Kusum Gywali – Arko Avatar (Nepali Laghu Katha)

कुसुम ज्ञवाली – अर्को अवतार (लघु कथा)

धुपको धुवाँले रंगमगिने थुम्को विस्फोटनको धुवाँले ग्रस्त बनेको छ। युद्धको विभिषिका भित्र पिपलडाँडा व्यारेक आज अन्तिम युद्ध लडिरहेको छ। वादल लागेको थिएन तैपनि सपोर्ट फोर्स लिएर आएको हेलिकप्टर बस्न सकेन डाडाँमा। सुरक्षाकर्मीसँग गोलि सकिएको आभाष पाउनासाथ “लङ रेञ्ज” बाट “क्लिएर” गरी डाडाँको मन्दिरमा ठूलो विस्फोटन गरेर कब्जा जमाए कमरेडहरुले।
“भत्काइदिउँ यो मन्दिर पनि! ” भाइस कमाण्डरले उनका कमाण्डरलाई सोधे। “चीनमा पनि यस्ता मन्दिरहरु भत्काइएका थिए, भत्काए हुन्छ, कमरेड।” राजनैतिक व्युरोका कमिसारले भने। आदेश पाउने वित्तीकै कामरेडहरुले मन्दिर भित्रको मूर्ति उखेलेर टुक्राटुक्रा पारी भिरबाट लडाइ दिए। “यहाँ हाम्रा सुप्रिम कमाण्डरको शालिक राख्नु पर्छ यहाँ।” छापामार महिलाले प्रस्ताव राखिन।
कुरा सबैलाई मनासिव लाग्यो। एकहप्ता भित्र कमरेडहरु बाटो लाग्दासम्म उनीहरुले त्यहाँ सर्वोच्च नेताको शालिक स्थापना गरिसकेका थिए।

मन्दिर महिना दिन सम्म बन्द रह्यो। क्रमशः मान्छेको आवत जावत मन्दिरमा बढ्दै गयो। बिस्फोटक पदार्थहरु त्यता देखा नपरे पनि मन्दिरको ढोका बन्दनै थियो अर्को महिना पनि।
बैशाख पूर्णिमामा सधैं झै मेला लाग्यो। पूजाको ठेक्का पाएका तल्ला गाउँका पूजेरी बाजेले मूर्ति फेरिएको थाहा त पाए तर बोल्न भने सकेनन। पूजा यथावत चल्यो। निरीह पशु त्यसैगरी रेटिए। भाकल गरियो। कुखुरा र बोकाहरु काटिए। रूद्री चण्डी पाठ गरियो। अचेल त्यही कमरेडको जुँगा भएको मूर्तिले धानेको छ यावत सम्पूर्ण अन्धविश्वासका श्रृङ्खलाहरू।

Manu Brajaki – Bhaigo Dinu Pardaina

मनु ब्राजाकी – भैगो दिनुपर्दैन

एहे खर्दारनी बजै ! आउनुस् आउनुस् कताबाट ?

आफ्नो भताभुङ्ग कोठामा बसेर खरदार सुन्दैछ र आफ्नो जनैको जुम्रा विक्षुब्ध भएर मार्दैछ। मार्दैछ र आफ्नो नङ्लाई नङ्ग्रा सम्झने भूल गर्दैछ जसले जुम्राबाहेक अरु केही मार्न सकेन- न आफ्नो अभाव, न अर्काको प्रभाव, न भोक, न शोक। ऊ झ्यालबाट देख्छ, खरदारनी बजै (ऊ आफू खरदार भैटोपलेकोले) पल्लो घर पोर्टिकोमा उभिएकी रहिछ। चाइजिन इँटको रातो बंगलाभित्रैबाट घन्किँदै रहेछ।

बाहिर किन ? भित्र आउनुस्।

खरदारनी बजै (जो यो माघदेखि पच्चीस पुगेर छब्बीस लागी) भित्र पसी। बङ्गलाका मालिक (जो चालीस पुगेर अझै माथि उक्लिसकेका छन् र पक्कै पनि बजैका नाति होइनन्)हिटरनेर बसेर आह्वान गर्दैछन्।

आउनुस्, बस्नुस्, सञ्चै छ ?

सञ्चै, नमस्कार !

नातिसामु बजै खुम्चेर सोफामा बस्छिन्। बस्दा कतै पनि बिझाउँदैन, जसरी खरदार बाजे बिझाउँछन्। रन्केको हिटरसामु पनि माघको जाडो बिझाउँछ, सँगसँगै संकोच पनि बिझाउँछ। उत्सुक र प्रसन्न नातिको अनुहार मुख हुन्छ।

अनि भन्नुस् ?

अघि हरिहर साहुले घरमा आएर लोग्नेलाई बेइज्जत नगरेको भए ऊ यहाँ आउने थिइन। घरमै बसेर पनि के गर्नु ? यत्रा यातायातका साधन हुँदाहुँदै कहीँ न कहीँ, कतै न कतै, कसैकहाँ त हात थाप्न जानैपर्थ्यो। तिरौँला भन्ने लोग्ने र स्वास्नीको संयुक्त अठोटले गर्दा ऊ यहाँ पाँचौ पटक पनि आउन सकेकी हो। वरिपरिका अन्य ठाउँहरुमा ‘पटकहरु’ गन्न अहिले सकिराखेकी छैन। यति बेइज्जति प्राप्त भइसकेपछि अब केही दिनका लागि हरिहर साहुतिर निश्चिन्त भए हुन्छ। तर वर्तमान त काखमै छ, फुल्याउनु कि रुवाउनु ? फुल्याउनै पर्‍यो।

कति कामले आउनु भएको थियो ?

ए अँ, अलिकति घरायसी किनमेल थियो………यहाँसित …………..

फेरि बिझायो, सोफा होइन, संकोच। पाँच पटकमा पाँच वटा तगारा। सबै तगाराहरु एकैचोटी फड्किन कति गाहारो !

ए बुझेँ बुझेँ, कति चाहियो ?

अहिलेलाई गोडा पच्चिसेक भए……

ऊ तगारोतिर अचम्म मानेर हेर्छे, बुरुक्कै फड्किसकिएछ।

ल लिनुस्……….अँ, खरदार बाजेलाई भन्नुहोला यसो सिमन्टी पत्तो लगाइराख्‍ने भनेर। ग्यारेजमा काम छ।

हजुरलाई पछिको पनि हिसाप दिनु छ………….

भो-भो दिनुपर्दैन, काम चलाउनुस्। यो त मैले हिजो पप्लुमा जितेको।

ऊ दातातिर हेर्छे। दाता विधाता झैँ टुलुटुलु ऊतिरै हेर्दै रहेछन्। ऊ झस्केर हातको जिताउरी पट्याउन थाल्छे। ‘दिनुपर्दैन’ ले धेरै कुरा लिन खोजेजस्तो लाग्छ। के- के ? विवरण प्रष्ट छैन। अस्पष्टताले कुनै अन्यौलमा पार्दैन। बुझेर नबुझ्नुलाई नै व्यवहारिकता भन्दछन्। आदर्श ज्ञान र व्यवहारिक अज्ञानको रेखा कहीँ न कहीँ गएर अवश्य काटिएला र एउटा कुनो (कोण) बनाउला। यी दुवै कहिल्यै समानान्तर हुँदैनन्। एक न एक दिन ज्ञानले अज्ञान भेट्टाउँछ र अज्ञानले ज्ञान। अनि भेट हुने कुनामा पप्लु चल्छ। एउटा हार्छ, अर्को जित्छ।

ऊ हातको जिताउरी अभ्यासवश चोलोमा हाल्न खोज्छे तर विधाता सामु हुनाले यसो गर्न सक्तिन। स्वास्नीमान्छेले ‘सम्पति’ कि त चोलोमा हाल्नुपर्ने, कि त पेटिकोटमा। के यस्तो चलन होला ? लोग्नेमान्छेका भने जताततै गोजी नै गोजी छन्। यो सोचेर उसलाई झर्को लाग्छ। जिताउरीलाई हत्केलामा जोडसित अँठ्याउँछे। अब समापन भाषण पनि त हुनुपर्‍यो। ऊ भन्छे-

यस्तो संकटमा पनि हजुरले यति गुन……….

आ….केको गुन ? फेरि पनि सार्‍हो गार्‍हो परे आए हुन्छ नि !

हस् नमस्कार ! अनुहार झन् उज्यालो छ।

घरमा आउँदा दुवै छोरा पाठ घोक्दै रहेछन्। लोग्ने खुइलिएको जर्किनमा ठुटो खोजेर धुवाउँदै रहेछ। लोग्ने र छोराहरुलाई देखेर उसले विधातालाई बिर्सी र समस्या समाधानको उज्यालो मुखले हाँसी

दियो ?

दियो, पच्चीसवटा। यति नै माग्ने भनेको होइन ?

अँ, लौ काम चलिहाल्यो। आज त माछा पनि पर्ने भएको छ।

काँ ?

खोलामा हैन अफिसमा क्या। कस्ती लाटी रैछ। बाठो लोग्नेले लाटी स्वास्नीलाई कुरा बुझायो।

अलि ठूलो माछा पारे पो। कैलेकाहीँ पार्नुहुन्छ। त्यै पनि बुदुना र भोटी।

असला पर्छ क्या असला। अनि त्यो हरिहरेको मुखमा बुजो ठोकौँला।

असला कत्रो हुन्छ र ? त्यै हरिहरेको मुखमा पनि नअटाउला। मदिसे रहु पारे पो अलिक दिन ढुक्क होला।

तेरो खर्दारको मात्रै मुख छ, हैन ? अफिसमा त अरु छँदै छैनन् ? जतो जाल त्यत्रै माछा।

छोराहरु माछाको प्रसङ्ग सुनेर पाठ बिर्सन्छन्।

सानो छोरो, कत्रा माछा ल्याउने बा ?

ठूलो छोरो, एफ आई एस एच फिस्, फिस् माने माछा।

चूप लाग, पढ्नु सढ्नु छैन। पढ् बसेर।

दुवै एक साथ भन्छन् र बेग्लाबेग्लै झर्किन्छन्। अनि आफ्नो कुराको प्रसंग सम्झेर दुवै फेरि मुखामुख हुन्छन्।

त्यो आएपछि म एउटा सारी किन्छु ल ? बाहिर निस्कन पनि लाजमर्नु भैसक्यो। ऊ झल्याँस्स विधातालाई सम्झिन पुग्छे।

अनि सम्झिएरै फेरि भन्छे, उनले यी रुपैयाँ फर्काउनु पर्दैन भनेका छन्।

आफ्नो थोत्रो जुत्ता सम्झिराखेको ऊ झस्केर सोध्छ, किन ?

कुन्नि ? पप्लुमा जितेका रे, दिनु पर्दैन।

ऊ घोरिएर स्वास्नीतिर हेर्न थाल्छ। भनिसकेपछि ऊ पनि झस्केर लोग्नेतिर हेर्न थाल्छे। आफ्नो सारी किन्ने हिसाबको तानामाना मिलार्न खोज्दा उसको सुद्धि हराएछ- यसोभन्दा कसो पर्ला भनेर। ऊ देख्छे, लोग्नेको आँखामा परम्परागत पुरुष ठिङ्ग उभिएको रहेछ। ऊ छोराहरुतिर हेरेर सहज हुन खोज्छे।

हामी माग्ने त होइनौँ ?

घर व्यवहार भएको मान्छे माग्ने हुँदैन। अनि सापटी लिने चलन नौलो पनि होइन। सापटी लिने परम्परामा सकभर सापटी फर्काउने चलन पनि छैन-गाउँघरदेखि अन्तर्राष्ट्रियसम्म। अन्तर्राष्ट्रिय जगतमा कसले कसको सापटी फर्काएको छ र ? बरु त्यसको सट्टा केही भित्री कुरा गए जाओस्। भित्री कुरा गएको कसले देख्छ र ? आफूले मात्र बुझिन्छ, जानिन्छ, अनुभव महसूस गरिन्छ। बुद्धि बढेर आउँछ। बुद्धत्वले छुन-छुन आँट्छ। कन्तुरको इज्जत कन्तुरमै रहन्छ। माग्ने त भइँदैन ?

एसएलसी पास गरेर अखबार पढेको बुद्धिले यति तर्क गरेपछि ऊ टोलाइराखेको स्वास्नीतिर फर्केर फेरि सोध्छ, अघिभन्दा किञ्चित् कठोर स्वरमा-

हामी माग्ने त होइनौँ ?

स्वास्नी दलिनभित्ता हेर्दैछ। उसलाई थाहा छ, यो लोग्नेमात्र होइन, लोग्नेमान्छे पनि हो। बहस गर्नु व्यर्थ छ। बरु झोला बोकाउनु बेस। अनि बल्ल खाली झोलाको शून्यमा लोग्नेमान्छे हराएर झोला बोकेको लोग्ने चतुर्भुज विष्णु झैँ ठिङ्ग उभिनेछ।

उनको भन्ने काम, भने। फर्काइदिउँला। ल, यो झोला लेऊ। यी रुपियाँ पनि। दुई किलो चामल, दाल होला, साबुन छैन, तरकारी आफूलाई चुरोट पनि ल्याउनू। कति ठूटो खाएको ? नखानू भन्छन्। टीबी हुन्छ रे।

झोला हातमा परेपछि उसले पनि परिस्थिति बुझ्यो। तिर्छु भनेपछि मन कत्रो भएर आउँछ ! बुझ्ने होइनन् यिनीहरु। उसले खाली झोलाको झटारोले खाटमा उक्लिँदै गरेको साङ्लोलाई हिर्कायो।

ए, अँ सिमन्टी खोजिदिनू भन्थे…..

मैले काम पाएको छैन र ? सक्तिनँ म त्यो सालाको सिमन्टी लिमन्टी खोज्न।

किन चिच्याएको ? सुन्लान् क्या, जसको खायो उसैलाई गाली गर्नु त भएन !

बाठो लोग्नेले फेरि कुरा बुझ्यो र चूप लाग्यो।

चूप लागेपछि गुम्सियो र रन्थनिँदै झोला बोकेर बाहिरियो।

एफ आई एस एच फिस्, फिस् माने माछा !

आमा ख्वै माछा ?

ऊ सडकमा आएपछि अनुहार छाम्छ, खस्रो लाग्छ। ब्लेड पनि किन्नुपर्ने। ऊ अझै रन्थनिएकै छ। तर सडकमा रन्थनिएर हिँड्नु भएन। किनभने कुनै रन्थनिएको वाहनसित जुध्न पुगिएला।

एउटा ल्याम्पपोस्टनेर एकछिन उभियो।

भएन, हुँदै भएन। ठ्याम्मै हिसाब मिलेन। बरु पचास माग्नुपर्ने रहेछ। के थाहा यति सजिलै पाइएला भन्ने। नत्र…………कसरी आदर्शवादीहरुले भौतिकवादीहरुसित रुपियाँ खुस्काउँछन् कुन्नि ?

थाप्लोमाथि गुलुप रहेछ, राति बल्ने। अहिले त सूर्य बलिराखेको छ- झलमल्ल। प्रकाश आँखासम्म आइपुग्छ, भित्र पस्दैन। त्यहीँबाट रिफ्लेक्ट भएर चारैतिर छरिन्छ र सबै कुरा देखिन्छ। देख्छ, बीस रुपैयाँ घरखर्च- जतिसुकै आओस् र पाँच रुपैयाँ आफ्नो गोजीमा। माछा समात्न अफिस पनि त पुग्नुछ। यसरी माछाको निहुँको हिसाबले आफूलाई सन्तुष्ट पारेपछि ऊ ल्याम्पपोस्टको छायाबाट अगाडि लम्कन्छ। यति वैज्ञानिक ढंगले त उसको अफिसको एकाउन्टेन्टले पनि अडिटरलाई सन्तुष्ट पारेको थिएन होला। अडिटर र ऊ सन्तुष्ट हुने एउटै गाँठी त हो- गोजीमा पाँच रुपियाँ।

अनुहार छाम्छ, खस्रै छ। दिक्क लाग्छ। पिउन गोकुलकी स्वास्नी, गाउँबाट आएकी कान्छीलाई फकाउन जाँदा पनि के यही अनुहार लिएर जानु ? छि छि यो त भएन।

अनि कान्छी पनि गाउँघरका जुँघामुठेहरुको बल्छीबाट फुत्किँदा फुत्किँदा छल्न खप्पिस् भएकी रहिछ। उसको जालमा पर्दैपर्दिन। हरे राम ! गरिपलाई कतै सुख छैन। होस् खस्रै अनुहार।

बीस रुपैयाँको जे जित आउँछ, किन्यो।

अब गोजीमा पाँच रुपियाँ छ, यसको आफ्नो निजी सम्पति। यसैबाट अब रोबरवाफ, कर्म कुकर्म, धर्म अधर्म सबै गर्नुछ।

पाँच रुपैयाँ छ। पुलकित छ।

ऊ यस लाइनको सबैभन्दा राम्री साहुनीकहाँ पुग्छ चुरोट किन्न। साहुनी, होटेल क्लब पार्टीमा जाने डाँफे मुनाल जस्तो चराचुरुङ्गी त होइन तापनि भँगेरो फिस्टो त हो नै।

दशओटा गैँडा देऊ त साहुनी मैयाँ ! ऊ अर्थपूर्ण ढंगले मुसुक्क हाँसेर पाँचको नोट दिँदै भन्छ।

साहुनी ‘मैयाँ’ शब्दले गर्दा झस्केर ऊतिर हेर्छे। ऊ पासो थापेर बसेको शिकारी झैँ चनाखो भएर साहुनितिर हेर्दैछ। साहुनीले उसको आँखा र हँसिलो अनुहारमा के देख्छे कुन्नि, बट्टा खोलेर छिटोछिटो दशवटा गैँडा चुरोट ऊतिर लम्काउँदै कन्तुरमा चानचुन खोज्न थाल्छे। ऊ दशवटा चुरोटको साथसाथै पाँचवटा औँला पनि तान्न खोज्छ, हुँदैन। साहुनी ध्यान चानचुन खोज्नतिर लागेकाले यस कुरातिर कुनै वास्ता हुँदैन।

चानचुन त छैन बाजे, अरु के चाहिन्छ ?

‘बाजे’ले उसलाई झस्काएर ‘नाति’ छेउ पुर्‍याउँछ। नाति झैँ मुसुक्क हाँसेर रवाफिलो स्वरमा अर्थपूर्ण दृष्टि दिँदै भन्छ, भैगो, दिनुपर्दैन।

ऊ निधारमा गाँठो पारेर भन्छे, किन ?

किन ? ऊ अलमलिन्छ। ऊ अलमलमा परिराखेकै बेला साहुनीले पसलभित्रको सानो ढोकाबाट के भन्छे कुन्नि एउटा लोग्नेमान्छे त्यहाँबाट गोजीमा हात हाल्दै बाहिर निस्कन्छ र चानचुन पैसा ऊतिर लम्काउँदै रिसाएको स्वरमा भन्छ, लेऊ।

ऊ परिस्थिति नबुझेर नाति झैँ कल्पनामा रङ्गमगिँदै उस्तै रवाफिलो स्वरमा घोषणा गरे झैँ भन्छ, भैगो भैगो पर्दैन।

किन पर्दैन बाज्या ? भनेर उसले चानचुन पैसा भूँइमा छर्दै उसको खुइलिएको जर्किन समातेर मुण्ट्याइदिन्छ।

पैसाको साथै झोलाका चीजबीजहरु पनि छरिएछन्।

ऊ ‘नाति’ को प्रभावलाई मनमनै सराप्दै आफ्नो अनुभव बटुल्न थाल्छ।

के भो ? के भो ?

मुण्टो उचालेर पुलुक्क हेर्दा उसलाई लाग्छ, त्यहाँ साहुनी मैयाँको सट्टा बजै मैयाँ ऊतिर हेरेर मुसुमुसु हाँस्दैछिन्।

मानिसहरु बटुलिन्छन्। मात्र तमासा हेर्ने।

(‘तिम्री स्वास्नी र म’ कथा संग्रहबाट)

Sushma Manandhar – Saathi (Nepali Laghu Katha)

सुषमा मानन्धर – साथी
(Source: मधुपर्क साउन, २०६७)

हतार हतार हिँडिरहेको उसले अत्यास लागेर एकपव्ट फेरि माथि हेर्यो । ऊ , … त्यो पहाडको टुप्पो । टुप्पोमा रहेको त्यो मन्दिर । ऊ त्यही पुग्नलाई हिँडेको छ । ठाडो उकालो र साँघुरो ढुङ्गे बाटोले गर्दा त्यहाँसम्म पुग्न विकट नै छ भन्ने जान्दाजान्दै पनि त्यहाँ साक्षात् ईश्वर बस्छन् र त्यहाँ पुगेपछि आफ्नो कुनै पनि कामना पूरा हुन्छ भन्ने आस्था र प्रचलित विश्वासका कारण उसले मन्दिरमा पुग्नुलाई आफ्नो गन्तव्य बनाएको छ ।

यात्रा थाल्दा ऊसँग सहयात्रीहरूका रूपमा एउटा निकै ठूलो जमात थियो । कस्तै गाह्रो परे पनि उनीहरूको साथ आफ्नो कठिन र लामो यात्रा सजिलै छिचोल्न सकिन्छ भन्ने आशामा ऊ हिँडिरहेछ । तर यात्रा नसकिँदै थाकेर, अल्मलिएको र गाह्रो भएर धेरैजनाले यात्राबाट बीचैमा उसको साथ छोडिसकेका छन् । निकै ठूलो भीडको रूपमा रहेका आफ्ना सहयात्रीहरू घटेर दुईतीन जना मात्र बाँकी हुन थालेकाले ऊ आत्तिन थालेको छ ।

लामो र उदेकलाग्दो बाटो । उसमाथि कहिले डढाउने घाम, कहिले झरी । आफ्नो अनवरत यात्रामा धरमराउँदै हिँडिरहेको बखत उसले देख्यो कि ऊभन्दा केही पर अलि दुब्लो देखिने एक व्यक्ति पनि ऊसँगसँगै हिँडिरहेको छ । डुब्न लागेकोलाई त्यान्द्रोको सहारा भनेझैँ उसमा थोरै भए पनि साहस पलायो । हुँदाहुँदा अन्तमा उसको साथ नछाड्नेमा त्यही दुब्लोव्यक्ति मात्र बाँकी रहन गयो । उसलाई छाडेर जाने साथीभाइहरूका के कुरा, ऊ आफैंले पनि यात्राको किचलो र कठिनाइसँग आजित भएर निकैपल्ट यात्रा छोड्न खोजेको थियो ।

‘यहाँसम्म त पुगिनैसक्यौ, फेरि किन हरेश खान्छौ ? हेर, कसैले साथ नदिँदा पनि म छु तिम्रो साथमा ।’ निराश भै फर्किन खोज्दा साथमा आउने दुब्लो साथीले बारम्बार सम्झाउँथ्यो । साथीको भरोसामा ऊ बढ्यो, बढ्दै गयो ।

धेरै दुःखकष्ट आए, त्यो साथीले उसको साथ छोडेन र अन्तमा साथीकै हौसलाले टुप्पोमा भएको मन्दिरमा पुगिछाड्यो । अथाह शान्ति थियो त्यहाँ र ऊ त्यतिबेलासम्ममा कामनारहित भैसकेको थियो । उसले पछाडि फर्केर आफ्नो उत्साह बढाउने साथीसँग उसको परिचय माग्यो । ‘अझै चिनेनौ मलाई ? म हुँ तिम्रो आडभरोसा, तिम्रो आफ्नै आत्मविश्वास ।’ साथीले उसको काँध थप्थपाउँदै हाँस्दै जवाफ दियो ।

Sarubhakta – Lop Jiwan

श्रवणकुमार उसको नाम होइन । धार्मिक कथामा बाबुआमाप्रति अनन्य भक्तिका नायक जो दशरथद्वारा मारिएका थिए, अयोध्याका राजा । तर, ऊ जहाँ बस्छ त्यहाँका छरछिमेकहरू उसलाई श्रवणकुमार भनी सम्झन्छन् ।

ऊ उमेर गएका बाबुआमासित पोखरामा बस्छ । दुवै ८० लागेका ।

ऊ रवि हो । सामान्य नाम । आकाशको घामसित कुनै सरोकार छैन । सायद धर्मले हिन्दू र कर्मले पावनसिन्धु । बाबुआमाले ढिलो, ५० तिर छोरो पाउँदा सूर्य भगवान्झैँ प्रतापी होस् भन्ने प्रतीकात्मक आकाङ्क्षा बोक्छन् ।

सत्तरीतिर लाग्दानलाग्दै बाबु पूरै अन्धो हुन्छ र आमा पूरै अन्धी ।

ऊ हुन्छ श्रवणकुमार नभएर पनि श्रवणकुमार ।

क्याम्पस छुट्छ । र, छुट्छ कम्प्युटर विज्ञानमा सफ्टवेयर पायोनियर बन्ने महान् सपना पनि ।

तर, ऊ छुटेको सपनाले उदास भए पनि भेटेको विपनाले दुःखी हुँदैन । ऊ त्यस साँचोको मान्छे हुन्छ, जो बौद्धिक वातावरणमा पनि अनुकूलता प्राप्त गर्न सक्छ । उसलाई एउटै दुःख हुन्छ, ऊ बाबुआमाका गुमेका आँखा फिर्ता ल्याउन केही गर्न सक्दैन ।

सकेजति आशा बोकी ऊ बाबुआमालाई देशका सबैजसो आँखा अस्पतालहरूमा पुर्‍याउँछ, श्रवणकुमारले झैँ खर्पनमा राखी होइन, भाडाका गाडीहरूमा राखी । तर, सबै व्यर्थ ।

बाबुआमाले सजिलै स्वीकार गर्छन्, यो उनीहरूको भाग्य हो, कुनै रोग होइन र अरू आँखा परीक्षण गर्न जान अस्वीकार गर्छन् । सबभन्दा राम्रो आशा नहराएर अनन्य भक्त छोरो रिसाइदिन्छ । स्वाभाविक नै हो ।

“यहीँको एउटा अस्पतालमा एक जना जान्ने डाक्टर आएको छ, किन नजचाउने त ?” रिसाइसकेपछि छोरो फेरि रिसाउँदैन । “छोरा, हामी बूढाबूढी भइसक्याँै । बुढ्यौलीको कुनै उपचार हुँदैन ।” परम्परागत अन्धविश्वास ! फेरि नरिसाएको छोरो रिसाउँछ ।

“नरिसाऊ छोरा । हामी बाबुआमाको साँचो भक्ति गर्छौं भने हाम्रो अन्तिम इच्छा पूरा गरिदेऊ …।” ऊ बुझ्छ अविवाहित छोरोसित मायालु बाबुआमाको अन्तिम इच्छा के हुनसक्छ, त्यसैले चुप भई बस्छ । उसलाई त्यस्तो केटीमान्छेसित बिहे गर्ने मन हुँदैन, जसलाई ऊ माया गर्दैन । र, माया अझै भएको छैन कसैसित ।

मायाको पर्खाइमा बिहे अपहत्ये हुन्छ । मायाबिनाको बिहे बेकारको बोझ मात्र हुन्छ । अरू शब्दमा । तर, पर्खाइको कुनै सीमा हुँदैन । यदि माया जीवनभर पर्खाइको घटना भयो भने के गर्ने त …।

“छोरा, तिमीलाई थाहा छ हामीसित पर्खिबस्ने समय छैन । हामी डाँडामाथिका घाम, कालका दूतहरू कुनै पनि बेला हामीलाई लिन आउन सक्छन् । त्यसभन्दा पहिले नातिनातिनीका मुख हेर्न पाए …।”

बाबुआमालाई चुप भई बस्ने आवश्यकता हुदैन, त्यसैले क्रमशः क्रमशः अन्तिम इच्छालाई व्याख्या गरिरहन्छन् ।

बढीमा महिना दिनभित्र ऊ छिमेकको एक केटीमान्छेसित बिहे गर्छ । निश्चय पनि महान् त्याग, जुन समाजले बुझ्दैन ।

बाबुआमा खुसी हुन्छन् । अब उनीहरू एकैपल्ट परत्रका लागि भगवान् भजन र वरत्रका लागि बाजेबजै बन्ने सपना देख्छन् । शौभाग्यवश बुहारी पनि लक्षणकी पर्छे, सासू-ससुरालाई राम्रै सेवा गर्ने खालकी ।

केही महिना बित्छन् खुसीहरूमा र महान् त्यागका सन्तुष्टिहरूमा । तर एक दिन ऊ अर्थात् छोरो रवि अर्थात् लोग्ने रवि बिरामी हुन्छ । पहिले कुनै लक्षण नदेखाएर । ऊ कसैलाई खबर नगरी चिकित्सककहाँ जान्छ ।

“के भयो ?” सोधिन्छ । “थाहा छैन डाक्टर तर म अस्वस्थ महसुस गर्दैछु,” ऊ भन्छ । “त्यसो भए केही नहुनुपर्ने कुराहरू भइरहेछन् । मलाई जाँच्न दिनुहोस् ।” उसलाई भनिन्छ अनि जाँचिन्छ उसको शरीरमा सबैतिर । कुनै रोग देखापर्दैन । “तपाइर्ं स्वस्थ हुनुहुन्छ । आफूलाई अस्वस्थ मान्नु तपाइर्ंको मनोविज्ञान हो ।”

उसलाई उसको जाँचको नतिजा सुनाइन्छ । नतिजा अनपेक्ष्ाित हुन्छ, अपि्रय हुँदैन । ऊ खुसीखुसी घर जान्छ र खुसीखुसी आफ्नो अस्वस्थताको कुरा बिर्सन खोज्छ । तर, बिर्सन सकिँदैन ।

“के भयो ?” यसपालि चिकित्सकले होइन, बाबुआमाले सोध्छन् चिन्तित भई । “केही भएको छैन । म एकदम ठीक छु । चिन्ता गर्नुपर्दैन ।” ऊ भन्छ, बाबुआमाका चिन्तादेखि चिन्तित भई । “छोरा, तिमी हाम्रो बुढेसकालका सहारा हौ …।” बाबुआमाले चिन्ता गर्न छोड्दैनन् । अनन्य भक्त छोरोले बाबुआमाको कुरालाई स्वार्थ भनी बुझ्न मन पराउँदैन । त्यसै दिन बाबुआमाले थाहा पाउने गरी ऊ बाहिरतिर घुम्न निस्कन्छ ।

“डाक्टर, म साह्रै नै अस्वस्थता महसुस गर्दैछु । मेरो मनोविज्ञान ठीक छ ।”

“विश्वासपूर्वक भन्दै हुनुहुन्छ ?”

“अवश्य ।” तर, चिकित्सकलाई विश्वास पर्दैन ।

“ठीक छ, म फेरि जाँच्नेछु । ढुक्क भई बस्नुहोस् । चिन्ता गरी आफ्नो एम्युन प्रणालीलाई असफल नपार्नुहोस्,” चिकित्सकले भन्छ अनि आफ्नो काम थाल्छ । उसलाई एक विशेष यामीय उपकरण ९च्यदयतष्अ भ्त्रगष्ऊभलत० भित्र राखिन्छ । ऊ बुझ्छ, यो सामान्य जाँच होइन, माने केही गम्भीर र खर्चालु कुरा छ ।

“न्भलभतष्अ म्ष्कयचमभच” यामीय उपकरणले नतिजा प्रकाशित गरिदिन्छ तर कुन खालको प्रकाशित गर्न सक्दैन ।

ऊ बुझछ, जीनमा गडबडी … ।

“ठीक छ … । तपाईंलाई मानवजीन थेरापी आवश्यक छ ।” चिकित्सक भन्छ । आफ्नो योग्यताको कुनै तहमा अन्योलग्रस्त भई । जब ऊ अस्पताल भर्ना हुन्छ, अन्धाअन्धी बाबुआमाबाट यो कुरा लुकाउन सफल हँुदैन । उनीहरू हाहाकारमा पर्छन् । रुन्छन् । बेस्सरी रुन्छन् । उनीहरूका नदेख्ने आँखाहरूबाट देखिने आँसुका खोला बग्छन् । ऊ विश्वास दिलाउने प्रयास गर्छ, उसको रोग गम्भीर छैन । त्यसैले चिन्ता चिन्ताहीन छ, शोक शोकहीन छ, दुःख दुःखहीन छ । ईश्वरमाथि भरोसा राख्नुपर्छ, जसलाई प्रार्थना गरिन्छ । अन्धाअन्धी बाबुआमा ईश्वरमाथि भरोसा राख्छन् र बलिन्द्रधारा आँसुका प्रार्थना गर्छन् । अस्पतालको शय्यामा साताभरि नै केही फरक कुरा हुन्छ । ऊ अर्थात् छोरा रवि कुनै उपचारमा गुज्रँदैन । कुरो स्पष्ट छ, मानवजीन थेरापी भनेको जीन स्थानान्तरण ९न्भलभ त्चबलकाभच० द्वारा रोगोपचार गर्ने विधि हो र यस्तो पहिलो परीक्षण सन् १९९० मा सुरु गरिएको थियो । रोगीको ब्मभलयकष्लभ म्भamष्लबकभ न्भलभ लाई द्यymउजयअथतभक मा स्थानान्तरण गरेर । किनभने यो सन्जाइमदोष  तर्फ लक्षित थियो र अत्यन्त घातकसिद्ध हुन्थ्यो । तर, यहाँ खास रोग पत्ता लागेकै छैन । कुन रोगको उपचार गर्न कुन जीन स्थानान्तरण गर्ने ? अनि कहाँ ?…

ऊ चिकित्सकका निम्ति एक प्रयोगको वस्तु भइदिन्छ र आफ्ना निम्ति एक गम्भीर पाठक । विषय मात्र जेनेटिक्स ।

जीन- सन् १९०९ मा सबभन्दा पहिलो डब्ल्यू जोहानसेनद्वारा नाम दिइएको ।

मेन्डल, डब्ल्यूएस सूट्टन- जीनका शास्त्रीय धारणाहरू । टीएच मोर्गन- ड्रोसोफिला मेलानो गाष्ट्रकमाथि प्रयोगात्मक कार्य । क्रोकोजोम- त्यो माध्यम, जसबाट वशंानुगत गुणहरू सर्दै जान्छन् एक पुस्तादेखि अर्को पुस्तासम्म । मोर्गनको क्रोमोजोम सिद्धान्त ९ऋचomयकomभ त्जभययथ या क्ष्लजभचष्तबलअभ०- यो धारणा राख्छ कि क्रोमोजोमहरू पृथक् एकाइहरूबाट बनेका हुन्छन्, जसलाई जीन भनिन्छन् ।

जीनहरू नै विशेष गुणहरूका यथार्थ संवाहक हुन् ।

जीन उत्परिवर्तन ९न्भलभ ःगतबतष्यल० जीनको रसायनिक संरचना- डीएनए अणुहरू ।

डीएनए संरचना र द्विगुमान/क्भाि म्गउष्अिबतष्यल ।

सन्देशवाहक आरएनए ।

स्ट्रक्चरता जीन, रेगुलेटरी जीन ।

जेनेटिक कोड र प्रोटिन सिन्थेसिसको नियन्त्रण ।

जीन कन्भर्सन/जीन सक्सप्रेसन/जीन म्यानिप्युलेसन/जीन ब्याङ्क/जीन लाइब्रेरी/जीन फ्लो/जीन पुल/जेनेटिक डि्रफ्ट/जेनेटिक लोड/जेनेटिक म्यापिङ्/जेनेटिक भेरिएसन/जेनेटिक स्प्लाइसिङ्/-ट्रान्सडक्सन)

ऊ आफूलाई पूरै जीनको ब्रह्माण्डमा हराइदिन्छ । र, सोच्छ भावुक कवि भएर कि ऊ जीनको एक सानो पृथ्वी हो । तर, उसलाई के भएको छ ?

यसपालि चिकित्सकले उसलाई सोध्दैन, उसले चिकित्सकलाई सोध्छ ।

“वंशानुगत दोष,” चिकित्सकले जानकारी दिन्छ ।

“त्यो भनेको के हो त ?” उसले सोध्छ ।

“वंशानुगत दोष भनेको तपाईंको निशेषिच कोषको क्रोमोजोम जीनमा भएको दोष हो । मेरो आसय जाइगोट् सेल ।”

“के मैले बुझ्नुपर्छ जन्मभन्दा पहिले मैले अपराध गरेको थिएँ ?”

“होइन, होइन, त्यसरी नलिनुहोला । विज्ञानको सत्यतालाई भावनामा लिनुहुँदैन ।”

चिकित्सक भन्छ । ऊ केही भन्दैन । उसलाई जे बुझ्नु हुन्छ पहिले नै बुझिसकेको हुन्छ । अर्को दिन अर्थात् भोलिपल्ट जब अन्धाअन्धी बाबुआमा उसको स्वास्नीको सहारा लिई उसलाई भेट्न आइपुग्छन्, ऊ बोल्न अस्वीकार गरिदिन्छ । उनीहरू बुझ्न सक्दैनन् उनीहरूको एक मात्र छोरोलाई के भइरहेछ … ।

“छोरा, हामीलाई हाम्रो मृत्यु हुनुभन्दा पहिले यसरी नमारिदेऊ…। नमारिदेऊ…। दया गर छोरा…. ।” अन्धाअन्धी बाबुआमा बिलौना गर्छन् । त्यसले उसलाई विस्फोट गराइदिन्छ ।

“मूर्ख अन्धाअन्धी ! आफ्ना अपराधी जीनहरूद्वारा आँसु नबगाउनु । म घीन मान्छु दुवैलाई ।”

स्वास्नीलाई विश्वास लाग्दैन ऊ के सुन्छे । अन्धाअन्धी बाबुआमालाई विश्वास लाग्दैन उनीहरू के अनुभव गर्छन् । तर, जीवनका यथार्थ विश्वासहरू र अविश्वासहरूभन्दा परै हुन्छ । यथार्थ घटित भइसकेको हुन्छ । कुरा त्यति नै हो ।

उसको रोगको लक्षण के हुन्छ भने कुनै लक्षण हुँदैन, अरू जीनसम्बन्धी कारणले हुने रोगहरूमा जस्तै- एजभलथपिभतयलगचष्ब। क्ष्अपभ-अिभिि ब्लझष्ब, त्बथ-क्बअजक, क्उष्लब द्यषष्मब ध्बतभच यल तजभ द्यचबष्ल आदि चिकित्सकलाई थाहा हँुदैन कसरी नवः आविष्कृत वंशानुगत गुण विक्षेपण ९त्भिचष्मष्तबचथ त्चबष्तक त्चबलsmष्ककष्यल० दोषहरूलाई सच्याउन सकिन्छ । यामीय उपकरणद्वारा साङ्केतीत समस्या के समाधानरहित छ त… ?

पहिलेझैँ नै रोगीले याने उसले अस्वस्थताको अनुभव गरिरहन्छ -अनुभव रोगको लक्षण होइन) र कहिलेकाहीँ पसिनाले नुहाइन्छ -पसिना रोगको लक्षणभन्दा बढी श्रमको लक्षण नभए मनोविज्ञान हुन्छ) । यसरी समय आशालाग्दो निराशामा चलिरहन्छ ।

यी दिनहरूमा पनि ऊ दुःखी बाबुआमाप्रति बदलिएको व्यवहार बदल्दैन । यो उसको त्यही बुझाइको प्रतिक्रिया हुन्छ कि उसको जीवन अरू केही होइन, बाबुआमाका सच्याउन नसकिने भूलहरू हुन् । तब अस्पतालमा बसिरहनुको उपयोगिता के छ ‘गिनिपिग’ भएर ?

केही छैन/केही छैन/केही छैन ।

ऊ आफूलाई अस्पतालबाट छुट्टी गर्छ । उसलाई प्रयोग गरिरहेको चिकित्सकलाई पीडादायक विषयमा पारेर ।

घर । ऊ स्वास्नीलाई चिन्छ । ऊ अन्धाअन्धी बाबुआमालाई चिन्दैन ।

“छोरा, यस्तो व्यवहार गर्नुभन्दा हामी दुईलाई घाँटी निमोठेर मारिदेऊ ।”

बाबुआमा भन्छन् बिलौना गरी गरी अनि असहायतापूर्वक सोच्छन् उनीहरूको एक मात्र छोरोलाई कुनै दुष्ट आत्माले सताएको हुनुपर्छ । श्रवणकुमार श्रवणकुमार नै हुन्छ, दुष्टकुमार हुँदैन …!

उनीहरू अन्धो आँखा चिम्लिएर प्रार्थना गर्छन् ः “प्रभो ! छोरालाई पहिलेझैँ जाति बनाइदिनुहोस् …। बरु हाम्रो ज्यान लिनुहोस् …। हजुरकै शरणागत छौँ …।”

तर, बदलीमा कुनै बदली हुँदैन । ईश्वर पुकारा जारी रहन्छ । आशापूर्वक । हो, विश्वासपूर्वक । जहाँसम्म उसको कुरा हुन्छ याने छोरोको ऊ विस्फोटित भई बस्दैन, मौन भइबस्छ ।

आफूलाई पूरै कोठामा थुनेर । ऊ भेट्न चाहने साथीहरूलाई भेट्दैन । सम्बन्धीहरूलाई भेट्दैन । छिमेकीहरूलाई भेट्दैन । किन भन्ने कुरा कसैले बुझ्दैनन् तर जतिले बुझे भनी ठान्छन् उनीहरू त्यसको सम्बन्ध मनसित जोड्छन्, “त्यस्तै हो मन ठेगानमा नभएपछि …।”

एकदिन स्वेच्छिक काराबासको तेस्रो सातामा ऊ याने छोरोले होइन, लोग्नेले स्वास्नीलाई बोलाई भन्छ, “हेर, म कुनै पनि सन्तानको बाबु बन्न चाहन्न । मेरा जीनहरूबाट जुन मैले सजायको रूपमा पाएको छु । जीनहरूको संसारमा म मेरा जीनहरू सधँैभरिका लागि लोप भइगएको हेर्न चाहन्छु । त्यसैले म तिमीलाई मनपर्ने कसैसित बिहे गरिजाने सल्लाह दिन्छु, क्षमायाचनासहित ।”

त्यस्ता कठोर वचन सुनी कसै गरे पनि असल स्वास्नीले के गर्न सक्छे, रुनुबाहेक ?

स्वास्नी रुन्छे बस्सरी । लोग्ने स्वास्नीलाई आराम पुर्‍याउन केही गर्दैन । पग्लिने त कुरै आएन । ऊ चुप भइबस्छ र आकाशको शून्यतालाई हेरिबस्छ ।

आधा रातमा उसले आफूलाई कोठामाथिको पङ्खामा झुन्ड्याइदिन्छ, सधँैभरिका लागि आफ्ना मानवीय जीनहरू लोप पार्न ।

के यो वंशानुगत भूलसुधार हो त ? मलाई थाहा छैन । मलाई थाहा छ, त्यस परिवारका दुःख र शोकलाई कुनै शब्दहरूमा बयान गर्न सकिँदैन।

Umesh Rai 'Akinchan' – Saajid Ra Sapana Haru

उमेश राई ‘अकिंचन’ – साजिद र सपनाहरु

साजिदले सल्कायो सम्झनाको सिगरेट र टेक्दै हिडयो अढाइ अक्षर प्रेमको आधा बाटो……

साजिद वरिपरि चलिरहेको बतास उही थियो जस्ले बोकेर ल्याउँथ्यो देवदूतले जस्तो एस.एम.एस. भगवानको हातले लेखेजस्ता एस.एम.एस. हरफहरु उडदै-उडदै आउथ्यो मुटुको आकार लिएर-

“म यही छु तिम्रो सम्झनाको फोटो मुन्तिर

सायद तिमी पनि आकाश र धरति जोडिएको

उही थोप्लोमुिन

सम्झनाको एल्बम पल्टाइ रहेका हौला ।”

आज ठीक उसरी नै असारको झमझम परिरहेको झरीमा रुझ्दै-भिज्दै एउटा रंगिन कार्ड साजिदको हातमा आइपुग्यो ।पृथ्वी घुमेजस्तै उसका आँखाभरी सम्झनाहरु वृत्त बनेर नाच्न थाले ।रोशनी र उस्ले एउटै छाता ओढदै नापेका काठमाडौंका सडकहरु अपदस्त शासकको नामजस्तो विस्तारै अपरिचित लाग्न थाले । अब उसँग बाँकी थिए केवल काठमाडौको जाममा परेका गाडिहरुजस्तै तछाडमछाड गर्दै आउने सपनाहरु । अमूर्त सपनाहरु देख्नलाई मात्र सिमित थिएदेखाउनलाई थिएनन् । जस्तो कि कवि लेखकसँग देखाउन केही हुदैन घरगाडीबैंक ब्यालेन्स । तर भन्नका लागि धेरै कुराहरु हुन्छन् ।सायदत्यसैले राज्य र समाजले लेखकलाई अनुत्पादक ठानेको हुन्छ ।अनुत्पादक सरह बाँचिरहेको साजिदलाई कहिले त फर्केर आफ्नै ठाउँ जान मन लाग्थ्यो ।समय-समयको कुरा हो यो सब आफैले आफैलाई सान्तवना दिन्थ्यो ।

कुनै दिन संसारकै सुन्दर सपना देख्नेहरु मध्य पथ्र्यो ऊ । प्रेममा परेको खटपटसँगैआँखामा सपनाहरु कम कुण्ठाहरु बढि ओइरिन थाले । त्यही दिनदेखि सुकिरहेको बुढो रुखजस्तो अर्ध-जिवित बाँचिरहेको थियो ऊ ।आजको विवाह निमन्त्रणा त एउटा औपचारिक सूचना मात्र थियो । कोमामा पुगेको बिरामिलाईमृत घोषणा गरेजस्तै ।

साथीहरुमै पनि केहीले सोच्थे साजिद समयभन्दा ढिलो हिडिरहेछ । केहीले भन्थे रोशनी घडिका काँटाभन्दा छिटो दौडिरहेछ ।

घडिका काँटाहरुले जत्तिनै घुमे पनि बनाउने एउटा गोलाकार न हो ।

समयको यही गोलाकारमा साजिद र रोशनी भेट्टिए र छुट्टिए पनि ।

साजिदलाई चिन्नेहरुले जे जस्तो कुरा काटे पनि उस्का मनमा समयका काला बादलहरु हटेर नीलो आकाशमा सुन्दर सेता बादलहरु आएजस्तै जीवनमा दुःखःपछि सुख आउने कुरामा आशावादि थियो । उस्ले बुझेको थियो मान्छेलाई बाँच्न सिकाउने दुई कुराहरु हुन्छन्- आशा र परिश्रम । आशा र परिश्रमको वैशाखी टेकेर पुग्नु थियो उस्लाईत्यो गोलो क्षितिज जहाँ टेकेपछि संसार आधा हुन्छ ।

भेट्टिनु र छुट्टिनु आफैमा संयोग हो जीवनको । एउटासँग माया बस्नुअरु कसैसँग विवाह हुनु चलेकै चलन हो । तर साजिदको मनको गहिरो दुःख के थियो भने धर्म उनीहरुको विछोडको कारण बन्यो । संसारका सबै धर्मले मान्छेलाई माया गर्न सिकाउछ । भगवान आफैमा रोटि हो जस्को संसारभरि फरक नाम छ तर मान्छेलाई बाँच्न आवश्यक हुन्छ । भगवान कसैका पनि खराब हुदैनन् । खराव त मान्छे हुन्छ जस्ले धर्म र भगवानलाई आफ्नो स्वार्थ अनुरुप ब्याख्या गर्छ । रोशनी पनि त्यही मध्य परी जो समय अनुरुप रङ्ग बदल्छन् । मौसमझै बदलिने बेइमानीहरुलाई जातधर्मवर्ग टाढा हुने ठूलो बहाना बन्दो रहेछ ।जबकि प्रेममाजातधर्मवर्गभन्दा माथि उठेर सँगै बाँच्ने सँगै मर्ने कसम खाइएको हुन्छ ।

साजिद अन्सारी त्यही विद्यार्थी हो जस्का लागि विश्वद्यिालय अंगालो हाल्न आइपुग्थ्यो । विरगंज गहवाबाट आएर काठमाडौंमा पाइला राख्दा सूर्यजस्तो उदाउने सपना थिएन उस्को । उस्लाई त समाजशास्त्र पढेर संसारका मानिस एउटै हुन भन्ने भावनामा केही उर्जा मात्र थप्नु थियो । शुरुका दिनहरुमा तराई मूलको भनेर साजिदलाई कसैले वास्ता गर्दैनथे । कक्षामा हुने विभिन्न टेस्टहरुमा उस्ले राम्रो नतिजा प्राप्त गरेपछि विस्तारै ऊ सबैको आँखामा परेको थियो ।

काठमाडौकी रैथाने रोशनी र उस्को पहिलो बोलचाल भने लाइब्रेरीमा भएको थियो । उपन्यासमा वर्णन गरिने नारी पात्रजस्ति रोशनी देखेर ऊ चकित बन्थ्यो । साजिद स्वभावतः कसैप्रति झट्ट आर्कषित हुने व्यक्ति थिएन । चलचित्रमा देखाइने जस्तो काल्पनिक प्रेम र जीवनले उस्लाई छुदैंनथ्यो । उस्को आदर्शनै पढनुपढनु र फेरि पढनु नै थियो । तर किन-किन त्यो दिन रोशनीका पाइला सरेतिरै उस्का गोडाहरु उचालिए । रोशनीले उस्लाई नछोएपनि रोशनीको रुपले उस्को मुटुलाई छोइसकेको थियो । तनको सुन्दरता जस्तै रोशनीमा भएको विद्वत्ता पनि उनले पल्टाएका किताबहरुबाट साजिदले थाहा पायो । रोशनीले र्याकबाट निकाल्दैहेर्दै फेरि र्याकमैं राखेका किताबहरुलाई साजिदले यसरी सुम्सुम्यायो मानौ ती किताब नभइ रोशनीका हातहरु हुन् ।

साजिदले आफैं बोल्न शुरु गर् यो “एक्सक्यूज मि, कुन बुक खोज्नु भएको होला?”

रोशनीले मुस्कुराएर उत्तर दिइन “पिपल्स अफ नेपाल”

“तपाइँले नि?” रोशनीले प्रश्न गरीन् ।

“फैटलिज्म एण्ड डेभलेपमेन्ट” साजिदको उत्तरमा उमङ्ग मिसियो । दुई किताबहरु तर उही लेखक डोर बहादुर बिष्ट मिल्न गएकोले उनीहरु दुबै खुसी देखिए ।

“पिपल्स अफ नेपाल” जुन किताबले नेपाललाई साझा फूलबारीको रुपमा चित्रित गरेको छ । साजिद नेपालको अल्पसंख्यक मुस्लिम समुदायबाट आएको भएर होला उस्लाई समता र विकासका किताबहरु मन पथ्र्यो ।

यसरी यिनै बोलिका बाटाहरुले उनीहरु मित्रतामा गाँसिए । अब साजिद र रोशनी पढाइसँगै एक अर्कालाई प्रेम गर्न थाले । काठमाडौंको जाडो महिनारातो गुलाफको शहरजस्तो देखिने मौसममा नयाँ उमङ्गको साटासाट गरे यी दुईले । “ह्यापि भ्यालेण्टाइन डे, वि स्याल लिभ आवर लाइफ लाइक पोएम लेखिएका कार्ड र राता गुलाफहरु ।”

“कविता जस्तो जीवन कस्तो हुन्छ थाहा छ ?”

कविताको कुनै धर्म हुदैन, वर्ग हुदैन, लिङ्ग हुदैन, उमेर हुदैन, भाषा हुदैन । जीवन पनि त्यही हो जहाँ बन्धन नहोस, धर्म नहोस, वर्ग नहोस, मीठा-मीठा कल्पनाहरु होस जस्तो एउटा मीठो कवितामा हुन्छ । रोशनी र साजिद यसरी नै एक अर्कामा जीवन र कवितालाई दाँजेर हेर्थे ।

यो एक्काइसौ शताब्दि सभ्यता र एकताको युग हो । दुवैलाई जात धर्म वर्गको प्रवाह थिएन । परवाह थियो त पढाइकोत्यसपछि बनाउनुपर्ने करिएरको । द्वितीय वर्षको परीक्षा पश्चात साजिद र रोशनी पनि शोधपत्र लेखनतिर लागे । ‘शोधपत्र होइन सारपत्र हो’ साथीहरु ठट्टा गर्थे । तर रोशनी र साजिद आ-आफ्नो शोधपत्रको विषयमा दत्तचित्त भएर अध्ययन गर्थे ताकि कुनै उपयोगी तथ्य उजागर गर्न सकियोस । सायद त्यही नयाँ विषयवस्तु खोज्ने जिज्ञासु बानिको कारण साजिदले न्यू एरा अनुसंधान संस्थाबाट दिइने अनुसंधानवृत्तिको सहयोग प्राप्त गर् यो । रोशनीले केयर नेपाल अन्र्तगत अनुसंधान अधिकृतको जागिर पाइन ।

यसै वीचमा दुर्भाग्यवस साजिदको बुवाको मोटरसाइकल दुर्घटनामा मृत्यु भयो । घरमा एक्लि आमा र बहिनीको भरोसा बनेर उस्ले विरगंजमै केही समय बितायो । साजिदका लागि अब जीवनका गोरेटाहरु सरल भएनन् । साजिद आफ्नै टोलको १०+२ मा केही समय पढाएर काठमाडौं फक्र्यो । काठमाडौँमै बसेर लोक सेवा आयोगको तयारी गर्दै १०+२ पढाउन थाल्यो ।

समयले अब यी दुई प्रेमीहरुलाई समुद्रको दुई किनारजस्तो बनाएर टाढा-टाढा पुर् याइदियो ।

रोशनीको घरमा उनको विवाहको कृरा उठन थाल्यो । केही प्रस्ताबहरु रोशनीले सोचुला भन्दै टारीन । यता साजिद आफ्नै दुःखले थिचिएर लिक छोडेको रेलजस्तो भएको थियो । उनीहरुबीच अब समझदारी र प्रेमभन्दा व्यक्तित्व टकराव बढन थाल्यो । प्रेम निस्वार्थ भइन्जेल अन्धो हुन्छ । प्रेममा स्वार्थ मिसिनासाथ त्यो नाफा घाटा अनुसार चल्ने ब्यापार बन्छ । हाम्रो जस्तो अल्पविकसित समाजमा झन एउटा मुस्लिम केटा र हिन्दू केटीको प्रेम समाजले सहज रुपमा स्विकार्ने अवस्था थिएन । यही सामाजिक बिभेद रोशनीलाईसाजिदबाट टाढा हुने बहाना बन्यो ।

साजिदमा अब हिजो जस्तो सफल मान्छे बन्ने संभावना पनि थिएन । परिस्थितिले उस्लाई यसरी बाँध्दै लग्यो अब उस्का नजिकका मित्रहरु नै ऊ बाट टाढिन थाले । रोशनी जस्को साथ यो समय उस्कालागि अपरिहार्य थियो तर रोशनी नैं ऊ बाट तर्कन चाहेको उस्ले राम्ररी बुझ्यो ।

‘साजिद मेरो विहेको चर्चा घरमा व्यापक भइरहेको छ, क्यानाडा बस्ने डाक्टरसँग ।’ साजिदको अघि रोशनीले आफू दुःखी भएको अभिनय गरेपनि उनको आँखामा नाचिरहेको उमङ्र्र्र्लाई साजिदले स्पष्ट देख्यो ।

विचरा ! साजिद के गरोस आफ्नी आमा र बहिनीलाई त सहारा दिन नसकेर विरगंजमै छोडि आएको छ । काठमाडौंमा १०+२ पढाएर आफू मात्र बाँच्न त मुश्किल परेको बेला रोशनीका महत्वकांक्षा उस्ले कसरी पूर्ति गरोस । फेरि १०+२ पढाउने जागिर पनि के जागिर हो र पि्रिन्सपलको हजूर-हजूर गरेसम्म न हो । उस्ले यस्तै सोच्यो ।

कुनै समाधानको उपाय निक्ली हाल्छ कि उस्ले केही हप्ता पर्खन आग्रह पनि गर्यो।

संवाद भएको केही दिनपछि नै रोशनीको विवाह पक्का भएको कुरा साजिदले साथीहरुबाट थाहा पायो । आज विवाहको रङ्गिन कार्ड उस्को हात पर्दा उस्का आँखाभरि पृथ्वी घुमेसरी सम्झनाहरु ओहोर दोहोर गरीरहे । सँगै जिउनेसँगै मर्ने कसम खाएर जीवनमा गरेको पहिलो प्रेम बिर्सन खोजे पनि सम्झनाहरुले उस्लाई ठुङ्गि नै रहेँ ।

**********************************************************

विवाहको केही दिन पछि नै रोशनी क्यानाडातिर उडिन जिन्दगीको आकाश भेटन । साजिदका लागि अब रोशनी सुन्न सकिने तर गाउन नसकिने गीतजस्तै बनिन् । रोशनी देख्न सकिने तर छुन नसकिने बादल भएर उड्दै-उड्दै टाढा धेरै टाढा क्षितिज भन्दा पर पुगिन ।

समयले सधैं मान्छेलाई अन्याय मात्र गर्दैन ।परिस्थिति सधैं प्रतिकुल मात्र बन्दैन ।संसार आशावादिहरुको हो जस्ले कालो बादलमा चाँदीको घेरा देख्न सक्छ । संसार परिश्रमीहरुको हो जस्ले सिपीमा मोति बटुल्न सक्छ । अवसरको लागि प्रेम गर्नेहरु नाफा घाटाको हिसाबमै अल्झिन्छन् । साचो माया गर्नेहरु सुखमा पनि दुःखमा पनि सँगै जिउँछन सँगै मर्छन् ।

साजिद आज परराष्ट्र अधिकृत बनेको छ । क्यानाडामा खुल्न लागेको दूतावासमा उस्को पोस्टिङ् भएको छ । कसै-कसैले भनेको सुनिन्छ श्रीमानसँगको सम्बन्ध विच्छेद पश्चात रोशनी क्यानाडामा एक्लै छिन् । यता साजिद र डा. सवाना खातुनको सानो संसार, सानो सन्तानसँगै खुसीसाथ चलिरहेको छ । साजिदकी आमा र बहिनी अहिले काठमाडौकै घरमा पूर्ण सन्तुष्टिका साथ जीवनयापन गरिरहेका छन् ।

अन्ततः आशा र परिश्रमको वैशाखी टेकेर साजिद पुग्यो त्यो गोलो क्षितिज जहाँ टेकेपछि संसार आधा हुन्छ ।