Bishnu Bhandari – Sahar Ma Comrade

सहरमा कामरेड

सरकारी नम्बर ल्पेटको गाडी सहरको पाँचतारे होटल अगाडि रोकियो । चालकले गाडीको ढोका खोलिदियो । गाडीबाट सांस्कृतिक संस्थानको जिएम निस्कियो, जसले भर्खरै राजनीतिक नियुक्ति पाएको थियो । राजनीतिक नियुक्ति पाएपछिको यो पहिलो सार्वजनिक कार्यक्रम थियो उसको ।

गाडीबाट झर्दा चिसोले टोक्लाजस्तो गरी घोच्यो । मध्यपुस, त्यसमा पनि बदली भएको आकाश, चिसो बढेको थियो । उसले आजै लगाएको टाइसुट मिलायो । कपाल ठिक छ छैन भनेर दुबै हातले कपाल स्याहा¥यो र होटलतिर हे¥यो । उसले हेर्दानहेर्दै आयोजक र अतिथिहरू ऊतर्फ हुर्रिए । उनीहरू झन्डै एकघन्टादेखि उसको प्रतीक्षामा फूलमाला लिएर उभिएका थिए । धेरैले झुकेर नमस्कार गरे । नवप्रवेशी कामरेडहरूले सिकारु मुठ्ठी सहितको हात उठाए । पुरानाले सलाम कमरेड भने । नवप्रवेशीले लालसलाम नै टक्र्याए । उसले स्मित हाँसो सहित अभिवादन फर्कायो ।

जिएम भर्खरै युद्ध लडेर आएको पार्टीको नेता । कला साहित्यमा पनि राम्रै दख्खल थियो । लामो समय सांस्कृतिक फाँटमा काम गरेकोले होला ऊ सांस्कृतिक विचलनप्रति अलि बढी नै सजग थियो । सांस्कृतिक रूपान्तरण र समाजमा संस्कृतिले पार्ने प्रभावबारे राम्रै प्रशिक्षण दिन्थ्यो । सायद त्यही भएर होला उसका कवितामा पनि यो भाव मुखर भएर आउँथ्यो ।

‘हामी सहरमा छौँ भन्ने कुरा बिर्सनु हुन्न कमरेड । सहरमा काम गर्नेको सबैभन्दा ठूलो चुनौती भनेको आफूलाई सांस्कृतिक विचलनबाट जोगाउन सक्नु हो,’ उसले प्रायः बैठक र छलफमा भन्ने गथ्र्यो– ‘सहर स्वभावैले अराजक र नैतिकहीन हुन्छ । गाउँमाजस्तो यहाँ काम गर्न सहज छैन । कमरेडहरूले आफूलाई सहरको रमझमबाट जोगाउनु होला ।’

पार्टी सरकारमा थियो । ऊ नेताको नजिकको मान्छे । पार्टीमा उसको हैसियत पनि माथि नै थियो । यही भएर होला दिनक्कै घेटघाट हुन्थे । छलफल र भेटघाटमा खानेपिउने विषय सँगै जोडिएर आउँथ्यो । बाध्यताले हो वा आवश्यकताले हो ऊ स्वयम् भने सहरको रमझममा अभ्यस्त हुँदै गएको थियो ।

केही समय अगाडि ऊ सवार भएको गाडी नदी किनारा हुँदै गुड्दै थियो । नदी भन्ने कि ढल ? यसबारेमा पुनर्मूल्याङ्कन गर्नुपर्ने हुन्छ । पहिलेदेखि नदी भनिएकोले सबैले नदी नै भन्दा हुन् । तर त्यो नदी भन्दा पनि खुल्ला ढलजस्तै थियो । हावासँगै नदी किनारमा दुर्गन्ध यसरी फैलिन्थ्यो कि बाटो हिँड्नेहरू नाक थुनेर हिँड्थे । अझ चिसोमा भन्दा पनि गर्मी ऋतुमा यहाँ बस्नै नसक्ने हुन्थ्यो । तातो हावासँगै दुर्गन्धले सारा बस्तीलाई क¥याप्प पाथ्र्यो । त्यस्तो ठाउँमा पनि सुकुम्वासी भने मजाले बसेका थिए ।

नदी किनारामा लहरै सुकुम्वासीका छाप्रा थिए । छाप्रापछि बाटो र बाटोसँगै अग्ला अग्ला घर । अग्ला घरका झ्याल सबैजसो बन्द देखिन्थे । ती झ्यालहरू फोहोरको कारणले हो वा नाङ्गाभुतुङ्गा सुकुम्बासीको नजर पर्छ भनेर हो प्रायः बन्द नै हुन्थे । ती बन्द घरमा मान्छे बस्छन् कि भुत बस्छन् भन्ने सङ्का गर्ने ठाउँ प्रसस्तै थियो । त्यो बाटो हिँड्नेहरू यस्तै सोच्थे ।

सुकुम्बासी बस्तीमा भने चहलपहल प्रसस्तै थियो । त्यस्तो जाडोमा पनि नानीहरू नाङ्गैभुतुङगै यताउता दौडदै थिए । कोही रुँदै त कोही हाँस्दै थिए । प्रायः प्रत्येक दिन यसरी नै हाँँसो र रोदन मिसिएर एउटा छुट्टै लयको निर्माण हुन्थ्यो । लय सङ्गीतमय हुँदै सारा बस्तीमा फैलिन्थ्यो । हुनेखानेहरू यो लयलाई मन पराउँदैनथे । उनीहरू यस्तो सङ्गीतलाई हेपेर माग्नेहरूको चर्तिकला भन्थे ।

प्रत्येकजसो छाप्राबाहिर आगो पुत्याउँदै थियोे । केटाकेटी र आइमाईहरू दिनभर दाउरा र कागजका टुक्रा खोजेर ल्याउँथे । बेलुका यसैलाई बालेर चिसो भगाउने निरर्थक प्रयास गर्थे । आज पनि यही उपक्रम गर्दै थिए उनीहरू । ‘विचरा कस्तो विजोक !’ उसले दिक्क मान्दै सोच्यो– ‘सहरको बीचमा पनि कस्तो गरिबी ?’
हुन पनि त्यहाँको अवस्था दर्दनाक थियो । त्यस्तो कठ्याङ्ग्रिदो चिसोमा पनि वृद्धवृद्धा र बच्चाहरू एकसरो कपडामा थिए । चिसो स्याँठ चलेको थियो । चिसोबाट बच्न आगोको ओरिपरि झुम्मिएका थिए । उसलाई यस्तो दुःखपूर्ण र भयावह अवस्था देख्दा खपिसक्नु भएन । उसले तुरुन्तै चालकलाई भन्यो– ‘गुरुजी गाडी रोक्नोस् त ।’ गाडी केही पर पुगेर रोकियोे । अपर्झट गाडी रोक्नु पर्नाको कारण नबुझेर चालकले प्रश्नसूचक दृष्टिले पछाडि हे¥यो ।

‘राम बहादुर गुरुङलाई भेटूँ कि भनेर ।’ जिएमले ढोका खोल्दै भन्यो– ‘उनको घर यहीँ होइन र ?’
सायद कुरो बुझेन गुरुले । ऊ अलमलियो ।

‘उही क्या सुकुम्बासी संगठनको नेता । अस्ति डेलिगेसन आएका थिए नि ।’ उसले विषयलाई अझ प्रस्ट्याउँदै भन्यो– ‘बस्तीमा निमोनियाबाट धेरै बच्चा बिरामी भएका छन् । हाम्रो अफिसबाट सुकुम्बासी बस्तीलाई सहयोग गर्नु थियो ।’

‘हुन त हो हजुर ! तर कार्यक्रममा पुग्न ढिला भैसकेको छ । फेरि आए नहोला ।’ चालकले नम्र स्वरमा भन्यो । साथै समय एक घन्टा घर्किसकेको पनि जनाउ दियो ।

‘हुन त हो,’ उसले अलिक गम खाँदै भन्यो– ‘जाउँ त उसो भए । बरू फर्किंदा सम्झाउनु होला । रकम मसँगै छ दिनुपर्छ ।’

‘कस्तो असल मान्छे ! सुकम्बासीलाई आफैँ रकम पु¥याउन चाहन्छ ।’ भर्खरै नियुक्त भएको आफ्नो जिएमप्रति अपार विश्वास जागृत भयो उसमा । उसले मनमनै सोच्यो –‘साँच्चै ! अब हामी गरिबका दिन पनि आएछन् क्यारे !’

उसले रिवन काटेर कार्यक्रमको उद्घाटन ग¥यो ।

हल तालीले गुञ्जायमान भयो । पाँचतारे होटलको भव्य हल सहरका एक से एक सुन्दरीले खचाखच भरिएको थियो । नाम चलेका लेखक, कलाकार र वुद्धिजीवीको उस्तै जमघट । यस्ता प्रबुद्ध व्यक्तिको अगाडि आफूलाई प्रमुख अतिथिको रूपमा पाउँदा अलिक असजिलो महसुस ग¥यो उसले । पुसको जाडोमा पनि उसको शरीरमा ताप उत्सर्जित भयो र हप्प भयो ।

हुन त उसले सहर पसेदेखि नै आफूलाई हिरो सम्झिन्थ्यो । यी सबै गुहुका किरा हुन् । के थाहा छ यिनलाई भनेझैँ गथ्र्यो । ऊ सकभर साना र स्तरहीन कार्यक्रममा जान्नथ्यो । फेरि प्रमुख अतिथिभन्दा तल त ऊ मरिगए हुन्नथ्यो । कथंकथाचित यस्तै भैहाल्यो भने पनि ऊ तुरुन्तै मेरो काम छ भन्दै लुसुक्क निस्कन्थ्यो र टाप ठोक्थ्यो । कसैले यस्तो प्रवृत्तिको प्रसङ्ग उठायो भने सिधासिधा भन्थ्यो– ‘आफूलाई मेन्टेन गर्नुपर्छ । हामी भनेका दस वर्ष युद्ध लडेर आएका हौँ । यी सहरमा बस्नेहरूलाई के थाहा युद्धको भावभूमि ?’

हुन त जान्नेसुन्नेहरू भन्थे ऊ युद्ध नै लडेको हैन । छाला बचाउन युद्धमा लागेको हो । तर पार्टीमा भने उसको रवाफ राम्रै थियो ।

कार्यक्रमको बिचमा उसलाई दोसल्ला ओढाएर सम्मान गरियो । प्रायः सबै वक्ताले उसको प्रशंसा गरे । कतिले अहिलेका महान् योद्धाको उपमा दिए । कतिले अहिलेका महान् कलाकार भने । कतिले यो दशककै अग्रणी कवि ! एक किसिमले उसलाई उडाए । उसले एकपटक हलमा सरर नजर दौडायो । ‘ओहो कति भव्य ! कति सभ्य ! यस्तो पो कार्यक्रम !’ ऊ रोमाञ्चित भयो । उसले यस कार्यक्रमलाई विगतमा दूरदराजमा हुने कार्यक्रमसँग दाँजेर हे¥यो । कति फरक ! हेर्दा हेर्दै हिन्दी र अङ्ग्रेजी नृत्य प्रस्तुत भयो । उसलाई अलि अप्ठेरो लाग्यो क्यारे । छेवैमा बसेको आयोजक संस्थाको अध्यक्षलाई हे¥यो । अध्यक्षले अरूले नसुन्नेगरी भन्यो– ‘क्यार्नु र हजुर ठाउँ अनुसार चल्नै प¥यो ।’
‘हो त नि है !’ उसले चित्त बुझायो ।

कार्यक्रमको अन्त्यमा उसको बोल्ने पालो आयो । भर्खरै युद्धबाट आएको युवा । उसमा बोल्ने कला भरपुर थियो । सांस्कृतिक क्षेत्रमा काम गर्ने मान्छे । उसलाई कला, साहित्य र संस्कृतिको ज्ञान राम्रो थियो । यस्तो महत्वपूर्ण उपस्थितिमा आफ्नो योग्यता र खुवी पदर्शन गर्न पाउनु भनेको मौका पनि हो । नभन्दै कला, साहित्य र संस्कृतिका बारेमा गहन मन्तव्य दियो उसले । अझ सांस्कृतिक रूपान्तरणका बारेमा बोल्दा त भर्खरै पार्टी प्रवेश गरेका अर्धनग्न यौवनाको अनुहार बिग्रिएर सानो भयो । उसले संस्कृतिका विविध पाटामाथि आफ्नो ओजपूर्ण भनाइ राख्दै भन्यो– ‘हामीले पुरातन र आयातीत संस्कृतिको पक्षपोषण गर्नु हुन्न ।’ उसको भनाइलाई गडगडाहट तालीद्वारा हलले समर्थन ग¥यो ।

कार्यक्रमको पहिलो चरण सकियो ।

ऊ मञ्चबाट झर्दै गर्दा किशोरीहरूको ठूलो हुलले उसको अटोग्राफ माग्न थाल्यो । धेरैजसो त ऊसँगै टाँसिदै भन्न थाले– ‘वाह ! तपाईंले त कमालै गर्नु भयो ।’ उसले जीवनमा पहिलो पल्ट यति नजिकबाट यति कामूक सुन्दरीलाई स्पर्श ग¥यो । र, जीवनमा पहिलो पल्ट आफ्नो अटोग्राफ दियो । यो चिसो ऋतुमा पनि उसको निधारमा चिटचिट पसिना आए । हुन त एसीको कारणले पनि यस्तो भएहोला । फेरि एसीभन्दा पनि बढी त अरु नै कारणले काम गरेको थियो सायद । पहिलो पल्ट भएर हो वा कागको बीचमा वकुल्ला देखिँए कि भन्ने लागेर हो, यहाँबाट कतिखेर भागूँ भागूँ लाग्योे । उसले घडी हेर्दै अध्यक्षलाई सोध्यो– ‘अब जाने हैन ?’ अध्यक्षले मुुस्कुराउँदै भन्यो– ‘भर्खर त कार्यक्रम सुरु भएको छ हजुर ।’

‘भर्खर कार्यक्रम सुरु भएको छ रे !’ उसले अचम्म मान्दै हे¥यो ।

‘हो त हजुर ! डिनर र गीतसङ्गीत त बाँकी नै छ ।’ अध्यक्ष अलि झुक्दै बाँकी कार्यक्रमको बारेमा जानकारी गरायो ।

‘ए हो ! ल ठिक छ । बरू जाँदा सुकुम्बासी बस्तीमा पस्नु छ । छिटो गर्नु है ।’ उसले सहमति जनाउँदै भन्यो ।
केही छिनमै ऊ षोडशी सुन्दरी र बुज्रुकहरूद्वारा घेरियो । वेटर ह्विस्की, वियर र वाइनले भरिएका किस्ती समाएर उसको अगाडि उभिए । सबैले रुचिअनुसारका प्याला उठाए । उसको सहयोगीले पनि उसलाई प्याला उठाउन आग्रह ग¥यो ।

‘हैन, यो लिने हो र !’ ऊ अनकनायो ।

हुन त सहरमा आएपछि लुकिछिपी खान थालेको थियो उसले । युद्धकालको त कुरै बेग्लै । युद्धकालमा रक्सी बनाउने र खाने दुबैलाई भाटे कारबाही हुन्थ्यो । कतिलाई भाटे मात्रै हैन आर्थिक कारबाही पनि हुन्थ्यो । ऊ लड्नभिड्न भन्दा पनि यस्ता कारबाही गर्न मन पराउने मान्छे । युद्धको बेला सबैभन्दा बढी भाटे कारबाही गर्नेमध्ये ऊ पनि पथ्र्यो । तर सानैदेखि लाएको बानी त्यति सजिलै कहाँ सुध्रिन्थ्यो र ! सहर आएपछि फेरि लिन थालेको थियो उसले ।

‘हजुर पनि ! पाँचतारे होटलमा नलिएर कहाँ लिने त !’ सहयोगीले कर ग¥यो । सहयोगी आयोजक संस्थाको अध्यक्ष पनि भएकोले उसलाई सल्लाह लिन सजिलो थियो । ऊ भर्खर प्रवेश गरेको कामरेड थियो । व्यवहारमा जस्तो भए पनि बोली मिजासमा अब्बल थियो ऊ । चाकडी चाप्लुसीमा पनि होनहार । सांस्कृतिक क्षेत्रमा जस्तो भए पनि आर्थिक क्षेत्रमा बलियो थियो । सहरमा उसलाई धेरैले चिन्थे । ऊ जहाँ पुग्थ्यो तर उसैले माथ्र्यो । यहाँ पनि उसको छिट्टै तरक्की हुनेवाला थियो । त्यसैले पनि उसले नयाँ नेतृत्वलाई खुसी पार्न यो कार्यक्रममा प्रमुख अतिथि बनाएको थियो ।

जिएम सा’ब अझै पनि अनकनाउँदै थियो । तर एकजना अर्धनग्न सुन्दरीले उसको हातमा ह्विस्कीको प्याला थमाईहाली । उसले पहिल्यैदेखि उसलाई पछ्याउँदै थिई । सबैले हर्षोल्लासपूर्वक चियर्स गरे ।
रात ढल्किँदै थियो । रातसँगै कामूक नृत्य र गीत–सङ्गीतको धुनमा सुन्दरीहरू पनि मस्किँदै थिए । उसलाई असैह्य हुन लाग्यो । एकातिर ह्विस्कीको रमरम अर्कोतिर सुन्दरीको कटाक्ष । ऊ विह्वल भयो ।

उसको अगाडि एकपछि अर्को गर्दै विगतका घटनाहरू नाच्न थाले । कसरी भोकभोकै बाँदरजस्तै कुँदेको थियो ऊ ? दुई कोस टाढा बन्दुक पट्किँदा पनि कसरी भागेको थियो ? भाग्दाभाग्दै कसरी सुरक्षाकर्मीको घेरामा परेको थियो ? कसरी उसको साथीले आपूm मरेरै भए पनि उसलाई बचाएको थियो ? दुश्मनसँगको झडपमा आफ्नै अगाडि सहयोद्धा ढल्दा कसरी रोष र घृणाले उद्वेलित भएको थियो ? जेलका चिसा छिडी र भूमिगत कालको सम्झनाले मात्र पनि उसको मुटु हल्लियो ।

सोच्दासोच्दै फेरि विगतको रङ्गीन दुनियाँमा पुग्यो । कसरी भर्खरकी किशोरीसँग प्रेमको प्रस्ताव राखेको थियो उसले ? प्रेम झाङ्गिन नपाउँदै कसरी एकपछि अर्को गर्दै सबै प्रेमिकाहरू मारिएका थिए ? प्रेमिकाहरू मारिने क्रम नरोकिएपछि ऊ आजित भएको थियो । त्यसपछि उसले गाउँकी अलि उमेर ढल्किएकी युवतीसँग माया गाँसेको थियो । यो बाध्यता थियो कि आवश्यकता । आज उक्त प्रसङ्ग सम्झिँदा पनि वडो उदेक लागेर आयो । कसरी लहसिए होला ऊ विना स्वादकी ग्रामिण युवतीको प्रेममा ? ऊ फेरि फर्किएर वर्तमानमा आयो । आज ऊ कुन दुनियाँमा छ भन्ने छुट्याउन सकेन उसले । कहाँ त्यो भोको र विदीर्ण छाप्रोको कथा । कहाँ यो पाँचतारे होटलको रङ्गीन लीला !

केही समयपछि उही सुन्दरी आएर उसलाई च्याप्प समाई । उसको स्पर्शले एकपल्ट उसको शरीर सर्वाङ्ग रोमाञ्चित भयो । ‘हजुर त कस्तो हेनसम ? मलाई त हजुरजस्तै हिरो मन पर्छ ।’ भएन फसाद ! हेर्दाहेर्दै ऊ त हिरोमा पो दरियो बाः । उसले एकपल्ट आँखा मिच्यो र टाउको हल्लायो ।

‘हैन म विपनामा त छु !’ उसले घोरिएर सोच्यो । जसरी सोचे पनि उसले आफूलाई विपनामै पायो । ‘अनि फेरि के भनेकी यो केटीले ?’ ऊ तिनछक परेर उसलाई एकनास हेरिरह्यो । लाटोले केरा हेरेजस्तै । हेर्दाहेर्दै आँखा चार भए । युवतीले लजाएको नखरा पार्दै नजर झुकाई ।

त्यसपछि त्यो नवयौवनाले उसलाई हातमा समाएर नाच्न आग्रह गरी । किंकर्तव्यविमूढ भयो ऊ । कहिल्यै ननाचेको मान्छे । कसरी नाच्ने होला आज ? सुन्दरीले छोडेकी हैन । उसका मुलायम करकमलको न्यानो स्पर्शले ऊ आजित भयो । कहिल्यै ननाचेकोले आपूm नाच्न नसक्ने कुरा व्यक्त ग¥यो उसले । तर त्यो सुन्दरी त ज्याद्रो पो निस्किई । ‘के भयो त पहिले ननाचेर ? आज नाचे भैहाल्यो नि ।’ सुन्दरीले कर गरी । उसले सुन्दरीको आग्रहलाई लत्याउन सकेन ।

राती अवेरसम्म पार्टीे चल्यो ।

उसले हुन्न हुन्न भन्दा भन्दै पनि निकै पियो । पियो भन्दा पनि पिलाइयो । सम्मानका लागि, इज्जतका लागि अथवा मायाले भरिएका नयनका लागि उसले पियो । पिउँदा पिउँदा बोली नै लरवरिएको थियो उसको । पार्टी सकियो । उसको सहयोगी, बाँकी भद्रजन र सुन्दरीहरूले उसलाई गाडीमा चढाए ।
अब ऊ सुनसान सडक हुँदै निवास फर्कंदै थियो । सबैतिर शून्यता व्याप्त थियो । फाट्टफुट्ट गाडीहरू हुर्रिएर भाग्दै थिए । बाटोमा उही सुकुम्बासी बस्ती देखियो । यतिखेर बस्ती पनि सुनसान र चकमन्न थियो । निस्पट्ट चिसो रात, सबैतिर सन्नाटा छाएको थियो । अब भने चिसो हावासँगै फाट्टफुट्ट पानीका थोपा पनि छिटाउन थलिसकेका थिए ।

चालकले गाडीको गति कम गरेर पछाडि हे¥यो । हुनत यो सुनसान रातमा सुकुम्बासी नेतालाई भेट्न सम्भव थिएन । तर पनि जिएमले फर्कंदा भेट्नुपर्छ भनेको थियो । चालकले उक्त विषयको जानकारी गराउन चाह्यो । तर समयले त फन्को मारिसकेको थियो । विचरा, चालकलाई के थाहा समय कुन रफ्तारमा अगाडि बढ्छ ? उसलाई त केवल गाडीको गति थाहा थियो । उसलाई लाग्दो हो समयको चक्र भनेको चौविस घन्टा हो । उसले घडी हे¥यो । आज पनि समय घुमिसकेको थियो । र, समयसँगै क्रान्तिकारी जिएम नसाले लठ्ठिएर पछिल्लो सिटमा पल्टिएको थियो ।

(नागरिक दैनिकः १५ असोज, २०७३)

Dr. Krishna Raj Adhikari – Shahar Ko Tyo Ghar

डा.कृष्णराज अधिकारी – शहरको त्यो घर

”घरको बारेमा के सोच्नुभयो त काकी ? छोरासँग सल्लाह भयो होला नि ?” बाटोपारिको चिया पसलनेर टुक्रुक्क बसेर टोलाइरहेकी सावित्रीलाई गाउँकै भतिजो पर्नेले सोध्यो । पहिलेदेखि त्यही कुराको चिन्ता र द्विविधाको पोखरीमा डुबिरहेकी सावित्रीलाई उसको सोधाइले उत्रनतिर होइन झनै डुबाउन खोज्यो । उनी एकछिनसम्म केही बोलिनन् । जवाफ फर्काउनै पर्ने भएपछि भनिन्—“छोराले अहिले नबेच्ने भनेको छ । ऊ आएपछि मात्रै …।” “इन्द्र कहिले आउने भनेको छ ?” जग्गा बेच्नसक्ने झिनो आशा देखेपछि उसले सोध्यो । “खै, वैशाख–जेठसम्म आउँछु भन्थ्यो, के गर्छ ।” छोरो आउने खवर सुनाउँदा पनि काकीको अनुहारमा कुनै उत्साह र चमक थिएन वरु झनै उदासी र वेचैनी देखिन्थ्यो । पुसको चिसोले कठ्याङ्ग्रिएकी उनी बाटोपारिको सानो चियापसलतिर न्यानो घाम देखिएपछि घाम ताप्न त्यता गएकी थिइन् ।

तीन वर्ष भयो उनलाई घर बेच्न भनेर धेरै थरिका मानिसले दबाब दिन थालेको । घर त के भन्नु र नाम मात्रैको थियो तर घर भएको जग्गा बाटोमा परेकाले त्यसको महत्व बढेको थियो । उनले बुझेकी थिइन्— आफूलाई घर बेच्न भन्न आउनेहरु प्रायः आफ्नो घरमा घामसम्म छिर्न नदिने गरी डेढ–दुई फिट जग्गा मिच्दै आडैमा छ तले विशाल घर ठड्याउने उही महेन्द्रले पठाएका मानिसहरु हुन् । आफैंले सात वर्षअघि बेचेको आठ आना जग्गामा ठडिएको त्यस घरले आज उनैलाई सर्पले डसेझैं डसिरहेको थियो । पहाड जत्रै देखिने दक्षिणपट्टिको उक्त घरले गर्दा उनको एकनाले घर मात्र होइन पछाडिपट्टि बाँकी रहेको दुई–तीन आना जग्गाले समेत घामको मुख देख्न पाउँदैनथ्यो । एक वर्षसम्म थलिएर मरेका उनका पति खडानन्दको उपचारमा र अलिकति छोरीको विवाहमा लागेको ऋण तिर्ने उपाय नभएपछि उक्त जग्गा बेच्नुपरेको थियो उनलाई । बी.ए. पढ्दै गरेको उनको एउटै छोरो पनि यहाँ कुनै भविष्य नदेखेपछि अरव छिरेको थियो दुई वर्षअघि । अरव गए लगत्तै बिरामी भएको ऊ पैसा कमाउनु त कता उल्टै ऋणमा डुबिरहेको थियो । पैसा कमाउन नसकेपनि अरव जाँदाको ऋणसम्म नतिरी कसरी फर्किने ? यसैले आमाले फर्कनलाई निकै आग्रह गरेपनि र काम गर्न निकै गाह्रो भइरहे पनि ऊ फर्किन सकिरहेको थिएन ।

शहरमा बसोबास भएपछि आडैमा अग्ला–अग्ला घर ठडिनु स्वाभाविकै भए पनि त्यो घरले भने उनलाई निकै डसिरहेको थियो । विधवा महिला र केटकेटी छोरोलाई हेपेर महेन्द्रले दुई आना जति जग्गा मिचेरै त्यो घर बनाएको थियो । दुई–दुई आना मिचिएपछि उनले आफूले चिनेको जिल्लाको चर्चित नेता दीपकरामसँग सल्लाह लिन पुगिन् । उनको कुराले दीपकराम निकै उत्साहित भयो र सावित्रीलाई मुद्दा हाल्ने सल्लाह दियो । दीपकराम गाउँका यस्तै यस्ता समस्या खोज्दै हिड्थ्यो र त्यसलाई सल्टाउन पार्टीको अस्त्र प्रयोग गर्दै राम्रै कमाइ पनि गथ्र्यो । उसकै सल्लाहमा सावित्रीले छिमेकी महेन्द्रमाथि जग्गा मिचेको मुद्दा दायर गरिन् । दीपकरामले यता सावित्रीलाई मुद्दा दिन लगायो भने उता महेन्द्रलाई भेटेर भन्यो—“कसले उचालिदिएर हो कुन्नि सावित्रीले तपाईँमाथि मुद्दा हालिसकिछन् । मैले त्यो थाहा पाएर लालपूर्जा, नक्सा सबै हेरेँ, उनको दुई आनाभन्दा बढी जग्गा मिचिएकै रहेछ । मुद्दा उनैले जित्ने कुरामा कुनै शङ्का रहेन । मुद्दा छिनिहाल्यो भने धेरै लफडा हुन्छ, उस्तै परे यत्रो घरै भत्काउनुपर्ने हुनसक्छ । त्यसैले बरु सावित्रीलाई म मनाउँछु, तपाईँले मिचिएको जग्गा वापतको पैसा क्षतिपूर्ति दिनुहोस् । तपाईँजस्तो प्रतिष्ठित मान्छेले यसरी छिमेकीसँग मुद्दा खेपेर बस्नु राम्रो पनि होइन । जसरी हुन्छ मिलापत्र गर्नुपर्छ ।” महेन्द्रलाई त ‘के खोज्छस् काना ? आँखो’ भनेझैं भयो । उसले सावित्रीलाई भनेर मेलमिलाप गरी मुद्दा फिर्ता लिन दीपकरामलाई अनुरोध गर्न थाल्यो र मुद्दा मिलाइदिए वापत रु एकलाख दिने वचन पनि दियो । मुद्दा चलेको चार महिनापछि दीपकरामले आएर सावित्रीलाई भन्यो —“हेर्नोस् भाउजू, तपाईँको जग्गा त मिचिएकै हो, तर के गर्ने उसले त्यत्रो घर ठड्याइसक्यो । घर नबनाउँदै भए एउटा कुरा हुन्थ्यो, अव त्यो घरै भत्काउने कुरो आउँदैन । ऊ पैसावाल छ, सके पैसा खुवाएर मुद्दा उसैले जित्ला नभए पनि मुद्दा चार–पाँच वर्षसम्म चल्यो भने हाम्रो धेरै खर्च हुन्छ । हामीले नै जित्यौं भनेपनि उसबाट जग्गा वापतको रकम नै पाउने हो । त्यतिखेरसम्म उसले दिने रकमभन्दा मुद्दाको खर्च धेरै भइसकेको हुन्छ । आखिर आफ्नै छिमेकी प¥यो, मुद्दा गरेपछि सधैंलाई नराम्रो पनि हुन्छ । बरु मेरो विचारमा उसँग जग्गाको मूल्य लिएर मिलापत्र गर्दा नै ठिक होला ।” सावित्रीलाई झनक्क रिस उठ्यो । उनले मनमनै सोचिन्— ‘उसैले उचालेर मुद्दा हाल्न लगायो, खर्च पनि गरायो । नत्र महेन्द्रले ‘अमिन बोलाउने, कति मिचिएको छ त्यसको पैसा दिने’ त भनेकै थियो । अहिले फेरी किन यस्तो कुरा गर्छ !’ जति नै रिस उठेपनि दीपकरामले भनेको कुरा ‘हुँदैन’ भन्ने आँट उनमा थिएन । ऊ शक्तिशाली राजनीतिक पार्टीको जिल्लास्तरको नेता थियो । जसको सल्लाहले मुद्दा हालेकी थिइन् उसैले त्यसो भनेपछि उनले अर्को उपाय देखिनन् र सहमति जनाइन् । दीपकरामले मुद्दा मिलाइदिए वापत आफूले एक पैसा पनि नलिने तर पार्टीका लागि भने केही सहयोग गर्नुपर्ने कुरा राख्यो । चार लाख जग्गाधनीलाई दिने र मिलाइदिए वापत पार्टीलाई एकलाख सहयोग गर्ने सर्तमा महेन्द्र र दीपकरामवीच मौखिक सहमती भयो । उसले त्यो सहमती सावित्रीलाई नभन्ने कबूल गरायो । सावित्रीले मुद्दा फिर्ता लिइन् ।

दीपकराम आएर सावित्रीलाई भन्यो —“हेर्नोस् भाउजू, त्यो महेन्द्र फटाहा रहेछ, पहिले चार लाख दिन्छु भनेकोमा पछि आएर तीन लाखभन्दा दिन्न भन्यो । तर त्यसै खान आँटेको थियो, यति भएपनि झारियो भनेर चित्त बुझाउनु प¥यो । पार्टीले दवाव नदिएको भए यति पनि दिँदैनथ्यो ।” उसले दुई लाख रुपैयाँ सावित्रीको हातमा राखिदिँदै भन्यो—“ल भाउजू, यो दुई लाख रुपैयाँ राख्नुहोस् ।” अनि अर्को हातमा एक लाखको बिटो लिएर भन्यो—“यो एक लाखचाहिँ पार्टीलाई सहयोग गर्नुपर्छ । पार्टीकै दवावमा परेर ऊ सहमतिमा आएको हो नत्र कहाँ मान्दथ्यो र ? जिल्लाले हराए पनि सर्वोच्चसम्म पुग्छु भनेको थियो । सर्वोच्चसम्म मुद्दा लड्ने हो भने तपाईँको यही बँचेको जग्गा पनि सकिने थियो ।” सावित्री अवाक् भइन् । यसरी पार्टीको नाउँमा जानाजान एकलाख खाएकोमा उनलाई नेता र पार्टीप्रति नै तीव्र घृणा र आक्रोश पैदा भयो— ‘ऋणमा डुबेर घरै बेचेर हिँड्नुपर्ने अवस्थाकी विधवा, गरिव र असहाय महिलालाई पार्टीले सहयोग गर्नुपर्नेमा उल्टै पार्टीलाई सहयोग रे ! यो अवस्थामा पनि यो हदसम्मको शोषण र अन्याय ! धिक्कार ! यो समाजलाई, यी पार्टी र नेता भनाउँदालाई !’— दीपकरामले दिएको पैसा हातमै लिइराखेकी उनी एकछिनसम्म पीडाग्रस्त हुँदै स्तब्ध बनिन् केही बोलिनन् । ‘ल, भाउजू, म जान्छु’ भन्दै दीपकराम हिँड्यो ।

दीपकरामले आफूमाथि गरेको अझै ठूलो बेइमानी, धोका र शोषण त सावित्रीले त्यतिबेला थाहा पाइन् जव महेन्द्रले मुद्दा फिर्ता लिए वापत उनलाई चार लाख र दीपकरामलाई एकलाख दिएको कुरा थाहा पाइन् । उनीभित्र तीव्र पीडा, घृणा र आक्रोश एकसाथ उम्लिएर आयो —एउटा प्रतिष्ठित व्यक्ति भनिनेले अर्काको जग्गा मिचेर घर बनाउँछ, अनि अर्को राजनीतिक पार्टीको नेता भनिनेले मिलापत्रका नाउँमा आफूले तीन लाख खाएर पीडितलाई दुई लाख मात्र दिन्छ । यो कस्तो समाज ! कस्तो राजनीति !

पोहोर मात्र उत्तरपट्टिको आडैको जग्गामा पनि पाँचतले घर ठडिएपछि त उनलाई निस्सासिएको अनुभूति हुन थालेको थियो । उता घर पछाडिको आफ्नो जग्गामा फोहोर फालिदिएर हैरान पारिरहेका थिए । यसरी दुईतिरका अग्ला घरहरुले उनको ढुङ्गा–माटाको सानो घर र जग्गालाई किच्ने, थिच्ने र मिच्ने गरिरहेका थिए । कहिल्यै घामको स्पर्श नपाउने त्यस घरका भित्ताहरु सधैंको सेपमा परी लेउ लागेका थिए । बाटोमा हिँड्नेहरु त्यो घर नजिक आएपछि त्यतातिर दृष्टि फ्याँक्दथे विभिन्न सोच बनाएर । केही समय यता सावित्रीलाई घरमा बस्दा पनि कता कता निस्सासिएको अनुभूति हुन थालेको थियो । दुईतिरका विशाल घरको चेपुवामा परेको त्यो घर कतिखेर भत्किने हो र त्यसमा पुरिएर मर्नुपर्ने हो भन्ने एक खालको त्रास उब्जिरहन्थ्यो । छिमेकका ती ठुला घरवालाहरुबाट उनले कहिल्यै सहयोग र मित्रताको बोली समेत सुन्न पाइनन् । डसेरै र अत्याएरै उक्त घर–जग्गा हडप्ने छिमेकको दाउ हुँदो हो सायद । उत्तरको सँधियाराले घर भाडामा दिएकाले अरु नै बस्थे र त्यति वास्ता पनि गर्दैनथे तर आफैंले बेचेको जग्गामा घर बनाएको दक्षिणको सँधियारा भने निकै हेपाहा र पेलाहा थियो । उसले कतिपय मान्छेलाई सावित्री समक्ष पठाउँथ्यो र उनको घरको उपहास गर्न लगाउँथ्यो । कुनै भन्थे —“यस्तो शहर–बजारको बाटोको घर यो हालतमा राखिराख्न सुहाएन है फुपू ! कि आडाका घर सरह नयाँ घर ठड्याउनु प¥यो कि त बेच्नुप¥यो । हामी बाहिरका मानिसलाई पनि राम्रो भएन ।” अनि कुनै आएर सहानुभूतिको अभिनय गर्दै भन्थे—“छोराले पैसा कमाएर यो सरहमा घर उभ्याउन सक्दैन, सधैंभरि यस्तो चिसो सेपमा ठुला घरले चेपिएर बस्नु पनि ठीक हुँदैन सावित्री ! बरु छोरालाई भनेर बेच्नतिर लाग, राम्रै मोल आउँछ । अन्त गएर अलि चाक्लो जग्गामा राम्रो घर बनाएर बस्ता जाती हुन्छ ।”

सावित्रीलाई पनि यसरी हेपिएर सेपमुनि बस्न त पटक्कै मन थिएन तर यही घरमा लोग्नेले आफूलाई भिœयाएको, यही घरमा छोराछोरीहरु जन्मे–हुर्केका र यहीँको परिवेश र वातावरणमा आफ्नो जीवन व्यतित भएकाले अव बुढेसकालमा नयाँ ठाउँमा गएर बस्न मनले मानिरहेको थिएन । फेरि लोग्ने खडानन्दले पनि ‘घर बाटोमा भएकाले स–सानो पसल गरेर पनि जीवन निर्वाह गर्न सकिन्छ, यहाँ बेचेर कतै नजानु’ भनेकाले पनि घरै बेचेर हिँड्दा लोग्नेको आत्मामा चोट पुग्ने ठान्दथिन् उनी । उमेरले छब्बीसको लागे पनि एकातिर घरको नाजुक अवस्था र अर्कातिर केही कमाउन भनी अरव पुग्दा विरामी भई ऋण लागेको अवस्थाले छोराको मनोबल उठ्न सकेको थिएन । आफू जन्मे–हुर्केको घर र आफ्नो नाभी गाडिएको जग्गा बेचेर त्यहाँबाट हिँड्नु उसका लागि पनि कम पीडादायी थिएन । तर नबेचौं भन्नलाई उसले अर्को भरपर्दो विकल्प पनि भेटाउन सकेको थिएन । यसैले भन्नलाई त आमाले झैं उसले पनि ‘बेच्ने होइन’ नै भन्थ्यो तर दुई ठुला पहाडको बीचमा च्यापिएर निस्सासिँदै बस्नु उसलाई पनि कम पीडादायी थिएन । आमाछोरा दुवैलाई घरको सेपलेभन्दा पनि छिमेकको व्यवहार र हेपाइले मर्माहत पारेको थियो । उनीहरुले बाहिर कहिल्यै कसैसँग जग्गा बेच्ने कुरै गरेका थिएनन् तर पनि किन बारम्बार महेन्द्रले जग्गा बेच्न भनिरहन्छ ? आर्थिक कमजोरी र सोझा आमाछोराको परिस्थितिमाथि किन ऊ बारम्बार खेलबाड गरिरहन्छ ?
आमाले बेच्ने सुरसार नगरेपछि एकपटक त महेन्द्रले सावित्रीकी छोरी उषालाई माइत आउँदा भेटेरै भनेको थियो—‘उतिखेर यो जग्गा पनि किन्न पाइन्छ भन्ने लागेर घर ठुलै बनाइयो, घर अनुसार पार्किङ, गार्डेन सबै चाहिने भएपछि अहिले साँघुरो–साँघुरो भइरहेछ । मलाईभन्दा पनि आमालाई झन् गाह्रो भएको छ । अव दुवैतिर अग्ला–अग्ला घर बनिदिए, त्यै अनुसारको घर बनाउन सके त ठिकै हुन्थ्यो, नत्र …बीचमा च्यापिएर बसेजस्तो हुन्छ । उता होटलवालाले घर पछिल्तिर फोहोर फालिदिन्छ भन्छन् । दुवैतिरकाले अलिकति उठाएर घर बनाएकोले आमाको घरमा बर्षामा पानी जम्छ, उता बाटोको भेल समेत पस्छ, निकास छैन । हुन त मलाई तपाईँहरु जस्तो पुरानो बासिन्दा बसिराखेकै राम्रो हुन्थ्यो, यस्तो बाटोको घर–जग्गा बेच्नुहुँदैन भनेर सम्झाउनुपर्ने पनि हो । तर के गर्ने नानी ! तपाईँले सबै देख्नु–बुझ्नु भएको छ । अव आमालाई भनेर कि अग्लो गरेर जग उठाई घर बनाउनु प¥यो, हैन सकिँदैन भने बेचेर अन्त अलि फराक ठाउँमा जाने हो भने यो बेचेको पैसाले जग्गा किनेर घर पनि बन्छ । आमालाई राम्ररी सम्झाउनु होला ।” उता सावित्रीका छोरी–ज्वाइँ भन्ने गर्थे—“त्यहाँ बस्न त कसै सकिँदैन । बरु बेच्नै परेपछि त्यही महेन्द्रेलाई नै किन दिने ? जसले बढी मोल दिन्छ त्यसैलाई दिने । हामीलाई अप्ठेरो पार्नेलाई किन सजिलो पारिदिने ? ज्वाइँको कुरा सावित्रीलाई पनि ठिकै लाग्यो र उनले ग्राहक खोज्न ज्वाइँलाई भनिन् । तर जग्गा हेर्न आउने सबैलाई उसले नानाभाँती कुरा गरेर भड्काइदिन्थ्यो । कहिले ‘मेरो जग्गा पुगेको छैन, त्यहाँ घुसेको छ’ भन्थ्यो भने कहिले ‘त्यो जग्गामा किचलो छ, मुद्दा परेको छ, किन्न हुँदैन’ भनिदिन्थ्यो ।

महेन्द्रले उता विदेशमा रहेको छोरालाई पनि फोन गरेर हैरान पाथ्र्यो । आफूले मात्र गरेर नभई अरुलाई पनि फोेन गर्न लगाउँथ्यो । साँघुरो जग्गामा विशाल घर बनाएकाले उसलाई साँधको त्यो जग्गा आवश्यक पनि थियो । सावित्रीको स्थिति बुझेको ऊ जसरी पनि त्यो जग्गा अँठ्याएरै छाड्ने दाउमा थियो यसैले अरु तीन तिर ढुङ्गाको पक्की पर्खाल लगाए पनि त्यतातिर भने ब्लकको अस्थायी पर्खाल लगाएको थियो ।

आज पनि सावित्री बाटो पारी गएर घाम ताप्दै घरी आफ्नो झुप्रो घर र घरी दायाँ वायाँ ठडिएका पहाडतुल्य विशाल घरहरुलाई हेरिरहेकी थिइन् । उनले छोराको बारेमा सोचिन्—‘अरव गएर उतै बिरामी परेको सोभित पैसा कमाउने स्थितिमा छैन र फर्केर आई अरु कुनै पौरख गरेर यही ठाउँमा पक्की घर बनाउला भन्ने पनि छैन । फेरि उसको बिहे पनि गर्नुछ । यस्तो घरमा कसरी बुहारी भिœयाउने ? आखिर यो घर ढिलो चाँडो भत्काउनै पर्छ र सानै भएपनि पक्की ढलान घर नबनाइ हुँदैन । अन्त बेच्ने जग्गा छैन, कमाउने आधार पनि छैन । बरु बाँझापाटनतिर गई अलि सस्तो जग्गा खोजेर बस्नुपर्ला । एक–दुई जना आफन्त पनि छन् । यहाँ बेचेको पैसाले एक टुक्रा जग्गामा चार कोठे घर बनाएर सोभितको बिहे गर्न पुगे हुन्थ्यो । सोभिते कति दुखिया र अभागी रहेछ ! त्यसलाई बाबुको थलोमा बस्न पनि लेखेको रहेनछ, अव ऊ आएपछि यही सल्लाह गर्नुपर्ला !’ निकै बेर टोलाएर सोचेपछि उनी लामो सास तान्दै उठिन् ।

सोभित कतारबाट आइपुग्यो । दुब्लाएर हाडछाला मात्र देखिन्थ्यो । बेलुका खाना खाएपछि आमाछोरा घर–व्यवहारका कुरा गर्न थाले— “बाबु, आएर राम्रो गरिस् । अव यहाँ बस्न नसकिने भयो । बरु कसरी हुन्छ यहाँको बेचेर बाँझाखेततिर गई त्यतै एउटा सानोसानो घर बनाएर बसौं । घर बनाएपछि तेरो बिहे पनि गर्नुपर्छ । जग्गा बेचेर घर नबनाई र बिहे नगरी अव कतै जाने सुर नगर ।” सोभितले पुलुक्क आमाको मुखमा हे¥यो । त्यहाँ अव्यक्त पीडा र व्यथा भरिएको थियो । एकछिनसम्म ऊ केही बोलेन । उसले पुराना दिनहरु संझ्यो—‘यो भनेको बाबु–बाजेको छाला हो । पुर्खाको छाला छोडेर कतै जानु हुँदैन बाबु ! त्यस्तो सोचिस् भने पनि पाप लाग्छ ।’ बाबु बितेको साल उनै आमाले त्यस्तो भनेकी थिइन् तर आज …? हुन त सोभितको भित्री सोचाइ पनि यहाँ बेचेर अन्त जाने नै थियो तर आफैंले त्यस्तो कुरा गर्नु पितृप्रतिको अनास्था र आफ्नो नालायकीपन देखिने डर थियो । त्यसैले आफ्नो पितृथलोप्रति आस्था देखाउँदै र आमाले भनेका पुराना कुराको संबोधन गर्दै उसले भन्यो—“के भन्नुभएको आमा ! जे भएपनि बाबु–बाजेको छाला हो, यस्तो शहरको घर–जग्गा बेचेर त्यति पर जाने ? अरु गाउँबाट शहर झर्छन्, हामीचाहिँ उल्टो बजार छोडेर गाउँतिर ?” उसले भन्न त भन्यो तर आमाको मन राखिदिनलाई मात्र ।

सावित्रीले गम्भीर भएर भनिन्—“बाबु, यी शहर–बजारहरु हाम्रा लागि होइनन् । हामी यहाँ अटाउँदैनौं । शहरले थोरै पैसामा हाम्रो पसिना किन्छ, रगत निचोर्छ, मानवता किच्छ र नैतिकता थिच्छ । पहिला त यो शहर जस्तो थिएन र तेरा बाबु–बाजे अटाएथे । अव त यो शहर भइसक्यो र अझ ठूलो शहर हुँदैछ । यहाँ त जालझेल र अनेक तिकडम जान्ने, फट्याइँ गर्ने अनि पैसाको लागि जे पनि गर्ने मानिस, नैतिकता हराएका व्यापारी, घुसखोर कर्मचारी र फटाहा नेताहरु अनि मानवता गुमाएका मानिसहरु बस्ने ठाउँ हो । यहाँ उनीहरुले हामीजस्तालाई डस्दै जान्छन्, हामीहरु हट्दै जाने हो । घर बेचेर हिँड्नुपर्ने स्थितिका हामी मात्रै होइनौं । कोही पहिल्यै हिँडिसके र बाँकी अरु पनि विस्तारै हिँड्ने छन् । तेरा छोरा–नातिहरु पनि तँ जस्तै सोझा र सज्जन भए भने, नैतिकता र मानवता यसरी नै शहर–बजारबाट निख्रँदै गयो भने अनि राज्य–व्यवस्था यस्तै रहिरह्यो भने तेरा छोरा–नातिहरुले त्यो बाँझाखेतबाट पनि फेरि अर्को बाँझाखेत खोज्दै हिँड्नुपर्नेछ ।”
दुवै आमाछोरा एकछिन चुप रहे । एकैछिनको सन्नाटापछि सोभितले भन्यो—“हुन्छ आमा, मेरो मनमा त पहिल्यै त्यस्तो विचार आएको थियो तर तपाईँले पहिले भनेको ‘बाबुको छाला बेचेर हिँडे पाप लाग्छ’ भन्ने कुरा मनमा गडेकाले नै केही भन्न नसकेको हुँ ।” यति भन्दै सोभित सुत्न भनी कोठातिर लाग्यो । ओछ्यानमा त पल्टियो तर निद लागेन । ‘यो शहर हामी जस्ताको लागि होइन बाबु’ आमाको यो भनाइ सूल बनेर रातभर डसिरह्यो ।