Sharmila Khadka Dahal – Sarita Malai Maaf Gara

दिनभरि अफिसमा अफिसियल कार्यको बोझले र हाकिमको आदेशले शिथिल भएको मस्तिष्क अनि घरमा पारिवारिक दायित्वले र श्रीमतीको आज्ञाले थाकेको शरीर लिएर म ओछ्यानमा पल्टिरहेको हुन्छु । त्यसै समयमा फोनको घन्टी बज्छ ।
‘हैलो…. हो˜ म.. विनोद ए˜˜ ।
फोनमा परिचित महिलाको स्वर सुन्नेबित्तिकै म रोमाञ्चित र उद्वेलित हुन पुग्दछु । साहित्यकार सरिताको स्वर – उनी भर्खर उदाउँदै गरेकी भविष्यको राम्रो नारी साहित्यकार हुन् । उनीसँग साक्षात्कार हुँदा वा फोनमा स्वर सुन्दा मात्रै पनि मेरो मेसिनजस्तो शरीरमा प्राण भरिएर आउँछ । म उनीसँग अतीतमा पुग्छु । उनीसँग साक्षात्कार भएको समयमा म आफूलाई सबै बन्धनबाट मुक्त भएर अर्कै संसारमा छु जस्तो लाग्दछ । अनि सधै यथार्थबाट टाढा रहुँ जस्तो लाग्छ । तर यो सम्भव छैन ।
फोनमा कुरा लम्बिन्छ ।
“ए˜ भेट्ने.. कहाँ – मैले हो˜˜ हुन्छ नि… ।”
फोनमा नचाहँदानचाहँदै मैले कुरा टुङ्ग्याउनु पर्ने हुन्छ । उनले फोनमा भनेकी थिइन् । मैले उनको सिर्जनशील मस्तिष्कमा सिर्जनाका बीउ छरिदिएँ अरे । म अचम्ममा परेँ । यो कसरी सम्भव भयो होला , बितेको हप्ता मेरो उनीसँग भेट्ने योजना त थियो तर भेट हुन सकेको थिएन । भेटै नहुँदा कसरी मैले उनको मस्तिष्कमा सिर्जनाको बीउ र्छन पुगेँ । कल्पना गर्दागर्दै भोलिको एघार बजेको प्रतीक्षामा आफूलाई निन्द्रादेवीको शरणमा पुयाउँछु ।
ठीक ठाउँ अनि ठीक समयमा हाम्रो भेट हुन्छ ।
“कतै बसेर गफ गरौँ न ।”
” हुन्छ जाऔँ न ” भन्दै नजिकको केविनवाला रेस्टुरेन्टमा हामी पस्यौँ ।
परिचित ठाउँमा एउटा महिलासँग रेस्टुरेन्टमा पस्दा मलाई केही असजिलो अवश्य महसुस भयो । किनभने यसरी रेस्टुरेन्टमा पस्ने समय त मेरो छोराको थियो । तर मैले ती सबै कुरा उनको उपस्थितिमा बिर्सिदिए ।
“के खाऊ, तातो कि चिसो -” उनले मेरो असहजतामा स्वभाविक व्यवहारले शब्दको प्रहार गरिन् । चिसो सिरोटोले बिदा माग्न गाह्रो मानिरहेको समयमा चिसो हैन , तातो खाने सल्लाह भयो ।
“तपाईँलाई भेट्न मैले पहिलो हप्तादेखि नै कोसिस गरिरहेकी थिए“ , विनोद सर । तर भेट भएन, एउटा कुरोचाहिँ पक्कै भयो ।”
“के कुरा सरिताजी – तपाईँले हिजो फोनमा पनि भन्दै हुनुहुन्थ्यो नि, म त सुन्नलाई एकदम उत्सुक भइरहेछु । ”
“कुरा खास केही होइन, साधारण हो विनोद सर, तर यसभित्र हाम्रो समाज यहाँको नारीहरूको मानसिकता अनि सिङ्गो देशको संस्कृतिको कुरा आउँछ । ”
उनी भन्दै गइन्- “थाहा छ विनोद सर , अस्ति तपाईँलाई फोन गर्दा भाउजूले मप्रति कस्तो व्यवहार गर्नुभयो । तपाईँले भोलिपल्ट भेट्ने सम्भावना छ भन्नुहुँदा म विराटनगर आएँ अनि फोनमा भाउजूलाई मसँग भेट्ने कुरा थियो, भन्दा त्यससमय तपाइहरू दुईजना बाहिर जाने कार्यक्रम रहेछ । तपाई“प्रति वहाँको अविश्वास मौलाएर हो वा के भएर हो – वहाँले मलाई अत्यन्त शङ्कालु व्यवहार गर्नु भयो….. तर म रिसाइन, विनोद सर … किनभने हाम्रो देशको अधिकांश महिलाहरूको प्रतिनिधित्व भाउजूले गर्दै हुनुहुन्थ्यो । यस्ता महिलाहरूप्रति मलाई रिस हैन दया र सहनुभूति जागेर आउँछ । ”
“ओहो ! यो ठीक भएन सरिताजी.., तपाईँ हाम्रोबीचको यति राम्रो मित्रतालाई दोषाउनु पाप हो । म त्यसको लागि तपाईँसँग माफी माग्छु ।”
“हैन विनोद सर, यो स्वाभाविक हो अनि यथार्थ पनि । यसमा तपाईँजस्तो वरिष्ठ साहित्यिक व्यक्तित्वले मजस्तो एउटा कनिष्ठ व्यक्तित्वसँग माफी माग्नुचाहिँ पाप हो । किनभने यो एउटी नारीले अर्को नारीप्रति गरिएको व्यवहार हो । यो हामीले नै सचेत भएर सुल्झाउनु पर्दछ । हुनसक्छ मैले पनि कुनै नारीलाई आफ्नो श्रीमान्लाई सोध्दा नजानेर यस्तो व्यवहार गरिएको हुनसक्छ ।”
“तर पनि हुँदैन सरिताजी˜ , तपाईँजस्तो एउटा पारिवारिक जिम्मेवारी बोकेकी , अफिसियल दायित्व बोकेकी , साहित्यिक फाँटमा चम्किलो ताराझैँ उदाउँदै गर्नुभएकी नारीमाथि विसगतिग्रस्त भएको नारीले अपराध चिताउनु पनि पाप हो ।
“होइन विनोद सर, तपाईँ यसलाई अन्यथा नलिनुहोला । यस्ता कुरालाई एउटा नारी साहित्यकारले सजिलै पचाइदिनु पर्दछ । यदि पचाउने शक्ति उसमा छैन भने साहित्यिक खुराकलाई परिमार्जन गर्ने शक्ति नै उसमा हुँदैन । हामी साहित्यिक मान्छे यस्तै कुराले संवेदनशील हुन्छौ । अनि भावानालाई शब्दस“ग साइनो गाँस्दै सिर्जना फुराउँछौ । अब हामी यसै कुरामा केन्द्रित नबनौँ । बरु अन्य व्यक्तिगत कुरा गरौँ न ।”
म सरिताजी र मेरो श्रीमतीबीच तुलना गर्न पुग्दछु । मेरी श्रीमती घरधन्दामा सीमित, लोग्नेको कमाइमा खटाइखटाइ घर्रखर्च गर्नुपर्ने अनि घरको चार पर्खाललाई नै संसार मानेर रमाउनु पर्ने मानसिकताले थिचिएकी नारी । अनि कहाँ सरिताजी आफनो जागिरले अर्थिक सम्पन्नता भएकी, आधुनिक नारीको प्रतिनिधित्व गर्दै जीवनको सत्य र खुशी खोज्दै हिँड्ने नारी ।”
“विनोद सर कहाँ हराउनुभयो तपाईँ… -” उनले मेरो कल्पनाको तन्द्रा चुडाइदिइन् । मैले कुरो बङग्याउदै भने- “हैन सरिताजी तपार्इँ र तपाईँको श्रीमान्मा यस्ता कुराले असर पार्छ कि पार्दैन । जस्तो कि तपाईँ मलाई भेट्न एक्लै आउनुहुन्छ अनि तपाईँको श्रीमान पनि अफिसियल कामले कति महिलासँग बाहिरिनुहुन्छ होला ।
“हो विनोद सर , हामी यस्तै गफ गरौ न ।”
उनी भावुक हुँदै भन्न थलिन्- “हेर्नोस्, न म यसरी कति एक्लै हि“ड्छु कहिले कहाँ – कहिले साहित्यिक कार्यक्रममा एक्लै हिँड्छु । तर हामीबीच दुइ आत्मालाई जोड्ने विश्वासको एउटा दह्रो झोलुङ्गे पुल छ । जुन पुल छोराछोरीको माया, पारिवारिक दायित्व अनि सामाजिक प्रतिष्ठाले बनेको छ । त्यो पुल चुडिने सम्भावाना नै छैन । हुनसक्छ कहिलेकाहीँ हल्लिन्छ अनि त्यो हल्लिने स्थिति बढी भयो भने चुडिन पनि सक्छ त्यसैले त्यसकोलागि हामीले आफूलाई स्थिर पार्नुपर्दछ । कहिलेकाहीँ मैले खोजेको कुरा उसमा भेट्दिन अनि उसले खोजेको कुरा ममा पाउदैन । हामी त्यसको विकल्प खोज्न थाल्दछौँ । हाम्रो विवाह भएको एकदुर्इ वर्षगर्दै केहीवर्षबितिसक्यो । सुरुमा जस्तो रोमाञ्चकता अनि त्यो अनुभूति हामीमा नहोला किनभने सधैसँगै बस्दा कतिकुरा हराउन पुग्दछ अनि कतिकुरा जन्मन थाल्दछ । हामी त्यो उदासिनता र निराशाबाट बच्न चाहन्छौँ । तर त्यसको मतलब परपुरुषगमन र परस्त्रीगमन होइन । त्यो म पटक्कै मान्दिनँ । जीवनलाई नयाँ उर्जा दिने अनि सिर्जनशील क्षमता बढाउन म तपाईँसँग आएर केही क्षण आफ्नो मस्तिष्कमा उर्जा थप्ने काम गर्छु किनभने म भावुक र संवेदनशील नारी पनि हु । त्यसरी नै ऊ पनि सम्भवत आफूलाई स्फूर्त राख्न र उर्जा थप्ने काम यसरी नै गर्छ होला । हामीले हाम्रो दुइको व्यक्तिगत स्वतन्त्रतामा कहिल्यै हस्तक्षेप गर्दैनौँ यदि त्यो सामाजिक मान्यता भन्दा बाहिर छैन भने । हामी आधुनिकतामा रमाउन चाहन्छौ तर पूर्वीय सभ्यतालाई भुलेर हैन ।”
म सरिताजीको गफमा लटि्ठन्छु । एउटा सपेराको अगाडि र्सप लटि्ठएझैँ । सायद मेरो वैवाहिक जीवन पनि यस्तै भैदिएको भए एउटा विदत्व नारीको अगाडि मैले श्रीमतीको कारण लज्जित हुनुपर्ने थिएन । अनि उनले गरेको श्रीमान् र श्रीमती बीचको समझदारीको कुरा हाम्रोलागि आकाशको फलजस्तै थियो । तर पनि पुरुषप्रधान समाजमा जन्मेको मैले आफनो पुरुषत्वको उपभोग र व्यक्तिगत स्वतन्त्रताको फाइदा मनग्गै उठाएको छु ।
उनले फेरि मलाई आर्कषित पार्दै भनिन्- “विनोद सर साहित्यकारले जतिसुकै कठोर सिर्जना गरे पनि उसको हृदय शिशा जस्तै नरम हुँदो रहेछ हगि –
म आफनो तन्द्रा टुटाउँदै ‘हो’ भन्न पुग्दछु । तपाईँसँग बसेर यस्तै गफ गर्न अनि आफनो विश्वासमा ठेस पुगेको कुरा गर्दा मलाई असाध्यै आनन्द आउँछ । किनभने एउटा साहित्यकारको हृदय बुझ्ने व्यक्ति पनि साहित्यकार नै हुनुपर्दछ । जस्तो लाग्छ किन हो मलाई साहित्यिक रुचि नभएको व्यक्तिमा संवेदना हुँदैन , हृदय नै हुँदैन अनि आत्मा नै हुँदैन जस्तो लाग्छ , विनोद सर ।”
“तपाइँले भन्नुभएको यो कुरा अलिक ठीक लागेन सरिताजी मलाई । किनभने सबै व्यक्तिमा साहित्यिक रुचि हुन्छ नै भन्न सकिदैन तर त्यो नहुँदैमा उसमा कुनै कुरा हुँदैन भन्ने होइन । व्यक्तिको आआफ्नो जीवनलाई हेर्ने दृष्टिकोण हुन्छ अनि बाँच्ने शैली पनि । यसैमा ऊ रमाउँछ । यस्ता कुराको चिन्तन तपाई“ बिस्तारै गर्दै जानुहुनेछ । तपाई“को परिपक्वतासँगै यी कुरा माझिदै जानेछ सरिताजी । अहिले तपाईँले भन्नुभएको जीवनप्रतिको तपाईँको जुन दर्शन छ नि त्योचाहिँ मलाई खूब मन पर्यो तर तपाईँले भन्नु भएजर्स्तै र सोच्नु भएजस्तै सबैको जिन्दगी हुँदैन । त्यसैले जीवनको भोगाई पनि सबैको आ-आफ्नै खाले हुन सक्छ, सरिताजी ।
“विनोद सर, हो यस्तै साहित्यिक ज्ञान बढाउन म तपाईँलाई दुःख दिइरहन्छु । अन्यथा नलिनु होला । अनि तपाईँको हौसला , प्रेरणाले मलाई थप उर्जा पैदा गर्छ । नत्रभने म शिथिल हुन पनि सक्छु ।”
मैले पनि आफूले उनलाई भेट्दा बेग्लै अनुभूति आउँने कुरालाई आधा पचाएर आधा मात्र ओकले- “हो सरिताजी तपाई“सँग भेट्दा मलाई पनि मेरो साहित्यिक फाँटमा केही मलजल पुगेको अनुभूति हुन्छ ।”
“विनोद सर , हामी धेरै बेर गफ्यौ । अब मेरो हिँड्ने समय भइसक्यो । कुनै विदाको समय मिलाएर फेरि भेटौला हुन्न र -”
मैले मुख अमिलो पार्दै उनलाई बिदा गर्ने कुरामा सहमति जनाएँ । तर घरमा फर्केपछि एक तमासको भए कुनै खोलाले बगाएर किनारामा फ्याकेको डुङ्गाजस्तो सरिताका हरेक कुराहरू कानमा एकनास रिङ्रिगाइ रहे । मलाई कुनै सपनाबाट ब्युँझिए जस्तो लाग्यो । भित्र कताकता आफैँलाई सोध्न मन लाग्यो ‘के त“ सरितालाई प्रेम गर्न लागिस् – यो उमेरमा तँलाई सुहाउँछ । म अनासय कराएँ सरिता मलाई माफ गर….. ।’

Narayan Tiwari – Fuchche Robot

नारायण तिवारी – फुच्चे रोबोट
(मुना २०६६ असोज)

जाडोको महिना । सात बजेको छ । गर्मीको महिना हुँदो हो त सात बज्दा उज्यालै हुन्थ्यो । अहिले त सात बज्दा मध्यराति जस्तो । त्यसमाथि सुमन घरमा एक्लै छ । आमा मामा घर जानुभएको छ । बाबा अफिस । अफिसबाट घर आउन जहिल्यै ढिलो ।

”के गर्नु, काम नसकी हिँड्नै मिल्दैन ।” बाबा भन्नुहुन्छ ।

सुमनको बाबा बैंकमा काम गर्नुहुन्छ । नगद विभागमा । सबै कारोबार सकिसकेपछि, रुपियाँ पैसा थन्काइसकेपछि खजाञ्ची सरलाई चाबी बुझाएर मात्र उसको बाबाले छुट्टी पाउनु हुन्छ अरे । अफिस छुट्ने ५ बजे हो तर आˆनो जिम्माको काम पूरा गर्दागर्दै कहिले ६, कहिले ७, त कहिले ८ बज्छ अरे ! फेरि अफिस छुटेर घर आइपुग्न एकघण्टा लाग्छ बाबालाई । आमा पनि अफिसमा काम गर्नुहुन्छ । हुलाक अफिसमा । त्यो त बाबाको जत्ति टाढा छैन । आमा छिटै घर आउनुहुन्छ । अहिले त मामाघर मधेसमा जानुभएको छ आमा । छिटै आउँछु भन्नु भएर पनि सात दिन भइसक्यो आउनुभएको छैन । सुमनले पनि मामा घर जान जिद्दी गरेको थियो । उसको स्कुल लागिरहेकोले बाबाले फकाउनुभयो । आमाले पनि ‘छिटै आउँछु, जुत्ता किनिदिन्छु’ भनेर फकाउनुभयो । उसको स्कुल जाँदा लगाउनेबाहेक बाहिर जाँदा लगाउने राम्रो जुत्ता थिएन । त्यसको लोभमा परेर ऊ चुप लागेको थियो ।

तर बाबा घर आउन ढिला भएर, राति हुँदा उसलाई बेकार आˆनो जिद्दी छोडेको भनेर पछुताऊ भइरहेथ्यो । कि त आमालाई पनि नजान दिनु पथ्र्यो । चकमन्न रातमा बुद्रुक्क मुसा उपि|mँदा पनि ऊ डराउँथ्यो । चोर आयो कि, भूत आयो कि…! चोर त हुन्छ तर भूत हुँदैन भन्ने उसलाई थाहा थियो तर पनि डर त लागिहाल्थ्यो ।

”ढोका राम्ररी लगाउनु के को डर ! पढ्ने छोरा भएर पनि डराउने ?” बाबा उसलाई ढाडस दिनुहुन्थ्यो ।

”भूत त हुँदैहुँदैन तर चोर आयो भने जोड-जोडले कराउनु । वरिपरिका मान्छे आइहाल्छन् नि, के को डर !” बाबा सम्झाइरहनु हुन्थ्यो ।

सोच्दासोच्दै सुमन निदायो । त्यसैबेला उसले एउटा ऊभन्दा सानो मान्छेलाई देख्यो । उसलाई उठाउँदै त्यो सानो फुच्चेले भन्यो- ”सुमन, किन डराउँछौ ? नडराऊ । म छु तिम्रो साथी । अब पीर नगर । तिम्रो बुबा जति ढिलो आए पनि अब केही फरक पर्दैन । यी लेऊ यो फूल तिमीलाई…।”

त्यो फुच्चे मान्छेको हातमा फूल थियो । सुमनले लम्केर त्यो फूल लियो ।

सुमनलाई त्यो मानिस आफूभन्दा अलिक भिन्न लागिरहेको थियो । ”तिम्रो नाम के हो ?” सुमनले नयाँ अनौठो साथी पाएकोमा केही झस्केर, केही रमाएर सोध्यो ।
”मेरो नाम ‘फुच्चे रोबोट’ हो । म तिमीभन्दा अलिक भिन्न छु । मलाई भात खानु पर्दैन । सुत्नु पर्दैन । दिसा-पिसाब गर्नु पर्दैन तर बलियो छु । मसित तिमीहरू जस्ता पचासौँ जना एकैपल्ट हार्छन् । ठूला मानिसहरूले पनि मलाई जित्न सक्दैनन् । मलाई चलाउन भने जान्नुपर्छ । लु लेऊ यो मलाई चलाउने स्वीच । यसलाई बुझेर थिच्नु । थुप्रै स्वीचहरू छन्…!” त्यसपछि फुच्चे रोबोटले पालैपालो कुन स्वीच थिच्दा उसले के गर्छ, कुन स्वीच थिच्दा कुन आदेश पालन गर्छ- सबै बतायो । त्यो सबै थाहा पाइसके पछि सुमन धेरै खुसी भयो । अब ऊ ढुक्क पनि भयो । जब फुच्चे रोबोट नै उसको साथी भयो भने उसलाई अब केको डर, कोसित डर ?

”अब तिमी मज्जाले सुत । म तिम्रो सुरक्षामा जाग्छु ।” फुच्चे रोबोटले भन्यो । फुच्चे रोबोटलाई धन्यवाद भन्दै ऊ सिरक ओढेर सुत्यो र एकैछिनमा भुसुक्क निदाई पनि हाल्यो ।
”डर लाग्यो भने ढोका थुनेर सुत्नु !” बाबाले भनेको सम्झिन्थ्यो तर उसले जति निदाउन खोज्दा पनि निद्रा लाग्दैनथ्यो तर फुच्चे रोबोटले भन्नासाथ ऊ मस्तसित सुत्यो । निदाएपछि उसले सपनामा देख्यो- उसको घरमा चोर आएको रहेछ तर फुच्चे रोबोटले त्यस चोरलाई समातेर सिक्रीले बाँधेर राखिदिएछ । उसको बाबा राति अबेर घर आउँदा बाबालाई पनि चोर ठानेर फुच्चे रोबोटले सिक्रीले बाँधी दिएछ ।

त्यसैबेला जोड-जोडले ढोका ढक्ढक्याएको आवाज आयो ।

”सुमन ! सुमन !! के गर्दैछस् छिटो ढोका खोल्…!” उसको बाबा कराइरहनुभएको थियो । ऊ आँखा मिच्दै उठ्यो र हतार-हतार ढोका खोल्न पुग्यो । उसले ढोका खोलिदिएपछि बाबा भित्र पस्नु भयो र ढोका फेरि लगाइदिनु भयो ।

अचानक ऊ झस्कियो- खै फुच्चे रोबोट ? अरे, बाबालाई त फुच्चेले चोर ठानेर सिक्रीले बाँधिदिएको होइन…..?

”बाबा ! मेरो साथी फुच्चे रोबोट…!” ऊ अकमकाउँदै बोल्यो ।

”के भन्छ यो ? ल्याइदिउँला नि तँलाई खेलौना फुच्चे रोबोट…!”

”होइन, होइन ! अहिले यहीँ थियो मेरो साथी फुच्चे रोबोट !”

”सपना देखिस् कि क्या हो…!” सुमनको बाबा हाँस्दै भान्सा कोठातिर पस्नु भयो ।

अहिले भने ऊ पूरै छ्याङ्ग भयो । फुच्चे रोबोट त उसको सपनामा पो आएको रहेछ ।

जेहोस् उसले सोच्यो- ऊ पनि यस्तै, उसको सपनामा आएको जस्तै बलियो सुरक्षा दिने रोबोट बनाउने छ ठूलो भएपछि, धेरै पढेपछि । र, मानिसहरूलाई चोरहरूबाट बचाउने छ…!
ऊ सोचिरहेको थियो । र, उसको बाबा उसलाई भनिरहनुभएको थियो- ”नसुत है, छिट्टै भात पाकिहाल्छ, भात खाएर मात्र सुत्नुपर्छ…!”

Rajendra Parajuli – Raajneeti

राजेन्द्र पराजुली – राजनीति
(Source: Himal Khabar)

पार्टीभित्र रघुनाथको त्यागको निकै प्रशंसा हुन्छ। उसको त्याग नै त पार्टीको सफलताको आधार हो। स्वार्थ, बेइमानी र विकृतिले भरिपूर्ण राजनीतिक दुनियाँमा रघुनाथ अपत्यारिलो पात्र छ। आफ्नो पार्टीमात्र होइन अन्य पार्टीका निम्ति पनि ऊ ठूलो प्रतिद्वन्द्वी र ईर्ष्याको पात्र बनेको छ। यस्तो लाग्छ, उसको राजनीतिक जीवनको शब्दकोशमा प्राप्ति कहीँ-कतै लेखिएको छैन। अधिकांश नेताहरू उसको ईर्ष्या गर्दा सोच्छन्, किन म रघुनाथजस्तो बन्न सकिनँ? यसो भन्दै उनीहरू कहिलेकाहीँ भित्रभित्रै आफूप्रति नै दया जताउँछन्।

रघुनाथको पार्टीले पटक-पटक सत्तासयर र सरकारको नेतृत्व गरेको छ, तर ऊ कहिल्यै पदमा गएको छैन। आफू पदमा जाँदा पार्टी कमजोर हुने उसको विश्वास छ। रघुनाथ हरेक निर्वाचनमा चुनाव लड्छ र जित्छ। अन्य पार्टीले उसको क्षेत्रमा प्रायः कमजोर उम्मेदवार दिन्छन्। सबैलाई थाहा छ― रघुनाथलाई जित्न कसैले सक्दैन। उसको बफादारिताका अगाडि कसैको केही लाग्दैन।

रघुनाथ पार्टीको उपाध्यक्ष। यसो भन्दा पनि हुन्छ― आजीवन उपाध्यक्ष। पूरै फुलेको कपाल र दाह्री-जुँगा, चाउरी परेका गाला, आधाभन्दा बढी झ्रेका दाँत र ६ दशक नाघ्दै गरेको उमेर देखेपछि जोकोहीले अनुमान लगाउन सक्छ, रघुनाथको मह140वपूर्ण उमेर राजनीतिमा, त्यो पनि उपाध्यक्ष पदमै बित्यो। रघुनाथले अध्यक्ष बन्ने अवसर नपाएको होइन, तर त्यस्तो चाहना उसले कहिल्यै राखेन। त्यसका निम्ति गर्नुपर्ने सामान्य प्रयत्न पनि गरेन। पार्टी अध्यक्षले थुप्रै पटक आफू निकै बूढो भएको र राजनीतिबाट सन्न्यास लिन चाहेको बताउँदै अध्यक्ष बन्न रघुनाथलाई आग्रह गरेको हो, तर ऊ आफू नै तयार भएन। अन्य नेता-कार्यकर्ताले पनि पार्टी सत्तामा गएका बखत सुहाउँदो मन्त्रालयको जिम्मा लिन पटक-पटक अनुरोध गरेका हुन्, तर ऊ यसमा पनि तयार भएन। उसका सहकर्मी सबैको मनमा प्रश्न तरङ्गित हुनेगरेको छ― के रघुनाथ मूर्ख हो?
परिवारमा ऊ, पत्नी, एक छोरी र दुई छोरा गरी पाँच जना छन्। छोरीको बिहे भइसकेको छ, दुवै छोरा र पत्नी राजनीतिमा छन्। उनीहरू पटक-पटकको आन्दोलनमा उत्रिएका, जेल भोगेका, प्रहरीको लट्ठी खाएका र घाइते भएका छन्। तर रघुनाथले कसैलाई पनि पार्टीको जिम्मेवार पदमा लगेको छैन, कतै राजनीतिक नियुक्ति दिन लगाएको छैन। मानौं, उनीहरूको कामै पार्टीलाई आवश्यक परेका बखत आन्दोलनमा उत्रिनु हो। पार्टीको उच्च पदमा म छँदैछु नि! एउटै परिवारका मान्छेले जिम्मेवार पदहरू लियो भने वंशवाद हावी हुन पुग्छ, यसले जनतामा राम्रो सन्देश जाँदैन― यस्तै सोच्छ रघुनाथ।
उता पार्टी अध्यक्षको परिवारका कोही राजनीतिमा छैनन्। श्रीमती राजनीतिलाई श्रीमानको मात्रै पेशा मान्छे र भन्छे― परिवारका सबैले राजनीतिमै लाग्नुपर्छ भन्ने छैन। सन्तान भन्नु एउटै छोरा म्यानपावर एजेन्सी चलाएर बस्छ। उसले आफ्नो गलत क्रियाकलापका कारण थुप्रै पटक बाबुलाई अप्ठेरोमा पारेको छ। उसका तीनवटी श्रीमती छन्। छोराको बहुविवाहलाई लिएर पनि पार्टीमा अध्यक्षको विरोध भएको थियो। त्यसबखत उसले जवाफ दिएको थियो- मैले ल्याएको हो र, तीनोटी श्रीमती?

केही समयअघि अध्यक्षको छोरा आफ्नो एजेन्सीमार्फत दुई सय जनालाई बेलायत पठाइदिन्छु भनी करोडौँ रुपैँया असुलेर भिसा दिलाउन नसकी कतै लुकेको थियो। यस घटनाले पार्टीभित्र ठूलै हलचल मच्चायो। जनमानसमा पार्टीप्रति नै नकारात्मक सन्देश जाने अवस्था सृजना भयो। पार्टीको केन्द्रीय समितिको बैठकमा केही सदस्यको प्रश्नको जवाफ दिँदै अध्यक्षले मैले खाएको हो र पैसा! भनेर पानीमाथिको ‘भानो बन्ने प्रयत्न गरेपछि रघुनाथले भनेको थियो― सर्वसाधारणको पैसा कुनै पनि हालतमा फिर्ता हुनुपर्छ।

रघुनाथको भनाइले अध्यक्षलाई व्यक्तिगत रूपमा निकै चोट पुगेको सङ्केत त्यसबखत उसको अनुहारमा झ्ल्केको थियो। त्यो घटनापछि केही दिन अध्यक्षले रघुनाथलाई बेवास्ता गर्‍यो, ऊसँग राम्ररी बोल्दा पनि बोलेन। तर रघुनाथविना पार्टीको कुनै काम अगाडि बढ्न सम्भव थिएन। रघुनाथ एक्लैको प्रतिष्ठा, इमानदारी, स्वाभिमान, त्याग नै त्यस पार्टीको बल थियो।

देशमा भर्खरै सम्पन्न निर्वाचनबाट रघुनाथको पार्टी संसद्को ठूलो पार्टी बन्यो। चुनाव प्रचारका क्रममा आधाभन्दा बढी निर्वाचन क्षेत्रमा रघुनाथ स्वयम् पुगेको थियो। यसैका कारण उसको पार्टी अन्य दलभन्दा ठूलो बन्न सफल भएको हो। निर्वाचनपछिको पहिलो बैठकमा अध्यक्षले रघुनाथलाई अब आफूले कुनै पनि हालतमा पार्टी सम्हाल्न र मन्त्रिमण्डलको नेतृत्व गर्न नसक्ने बताउँदै यस कार्यमा रघुनाथलाई अगाडि बढ्न अनुरोध गरेको थियो। अध्यक्षको प्रस्तावलाई पार्टीका अधिकांशले स्वागत गरेका थिए। तर यस पटक पनि रघुनाथले टार्‍यो।

उसका सहकर्मी सबैको मनमा फेरि पनि प्रश्न तरङ्गित हुन पुग्यो― के रघुनाथ पागल हो?
निर्वाचनमा रघुनाथ र पार्टी अध्यक्षले दुई-दुई स्थानबाट उम्मेदवारी दिएका थिए। रघुनाथ दुवै स्थानमा सानदार मतका साथ विजयी भएको थियो भने पार्टी अध्यक्ष एक स्थानमा मात्रै, त्यो पनि झ्िनो मतान्तरले। अर्को स्थानमा त अध्यक्षको बडो लज्जाजनक पराजय भएको थियो। यसकारण पनि अध्यक्ष पार्टीको नेतृत्व गर्न पछि हटेको हो। साथै उसको उमेर पनि निकै ढल्किसकेको थियो।

नयाँ सरकार बनिसकेको थिएन, कामचलाउ सरकार नै चलिरहेको थियो। साना पार्टीमात्र होइन चारैतिरबाट रघुनाथको पार्टीलाई सरकार बनाउन दबाब आइरहेको थियो। जनता सडकबाट रघुनाथलाई नै सरकारको नेतृत्व गर्न समेत आह्वान गरिरहेका थिए। स्पष्ट बहुमत प्राप्त नभए पनि सबैभन्दा ठूलो दल भएका कारण उसको पार्टीलाई सरकार बनाउन दबाब आउनु स्वाभाविक थियो।

यसैबीच अचानक पार्टी अध्यक्ष बिरामी परे। चिकित्सकले उनको अवस्था निकै गम्भीर भएकोले दबाबमूलक काम लगाउन नहुने, चर्को आवाजमा बोल्न नहुने र वादविवाद गर्न नहुने बतायो। यसबखत भने रघुनाथ निकै सोचमग्न भयो। उसले एक पटक नजिकबाट नियालेर अध्यक्षको कान्तिहीन अनुहार हेर्‍यो। ऊ निकै गलेको र कमजोर भएको देख्यो। र, त्यसपछि आफूलाई तयार पार्‍यो― पार्टीको अध्यक्ष बन्न र सरकारको नेतृत्व सम्हाल्न। यद्यपि, यतिखेर पनि रघुनाथलाई आफ्नो मन बुझ्ाउन निकै गाह्रो परेको थियो।

केन्द्रीय समितिको बैठक बस्ने र त्यसले नै मन्त्रिमण्डलबारे निर्णय गर्ने भनेर कुरा त्यसै अड्किरहेको थियो। केही दिनपछि अध्यक्षले अस्पतालमै केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गर्‍यो। चिकित्सकहरूले यस्तो निर्णयलाई अस्वीकार गरे पनि अन्त्यमा उनीहरूको केही लागेन। बैठक चाँडो सक्ने र अध्यक्षले लामो नबोल्ने सहमति भयो।

बैठक शुरु भएको केही मिनेटमै अध्यक्षको छोरा अचानक चैत-वैशाखको हुरी जसरी हुर्रिंदै अस्पतालभित्र पस्यो। र, आफ्नो बाबुको छेउमा बस्यो। अध्यक्षले रघुनाथलाई पनि आफूसँगै बस्न इशारा गर्‍यो। अध्यक्षले एउटा हातले रघुनाथ र अर्को हातले आफ्नो छोरालाई समाउँदै रघुनाथलाई भन्यो, “रघुनाथ तिमीले मेरो राजनीतिलाई आजका मितिसम्म जोगाइदियौ। मलाई म बनाउन मेरो आफ्नो भन्दा पनि तिम्रो भूमिका धेरै र महत्वपूर्ण रह्यो। मेरा कुरा सधैँ शिरोपर गर्‍यौ― अब अन्तिम पटक एउटा सहयोग माग्छु, गर्छौ होइन त?”

रघुनाथले एउटा इमानदार बालकले झ्ैँ स्वीकारोक्तिमा टाउको हल्लायो। रघुनाथले मनमनै अनुमान गर्‍यो― अबचाहिँ अध्यक्षले आफूलाई पार्टी र सरकार दुवै सम्हाल्न अनुरोध गर्नेछन्, अब म यो प्रस्तावलाई कुनै पनि हालतमा अस्वीकार गर्न सक्ने छैन। फेरि केन्द्रीय समितिका अधिकांश सदस्यहरू पनि रघुनाथले नै पार्टी र सरकारको नेतृत्व गर्नुपर्ने माग गरिरहेका थिए। छोरातिर इङ्गित गर्दै अध्यक्ष विस्तारै बोल्यो, “जस्तोसुकै भए पनि यो मेरो छोरो हो, एक्लो छोरो! मलाई यसको असाध्यै माया लाग्छ। यसले आजसम्म गरेका कुनै पनि काम सफल हुन सकेन। अनि यसलाई पनि राजनीतिमा रुचि छ। अब पार्टी अध्यक्ष र सरकारको नेतृत्व गर्न मलाई सहयोग गरेजसरी नै यसलाई सघाऊ न है रघुनाथ!”

रघुनाथलाई पत्याउन गाह्रो पर्‍यो― के यी शब्दहरू अध्यक्षकै मुखबाट निस्किएका हुन्? यदि हुन् भने यसभन्दा पहिला रघुनाथलाई पार्टी अध्यक्ष र सरकारको नेतृत्व गर्न गरेका अनुरोधहरू के थिए? ढोङ? स्वाङ? पाखण्ड? वा अरूसामुन्ने त्यागी देखिन गरेको अभिनय? यी कुनै पनि प्रश्नका चित्तबुझदा उत्तर रघुनाथसँग थिएनन्। रघुनाथलाई आफ्नो टाउकोमा चट्याङ परेजस्तो महसूस भयो। के बोलिरहेछ अध्यक्ष!

रघुनाथ किंकर्तव्यविमूढ बन्दै अस्पतालको छततिर हेर्न थाल्यो। छतको प्लास्टर ठाउँ-ठाउँमा उप्किएको थियो। थुप्रै ठाउँमा पानी चुहिएका दागहरू स्पष्ट देखिन्थे। बिरामीलाई आश्रय दिने, पानी, हावाहुरीबाट जोगाउने र उद्धार गर्ने त्यो छत जीर्ण भइसकेको थियो। रघुनाथले अस्पतालको त्यो छत र आफू संलग्न पार्टीलाई उस्तैउस्तै देख्यो। आफूलाई दह्रो पार्दै मनमनै निर्णय गर्‍यो, “भो पुग्यो, अबदेखि यो घिनलाग्दो राजनीति गर्दिनँ।”

अध्यक्षको निर्णय सुनेर अस्पतालमा एकछिन ठूलै होहल्ला भयो। चिकित्सकहरू आएर सबैलाई बाहिर जान भने। सबै अस्पतालको कोठाबाहिर निस्कन थाले, रघुनाथ पनि निस्कियो। क्रमशः अवस्था सामान्य हुन थाल्यो। पार्टीका अधिकांश सदस्यहरू अध्यक्षको छोराको वरिपरि घुम्न थाले। केही दिनपछि रघुनाथले थाहा पायो― २३ सदस्यीय केन्द्रीय समितिमा अध्यक्षको निर्णयमा २० जनाले समर्थन गरेछन्, रघुनाथसमेत तीन जना अनुपस्थित थिए।

Dhruba Madhikarmi – Jam Ma (Nepali Laghu Katha)

ध्रुव मधिकर्मी – जाममा
(Source: मधुपर्क साउन, २०६७)

ऊ त्यहाँ पुग्दा जाम शुरु भइसकेको थियो । बाटोभरि बस, मिनीबस, टेम्पो, ट्याक्सी, साइकलहरूको ठेलमठेल थियो । न बढ्नलाई बाटो थियो, न र्फकने ठाउँ नै । अब अस्पताल पुग्न घण्टौ लाग्ने भयो । यसैबेला उसको मोबाइल बज्यो ।

हेलो, म डेभिड बर्नर ।

उसले चिन्यो डा. डेभिड बर्नरलाई । विदेशमा सँगै डाक्टरी पढेको अत्यन्त मिल्ने साथी । तिनीहरूले उत्कृष्ट अङ्क ल्याएर डाक्टरी पास गरेका थिए । ऊ आपनो मुलुक सम्झेर फक्र्यो ।

हेलो, मि. बर्नर के छ हालखबर । अहिले के गर्दैछौ ?

यार काममा धेरै जोतियो । कमाइयो पनि । अब यसो अन्तरीक्षतिर घुम्न जाउँ कि भनेर सोच्दैछु । सोच्दैछु के म त तयारी पनि

गर्दैछु । मित्र, तिमीले पनि यहीँ बसेर काम गरेको भए आज हामीसँगै अन्तरीक्षमा घुम्न जान हुन्थ्यो ।अनि भन तिमी के गदैछौ ? के छ तिम्रो योजना ?

म….., ऊ अक्मकियो ।

अन्तरीक्षमा घुम्न जान लागेको साथीलाई के भन्ने । यार म त यहाँ घण्र्टौदेखि जाममा फसिरहेछु भन्ने । म त बन्दको मारमा छु भन्ने । अथवा म त यसरी नै वर्षौदेखि द्वन्द्वले पिल्सिरहेको छु भन्ने ।

मेरो शुभकामना छ, तिम्रो यात्रा सुखद् होस्, मित्र बर्नर । उसले यति भनेर मोबाइलको स्विच थिच्यो र जाम कतिखेर खुल्ला भन्दै सोच्दै आˆनो सेकेण्ड हृयाण्ड गाडीको स्टियरिङ्गमा हात राखेर पर्खन थाल्यो ।

Bishwa Raj Adhikari – Aba Kahilyai Shahar Janna

विश्वराज अधिकारी – अब कहिले शहर जान्न

‘अँ हँ, म त कहिले अब शहरतिर जान्न, बरु यै गाउँमा जिवन बिताउँछु। यै चिया पसलमा, यसरी नै चिया बेचेर। कति आनन्द आउँछ यो बाटो हिँडेर शहर पस्नेहरु र शहरबाट गाउँ झर्नेहरुको कुरा सुन्न, यो चिया पसलमा बसेर उनीहरुले चिया खाँदै गफ गर्दा। यहाँ कति रमाईलो छ कति। बिना सित्ति मुगलिन झरेर दुखमा मात्र पाएँ। मलाई त अब शहरको मान्छे देख्यो कि डर लाग्छ। तिनीहरुले ठग्लान कि भनि म त पिरोलिन थाल्छु, शहरका मान्छेहरु मेरो अगाडि पर्यो कि। अँ हँ, म त एक दुइ तिन, अब कहिले शहरतिर झर्दिन’ म सुन्तलीको कुरा कतै न अलमलिएर सुन्दै थिएँ। सुन्तलीको कुरा सुन्दा मेरो चिया सेलाएको मैले पत्तो पाइन।

शहरको मान्छे देख्यो कि डर लाग्छ, अब म शहर कहिले पस्दिन भन्ने सुन्तलीको भनाइले, उनको त्यो भनाइमा गहिरो अर्थ रहेको संकेत गर्यो। र त्यसैले पनि अझै प्रष्टसँग बुझ्न मन लाग्यो, त्यसको अर्थ वा भनौ उनको शहरप्रतिको त्यस्तो अनुभूति। एक किसिमले भन्ने हो भने म ब्यग्र नै भए, सुन्तलीको वर्तमान र विगत दुबै थाहा पाउन। मेरो मुखबाट निस्क्यो- के गरे नि त्यस्तो शहरका मान्छेहरुले, हँ सुन्तली? सबैले उनलाई सुन्तली भनेको हुनाले मैले पनि सुन्तली भने। उनको वास्तविक नाम के थियो मैले थाहा पाउने प्रयास गरिन पनि।

सुन्तलीले उम्लिंदै गरेको दुध-पानीमा चिया पत्ति हालिन। छेउका ग्राहकहरुलाई भनिन पनि ‘एकै छिन है दाइहरु, चिया पाक्नै थाल्यो, धेरै बेर लाग्दैन। एकै छिन उम्ल्योस, है यो चिया।’

सुन्तलीको चिया झै मेरो मनमा पनि धेरै प्रश्नहरु उम्लिरहेका थिए। र ती प्रश्नहरु पोखिन खोज्दै थिए, सुन्तली माथि। मैले फेरि प्रश्न गरे- के गरे त्यस्तो शहरको मान्छेले हँ सुन्तली, हामीले पनि सुन्न पाए हुन्थ्यो।

सुन्तली एकै छिन घोरिइन। उम्लिंदै गरेको चिया चलाउँदै भनिन ‘के कुरा गर्नु त्यस्तो, त्यहाँको? छि, घिन लाग्दो कुरा। त्यस्तो पनि मान्छे हुन्छ कहिं कतै मुलुक संसारमा, भन्नुस त, सर?’ हाम्रो पूर्व कुराकानीको क्रममा म कुनै अफिसको कर्मचारी हो र पहाडको कुनै गाउँमा रहेको कुनै अफिसको निरिक्षण गर्न त्यतातिर लागेको भन्ने कुरा सुन्तलीलाई थाहा भइ सकेको थियो। त्यसै कारण उनले मलाई सर भनेको हुनु पर्छ।

सुन्तलीको कुरा सुने पछि मैले हाँस्दै भने- हेर, बैनी, मलाई दाई भने हुन्छ। सर भन्नु पर्देन। अँ बरु तिम्रो त्यो कुरा सुनाउन।

मेरो कुरा सुने पछि सुन्तलीले मेरो मुहारतिर अप्रत्यासित किसिमले हेरिन। तर निमेष भर मै भन्न आरम्भ गरिन ‘त्यस्तो पनि मान्छे हुन्छ दाइ?’ यो एउटा वाक्य बोले पछि चुप लागिन। एकै छिनको मौनता पछि फेरि भनिन् ‘म मुग्लिनको एउटा होटलमा काम गर्थ्ये। ऊ, त्यो होटलमा महिनामा दसौं पन्द्रौ चोटि आउँथ्यो। त्यही खाना खानथ्यो र कहिले ट्रकमा तर धेरै जसो होटलमा नै सुत्थ्यो। ट्रक चलाउथ्यो। कहिले बीरगंज त कहिले बिराटनगरबाट, कहिले भने भैरहवाबाट पनि सामान ल्याउँथ्यो काठमाडौ पुर्याउनका लगि। जहिले पनि सोधे भने उसले भन्थ्यो -सामान मात्रै साउको हो, ट्रक त मेरो नै हो। तर म उसको ट्रक देखेर, धनी होला भनेर उसको पछि लागेको भने थिन, है। मलाई त उसको मिठो कुराले पो रक्सीले झै लठ्याएको थियो। रक्सीको नसमा रहेको मान्छेले जता पनि आनन्द नै आनन्द देखे झै म पनि उसको कुरा सुनेर हराउँथे कल्पनाको संसारमा। पुग्थ्ये कता कता। जता पनि उसको माया पोखिएको देख्थ्ये। मन भरि आनन्द नै आनन्द हुन्थ्यो।’

ग्राहकहरु सबै हिंडि सकेका थिए। हामी दुई मात्र भएको स्थितिले सुन्तलीलाई खुलेर कुरा गर्न झनै सजिलो पारेको थियो। सुन्तलीले फेरिन भनिन् ‘ऊ सुतेको कोठामा गएर म राति निकै बेरसम्म कुरा गर्थ्ये। कहिले काहिँ त रातभरि नै पनि। तर त्यस्तो अरु कुनै मान्छेसँग कहिले पनि गरिन। उसँग मात्र त्यस्तो……… भएको थियो। कुरा गर्दा जहिले पनि उसले भन्थ्यो- हेर सुन्तली यो त्रिसुली नदी जहिलेसम्म रहन्छ यो लोकमा, हाम्रो माया पनि त्यसरी नै रहि रहने छ, यो दुनियामा। हाम्रो माया यो त्रिशुली नदीको पानी जस्तै सँगलो र पबित्र छ। मेरो माया यो त्रिशुली नदीको दुई किनार हो अनि त्रिशुली नदीको पानी चाहिँ तिम्रो माया। जसरी नदीका दुइ किनारहरु र पानी जहिले पनि साथै हिंडछन् त्यसरी नै हामी हिँड्ने छौ। यो जुनीमा मात्र होइन, अर्को जुनीमा, अर्को जुनी त के सात जुनीमा। हामी साथ रहने छौ। हाम्रो साथ जुन र आकास जस्तो हुनेछ। जहिले पनि मिलेर बस्ने। कसैले छुटाउन सक्ने छैन हामीलाई। बुझेउ सुन्तली।’

यति भनेर सुन्तली एक छिन चुप लागिन। सफा गरेका गिलासहरुलाई मिलाइर राखिन पनि। तर उनको मौनता भने निकै बेर कायम रह्यो। मनको मौनतालाई तोड्द मैले प्रश्न गरे- अनि त्यस पछि के भयो त सुन्तली?
मतिर हेरेर भन्नुको साटो उनले चुल्होतिर हेरेर भनिन् ‘म दङ्ग परेको थिए। होटलको साउको कचकच सुन्दा सुन्दा दिक्क लागेको थियो, त्यसबाट छुटकारा पाइने भयो, मनमा त्यस्तो पनि लागेको थियो। त्यति मात्र हो, अब घरजम गरेर नै बस्न पाइयो। एउटा भरपर्दो मान्छे भेटियो जिवन बिताउनका लागि। अशल साथी पाइयो दुख सुख साट्ने, भन्ने टुङ्गोमा पुगेकी थिएँ म।’
यति भनेर सुन्तली केही क्षण चुप लागिन। म भने उनको विगत जान्न ब्यग्र थिएँ। मेरो मुहारको ब्यग्रता बुझ्दै उनले भनिन् ‘मलाई अति नै माया गर्थ्यो, उसले। जहिले पनि काठमाडौंबाट फर्किँदा केही न केही ल्याउँथ्यो, मेरो लागि। साडी, जुत्ता त कति दियो कति, उसले। त्यति मात्र हो एक जोडि टप पनि दिएको थियो कानमा लाउने। अनि टप दिँदा हाँस्दै भनेको थियो – सुन्तली तिलहरी र पोते चाहिँ अहिले होइन त्यै बेलामा दिन्छु, जुन बेलामा केटाहरुले दिने गर्छन, केटीलाई। त्यै बेलामा, बाजा बजाउने बेलामा, दिउँला है। उसको त्यो कुरा सुनेर म आकाशमाथि पुगेकी थिएँ, मन भित्रको खुसी मेरो पखेटा बनेर, पुर्यायो त्यसले मलाई आकाशमाथि…………….।’

सुन्तलीको पछिल्लो कुरा सुनेर म अलि थप आश्चर्यमा परे। मेरो थप आश्चर्य थियो सुन्तलीका साहित्यिक कुरा। सुन्तलीका साहित्यिक कुरा सुनेर म दङ्ग परेको थिएँ। उनको त्यो पछिल्लो भनाईलाई बिचमै रोक्दै मैले प्रश्न गरे- पढे लखेको जस्तो लाग्छेउ नि तिमी त, कुरा गराईले, हँ सुन्तली।

सुन्तलीले तत्काल जबाफ दिन ‘यस यल सी पास गरे नि, गाउँ कै स्कूलबाट।’

मैले तत्काल नै प्रसंग परिवर्तन गर्ने उद्देश्यले भने ‘अँ त्यस पछि के भयो त, हँ, सुन्तली? सुन्तलीले भनिन् ‘ऊ, मैले काम गर्ने होटलमा आउने र राति त्यहाँ बस्ने क्रम लामो समय सम्म चलिरह्यो। एक वर्ष भन्दा पनि बढीसम्म। अनि हाम्रो भेटघाट र कुराकानीको क्रम पनि त्यसरी नै बाक्लो हुँदै गयो। पछि त कस्तो पनि हुन थाल्यो भने ऊ होटलमा बास बस्न न आएको दिनमा, उसलाई नभेटेको दिनमा, मैले केही ज्यादै नै वहु मूल्य कुरा हराएर खोज्नु पर्ने जस्तो। त्यति मात्र हो, ऊ नभएमा म त बाँच्न नै नसक्ने स्थितिमा पुगे। त्यस्तो सम्म स्थितिमा पुर्यायो उसको त्यो पापी मायाले मलाई।’

सुन्तलीले आँखाको आँशु पुछ्दै फेरि भनिन् ‘एक चोटि ऊ काठमाडौ गएको एक महिना भन्दा बढी हुँदा पनि फर्केन। म यता पानी बिनाको माछा हुन थाले। आफूलाई रोक्ने नै गाह्रो भयो, मलाई। पुगे उसलाई खोज्न, बीरगंज नै। उसले आफ्नो, घर कुन शहरमा हो त्यो चाहिँ भनेको थिएन, तर बसाई भने बीरगंजको बस पार्कको छेउ छाउमा छ भनेको थियो। बीरगंजको बस पार्कको छेउ छाउका घरहरुमा खोंजे, सोधें उसको बारेमा, एक हप्ता नै लगाएर। तर, कतै न त ऊ, न त ऊ बसेको घरनै भेटियो। मुगलिनबाट एउटा भाई पर्नेलाई साथमा लिएर गएको थिएँ, त्यो भाई न भइ दिएको भए म त एक्लै झनै कति भौतिरन्थ्ये होला त्यति ठूलो शहरमा। निरास भएर बीरगंजबाट फर्किने निधो गरे। मुगलिन पनि होइन आफ्नै घरतिर जाने टुङ्गोमा पुगे। एक हप्ताको बसाई सक्याएर, बस पार्कमा पुगेर भौतारिँदै थिए, बीरगंजबाट हिंड्न, आफ्नो घरतिर लाग्न। कस्तो अचम्म! उसलाई बस पार्कको छेउमा, उसले चलाउने गरेको ट्रक बनाउँदै गरेको देखे। उसलाई देखे पछि मेरो मन भित्र रहेको खुसी, बाढी झै रोकिएन, अनि फैलियो मेरो आँखा भरि। अति खुसीले गर्दा आँखाबाट झरेको आँशु पुछ्दै भने ‘केही समय बीरगंज तिर नै रोकिन्छु, उता आउन पाउँदिन भनेर भन्नु पर्थ्येन। कम छटपटिए म, के भयो किन यता नआएको भनेर? मेरो कुरा सुने पछि उसले हाँस्दै भन्यो- लौ, किन छटपटिएको त्यसरी। मैले भने- बिना कुनै खबर यता यत्रो दिन बस्दा हामीलाई चिंता हुदैंन र। उसले भन्यो- किन चिंता लिनु पर्यो तिमीले मेरो बारेमा? म को हुँ र तिम्रो? मैले आश्चर्य मान्दै उसलाई प्रश्न गरे- म को हुँ तिम्रो भन्ने कुरा, मसँग होइन, आफूले आफै सँग नै सोध न। उसले फेरि भन्यो- म कोही पनि होइन तिम्रो। बढी लामो कुरा न गर। जाउ यहाँबाट, काम गर्न देऊ मलाई। उसको त्यस्तो कुरा सुनेर म आकाश माथिबाट झरे झै भए। मुटुमा शूल नै रोपियो मेरो। भक्कानिएर रुन मन लाग्यो मलाई। तर पनि आफूलाई रोक्दै भने- अनि, तिमीले गरेका ती मिठा मिठा कुराहरु, पोते तिलहरि, अनि सिन्दुरका कुराहरु के थिए? सबै झूठा? अर्थ न बर्थका?’

यति भनेर सुन्तली चुप लागिन अनि रुन पनि थालिन। म पनि मौन नै बसें। अनि त्यस पछि के भयो हँ सुन्तली, भनी सोध्न मन लागेन मलाई। एकै छिन रोए पछि आँशु पुछ्दै सुन्तलीले फेरि भनिन ‘त्यति मात्र भनेको भए त मेरो यो मुटु टुक्रा टुक्रा हुने थिएन। उसको त्यो अर्को कुराले पो मेरो मुटु छिया छिया पार्यो। उसले मलाई के भन्यो दाई, थाहा छ? उसले मलाई भन्यो- तिम्रो फाल्तु कुरा सुन्ने फुर्सत छैन, मसँग। म मात्र होइन त्यो होटलमा तिमी सँग सुत्न आउने सबैले भनेका होलान तिमीलाई, मैले भने जस्तो। म पहिलो मान्छे होइन। यति भनेर ऊ हाँस्यो गललल। छेउमा रहेका उसका साथीहरु पनि हाँसे, गललल।’

सुन्तली रोई नै रहेकी थिन। म उनको छेउमा मौन थिएँ। सुन्तलीको मुखबाट कुनै शब्द निस्किन सकिरहेको थिएन, न त मेरो मुखबाट नै।