सामान्य प्रयास पनि काफी नै हुने रहेछ …।

म अब जानी नजानी आफ्नो मुटु जलाउने छैन, आफ्नो दुःख सम्झेर रुने छैन । अब म आफ्नै जिवनलाई बोझ ठान्ने छैन, बरु त्यो बोझरुपि जिवनको काँडा झिकेर मिल्काइ दिने छु ।

झापा

Madhab Sayapatri – Mukundo

माधव सयपत्री – मुकुण्डो

त्यो क्षतविक्षत प्रहरी चौकीसँग उसको के सम्बन्ध थियो, कसैलाई थाहा थिएन ।

घाम डुबेपछि विक्रम घरदेखि १५ मिनेट टाढा भत्केको प्रहरी चौकी जान्थ्यो । घण्टौंसम्म त्यतै हराउँथ्यो, वरिपरि घुम्थ्यो, भक्कानिथ्यो । रात निकै छिप्पिएपछि आउँथ्यो । घर आइपुग्दा पनि ऊ सुँक्कसुँक्क गरिरहेको हुन्थ्यो । टिलपिल आँसु पारेको हुन्थ्यो ।

विक्रम लामो समयदेखि तनावमा थियो । लोग्नेको मन बहलाउन विमला घुम्न जाने कुरा गरिरहन्थी, विक्रम मान्दैनथ्यो । ऊ छोराछोरीसँग पनि झर्केर बोल्न थाल्यो । विमलासँग अप्ठ्यारा र विरक्त लाग्ने कुरा गर्न थालेको थियो ।

एकदिन उसले भन्यो, “तिमीहरूले अब मेरो वास्तै नगर्नू । मलाई यो अवस्थामा पु¥याउने तिमीहरू हौ । तिम्ले पनि आफ्नो बाटो रोज्दा हुन्छ, म आफ्नो बाटो रोज्छु । यहाँ कसैले कसैलाई सधैंभरि साथ दिइरहन सक्दैन । दिइरहनुपर्छ भन्ने पनि छैन ।”

लोग्नेका अप्रत्याशित र अडबांगे कुराले विमला चिसी भई । लोग्नेले गरेका यस्ता असामान्य कुरा उसले सासूलाई भनिन । भन्नु उचित पनि ठानिन । उसको मन चिराचिरा भएर फाट्यो ।

लोग्ने सामान्य दिनचर्याबाट विचलित हुन लागेको महसुस विमलाले गरिसकेकी थिई । लोग्नेको तर्कमा कुनै तुक देखिन । तैपनि भनी, “तपाईंले यस्ता कुरा गर्न सुहाउँछ ? छोराछोरी मैले मात्र जन्माएकी हुँ ? यो उमेरमा यस्ता कुरा गर्ने ?”

विक्रम अलि कडै भएर बोल्यो, “तिमीले मलाई अब अर्तिउपदेश दिनुपर्दैन विमला ! मेरो जिन्दगी मेरै खुस । अब मेरो बाटोमा कोही तगारो बन्न नआए हुन्छ । कसैलाई पालनपोषण गर्ने ठेक्का लिएको छैन
मैले ।”

विमला आघात भएर लोग्नेसामु उभिरही ।

० ० ०

कोठामा विक्रमको भाइकी छोरी रक्षा देखिई । विक्रम झोक्राएर बसेको थियो । रक्षाले भनी, “ठुल्बा, तपाईंलाई के भाको ? तपाईंले यस्तो गर्दा मलाईं कति पीर पर्छ थाहा छ ? तपाईंले गर्दा ठूलोमम्मी कति रुनुहुन्छ ।”

विक्रम बोलेन । सोच्यो– अब कोही रुनु र हाँस्नु, खुसी हुनु र दुःखी हुनुसँग मेरो कुनै सम्बन्ध छैन । मैले मेरो बाटो रोज्नुपर्छ ।

रक्षाको अनुहारमा हे¥यो । औडाहा भयो, छटपटी भयो, बेचैनी बढ्यो । युद्धको भयंकर मोर्चामा हतियार चलाउँदा समेत ऊ यसरी बेचैन भएको थिएन । आज भाइकी छोरीको अनुहार हेरेर भयो । उसले दर्जनभन्दा बढी भिडन्तमा आत्मविश्वासका साथ शत्रूको छातीमा बन्दुक ताकेको थियो । घण्टौँसम्म लडेर कैयौं शत्रूलाई मारेको थियो । तर, ऊ अचेल रक्षाको अनुहार देख्दा हजारौँ पटक मर्ने गर्छ ।

० ० ०

सेना समायोजनमा अयोग्य ठहरिएर विक्रम उर्फ ‘प्रहार’ क्यान्टोनमेन्टबाट बाहिरियो । ऊ सरासर घर आयो । आमालाई केही भन्न सकेन । श्रीमतीलाई भन्यो, “म अयोग्य ठहरिएँ विमला । अब म विदेश भासिन्छु ।”

विक्रमका कुरा विमलालाई बहुतै चिसा लागे । उसको अनुहारमा कालो बादल पोतियो, रुनमात्रै सकिन । श्रीमान्को यो असामान्य अवस्था देखेपछि ऊ चुप रहन पनि सकिन । भनी, “तपाईंलाई के भएको छ ? जागिर पाइएन त के भयो ? खेतबारी छ, खनीखोस्री खान पुग्ने । आमा हुनुहुन्छ, म छु, रहरलाग्दा छोराछोरी छन् । सबैलाई हेरेर चित्त बुझाउनु पर्दैन ? तपाईं यसरी नबहकिनु न ।”

श्रीमतीका कुरामा विक्रमले चासै राखेन । ऊ उभिरह्यो र पारिपट्टि फुंग उडेको पहाडलाई हेरिरह्यो । बाँकी जीवनलाई पहाडमै रूपान्तरण गरेर हे¥यो । सोच्यो– जिन्दगी दुःखकै पहाड हो ।

० ० ०

सुमित्रा बज्यैका छोरा हुन्– विक्रम र पवन । उनीहरूको बिहे एउटै घरमा भएको थियो, केही वर्षको अन्तरमा । विमला र हिमला दिदीबहिनी थिए । सरकार–विद्रोही युद्ध चर्किरहेकै बेला कान्छो छोरा पवन सशस्त्र प्रहरीमा छि¥यो । दाजु विक्रम भने केही पहिल्यै छापामारतिर लागिसकेको थियो । सुमित्राका पति पहिल्यै बितेका थिए । पवन गर्भे टुहुरो थियो । सुमित्राले साह्रै गोता सहेर छोरा हुर्काएकी थिइन् ।
पवन बित्दा उसकी छोरी ६ महिनाकी मात्र थिई । उसलाई छोरीको अनुहारसमेत राम्रोसित याद थिएन । भर्ना भएको ६ महिनापछि ऊ रातिराति घर आएको थियो । ३ दिन घरमै लुकेर बिहान भाले नबास्दै फर्केको थियो । त्यसपछि विद्रोहीको डरले घर आएन ।

श्रीमान् बितेको खबरले ऊ बेहोस भई । आमाको छातीमा कहिल्यै निको नहुने घाउ लाग्यो । रक्षा सोध्थी, “मामु, हाम्लो बाबा खोई ? साथीहरूका बाबा छन् । हाम्रो बाबा किन नभएको ? बाबा खोजेल ल्याइदिनू है मलाई ।”

छोरी रक्षाको जिज्ञासाले उसको मन छियाछिया हुन्थ्यो, मर्ममा घाउ हुन्थ्यो । मन भक्कानिएर आउँथ्यो । ऊ केही भन्न सक्दिनथी । मुटुमा गाँठो पथ्र्यो र सासै रोकिएलाझैँ हुन्थ्यो । यति भनिदिन्थी, “तिम्लो बाबा तिमीलाई नाना लिन जानुभएको छ ।”

रक्षाका बाबा नाना लिएर कहिल्यै आएनन् । पछिसम्म सोधिरही, “तपँैले बाबा नाना लिन जानुभएको छ भन्नुभएको हैन ? खै त बाबाले नाना ल्याएको ?”

अहँ, उसले छोरीलाई बाबा ल्याइदिन सकिन र सम्झाउन पनि सकिन । उसको मन तातो भुंग्रोमा परेको थियो । कसरी बुझाओस् छोरीको चित्त ?

रक्षाका साथीले सुनाइदिए, “तिम्रा बाबा लडाइँमा मरे । अब कहिल्यै फर्केर आउँदैनन् ।”

रक्षाको बालमनले सोच्यो– ‘मरे’ भनेको के होला ? मरेपछि मान्छे फर्केर आउँँदैन त ?

विक्रम छापामारमा सामेल हुँदा छोरो शेखर ३ र छोरी दीक्षा १ वर्षका थिए । साना लालाबाला र भर्भराउँदी श्रीमती छाडेर विक्रम छापामार बन्न पुगेको थियो । वर्गविहीन समाज व्यवस्था र राज्य व्यवस्था स्थापनाका खातिर ऊ भूमिगत भएको थियो । अर्थात् ऊ ‘महान् जनयुद्ध’मा लागेको थियो । साथीहरूले उसलाई सपना देखाएका थिए । अरूले देखाएका सपनामा ऊ सयर गर्न थालेको थियो । उसले सोचेन– देखाइएका सपनाहरू पूरा हुँदैनन् । सपना त आफैं देख्नुपर्छ ।

सुमित्रा बज्यैको पुत्र वियोगको घाउमा खाटा बस्दै गयो । पूरै निको त के हुन्थ्यो, छोरा गुमाएको पीडा र सम्झनाको तीरले उनलाई आघात बनाइरह्यो । गर्भे टुहुरो हुर्काएको छोरा । ठूलो छोराको असामान्य व्यवहारले उनको घाउमा झन् नुनचुक छर्किदियो ।

० ० ०

विक्रममा मानसिक तनाव झनै बढ्यो । विमलाले उसलाई सम्झाई, “तपाईंलाई रोगले गाल्दै लगेको छ, । यसरी बसेर हँुदैन । हिँड्नुस्, म तपाईंलाई अस्पताल लैजान्छु ।”

विक्रमले भन्यो, “मलाई के भएको छ र ? मेरो शरीर सगल्ती छ, हातगोडा सग्लै छन् । म किन अस्पताल जाने ?”

उसले भित्र दुखेको घाउको कारण खोलेन ।

ऊ मानेन हत्तपत्त । श्रीमतीले निकै कर गरेपछि ऊ अस्पताल जान राजी भयो । सहरको मानसिक रोग विशेषज्ञकोमा पु¥याई विमलाले । डक्टरले सोधे, “के भयो तपाईंलाई ?”
विक्रम बोलेन । टोलाएर हेरिरह्यो ।

विमलाले विक्रमको रोगबारे फेहरिस्त बताइदिई, “उहाँ एकोहोरो हुनुभएको धेरै भयो डाक्टरसा’ब । उहाँ नमान्दा नमान्दै मैले कर गरेर यहाँ ल्याएँ । उहाँलाई के भएको होला ?”

डक्टरले विक्रमको केस हिस्ट्री बुझे । विक्रमले छापामार बनेर युद्धमा सामेल भएदेखि क्यान्टोनमेन्टबाट बाहिरिएसम्मको बेलीविस्तार लगायो । तर, उसले एउटा कुरा भनेन, जसले उसलाई आफैँदेखि घृणा उत्पन्न गराएको थियो । उसलाई रोगी बनाएको थियो । मनलाई आगोमा पिल्स्याइरहेको थियो । र, उसैको मनले अपराधी करार गरिरहेको थियो । श्रीमतीलाई पनि भनेको थिएन ।

डक्टरले सोधे, “मन कुँडिने गरी तपाईंलाई कसैले बचन लगाएको थियो ? आफैंलाई पछुतो हुने त्यस्तो केही काम गर्नुभएको थियो ?”

डाक्टरले जति छड्के प्रश्न सोधे पनि उसले भन्दै भनेन । डक्टरको मुखबाट ‘पछुतो’ शब्द सुन्नेबित्तिकै उसलाई चिटचिट पसिना आयो । घोरिएर भुइँतिर हेरिरह्यो । मन कताकता गएर अल्झियो । सामान्य सोधपुछको आधारमा डक्टरले ‘सामान्य डिप्रेसन’ भन्दै कलम धस्काइदिए ।

कागज बोकेर विमला आफैँ औषधि किन्न फार्मेसीतिर जान लाग्दा विक्रमले रोक्यो । भन्यो, “विमला ! मलाई केही भएकै छैन, किन औषधि खानु ? म औषधि खाँदै खान्नँ, किन्नु पर्दैन ।”

विमला झोक्किएर बोली, “यत्रो खर्च गरी काठमाण्डु आइयो । जाँचेपछि औषधि खानु पर्दैन ?”

उसले भन्यो, “मैले अस्पताल आउनु पर्दैन भनेकै थिएँ, तिम्रै ढिपीले गर्दा हो । तिमी नै खाऊ औषधि ।”

विक्रमका कुराले विमला फतक्कै गली । केही भनिन । ऊ औषधि नकिनी फर्किई ।

० ० ०

विक्रम घरबाट निस्केर सोझै भत्केको प्रहरी चौकी पुग्यो । भग्न चौकीको आँगनमा काँस उम्रिएर घारी भएको थियो । उसले आँखा घुमाएर चारैतिर हे¥यो । चौकीको पर्खालमा लेउ उम्रिएर हरियै भएको थियो । उसले भग्नावशेषको एक चक्कर लगायो । पर्खालको चिप्लेटी ढुंगामा बेहोसी पारामा थ्याच्च बस्यो, खुइय..ग¥yen;यो र आकाशतिर हे¥यो । कालो बादल आकाशमा अनेक आकार बनाउँदै र बत्तिँदै थियो । बादलको आकार भत्किँदै पनि थियो । सोच्यो– ऊ आफैँ बादल हो, जसको नियमित कुनै आकार हुँदैन । हावाले छिनभरमै छिन्नभिन्न बनाइदिन्छ ।

पर मन्दिरमा बजेको घण्टको सुरिलो आवाले उसको सोचाइ भंग गराइदियो । फेरि फर्कायो मन । एकाग्र गराउन खोज्यो । जिन्दगीमा घुमेका अनगिन्ती मोडहरू सम्झियो । आज ऊ यस्तो घुमाउरो मोडमा पुगेको छ, जुन मोड पार गरेपछि घरिघरि जिन्दगीका मोडहरूमा बलात् मोडिनु पर्दैन । दुःसाध्य विगतले छिनछिनमा कोतर्दैन । र, कसैको मायामोहमा निकट वा दूर हुनु पनि पर्दैन ।

खल्तीबाट एउटा कागज झिक्यो र केही लेख्न लाग्यो । आज ऊ विद्रोहका आगो ओकल्ने गीत लेख्ने मुडमा छैन । ऊ एकदमै भिन्न मनस्थितिमा छ । उसको ‘मोड’ बदलिएको छ ।

हतारहतार लेख्यो र ज्वारीकोटको खल्तीमा हाल्यो । एकचोटि क्षितिजमाथि आएको घाम हे¥यो । मन दह्रो पा¥यो । कम्मरमा लुकाएर बाँधेको नाइलनको डोरी झिक्यो । छेवैको नासपातीको रूखमा चढ्यो । हाँगामा डोरी बाँध्यो बेस्सरी । डोरीको अर्कोतिरको छेउले आफ्नै घाँटीमा कस्यो । र, हातगोडा रूखबाट छाडिदियो । बिजुली चम्केको जस्तो देख्यो । चट्याङ परेजस्तो लाग्यो, त्यसपछि केही थाहा पाएन ।

विक्रमले आत्महत्या गरेको कुरा गाउँमा पैmलियो । घटनास्थलमा तमासेहरूको भीड लाग्यो । फासफुस आवाज सुनियो । कानेखुसी गर्नेहरूले विभिन्न लख काटे । कसैले भन्यो, “अर्धपागल भएको थियो, मरेछ, दुःखै बिसाएछ ।”

विमला डाँको छाडेर रुँदै आइपुगी । पछिपछि हिमला पनि आइपुगी । श्रीमान्को झुन्डिएको लासतिर हेर्दै विमला हिक्का छाडेर रोई । केही बोल्न सकिन । रक्षाले अत्तालिएर रुँदै भनी, “ठूलोबाबा ! तपाईंलाई हाम्रो माया लागेन ?”

घटनास्थलमा प्रहरी आइपुग्यो । मुचुल्का उठायो । रुख चढेर डोरी काट्यो । विक्रमको लास भुइँमा बजारियो । विमलाले हेर्नै सकिन । ऊ चौरमै पछारिई ।

सुमित्रा बज्यै पनि बत्तिँदै आइपुगिन् । असरल्ल कपालको झाँक्रोले उनको रूप बीभत्स देखिएको थियो । बेहोसी पाराले छोराको लाशमा छाँद हालिन् । उनको कारुणिक चित्कारले सबैका आँखा रसाए ।
प्रहरीले सामान्य अनुसन्धान ग¥यो । लगाएको लुगा खोल्यो । ज्वारीकोटको खल्तीमा एउटा कागज भेट्यो । सुमित्राले झम्टिएर त्यो कागज समाइन् । त्यसमा लेखिएको थियो––
“आमा ! अब तिम्ले तिम्रो छोरालाई पाउने छैनौ । म गएँ आमा, गएँ ! म किन गएँ तिमीलाई थाहा छ ? अब थाहा पाउनेछ्यौ । रक्षाको प्रश्नले मलाई मुटुमै तीर हानिरहन्छ । हिमलाको निर्दोष अनुहारले मलाई पलपलमा घोचिरहन्छ । मैलेभन्दा ठूलो युद्ध त तिमीले पो लडिछौ । बा नहुँदा पनि तिम्ले हामीलाई लाखौँ कष्ट सहेर हुर्कायौ, बढायौ र पढायौ । कति माया खन्यायौ हामीमाथि ! तिम्रो मायाको गहिराइ कति छ म नाप्न सक्दिनँ ।

म आज मैले लडेको अन्तिम युद्धको बयान गर्दैछु । आमा ! लगातार ३ महिनाको योजना र स्थलको विश्लेषणपछि चौकी हान्ने टुंगोमा पुग्यो पार्टी कमिटी । सेन्ट्रीबाहेक सबै प्रहरी सुतेपछि चारैतिर माइन बिछ्यायौँ । तलमाथि, दायाँबायाँ चारैतिर छापामार साथी अलर्ट बसे । मध्यरातमा चौकीमा एकसाथ आक्रमण भयो । आक्रमणको सम्पूर्ण योजना र जिम्मेवारी मेरै थियो । माइनको तार जोड्नेबित्तिकै चौकीको एक भाग हावामा उड्यो । केही प्रहरी सुतेकै ठाउँमा सिद्धिए । बाँकीले प्राणको भीख माग्दै हामीसामु आत्मसमर्पण गरे । हामीले युद्धको सामान्य मर्यादा पनि पालना गरेनौँ । आलो रगत पिएका सिंहझैँ भएका थियौँ । हृदयमा प्रेमको कुनै अवशेष थिएन ! हामीभित्रको ‘मान्छे’ हामीमा थिएन ।

मैले अनुहारमा मुकुण्डो लगाएको थिएँ । आमा ! त्यो बेला मेरो मन ढुंगा भएको थियो । मैले मान्छेभित्रको धुकधुकी सुनिनँ । चौकी आक्रमण सफल भए मेरो एक श्रेणी बढुवा हुन्थ्यो । त्यसैले म नियन्त्रणमा लिइसकेका शत्रूलाई पनि मार्न उद्यत भएँ । एक जना जवान घस्रेर मतर्फ आउँदै थियो । त्यसले भन्यो, “मलाई नमार्नुस् । म जागिर छाडेर घर जान्छु । मेरी श्रीमती र नाबालक छोरीका लागि भए पनि मलाई बचाइदिनुस् । म उनीहरूका लागि बाँच्नुपर्छ । तपाईं जे भन्नुहुन्छ, मान्न तयार छु ।”

ऊ मुन्टो उठाउन खोज्दै थियो । मैले नै अर्को गोली उसको कन्चटमा चलाएँ ।

आमा ! आज म एउटा निर्मम सत्यको पर्दा खोल्दैछु । त्यो सत्य सुनेर मप्रति तिम्रो माया होइन, घृणा जाग्नेछ । कसरी सोचूँ आज म ? मैले अन्तिममा मारेको प्रहरी मेरै भाइ पवन थियो आमा ! पवनको हत्यारा मै हुँ । मैले आफ्नै भाइको हत्या गरेँ । उसले प्राण जाने बेला बोलेको यति हो, ‘आमा ! मरेँ !!’

मेरो भाइ कति राम्रो थियो, कति प्यारो थियो । दादा नभई खेल्न आँगन पनि काट्दैनथ्यो । भाइको हत्यारा म अपराधी बाँचेर धर्ती आमाको बोझ बनिरहन चाहन्नँ । हिमला, विमला, शेखर, दीक्षा र रक्षाले पीर गर्लान् । तिनलाई सम्झाए है आमा ! म मरे पनि रक्षाको अनुहारको कालो बादलले मलाई लखेट्न छोड्दैन शायद ।

आमा ! मैले मेरो अनुहारको मुकुण्डो उतारेँ । अब त मलाई चिन्यौ है आमा ? म मरेकोमा तिमीजस्ती साहसी आमा कहिल्यै बिरक्तिने छैनौ । आमा, बिदा !”

पढेर सुमित्राका आँखामा आँसुका मूल फुटे । हातको चिठी कच्याककुचुक पारेर मुखभित्र हुलिन् र चपाइन् । धुजाधुजा पारेर विक्रमकै लाशमा फ्याँकिन् । अडिन नसकेर केराको थाम ढलेझैँ भुइँमा ढलिन् । परपर आँखा पु¥याएर लामो सास फेरिन् । र, कहिल्यै नहेर्ने गरी आँखा चिम्लिइन् ।

Narayan Tiwari – Ek din Laash Mathi


नारायण तिवारी – एक दिन लासमाथि

‘‘ओ भैया, जाने हैन…?’’ घरअगाडि दुई–चार जनाको एक हूल नै अघि लम्कँदै छ । बाटैबाटो बोल्दै, मलाई सम्बोधन गर्दै, तर नरोकिएर ।
‘भैया’ शब्दले तर्सिए पनि, मद्वारा ‘भैया’ नरुचाइए पनि छिमेकी दाइ मलाई सधैँ ‘भैया’ सम्बोधन गर्नुहुन्छ । उहाँको मृदुता, सरलता, आत्मीयताले सदाबहार डोरिँदै रहन्छु र अहिले ‘हूल’ नरोकिए पनि ‘हजुर !’ भन्दै बाहिर निस्कन्छु । छिमेकी दाइ पर जाँदै पनि हुनुहुन्छ र बोल्दै पनि हुनुहुन्छ— ‘‘जाऊँजाऊँ मलामी जाऊँ !’’
‘‘लौ को खस्यो ? कहिले ?’’ म एक पटक पछाडिबाट कराउँछु ।
‘‘रामबाबुको बा खस्नुभयो ! राति नै खस्नुभयो, जाऊँजाऊँ….।’’
‘कस्तो हौ केही थाहै पाइएन ! मर्नुभन्दा अगाडि मुख हेर्नै पाइएन ।’ मर्ने मान्छे को हो ? थाहा पाएपछि तत्काल मनमा तरङ्ग दौडियो । आपैmँले आपैmँसित मिलिक्क बात मारेँ । मरेपछि त चाहिने रहेछ समाज, इष्टमित्र । मर्नुअघि त जेसुकै सास्ती मर्ने मान्छेले, मर्ने मान्छेका सकल परिवारले पाए पनि त्यस बेला त छरछिमेक, समाजको सहयोग त उही…? होला यदाकदा, कहीँकहीँ तर यो सहराँ….? मर्नुअघि त उही….!
मनमा धेरै कुरा नखेलाऊँ, फाजिल समय छैन । ‘भैया’ भत्रे दाइहरू अघि बढिसके । मलामी हिँड्न लागिसकेको हुनुपर्छ । कि कुद्नुपर्ला भरे मलामी भेट्टाउन । छिटो गर् दिनेश ! मरेपछि गर्ने समाजसेवाको यो मौका नछाड्— सोच्दै कोठामा छिरेँ । पल्लो बाटोमा घर हुने देवीजीलाई फोन गर्न मन लाग्यो ।
फोन डायल गरेँ र भनेँ— ‘‘टाइम छ होइन टाइम पास गर्न ?’’
‘‘भत्रु न किन ?’’ उताबाट प्रतिप्रश्न आयो ।
‘‘मलामी जान ! जाने होइन मलामी ?’’
‘‘जाने नि किन नजाने ! तर थाहा त पाऊँ कसको चाहिँ टाइम सिद्धिएछ ?’’
देवीजी प्रायशः यस्तै ‘ट्वाक्कटुक्क’ मा वार्ता गर्न रुचाउनुहुन्थ्यो । त्यसैले उहाँसित बात मार्दा म पनि उहाँकै भाका हाल्ने प्रयत्न गर्थें ।
मैले, मेरो घरदेखि पूर्वपट्टिको लाइनमा घर हुने रामबाबुका बा खस्नुभएको जानकारी दिएपछि त उहाँ अलि भड्किनुभयो— ‘‘त्यो रामे मलाई पटक्कै मन पर्दैन । तपाईं जानुस्, म जान्नँ !’’
‘‘कोही कसैलाई मन परोस्–नपरोस्, के मतलब ! तपाईं टाइम पास गर्ने होइन ? खुरुक्क आउनुस् ! म पर्खिन्छु, पाँच मिनेटभित्र आइपुग्नुस् ।’’ यति बोलिसकेर मैले फोन राखिदिएँ । म देवीजीको ‘नाइँ’ सुन्न चाहन्नथेँ । उहाँ साथमा हुँदा मेरो ‘एक्लोपन’ हट्थ्यो । त्यसो त थुप्रै मलामीका साथमा ‘एक्लोपना’ को कुरा व्यर्थ हो तर पनि उहाँजत्तिको मन मिल्ने निकटतम मेरो निमित्त यस टोलभरि अरू कोही हुनै सक्दैनथ्यो । फेरि ‘मलामी’ का लागि कसैको निम्तो नै चाहिँदैन । जसका लागि जसले पनि जसलाई पनि बोलाइदिए हुने ।
‘पाकिसकेको छ भात, खाएर जानुस्’ भत्र श्रीमतीले सकिनहाले पनि विभित्र हाउभाउ र कुराकानीले ‘खाएर गइदिए हुन्थ्यो’ भत्रे भाव पोखिरहेको मैले बुझिरहेको थिएँ । अति धार्मिक मेरी श्रीमती मलामी जाने कुरा सुन्नासाथ खानै हँुदैन भत्रे सोचाइकी भए पनि ‘प्रेसरको दबाइ खानुभयो ? केही खाएर मात्र खानुपर्ने’ इत्यादि बोलेर मेरो पेट दिनभरि भोकै नहोस् भत्रे कामना प्रकट गरिरहेकी थिइन् ।
‘‘भोभो मैले बुझेँ ! तिम्रो धर्मकर्म राख तिमीसितै । तिमीले किन पस्किदिनुप¥यो । लौ मैले त आपैmँ पस्किएर खाएँ । को जान्छ भोकै पेट मलामी….?’’
अरू बेला नीतिनियम मिच्दा वा मिच्न खोज्दा तुरुन्त प्रतिक्रिया जनाउने श्रीमती यसपालि चुप !
उताबाट हडबडाउँदै देवीजी आउनुभयो— ‘‘मैले त दालभात गोदेर आएँ !’’
‘‘अनि मलाई के ठान्नुभयो ? मैले बाँकी राखेँ…?’’ दुवै जनाले कुराको अर्थ बुझ्यौँ र हतारहतार रामबाबुका घरतिर लाग्यौँ ।
––– ––– –––
हामी रामबाबुको घर–आँगनको जति नजिकनजिक हुँदै थियौँ त्यति हल्लाखल्ला, रुवाबासी सुनिँदै गयो । हामी पुग्नासाथ लास उठ्यो । मानौँ, हामीलाई नै बूढाले पर्खिरहेका थिए । हामीले एकअर्कालाई हे¥यौँ र आँखैआँखाले हाँस्यौँ । यस्तो रुवाबासीमा अनुहारमा ‘हाँसो’ उमार्नु अवश्य पनि उचित हुँदैनथ्यो । घरका परिवारजनको रुवाबासी झन् बढ्यो ।
‘‘मेरो बा, मलाई सेवा गर्ने मौकै नदिएर जानुभयो ।’’ उच्च क्रन्दनयुक्त रुवाइमा पीडा थियो, वेदना थियो र थियो गुनासो पनि । यति बेला मलाई ‘सकारात्मक सोच’ मन प¥यो । त्यसो त यी जो रुँदै थिइन्, तिनको तुजुक र रबाफको कुरा गर्ने हो भने त झन्…! खैर छाडदिऊँ, यति बेला मलाई कुनै पनि नकारात्मक सोचले असर गर्दैनथ्यो ।
‘‘तपाईं रोएको ?’’ बिस्तारो कानैनेर मुख ल्याएर बोल्नुभयो देवीजी !
‘‘यस्तो बेलामा भइहाल्छ !’’ मैले यति भनेँ र चुप लागेँ । लास अघि बढिसकेको थियो । माफ गर्नुहोला ! लास एक्लै अघि बढ्दैन, लासलाई बोकेर मलामी अघि बढिसकेका थिए । हामी पनि साथसाथै अघि बढ्दै थियौँ ।
‘‘बूढाको उमेर कति थियो ?’’ देवीजी मलाई सोध्दै हुनुहुन्थ्यो ।
‘‘त्यस्तै नब्बे–एकानब्बे वर्षको हुनुहुन्थ्यो होला । मैले यस्तै गाइँगुइँ सुनेको थिएँ ।’’
‘‘कति बाँचेको यो बूढो ? असली घिउ खाएको थियो होला !’’ देवीजी प्रतिक्रिया जनाउँदै हुनुहुन्थ्यो ।
लास अघि बढिरहेको थियो । होइन, होइन; लासलाई रामबाबु र उनका भाइहरूले पालैपालो काँध फेर्दै बोक्दै अघि बढाइरहेका थिए ।
लास बोक्ने प्रायः छोराहरू नै थिए । एक–दुई जना अरूहरू पनि लासलाई काँध दिँदै थिए । सायद ती लासका आफन्तहरू थिए, नातेदारहरू थिए । नातेदारबाहेक अरूले लासलाई काँध दिने ‘चान्स’ एकदमै थिएन ।
म प्रायः जहाँ पनि मलामी जान्थेँ, लासलाई केहीछिन भए पनि काँध दिइहाल्थेँ । सुरुमा त यी रामबाबुका मरेका बालाई पनि काँध दिन किन चुकौँ भनेर देवीजीलाई पनि घिस्याउँदै जस्तो लिँदै गएर लासनेर पुगेको थिएँ तर लासलाई चारैतिरबाट आफन्तहरूले यस्तरी घेरेका थिए कि अघोषित रूपमा त्यहाँ अरूलाई ‘प्रवेश निषेध’ थियो । अर्थात् तिनका बाबुलाई अरूले काँध हाल्न ‘नो चान्स !’
‘नो चान्स’ सित साक्षात्कारपछि देवीजीले मेरो हातबाट आफ्नो हात छुटाउनुभयो । म पनि खिस्रिक्क परेँ ।
देवीजीका आँखैले मलाई घोचपेच गरे— ‘खालो सार्नुभयो…!’
मानौँ, देवीजी भन्दै हुनुहुन्छ— ‘मैले भनेको थिएँ नि तपाईंलाई, यो रामे मलाई पटक्कै मन पर्दैन । आपैmँ गजक्क पर्छ र ठूलो मान्छे भन्ठान्छ, आपैmँलाई । देख्नुभयो ? ठूला मान्छेहरूले लास पनि अरूलाई छुन दिँदैनन्…!’
हामी बिस्तारै हिँड्न थाल्यौँ, पछिपछि । अब बल गरेर अघि जानु र लासलाई काँध हाल्न खोज्नुको कुनै अर्थ थिएन ।
‘‘यस्तो बेलामा भइहाल्छ भत्रुहुन्थ्यो नि तपाईं, त्यो नब्बे–सय वर्षको बूढो मर्दा पनि ‘रुने’ ? भइहाल्छ !’’ देवीजीले कुरा कोट्ट्याउन थाल्नुभयो ।
मैले भनेँ— ‘‘त्यो बूढो मर्दा रुनेभन्दा पनि रुनेलाई देखेर रोइने कुरा हो सायद !’’
‘‘अँ, साँच्ची ! ती आइमाई को थिइन् हँ, रुने ?’’ लास हिँडाउन लाग्दा, होइन–होइन लास घरबाट उठाउन लाग्दा कल्पीकल्पी भाका हालेर रुने आइमाईबारेमा सोध्दै हुनुहुन्थ्यो देवीजी !
‘‘बूढाकी जेठी छोरी हुन् ।’’
‘‘कति जना छोराछोरी ?’’
‘‘चार भाइ छोरा र यही एक मात्र छोरी !’’
‘‘मलाई सेवाको मौकै नदिएर जानुभयो भनेको मतलब तिनले साँच्चै बाबुको सेवा गर्न नपाएर भित्री हृदयदेखि रोएकी हुन् त ?’’ देवीजीको प्रश्नले म झस्किएँ । ‘‘रुनुभित्र अलिकति नाटक पनि त हुन सक्छ !’’ उहाँ भन्दै हुनुहुन्थ्यो ।
‘‘नाटक नहुन पनि सक्छ ! यताबाट किन नसोच्ने देवीजी ! सकारात्मक सोच बिर्सिनुभयो ?’’ मैले देवीजीलाई याद दिलाउन खोजेँ । केही दिनअघि हामी अर्थात् देवीजी र म टाइम पास गर्न ब्रह्मकुमारी राजयोगको सभाकक्षमा प्रवचन सुन्न पुगेका थियौँ । प्रवचनपछि पनि व्यापक प्रचारित ‘सकारात्मक सोच’ भत्रे शब्दले हामीमा डेरा जमाएको थियो । हामी दुवै धर्मप्रति त्यतिसारो आसक्त नहुँदानहुँदै पनि अब यो स्वर्णजयन्ती मनाइसकेको अवस्थाको उमेरमा आएर यो ‘सकारात्मक सोच’ ले हाम्रो शारीरिक स्वास्थ्यलाई चाहिँ पक्कै पनि सकारात्मक प्रभाव पार्नेछ भत्रे टुङ्गोमा पुगेका थियौँ ।
अचानक हाम्रो पछाडि एउटा गाडी टिँटटिँट गर्दै आयो । यसै बेला केशलिया खोला पनि आयो । गाडी साइड लाग्यो । फेरि अचानक नारा लाग्यो— ‘रामनाम ?’
सबैले कराए— ‘सत्य है !’
फेरि— ‘रामनाम ?’
फेरि— ‘सत्य है !’
देवीजीले कानमा फेरि साउती मार्नुभयो— ‘‘सत्य है कि ‘सत्य हो’ हो ?’’
मैले देवीजीलाई फेरि इसारा गरेँ— यस्तो बेलामा त झन् ‘सकारात्मक सोच’ ।
अचानक गाडीबाट केही महिलाहरू बाहिर निस्किए । तीमध्ये एक जना उही बाबुको मृत्युमा कल्पीकल्पी रुने छोरी थिइन् । उनको मुखबाट पनि निस्किरहेको थियो— ‘रामनाम सत्य है ।’
अझ उनी झम्टिएर अघि पुगिसकेकी थिइन्— लास भएनेर । लासलाई झन्डैझन्डै केशलिया नदीको किनारमा तल राख्न लाग्दा यिनले झम्टिएर दुई हातले लासको टाउकोनेरको हरियो बाँस समाइन्, घेरालाई पन्छाउँदै, ठेल्दै ।
‘‘ए रात्तै, स्वास्नीमान्छे पनि मलामी…?’’ यसपल्ट भने मेरो मुखबाट फुस्किहाल्यो ।
देवीजीलाई के चाहियो, बोलिहाल्नुभयो— ‘‘सकारात्मक सोच बिर्सिया…?’’
‘‘हो, योचाहिँ साँच्चै हो, सकारात्मक कामकुरा, याने कि ‘सोच’ किन बिर्सिन्थेँ म ?’’
हामी दुवै कुनै एउटा बिन्दुमा गएर अवश्य मिल्थ्यौँ । हाम्रो सोच, विचार, भावना करिबकरिब उस्तै थिए । धेरै मिल्थे । त्यसैले हामी धेरै मिल्थ्यौँ ।
‘‘तर छोरीको यस क्रान्तिकारिताभित्र पनि केही छ कि ?’’
मैले पनि थपेँ— ‘‘क्रान्तिभित्र भ्रान्ति छ कि ?’’
हामी केशलिया नदीको किनारमा पुग्नुअघि नै चिता तयार रहेछ ।
धेरै ठाउँमा मलामी गएको थिएँ । दाउरा ओसारेको थिएँ । मुढा बोकेको थिएँ । भोकै–प्यासै घर फिरेको थिएँ । तर अहँ, यहाँ रामबाबुकहाँ सबै तम्तयार ! लास बोक्ने काम मात्र छोराहरू र अन्य आफन्तहरूले गरे । बाँकी जेजति काम सबै नोकरचाकरहरूले गरे ।
‘‘ओहो ! अघि नै यो चिता कसले तयार ग¥यो ?’’
‘‘नोकरचाकरले !’’
‘‘ओहो ! यो बाँसको कात्रो कति राम्ररी तयार पारेको, कसले तयार पा¥यो यो ?’’
‘‘नोकरचाकरले !’’
हाम्रा जिज्ञासाहरू समाधान भइरहेका थिए । चिता डढ्न थाल्यो । हामीले चितामा दागबत्ती छोरीले पनि दिएको देख्यौँ ।
‘‘यो त झन् राम्रो सकारात्मक कामकुरा भयो ।’’ देवीजीले भत्रुभयो; मैले सही थापेँ ।
हामीलाई हरेक अग्रगामी कामकारबाही राम्रा लाग्थे तर शान्तिपूर्ण सर्तमा ! फेरि मुर्दा–शान्तिको सर्तमा भने किमार्थ होइन । चिता हुरहुरी बल्यो । मनग्गे पैसा र श्रम खर्चिएको चिता थियो त्यो । न भिजेको दाउराको गुनासो, न टायर हाल्नुपर्ने झन्झट । मजाले, आनन्दित रामबाबुका बा दनदनी बलिरहे ।
धेरैवटा गाडीले धेरै पटक ओहोरदोहोर गरे । फेन्टा आयो, कोक आयो; काँक्रा, स्याऊ आयो । देवीजी र मैले ‘यस्तो चर्को घाममा चिसो पानी खाने व्यवस्था मिलाइएको भए क्या वेश हुन्थ्यो’ भत्रे बात यसो के मारेका थियौँ, थप कुराहरू पनि पो धमाधम आउन थालिहाले ।
मलामी गएको मान्छे घर फर्किएर नुहाइधुवाइ गरी गङ्गाजल नछर्किएसम्म मुखमा केही पार्नु हुँदैन भत्रे सनातन सोच पनि गल्र्यामगुर्लुम ढल्यो ।
देवीजी र मैले स्याउका दाना टोक्दै बात मा¥यौँ— हो ! राम्रो भयो । यस्तो हुनुपर्छ ।
तर दीनदुःखीको मलामी भएको भए…? कसरी पु¥याउँथे ? जोहो गर्दथे ? धान्दथे….?
त्यो त छँदै छ, अर्कोतिर कुरा काट्थे होलान्, दीनदुःखीको मलामी भएको भए…?
कोही भत्रे थिए होलान्— मलामीमा पनि भोज ?
कोही भत्रे थिए होलान्— यो अनर्थ भयो !
कोही भत्रे थिए होलान्— घोर अनर्थ भयो !
कोही महिला उपस्थिति, त्यो पनि दागबत्ती दिने कर्मसम्मको सक्रिय उपस्थितिप्रति लक्षित घनघोर टिप्पणी गर्ने थिए होलान्— घोर कलियुग ! के देख्नुप¥यो यो ? घोर कलियुग !!
हामीबीच कानेखुसी चलिरह्यो । यत्रतत्र मलामीहरू झुन्डझुन्डमा विभाजित गफगाफमै व्यस्त भइरहे । लास जलिरह्यो । मलामीले केही गर्नैनपर्ने ! नोकरचाकरहरू लासलाई जलाउन तल्लीन भइरहे…! छेउमा चार भाइ पनि पण्डित–पुरेतको सामीप्यमा गफगाफमा रम्दै रहे । ती चार भाइकै नजिक महिला झुन्ड पनि कुराकानीमा व्यस्त थिए । यति बेला कोही रोइरहेका थिएनन्, बरु बेलाबेला कुनैकुनै झुन्डबाट खितितिति हाँसेको आवाज आउँथ्यो । महिलामध्येबाट पनि एउटी महिलाको चर्को र कर्कश आवाज आयो ।
‘‘को हुन् यी ?’’ देवीजीले सोध्नुभयो ।
‘‘चिन्नुभएन ? अघि रुने, बाका निम्ति केही गर्ने मौकै पाइन भन्दै कङ्कलागान गर्ने यिनै महिला त थिइन् !’’
देवीजी सम्भवतः झस्किनुभयो । मप्रति शङ्कालु नजरले हेर्नुभयो— ‘‘कहीँ तपाईं कित्ता परिवर्तन त गर्दै हुनुहुन्न ?’’
‘‘यो त भइरहन्छ नि, देवीजी ! जिन्दगीभरि कहिले कुन कित्ता, कहिले कुन कित्ता !’’ म मुसुक्क हाँसेँ ।
देवीजी पनि हाँस्नुभयो— ‘‘त्यो त ठीक भत्रुभयो बा !’’
अचानक नजिकैको अलि बूढाखाडा (हामी बीसौँ वर्ष जागिर खाइसकेर सेवा निवृत्त भइसकेको भए तापनि आपूmलाई बूढाखाडा ठान्दैनथ्यौँ) झुन्डबाट ‘खितितिति’,…‘हा हा हा’…को आवाज आउन थाल्यो र हाम्रा कान त्यतापट्टि उन्मुख, ठाडा भए !
‘‘अनि यी बूढा ? कुरै छाड्दिऊँ ! जवानीमा के, बूढो हुन्जेल पनि तरुनी फकाउन खप्पिस… यिनले धेरैलाई बिगारेका थिए…!’’ एक जना बूढाले नै मर्ने बूढाबाको खोइरो खन्दै थिए । हामीले मुख मिठ्यायौँ । आँखैआँखामा एकआपसमा कुरा ग¥यौँ र अलि स¥यौँ त्यही झुन्डको नजिक !
खासमा मर्ने बूढाबाका बारेमा हामी केही जान्दैनथ्यौँ । त्यति हो, नब्बे–एकानब्बे वर्षका बूढाबालाई करिब एक वर्षदेखि टोलमा ठमठम हिँडेको देख्न थालेका थियौँ ।
झुन्डछेउमा बसेपछि मर्ने बूढाबाका बारेमा खुसुक्क सोध्दै गयौँ र चाल पाउँदै गयौँ ।
— बूढालाई पहाडबाट माओवादीले लखेटेका रे !
— सापैm लोभी रे बूढा, ‘तँलाई ई सुँघाइदिन्छु चन्दा’ भन्दै ठमठम मधेस पो झरिदिए रे !
‘‘बुझ्नुभयो, यी बूढा पहाडका त नामी धनी नि ! फेरि कसैका घरमा चुलो बल्यो–बलेन सबै विचार गर्थे !’’ मर्ने बूढाका बारेमा गफ छाँट्ने अर्का मर्ने उमेरका बूढाले फेरि भने ।
‘‘यसपल्ट त सकारात्मक सोच आयो नि ।’’ मैले खुसुक्क देवीजीको कानमा फुसफुसाएँ ।
‘‘धन पनि थियो, मन पनि थियो । को दुःखी छ ? कसले खान पाएन ? त्यस्तालाई सरसापटी उदारतापूर्वक चलाइदिन्थे तर अलि सुकिला, ठाँटिएर बूढाका छेउ पैसा माग्न कोही पुग्यो भने ठेटुवा देखाइदिन्थे बूढा…!’’
‘‘लौ यो सकारात्मक सोच आयो कि नकारात्मक ? भत्रुस् !’’ मैले देवीजीसित साउती गरेँ ।
‘‘बुझेँबुझेँ !’’ देवीजी मानौँ उफ्रिनुभयो ।
‘‘के बुझेँ ?’’
‘‘बूढो धेरै छट्टु रहेछ । सीधासाधा, अनपढ, निमुखा मान्छेलाई मात्र पैसा दिँदो रहेछ, भनौँ न लगानी लगाउँदो रहेछ । सुकिला मान्छेलाई नदिने भनेको मतलब पढेलेखेकाले विरोध गर्लान्, चर्को ब्याजको कुरा झिक्लान् । भरसक सामन्ती, शोषक भन्लान्…! हो मानेँ बूढो धूर्त, चलाख रहेछ ।’’
देवीजीले बोल्न थाल्नुअघि नै मर्ने बूढाका बारे बयान गर्ने बूढा र वरिपरि भेला भएका झुन्डका स्रोता ज¥याकजुरुक उठिसकेका थिए । त्यसैले देवीजी फुसफुसाउनु भएन । खुलेरै बोल्नुभयो ।
‘‘ठीक भत्रुभयो । बूढाबारे मेरो सोच पनि यस्तै बन्दै थियो ।’’ वास्तवमा देवीजीले मेरै अन्तर्मनमा उब्जिँदै गरेको भाव प्रकट गरिदिएझैँ लाग्यो मलाई ।
हिँड्ने बेला भइसकेछ । पानीले चिता पखाल्ने काम पनि तुरिइसकेछ । कोही नदीछेउमा गई ३६ पटक खल्को दिँदै थिए । त्यसपछि कोही डिलमा बालेको अगुल्टोको आगोमा टेकेर अघि बढ्दै थिए । पानी छ्याप्ने, काँडामा, आगोमा टेक्ने कुराको हामी दुवैलाई वास्ता भएन ।
नजिकैको कलको चिसो पानीले हातमुख भने मजाले धोयौँ र प्रचण्ड गर्मीमा केही राहत महसुस ग¥यौँ । दुई बजेको भदौरे घाम माओवादी नेता प्रचण्डझैँ प्रचण्डसित हाम्रो थाप्लामा खनिए । लाइनले रोकिएका चार थान गाडी घ्यारघ्यारघुरघुर गर्न थाले । क्रियापुत्री छोराखाल गाडीमा चढे । ‘क्रान्तिकारी पनि र रुन्चे पनि’ मर्ने बूढाकी जेठी छोरी र अन्य आइमाई गाडीमा चढे । हेर्दाहेर्दै चारै गाडी भरियो । हामीले एकआपसमा मुखामुख ग¥यौँ । प्रचण्ड घामले यी गाडीमा चढेर घुइँकिनेलाई केही गर्ने छैनन् तर अब सडक नाप्ने हामी फुटपाथेलाई पोल्नेछन्— डढाउनेछन्….।

– शनीबार, 29 मङ्गसीर, 2070