Mandira Madhushree – Bire Ko Sapana Ra Radio Ko Samachar

मन्दिरा ‘मधुश्री’ – वीरेको सपना र रेडियोको समाचार
(Source of this Story: मधुपर्क जेठ, २०६८)

असोज लागिसके पनि टण्टलापुर घाम थियो । समय मध्याहृन भएकोले झन् चर्किएको थियो घाम । वीरेको निधारभरि खलखली पसिना बगिरेहको छ तर ध्यान पटक्कै छैन त्यतातिर उसको । लगातार यन्त्रवत् चलिरहेका छन्, उसका अनुभवी हातहरू । वसन्तीले ढुङ्गाको सानोसानो थुप्रो लगाएकी छ ठाउँठाउँमा । त्यहीँमध्येबाट ऊ अडकल गर्छ र मिल्नेजस्तो एउटा छानेर उठाउँछ अनि गारोमा जोड्छ । हेर्दा मिलेजस्तो देखिए पनि अहँ उसलाई चित्त बुझ्दैन । अलिकति उठेझैँ, बाहिर निस्किएझँै लाग्छ । त्यसलाई निकालेर हुत्याउँछ अनि अर्को टिप्छ र जोड्छ । पुनः एक आँखा चिम्लिएर हेर्छ अलिकति बाङ्गो देख्छ । फेरि हुत्याउँछ र अर्को टिप्छ । उसको यो क्रम चलिरहन्छ । ऊ एकचोटि घोरिएर सोच्छ-“यो ढुङ्गा र यो जिन्दगी उस्तै अडबाङ्गे छन् किन ?”

पसिनाले उसको सर्ट भिजेर अस्कोट पनि आधा भिजिसकेको छ । ऊ यन्त्रवत् चलिरहेको छ । उसले चाहेजस्तो ढुङ्गा बल्ल भेट्यो । खुसी दौडियो उसको अनुहारमा । गारोको लहरमा ढुङ्गा मिलेपछि मुसुक्क हाँस्छ । अनि वसन्तीले थुपारिदिएको गिलो माटो उठाउँछ र ढ्याप्पढ्याप्प पार्छ जोडले । ताकि भित्रसम्म पुगोस् माटो । अनि बाहिर निस्केको माटोलाई हातले चिल्याउँछ । पुनः एक आँखाले हेर्छ छेउबाट । बल्ल उसलाई चित्त बुझ्छ । अनि जीउ सोझ्याएर उभिन्छ र खुइय गर्छ । ओठबाट भित्री आवाजसँग उसको थकान पनि हृवारर्र निस्कन्छ । दाहिने हत्केला यसो खुम्च्याएर बाङ्गो पार्छ र निधारको पसिना स्वारर्र सोहोर्छ । एकै ठाउँमा सोहोरिएर पसिना भुइँमा र्झछ ।

वीरे पुलुक्क वसन्तीको मुखमा हेर्छ । ऊ अघिदेखि एकोहोरिएर वीरेको क्रियाकलाप हेरिरहेकी हुन्छे ढुङ्गा बोक्ने डोको काखीले च्यापेर । दुवैका आँखा चार हुन्छन् । मौका चुकाउँदैन वीरे । एउटा आँखा झिम्क्याउँछ र मुसुक्क हाँस्छ । वसन्ती लाज देखाएर लजाउँछे । लजाउँदा गालामा परेको खोपिल्टो देख्दा वीरेभित्र पनि एउटा मिठो लहर दौडिन्छ र मनमनै भन्छ “मोरी ! मस्किएर लजाई भने त मनै थाम्न सक्दिनँ ।” उसले वसन्तीको गालामा ‘प्याट्ट’ पारेर आफ्नो तृष्णा मेट्छ ।

“भात खान निस्कन अब ता….।” भोक लागेर हत्तु भइसकियो । वसन्तीले स्थिति मोड्छे । मानौं अघिदेखि ऊ यही भन्ने मौकाको ताकमा थिई । “ल ल झिक्दै गर न त ! म पनि निस्कन्छु ।” यति भनेर ऊ आफूले गरेको कामतिर हेर्छ एक चोटि । अनि अत्तालिन्छ । भर्खर यति भयो । फेरि एक चोटि औँला भाच्छ १-२-३…११-१२-१४ दिनका दिन त दसैँ । त्यसभन्दा अगाडि नै सकिएला र ….? खै ??

वसन्तीले पोको फुकाउँछे । वीरे टोपी फुकालेर चिसो हात र मुख पुच्छ्दै ढुङ्गामा बस्छ । भाँडो छोपेको थालमा दुुई चोइली भात र छेउमा साँधेको गुद्रुक राखेर दिन्छे वसन्तीले । वीरेले पुलुक्क प्रश्न सूचक दृष्टिले वसन्तीलाई हेर्छ । उसले लोग्नेको आँखाको प्रश्नको अनुमान यहीँ लगाउँछे र भन्छे-“एउटा फर्सीको गट्टो फलेको थियो । तीनचार छाक त मजाले पुग्थ्यो होला तर हिजै त्यो गट्टो मा’जनकाँ लगिदिएँ । मा’जननीले एक माना जति कनिका दिएकी थिइन् । त्यै आधा राखेँ । आधा पकाएको अलिक थोरै होला जस्तो लाग्यो अनि पानी थपेर गिलो बनाएकी थिएँ । अहिले सेलाएर ठिक्क भएछ । ” प्रश्न नै बिना वीरेको सम्पूर्ण सम्भावित प्रश्नको उत्तरसमेत दिई वसन्तीले । वीरे कुप्लुककुप्लुक निल्न थाल्यो चोइली भात सानोसानो गाँस बनाएर । वसन्तीले सन्तोष मानेर हेरिरही लोग्नेले खाएको …।

“कान्छी तँ पनि खा न !” वीरेले आग्रह पोख्यो ।

“तिमीले खाइसकन…। तिमीलाई थपिदिएर खान्छु” वसन्तीले भनी भुइँतिर हेरेर ।

वीरेलाई थाहा छ, भाँडामा थप्ने भात छैन वसन्तीलाई एक चोइली बाहेक । जाबो आधा मानो कनिकाको भात त हो नि ! कति नै पो हुन्छ र ? त्यसैले उसले वसन्तीतर्फ हेर्दै भन्यो-खा …ए…। म त यी अघाइसकेँ..यी हेर्नन यही त धेरै होला जस्तो छ । उसले आफ्नो थालको अलिकति खाँदै गरेको भातलाई सङ्केत गर्दै भन्यो । वीरेलाई चसक्क बिझ्यो स्वास्नीको निष्ठा । ऊ गम्भीर भएर सोच्न थाल्यो-कति हार्दिक र मायालु हुन्छन् यी स्वास्नीमानिसहरू । आफ्नो जिन्दगीभन्दा पनि ठूलो ठान्छन् लोग्नेलाई । आफ्नो भोकसँग लोग्नेको तृप्ति साट्छन् र त्यसैमा तृप्ति खोज्छन् उनीहरू । धन्य नारी हृदय ! उसले तुलना गर्‍यो आफू र स्वास्नीलाई । उसले आजसम्म कहिल्यै पनि आफ्नो भाग खानेकुरा स्वास्नीलाई थपिदिएर आफू भोकै बसेको थिएन । अझ भनौं आफू अघाएर नडकारुन्जेलसम्म स्वास्नीलाई छ कि छैन, अहँ कहिल्यै खै गरेको थाहा छैन । आज ऊ आफैँलाई आफैँप्रति लाज लाग्यो । मूल्याङ्कन गर्‍यो आफैँले आफैँलाई । हरेक कोणबाट हेर्दा पनि प्रत्येक व्यवहारमा ऊभन्दा स्वास्नी नै माथि देखिई उसको मूल्याङ्कनमा । ऊ अनायसै हार्दिक भयो स्वास्नीप्रति । अनि आफ्नो भागको एक डल्लो भात झिक्यो र भाँडामा हाल्दै भन्यो-हेर न कान्छी आज मलाई पटक्कै भोक लागेकै छैन । पेट पनि ढुस्सजस्तो छ । यति तँ खा है । उसले थोरै अभिनय पनि गर्‍यो ।

आज ऊ आफ्नै नजरमा ठूलो बन्यो, गर्व लाग्यो आफ्नै व्यवहारप्रति । पछुतायो ऊ आज । किन आजभन्दा पहिले कहिल्यै पनि मैले स्वास्नीको चासो गरिनँ ?

वीरेले हार्दिक भएर स्वास्नीपट्टि हेर्‍यो । वसन्ती डराइरहेकी थिई । आज अप्रत्यासित रूपमा लोग्नेको छड्केमा परेकी थिई ऊ । आफ्नो भाग नराखी -थोरै राखेर) सबै लोग्नेलाई दिएको वा दिने गरेको कुरा आज लोग्नेले थाहा पाएको थियो । उसले पनि डराउँदै लोग्नेलाई हेरी । लोग्नेको आँखामा रिस थिएन । करुणा, हार्दिकता र माया थियो । एक अर्काका विवशताका भावहरू साटासाट भए आँखैआँखामा !

वीरेले कष्टले निल्यो बाँकी भात पनि । दुवै चुप थिए । चुठेर हात पुच्दै अलिक परतिरको ढुङ्गामाथि बस्यो । यसो गोजी छामछुम पारेर सूर्ती र अङ्गेरीको पात निकालेर बिँडी बेर्न थाल्यो । बिँडीसँगै बेरिँदै गयो ऊभित्रको गाठो पनि ।

“कति दुःखी जिन्दगी !” कुन जन्मको कूकर्मले यस जन्ममा गरिब भएर बाँच्नु परिरहेछ । किन गरिब जति मेहनत गर्दा पनि गरिब नै रहन्छन् । उसको हात र दिमागसँगसँगै चलिरहेको थियो ।

उसले बिडी सल्काउन बालेको सलाइको काँटीको ज्वाला नियाल्दै कल्पना गर्‍यो । “हाम्रो लाचार जिन्दगीमा पनि यस्तै गरी चम्किएला ? कल्पनामा तरङ्गिदै थियो काँटी बलिसकेर उसको हात पोल्यो । ऊ झसङ्ग भयो र ‘आत्था’ भन्दै फाल्यो बाँकी ठूटो र पुनः सलाइ कोरेर बिंडी सल्कायो । बिंडीको धूवाँसँगै ऊ तरङ्गिन थाल्यो ।

“कत्रो उत्साह, उमङ्ग र रहर बोकेर आएकी होली मसँग यो वसन्ती पनि …। वैँसालु नारीका रहरहरू योभित्र पनि कति छन्

होलान् ।…आइमाईहरू आफ्ना सम्पूर्ण रहर र चाहना, आवश्यकताहरू बिहेपछि लोग्नेले पूरा गर्छ भन्ने सपना देख्छन् । यसले पनि कति रङ्गीन सपना देखेकी होली मसँग भाग्दा । घाँटीमा सुनको तिलहरी..। हातभरि रेशमी चुरा, चिप्लो साडी, मखमली चोली उसका सपनामा पनि त थिए होला नि । तर खै आजसम्म न त मैले नै कहिल्यै किनिदिन सकेको छु, न त कहिल्यै जिद्दी नै गरेकी छे मसँग किनिदे भनेर । बरू भोकभोकै बसेकी छे । थोत्रो मैलो लगाएकी छे तै पनि असन्तोष झल्काउँदिन अनुहारमा कहिल्यै । कत्रो निष्ठा । कत्रो त्याग । कस्तो माया । यस्तो अभाव चपाएर पनि ऊ सधैँ खुसी र सुखी देखिन्छे तर अहँ ऊ अतृप्त रहरहरू बोकेर मजस्ता कङ्गाललाई छोडेर कुनै धनीको पछि लाग्दिनँ ।

वीरेले आफूले लगाउँदै गरेको गारोलाई एक चोटि नियाल्यो अनि सोच्यो फूलपातीको अघिल्लो दिनसम्ममा जसरी भए पनि यो सिध्याउनै पर्ला । अनि त्यसबाट आएको ज्यालाको पैसाले यसपालिको दसैँमा वसन्तीलाई एउटा सानो तिलहरी बनाइ दिनु पर्ला । लुगाचाहिँ माजन’नीसँग एउटा अर्धानो सारी मागिदिनु पर्ला । जे भए पनि यस पालि माइती जाँदा तिलहरी लगाएर माइती गई भने उसको दिदीबहिनीले पक्कै पनि जिब्रो टोक्छन् । आहासी पनि गर्लान् । “कतिको छ माइली तिलहरी ? भनेर सोधेको बेला वसन्तीको मन कति गद्गद् हुन्छ होला ?” खै त बाउआमाले झ्याइँझ्याइँ बाजा बजाएर दिएका उसका दिदीबहिनीहरूले आजसम्म पनि रित्तै पोते लगाएका त छन् नि । कस्तो न माजन’ ठानेर गकी होली त्यस्तो कङ्गालसँग भन्थे । देख्नेछन् । यसपालि त वीरबहादुरको औकात ।

वीरेले एकचोटि वसन्तीतिर पुलुक्क हेर्‍यो । ऊ आफ्नै सुरमा भाँडा मस्काउँदै थिई । भाँडा मस्काउँदा उसको टाउको अघिपछि गरी हल्लिरहेको थियो । टाउकोसँगै उसको घाँटीमा झुण्डिएको वीरेको पर्यायवाची एक झुत्तो पोते पनि चहचह पिङ खेलिरहेको थियो जुन संसारी मन्दिरमा बिहे गर्दा वीरेले लगाइदिएको थियो । पोतेको बीचमा उसको चोलोको माथिल्लो टाँक फुस्किएको थियो । त्यसबाट अनभिज्ञ वसन्ती निहुरिँदा उसका छातीको माथिल्लो भाग अलिकति देखिएको थियो । एक क्षणसम्म वीरेले हेरिरहृयो त्यही । उज्यालोमा उसले यसरी कहिल्यै देखेको थिएन । वसन्तीको गोरो छाती देख्दा उसको शरीरमा कताकता अलिक अप्ठ्यारो महसुस भयो ।

“ए…हान…हान…!!

ठोक… !!…ठोक…!!! नछोड

त्यसलाई !” आवाज आयो कतैबाट …र ड्याङ्गड्याङ्ग पड्कियो पनि । वीरे जुरुक्क उठेर उभियो । दुई/तीन जना मान्छेहरू हस्याङ्गफस्याङ्ग गर्दै दौडिदै आएर उता भागे । उनीहरू भाग्दा वीरेलाई पनि धकेलेर लडाई दिए, तर वीरे जुरुक्क उठ्यो र छक्क पर्दै मान्छे भागेतिर हेरिरहेको थियो कौतूहल बोकेर । पुनः ड्याङ्गड्याङ्ग पड्कियो दुई चोटि । वीरे झसङ्ग भएर पड्किएपट्टि यसो हेर्न खोज्दै थियो, पड्किएका दुवै गोली पालैपालो वीरेको छातीमा छेडिए । वसन्ती ऽऽ भन्दै वीरे डङ्ग्रङ्ग पछारियो ।

वसन्ती दौड्दै गएर उठाउन खोजी वीरेलाई । वीरेको धुकधुकीको गति क्रमशः कम हुँदै थियो । ऊ अन्तिम वाक्य बोलिरहेको थियो । व…स…न्ती…। तँ…ला…ई…ति…ल…ह…ऽऽऽ!! वाक्य पूर्ण भएन वीरेको । वसन्तीको घाँटीमा गएर अड्कियो उसको आँखा र निस्तेज भयो उसको शरीर । वसन्ती किंकर्तव्यविमूढ भई । त्यसैबेला आवाज आएतिरैबाट एक हूल बुट बजाउँदै आइपुगे । एउटाले वीरेको मृत शरीरमा बुटले कुल्चँदै, पल्टाउँदै भन्यो-“साले ऽऽ भाग्न खोज्थ्यो ।”

“तर यो त …? त्यही भाग्नेमध्ये हो र…? होइन पो जस्तो छ त…!” आशङ्का बोल्यो अर्काले ।

“ला…। यो त अर्कै पो परेछ त…।” खुट्टाले पल्टाउँदै अर्कोले भन्यो ।

“आ ऽ ऽ अब छाड्दे ! सरजिमिन लेख न भइहाल्छ नि…।” सबैभन्दा अलिक टाउकेले भन्यो ।

“ओ हो …। आज मुख पनि पो फेर्न पाइनेजस्तो छ है ।” थरथर काँपिरेहकी वसन्तीको छातीमा आँखा गाड्दै अर्कोले राल काड्यो ।

अर्कोले वसन्ती नजिक गएर बन्दुक सोझ्यायो र सुम्सुम्याउन थाल्यो । पालै पालो सुम्सुम्याए सबैले वसन्तीलाई । अन्तिममा वसन्ती पनि निस्तेज भई वीरेजस्तै ।

बेलुका एफएम रेडियोमा समाचार भन्यो-“आज दिउँसो ज्यामिरे गाउँमा भएको सुरक्षा कारवाहीमा रतन र देवी उपनामका कथित दुई जना आतङ्ककारी कमान्डरको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *