Dr. Krishna Raj Adhikari – Unmukti

डा.कृष्णराज अधिकारी – उन्मुक्ति

आज त्यस कार्यालयभित्र छुट्टै रौनक छाएको थियो । करिव दुई महिनादेखि निमित्त कार्यालय प्रमुख भएर काम गरिरहेका द्रोणराज निकै सक्रियता र सचेततापूर्वक कार्यालयका कर्मचारीलाई काममा दौडाइरहेका थिए । सेवाग्राहीलाई ‘हाकिम सा’प हुनुहुन्न, उहाँ आएपछि आउनु’ भन्दै फर्काइएको थियो । काम पन्छाउन खोज्ने सरकारी कर्मचारीको प्रवृत्ति बुझेका सेवाग्राहीहरु तिनका जवाफले दिक्क मान्दै फर्किरहेका थिए । एकजना कार्यालय सहयोगी र खरिदारलाई दुई–चार दिन अघिबाटै हाकिमको क्वाटर सरसफाइ गर्न र कतिपय नयाँ सामान खरिद गर्न अह्राइएको थियो भने अर्को सहयोगी र ना.सु.लाई कार्यालयको सरसफाइ र गमलामा नयाँ फूल सजाउन भनिएको थियो । नयाँ हाकिमको नेमप्लेट बनाएर ढोकामाथि राखिसकिएको थियो । कार्यालयको मूल ढोकाको दुवैतिर सिँगारिएका तामाका घडा राखेर त्यसका मुखमा राम्रा फूलका गुच्छाहरु राखिएको थियो । त्यहाँ उपस्थित ३०–३२ जना कर्मचारीहरुमध्ये अधिकांश कर्मचारीहरु अधीर भएर यताउता गरिरहेका देखिन्थे । निमित्त कार्यालय प्रमुख भएका उपसचिव द्रोणराज मोबाइलमा कुरा गर्दै घरिघरि घडी हेरिरहेका थिए । उनले मोबाइल बन्द गरेर अलि चर्को र उत्साहित स्वरमा नजिकैका शाखा अधिकृत राजेशतिर हेरेर भने—“डेढ बज्न लाग्यो । हाकिम सा’बको दुई बजेको फ्लाइट हो, दुई नबज्दै एयरपोर्ट पुग्नुपर्छ । ड्राइभर खै ? म हाकिमसा’बलाई लिन एयरपोर्ट जान्छु, तपाईंले सबै स्टाफहरुलाई भनेर हाकिमसा’बको स्वागत गर्न फूल लिएर लामबद्ध भई गेटमा बस्न भन्नुहोला ।”

द्रोणराजले अह्राएका बाहेक अरु दुई–चारजना कर्मचारीमा पनि उत्तिकै स्फूर्ति र उत्साह देखिन्थ्यो । कसैलाई नयाँ हाकिमको प्रिय बन्न सके घर–पायकको जागिर ढुक्कले घचेटिन्थ्यो भन्ने थियो भने कोही हाकिम रिझाएर पुरस्कार, ग्रेड थप र बढुवाको लागि असाधारण नंवर पाउने आशामा थिए । कार्यालयको स्टोर किपर सबैभन्दा बढी व्यग्र देखिन्थ्यो । ऊ पहिले–पहिले झैं हाकिमसँगको मिलेमतोमा कार्यालय–सामान खरिद गरी त्यसबाट राम्रो कमिसन आउने लोभले उत्साहित थियो । लेखापाल र इन्जिनियर पनि कम व्यग्र थिएनन् । हाकिमको स्वभाव जान्न बढी उत्सुक थिए उनीहरु । यसरी एकथरी कर्मचारीहरु नयाँ हाकिमबाट लिन सकिने फाइदा बारे अनुमान लगाउँदै थिए, अर्काथरी आफ्ना कमजोरी र कर्तुतको आत्म समीक्षा गर्दै थोरै डर पालेर बसिरकेका थिए भने अनि अझ अर्काथरीचाहिँ खासै चासो नभएझैं गरी स्वागत कार्यमा निष्क्रिय देखिन्थे । कार्यालयको प्रशासन फाँटका ना.सु. रेवतीचाहिँ नयाँ हाकिमको सरुवाको चिठी आएसँगै त्यसै त्यसै उदास र मलिन देखिन्थे । प्रशासन फाँटको कर्मचारी नयाँ हाकिम आउँदा जति उत्सुक र फूर्तिलो देखिनुपर्ने हो त्यस्तो नदेखेपछि द्रोणराजले उतिबेलै भनेका थिए—“नयाँ हाकिम आएपछि सरुवा हुन्छ भन्ने लागेर हो कि किन हो, आज सुब्बा सा’पको फेसै अर्कै देखिएको छ नि !” रेवतीले त्यति चासो नराखेझैं जवाफ दिएका थिए—“त्यस्तो केही हैन सर, आफूलाई त सरुवा भएनि नभएनि केही फरक पर्दैन । कत्रो नै सुविधा लिएर बसिएको छ र सुविधा खोखिएला भन्ने पीर !”

दुई बज्न लाग्दा सबै कर्मचारी कोठा बाहिर निस्की गेटदेखि कार्यालयको ढोकासम्म लामबद्ध भएर बसेका थिए । खरिदार पार्वतीले सबैलाई एक एक गुच्छा फूल दिएकी थिइन् हाकिमको स्वागतका लागि । रेवती अझै नओर्लेपछि उनी आफैं सुब्बाको कोठामा गइन् र केही हतारिएको जस्तो गरेर एकै स्वासमा भनिन्—“हाकिम सा’व आउने बेला भो, सबै सरहरु तल फूल लिएर बस्नुभएको छ, तपाईं मात्रै किन हो यहाँ एक्लै ?” पार्वतीको भनाइले उनी थोरै मुस्काएझैं गरे । तर त्यो मुस्कान भित्रैबाट आएको नभई कृत्रिम रुपमा निकालिएको थियो भन्ने उनले थाहा पाइनन् अनि तिनवटा फूल भएको सानो गुच्छा उनीतिर राख्दै भनिन्—“ल सर, यो लिएर गइहाल्नोस् ।” फूलको गुच्छा लिएर उनी पार्वतीको पछि पछि तल झरे अनि अरु कर्मचारीको पंक्तिमा मिसिँदै पछिल्लो पंक्तिमा उभिए । उनीभन्दा अघि बसेका आठ–दशजना कर्मचारीले उनलाई अघि जान आग्रह गर्दै बाटो छोडिदिए । उनी सबैभन्दा सिनिएर सुब्बा भएकाले अधिकृतको पंक्तिपछि उनलाई उभिन ठाउँ छोडियो । कर्मचारी जीवनमा एकदिन अघिपछिले मात्र होइन एकैदिनको नियुक्ति वा बढुवामा पनि क्रमाङ्कका आधारमा सिनियर र जुनियर मानिन्छ भने उनी त झण्डै १४ वर्ष भयो एउटै ना.सु. पदमा रहेको । योग्यता र कार्यक्षमता भएर पनि यति लामो समयसम्म एउटै पदमा बस्ने उनी अपवाद जस्तै थिए ।


नयाँ हाकिम सवार भएको कार्यालयको गाडी गेटबाट भित्र छि¥यो र अलिकति मोडिएर रोकियो । गाडीबाट पहिला निमित्त हाकिम भएर काम गर्दै आएका द्रोणराज झरेपछि नयाँ हाकिम उदय विस्तारै झरे । सबैभन्दा अघि उभिएका उपसचिव रामेश्वरले उनलाई जम्लाहात गर्दै माला लगाइदिए । द्रोणले लाइनमा उभिएका सबै कर्मचारीको क्रमशः परिचय गराउँदै गए । रामेश्वरपछि क्रमशः अरु कर्मचारीहरुले जम्लाहात गर्दै फूलको माला र गुच्छा दिन थाले । नयाँ हाकिममाथि दृष्टि पर्नासाथ रेवतीको मनमा भने आक्रोश र पीडाको कालो भूमरी मडारिन पुग्यो । उनलाई त्यो पंक्तिबाट हटौं हटौं लाग्यो तर नयाँ हाकिम स्वागत ग्रहण गर्दै उनकै नजिक आइपुगेकाले तुरुन्त केही सोच्न सकेनन् । हातमा लिएको फूलको गुच्छाले मुखमा हान्दै उसका कर्तुतहरु एकैचोटि ओकलिदिऊँकि जस्तो पनि लाग्यो तर केही सोच्न नपाउँदै हाकिम उनको अघि आइपुग्यो । “ए, तपाईँ पनि यहीँ हो ?” उसले कुटील मुस्कान निकाल्यो । रेवतीले दिनै नपाई आफैंले उनका हातको फूल समातेर लियो र प्रत्युत्तरको प्रतीक्षा नगरी पाइला अघि बढायो ।
स्वागतको कार्यक्रम सकिएपछि नयाँ हाकिमलाई कार्यालय प्रमुखको कोठातर्फ लगियो । कार्यालय प्रमुखको कोठाभन्दा अगाडि सानो मिटिङ हल थियो । “एकैछिन यहाँ बसौं कि ?” द्रोणराजले हाकिमको स्वीकृति मागे । हाकिमले ‘हुन्छ’ भनेपछि नयाँ हाकिमसहित सबै कर्मचारीहरु त्यही मिटिङ हलमा बस्न पुगे । द्रोणराजले सबैलाई सम्बोधन गर्दै नयाँ हाकिमको बखानमा थुप्रै शब्दहरु खर्च गरे । “… उहाँजस्तो कार्यालय प्रमुखलाई अभिभावकका रुपमा पाउनु हामी कर्मचारीहरुका लागि अहोभाग्य नै हो । …उहाँ जुनसुकै कार्यालय र विभागमा रहेपनि त्यहाँको प्रगति उच्च हुने गरेको मात्र होइन स्वच्छ निष्पक्ष हुने गरेको छ । …उहाँ काम ठग्ने र अल्छी कर्मचारीहरुलाई दण्ड र राम्रो काम गर्नेहरुलाई पुरस्कृत गर्न कन्जुस्याइँ गर्नुहुन्न । … उहाँको कार्यक्षमताको विभिन्न मन्त्रालय र विभागले उच्च प्रशंसा र मूल्याङ्कन गर्दै आएको छ । … उहाँले सिफारिस गरेका व्यक्तिले सजिलै सरुवा, बढुवा, तालिम र विदेश भ्रमणको अवसर पाउने गरेका छन् … उहाँ जस्तो योग्य, कुशल र मनकारी कार्यालय प्रमुख ‘न भूतो न भविष्यति’ भनेझैं न कहिल्यै अघि भेट्यौं न पछि नै भेट्ने छौं …।” निमित्त कार्यालय प्रमुख भई काम गर्दै आएका उपसचिव द्रोणराजले यसरी हाकिम–भक्तिका स्तुति गाइसकेपछि कर्मचारीलाई निर्देशन दिन नयाँ हाकिमलाई विनम्र अनुरोध गरे ।
एक गिलास चिसो पानी पिएपछि हाकिम उदयले कर्मचारीलाई निर्देशन दिए । उनको निर्देशनमा पनि आफू विशेष पहुँच र सामथ्र्य भएको, अन्य कार्यालयमा रहँदा धेरै कर्मचारीहरुलाई इच्छाएको ठाउँमा सरुवा र बढुवा गरिदिएको तर अटेर गर्ने, हाकिमको आज्ञा पालन नगर्ने कर्मचारीलाई भने उठ्नै नसक्ने गरी दण्डित गर्ने गरेको जस्ता आदेश पालन र हाकिम भक्तिका अर्ति पस्किएका थिए । उनले काममा अटेर गर्ने कर्मचारीलाई छुट नदिने भन्ने कुरा गर्दै गर्दा ना.सु. रेवतीको मुखतिर पुलुक्क हेर्न पुगे तर रेवती भने राउण्ड टेबलको आफ्नो कुर्सीलाई अलि पछि सारेर बसेकाले दायाँ बायाँका कर्मचारीबाट छेकिएका थिए । सबैको दृष्टि हाकिमतिरै भएकाले रेवतीको अनुहारमा देखिएको आक्रोश र घृणाको भाव त्यति मेसो पाएनन् । कार्यालय सहयोगी तिल बहादुरले सबैको अघिल्तिर चिया र विस्कुट राखिदियो । हाकिमका लागि छुट्टै कपमा चिनीरहित चिया र सुगर फ्री विस्कुट राखियो । चियाको सुर्कीसँगै अधिकृत तहका कर्मचारी र हाकिमका बीच केही अनौपचारिक कुरा भए । टाउको छेलिएर बसेका रेवती चिया सक्नासाथ उठेर गए भने तीन–चार जना बाहेक सबैजसो आ–आफ्ना कोठातिर लागे । चार–पाँच जना कर्मचारीका साथ हाकिम आफ्नो कार्यकक्षतिर लाग्यो जसमा निमित्त कार्यालय प्रमुख भई काम गरेका द्रोणराज, इन्जिनियर अष्टमान, एकाउन्टेन्ट दिलीप, शाखा अधिकृत सञ्जिव र स्टोरकिपर शम्भु थिए । उनीहरु बसेर कार्यालयका गतिविधि, पेन्डिङ्मा रहेका फाइलहरु अनि कार्यालयको बजेटका सम्बन्धमा छलफल गर्न लागे । त्यसै बेला आएका दुई–तीन जना सेवाग्राहीलाई ‘आज काम नहुने’ भन्दै फर्काइयो ।

कसैसँग केही नबोली आफ्नो कोठामा गएका रेवतीले हतपत कम्युटर खोले । काम परेर वा आवश्यकताले नभएर काममा व्यस्त देखाउन र अरु कर्मचारीहरु उनीसँग बोल्न नखोजून् वा उनको बिग्रिएको अनुहार हेरेर विभिन्न प्रश्न र जिज्ञासा नराखून् भनेरै आफू व्यस्त भएको देखाउन उनले कम्युटर खोलेका थिए । कम्युटर खोलेपनि उनको ध्यान त्यहाँ थिएन । भोलिदेखिको आफ्नो कार्यालय दैनिकी र त्यसको सहजता बारे नै उनी तनावयुक्त भइरहेका थिए । उनले जीवनमा आज सबैभन्दा धेरैपटक हातको घडी हेरे । मिटिङहलमा बस्दाको एक घण्टाको अवधिमै उनले तीन–तीन पटक घडी हेरिसकेका थिए । कम्ती अत्यास र छटपटी भएको थिएन उनलाई । अन्य अवस्था हुन्थ्यो भने उनी क्या.वि. वा बिरामी बिदा लिएर बसिदिन्थे । तर नयाँ हाकिम आउने दिन नआउनु भनेको हाकिमप्रति अनादर गरेको बुझिन्थ्यो । हुन त दश दिन अघि नै उदय विक्रम नामको हाकिम सरुवा भई आउँदैछन् भन्ने उनलाई थाहा नभएको होइन तर उदय नाम गरेको हाकिम त्यही होला र यति छिटै सह–सचिव बनिसकेको होला भन्ने विश्वास लागिहालेको थिएन । त्यही नामको अरु कोही होला भन्ने नै उनलाई लागेको थियो । नत्र उही उदय हो भन्ने थाहा भएको भए उनी दुई–तीन दिन अघिबाटै बिदामा बसिदिन्थे ।

आज पाँच बजाउन उनलाई कम्ती कष्टकर भएन । कार्यकक्षमा बसेको दुई घण्टाको बीचमा दुई–तीन पटक शौचालय गए, छ–सात पटक घडी हेरे । घडीको सुई पनि साह्रै ढिलो घुमेजस्तो लाग्यो । आफ्नै हाते घडीप्रति विश्वास नभएर दुई पटक त पल्लो कोठाको भित्ते घडी समेत हेर्न पुगे । बल्लतल्ल पाँच बज्यो । दुई–चार मिनेट ढिलो गरी हाजिर गर्न जाँदा हाकिम निस्केको बेला पर्न सक्ने र उसँग हुन सक्ने कुराकानीले अरु थप तनाव बढाउन सक्ने हुँदा अरु कर्मचारीको हुलमा निस्किएर पाँच बजेको हाजिर गर्न पुगे । हाजिर गरेर निस्कनु अघि हाकिमलाई नमस्कार गर्ने परिपाटी अनुसार सबै हात जोड्दै निस्कँदै गर्न थाले । तर उनी मिटिङ हलको हाजिर रजिस्टरमा हाजिर गरी हाकिमसँग देखै नपरी बाहिरिए र लामो सास फेर्दै सीधै डेरातिर हानिए ।

सधैंझैं कपडा फेरेर हातमुख धोएपछि एक गिलास चिसो पानी लिएर श्रीमती उनको अगाडि उभिइन् । छोरो बाहिरतिर खेल्न गएको थियो र छोरी अर्को कोठामा होमवर्क गर्दै थिई । उनले गिलासको पानी एकैपटकमा सनक्क पिएपछि रित्तो गिलास श्रीमतीलाई दिँदै अलि दबिएको स्वरमा भने—“फेरि त्यही डाँका उदय हाकिम भएर आएछ ।” थोरै आश्चर्य र धेरै आक्रोशले भरिएको स्वरमा उनले भनिन्—“ओ हो ! त्यो फटाहा फेरि हाकिम भएछ ! जेलमा सड्नुपर्ने मान्छे उल्टै बढुवा ! तपाईँलाई त्यतिसम्म गरेको हैन ! हैन, पुराना घटनाहरु सबैले बिर्सेछन् कि के हो ? कस्तो लाज सरम पचाएको मान्छे, त्यस्ता त्यस्ता केस भएर बल्ल– बल्ल उम्काइएको मान्छे कसरी फेरि यहीँ आउन सकेको हँ ?” भ्रष्टाचारमा मात्र होइन यौनको मामलामा पनि ऊ त्यत्तिकै पतित थियो । जग्गा दर्ताको मुद्दामा सफाइ पाएको केही महिनापछि उसमाथि अर्को केस परेको थियो । भर्खर नियुक्ति भएर आएकी खरिदार रमाको डेरामा गएर एक रात बलात्कारको प्रयास गरेको थियो र त्यो केस पनि त्यसै थामथुम भएको थियो । तर अफिस भित्रै बस्ने कार्यालय सहयोगीकी श्रीमतीलाई बारम्बार गर्ने बलात्कारको घटनाले भने उसको ठूलै बदनाम भएको थियो । कार्यालय सहयोगीलाई विभिन्न बहानामा काजमा बाहिर पठाई उसकी नवविवाहिता पत्नीलाई बलात्कार गर्ने गरेको घटना स्वयं उसको लोग्नेले देखेपछि छरप्रस्ट भएको थियो । जिल्लाको हाकिम भएको र सि.डि.ओ., एस.एस.पि. लगायतका सबैसँग राम्रो सम्बन्ध भएको उसले कसो कसो गरी त्यसलाई पनि मिलाएर बाहिर सरुवा भएको थियो ।
एकैछिनको सन्नाटापछि उनले भनिन्—“अव के गर्ने ? कसरी काम गर्ने त्यस्तासित ! आऽऽ बरु छाड्दिनोस् जागिर–सागिर । बीस वर्ष भइसक्यो, पेन्सन भइहाल्छ । बरु यसो केही सानोतिनो दोकान गरेर बसौंला ।” श्रीमतीको भनाइले उनलाई अलिकति सान्त्वना र राहत मिलेजस्तो लाग्यो । जागिर छोड्न हुन्न, जे–जसरी पनि पैसा कमाउनुपर्छ, अरु महिलाको अगाडि आफू गहना र कपडाले सजिएर हिँड्नुपर्छ भन्ने कतिपयका श्रीमतीभन्दा भिन्न स्वभावकी पत्नी पाएकोमा उनलाई सन्तोष लाग्यो । उनी केही नबोली खाटमा पल्टिए । लोग्नेको आडमा थचक्क बस्दै उनले भनिन्—“त्यही डाँका आउने हो भन्ने भए त पहिल्यै सरुवा माग्न हुन्थ्यो, बरु टाढै भएपनि केही थिएन । अलि नजिक भनेर ढुक्कले बस्दा अव खानु कि छोड्नु जस्तो भएन !” रेवती उठेर भित्ताको आड लागेर बसे । श्रीमती खाजा बनाउन भान्छातिर पसिन् । उनले छ–सात वर्ष अघिको त्यही घटना झल्झली सम्झिन पुगे —
उनी त्यसबेला मालपोत कार्यालयमा थिए । निकै सरल र इमानदार कर्मचारी रेवती कार्यालयमा ना.सु. तहको भए पनि अनुभवी र इमान्दारीका कारण सबैले सम्मान गर्ने गर्थे । कार्यालयको काममा कुनै गाँठो प¥यो भने फुकाउने उपाय उनैले दिन्थे । यसैले सिनियर अफिसरहरुले पनि अप्ठेरो परेमा उनीसँग सल्लाह लिने गर्थे । तर उदय हाकिम भएर आएपछि भने सल्लाहभन्दा निर्देशनै बढी आउने गथ्र्यो । नियम र कार्यविधिका दृष्टिले समेत नमिल्ने कामहरुमा जव उनले प्रश्न उठाउँथे तव हाकिम बनेर आएको उदय रेवतीलाई बाधक देख्दथ्यो । एकपटक भवन निर्माणको ठेक्का दिने सन्दर्भमा सबैभन्दा कममा बोल–कबोल गर्नेलाई नदिई सबैभन्दा धेरै कबोल गर्नेलाई दिन खोज्दा उनले थाहा पाएर विरोध गरेका थिए । त्यहींबाटै उसले रेवतीलाई आफ्नो कामको बाधक र हाकिम विरोधी देख्न थालेको थियो । उसले रेवतीलाई रजिष्ट्रेसन फाँटबाट हटाएर प्रशासन फाँटमा सारिदिएको थियो । अलग फाँट भएकाले उनी जग्गा दर्तादेखि रजिष्ट्रेसन पास सम्मका कार्यालयका गतिविधिसँग वेखवर जस्तै थिए ।

यस्तैमा एकदिन उदयले रेवतीलाई आफ्नो कार्यकक्षमा बोलायो । यसरी प्रायः नबोलाउने हाकिमले बोलाएपछि उनी झटपट हाकिमको कोठामा पुगे । साढे चार बजिसकेकाले सेवाग्राहीको चहलपहल थिएन । रेवतीलाई हाकिमले निकै आत्मीयता देखाएझैं सोफामा बस्न भन्यो । त्यहाँ एकजना निकै रवाफिलो देखिने व्यक्ति बसिरहेको थियो । कताकति देखेको भए पनि उनले त्यसलाई राम्ररी चिनेका थिएनन् । उसले थोरै मुस्काएर रेवतीलाई नमस्कार ग¥यो । हाकिमले कुरा सुरु ग¥यो—“सुब्बासा’व तपाईँले उहाँलाई चिन्नुभएको छ ?” रेवतीले नचिनेको कुरा गरेपछि चिनाइदिँदै भन्यो—“उहाँ नै हो रोमबहादुर भन्ने । धेरै भयो उहाँले जग्गा दर्ताको लागि निवेदन दिएको । सबै कागजात पु¥याउनुभएको छ । अस्ति भर्खरै भीमप्रसादजी फिल्डमै गएर आई प्रतिवेदन बुझाइसक्नुभएको छ । उहाँको घर आडैको जग्गा हो, आवश्यक परे तपाईँ पनि जाँदा हुन्छ । ३५ दिने सूचना जारी भइसकेको छ । त्यो जग्गाको कसैले दावी विरोध गरेको पनि छैन । तपाईं कानुनको जानकार र अनुभवी पनि हुनुहुन्छ । उहाँ धेरैपटक धाइसक्नु भयो । यसरी धेरै झुलाउनु पनि भएन । हामीले नियम अनुसारै गर्ने हो । यसैले आउने शुक्रबार कार्यालय–समयपछि बैठक राखेर निर्णय गर्नु प¥यो । मैले अरु सबैलाई भनेको छु । तपाईँले यो फाइल सरसर्ती हेर्नुहोस् । यसको टिप्पणी तपाईले लेख्नुपर्छ । टिप्पणीमा अधिकृतले सही गर्ने हो, तपाईँले सही गर्नुपर्दैन । त्यसमा सही गर्ने अरु पनि हुन्छन् । सदर गर्ने पनि मैले हो । तपाईंले त्यस्तो केही सोच्नै पर्दैन ।”

रेवती झस्किए— अरु कर्मचारी र अधिकृत हुँदाहुँदै किन मैलाई टिप्पणी उठाउन भन्दैछ ! अनि अर्को कोणबाट सोच्न पुगे— ‘प्रशासनको पुरानो कर्मचारी भएकाले भने होलान् । सधैं नकारात्मक सोच्न पनि भएन ।’ उनले हाकिमलाई भने—“मैले सही नगर्ने भएपनि प्रक्रिया र कागजात त हेर्नुपर्छ, त्यसै कसरी टिप्पणी उठाउने र हाकिमसा’प ? राम्ररी फाइल हेर्छु अनि ।” रेवती एकछिन त्यहीँ बसेर सरसर्ती फाइल हेरे । एउटा कागज नपुगेको कुरा भनेपछि रोमबहादुरले भोलिपल्ट त्यो कागज ल्याउने कुरा ग¥यो । रेवतीलाई लाग्यो– ‘सिफारिस र सदर अर्कैले गर्ने भएपछि टिप्पणी लेखिदिँदा के नै फरक पर्ला र ? फेरि सहायक तहको कर्मचारी, हाकिमले नै भनिहालेपछि हुँदैन र गर्दिन पनि कसरी भन्ने ! घर–पायक नभए पनि घर नजिकको जिल्लामा बसिएको छ, भर्खर नयाँ स्कुलमा केटाकेटी भर्ना गरिएको छ, हाकिमसँग निहँु खोज्न पनि भएन । जागिर खाएपछि हाकिमले भनेको नमान्नु पनि कसरी ?’ उनले फाइल हेरेको बहाना गर्दै धेरै कुरा सोच्न पुगे र आखिर टिप्पणी लेखिदिने निर्णयमा पुगे ।

शुक्रबार कार्यालय समयपछि जग्गा दर्ताको वैठक बस्यो । रेवतीले टिप्पणी तयार गरे । तर टिप्पणीमा सही गर्ने अधिकृत आज आएका थिएनन् । ‘उनी किन आएनन् ? कतै अप्ठेरोमा परिन्छ भनेर त होइन ?’ उनको मन चसक्क भयो । अरु सबै उपस्थित थिए । सिफारिस गर्ने अधिकृत नआएपछि हाकिमले उनलाई फोन गरे तर उनले ‘आमा बिरामी भएर अस्पतालमा छु, आउन नसक्ने भएँ’ भन्दै जवाफ दिए । उनको स्थिति जानकारी गराउँदै हाकिमले रेवतीलाई नै टिप्पणीमा सही गर्न भने तर उनी मानेनन् । “सुब्बासा’प, कामै रोक्न भएन नि । उहाँ नभएपछि तपाईंले नै हो टिप्पणीमा सही गर्ने । अरु सबै छौं, एकजना अधिकृत नभएर केही हुँदैन । अर्को सिनियर अधिकृत हुँदै हुनुहुन्छ, नापीको हाकिमसा’प पनि हुनुहुन्छ । सबै प्रक्रिया पुगेको छ, सिफारिस छँदै छ, सदर गर्ने म छु, तपाईँले अप्ठेरो मान्नु पर्दैन ।” हाकिमले भनेपछि अरु सबैले उनका कुरामा सही थापे । उनलाई पनि प्रक्रिया पु¥याएर नियम अनुसारै गरेको जस्तो लाग्यो । फेरि अफिसको काम, हाकिमले अनुरोध गरेपछि पन्छिन पनि मिलेन । उनले मन नलागी–नलागी टिप्पणी उठाउनेमा सही गरिदिए । काम सकिँदा साँझ पर्न लागेको थियो । एकाउन्टेन्टले एउटा भर्पाइमा सबैलाई सही गराएर एक–एकवटा खाम दियो । बैठक सकिएपछि यसरी नै नियमानुसार बैठकभत्ता बाँडिने हुनाले रेवतीले भित्रको रकम पनि नहेरी खाम खल्तीमा राखे । निस्कन लाग्दा बल्ल खल्तीको खाम खोलेर हेरे । त्यहाँ अस्वाभाविक रकम थियो । बैठक भत्तामाथि हजारका दशवटा नोट थपिएको थियो । उनले आश्चर्य मानेर पछि आउँदै गरेको उकाउन्टेन्टलाई सोधे– “हैन, के को पैसा दिनुभयो यत्रो ?” उसले नरम भएर भन्यो—“रोम बहादुर दाइले ‘दुःख दिएँ, खाजासम्म पनि खुवाउन पाइन’ भनेर खाजा खान दिनु भएको पैसालाई भत्तामा थपेर दिएको हो । तपाईंलाई मात्र होइन सबैलाई त्यस्तै हो ।” रेवती रिसले भाउन्निए । उनले भत्ता बाहेकको सबै पैसा निकालेर एकाउन्टेन्टलाई दिँदै भने—“तपाईंलाई थाहा छैन, म यस्तो पैसा कहिल्यै लिन्न भन्ने ? खुरुक्क फिर्ता गरिदिनोस् उसको पैसा ! अफिसको काम गर्दा किन उसले खाजा खुवाउने ?” उनको मनमा चिसो पस्यो—कतै गलत काम त गर्न लगाएनन् भन्ने । तर त्यसमा हाकिम र अधिकृत लगायत नापीका हाकिमको समेत सहभागिता भएको र कार्यालयको काम भित्रै पर्ने भएकाले त्यति ठूलै आशङ्काचाहिँ गरेनन् । खाखिर पैसा त जग्गा खरिद गर्ने सामान्य व्यक्तिले पनि राजश्व घटाइदिए वापत लेखनदास मार्फत् दिने परिपाटी नै थियो । उनले यस्तै सोचे । भोलिपल्ट चिल्लो रातो गाडी लिएर उही रोम बहादुर आइपुग्यो र सीधै हाकिमको कोठमा पस्यो । रेवतीले उक्त फाइल फेरि दोहो¥याएर हेरे । एउटा कागज किर्ते बनाए जस्तो लाग्यो । त्यही कागज हिजो सरसर्ती हेर्दा त्यस्तो केही सोचेनन् तर आज त्यही कागजमाथि आशङ्का उब्जिरहेछ । टिप्पणीमा आफूले सही गर्नु पर्दैन भन्ने मनस्थितिले गर्दा उनले फाइललाई त्यति गम्भीर रुपले अध्ययन गरेनन् तर वाध्यताले सही गर्नुपरेको र खाजा खाने नाउँमा त्यत्रो रकम दिएको देख्दा उनको मनमा चिसो पस्यो । तर सही भइसकेर काम अघि बढिसकेको स्थितिमा पुनरावलोकनको कुनै अर्थ थिएन ।

करिव तीन महिनापछि उनका नाउँमा एउटा चिठी आयो । चिठीको खाम हेर्नासाथ उनी भीरबाट खसेझैं भए । उनको अनुहार सोहोरियो र क्रमशः कालो हुँदै गयो । चिठी खोलेर हेरे । त्यही रोम बहादुरको जग्गा दर्ता सम्बन्धी उजुरी परेको रहेछ । पत्रमा १५ दिनभित्र स्पस्टीकरण पेश गर्न भनिएको थियो । चिठी रेवतीसहित निर्णयमा संलग्न सबैका नाउँमा आएको थियो । उनी त्यो चिठी लिएर सरासर हाकिम समक्ष पुगे । “सरले नै कर गरेर मैले टिप्पणी उठाएको हुँ । आज्ञापालन गर्दा यस्तो चिठी आयो । अव के गर्नुपर्ने हो, कस्तो जवाफ दिनुपर्ने हो सरले नै भन्नुपर्छ ।” हाकिमले सामान्य रुपमा लिँदै भन्यो—“चिठी तपाईंलाई मात्र होइन, सबैलाई आएको छ । टेन्सन लिनु पर्दैन । अख्तियारले बुझ्न खोजेको मात्र हो । भोलि सबैले सल्लाह गरेर चिठी लेखौंला ।” सबैलाई चिठी आएकोले हाकिमले नै त्यसको सामना गर्छ भन्ने उनलाई लाग्यो । छुट्टा छुट्टै जवाफ लेख्नुभन्दा सबैले एउटै व्यहोराको लेख्नु नै उपयुक्त हुने ठाने उनले । तर भोलिपल्टचाहिँ सबैले आ–आफ्नै किसिमले लेख्ने कुरा आयो । जवाफ पठाएको तीन महिनापछि फेरि चिठी आयो । रेवती र अर्को अधिकृतलाई तीन महिनाका लागि निलम्वन गरियो भने अरुलाईचाहिँ चिठी नै आएन । हाकिमको अख्तियारसम्मै पहुँच रहेछ । रेवती अत्तालिए । एउटा निर्दोष कर्मचारीलाई फँसाइएको भन्दै उनले अख्तियारमा निवेदन पनि हाले । कानुनी उपचार खोजे तर केही लागेन । छ महिनापछि उनको निलम्बन फुकुवा त भयो तर सचेत गराइएको पत्रसहित चार ग्रेड घटुवा गरियो । अनि विभागको अर्को चिठीबाट उनलाई दुर्गम स्थानमा सरुवा गरियो । निलम्बनमा परेको अधिकृतलाई भने सफाइ दिइयो । उनले पछि थाहा पाए– त्यो सार्वजनिक जग्गा रहेछ र त्यस जग्गादर्ता प्रकरणमा लाखौं रुपैयाको चलखेल भएको रहेछ, जसमा हाकिमले निकै मोटो रकम भेटाएको रहेछ ।


कार्यालय प्रमुखको निर्देशन पालन गर्ने एउटा निर्दोष सहायक स्तरको कर्मचारी दोषी ठहरिनु तर आदेश दिने र सदर गर्ने मुख्य व्यक्ति निर्दोष ठहर हुनुबाट रेवतीको मनस्थिति नराम्ररी खल्बलिन पुगेको थियो । नेपालको कर्मचारीतन्त्रको यो दूषित अवस्था बुझेर उनले त्यतिखेरै जागिरबाट राजिनामा दिन खोजेका थिए तर त्यसो गर्दा आफ्नै कमजोरी देखिने भएकाले छोड्न सकेका थिएनन् । चार वर्ष दुर्गममा र दुई वर्ष द्वन्द्वग्रस्त तराईको जिल्लामा वसेर पोहोर मात्र यहाँ सरुवा भएका उनको अनुहार सधैं उदासी र गम्भीर देखिन्थ्यो । अहिले अकस्मात उही भ्रष्ट र पतीत व्यक्ति सह–सचिवमा बढुवा भई आफ्नै हाकिम हुन आउँदा रेवतीको मनस्थितिमा पहिरो गएझैं भएको थियो । अव उनका अघि दुई विकल्प मात्र थिए— भोलिबाटै लागू हुने गरी राजिनामा दिने वा आफ्नो इमान, स्वाभिमान र विवेकलाई बन्धक राख्दै हिले पोखरीमा आहाल बस्ने ।

रेवती आज रातभर सुत्न सकेनन् । एकैछिन झकाउँदा उनले एउटा अनौठो सपना देखे— आफू एउटा आकर्षक र सफा देखिने पोखरीमा नुहाउन पसेको, पोखरीको भित्र विभिन्न खाले सर्प, भ्याकुता र किराहरु रहेका, आफू सर्पको डसाइबाट भाग्न खोजेको तर पोखरीको डिल अग्लो भएकाले उक्लिन नसकेको, सर्पले फणा उठाउँदै टोक्न तम्सिएको अनि निकै प्रयासपछि बल्लतल्ल त्यहाँबाट उम्किएको ! उनी पोखरीबाट बाहिर निस्कनासाथ ब्युँझिए । ब्युँझिएपछि पनि उनको मुटुको धड्कन बढिरहेको थियो । बिहानको चार बजेको थियो । उठेर बत्ती बाले र आडैको टेबलमा राखिएको जग उठाएर घट्घटी पानी पिए । बत्तीको उज्यालोले श्रीमती ब्यूँझन लागिन् । रेवतीले उज्यालो छेकिने गरी पछ्यौराले मुख छोपिदिएपछि उनी कोल्टे फर्केर सुतिन् । हिजो श्रीमतीले भनेको ‘सानो तिनो पसल गरेर बसौंला’ लाई सम्झे । उठेर फुलिस्केप कागज र कलम लिए । निकै गह्रुङ्गो मनका साथ कागजमा केही कोरे, पुछारमा सही गरे र खामभित्र राखी गमले बन्द गरे । खामको बाहिर केही लेखी त्यसलाई डायरीभित्र राखे अनि एकचोटि लामो सास फेरे । शरीर निकै हलुृका—चङ्गाझैं भएको महसूस गरे । बाथरुम गएर निस्कँदा श्रीमती उठिसकेकी थिइन् । श्रीमान्को अनुहार उज्यालो जस्तो लाग्यो तर पनि केही बोलिनन् । उनी प्रातः भ्रमणमा निस्के । आज बाटोमा निकै भुलेछन् । घर फर्किंदा नौ बजिसकेको थियो । खाना खाने सुरसारै नगरेको देखेर श्रीमतीले भनिन्—“हैन, ढिलो भएन अफिस जान ?” उनले डायरीभित्रको खाम झिकेर देखाई हाँस्दै भने—“यी ! जागिरलाई यहाँभित्र बन्द गरिदिएँ, अबदेखि जान्न !”

पोखरा ।

Dr. Krishna Raj Adhikari – Shahar Ko Tyo Ghar

डा.कृष्णराज अधिकारी – शहरको त्यो घर

”घरको बारेमा के सोच्नुभयो त काकी ? छोरासँग सल्लाह भयो होला नि ?” बाटोपारिको चिया पसलनेर टुक्रुक्क बसेर टोलाइरहेकी सावित्रीलाई गाउँकै भतिजो पर्नेले सोध्यो । पहिलेदेखि त्यही कुराको चिन्ता र द्विविधाको पोखरीमा डुबिरहेकी सावित्रीलाई उसको सोधाइले उत्रनतिर होइन झनै डुबाउन खोज्यो । उनी एकछिनसम्म केही बोलिनन् । जवाफ फर्काउनै पर्ने भएपछि भनिन्—“छोराले अहिले नबेच्ने भनेको छ । ऊ आएपछि मात्रै …।” “इन्द्र कहिले आउने भनेको छ ?” जग्गा बेच्नसक्ने झिनो आशा देखेपछि उसले सोध्यो । “खै, वैशाख–जेठसम्म आउँछु भन्थ्यो, के गर्छ ।” छोरो आउने खवर सुनाउँदा पनि काकीको अनुहारमा कुनै उत्साह र चमक थिएन वरु झनै उदासी र वेचैनी देखिन्थ्यो । पुसको चिसोले कठ्याङ्ग्रिएकी उनी बाटोपारिको सानो चियापसलतिर न्यानो घाम देखिएपछि घाम ताप्न त्यता गएकी थिइन् ।

तीन वर्ष भयो उनलाई घर बेच्न भनेर धेरै थरिका मानिसले दबाब दिन थालेको । घर त के भन्नु र नाम मात्रैको थियो तर घर भएको जग्गा बाटोमा परेकाले त्यसको महत्व बढेको थियो । उनले बुझेकी थिइन्— आफूलाई घर बेच्न भन्न आउनेहरु प्रायः आफ्नो घरमा घामसम्म छिर्न नदिने गरी डेढ–दुई फिट जग्गा मिच्दै आडैमा छ तले विशाल घर ठड्याउने उही महेन्द्रले पठाएका मानिसहरु हुन् । आफैंले सात वर्षअघि बेचेको आठ आना जग्गामा ठडिएको त्यस घरले आज उनैलाई सर्पले डसेझैं डसिरहेको थियो । पहाड जत्रै देखिने दक्षिणपट्टिको उक्त घरले गर्दा उनको एकनाले घर मात्र होइन पछाडिपट्टि बाँकी रहेको दुई–तीन आना जग्गाले समेत घामको मुख देख्न पाउँदैनथ्यो । एक वर्षसम्म थलिएर मरेका उनका पति खडानन्दको उपचारमा र अलिकति छोरीको विवाहमा लागेको ऋण तिर्ने उपाय नभएपछि उक्त जग्गा बेच्नुपरेको थियो उनलाई । बी.ए. पढ्दै गरेको उनको एउटै छोरो पनि यहाँ कुनै भविष्य नदेखेपछि अरव छिरेको थियो दुई वर्षअघि । अरव गए लगत्तै बिरामी भएको ऊ पैसा कमाउनु त कता उल्टै ऋणमा डुबिरहेको थियो । पैसा कमाउन नसकेपनि अरव जाँदाको ऋणसम्म नतिरी कसरी फर्किने ? यसैले आमाले फर्कनलाई निकै आग्रह गरेपनि र काम गर्न निकै गाह्रो भइरहे पनि ऊ फर्किन सकिरहेको थिएन ।

शहरमा बसोबास भएपछि आडैमा अग्ला–अग्ला घर ठडिनु स्वाभाविकै भए पनि त्यो घरले भने उनलाई निकै डसिरहेको थियो । विधवा महिला र केटकेटी छोरोलाई हेपेर महेन्द्रले दुई आना जति जग्गा मिचेरै त्यो घर बनाएको थियो । दुई–दुई आना मिचिएपछि उनले आफूले चिनेको जिल्लाको चर्चित नेता दीपकरामसँग सल्लाह लिन पुगिन् । उनको कुराले दीपकराम निकै उत्साहित भयो र सावित्रीलाई मुद्दा हाल्ने सल्लाह दियो । दीपकराम गाउँका यस्तै यस्ता समस्या खोज्दै हिड्थ्यो र त्यसलाई सल्टाउन पार्टीको अस्त्र प्रयोग गर्दै राम्रै कमाइ पनि गथ्र्यो । उसकै सल्लाहमा सावित्रीले छिमेकी महेन्द्रमाथि जग्गा मिचेको मुद्दा दायर गरिन् । दीपकरामले यता सावित्रीलाई मुद्दा दिन लगायो भने उता महेन्द्रलाई भेटेर भन्यो—“कसले उचालिदिएर हो कुन्नि सावित्रीले तपाईँमाथि मुद्दा हालिसकिछन् । मैले त्यो थाहा पाएर लालपूर्जा, नक्सा सबै हेरेँ, उनको दुई आनाभन्दा बढी जग्गा मिचिएकै रहेछ । मुद्दा उनैले जित्ने कुरामा कुनै शङ्का रहेन । मुद्दा छिनिहाल्यो भने धेरै लफडा हुन्छ, उस्तै परे यत्रो घरै भत्काउनुपर्ने हुनसक्छ । त्यसैले बरु सावित्रीलाई म मनाउँछु, तपाईँले मिचिएको जग्गा वापतको पैसा क्षतिपूर्ति दिनुहोस् । तपाईँजस्तो प्रतिष्ठित मान्छेले यसरी छिमेकीसँग मुद्दा खेपेर बस्नु राम्रो पनि होइन । जसरी हुन्छ मिलापत्र गर्नुपर्छ ।” महेन्द्रलाई त ‘के खोज्छस् काना ? आँखो’ भनेझैं भयो । उसले सावित्रीलाई भनेर मेलमिलाप गरी मुद्दा फिर्ता लिन दीपकरामलाई अनुरोध गर्न थाल्यो र मुद्दा मिलाइदिए वापत रु एकलाख दिने वचन पनि दियो । मुद्दा चलेको चार महिनापछि दीपकरामले आएर सावित्रीलाई भन्यो —“हेर्नोस् भाउजू, तपाईँको जग्गा त मिचिएकै हो, तर के गर्ने उसले त्यत्रो घर ठड्याइसक्यो । घर नबनाउँदै भए एउटा कुरा हुन्थ्यो, अव त्यो घरै भत्काउने कुरो आउँदैन । ऊ पैसावाल छ, सके पैसा खुवाएर मुद्दा उसैले जित्ला नभए पनि मुद्दा चार–पाँच वर्षसम्म चल्यो भने हाम्रो धेरै खर्च हुन्छ । हामीले नै जित्यौं भनेपनि उसबाट जग्गा वापतको रकम नै पाउने हो । त्यतिखेरसम्म उसले दिने रकमभन्दा मुद्दाको खर्च धेरै भइसकेको हुन्छ । आखिर आफ्नै छिमेकी प¥यो, मुद्दा गरेपछि सधैंलाई नराम्रो पनि हुन्छ । बरु मेरो विचारमा उसँग जग्गाको मूल्य लिएर मिलापत्र गर्दा नै ठिक होला ।” सावित्रीलाई झनक्क रिस उठ्यो । उनले मनमनै सोचिन्— ‘उसैले उचालेर मुद्दा हाल्न लगायो, खर्च पनि गरायो । नत्र महेन्द्रले ‘अमिन बोलाउने, कति मिचिएको छ त्यसको पैसा दिने’ त भनेकै थियो । अहिले फेरी किन यस्तो कुरा गर्छ !’ जति नै रिस उठेपनि दीपकरामले भनेको कुरा ‘हुँदैन’ भन्ने आँट उनमा थिएन । ऊ शक्तिशाली राजनीतिक पार्टीको जिल्लास्तरको नेता थियो । जसको सल्लाहले मुद्दा हालेकी थिइन् उसैले त्यसो भनेपछि उनले अर्को उपाय देखिनन् र सहमति जनाइन् । दीपकरामले मुद्दा मिलाइदिए वापत आफूले एक पैसा पनि नलिने तर पार्टीका लागि भने केही सहयोग गर्नुपर्ने कुरा राख्यो । चार लाख जग्गाधनीलाई दिने र मिलाइदिए वापत पार्टीलाई एकलाख सहयोग गर्ने सर्तमा महेन्द्र र दीपकरामवीच मौखिक सहमती भयो । उसले त्यो सहमती सावित्रीलाई नभन्ने कबूल गरायो । सावित्रीले मुद्दा फिर्ता लिइन् ।

दीपकराम आएर सावित्रीलाई भन्यो —“हेर्नोस् भाउजू, त्यो महेन्द्र फटाहा रहेछ, पहिले चार लाख दिन्छु भनेकोमा पछि आएर तीन लाखभन्दा दिन्न भन्यो । तर त्यसै खान आँटेको थियो, यति भएपनि झारियो भनेर चित्त बुझाउनु प¥यो । पार्टीले दवाव नदिएको भए यति पनि दिँदैनथ्यो ।” उसले दुई लाख रुपैयाँ सावित्रीको हातमा राखिदिँदै भन्यो—“ल भाउजू, यो दुई लाख रुपैयाँ राख्नुहोस् ।” अनि अर्को हातमा एक लाखको बिटो लिएर भन्यो—“यो एक लाखचाहिँ पार्टीलाई सहयोग गर्नुपर्छ । पार्टीकै दवावमा परेर ऊ सहमतिमा आएको हो नत्र कहाँ मान्दथ्यो र ? जिल्लाले हराए पनि सर्वोच्चसम्म पुग्छु भनेको थियो । सर्वोच्चसम्म मुद्दा लड्ने हो भने तपाईँको यही बँचेको जग्गा पनि सकिने थियो ।” सावित्री अवाक् भइन् । यसरी पार्टीको नाउँमा जानाजान एकलाख खाएकोमा उनलाई नेता र पार्टीप्रति नै तीव्र घृणा र आक्रोश पैदा भयो— ‘ऋणमा डुबेर घरै बेचेर हिँड्नुपर्ने अवस्थाकी विधवा, गरिव र असहाय महिलालाई पार्टीले सहयोग गर्नुपर्नेमा उल्टै पार्टीलाई सहयोग रे ! यो अवस्थामा पनि यो हदसम्मको शोषण र अन्याय ! धिक्कार ! यो समाजलाई, यी पार्टी र नेता भनाउँदालाई !’— दीपकरामले दिएको पैसा हातमै लिइराखेकी उनी एकछिनसम्म पीडाग्रस्त हुँदै स्तब्ध बनिन् केही बोलिनन् । ‘ल, भाउजू, म जान्छु’ भन्दै दीपकराम हिँड्यो ।

दीपकरामले आफूमाथि गरेको अझै ठूलो बेइमानी, धोका र शोषण त सावित्रीले त्यतिबेला थाहा पाइन् जव महेन्द्रले मुद्दा फिर्ता लिए वापत उनलाई चार लाख र दीपकरामलाई एकलाख दिएको कुरा थाहा पाइन् । उनीभित्र तीव्र पीडा, घृणा र आक्रोश एकसाथ उम्लिएर आयो —एउटा प्रतिष्ठित व्यक्ति भनिनेले अर्काको जग्गा मिचेर घर बनाउँछ, अनि अर्को राजनीतिक पार्टीको नेता भनिनेले मिलापत्रका नाउँमा आफूले तीन लाख खाएर पीडितलाई दुई लाख मात्र दिन्छ । यो कस्तो समाज ! कस्तो राजनीति !

पोहोर मात्र उत्तरपट्टिको आडैको जग्गामा पनि पाँचतले घर ठडिएपछि त उनलाई निस्सासिएको अनुभूति हुन थालेको थियो । उता घर पछाडिको आफ्नो जग्गामा फोहोर फालिदिएर हैरान पारिरहेका थिए । यसरी दुईतिरका अग्ला घरहरुले उनको ढुङ्गा–माटाको सानो घर र जग्गालाई किच्ने, थिच्ने र मिच्ने गरिरहेका थिए । कहिल्यै घामको स्पर्श नपाउने त्यस घरका भित्ताहरु सधैंको सेपमा परी लेउ लागेका थिए । बाटोमा हिँड्नेहरु त्यो घर नजिक आएपछि त्यतातिर दृष्टि फ्याँक्दथे विभिन्न सोच बनाएर । केही समय यता सावित्रीलाई घरमा बस्दा पनि कता कता निस्सासिएको अनुभूति हुन थालेको थियो । दुईतिरका विशाल घरको चेपुवामा परेको त्यो घर कतिखेर भत्किने हो र त्यसमा पुरिएर मर्नुपर्ने हो भन्ने एक खालको त्रास उब्जिरहन्थ्यो । छिमेकका ती ठुला घरवालाहरुबाट उनले कहिल्यै सहयोग र मित्रताको बोली समेत सुन्न पाइनन् । डसेरै र अत्याएरै उक्त घर–जग्गा हडप्ने छिमेकको दाउ हुँदो हो सायद । उत्तरको सँधियाराले घर भाडामा दिएकाले अरु नै बस्थे र त्यति वास्ता पनि गर्दैनथे तर आफैंले बेचेको जग्गामा घर बनाएको दक्षिणको सँधियारा भने निकै हेपाहा र पेलाहा थियो । उसले कतिपय मान्छेलाई सावित्री समक्ष पठाउँथ्यो र उनको घरको उपहास गर्न लगाउँथ्यो । कुनै भन्थे —“यस्तो शहर–बजारको बाटोको घर यो हालतमा राखिराख्न सुहाएन है फुपू ! कि आडाका घर सरह नयाँ घर ठड्याउनु प¥यो कि त बेच्नुप¥यो । हामी बाहिरका मानिसलाई पनि राम्रो भएन ।” अनि कुनै आएर सहानुभूतिको अभिनय गर्दै भन्थे—“छोराले पैसा कमाएर यो सरहमा घर उभ्याउन सक्दैन, सधैंभरि यस्तो चिसो सेपमा ठुला घरले चेपिएर बस्नु पनि ठीक हुँदैन सावित्री ! बरु छोरालाई भनेर बेच्नतिर लाग, राम्रै मोल आउँछ । अन्त गएर अलि चाक्लो जग्गामा राम्रो घर बनाएर बस्ता जाती हुन्छ ।”

सावित्रीलाई पनि यसरी हेपिएर सेपमुनि बस्न त पटक्कै मन थिएन तर यही घरमा लोग्नेले आफूलाई भिœयाएको, यही घरमा छोराछोरीहरु जन्मे–हुर्केका र यहीँको परिवेश र वातावरणमा आफ्नो जीवन व्यतित भएकाले अव बुढेसकालमा नयाँ ठाउँमा गएर बस्न मनले मानिरहेको थिएन । फेरि लोग्ने खडानन्दले पनि ‘घर बाटोमा भएकाले स–सानो पसल गरेर पनि जीवन निर्वाह गर्न सकिन्छ, यहाँ बेचेर कतै नजानु’ भनेकाले पनि घरै बेचेर हिँड्दा लोग्नेको आत्मामा चोट पुग्ने ठान्दथिन् उनी । उमेरले छब्बीसको लागे पनि एकातिर घरको नाजुक अवस्था र अर्कातिर केही कमाउन भनी अरव पुग्दा विरामी भई ऋण लागेको अवस्थाले छोराको मनोबल उठ्न सकेको थिएन । आफू जन्मे–हुर्केको घर र आफ्नो नाभी गाडिएको जग्गा बेचेर त्यहाँबाट हिँड्नु उसका लागि पनि कम पीडादायी थिएन । तर नबेचौं भन्नलाई उसले अर्को भरपर्दो विकल्प पनि भेटाउन सकेको थिएन । यसैले भन्नलाई त आमाले झैं उसले पनि ‘बेच्ने होइन’ नै भन्थ्यो तर दुई ठुला पहाडको बीचमा च्यापिएर निस्सासिँदै बस्नु उसलाई पनि कम पीडादायी थिएन । आमाछोरा दुवैलाई घरको सेपलेभन्दा पनि छिमेकको व्यवहार र हेपाइले मर्माहत पारेको थियो । उनीहरुले बाहिर कहिल्यै कसैसँग जग्गा बेच्ने कुरै गरेका थिएनन् तर पनि किन बारम्बार महेन्द्रले जग्गा बेच्न भनिरहन्छ ? आर्थिक कमजोरी र सोझा आमाछोराको परिस्थितिमाथि किन ऊ बारम्बार खेलबाड गरिरहन्छ ?
आमाले बेच्ने सुरसार नगरेपछि एकपटक त महेन्द्रले सावित्रीकी छोरी उषालाई माइत आउँदा भेटेरै भनेको थियो—‘उतिखेर यो जग्गा पनि किन्न पाइन्छ भन्ने लागेर घर ठुलै बनाइयो, घर अनुसार पार्किङ, गार्डेन सबै चाहिने भएपछि अहिले साँघुरो–साँघुरो भइरहेछ । मलाईभन्दा पनि आमालाई झन् गाह्रो भएको छ । अव दुवैतिर अग्ला–अग्ला घर बनिदिए, त्यै अनुसारको घर बनाउन सके त ठिकै हुन्थ्यो, नत्र …बीचमा च्यापिएर बसेजस्तो हुन्छ । उता होटलवालाले घर पछिल्तिर फोहोर फालिदिन्छ भन्छन् । दुवैतिरकाले अलिकति उठाएर घर बनाएकोले आमाको घरमा बर्षामा पानी जम्छ, उता बाटोको भेल समेत पस्छ, निकास छैन । हुन त मलाई तपाईँहरु जस्तो पुरानो बासिन्दा बसिराखेकै राम्रो हुन्थ्यो, यस्तो बाटोको घर–जग्गा बेच्नुहुँदैन भनेर सम्झाउनुपर्ने पनि हो । तर के गर्ने नानी ! तपाईँले सबै देख्नु–बुझ्नु भएको छ । अव आमालाई भनेर कि अग्लो गरेर जग उठाई घर बनाउनु प¥यो, हैन सकिँदैन भने बेचेर अन्त अलि फराक ठाउँमा जाने हो भने यो बेचेको पैसाले जग्गा किनेर घर पनि बन्छ । आमालाई राम्ररी सम्झाउनु होला ।” उता सावित्रीका छोरी–ज्वाइँ भन्ने गर्थे—“त्यहाँ बस्न त कसै सकिँदैन । बरु बेच्नै परेपछि त्यही महेन्द्रेलाई नै किन दिने ? जसले बढी मोल दिन्छ त्यसैलाई दिने । हामीलाई अप्ठेरो पार्नेलाई किन सजिलो पारिदिने ? ज्वाइँको कुरा सावित्रीलाई पनि ठिकै लाग्यो र उनले ग्राहक खोज्न ज्वाइँलाई भनिन् । तर जग्गा हेर्न आउने सबैलाई उसले नानाभाँती कुरा गरेर भड्काइदिन्थ्यो । कहिले ‘मेरो जग्गा पुगेको छैन, त्यहाँ घुसेको छ’ भन्थ्यो भने कहिले ‘त्यो जग्गामा किचलो छ, मुद्दा परेको छ, किन्न हुँदैन’ भनिदिन्थ्यो ।

महेन्द्रले उता विदेशमा रहेको छोरालाई पनि फोन गरेर हैरान पाथ्र्यो । आफूले मात्र गरेर नभई अरुलाई पनि फोेन गर्न लगाउँथ्यो । साँघुरो जग्गामा विशाल घर बनाएकाले उसलाई साँधको त्यो जग्गा आवश्यक पनि थियो । सावित्रीको स्थिति बुझेको ऊ जसरी पनि त्यो जग्गा अँठ्याएरै छाड्ने दाउमा थियो यसैले अरु तीन तिर ढुङ्गाको पक्की पर्खाल लगाए पनि त्यतातिर भने ब्लकको अस्थायी पर्खाल लगाएको थियो ।

आज पनि सावित्री बाटो पारी गएर घाम ताप्दै घरी आफ्नो झुप्रो घर र घरी दायाँ वायाँ ठडिएका पहाडतुल्य विशाल घरहरुलाई हेरिरहेकी थिइन् । उनले छोराको बारेमा सोचिन्—‘अरव गएर उतै बिरामी परेको सोभित पैसा कमाउने स्थितिमा छैन र फर्केर आई अरु कुनै पौरख गरेर यही ठाउँमा पक्की घर बनाउला भन्ने पनि छैन । फेरि उसको बिहे पनि गर्नुछ । यस्तो घरमा कसरी बुहारी भिœयाउने ? आखिर यो घर ढिलो चाँडो भत्काउनै पर्छ र सानै भएपनि पक्की ढलान घर नबनाइ हुँदैन । अन्त बेच्ने जग्गा छैन, कमाउने आधार पनि छैन । बरु बाँझापाटनतिर गई अलि सस्तो जग्गा खोजेर बस्नुपर्ला । एक–दुई जना आफन्त पनि छन् । यहाँ बेचेको पैसाले एक टुक्रा जग्गामा चार कोठे घर बनाएर सोभितको बिहे गर्न पुगे हुन्थ्यो । सोभिते कति दुखिया र अभागी रहेछ ! त्यसलाई बाबुको थलोमा बस्न पनि लेखेको रहेनछ, अव ऊ आएपछि यही सल्लाह गर्नुपर्ला !’ निकै बेर टोलाएर सोचेपछि उनी लामो सास तान्दै उठिन् ।

सोभित कतारबाट आइपुग्यो । दुब्लाएर हाडछाला मात्र देखिन्थ्यो । बेलुका खाना खाएपछि आमाछोरा घर–व्यवहारका कुरा गर्न थाले— “बाबु, आएर राम्रो गरिस् । अव यहाँ बस्न नसकिने भयो । बरु कसरी हुन्छ यहाँको बेचेर बाँझाखेततिर गई त्यतै एउटा सानोसानो घर बनाएर बसौं । घर बनाएपछि तेरो बिहे पनि गर्नुपर्छ । जग्गा बेचेर घर नबनाई र बिहे नगरी अव कतै जाने सुर नगर ।” सोभितले पुलुक्क आमाको मुखमा हे¥यो । त्यहाँ अव्यक्त पीडा र व्यथा भरिएको थियो । एकछिनसम्म ऊ केही बोलेन । उसले पुराना दिनहरु संझ्यो—‘यो भनेको बाबु–बाजेको छाला हो । पुर्खाको छाला छोडेर कतै जानु हुँदैन बाबु ! त्यस्तो सोचिस् भने पनि पाप लाग्छ ।’ बाबु बितेको साल उनै आमाले त्यस्तो भनेकी थिइन् तर आज …? हुन त सोभितको भित्री सोचाइ पनि यहाँ बेचेर अन्त जाने नै थियो तर आफैंले त्यस्तो कुरा गर्नु पितृप्रतिको अनास्था र आफ्नो नालायकीपन देखिने डर थियो । त्यसैले आफ्नो पितृथलोप्रति आस्था देखाउँदै र आमाले भनेका पुराना कुराको संबोधन गर्दै उसले भन्यो—“के भन्नुभएको आमा ! जे भएपनि बाबु–बाजेको छाला हो, यस्तो शहरको घर–जग्गा बेचेर त्यति पर जाने ? अरु गाउँबाट शहर झर्छन्, हामीचाहिँ उल्टो बजार छोडेर गाउँतिर ?” उसले भन्न त भन्यो तर आमाको मन राखिदिनलाई मात्र ।

सावित्रीले गम्भीर भएर भनिन्—“बाबु, यी शहर–बजारहरु हाम्रा लागि होइनन् । हामी यहाँ अटाउँदैनौं । शहरले थोरै पैसामा हाम्रो पसिना किन्छ, रगत निचोर्छ, मानवता किच्छ र नैतिकता थिच्छ । पहिला त यो शहर जस्तो थिएन र तेरा बाबु–बाजे अटाएथे । अव त यो शहर भइसक्यो र अझ ठूलो शहर हुँदैछ । यहाँ त जालझेल र अनेक तिकडम जान्ने, फट्याइँ गर्ने अनि पैसाको लागि जे पनि गर्ने मानिस, नैतिकता हराएका व्यापारी, घुसखोर कर्मचारी र फटाहा नेताहरु अनि मानवता गुमाएका मानिसहरु बस्ने ठाउँ हो । यहाँ उनीहरुले हामीजस्तालाई डस्दै जान्छन्, हामीहरु हट्दै जाने हो । घर बेचेर हिँड्नुपर्ने स्थितिका हामी मात्रै होइनौं । कोही पहिल्यै हिँडिसके र बाँकी अरु पनि विस्तारै हिँड्ने छन् । तेरा छोरा–नातिहरु पनि तँ जस्तै सोझा र सज्जन भए भने, नैतिकता र मानवता यसरी नै शहर–बजारबाट निख्रँदै गयो भने अनि राज्य–व्यवस्था यस्तै रहिरह्यो भने तेरा छोरा–नातिहरुले त्यो बाँझाखेतबाट पनि फेरि अर्को बाँझाखेत खोज्दै हिँड्नुपर्नेछ ।”
दुवै आमाछोरा एकछिन चुप रहे । एकैछिनको सन्नाटापछि सोभितले भन्यो—“हुन्छ आमा, मेरो मनमा त पहिल्यै त्यस्तो विचार आएको थियो तर तपाईँले पहिले भनेको ‘बाबुको छाला बेचेर हिँडे पाप लाग्छ’ भन्ने कुरा मनमा गडेकाले नै केही भन्न नसकेको हुँ ।” यति भन्दै सोभित सुत्न भनी कोठातिर लाग्यो । ओछ्यानमा त पल्टियो तर निद लागेन । ‘यो शहर हामी जस्ताको लागि होइन बाबु’ आमाको यो भनाइ सूल बनेर रातभर डसिरह्यो ।