Ganesh Ghimire 'Marmik' – Manchhe (Nepali Laghu Katha)

गणेश घिमिरे ‘मार्मिक’ – मान्छे

उसले धेरै जनाको मुखबाट धेरै ठाउँमा र धेरैपटक सुनेको छ- मुलुकमा गणतन्त्र आयो, अब त सर्वसाधारण जनताको पनि पहुँच सिंहदरबारमा पुग्यो । अब भने नेपाली जनता साँच्चैका सार्वभौम भएका छन् ।

उसको मनमा उसले सुनेका ती कुराहरू एकाएक गुञ्जिए । उसले सोच्यो- हो त नि म पनि त नेपाली जनता । आज भने सिंहदरबार पसेर मज्जाले हेर्ने हो । रहर पुग्ने गरी ।

मनमा यस्तो कुरा सोच्दासोच्दै ऊ सिंहदरबारको पश्चिमतर्फ अविस्थत मूलगेटमा पुगिसकेको थियो । ऊ सरासर भित्र छिर्न खोज्यो तर मूलगेटमा पहरा दिएर बसेका राष्ट्रसेवकले उसलाई रोक्दै भने- ए दाइ  कहाँ जान लाग्नु भा’को ? यहाँबाट मान्छे छिर्न मिल्दैन ।

उसलाई अचम्म लाग्यो- मान्छे छिर्न नमिल्ने भए केका निमित खोलिएको हो त यत्रो यामानको गेट हँ भाइ ?- उसले प्रश्न गर्‍यो ।

चुप लागेर उताबाट जानुस् न, मिल्दैन भनेपछि । पहरा गणले अलि रुखो स्वरमा जवाफ फर्काए ।

ठीक त्यसैबेला उसको अगाडिबाटै ३-४ वटा सरकारी गाडीहरू सरासर गेटबाट भित्र छिरे । उसले देख्यो- ती गाडीहरूभित्र पनि मान्छे नै सवार थिए । ऊ असमञ्जसमा पर्‍यो । मान्छे छिर्न नमिल्ने गेटबाट सरासर छिर्ने ती को थिए त ? उसले आफैँलाई प्रश्न गर्‍यो ।

उसले धेरैबेर निधार खुम्च्याएर सोच्यो र एउटा निष्कर्षमा पुग्यो । वास्तवमा अबचाहिँ हामी सर्वसाधारण नेपाली जनता पनि वास्तविक ‘मान्छे’ भएछौँ, मुलुकमा गणतन्त्र आएपछि । त्यसैले त मान्छे छिर्न पाइने गेटबाट छिर्न पाइएन नि ।

के सोचर हो कुन्नि, ऊ फिस्स हाँस्यो र अर्कोतिर मोडियो मान्छे हुनुको नियति बोकेर ।

Kusum Gyawali – Shalik Ko Mukhakriti (Nepali Laghu Katha)

कुसुम ज्ञवाली – शालिकको मुखाकृति (लघुकथा)

–“….उहाँ जस्तो महान निस्वार्थ नेताको अभाब सधै खट्कीरह्यो हाम्रो आन्दोलनमा” दिबंगत नेताको योगदान बारे नेताका सहकर्मी एकजना बृद्ध कार्यकर्ताले टिप्पणी गरे। साठीऔँ जन्मदिवशका अबसरमा आयोजित कार्यकर्मको थालनी गर्न प्रमुख अतिथि महासचिब कमरेड नआइपुगेको अबसरलाई उपयोग गर्दै सहभागीहरु आपसमा गफिँदै थिए।

आगामी आन्दोलनको दिशा, देशका भबिश्य, अर्थतन्त्र, बिश्व कलासाहित्यको झुकाव, दर्शन र मानव बिकासको इतिहास सम्मका सबै बिषय भएका यथेष्ट बहश सकिए पछि गफ केन्द्रित भयो नेताको शालिकको मुखाकृतिको बारेमा।
यस अघि कहिलै हेेक्का नगरेका एक जना कला समिक्षक कमरेडले मुखाकृतिको बारेमा यसो सम्म भने –“यस शालिकको भावानुभुति साँच्चीकै अनौठो छ। मैले यसवारे एउटा लेखनै लेख्ने तयारीमा छु। म यसबारे “रिसर्च” गरिराछु।”
– “बास्तवमा उहाँको अनुहारमा गहिरो बेदना छ। उहाँले महासचिबवाट राजीनामा गरेको त्यो उहाँको अन्तिम महाधिबेशनमा भएको अन्तरघातको पीडा प्रतिबिम्वित भएको छ, यस शालिकमा।” एक जना राजनैतिक बिश्लेषक पत्रकार कमरेडले अमिलो मुखाकृति पार्दै भने। त्यतिबेलाको गुटबन्दिको एक झलक तत्क्षण सम्झना पनि भयो उनलाई।
– “पार्टिमा बढ्दै गएको बुर्जुवा प्रबृत्तिले दिबंगत कमरेडलाइ ज्यादै पिरोलेको थियो। जुनकुरो शालिकमा प्रष्टसँग प्रतिबिम्बित भएको छ।” पार्टीमा अलि “हार्डलाइनर”का रुपमा चिनिने कमरेडले टिप्पणी गर्दै सम्पूर्ण समस्याको जरो पत्ता लगाए झै गजक्क परे।
– “त्यसो होइन कामरेड, यस शालिकमा त उहाँको उपप्रधानमन्त्री हुँदाखेरीको सुखद अनुभुति पो प्रतिबिम्वित छ।” अर्का “मनमा पाप नभएका” मानिने कमरेडले ठट्यौली पारामा भने।
– “पहिले यो शालिकको मुखाकृति हँसिलो थियो। पार्टिले चुनाबमा हारे पछि कमरेडको भड्किएको आत्माको कारण शालिकको अनुहारमा गहिरो पीडा देखिन थालिएको छ।” गलामा मुगा र “स्टोन”का माला लगाएका केन्द्रियस्तरका नेताले निधारमा गहीरा रेखाहरु पार्दै जिकिर गरे।

उक्त शालिक बनाउँदा भारतबाट आएका एकजना कलाकारको खेतालो भएर काम गरेको डकर्मी पनि आज त्यही उपस्थित थियो। कसिलो सङ्ग हात धेरैले मिलाए पनि उसलाइ कसैले चिनेनन्। उसले बिभिन्न कमरेडका शालिकको मुखाकृतिका बारेमा कुरा सुनेर मनमनै भन्यो – “मुला देशीले पैसा नदिए पछि झ्वाँक चलेर मैले विगारी द्या’थेँ। कुरै बर्ता नेताका।” ऊ मनमनै हाँस्यो।

Kishor Pahadi – Awashesh Basti (Nepali Short Story)

किशोर पहाडी – अवशेष वस्ती

पूरावस्ती चारैतिर अस्तव्यस्त भएर थुप्रिएको थियो । नीलो हाफ ज्याकेट लगाएका केही मान्छेहरू त्यो अवशेष वस्तीम छिरेका थिए । चारैतिर शून्यता थियो कोलाहल पूर्ण भूकम्पपछिको शून्यता ।

नीलो ज्इाकेट लगाएका मान्छेहरू त्यो भूकम्पले आक्रान्त वस्तीमा शान्त मुद्रामा थिए । वस्तीका अरूहरू आतङ्कित मुद्रामा उनीहरूलाई हेरिरहेका थिए ।

भेट भयो त्यो वस्तीमा एक सुन्दर बालिका । करिब १२ वर्षकी त्यो बालिका सबैभन्दा अलि पर गुँडुल्किएर बसिरहेकी थिई ।

नीलो ज्याकेट लगाएकाहरूमध्ये अगाडिको व्यक्तिको आँखा त्यो बालिकामा पर्‍यो ।

ऊ सरासर त्यो बालिकासम्म पुग्यो तर त्यो बालिकाले उसलाई हेर्दा पनि हेरिन ।

व्यक्तिले उसलाई सोध्यो -“नानी ! तिम्रो नाम के हो ?”

त्यो बालिकाले जवाफ दिइन् “तिमी किन यहाँ बसिरहेको ?” तर पनि त्यो बालिका बोलिन । “भन न नानी, तिमी किन बोल्दिनौ ?” तर पनि त्यो बालिका चूपचाप थिई ।

“तिमीलाई के चाहियो ? खानेकुरा ? पानी ? चकलेट ? .. के चाहियो भनन ।”

अब बालिकाले मुन्टो अलिकति उठाई । ट्वाल्ल त्यो व्यक्तिलाई हेरी । बालिकाको आँखा आँसुले लथपथ थियो ।

“भन न के चाहियो तिमीलाई ?”

बल्ल त्यो बालिका बोली -“मलाई ? अंकल, मलाई मेरी आमा चाहियो । उहाँ यहँा भुइँचालोले पुरिनुभएको छ ।”

Chiran Sharma – Afno Pan [Nepali Laghu Katha]

विदेश गएको पाँच बर्षपछि ह्यारी नेपाल फक्र्यो । नेपालमा बाले हरि-हरि बनेर बोलाउने ह्यारी नेपाल फर्कदा कसैले नचिन्ने होकी भन्ने चिन्तामा थियो उसलाई । काठमाडौं हवाइ अड्डामा कालो चस्मासहित आधुनिक क्यामरा कम्प्युटर र अंग्रेजी रहनसहनका साथ झर्र्यो । दायाँबायाँ हेर्र्यो सबै पुरानो नयाँ केही देखेन ।

छ्या कस्तो फोहोर भन्दै रुमालले नाक छोप्यो । ह्यारीको प्रतिक्षामा बसेका बाबु-आमाले छोराको लवाई खुवाई देखेर चिन्ने सकेनन् । ह्यारीले भने बाबुले आमालाई चिनी हाल्यो । हरि विदेश जाँदा बाबु किनेको कछाड र आमालाई किनेको धोती फाटेको थिएन । उसलाई ठम्माउन गाह्रो भएन । बाबु आमाका साथ गाउँघरसम्म पुग्यो । गाउँमा हरिलाई सबैले चिने तर उस्ले कसैलाई चिनेन् । आफ्नो पढेको स्कुल लथालिङ भताभुङ थियो । गुरुहरु बुढा भइसकेका थिए । घर छेउको काब्रोको रुख मरिसकॆको थियो । तल्लो गाउँमा डाँडाको डिस्को भत्केको थियो । हरि गाउँ आउँदै छ भन्ने समाचार ल्याउने कागहरु आवाज देखि उ वक्क थियो ।

मिनरल वाटरको बोत्तलमा मात्र पानी खाने भइसेको थियो ह्यारी । अग्रेजी पपमा बसेर फुटबलको आनन्द लिने ह्यारी गाउँका भट्टी देखि वाक्क थियो । गाउँ घरकॊ ढुङ्गा माटोले उसलाई चिन्यो तर ह्यारीले कसैलाई चिनेन । हरिको आगमनले सिङ्गो गाउँ रमाएको थियो । घरमाथिको ढिस्कोले अंगालो हाल्न खोज्दै थियो । घरको बारीमा रहेको मखमली फुल मस्कुराएको थियो तर खोई के भयो कुन्नी ह्यारीलाई आफै जन्मेको ठाउँ बिरानो भयो । गाउँ बस्नै मन गरेन तोकिएको समयभन्दा दुई साता पहिला विदेश फर्कने निर्णय लियो । काठमाडौं विमानस्थलसम्म राम्रोपन आफ्नोपन भेटेन ।

जब विमान उड्यो अनि ह्यारी टोलाउन थाल्यो । सोच्न थाल्यो विदेशको दुःख । मनमनै सोच्न थाल्यो अब कहिले आउने नेपाल उत्तर थिएन । सोची रह्यो अब विदेशीको हवाई अड्डामा उत्रियो । सबै बिरानो कोही थिएन आफ्नो भन्ने । न ह्यारीको भाषा विदेशीले बुझ्ने नत विदेशीको भाषा ह्यारीले । ह्यारी उत्रने हवाई अड्डामा उनको कसैले चासो राखेन । उसलाई नमाटोले चिन्यो न ढुङ्गोले नै । उनको पहिचान काठमाडौं विमानस्थलबाटै समाप्त भयो भन्ने होस् बल्ल ह्यारीलाई आयो । आउँदाका दिन देखि नै ऊ आफ्नो कर्मभूमिमा काम थाल्यो । रात दिन खटिएको छ । खाने बस्ने सुत्ने ठेगान छैन । अहिले केवल थकाई पसिना र मिहेनत उसको लागि आफन्त भएको छ ।

मृतसमानको आफ्नो पहिचान लिएर बाँची रहेको छ- ऊ । कहिलेकाही सम्झन्छ- म जन्मेको गाउँमा बस्न पाए र आफ्नो भन्ने देख्न पाए ।

– लण्डन, हन्स्लो

Dr. Rishi Raj Baral – Ghodchadhi (Nepali Laghu Katha)

डा. ऋषिराज बराल – घोडचढी (लघु कथा)
(Source: गोरखापत्र)

नयाँ सरकार बनेपछि गाउँ पुग्ने इच्छा, उत्सुकता र आवश्यकताबोध गरेर एक जना पत्रकार सहरबाट गाउँतिर लाग्यो । गाडीबाट झरेपछि उसले एक जना गाउँलेलाई पनि साथमा लियो ।

दिनभरिको हिँडाइपछि गोधुलीमा ऊ एउटा भञ्झ्याङ अर्थात् नेटोमा पुग्यो । चौतारी थियो, पसिना ओभाउन , सुस्ताउन चाह्यो । त्यति नै बेला दुई जना कुद्दै र पसिना पनि पुछ्दै स्याँस्याँ र फ्याँफ्याँ गर्दै त्यतैतिर आउँदै थिए । पत्रकार अलि डराए जस्तो पनि भयो- बन्दुक बोकेका ती दुई जना देखेर । उसले पुलुक्क हेर्‍यो गाउँलेतिर ।

“सेनाका मान्छे हुन्”- गाउँलेले विश्वस्त पार्‍यो ।

ती दुई बन्दुकधारीले पनि चौतारामा बस्नेहरूलाई पुलुक्क हेरे र फेरि कुदे ।

पत्रकार र गाउँले पनि ओरालो लागे । दस मिनेट तल जति गाउँ थियो । गाउँको मुखमै पुगे । त्यहाँ पनि बन्दुक बोकेको एउटा मान्छे कुद्दै अघिअघि आउँदै थियो र अलिकति पर चार पाँच जना घोडचढीहरू त्यतै आउँदै थिए । उनीहरू तल झर्दै गए, घोडचढीहरूसितको दूरी कम हुँदै गयो । पत्रकारमा केही मात्रामा भय पनि थियो र कौतुहलता पनि । घोडचढी र पत्रकारबीचको दूरी झन् कम भयो ।

बन्दुक बोकेर अघिअघि कुदेको मान्छेले आफ्नो गति बढायो ।

सबैभन्दा अगाडि कालो घोडा थियो । यस्यल्आर् बोकेको सेनाको मान्छे त्यहाँ थियो । त्यसपछि सेतो घोडा थियो, युवा कामरेड त्यसमा थियो । त्यसपछि थियो- रातो घोडा । त्यसमा केही अग्लो, मोटो, भुँडीवाल, खाइलाग्दो, जीउडाल र अनुहार परेको मान्छे चढेको थियो, त्यसको पछाडि खैरो घोडा थियो । त्यसमा एक जना अधबैंसे थियो र घोडाहरूको पछाडि यस्एल्आर बोकेका दुई जना , घोडालाई पछ्याउँदै कुद्दै थिए ।

घोडाहरू एउटा घरको आँगनबाट धुलो उडाउँदै कुदे, मान्छेलाई मिच्तै कुदे । कुखुराका चल्लाहरू यताउति कुदे, केटाकेटी छेउ-किनारा लागे । एक जना बूढीआमै घरको पिँढीमा बसेकी थिइन्, डरले भित्र कुदिन् । जान्न मन लाग्यो र सोधिन् ः

“फेरि बडाहाकिमहरू आउन थाले कि क्या हो गाउँमा ?”

”कस्तो नचिन्नु भा’को हाम्रा नयाँ मन्त्री होइनन्” – नातिनीले उत्तर दिई ।

उनले हावामा हात हल्लाइन्, हात हल्लाइको भाव अनुहारमा झल्कियो ।

त्यसको लगत्तैजसो एक जना गाउँलेले डोकोमा, मोर्चामा घाइते भएर दुवै खुट्टा गुमाएको जनमुक्ति सेनालाई बोकेर ल्याउँदै थियो ।

पत्रकारले पछाडि फर्केर हेर्‍यो । घोडचढीहरू पर पुगिसकेका थिए । बाटोमा धुलो उडेर कुइरिमन्डल भएको थियो ।

घाइतेलाई बोक्ने गाउँलेले भिन्नै अनुहारका साथ घोडचढीहरूलाई हेर्‍यो र लामो सास फेर्‍यो ।

पत्रकारको मुखबाट अनायास लामो उच्छवास निस्कियो ।

हिमालको चुचुरोबाट बाफ निस्किरहेको थियो ।