Dr. Rajendra Bimal – Rato Passport

डा. राजेन्द्र विमल – रातो पासपोर्ट
(असोज मधुपर्क, २०६८)

गजफै भयो ! दुई थान सक्कली सांसद्ज्यूहरू र दुई थान नक्कली सांसद्ज्यूहरूलाई खोरको शोभा यसरी बनाइयो, जसरी तामाभित्र हीरा हालेर बाँडाले औँठीको शोभा बढाइदिन्छ । राष्ट्रिय कारागारको चर्चित ‘आइटम’ बन्न पाउनु उहाँहरूका लागि जातीय गौरवको ऐतिहासिक उपलब्धि हो । जिन्दगीको एकएक छिन पनि मज्जाले काट्न साईबाबाको कृपा चाहिने हामी भोकानाङ्गा नेपालीहरूका लागि तात्तातो पाकमा झुरुमझुरुम गरी तयार पारिएका वफाउँदो जेरीजस्तो स्वादिलो ताजा समाचार हो ।

यी कुलगौरवहरू किन झ्यालखाना परे, यिनको भूत, वर्तमान, भविष्य के छ त्यो जान्नु पी.एच.डी.को विषय हो-होइन, त्यसबारेमा त्रि.वि., केन्द्रीय विभागका प्राध्यापकहरूमा विवाद छ तर इन्टरपोल, नेपाल प्रहरी वा नेपाल सरकारको मन्त्रिपरिषद्मा कुनै विवाद देखिएन ।

गएको माघ महिना दुई जना एम.पी.साहेब रातो पासपोर्ट अर्थात् कूटनीतिक राहदानी बोकेर युरोप र अमेरिकाको भ्रमणका लागि पुष्पक विमानबाट आकाश-मार्गतिर लागे । इत्तेहाद एयरलाइन्सबाट अस्टे््रलिया उडेकोमा उनीहरू अबुधाबी ट्रान्जिटमा समातिए । त्यहाँ रहेको अधिकारीलाई रातो पासपोर्ट देखाउँदा अधिकारी झस्कियो -मानौँ, त्यस रातो पासपोर्टभित्र रहेको गोमनको रातो जिब्रो ल्यापल्याप गर्दै थियो । उसले महान् राष्ट्रका महान् सभासद्लाई एकछिन नियाल्यो, यस्तो नियाल्नुका अभ्यस्त यी सांसद्हरू के अत्तालिन्थे ? अटल हिमालको देशमा अटल सांसद्को नक्कली नाउँ पनि अटल सिंह रहेको हुँदा उनी टल्नेबाला थिएनन् । त्यस्तै उनकी तथाकथित श्रीमती सांसद् कलियुगी देवी पनि कालोरूप धारण गरी उभिइन् । अधिकृत साह्रो स्वरमा बोल्यो-“मिस्तर अतल । हाम्लाई इन्तरपोलले खबर गरेको छ, तपाईंहरूको यो रातो पासपोर्त नक्कली रहेछ ।”

त्यस मान्छेले दुवै नक्कली सांसद्लाई डोर्‍याएर लिˆटतिर लगे । लिˆट दसौँ तल्लामा रोकियो, जहाँ एउटा धम्मरधुस, दाह्रीवाल मुसलमान घुम्ने मेचमा बसेको थियो । लग्ने हाकिमले अरबी भाषामा केके बोल्यो । दाह्रीवाल भुँडे हाकिमको अनुहार कठोर हुँदै गयो । उसले दुवै हात उचालेर मन्त्रजस्तै केही फलाक्न थाल्यो । संभवतः कुरआनपाकका आयतहरू थिए अथवा दरुदशरीफका हरफहरू, यी नेपालीहरूले बुझ्न सकेनन् । त्यसपछि मौलानाका जस्ता दाह्री भएको हाकिमले आफ्ना आग्नेय दृष्टि यी बबुरा, बेइमान नेपालीतिर प्रक्षेपित गरेर मेसिनगनबाट गोलीको बौछार गरेझैँ प्रश्नहरू वषर्ाउन थाले ।

“हजुरहरू यति महान् व्यक्ति भएर पनि यस्ता नक्कली, जालीफटाहा काममा संलग्न हुँदा सुहाउँदो काम भएन ।”

“जाली, फटाहा भएरै पो महान् बन्न पाइयो ।” -नक्कली अटलसिंह बनेका चौअनियाँले जवाफ दियो ।

“धत् ! यो के कुरा गरिबक्सेको ? फट्याइँ नगर्ने असली भगवान्हरू, महापुरुषहरू छैनन् ?” चेलोले गुरुलाई प्रश्न गरेझैँ हामिकले प्रश्न गर्‍यो ।

हाम्रो देशमा भगवान् भनाउँदा र महापुरुष भनाउँदाहरूको नक्कलीपन र द्वैध चरित्रको कुरा गरियो भने त दिन त्यसै बित्छ । लौ भैगो भगवान्को कुरा, तपाईंले असली मान्छे भेट्टाउनु भयो भने भन्नुहोला ।”-जहन्नुमी बेगमले जवाफ दिई ।

“किन ? आठ अर्ब मान्छेमा कोही असल छैन ?”

खै, मैले त कतै भेटिनँ । भित्रको मान्छे अर्कै र बाहिरको अर्कै बनेर, दिनभरि आफ्नै अनुहारलाई सयथरीको मखुण्डो बनाएर छिनछिनमा फेर्दै हिँड्ने मान्छेलाई तपाईं असली मान्छे भनेर पत्याउन सक्नुहुन्छ ?” नक्कली सांसद् सिंहले प्रतिप्रश्न गर्‍यो ।

“होइन यो हजुरको अलिकति नकारात्मक सोच हो । यस्तो सोचले नै हो संसार ग्याँसच्याम्बरमा परिणत भएको । संसारमा सकारात्मक सोच भएका मानिसहरू सधैँ रहेका छन्, रहने छन् र तिनकै सकारात्मकताले संसार बाँचेको छ । हाकिम आशावादी देखियो ।

“झूठ ! बिल्कुल झूठ ! संसार टिकाउने शक्ति छ ती व्यक्तित्वहरूमा जसको हातमा राजनीतिक शक्ति छ र ती सबै जाली, फटाहा, कपटी, स्वार्थी, षड्यन्त्री, हिंस्रक, अहङ्कारी, कामाशक्त र द्वैधचरित्रका हुन् । त्यसैले म त संसार नकारात्मक शक्तिमा बाँचेको देख्तछु ।” के सोचेर हो, चौअनियाँ एक्कासि हाँस्न पो थाल्यो ।

“हा….हा…..हा….हा….हा…! अमेरिकासित शक्तिशाली बम छ भने चीनसित पनि छ । एउटाले हान्यो भने अर्कोले पनि हान्छ । अनि दुइटैमा मर्नुपर्छ भन्ने डर जबसम्म छ यो संसार बाँचिरहने छ । भय र आतङ्कमा बाँचेको अनौठो शक्ति सन्तुलनको यो संसार !” चौअनियाँले चौअनियाँ मुस्कान दियो ।

“सिंह वनबाट सिंह विलुप्त हुँदै गएजस्तै मान्छेको जङ्गलबाट मान्छे विलुप्त हुँदै गएको यो संसार ।”-जहन्नुमी बेगम दुःखी देखिई ।

“जति ठूलो बेइमान त्यति महान् हुने यो

संसार !……किसानहरू, मजदुरहरू, श्रमजीवीहरू कम बेइमानी गर्न पाउँछन् वा गर्न सक्छन्, त्यसैले ती सबभन्दा तल परेका छन् । मान्छेलाई उल्लु बनाई पछिपछि लगाएर मात्र होइन, कि त मारेर वा सहिद बन्न उल्काएर, उनको लासलाई कुल्ची सत्ताका सिंहासनमा बस्न सफल हुने नेताहरूकै हातमा मानव जातिको वर्तमान र भविष्य रहेको यो संसार !!”-चौअनियाँले खुइय्य सुस्केरा काड्यो । हाकिमले सोच्यो-“मान्छेमा सुन्दर संसारभित्र बाँच्ने आकाङ्क्षा उसको जिजीविषा बाँकी रहेछ, यसैले बँचाएर राख्छ संसारलाई । यो संसार त्यसै ध्वस्त हुँदैन । यो संसार सुन्दर अवश्य बन्ने छ ।” मनमा आशाका थुप्रै किरणहरू झुल्किए र ऊ जुरुक्क उठ्यो-“हस् त नक्कली सांसद्ज्यूहरू-दुवैथरी ! हजुर म पनि त कहाँ असली मान्छे हुँ र ? नक्कली व्यवस्थाको पङ्खामा नटभोल्ट भएर हामी फनफन्ती घुम्दै छौँ । यो व्यवस्थाले नै हो हाम्रो जीवनलाई नक्कली बनाएको । जीवनको घाम डाँडा काट्न लागेको बेलामा मेरो मनले भन्छ, हामी बदलियौँ भने व्यवस्था बदलिन्छ ।”

त्यसपछि फरिस्ताजस्ता देखिने त्यो ठूलो हाकिमले हुकुम गर्‍यो-“यी नक्कली नेपाली सांसद्हरूलाई असली सम्मानसाथ आफ्नो बुद्ध र जनकजस्ता महान् ऋषिमुनिको देशमा फर्काइदिनु । यिनका विषालु तर्कहरूले हाम्रा सन्तानलाई पनि एकैछिनमा भ्रष्टाचारी बनाइदिनसक्छन् । म यिनको विलक्षण नेपाली वाक्कलाबाट औधि प्रभावित छु र यस्तै तीक्ष्ण नकारात्मक बुद्धिले नेपाल उत्तरोत्तर उल्टो दिशामा भयङ्कर प्रगति गर्दै गएको तथ्यसित परिचित भएको छु । धन्यवाद ।

परिस्थितिको गम्भीरता हेर्दै विचरा नक्कली सांसद् चौअनियाँले सोच्यो-‘त्यो मोरो इन्टरपोलको मान्छे पनि असली थियो कि नक्कली, के ठेगान ? हाम्रो शत्रु करमुद खान सञ्जालको मान्छे हुनसक्छ तर पनि अब लोप्रेकान लाएर नेपालै फर्किनुमा कल्याण छ ।

उनीहरू राति एउटा होटेलमा बसे र ती असली सांसद्लाई गाली गर्न थाले, जसलाई डेढडेढ करोड रुपियाँ तिरेर उनीहरूले यी कूटनीतिक राहदानी लिएका थिए । आफूहरू नक्कली राहदानी बोकेकोमा चिन्ता थिएन तर ठूलाठूला सूटकेसभित्र जुन नक्कली अफिम थियो त्यसको चिन्ताले रोमान्समा बाधा दिएको थियो । चौअनियाँ र जहन्नुमी चिठ्ठामा परेको रोमान्स गर्ने यो दुर्लभ मौका आँखीभौँ चुमुक्क पारी चिन्ता र तनाउमा गुमाउन चाहन्नथे । त्यसैले उसलाई यत्रतत्र-सर्वत्र कुत्कुत्याउँथे र भन्थे -“पासपोर्ट नक्कली, तस्करीको अफिम नक्कली र हामी लोग्नेस्वास्नी नै कहाँ सक्कली हौँ ? तँ कहाँकी, म

कहाँको ? तेरो असली नाउँ जहून्नमी बेगम, मेरो नाउँ चौअनियाँ यादव । तेरो नक्कली नाउँ कलियुगी देवी, मेरो नक्कली नाउँ अटल सिंह । त्यो डेढ करोड रुपियाँको कुरा पनि थाहै छ ।” यति भन्नासाथ दुवै मरीमरी हाँस्न थाले र रातभरि थकाइ नमारी फिस्टाफिस्टीको प्रणयलीला दोहोर्‍याइतेहेर्‍याइ रहे ।

नेपाल पुगेपछि परराष्ट्र सचिवले ती दुवै नक्कली दम्पतीलाई नक्कली पासपोर्टसहित समातेर ल्याउने आदेश दिए ।

सचिवले अलिक कड्केर सोध्यो-“तपाईंहरूले बोकेको राहदानीको फोटोकपिको फोटामा भएको अनुहार र कूटनीतिक राहदानी जारी हुँदा परराष्ट्र मन्त्रालयमा पेस गरेको फोटोको अनुहार मिल्छ ?”

“मिल्दैन !”

“संविधानसभा परिचयपत्रको फोटोकपिको अनुहार र राहदानी लिँदा पेस गरेको फोटोको अनुहार मिल्छ ?”-सचिवले फेरि सोध्यो ।

“मिल्दैन !”

“अनि ?”

“अनि के ? “उल्टै कठोर भए नक्कली दम्पत्ति ।

” तपाईंहरू जाली, किर्ते, नक्कली होइन ?”

” जुन दिन मेरो जन्म भयो त्यसदिन मेरो बुबाले खोटो चौअन्नी पाएका थिए । त्यसैले मेरो नाउँ चौअनियाँ भएको हो ।”

” तपाईहरू सांसद् हो ?”

“होइन !”

” तपाईंहरू कोको हुनुहुन्छ ? कहाँकहाँको मान्छे हुनुहुन्छ ? आफ्नो पूरा हुलिया-ठेगाना बताउनुहोस्, नत्र….”सचिव राँको ओकल्दै थिए ।

” सुन्नुस्, हामी यहाँ फोकटमा केही गर्दैनौँ-क्याँट गन्छौँ, क्याँट ।”जहन्नुमीले नोट गनेको स्वाङ पारी ।

” म बङ्गलादेशमा जन्मिएँ । मोहम्मद कासिम मेरो अब्बाजानको नाउँ हो । पाकिस्तान-बंगलादेशको युद्ध हुँदा मेरा एक जना साथीका पिता जसको नाउँ मोहम्मद रोस्तम हो, यहाँ हाकिमलाई यही क्याँट गनेर यहाँको नागरिक भए । मलाई आफ्नी छोरी बनाएर उहाँले नागरिकता दिलाउनुभयो । अहिले मेरो खानदानै नेपाली भइसक्यो-मधेस आन्दोलनताक । जहन्नुमी एकछिन चूप लागी र फेरि प्वाक्क बोल्न थाली- “हामी तीन ठाउँका नागरिक हौँ-बंगलादेश, भारत र नेपाल । तीनै ठाउँमा तस्करीको धनले हामीले ठूलठूला उद्योगधन्दा चलाएका छौँ ।”

” केकेको उद्योग छ ?”

“तपाईलाई थाहा छैन ? नक्कली औषधि, नक्कली ड्रग्स, नक्कली रक्सी, नक्कली हीरा, पोखराज आदि पत्थरहरू, नक्कली जडीबुटी र रुद्राक्ष आदि कैयौँ उद्योग-व्यापारहरू देशभरि छ्याप्छ्याप्ती फिजाएका छौँ हामीले । तर त्यसै होइन, क्याँट तिरेर ।”

सचिव उसको निर्भीकताबाट प्रभावित हुँदै थियो । ‘क्याँट-क्याँट’ शब्दको उच्चारण धेरैपटक गर्दा, त्यस शब्दमा मन्त्रको प्रभाव आएको थियो । त्यो हिन्दू धर्मावलम्बी सचिव यस मन्त्रबाट सम्मोहित भयो । त्यसले क्याँटको प्रसङ्ग बढाउनै चाहेको थियो तर यति छिटो एउटी आइमाईको अगाडि नाङ्गिनु उचित लागेन । त्यसैले संयम भयो तर आइमाईहरू यस्ता कुरा गम्न खप्पिस हुन्छन् । त्यसैले उसले कारबाट घिसारेर ल्याएको एउटा स्यानो बोरा झिकी, त्यसभित्र रहेको क्याँट खोलेर देखाई र विनम्र स्वरमा बोली-“यो सरलाई उपहार !”

” ठीक छ, ठीक छ”-सचिवले अहिलेसम्म गुरु, गंभीर बनिरहनु उचित ठान्यो- ” यसलाई मेरो टेबलमुनि सार्दिनोस् ।”फेरि त्यो चौअनियाँ यादवतिर फर्कियो-

“तपाईंको पूरा परिचय ?”

“म…..म…..म ?”-एक्कासि चौअनियाँ यादवको रक्तचाप बढ्यो- “मलाई चिन्नुहुन्न ?” तपाइर्ंलाई थाहा छैन ? तपाईंको बी.ए.को नक्कली प्रमाणपत्र मैले बीस हजारमा बेचेको ? भन्दिऊँ ? भन्दिऊँ मिडियालाई

सबैकुरा ??”

सचिव गिड्गिडाउन थाल्यो- “यस्तो अन्याय नगरिदिनोस् सी.वाई.सर ।” आज म सचिव हुँ, त्यो तपाईंकै कृपाले । यो सोधपुछ त औपचारिकता मात्र हो, सर । के गर्ने ? जागिर खानलाई ।” वाक्य पूरा नगर्दै सचिव उठ्यो र चौअनियाँ यादवको खुट्टा छुन थाल्यो । चौअनियाँले फेरि भन्यो-“चूप लाग्नोस् डंगोलज्यू । यो देश नै नक्कली मान्छेहरूले चलाएको छ । तपाईंलाई थाहै छ, मेरो सिङ्गो जीवन नक्कली रहेको छ । क्याँट दिएँ, क्याँट लिएँ । कहिले बनारसको नक्कली नेपाली बाबा बनेर त्यहाँको एउटा मन्दिरको भए जतिको श्रीसम्पत्ति हात पारेँ । फेरि सबै बेचबाच पारेँ । सुपाडी लिएर मान्छे मार्न थालेँ । केन्द्रीय नेताहरूको बुथ कैपचरिङ मेरो गिरोहले ठेक्कामा लिन्थ्यो । कोठी चलाउँथ्यो र ठूलठूला उद्योगपति, नेता र विदेशी पर्यटकहरूलाई सप्लाई गर्थेँ । अनेक जुक्तिले अकूत सम्पत्ति आर्जन गरेको छु । मैले भण्डाफोर गरेँ भने नेपालका अनेक महान् हस्तीहरूका गोडामुनिका जमिन भासिन्छन् । लौ छोड्दिनुस् र मलाई मुक्त गरिदिनुहोस् । जहन्नुमीले ठीकै भनिन्-यो संसार अहिले दुई नम्बरको बाटो समाउनेहरूको हातमा छ । जुन दिन एक नम्बरको बाटोमा हिँड्नेहरूको हातमा आउनेछ, त्यसदिन हामी र हाम्रा सन्तानले फेरि सोच्ने बेला आउँछ । अहिले म सक्कली मान्छे भएर बाँच्न खोजेँ भने मेरै आपराधिक सञ्जालका मानिसहरूले मलाई गोली हानेर मार्छन् । अनि तपाइर्ंले आत्मपरिवर्तनको कुरा गर्नुभएको हो कि चोला परिवर्तनको ? चौअनियाँ पेट मिचिमिची हाँस्न थाल्यो ।”-हा…..हा…..हा….हा…..कसले गर्छ परिवर्तन ? संसारको सबभन्दा शक्तिशाली राष्ट्रको राष्ट्रपतिले ? मैले पी.एच.डी. गरेको हुँ । योग्यताअनुसारको जागिर नपाएपछि म दुई नम्बरको बाटोमा हिँड्न बाध्य भएको हुँ ।….मेरा…बा….मेरी….आमा…..मेरी बहिनी…..एकएक गरी सबै कसरी संसारबाट बिदा भए, म कसरी बिर्सुं ?” यति बोलिसकेपछि सी. वाई. सर. रुन थाले ।

सचिव अकमक्क पर्‍यो । आफूलाई समालिसकेपछि चौअनियाँ यादव फेरि बोल्न थाल्यो-“स-साना बच्चाहरूलाई देख्नुभएको होला ? स-साना दूधे बच्चाहरूसँगै खेल्छन् । एउटा हातमा चकलेट हुन्छ, अर्कोलाई पनि खाने इच्छा जाग्छ तर ऊसित हुँदैन । उसले माग्छ, दिएन भने ठगेर भए पनि, लछारपछार गरेर भए पनि खोस्न खोज्छ । भन्छौँ उसलाई बुद्धि छैन अहिले । ऊ ठूलो हुन्छ । उसलाई कुनै केटी मनपर्छ, अनि ऊ जिद्दी गर्छ-“आमा मलाई त्यही केटी चाहिन्छ । ऊ अझ ठूलो हुन्छ । देशमा राजनीतिज्ञ बन्छ, अनि जिद्दी गर्छ-‘मलाई प्रधानमन्त्रीकै कुर्सी चाहिन्छ ।” त्यसका लागि रगतको खोलो बगाउन तयार हुन्छ । त्यसैगरी, अमेरिका, चीन, जापान, भारत वा अन्य कुनै शक्तिराष्ट्रको सर्वाधिक शक्तिशाली राष्ट्रपति वा प्रधानमन्त्री बन्छ र एउटा बच्चाले अर्को बच्चोसित चकलेट खोसेजस्तै अर्को देशका स्रोत-सम्पदा हात पार्न, तेलको खानी कब्जा गर्न, त्यस देशमाथि निर्ममतापूर्वक अविरल बम वषर्ा गर्छ । तपाईं नै भन्नोस, चकलेट खोस्ने त्यो बच्चोमा, मन्त्री वा प्रधानमन्त्रीको कुर्सी खोस्ने नेतामा वा तेलका लागि अथवा अन्य प्राकृतिक सम्पदाका लागि अर्को देशमाथि बम वषर्ा गर्ने शक्तिराष्ट्रका राष्ट्रपति वा प्रधानमन्त्रीमा के फरक

छ ? के यी सबै बच्चै होइनन् ? के यी सबै नक्कली जीवन बाँचिरहेका छैनन् ?”

सी.वाई.सर स्याँस्याँ गर्न थालेका थिए । डंगोल ढुङ्गाका मूर्तिझैँ स्तब्ध थिए । उनले विस्तारै घन्टी थिचे । कार्यालय सहयोगी आयो । उनले भने-“पानी” ! पानी आयो । सी.वाई.सरले खाए र पागलझैँ फेरि बोल्न थाले- ” तपाईंका सभासद्हरूमध्ये एउटाले अर्कोलाई सभा भवनभित्रै चप्पल हान्छ, हत्याको आरोप लगाउँछ । यो भन्दा अगाडि सयौँ पटक राहदानी दुरूपयोगका मामिलाहरू आए र त्यसै गए । कुनै युवालाई प्रहरी निरीक्षक बनाइदिन्छु भन्ने प्रलोभन दिएर एकलाख रुपियाँ घुस लिइरहेकै अवस्थामा एउटा सभासद् रङ्गे हात पक्राउ पर्छ । प्रहरीको मस्ट वान्टेड सूचीमा परेका सांसद्हरू छाती फुकाएर संसद् भवनभित्र र बाहिर हिँड्छन् । संसद् भवनभित्र केही सांसद् दिनदहाडै बन्दुक लिएर प्रवेश गर्छन्, केही सांसद्हरू कोठीमा फेला पर्छन्, कोही आफूलाई राम्रो गाडी नपठाएकोमा प्रमुख जिल्ला अधिकारीलाई तिरिमिरिझ्याइँ देख्नेगरी थप्पड हान्छन् । कतिले चोरीको गाडी देखाइदेखाइ चढ्छन्, कतिपयहरू रुख तस्करी, चन्दन चस्करीमा लागेका छन् । संसद् भवनभित्र अर्थमन्त्रीलाई बजेट पेस गर्नै लागेको बेला लछारपछार गर्दै कुट्छन् । संविधान समितिको बैठक चलिरहदै गर्दा चौथो तल्लाबाट तल कुर्सी ˆयाक्छन्, यी तपाईंकै मातृभूमिका भाग्यविधाता कहलाउने । के यिनको चरित्र नक्कली

होइन ? लोक वा जनताले हराएकालाई समानुपातिक चुनाउलाई आधार बनाई प्रधानमन्त्रीसम्म बनाउने व्यवस्थालाई असली लोकतन्त्र भन्ने कि नक्कली ?”

जहन्नुमीयाले थपी-“फेरि जुन दलले काखी च्यापेर उसलाई प्रधानमन्त्री बनायो उसैले त्यस दलको खैरो खन्न थाल्यो । के यो सत्ताको फोहोरी खेल होइन ? लोकतन्त्रको असली खेल हो कि नक्कली ?”

जहन्नुमीले फेरि थपी-“सबैलाई क्याँट चाहिन्छ क्याँट । क्याँटले नै पावर आउँछ, पद आउँछ, प्रतिष्ठा आउँछ, ठूलठूला डिग्री आउँछ, सुख-सुविधाका सामान आउँछ । सबैको जरो हो क्याँट । …..बुझ्नुभयो सचिवज्यू । त्यसैको लागि सत्ता पाउन तँछाड-मछाड छ । असली-नक्कलीको चक्करमा नफस्नोस् । …..मातृभूमिका लागि आफू होइन, आफूहरूका लागि मातृभूमि चाहिन्छ ।

यो कुरा सुनेर सचिवलाई के भयो कुन्नि, रुन पो थाल्यो । बाहिर झमझम पानी पर्न थालेको थियो । त्यसैबेला पाँच जना प्रहरीले संसद् भवनबाट बाहिर निस्किनासाथ असली अटलसिंह र कलियुगी देवीलाई अदबसाथ लिएर आए । उनलाई सचिवले स-सम्मान कुर्सी दिए । अनि ठट्टा गर्ने मुडमा सी.वाई.सरलाई सोधे “होइन, सी.वाई.सर, यिनी असली अटलसिंह हुन् ?”

“कहाँको हुनु ? यिनी पटलसिंह हुन् ?” यिनको घर पनि बिहारमै छ । मधेस जागरण दलका अध्यक्षज्यूको कृपाले यिनी सभासद् छन् । यिनी सोह्रै आना नक्कली हुन् । अटलसिंह यिनका दाजु थिए, नेपालका नक्कली नागरिक ।

एम.ए.को नक्कली प्रमाणपत्रको भरमा दस जना युवासित नक्कली कलेज खोलेर नक्कली प्राध्यापक बनेका थिए । समानुपातिक तर्फका नाउँका सूची बनाउँदा तिनले अध्यक्षज्यूलाई बीस लाख रुपियाँ दिएका थिए तर ती मरे । उनको शैक्षिक प्रमाणपत्र र नागरिकता प्रमाणपत्र लिएर यी अटलसिंह बनेर मोज गर्दैछन् । तिनै अध्यक्षकी यी कलीयुगी देवी रखेल थिइन्, यिनी पनि समानुपातिकमै ….?”

अटलसिंहलाई झ्वाँक चल्यो । कराएर बोल्न थाल्यो-“सचिवज्यू, यो मोरो चौअनियाँलाई त मैले गोली हान्दा पनि पाप लाग्दैन । म फाँसीमा झुण्डिए पनि गम छैन ।” यति भनेर उसले नक्कली लाइसेन्स भएको पिस्तोल गोजीबाट झिक्यो । प्रहरीहरूले हात समाइहाले । “के भयो, के भयो अँ, सांसद्ज्यू ? ?” सचिव अत्तालिए । “सर, यसलाई मैले नक्कली रातो पासपोर्ट बनाउन दिएँ । यसले मलाई दिएको डेढ करोड नोट, सबै नक्कली ठहरिए !!”-सांसद्को यो कुरा सुनेर सचिवले आˆनो टेबुलमुनि रहेको उपहारको बोरातिर पुलुक्क चिहायो तर बोलेन । त्यत्तिकैमा सचिवलाई एउटा फोन आयो । उसले फोन उठायो र कुरा गर्न थाल्यो । उसको मुखबाट घरिघरि अत्तालिएको स्वर निस्किन्थ्यो-

“अँ ? अँ ?…..अरे, यो त अँधेरै भयो !….लौ, लौ !”

सचिवलाई चिटचिट पसिना आएको देखेर अटलसिंहले सोध्यो-“के भयो, सचिवज्यू ?”

“ब्याड न्यूज ! भेरी ब्याड न्यूज !!…..सर तपाईंले नक्कली राहदानीबाट जुन डेढ करोड पाउनुभएको थियो, त्यो त नक्कली थियो, तर अनेक छलबलले तपाईंले ती नोट बजारमा चलाउन सफल हुनुभएको बुझिन आयो । अनुसन्धान विभागको सूचनाअनुसार, ती नोटले तपाईंले जुन सिमेन्ट, गिट्टी, डण्डी किन्नु भयो र चारतले घर ठोक्नुभयो, ती सब नक्कली परेछन् । अहिलेको वषर्ामा तपाईंको त्यो महल गल्र्यामगुर्लम्म ढलेछ रे ! त्यसैमा कलयुगीज्यूका बालबच्चा पनि परे अरे ।”

त्यसपछि जहन्नुमीको फोन बज्यो……टि्रङ…. टि्रङ…… टि्रङ…..। फोन उठाई स्पिकर अन थियो-“हलो, हलो, म तेरो बाबा बोलेको, बङ्गलादेशबाट…..हलो……म मोहम्मद कासिम……तेरो बाबु……”

“हजुर, भन्नोस् बा ?”

“तैँले दिएको फोन नम्बर नक्कली रैछ । मैले सक्कली नम्बर तेरो साथीबाट बल्ल पाएर फोन गर्दैछु ।”

“ठीक छ अब्बाजान ! त्यहाँ कस्तो छ ।”

“ठीक छैन बेटा ।” उतातिरबाट बूढो आवाज आयो-“तरकारीमा हालेको मसला नक्कली परेर तेरी आमालाई फुडप्वाइजनिङ भयो, अस्पतालले ढुसी परेको नक्कली सलाइन चढाइदियो …..झण्डै खुस्केकी थिई । ऊ बेहोसीमा पनि छटपटाएको देखेर अब बाँच्तिन कि भनेर असहृय वेदना हुन थाल्यो । म सहन सक्तिन बेटा, उसको विछोड !….अनि…..अनि” बूढोको आवाज निकै भावुक थियो-“अनि, अनि बेटा, मैले राति विष खाइदिएको त साले नक्कली पो परेछ, म र तेरी आमासँगै छौँ सदर अस्पतालमा । तँ आइजा !”

खबर पाएकी जहन्नुमी रुन थाली । उसको रुवाइ रोकिएकै थिएन कि सम्मानित अन्तर्राष्ट्रिय व्यापारी चौअन्नीलाल यादवले खबर पाए-“आफ्नै कारखानामा तयार पारिएको नक्कली र विषालु जाँड खाएर उनको एक मात्र छोरो मरेछ र अहिले ढोका फोरेर मान्छेहरूले लास झिकेर आँगनमा राखेछन् ।

एकैछिनमा त्यहाँ चारै जनाको रुवाबासीले सचिवको कोठामा ठूलो खल्लीबल्ली मच्चियो । फेरि के भयो कुन्नि, चारैजना जर्‍याकजुरुक एकसाथ उठेर निस्किए र पागलझैँ सडकमा भाग्न थाले । सिंहदरबार अगाडि चार जना कुद्दै थिए र प्रहरीहरू हान्निएर उनीहरूलाई समात्न पछ्याउँदै थिए । विचराहरू, घर नपुग्दै समातिएछन् र परराष्ट्र मन्त्रालयको कडा आदेशले झ्यालखानाको शोभा बन्न पुगेछन् विचराहरू !!

मान्छेहरू नक्कली भए पनि झ्यालखाना भने असली थियो ।

Sushma Manandhar – Saathi (Nepali Laghu Katha)

सुषमा मानन्धर – साथी
(Source: मधुपर्क साउन, २०६७)

हतार हतार हिँडिरहेको उसले अत्यास लागेर एकपव्ट फेरि माथि हेर्यो । ऊ , … त्यो पहाडको टुप्पो । टुप्पोमा रहेको त्यो मन्दिर । ऊ त्यही पुग्नलाई हिँडेको छ । ठाडो उकालो र साँघुरो ढुङ्गे बाटोले गर्दा त्यहाँसम्म पुग्न विकट नै छ भन्ने जान्दाजान्दै पनि त्यहाँ साक्षात् ईश्वर बस्छन् र त्यहाँ पुगेपछि आफ्नो कुनै पनि कामना पूरा हुन्छ भन्ने आस्था र प्रचलित विश्वासका कारण उसले मन्दिरमा पुग्नुलाई आफ्नो गन्तव्य बनाएको छ ।

यात्रा थाल्दा ऊसँग सहयात्रीहरूका रूपमा एउटा निकै ठूलो जमात थियो । कस्तै गाह्रो परे पनि उनीहरूको साथ आफ्नो कठिन र लामो यात्रा सजिलै छिचोल्न सकिन्छ भन्ने आशामा ऊ हिँडिरहेछ । तर यात्रा नसकिँदै थाकेर, अल्मलिएको र गाह्रो भएर धेरैजनाले यात्राबाट बीचैमा उसको साथ छोडिसकेका छन् । निकै ठूलो भीडको रूपमा रहेका आफ्ना सहयात्रीहरू घटेर दुईतीन जना मात्र बाँकी हुन थालेकाले ऊ आत्तिन थालेको छ ।

लामो र उदेकलाग्दो बाटो । उसमाथि कहिले डढाउने घाम, कहिले झरी । आफ्नो अनवरत यात्रामा धरमराउँदै हिँडिरहेको बखत उसले देख्यो कि ऊभन्दा केही पर अलि दुब्लो देखिने एक व्यक्ति पनि ऊसँगसँगै हिँडिरहेको छ । डुब्न लागेकोलाई त्यान्द्रोको सहारा भनेझैँ उसमा थोरै भए पनि साहस पलायो । हुँदाहुँदा अन्तमा उसको साथ नछाड्नेमा त्यही दुब्लोव्यक्ति मात्र बाँकी रहन गयो । उसलाई छाडेर जाने साथीभाइहरूका के कुरा, ऊ आफैंले पनि यात्राको किचलो र कठिनाइसँग आजित भएर निकैपल्ट यात्रा छोड्न खोजेको थियो ।

‘यहाँसम्म त पुगिनैसक्यौ, फेरि किन हरेश खान्छौ ? हेर, कसैले साथ नदिँदा पनि म छु तिम्रो साथमा ।’ निराश भै फर्किन खोज्दा साथमा आउने दुब्लो साथीले बारम्बार सम्झाउँथ्यो । साथीको भरोसामा ऊ बढ्यो, बढ्दै गयो ।

धेरै दुःखकष्ट आए, त्यो साथीले उसको साथ छोडेन र अन्तमा साथीकै हौसलाले टुप्पोमा भएको मन्दिरमा पुगिछाड्यो । अथाह शान्ति थियो त्यहाँ र ऊ त्यतिबेलासम्ममा कामनारहित भैसकेको थियो । उसले पछाडि फर्केर आफ्नो उत्साह बढाउने साथीसँग उसको परिचय माग्यो । ‘अझै चिनेनौ मलाई ? म हुँ तिम्रो आडभरोसा, तिम्रो आफ्नै आत्मविश्वास ।’ साथीले उसको काँध थप्थपाउँदै हाँस्दै जवाफ दियो ।

Ganga Ram Dhakal – Shati Pratha

गंगाराम ढकाल – शतिप्रथा

धेरै बर्ष पहिला को कुरा हो कुनै गाँउमा चिरिञ्जीवी नामगरेका पण्डीत बाजे थिए । उनी त्यस ताकाका अति प्रख्यात पण्डीत थिए । चिरिञ्जवी पण्डीत भनेपछि उनलाई ठूला ठूला राजा महाराजाले पनि चिन्दथे । पण्डीत बाजेको यति ठूलो नाम चल्नुको कारण उनको ज्योतिष विद्याले पनि हो । ज्योतिष विद्यामा निपूर्ण भएको हुदा जसकसको पनि भाग्य रेखा दुरुस्त केलाउनु उनको कला नै थियो । उनका तिनवटी श्रीमती थिए । जेठी श्रीमती मनरुपा अठार बर्षको उमेरमा उनका बाबु आमाले नै मागी विवाह गरिदिएका थिए । तीन छोरा जन्मिए पछि विफरको बिमारबाट मनरुपाको मृत्यु भयो ।

मनरुपा ज्वरोले सिकिस्त हुदा के भयो भनेर सोध्ने फुर्सद सम्म पाएनन पण्डित बाजेले । श्रीमती बिफरबाट थला परिन । घर समाल्ने मान्छेको खाचो टार्न तथा बिमारीको स्याहार गर्न र साना अबोध बालबच्चाको खाना पिन गराउनको लागि बाजेले अर्को बिवाह गर्ने बिचार गरे । सम्पति प्रसस्त आर्जित गरेका पण्डितलाई खान लाउनेमा कुनै सुर्ता थिएन । दैनिक पूजा पाठबाट मात्रै पनि बोराका बोरा चामल घर भित्रिने गर्दथ्यो । मात्र समालिदिने मान्छे चाहिएको थियो पण्डित बाजेलाई । उनको अकुत सम्पति देखे पछि जो कोहिले पनि आफ्नी छोरी दिन आत्तुर भइहाल्दथे । पैतालीस बर्षका चिरञ्जीवी बाजेलाई आफ्नी तेह् बर्षिय कन्या अन्माउन तयार भए गाउँकै सेतु खनाल मुखियाले । बिवाहको लगन घेरियो र बाजा गाजाका साथ साथै जन्तीको धुइरोले सेतु मुखियाको घर ढाक्यो । गाँउका सवै जना बिवाहको उल्लाासमा लागे । कोही जन्ती तर्फका थिए भने कोही माइती तर्फका थिए । सवै जना आ¬आफ्नै काममा ब्यस्त थिए । ठिटा ठिटीहरु नाच्न गाउँनमा त भन्दा म राम्री हुदै ठाटीएर आएका थिए । तछाड मछाडको सिमा थिएन । बिवाह धुुमधाम संग भइरहेको थियो । सायद यस भन्दा अगाडि कसैले पनि यति ठूलो बिवाह भएको देखेका थिएनन । गाउँलेहरु सबै दंग परे ।

उता मनरुपालाई अन्तिम घडीले पच्छ्याई रहेको थियो । ती साना अवोध बालकहरु आमाको वरिपरि बसेर टुलु टुलु हेर्दै थिए । अन्तरहृर्दयको प्राण बाहिर भाग्नै आँटेको थियो । मनरुपाले अन्तिम बल गरेर आफ्ना तीनै छोराहरुलाई चारैतिर हेरिन र दुवै हातले आफनो अंगालोमा छोराहरुलाई घेर्दै आँखा फर्काइन । उनका खुट्टा तन्किए । शरिर दहरो काठ मुुडा पल्टिए जस्तो भयो उनको मुर्दा शरिर । यो खबरले सवैजना काने खुशी गर्न थाले । खवर दुलाहालाई नसुनाउने कुरा भयो । अवोध बालकहरुको काख छुटाइ मुर्दा शरिरलाई शुलीमा चढाइयो । आफ्नी आमालाई कात्रोमा बेरी बोकेर लगेको टुलु टुलु हेर्न बाहेक साना बालकहरु केहीगर्न सकेनन । मनरुपालाई घर नजिकैको बनपाखामा खाडल बनाइ गाडियो । यसरी एकातर्फ गृहलक्ष्मीको अन्त्य भयो ।

अर्को तर्फ अर्की गृहलक्ष्मीको स्वागतको तयारी भइरहेको छ त्यो चिरञ्जीवी पण्डीतको घरमा आज । घरपारीको डाँडाबाट बाजाको घन्घाहट आयो सारा मानिसहरुको धुइरो त्यतै तिर लाग्यो । अगाडि अगाडि नौमती बाजा घन्काइएको थियो भने दुलाहा र दुलहीलाई डोलीमा बोकी जन्तीहरु रमाउदै घरको आगनमा आइपुगे । गाउँका महिला बर्गहरु सबै दुलही हेर्न तर्फ भिड थियो । केही समयमा नै डोली भित्रियो । यसरी पण्डित बाजेको दोस्रो घरजाम भएको थियो –उमा सित ।

ठूला ठूला सप्ताह महायज्ञमा समेत तिनै चिरञ्जीवी पण्डितले प्रवचन गर्दथे । उनको प्रवचन सुन्न भनेपछि ठूला ठूला मन्त्री महाराजा समेत धुइरो लाग्दथे । प्रवचन पनि पण्डितको साच्चैकै मुक्त मुग्ध हुने गर्दथ्यो । पुराणका कहावत त उनलाई कतै पनि नअकमकाई सरर मौखिक नै भनिदिन्थे । उनको स्वर र लय सुन्दा भक्तहरु पानी खान समेत भुल्दथे । धन दौलत दान गर्नको सिमा हुदैनथ्यो । गाई दान, सुन दान, भूमी दान त पण्डितले अनगिन्ती । हिसाब किताब नै रहेन । उनको प्रवचन सुनेर उनको भक्त दानवीर तुलाधर शर्माले आफ्नी एघार बर्षिय कन्या दान दिने घोषणा गरे । सत्तरी बर्षका बुढा बाजेलाई दानीले दिएको दान फर्काइयो भने अपमान हुन्छकी भन्ने दुविधा भयो । केही बेर त उनी अकमकाएका थिए । सोच्न थाले अन्तत उनी कन्यदान स्वीकार्ने निधो गरे । सुभद्राको कन्यदानले पण्डितको तेस्रो घरजाम भयो । अर्थात तेस्री श्रीमती ल्याएका थिए बाजेले ।

बिधिको बिधान मानिस जन्मे पछि बुढो हुन्छ र मर्दछ । यसमा कसैको केहिलाग्दैन भने जस्तै ज्योतिषी बाजेले अरुको भाग्य रेखा जस्ताको तेस्तै बताए पनि आफ्नो दुर दशाको केही हेरकेर नै भएन । अन्तत पचासी बर्षको उमेरमा एक दिन बेलुका सुतेका बाजे बिहानबाट उठेनन । सारा गाउँ टोलमा पण्डित चिरञ्जीवी बाजेको मृत्यु को ढोल पिटीयो । सारा गाउँले मलामीको लाइन लागे बाजागाजाका साथ फूलमाला पहिराउदै पण्तिको मृत शरिर शुलीमा चढाइयो र मलामीको लस्कर आर्यघाट तर्फ लाग्यो । मलामीको साथमा त्रीपन्न बर्षीय उमा र एकतीस बर्षीय सुभद्रालाई पनि घेरा हाल्दै लगियो । पतीको शोकमग्न नारी माथी यति ठूलो बज्रपात भयो नै । उसै माथी मृत श्रीमानको शोलामाथी नग्न बस्त्र गरी जिउदो शरिरमा आगो लगाउन थालियो । ती करुण दुबै नारीहरु आफ्नो् प्राण नलिईदिन समाजसंग बिन्ति गरे । दनदन बलेको शोलको आगोबाट आच्छु बाबा पोल्यो भन्दै के बाहिर आएका थिए । सबै मलामीबाट ढुंगा र मुढाले हान्दै निहत्था नारीको जीवन लिला समाप्त गरियो ।

Mandira Madhushree – Bire Ko Sapana Ra Radio Ko Samachar

मन्दिरा ‘मधुश्री’ – वीरेको सपना र रेडियोको समाचार
(Source of this Story: मधुपर्क जेठ, २०६८)

असोज लागिसके पनि टण्टलापुर घाम थियो । समय मध्याहृन भएकोले झन् चर्किएको थियो घाम । वीरेको निधारभरि खलखली पसिना बगिरेहको छ तर ध्यान पटक्कै छैन त्यतातिर उसको । लगातार यन्त्रवत् चलिरहेका छन्, उसका अनुभवी हातहरू । वसन्तीले ढुङ्गाको सानोसानो थुप्रो लगाएकी छ ठाउँठाउँमा । त्यहीँमध्येबाट ऊ अडकल गर्छ र मिल्नेजस्तो एउटा छानेर उठाउँछ अनि गारोमा जोड्छ । हेर्दा मिलेजस्तो देखिए पनि अहँ उसलाई चित्त बुझ्दैन । अलिकति उठेझैँ, बाहिर निस्किएझँै लाग्छ । त्यसलाई निकालेर हुत्याउँछ अनि अर्को टिप्छ र जोड्छ । पुनः एक आँखा चिम्लिएर हेर्छ अलिकति बाङ्गो देख्छ । फेरि हुत्याउँछ र अर्को टिप्छ । उसको यो क्रम चलिरहन्छ । ऊ एकचोटि घोरिएर सोच्छ-“यो ढुङ्गा र यो जिन्दगी उस्तै अडबाङ्गे छन् किन ?”

पसिनाले उसको सर्ट भिजेर अस्कोट पनि आधा भिजिसकेको छ । ऊ यन्त्रवत् चलिरहेको छ । उसले चाहेजस्तो ढुङ्गा बल्ल भेट्यो । खुसी दौडियो उसको अनुहारमा । गारोको लहरमा ढुङ्गा मिलेपछि मुसुक्क हाँस्छ । अनि वसन्तीले थुपारिदिएको गिलो माटो उठाउँछ र ढ्याप्पढ्याप्प पार्छ जोडले । ताकि भित्रसम्म पुगोस् माटो । अनि बाहिर निस्केको माटोलाई हातले चिल्याउँछ । पुनः एक आँखाले हेर्छ छेउबाट । बल्ल उसलाई चित्त बुझ्छ । अनि जीउ सोझ्याएर उभिन्छ र खुइय गर्छ । ओठबाट भित्री आवाजसँग उसको थकान पनि हृवारर्र निस्कन्छ । दाहिने हत्केला यसो खुम्च्याएर बाङ्गो पार्छ र निधारको पसिना स्वारर्र सोहोर्छ । एकै ठाउँमा सोहोरिएर पसिना भुइँमा र्झछ ।

वीरे पुलुक्क वसन्तीको मुखमा हेर्छ । ऊ अघिदेखि एकोहोरिएर वीरेको क्रियाकलाप हेरिरहेकी हुन्छे ढुङ्गा बोक्ने डोको काखीले च्यापेर । दुवैका आँखा चार हुन्छन् । मौका चुकाउँदैन वीरे । एउटा आँखा झिम्क्याउँछ र मुसुक्क हाँस्छ । वसन्ती लाज देखाएर लजाउँछे । लजाउँदा गालामा परेको खोपिल्टो देख्दा वीरेभित्र पनि एउटा मिठो लहर दौडिन्छ र मनमनै भन्छ “मोरी ! मस्किएर लजाई भने त मनै थाम्न सक्दिनँ ।” उसले वसन्तीको गालामा ‘प्याट्ट’ पारेर आफ्नो तृष्णा मेट्छ ।

“भात खान निस्कन अब ता….।” भोक लागेर हत्तु भइसकियो । वसन्तीले स्थिति मोड्छे । मानौं अघिदेखि ऊ यही भन्ने मौकाको ताकमा थिई । “ल ल झिक्दै गर न त ! म पनि निस्कन्छु ।” यति भनेर ऊ आफूले गरेको कामतिर हेर्छ एक चोटि । अनि अत्तालिन्छ । भर्खर यति भयो । फेरि एक चोटि औँला भाच्छ १-२-३…११-१२-१४ दिनका दिन त दसैँ । त्यसभन्दा अगाडि नै सकिएला र ….? खै ??

वसन्तीले पोको फुकाउँछे । वीरे टोपी फुकालेर चिसो हात र मुख पुच्छ्दै ढुङ्गामा बस्छ । भाँडो छोपेको थालमा दुुई चोइली भात र छेउमा साँधेको गुद्रुक राखेर दिन्छे वसन्तीले । वीरेले पुलुक्क प्रश्न सूचक दृष्टिले वसन्तीलाई हेर्छ । उसले लोग्नेको आँखाको प्रश्नको अनुमान यहीँ लगाउँछे र भन्छे-“एउटा फर्सीको गट्टो फलेको थियो । तीनचार छाक त मजाले पुग्थ्यो होला तर हिजै त्यो गट्टो मा’जनकाँ लगिदिएँ । मा’जननीले एक माना जति कनिका दिएकी थिइन् । त्यै आधा राखेँ । आधा पकाएको अलिक थोरै होला जस्तो लाग्यो अनि पानी थपेर गिलो बनाएकी थिएँ । अहिले सेलाएर ठिक्क भएछ । ” प्रश्न नै बिना वीरेको सम्पूर्ण सम्भावित प्रश्नको उत्तरसमेत दिई वसन्तीले । वीरे कुप्लुककुप्लुक निल्न थाल्यो चोइली भात सानोसानो गाँस बनाएर । वसन्तीले सन्तोष मानेर हेरिरही लोग्नेले खाएको …।

“कान्छी तँ पनि खा न !” वीरेले आग्रह पोख्यो ।

“तिमीले खाइसकन…। तिमीलाई थपिदिएर खान्छु” वसन्तीले भनी भुइँतिर हेरेर ।

वीरेलाई थाहा छ, भाँडामा थप्ने भात छैन वसन्तीलाई एक चोइली बाहेक । जाबो आधा मानो कनिकाको भात त हो नि ! कति नै पो हुन्छ र ? त्यसैले उसले वसन्तीतर्फ हेर्दै भन्यो-खा …ए…। म त यी अघाइसकेँ..यी हेर्नन यही त धेरै होला जस्तो छ । उसले आफ्नो थालको अलिकति खाँदै गरेको भातलाई सङ्केत गर्दै भन्यो । वीरेलाई चसक्क बिझ्यो स्वास्नीको निष्ठा । ऊ गम्भीर भएर सोच्न थाल्यो-कति हार्दिक र मायालु हुन्छन् यी स्वास्नीमानिसहरू । आफ्नो जिन्दगीभन्दा पनि ठूलो ठान्छन् लोग्नेलाई । आफ्नो भोकसँग लोग्नेको तृप्ति साट्छन् र त्यसैमा तृप्ति खोज्छन् उनीहरू । धन्य नारी हृदय ! उसले तुलना गर्‍यो आफू र स्वास्नीलाई । उसले आजसम्म कहिल्यै पनि आफ्नो भाग खानेकुरा स्वास्नीलाई थपिदिएर आफू भोकै बसेको थिएन । अझ भनौं आफू अघाएर नडकारुन्जेलसम्म स्वास्नीलाई छ कि छैन, अहँ कहिल्यै खै गरेको थाहा छैन । आज ऊ आफैँलाई आफैँप्रति लाज लाग्यो । मूल्याङ्कन गर्‍यो आफैँले आफैँलाई । हरेक कोणबाट हेर्दा पनि प्रत्येक व्यवहारमा ऊभन्दा स्वास्नी नै माथि देखिई उसको मूल्याङ्कनमा । ऊ अनायसै हार्दिक भयो स्वास्नीप्रति । अनि आफ्नो भागको एक डल्लो भात झिक्यो र भाँडामा हाल्दै भन्यो-हेर न कान्छी आज मलाई पटक्कै भोक लागेकै छैन । पेट पनि ढुस्सजस्तो छ । यति तँ खा है । उसले थोरै अभिनय पनि गर्‍यो ।

आज ऊ आफ्नै नजरमा ठूलो बन्यो, गर्व लाग्यो आफ्नै व्यवहारप्रति । पछुतायो ऊ आज । किन आजभन्दा पहिले कहिल्यै पनि मैले स्वास्नीको चासो गरिनँ ?

वीरेले हार्दिक भएर स्वास्नीपट्टि हेर्‍यो । वसन्ती डराइरहेकी थिई । आज अप्रत्यासित रूपमा लोग्नेको छड्केमा परेकी थिई ऊ । आफ्नो भाग नराखी -थोरै राखेर) सबै लोग्नेलाई दिएको वा दिने गरेको कुरा आज लोग्नेले थाहा पाएको थियो । उसले पनि डराउँदै लोग्नेलाई हेरी । लोग्नेको आँखामा रिस थिएन । करुणा, हार्दिकता र माया थियो । एक अर्काका विवशताका भावहरू साटासाट भए आँखैआँखामा !

वीरेले कष्टले निल्यो बाँकी भात पनि । दुवै चुप थिए । चुठेर हात पुच्दै अलिक परतिरको ढुङ्गामाथि बस्यो । यसो गोजी छामछुम पारेर सूर्ती र अङ्गेरीको पात निकालेर बिँडी बेर्न थाल्यो । बिँडीसँगै बेरिँदै गयो ऊभित्रको गाठो पनि ।

“कति दुःखी जिन्दगी !” कुन जन्मको कूकर्मले यस जन्ममा गरिब भएर बाँच्नु परिरहेछ । किन गरिब जति मेहनत गर्दा पनि गरिब नै रहन्छन् । उसको हात र दिमागसँगसँगै चलिरहेको थियो ।

उसले बिडी सल्काउन बालेको सलाइको काँटीको ज्वाला नियाल्दै कल्पना गर्‍यो । “हाम्रो लाचार जिन्दगीमा पनि यस्तै गरी चम्किएला ? कल्पनामा तरङ्गिदै थियो काँटी बलिसकेर उसको हात पोल्यो । ऊ झसङ्ग भयो र ‘आत्था’ भन्दै फाल्यो बाँकी ठूटो र पुनः सलाइ कोरेर बिंडी सल्कायो । बिंडीको धूवाँसँगै ऊ तरङ्गिन थाल्यो ।

“कत्रो उत्साह, उमङ्ग र रहर बोकेर आएकी होली मसँग यो वसन्ती पनि …। वैँसालु नारीका रहरहरू योभित्र पनि कति छन्

होलान् ।…आइमाईहरू आफ्ना सम्पूर्ण रहर र चाहना, आवश्यकताहरू बिहेपछि लोग्नेले पूरा गर्छ भन्ने सपना देख्छन् । यसले पनि कति रङ्गीन सपना देखेकी होली मसँग भाग्दा । घाँटीमा सुनको तिलहरी..। हातभरि रेशमी चुरा, चिप्लो साडी, मखमली चोली उसका सपनामा पनि त थिए होला नि । तर खै आजसम्म न त मैले नै कहिल्यै किनिदिन सकेको छु, न त कहिल्यै जिद्दी नै गरेकी छे मसँग किनिदे भनेर । बरू भोकभोकै बसेकी छे । थोत्रो मैलो लगाएकी छे तै पनि असन्तोष झल्काउँदिन अनुहारमा कहिल्यै । कत्रो निष्ठा । कत्रो त्याग । कस्तो माया । यस्तो अभाव चपाएर पनि ऊ सधैँ खुसी र सुखी देखिन्छे तर अहँ ऊ अतृप्त रहरहरू बोकेर मजस्ता कङ्गाललाई छोडेर कुनै धनीको पछि लाग्दिनँ ।

वीरेले आफूले लगाउँदै गरेको गारोलाई एक चोटि नियाल्यो अनि सोच्यो फूलपातीको अघिल्लो दिनसम्ममा जसरी भए पनि यो सिध्याउनै पर्ला । अनि त्यसबाट आएको ज्यालाको पैसाले यसपालिको दसैँमा वसन्तीलाई एउटा सानो तिलहरी बनाइ दिनु पर्ला । लुगाचाहिँ माजन’नीसँग एउटा अर्धानो सारी मागिदिनु पर्ला । जे भए पनि यस पालि माइती जाँदा तिलहरी लगाएर माइती गई भने उसको दिदीबहिनीले पक्कै पनि जिब्रो टोक्छन् । आहासी पनि गर्लान् । “कतिको छ माइली तिलहरी ? भनेर सोधेको बेला वसन्तीको मन कति गद्गद् हुन्छ होला ?” खै त बाउआमाले झ्याइँझ्याइँ बाजा बजाएर दिएका उसका दिदीबहिनीहरूले आजसम्म पनि रित्तै पोते लगाएका त छन् नि । कस्तो न माजन’ ठानेर गकी होली त्यस्तो कङ्गालसँग भन्थे । देख्नेछन् । यसपालि त वीरबहादुरको औकात ।

वीरेले एकचोटि वसन्तीतिर पुलुक्क हेर्‍यो । ऊ आफ्नै सुरमा भाँडा मस्काउँदै थिई । भाँडा मस्काउँदा उसको टाउको अघिपछि गरी हल्लिरहेको थियो । टाउकोसँगै उसको घाँटीमा झुण्डिएको वीरेको पर्यायवाची एक झुत्तो पोते पनि चहचह पिङ खेलिरहेको थियो जुन संसारी मन्दिरमा बिहे गर्दा वीरेले लगाइदिएको थियो । पोतेको बीचमा उसको चोलोको माथिल्लो टाँक फुस्किएको थियो । त्यसबाट अनभिज्ञ वसन्ती निहुरिँदा उसका छातीको माथिल्लो भाग अलिकति देखिएको थियो । एक क्षणसम्म वीरेले हेरिरहृयो त्यही । उज्यालोमा उसले यसरी कहिल्यै देखेको थिएन । वसन्तीको गोरो छाती देख्दा उसको शरीरमा कताकता अलिक अप्ठ्यारो महसुस भयो ।

“ए…हान…हान…!!

ठोक… !!…ठोक…!!! नछोड

त्यसलाई !” आवाज आयो कतैबाट …र ड्याङ्गड्याङ्ग पड्कियो पनि । वीरे जुरुक्क उठेर उभियो । दुई/तीन जना मान्छेहरू हस्याङ्गफस्याङ्ग गर्दै दौडिदै आएर उता भागे । उनीहरू भाग्दा वीरेलाई पनि धकेलेर लडाई दिए, तर वीरे जुरुक्क उठ्यो र छक्क पर्दै मान्छे भागेतिर हेरिरहेको थियो कौतूहल बोकेर । पुनः ड्याङ्गड्याङ्ग पड्कियो दुई चोटि । वीरे झसङ्ग भएर पड्किएपट्टि यसो हेर्न खोज्दै थियो, पड्किएका दुवै गोली पालैपालो वीरेको छातीमा छेडिए । वसन्ती ऽऽ भन्दै वीरे डङ्ग्रङ्ग पछारियो ।

वसन्ती दौड्दै गएर उठाउन खोजी वीरेलाई । वीरेको धुकधुकीको गति क्रमशः कम हुँदै थियो । ऊ अन्तिम वाक्य बोलिरहेको थियो । व…स…न्ती…। तँ…ला…ई…ति…ल…ह…ऽऽऽ!! वाक्य पूर्ण भएन वीरेको । वसन्तीको घाँटीमा गएर अड्कियो उसको आँखा र निस्तेज भयो उसको शरीर । वसन्ती किंकर्तव्यविमूढ भई । त्यसैबेला आवाज आएतिरैबाट एक हूल बुट बजाउँदै आइपुगे । एउटाले वीरेको मृत शरीरमा बुटले कुल्चँदै, पल्टाउँदै भन्यो-“साले ऽऽ भाग्न खोज्थ्यो ।”

“तर यो त …? त्यही भाग्नेमध्ये हो र…? होइन पो जस्तो छ त…!” आशङ्का बोल्यो अर्काले ।

“ला…। यो त अर्कै पो परेछ त…।” खुट्टाले पल्टाउँदै अर्कोले भन्यो ।

“आ ऽ ऽ अब छाड्दे ! सरजिमिन लेख न भइहाल्छ नि…।” सबैभन्दा अलिक टाउकेले भन्यो ।

“ओ हो …। आज मुख पनि पो फेर्न पाइनेजस्तो छ है ।” थरथर काँपिरेहकी वसन्तीको छातीमा आँखा गाड्दै अर्कोले राल काड्यो ।

अर्कोले वसन्ती नजिक गएर बन्दुक सोझ्यायो र सुम्सुम्याउन थाल्यो । पालै पालो सुम्सुम्याए सबैले वसन्तीलाई । अन्तिममा वसन्ती पनि निस्तेज भई वीरेजस्तै ।

बेलुका एफएम रेडियोमा समाचार भन्यो-“आज दिउँसो ज्यामिरे गाउँमा भएको सुरक्षा कारवाहीमा रतन र देवी उपनामका कथित दुई जना आतङ्ककारी कमान्डरको मृत्यु भएको छ ।

Ganesh Ghimire 'Marmik' – Manchhe (Nepali Laghu Katha)

गणेश घिमिरे ‘मार्मिक’ – मान्छे

उसले धेरै जनाको मुखबाट धेरै ठाउँमा र धेरैपटक सुनेको छ- मुलुकमा गणतन्त्र आयो, अब त सर्वसाधारण जनताको पनि पहुँच सिंहदरबारमा पुग्यो । अब भने नेपाली जनता साँच्चैका सार्वभौम भएका छन् ।

उसको मनमा उसले सुनेका ती कुराहरू एकाएक गुञ्जिए । उसले सोच्यो- हो त नि म पनि त नेपाली जनता । आज भने सिंहदरबार पसेर मज्जाले हेर्ने हो । रहर पुग्ने गरी ।

मनमा यस्तो कुरा सोच्दासोच्दै ऊ सिंहदरबारको पश्चिमतर्फ अविस्थत मूलगेटमा पुगिसकेको थियो । ऊ सरासर भित्र छिर्न खोज्यो तर मूलगेटमा पहरा दिएर बसेका राष्ट्रसेवकले उसलाई रोक्दै भने- ए दाइ  कहाँ जान लाग्नु भा’को ? यहाँबाट मान्छे छिर्न मिल्दैन ।

उसलाई अचम्म लाग्यो- मान्छे छिर्न नमिल्ने भए केका निमित खोलिएको हो त यत्रो यामानको गेट हँ भाइ ?- उसले प्रश्न गर्‍यो ।

चुप लागेर उताबाट जानुस् न, मिल्दैन भनेपछि । पहरा गणले अलि रुखो स्वरमा जवाफ फर्काए ।

ठीक त्यसैबेला उसको अगाडिबाटै ३-४ वटा सरकारी गाडीहरू सरासर गेटबाट भित्र छिरे । उसले देख्यो- ती गाडीहरूभित्र पनि मान्छे नै सवार थिए । ऊ असमञ्जसमा पर्‍यो । मान्छे छिर्न नमिल्ने गेटबाट सरासर छिर्ने ती को थिए त ? उसले आफैँलाई प्रश्न गर्‍यो ।

उसले धेरैबेर निधार खुम्च्याएर सोच्यो र एउटा निष्कर्षमा पुग्यो । वास्तवमा अबचाहिँ हामी सर्वसाधारण नेपाली जनता पनि वास्तविक ‘मान्छे’ भएछौँ, मुलुकमा गणतन्त्र आएपछि । त्यसैले त मान्छे छिर्न पाइने गेटबाट छिर्न पाइएन नि ।

के सोचर हो कुन्नि, ऊ फिस्स हाँस्यो र अर्कोतिर मोडियो मान्छे हुनुको नियति बोकेर ।