Hari Prasad Bhandari – Prabritti (Nepali Laghu Katha)

हरिप्रसाद भण्डारी – प्रवृत्ति
(Source of this story: मधुपर्क जेठ, २०६८)

सहरको केही पर एकान्त स्थानमा एउटा मन्दिर थियो । मन्दिर वरिपरि सानासाना कुटीहरू थिए । कुटीमा योगी, सन्न्यासी तथा पूजारीहरू बस्थे । नजिकै बाक्लो बस्ती भएको हुँदा नियमितरूपमा भक्तजनहरू मन्दिरमा दर्शन गर्न र घुम्न आउँथे । मन्दिर परिसरको वातावरण सुन्दर र रमणीय थियो ।

मन्दिर र कुटीहरूमा चढाएको फूल-प्रसाद खान पाइने हुँदा त्यस क्षेत्रमा मुसाहरूको बिगबिगी थियो । एक-दुइटा बिराला पनि थिए तर सयौँ मुसाकामासु बिरालाको सङ्ख्या नगण्य थियो ।

मुसाहरूको बगालमा काले र खैरे नामका दुइटा मुसा थिए । दुवै साथीसाथी थिए । एउटाको आनीबानी अर्कोलाई थाहा थियो । खेल्दा, डुल्दा वा चारो खोज्न जाँदा सधैँ सँगै हुन्थे । युवा जोश थियो । प्रशस्त चारो पाइने हुँदा मोटाएर टुनुक्क परेका थिए ।

घरिघरि बिरालाले दुःख दिने हुँदा दुवै हैरान थिए । बिरालाले फेला पार्‍यो भने अकालमा मर्न सकिन्थ्यो । सधैँ सतर्क भएर हिँड्थे ।

बिरालाको फूर्ति देखेपछि काले मुसालाई बिरालोको बन्ने इच्छा भयो र आफ्नो इच्छा साथीलाई

सुनायो ।

-‘जाबो बिरालो !’ खैरेले भन्यो ।

तैपनि कालेको मनमा बिरालो बन्ने इच्छा तीव्र हुँदै जान थाल्यो । बिरालोको फूर्ति देख्दा उसलाई ईष्र्या

लागिरहेको थियो ।

कुटीमा ठूला ज्ञानी र जादु गर्न सक्ने एउटा योगी थिए । कालेले उनलाई प्रशन्न पार्‍यो र बिरालो बन्ने इच्छा जाहेर गर्‍यो । योगीले आफ्नो योगको बलका आधारमा कालेलाई केही समयका लागि ढाडे बिरालो बनाइदिए ।

‘अहा, म बिरालो भएँ ! क्या मज्जा !’ ऊ खुसीले उपि|mयो, रमायो र वरपर दौडियो ।

बिस्तारै भोकले च्याप्दै गयो । ‘अब केही खानुपर्छ, ऊ आहाराको खोजीमा निस्कियो । खैरे र उसका साथीहरुले देखे- काले बिरालो आहाराको खोजीमा उनीहरू बस्ने दुलोको बाहिर ढुकेर बसिरहेको थियो ।

Kusum Gyawali – Andha Bidroha (Nepali Laghu Katha)

कुसुम ज्ञवाली – अन्ध विद्रोह (लघु कथा)

ऊ सानै देखि सुन्दर चित्र बनाउन अभ्यस्त थियो । उसले पढ्न थाल्दा अगाडी आइ परेका रामायण, महाभारत र गीता पढ्यो । उसले गरुड पुराण र भागवत पुराण सुन्यो । अनि उसले थुप्रै पौराणीक पात्रहरुको चित्र कोर्‍यो, देवी, महाकाली, सरस्वती, सीता, राधा, लक्ष्मी आदि आदि ।

उसको उमेरसँगै रुचीहरु फेरिए । उसले भानुभक्त पढ्यो, लेखनाथ पढ्यो, देवकोटा पढ्यो, भूपी पढ्यो र पारीजात पढ्यो । उसले आमा पढ्यो र युवाहरुको गीता पनि पढ्यो । उसको कलाले नौलो मोड लियो । उसका चित्रकलामा पुन देवीका आकृति देखापरे तर मुहारमा भने आमाको छवि थियो । सयौं सरस्वतीका चित्रहरु पुन कोर्‍यो । ती चित्रमा दिदीका छविहरु उतार्‍यो । उसले कोरेका राधा र सीताका चित्रहरुमा उसका प्रेमीका आकृति लेख्यो । उसका चित्रहरुमा नौलो आयाम थपियो । ख्याति चुलिदै गयो । उसले मान सम्मानहरु पनि पाउँदै गयो । उसका कलाहरुले ठूलो मूल्य पाउन थाल्यो ।

उसलाई डि.भि.पर्‍यो । उसले इसाई धर्म मान्ने निर्णय गर्‍यो । उसलाई पुरातन धर्म प्रति द्वेष जाग्यो र बिद्रोह गर्यो ।सम्पूर्ण हिन्दु पुस्तकहरु जलायो र वाइवल पढ्न थाल्यो । शनै शनै बाइबल प्रति अन्ध भक्ति जाग्यो । क्रमश आफ्ना कलाकृतिहरु पनि नष्ट गर्दै गयो । जलाउँदै गयो देवीका सरस्वती र दुर्गाका तस्वीरहरु । उसले दिदीको छवि भएका सरस्वतीका तस्वीर पनि जलायो । प्रेयशीका छवि भएका सीताका तस्वीरहरु पनि जलायो ।

आज हवाइजहाज चढ्ने दिन । उसले आमाका छवि भएका सरस्वतीका तस्वीरहरुका बाँकी अन्तिम पत्रहरु जलाउँदैछ ।

Kusum Gyawali – Swabhimani Kabi (Nepali Laghu Katha)

कुसुम ज्ञवाली – स्वाभिमानी कवि (लघु कथा)

“आँखा बाँधेर बन्दुकका कुन्दाले हिर्काउँदा करङ भाचिएको छ। म सोझो गरी बस्न सक्तिन। आन्द्रामा घाउछ, लठ्ठि कोचेर यातना दिए, दिशा बस्न पनि असहज छ। टाउकोमा चोटैचोट बेहोस हुने गरी कुट्थे हरेक दिन। ती टाटेपाटे कपडा लगाउने जल्लादहरूले। मेरा दाँत भाँचिदिए, हात भाँचिदिए, खुट्टा भाँचे तर मेरो स्वाभिमान भाँच्न सकेनन्।” आदरणीय विद्रोही जनसमुदायको जीत भएपछि आज म रिहा हुन पाएँ। अरू केही महिना म जेलमै रहेको भए म ज्यूँदो रहने थिंईन। “दोसल्ला ओढाइएका सम्मानित कवि विप्लवको भाषणमा जीवनका हृदय विदारक भोगाई अभिव्यक्त भइरहँदा दर्शक दीर्घाका गहभरी आशु थिए। केही युवा दर्शकका आँखामा आक्रोशको आगो बलेको थियो।”

“केही कार्यकर्ताले विप्लवलाई राष्ट्रले सांस्कृतिक विभागलाई लोकतान्त्रिकरण गर्ने जिम्मा दिनुपर्ने माग राखे। ठूला नेताले आफूले सत्ता सम्हालेपछि विप्लवलाई ठूलो जिम्मा दिने घोषणा गरे। सत्ताका अनुहार परिवर्तन भए, जेलमा बस्ने कुर्चीमा बैंसे। पहिले कुर्चीमा बसेका नयाँ नेताका प्रवक्ता बने। नयाँ नेतृत्वको भयानक तारिफ भयो। ठूलठूला वक्तव्य र प्रचारबाजी भए पत्रिकाहरूले विशेषाङ्क निकाले। बडा नेतालाई तारिफ र वन्दना नगर्न सञ्चार माध्यम कुनै भेटिएन। समग्र कर्मचारी संयन्त्र नै आफ्नो भए जस्तो देखिन थाल्यो बडा नेतालाई तपाइहरू कसरी हाम्रो पाटीमा समाहित हुन भयो?” भनेर, बडा नेताले सोध्दा, “विचारको विजय हो, कमरेड! तपाई जस्ता युगश्रष्टाले देश हाँक्नु पर्छ बुझ्नुभो हामीले जहिले पनि नयाँ कुरालाई स्वीकार गरेर आफूलाई फेर्नुपर्छ भन्नै कुरा हजुरबाट सिक्यौ। बडा नेताले कर्मचारीबाट पाएको जवाफले दङ्ग परे।
“तपाई जस्तो त्यागी र स्वाभिमानी कविले पनि बिक्छन् भन्ने मलाई लागेको थिएन। सत्ता बाहिर रहेका हाम्रा विचारसँग सहमत नभएका मान्छेले हामीलाई तारिफ गरेको बेलामा तपाईले नै झन सरकार मातहतको विभाग कै जिम्मा लिएको मान्छेले पनि हाम्रा नेताका ससाना झिना मसिना गल्ती कमजोरी उछालेर आलोचना गर्ने।” अर्का थरी नयाँ टाटेपाटे पोसाक लगाउने कार्यकर्ता आएर कविलाई बडानेताको आदेश अनुरूप धम्क्याए। उनले तारिफ बडा नेताको फोस्रो तारिफ गर्न र माफ माग्न अस्वीकार गरे।

प्रतिगामीको गद्दार बनेको आरोपमा विभागको जिम्मेवारी मुक्त गरेर पुनः जेल हालियो र कारबाहीमा परेका पुरानै विभागीय प्रमुखलाई सोही विभागको जिम्मा पुनः दिईयो भन्ने खबर पत्रिकाहरूमा छापिएको कुरा जेलमै त्यहीको पुरानो सिपाहीले विप्लवलाई सुनायो।

Dr. Rishi Raj Baral – Hatiyaar (Nepali Laghu Katha)

डा. ऋषिराज बराल – हतियार (लघु कथा)
(Source: गोरखापत्र)

पार्टीमा शुद्धीकरण र फौजीकरणको अभियान चलेको थियो । सबै क्षेत्रका कार्यकर्ताहरू जनमुक्ति सेनामा जाने निर्णय भएको थियो । मोर्चाबाट सेनामा जानेहरूको सूची, पद र कामको विवरणको जानकारी पनि गराइएको थियो । लामो अवधिसम्म सांस्कृतिक मोर्चाको विभिन्न पदमा बसेर काम गरिसकेको कमरेड प्रवीणको नाम पनि जनमुक्ति सेनामा जानेमा परेको थियो ।

सबैलाई जम्मा गरियो र वैचारिक प्रशिक्षण पनि दिइयो । युद्धमोर्चा पनि तोकियो । थप भेटघाट र विशेष निर्देशन दिने काम पनि भयो ।

कामको सुपरिवेक्षण र अनुगमन गर्न विशेष कार्यदल तत-तत् क्षेत्रमा तीन महिनापछि आउने कुरा पनि सुनाइयो । हातहतियार र गोलिगट्ठा पनि सबैलाई थमाइयो । सबैले खुसी भएर आआफ्नो झोला बोके ।

कमरेड प्रवीण भने केही बोलेन , मौन, चूपचाप र गम्भीर देखियो ।

कार्यदलका कमाण्डरले फेरि उनै कुरा दोहोर्‍याए ।

प्रवीणले आफ्नो कुरा राख्यो—”खोइ मेरो हतियार ?”

“तपाईंलाई यत्रो अत्याधुनिक हातहतियार र गोलिगट्ठा दिइएको छ ,फेरि तपाईं ?”—कमान्डर झोक्कियो ।

प्रवीणको अनुहार व्यङ्ग्यात्मक देखियो ।

एकछिन त कमाण्डर केही नबुझेझैँ गरी घोरियो । त्यसपछि एक जनालाई अरायो र प्रवीणको सामु झोला राख्दै भन्यो- “ल यसमा अरू तीन सय गोली छन् ।”

प्रवीण भने केही बोलेन । उभिरहृयो, मौन र गम्भीर भएर । अनुहारको भाव अर्कै थियो- एकदमै व्यङ्ग्यात्मक ।

“तपाईंले मलाई खास हतियार नै दिनु भएको छैन ?”

कमाण्डरको अनुहार एकदमै भिन्नै भयो- आक्रोशित ।

“तपाईंले क्रान्तिको मर्मलाई बुझ्नु भएन कमरेड ?”

“बुझेर नै मैले बन्दुकसँगै कलम पनि मागेको हुँ ।”

कमाण्डर रिसले थरथर काम्दै के के बोल्दै थियो ।

प्रवीण कमरेड भने व्यङ्ग्यात्मक अनुहार लगाएर एकटकले कमाण्डरतिर हेरिरहेको थियो ।

माघ-२०, २०६५

Kusum Gyawali – Karyabahi Sifaris (Nepali Laghu Katha)

कुसुम ज्ञवाली – कार्यवाही सिफारिस (लघुकथा)

एउटा राष्ट्रिय दैनिकले छापेपछि सुनुवाई भयो, चौथो अंगको दवाव शक्ति वास्तवमै प्रभावशाली हुन्छ। पत्रकारले आफ्नो मतराखे। राजधानीको एउट होटेलमा बसेर भविष्यवाणी गर्ने, सबै खाले रोग निको पार्ने र सम्पूर्ण मनोवैज्ञानि समस्या वा सामाजिक समस्या ग्यारेण्टीकासाथ समाधानको नाममा ठगी गरेको विदेशी ठग ज्योतिषलाई पुलिसले गिरफ्तार गरेपछिको प्रतिकृया दिदैं थिए सोही राष्ट्रिय दैनिकको पत्रकार महोदय।

वास्तवमा भन्ने हो भने, लोकतन्त्र भनेको यही हो। प्रेसले इस्यू सार्वजनकि गर्ने वित्तिकै सरकारले जनताको सरोकारको विषयमा गम्भीरतापूर्वक छानविन थालेको छ। देशमा देशमा जनताको शासन हुनुको एउटा उदाहरण हो। समाचार आउने वित्तिकै कार्यवाही बढाई सकेको छ गृह मन्त्रलयले। देश र जनताको हितमा हाम्रो पार्टी कटिवद्ध छ ……। सोही मञ्चमा सत्तारुढ नेताले।

हाम्रो अथक प्रयास र निरन्तर शसक्तिकरण गर्ने अभियानको सफलताले गर्दा आज यस्ता ठग व्यक्ति पुलिसको हिरासतमा वस्न वाध्य भएका छन्। गैरसकारी संस्थाका कार्यक्रम निर्देशकलैे आफ्नो एन.जि.ओ.को लोगो देखिने गरी भिडियो खिच्न खटाइएका क्यामरा भ्यानतिर फर्केर कुर्ले। प्रतिपक्षमा रहेको एउटा सानो पार्टीको पुराना नेताले सत्तासीन दलहरुलाई यस्ता जनताको सारोकारका विषयमा गम्भिर भएर काम गरेमा आफ्नो दलले रचनात्मक सहयोग गर्ने बचन दिए। टिभिमा सो रिपोर्टिङ्ग जारी नै थियो।

अर्कोतर्फ भव्य महलमा डिएस्पी सा’बले भने टेलिभिजनमा देखिएको यी दृश्य हेर रेडलेवलको रात्री चुस्को लिदैं थिए। श्रीमतीले रोष्टेड चिकेन थप्दै भनिन, किन हो। आज त निकै खुसी देखिस्या छ नि। आन्दोलनमा गोली चलाएकालाई कार्यवाही गर्ने भन्ने रायमाझीले हल्ला चलाएर टेन्सन भा’थ्यो। आज आनन्द भा’छ। डिएस्पी साबले भने! श्रीमती पक्क परेर मुखमा हेरी मात्र रहिन। हेर बुढी त्यो ज्योतिसिकोमा जाऊ भोली के होला सोधौ भन्थिस नि! आज मैले केटाहरुलाई पठाएर यही हनुमानढोका ल्याउन पठाएर मेरा हात देखाए। कारवाही हुने ग्रह दशा नै छैन रे। म त बल्ल ढुक्क भए। डिएस्सपीले टेलिभिजनतर्फ हेर्दै थपे यस्ता स्वांठ त नेता छन्। हनुमानढोका बोलाउने बित्तिकै कार्यवाही हुन्छ भन्ठान्छन् मुर्खहरु। यस्ता नेता भएपछि पनि हामीलाई कार्यवाही हुन्छ? डिएस्पीले अर्को पेग थपे।