Tirtha Sigdel – Anugaman

तीर्थ सिग्देल – अनुगमन

तपाईलाई के थाहा ? यो उज्यालो अनुहार भित्र कति पीडा लुकेको छ भनेर । के यसो हेर्देमा मात्र मान्छेको भित्र के भइरहेको छ भन्ने थाहा हुन्छ र ?
तपाई लोग्ने मान्छेहरु त केबल बाहिरी आँखाले मात्र मान्छेलाई हेर्नुहुन्छ । झट्ट हेर्यो, मजा लियो बस्…
बाहिरी आँखाले त बाहिरी संसार मात्र नियाल्छ, केबल । त्यो दोशी पनि हुन सक्छ । तर, भित्री मनले पो हेर्नुपर्छ त । तब मात्र देख्न सकिन्छ, असली संसार ।
एकाहोरो यति कुरा सुनेपछि केही नबोल्दा त लाटो भन्लान् भन्ने पीर छ । केही त बोल्नै पर्यो भन्ने लाग्यो । तै पनि मनभित्रबाट उर्लेर आएको भावना घाँटीमा आएपछि अड्कियो । किनभने बोल्नु अघि सोचेर बोल्नु रे । बोलिसकेपछि कतै त्यही बोलीको अधिनमा बस्नु नपरोस् ।
उसले कालो चस्मा निकाल्यो र लगायो ।
फेरि अर्को डाइलग आयो ।
हेरन… कुरा टारेको…
बाहिर घाम लागेको छ । अलिकति आँखाको शान्तिका लागि पनि कालो चस्मा लगाउनु उचित हुन्छ । उसले त्यही प्रयास गर्यो । तर, जति आँखाले कालो चस्मा लगाएर शान्ति महसुस गरिरहेको थियो, मनमा अशान्ति भाव उर्लिरहेको थियो । अब बाध्यता आइलाग्यो । ऊँ अनी अरु….
……….
उसले दोस्रो बिहे गरिछे । शायद जीन्दगीको आबश्यकता नै होला की ? त्यो उसले बल्ल महसुस गरिछे । किनकी आज ऊ जुन रुपबाट र रंगबाट बाँचिरहेकी छे, त्यो उसको आफ्नो नीजि प्रयासबाट सम्भब भएको हो । हिजोसम्म न ऊ सकैको आशमा बाँचेकी थिइ न कसैको सासमा । तर, जब उसले जीवनको परिभाषा बदली, तब लाग्यो मान्छे परिबर्तन हुन कति दिन पनि नलाग्ने रहेछ ।
शायद महिलाका लागि सबै भन्दा दुःखको कुरा एउटै क्षणमा हुन्छ । त्यो दिन उनीहरु सम्झन पनि चाँहदैनन् । उसले त्यो दिन देखी, भोगी । कक्षा ७ मा पढ्दै गर्दा कसैले उसलाई माया गरेछ ।
ऊ आफैँ भन्थी, कस्सम होला… त्यो बेला मैले उसको कुनै कुरा नै बुझिँन रहेछु । तर एकदिन यस्तो अबस्था पनि आइलाग्यो मैले उसलाई अंगालेँ ।
यद्दपि, कुनै दिन यस्तो पनि आयो । उही मेरो मायाँले मेरी आफ्नै बहिनीलाई प्रेम गरेछ । त्यसपछि मैले उसलाई त्यागेँ…
आखिर लोग्ने मान्छे न हुन् । केबल बाहिरी संसार नियाल्न चाहन्छन् र क्षणिकतामा रमाउँछन् । उसले पनि त्यसै गर्यो । त्यसपछि मैले बिहे नगरी बस्ने निधो गरें ।
जवाफ फर्काउन करै लाग्यो । चिया पनि आइसकेछ ।
प्रकृतिसँग रमाउनुमा के को दोश ?
छोटो एक बाक्यको प्रतिक्रियाले यति धेरै उद्धेलन र उभार आउला भन्ने कसले सोचेका हुन्छ र ?
ए… यस्तो ? मान्छेको जीवनसँगको खेलबाडलाई चाहीँ कुन प्रकृतिसँग तुलना गर्ने नी ? शायद लाजवाफ प्रश्नको समुचित उत्तर दिने प्रयास गरेन उसले किनभने ऊ उसको कुनै सवालको जवाफदेहिता बोक्ने मान्छे होइन । ऊ न त सूचना अधिकारी नै हो, जसले खुरुक्क सबै जानकारी दिनै पर्छ ।
ऊ कालो चस्मा मिलाउँदै फेरि घामतिर हेर्ने प्रयास गर्छ ।
अ साँची… तिमी यसरी आफुलाई कसरी मेन्टेन गर्न सक्छौ हँ ?, उसले एउटा सवाल बरु उल्टै गर्यो ।
ऊ हाँसी । हाँस्दा उसका दन्तलहर प्रष्ट देखिए । गन्न नभ्याएपनि उसका ३२ बटै दाँत हुनुपर्छ । किनकी झट्ट हेर्दा त्यस्तो देखिन्छ । दाँत मात्र होइन । दश बर्षजति अगाडि देख्दा पनि ऊ उस्तै थिइ, आज पनि त्यस्तै देखिन्छे ।
कारण ? कारण त उसले आफैँ कसरी पत्ता लगाउन सक्थ्यो र ? यो कुरा त सोध्नै पर्छ । नत्र कसरी पत्ता लगाउनु र ? फेरि अर्काको मन भित्र पस्न पनि त सकिँदैन नी ।
अँ… सुन्नुस् त । तपाई रोजी भन्ने केटीलाई चिन्नुहुन्छ ।, उसको थप प्रश्नमा के अर्थ र कारण लुकेको छ यसै अनुमान गर्न गाह्रो थियो । तर, यसको प्रश्नमा धेरैबेर घोत्लिनु परेन । तैपनि एकक्षण भएपनि कुरा लम्ब्याउनु पर्ला भन्ने ठान्यो उसले र भन्यो, किन… के भने र ?
हैन.. हैन … खास कारण त केही छैन, तैपनि
तैपनि भनेको के हो ? कस्तो तैपनि । कुनै पनि कुराको चुरो कारण हुन्छ । नत्र यो मानस्पटले कसरी तँ यो कुरा भन भनेर अह्राउन सक्छ र ?
उसले कुरा खोली ।
ए… कारण त्यस्तो पो है ।
हन.. केटीहरुमा कत्रो डाहा । अरुले के के गर्छन् ? को को के गर्छन् ? यो सबको चिन्ता र चासो किन लिन्छन् केटीहरु ?
संगै बसेकी उसकी साथी पनि हाँसी र भनी, होला नी… केही ? तँ किन अर्काको धेर चासो र चिन्ता लिन्छेस् ?
त्यसपछि यसले कुरा मोडी । तर, उसले एउटा कुराको राज खोतल्न चाहिरहेको थियो । त्यही माथिको कुरा जुन कुराले आज पनि उसको मनमा खुल्दुली मच्चिरहेको छ ।
अँ… तिमी आफ्नै बारेमा चाहीँ बोलन । भो अरुका कुरा धेर के गर्नु ।
तपाईलाई यस्तो लाग्दैन । तपाईलाई मैले देखेको, बोलेको कति बर्ष भयो । तरपनि म तपाईलाई उस्तै देख्छु । किन…?
शायद तिम्रो हेराईले होला, भन्न कर लाग्यो । किनभने आज उसको कुरा गर्ने शैली अलिक भिन्न देखिरहेको छु । ऊ आज अलिक खुलिरहेकी छ । किन हो ?
उसले अचानक कपालको प्रसंसा गरी । तपाईको कपाल किन यसरी कालो देखिएको ? दश बर्ष अगाडि पनि जस्तो तपाई उस्तै आजपनि । झन् यो कपाल पनि फुलेकै छैन त ।
उसको प्रसंसाको पात्र बन्नुपर्दा अलिक कठिनाई महसुस गर्नु स्वाभाबिकै हो । तर, त्यो दिन त्यस्तो भएन । बरु एउटा कुरा थप्न मन लाग्यो । त्यो के भने, अनी आफुलाई चै कसले भन्देओस् । दश बर्ष अगाडि जस्तो देखेको आज पनि उस्तै कसरी ?
छ कारण ।, उसले कुरा चपाई ।,
ए… उसो भा । मेरो पनि उही कारण हो ।, उसले पनि त्यसै गर्यो ।
किन आफुले चैं कारण खोल्नु ।
यसो भनेपछि मात्र ऊ बोल्न थाली ।
भनी, म नी … खासै बुढी देखिन्न । हेर्नु त, मेरो गाला चाउरी परेको छ र ? छैन नी ।
हो, त्यही त भनेको नी…, अधुरो भनाई माथि खासै टिप्पणी गर्नु भनेको आत्मप्रसंसाको भागेदार बन्नु भन्दा केही फरक होइन । तर, महिलाहरुमा त्यस्तो प्रसंसाको भोक जागेको हुन्छ भन्ने कसरी बुझ्नु ? कतिबेला उनीहरुको मन कमलो हुन्छ र कतिबेला ढुंगा बन्छ भन्ने कसलाई पो थाहा हुन्छ र ?
उसको पनि समस्या नै यही हो । आज ऊ यसरी मनको भाब पोखिरहेकी छे की कुनै अनुमान लगाउन गाह्रो परिरहेको छ ।
उसको छेउमा बसेकी साथी धेरेबेर भो बोलिरहेकी छैन । शायद यस्ता बार्तालाप सुनेर ऊ मज्जा लिइरहेकी छे वा अल्छी मानिरहेकी छे त्यो पनि अनुमान गर्न सकिने स्थिती छैन । किनकी उसको मौनताले के भाव बोकेको छ भन्न सकिन्न । शायद ऊ फेसबुक मै जीवन खोजिरहेकी पनि हुन सक्छ ।
त्यत्तिकैमा ऊ बोली । भनी, दि… एउटा केटालाई एउटी केटीसँग सेल्फी खिच्दा कस्तो महसुस हुन्छ ?
त्यसपछि दुबै हाँसे । आफैँ तर्क गर्ने र आफैँ टिप्पणी गर्नेसँग के लाग्छ र ?
उसले सोध्यो, कसलाई सोधेको…?
त्यसपछि उनीहरु फेरि हाँसे । शायद के सोचे थाहा भएन ।
………………
अचानक नगरपालिकाबाट फोन आयो । प्रवक्ताको रहेछ,
सर त्यो अस्ती नै पम्हहरुको अनुगमन गरेको थियो नी । त्यसबारे पम्प संचालकहरुसँग सहमति भयो । त्यो सार्बजनिक गर्नु पर्ने भयो । कता हुनुहुन्छ ?
अनुगमन …?
हो, अनुगमन ।
त्यसपछि हिँड्नु पर्ने भयो । जानै लाग्दा उसले मोबाइल मागी र नम्बर सर्च गरी । शायद उसको नम्बर सेभ छ छैन भनेर हेरी क्यार ।
शायद नम्बर भेटिन । उसले आफ्नो नम्बर डायल गरेर मोबाइल दिइ र भनी नाम आफैँ राख्नु ।
उसले सोध्यो, के भनेर सेभ गर्नु ?
उसले भनी, अनु…
उसले हुन्छ भन्यो र नम्बर सेभ गर्यो ।
अनुगमन…

Tirtha Sigdel – Bojh

तीर्थ सिग्देल – बोझ

पृथ्वीको सुन्दर रचनाले यसै मन खिच्छ । किनकी हर कोही मानिसले सुन्दर परिकल्पना गर्न सक्दैन । तर, मान्छेको जिवन यति सुन्दर त कहाँ हुँदो रहेछ र ?
यसको केही मिनेट नबित्दै यो भनाइले ध्यान खिच्छ ।

हातको रेखा हेरेर भाग्य देखिने भए, राशिफल पढेर लेखेको कुरा पुग्ने भए…

शायद जीवनको परिभाषा त्यतिबेला फेरिने थियो, जतिबेला हामी भाग्यमा बिश्वास गर्दछौं । त्यस्तै राशीफल पढेर दैनिकी सुरु गर्दा परिणाम प्राप्त हुने भए मानिसहरुमा उत्साह मर्ने थियो, जाँगर हराउने थियो ।

भाग्य र भबिस्यको फैसला यदी भाबीले लेखेको जस्तो भइदिने भए, छैठीको दिनमा लेखिएको कर्मको रेखा आजसम्म तन्किएर आँउदा पनि मान्छेले कर्म गर्न छाडेको छैन । कर्मको धर्ममा अल्झिएर मान्छे शायद मान्छे बनेको हो, नत्र ऊ अहिलेसम्म भगवान बनिसक्ने थियो ।

तर, एउटा कुरा त पक्कै हो । जसरी जून पछि घाम आँउछ, रात पछि दिन आँउछ, त्यसरी नै मान्छेको जीवनमा दुःख पछि सुख पक्कै आँउछ । यो सास्वत सत्य हो । तर, भाग्यमा भर परेर होइन, राशीफल पढेर होइन, कर्म गरेर ।

आज ऊ निक्कै भाबुक देखिई ।

मैले भने, उही कुरा दोहेर्याएँ ।

जून पछि घाम आँउछ, रात पछि दिन आँउछ, त्यसरी नै मान्छेको जीवनमा दुःख पछि सुख पक्कै आँउछ ।

उसले त्यति बिश्वास गरिन । यो कारण बुझ्न मैले त्यति कर त गरिन । तर, पछि ऊ आँफै खुल्दै गई । तब मात्र थाहा भो ऊ एउटा भयानक पीडाबाट गुज्रिएकी रहिछ ।

भनी, यो दुनियाँमा सम्झाउने मान्छेको कमी छैन, खाँचो छ त केबल सम्झने मान्छेको…

आज ऊ एउटा पीडा बोध गरिरहेकी छे । उसलाई आज आफ्नै जीवन बोझ बनिरहेको छ । केबल उसँग एउटी सहारा छे, छोरी । तर, ऊ उसलाई आफुजस्तै बन्न दिने पक्षमा छैन । हो, हरेक मान्छेहरुका सपना हुन्छन्, उनीहरु हरेक रात सपना देख्छन् । खासगरी आफ्नो र आफ्ना सन्तानका बारेमा सपना देख्छन् । र, सपनालाई बिपना तुल्याउन मरिमेट्छन् ।
सम्भवतः उसले पनि यही सपना देखेकी होला, बर्तमानमा । बिगत भने उसको त्यस्तो रहेन । उसले सानैमा बिहे गरी । अहिले ऊ त्यस कामलाई गल्ती ठान्छे । किनकी उसले धोका खाई । उसलाई परिबेशले धोका दियो । परिबेश आज उसँग छैन ।

ऊ पढ्न चाहन्थी, यद्यपि उसलाई परिबेशले पढ्न रोक्यो । किनकी ऊ कुलतमा फँसेको रहेछ । त्यही भएर त ऊ आज हत्तपत्त कसैलाई बिश्वास गर्दिन । उसको बिश्वास मरिसकेको छ । यतिसम्म की ऊ आजकल कसैको फोनसम्म रेस्पोन्स गर्न चाहन्न ।

अझ बढी पुरुष सँग त ऊ बोल्न नै चाहन्न । किनकी उसको परिबेशले दिएको धोकाको परिणाममा ऊ आज अरुसँग पनि उही ब्यबहार गरिरहेकी छ । उसलाई थाहा छ, हरेक पुरुषमा एउटा खराब पात्र लुकेको हुन्छ । गलत चरित्र हुर्केको हुन्छ । र, पुरुषले जहिल्यै पनि आफ्नो स्वार्थ मात्र सिद्ध गर्न चाहन्छ ।

म सम्झाउन खोज्छु ।

जिन्दगीमा जति अप्ठेरा परिस्थिती आउछन नि, त्यति नै नयाँ कुरा सिक्ने मौका मिल्छ । प्रायः मान्छेलाई सुखले भन्दा दुःखले बढी सिकाउछ ।

ऊ खासै सम्झन तयार देखिन्न ।

तर, मैले उसलाई कतिपय उदाहरण दिएर भनें । अब बिगतलाई हेरेर मात्र जिवनको परिभाषा लेखिन्न, बर्तमानमा पनि रमाउन र जिउन सक्नु पर्छ । नत्र जिवन निरस बन्छ । किनकी हाम्रो जिवन त आधा जसो बितिसकेको छ । अब बाँकी जिवन कसरी बिताउने भन्नेमा लाग्नु पर्छ । नत्र यही सुन्दर जिवन बोझ बन्छ ।

हरेक कुराको उदाहरण दिन सजिलो हुन्छ । तर, उदाहरण बनेर देखाउन त्यति नै गाह्रो हुन्छ, सर !

उसको यो भनाईमा भने म अलिकति सहमत देखिँए । र, मैले मेरो प्रयासमा केही हदसम्म सफलता पाएको महसुस गरें । किनकी अघिसम्म ऊ मेरा हरेक कुरामा त्यति ध्यान दिन्न थी । म बोलिरहँदा अधिकांस अर्कोतिर फर्केकी हुन्थी । तर, अहिलेदेखि उसको ध्यान मेरा कुरामा छ । ऊ म बोल्दा म तिर नै हेरिरहेकी छ ।

मैले आजसम्म जति यसप्रकारका समस्या भएका बिरामीहरुलाई परामर्श दिएको छु । आज लाग्दैछ, यो मान्छे अलिक भिन्न छे ।

मैले सोधें, तिमी अब के गर्न चाहन्छौ ? जागिर, ब्यापार वा अरु नै कुनै नयाँ काम ?

मलाई चुनौती मन पर्छ, ढुंगाहरुसँग जुध्न मन पर्छ, पहाडमा कुद्न मन पर्छ, कांडाहरुसँग खेल्न मन पर्छ, किनकी म यी सबमा जिन्दगीको परिभाषाहरु भेट्न चाहन्छु ।

उसको टिप्पणी यस्तो आयो । तब मलाई लाग्यो ऊ भित्रबाट एउटा ज्वालामुखी बिस्फोट भएर आयो, जसको माध्यमबाट म एउटा सफलता हासिँल गर्न चाहन्थें । साँच्चै भन्ने हो भने, म मेरो केशमा पर्फेक्ट हुन चाहन्थें । अब त्यो पूरा हुँदैछ ।

हुन पनि, के कारणले हो , मैले आजसम्म हेरेको केशबाट म पछि हट्नु परिरहेको छैन । एउटा मनोचिकित्सक हुनुको सफलता जो मैले प्राप्त गरेको छु ।
उसले मुख फोरी । डाक्टर साहेव…

म बास्तवमा पढ्न चाहन्थें । त्यसपछि जागिर खान चाहन्थें । कलेज जिवनले मलाई अल्मल्यायो । म कतै रुमल्लिएँ, अल्मल्लिएँ । अहिले सोच्छु, त्यो उमेर नै त्यस्तै रहेछ । शायद कुमालेको माटो जस्तो… चिया पकाउन तताएको पानीजस्तो, जहाँ दुध हालेर खाए पनि हुने त्यसै खाए पनि हुने । मैले गल्ती गरें ।

परिबेश मेरो कलेजको साथी बन्यो । कसरी, कसरी …? थाहा छैन, आज जब म त्यो दिन सम्झन्छु । तब आँखा त्यसै रसाउँछ, मन भक्कानिएर आँउछ । मैले कलेज पढ्दा पढ्दै बिहे गरें, उसँग । तर, उसँगको संगत र पारिबारिक जीवन मेरा लागि निरस बन्यो ।

उसले एक दिन यतिसम्म गर्यो । मेरो एसएलसीको सर्टिफिकेटसम्म च्यातिदियो । म त्यतिबेला जागिर खाँदै पढ्न चाहन्थें । त्यस पछि …
झुटो बोलेर गाँसिएको सम्बन्धले एकदिन सजाय पाउदो रहेछ सर…

त्यसकारण मैले बरु सत्य बोलेर सम्बन्धलाई विदा दिन तयार भएँ । मैले उसलाई त्याग्ने निर्णय लिएँ । किनभने असत्य धेरै दिन टिक्दैन भन्ने मलाई थाहा थियो, बरु सत्य बोलेर बाँकी जिवन फरक तबरबाट बिताउने निश्चय गरें मैलै ।

उसको भनाइलाई आजलाई मैले बिट मार्ने कोशिस गर्ने प्रयास गरें । र, यसो भनें
जिबनमा जति नै दुःख पीडा किन नहोस ? आखिर सम्हालिएर मुस्कुराउनु पर्छ । किनकी यहाँ दुःख पनि आफ्नै हो र दुख्ने मुटु पनि आफनै ।

त्यसपछि बल्ल ऊ हाँसी । र, भनी…

शायद डाक्टर साहेब । हो, आज म धन्य रहेछु । मैले तपाइजस्तो महान ब्यक्तिलाई भेट्न पाएँ, जसकारण मैले यति ज्ञान पाएँ । पक्कै तपाईले भनेजस्तो आखिर मुटु पनि आफ्नै हो, मन पनि आफ्नै मस्तिस्क पनि… ।

बास्तबमा यी तीन चिजको समन्बय नै मानब चेतना हो रहेछ । किनकी, जिवनमा आइपर्ने जति पनि दुःख हुन्छ, त्यसलाई पार लगाएर अघि बढेमा सफलता प्राप्त हुने रहेछ… ।

जिन्दगीमा जति धेरै अफ्ठ्याराको सामना गरिन्छ, उति नै प्रगतिको शिखर चढिने रहेछ । असफलता नै सफलताको जननी हो भनेको त्यसै होइन रहेछ …।

जिवनरुपि सफलताको सिँडी चढ्नलाई पक्कै पनि साह्रो त पर्ला नै । तर, त्यसपछिको खुशीले संसारलाई जित्न सकिने रहेछ …।

आफ्नै जिवन जलाएर खरानी बनाउनु भन्दा तत्कालीन परिबेशबाट मुक्ति पाउन कुनै सामान्य प्रयास पनि काफी नै हुने रहेछ …।

म अब जानी नजानी आफ्नो मुटु जलाउने छैन, आफ्नो दुःख सम्झेर रुने छैन । अब म आफ्नै जिवनलाई बोझ ठान्ने छैन, बरु त्यो बोझरुपि जिवनको काँडा झिकेर मिल्काइ दिने छु ।

झापा