Kusum Gyawali – Amurta Youn (Nepali Laghu Katha)

कुसुम ज्ञवाली – अमूर्त यौन (लघुकथा)

“यो त अति भयो, कहिले जिब्रो पड्काउँदै पिछा गर्ने, कहिलै भित्तामा चाहिने लेखेर टाँस्ने अब त हुँदाहुँदा यस्तो सम्म पनि गर्न लाज नमान्ने। यस्ता कुरा सहेर एक बसिँदैन, दुई बसिँदैन, तीन बसिदैँन कन्या क्याम्पसकी युवा नेतृ लिपिष्टिक माथि ग्लस पोतिएको ओठ टोक्दै आक्रोशित भइन।”
पल्लो क्याम्पसको त्यही केटाहरूको काम हो यो। यस्तो अश्लील मूर्ति ले’राएर हाम्रो क्याम्पस अगाडि राख्ने। निर्लज्जताको पनि सीमा हुन्छ। यस्तो अश्लील मूर्तिले हाम्रो र सिङ्गै कन्या क्याम्पसको अपमान गरेको छ। सम्पूर्ण नैपाली दिदी बहिनीको अपमान गरेको छ। यसको प्रतिकार गर्नै पर्छ साथीहरू हो। मिनिस्कटमाथि सारेर अर्की नैतृ कुर्लिन। यो ल्याउने र यहाँ राख्ने दोषी पत्ता लगाएर हाम्रो अपमान गर्नेलाई कार्यवाही नगरेसम्म हाम्रो क्याम्पस अगाडिबाट कुनै गाडी चल्न दिइने छैन। स्ववियु सभापति नेतृले अडान लिइन।
मूर्ति लिएर आउनै ठेला चालक बचाऊ गर्दै थियौ। ए हजुर मलाई किन हात हाल्नु हुन्छ ? म त गरिब मान्छे पाएको काम गर्ने हौ। मैले एक छाक खान ठेला तान्न पर्छ मेरो के दोष छ र ? बिचरो ठेला चालकमाथि आफ्नो घरको लोग्नेसँग रिस समेत पोख्दै थिए कन्या क्याम्पसका विद्यार्थी ।सडक भरी इट्टा र ढुङ्गा छरपस्ट थिए। कन्या क्याम्पस अगाडिको चोकमा टाएर बालिरहेको थियो । गृहमन्त्रीको राजीनामा माग गर्दै कानमा मुन्द्रा लगाएका सधैं कन्या क्याम्पसकै सेरोफेरोमा देखिने केही केटाहरूले नारा लगाइरहेका थिए।

नीलो प्लेटको कालो चिप्लो गाडी बल्दो टायरको छेउमा रोकियो । इटालेली राजदूत गाडीबाट ओर्लिए पछि बल्ल थाहा भयो “आडम एण्ड ईभ” नामक, मेकल्याज्डोलोको प्रख्यात अमूर्त कला रहेछ । त्यो मूर्ति कन्या क्याम्पसको कला विभागलाई दिएको उपहार रहेछ।

Sharada Parajuli – Mero Mane

शारदा पराजुली – मेरो मने

दसैँको अष्टमीको दिन बिहानैदेखि घरघरबाट मासुको हरहर बास्ना आइरहेको थियो । ललीताका बुबा पनि मासुको स्वादको कल्पना गर्दै जिब्रो फड्कार्दै खसी काट्ने तरखरमा लागेका थिए । खसी काट्दा चाहिने खुकुरी र रक्ती हाल्न चाहिने भाँडो उनको छेउमै थियो ।

भान्साघरमा आगो धुवाइरहेको थियो । ललीताकी आमा भान्सामा बसेर लसुन अदुवा र प्याज केलाउदै थिइन् । ललीता पिङमा मच्चिँदै थिई । “बाबा हेर्नुहोस् न मैले पिङ कस्तरी मच्चाएँ ।”

“ल, ल बिस्तारै खेल है, फेरि लडिएला नि” ललीताका बाबाले सचेत गराउँदै भने ।

“ए पानी तातेन भन्या । छिटो गर न, फेरि अहिले काइँलालाई ढिला हुन्छ रे । उसले सबैका घरमा खसी काट्न पुग्नुपर्छ । उनी भान्सातिर हेरेर यसरी नै अरु केके भन्दै थिए ।

“बाबा ! हाम्रा घरमा खसी काट्ने हो ?” ललीताले प्रश्न गरी ।

“हो छोरी” उनले स्वीकृति जनाए ।

“अनि खसीलाई काट्दा दुख्दै न बाबा ?” ललीताले फेरि प्रश्न तेस्र्याई ।

“दुख्छ होला नि ।” ललीताका बुबाले छोटो उत्तर दिए ।

“अनि खसीलाई दुखाइ-दुखाइ किन काट्नलाग्नु भएको त बाबा ?” ललीताको जिज्ञासा झन बढ्न थाल्यो ।

“हेर छोरी, आज दशैँ हो त्यसैले खसी काटेर खान लागेको नि । ललीतका बुबाले खुलस्त पारे ।

“कुन खसी काट्ने बाबा ?” ललीताले जान्न खोजी ।

“कुन हुनु नि, उः त्यो चुलबुले खसी काट्ने अनि मज्जाले पकाएर चिची पापा खाने है छोरी । मेरी छोरीलाई चिची पापा कति मिठो लाग्छ हगि ?” ललीताका बुबाले ललीतालाई खुसी पार्ने हेतुले भने । ललीता भने दौडँदैै भान्सामा पसी ।

“ममी …..ममी, बाबाले मेरो मनेलाई काट्ने रे । मेरो मनेलाई नकाट्नू भन्नू न, उसलाई दुख्छ क्या । मेरो मनेलाई काट्दा मर्छ । अब म कसलाई मने भन्ने ? अब म कसलाई खानेकुरा दिने ? म कोसँग खेल्ने ? मेरो मने । मेरो मने मर्छ ।”

“ममी मेरो मनेलाई नकाट्नू भन्नु न । मेरो मनेलाई दुख्छ क्या ।”

उसको बिलौना मिश्रति रुवाइले ललीताकी आमाका आँखा भरिएर आए । ललीताका बाबा पनि स्तब्ध भए । खसी काट्न ठीक परेको काइँलाको हातबाट खुकुरी एक्कासि भुइँमा खस्यो । ललीताकी आमाले बाहिर निस्केर भनिन् “भो खसी नकाटौँ । यसरी छोरीलाई रुवाइ रुवाइ के मासु खानु ?” उनी फेरि भित्र पसिन र उम्लदै गरेको पानीको आगो ओझ्याइन् । ललीता हिक्कहिक्क गर्दै थिई ।

आमाले नयाँ लुगा देखाउँदै अप्रत्यक्ष रूपमा ललीतालाई फकाउन थालिन् । ललीता रुन छाडेपछि आमाले दाल, भात र स्कुसको तरकारी पकाइन् । ललीतालाई अरू दिनको भन्दा आजको खाना खुब मिठो लाग्यो । उसले थपीथपी खाई र उठ्ने बेलामा भनी, “आमा, आज त क्या मिठो खाना पकाउनु भएको ! मनेलाई पनि दिऊँ है ? ऊ मेरो साथी हो नि । मिठो कुरा साथीसँग बाँडेर खानुपर्छ रे, हाम्रो मिसले भन्नु भएको क्या । ललीता थालभरि भात र दाल लिएर मनेको टाट्नामा गई ।

मनेले सिनित्त पारेर सबै भात खायो । ललीताले मनेलाई सुम्सुम्याउँदै भनी, “मेरो ममीले कति मीठो भात पकाउनु हुन्छ हगि, मने !” मनेले कान हल्लायो । ललीता खुसी भई । ललीताले भनेका कुरा भान्साबाट आमा र बुबाले सुनिरहेका थिए ।

गोरखापत्र शनिबार
असोज २३, २०६७

Ramkumar Basnet – Drishya

रामकुमार बस्नेत – दृश्य
(मधुपर्क बैशाख, २०६७)

नेपालनाथका छोराहरू सगोलमा बस्न नसक्ने भएपछि बाबुसँग अंशबण्डा गरिदिन भने । पढेका र बढेका छोराले आ-आफ्नै गृहस्थी चलाउन भनेर नेपालनाथले पनि आफूले दुःखले कमाएको एउटा घर छोराहरूको नाममा जति पुग्छ खुसीकासाथ सबैलाई बराबर बण्डा गरिदिए ।

बाबुबाट अंशको रूपमा पाएका घरका केही कोठामा छोराहरूले आ-आफ्नै तरिकाले रङरोगन गरे । केही दिनमा नै त्यो घर रातो, पहेलो, हरियो, कालो, सेतो रङले रङ्गीचङ्गी भयो । नेपालनाथले जिन्दगीभर रङरोगन गर्न नसकेको घर रङी विरङ्गी देखेर केही पीडाबोध गरे ।

दिन बित्दै जाँदा छोराबीच वैमनैश्यता बढ्यो । छोराहरूले आफ्नो कोठा-चोटा आँगन सबैतिर पर्खाल लगाए । आवतजावत गर्न नै मुस्किल भयो । नातिनातिनी एउटै आँगनमा खेल्न पाएनन्, यो दृश्य दे्रख्नु अघि नै नेपालनाथले यहाँबाट विदा लिए ।

Hom Shankar Bastola – Pusti Kasari Garne (Nepali Laghu Katha)

होमशंकर बास्तोला – पुष्टि कसरी गर्ने ? (लघु कथा)
(मधुपर्क २०६७ असार)

विशेष अदालतको अगाडि एउटा एकतले घर भग्नावशेषरूपमा ठडिएको थियो । इजलासमा बसेको समयमा आँखा त्यस घरमा पुग्दा न्यायाधीशका मनमा लाग्दथ्यो – ‘यो घर कसको होला ?’ तर त्यो घर वर्षै दिनमा एकाएक छ तलेमा परिणत भयो । एक वर्ष अगाडि एउटा सरकारी संस्थानको जि.एम.मा नियुक्ति भएका विष्णु सिंहलाई अकूत सम्पत्ति कमाएको भनी अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । इजलासमा सरकारी वकिल आफ्ना प्रमाण पेश गर्दै बहस गरिरहेको अवसरमा न्यायाधीशले सरकारी वकिललाई प्रश्न गरे-‘ वकिल साप, विष्णु सिंहले भ्रष्टाचार गरेको के प्रमाण छ ?’ अदालत अगाडि रहेको छ तले आकर्षक घर वकिलले देखाउँदै भने ‘ श्रीमान् भ्रष्टाचारको प्रमाण ऊ त्यही छ तले घर हो । ‘ न्यायाधीशले छ तले घरतिर पुलुक्क हेरेर मनमनै सोचे- ‘वर्ष दिन अगाडिको एकतले घर छ तले ! तर कसरी पुष्टि गर्ने ?’

दुवेकोल-७, खोटाङ

Shreedhar Sharma – Sankat Kaal (Nepali Laghu Katha)

श्रीधर शर्मा – सङ्कटकाल
(मधुपर्क बैशाख, २०६७)

दिनानुदिन बढ्दो हिंसाका कारणले गर्दा सरकार ज्यादै त्रशित बनेको थियो । दुई जनाले पहिलो हत्या मोटरसाइकलमा चढेर गरेको कुरा थाहा पाएपछि सरकारले ‘मोटरसाइकलमा सवारी गर्न दुई व्यक्तिले नपाउने’ भनी प्रतिबन्ध लगायो । जसबाट थुप्रै मोटरसाइकल सवारलाई पुलिसले पक्डियो ।

हत्या कम भएन । फेरि साइकलमा चढेर हत्यारा भाग्न सफल भए । सरकारले साइकलमा चढ्ने हरेकलाई साइकल नचढ्न आदेश दियो । सबै साइकलवालाहरूले आ-आपmना घरमा साइकल थन्क्याएर पैदल हिँडे ।

जब तेस्रोपल्ट हत्या भयो तब हत्याराहरू नीलो पोसाकमा देखिए । अब पुलिसले फेरि नीलो लुगा लगाउने जतिलाई पक्डिँदै थुन्दै गर्न थाल्यो । त्यसपछिको हत्याकाण्डमा हत्याराले मात्रै गन्जी र कट्टु लगाएको पाइयो । अब बिचरा, गन्जी र कटटु लगाउने मात्रै हैसियत भएकाहरूले गन्जी पनि लगाउन छोडिदिए पुलिसले पक्डिएला भन्ने डरले ।

हत्याराहरूलाई अझै पुलिसले पकड्न सकेको थिएन अब हत्याराले कतै अर्को हत्या कट्टुमात्रै लगाएर गरे भने आफू पुलिसको भयङ्कर कुटाइबाट बच्नको लागि कहाँबाट लुगा ल्याएर आफ्नु शरीरलाई ढाक्ने ? अति विपन्नवर्गका जनतालाई चिन्ता पर्न थालेको छ ।