Narayan Tiwari – Ek Din

नारायण तिवारी – एक दिन

यहाँ जन्कुको दोकान थियो । म ठम्याउन खोज्छु । घरहरू पहिलेका जस्ता छैनन्, अब । उः बेला सबै घरहरू प्रायः फुसका थिए । अहिले देख्दै छु— प्रायजसो टिनका घर छन् । एकाध पक्का पनि । अनि फुसका घर ? रुग्ण अवस्थाका फुसका जर्जर घरहरू पनि छन् । म त्यतातिर ध्यान दिन्नँ । आजभन्दा २५/३० वर्षअघिको एउटा बनियाँ आज पनि त्यस्तै फुसकै घरमा होला त ?

पहिले सीतागन्ज पनि हेलिएर जानुपथ्र्यो, वर्षामा । केसलियामा पुल थिएन । ठाउँठाउँमा केसलिया नदीको बाढीले पारेका ठूलठूला गड्ढाहरू । अनि शिवहरिको पैनी । ब्रह्मपुराको होली । यो जन्कुको दोकान भएको भीमपुर । यहाँ पनि धाँजा फाटेर ठूलठूला खाडलहरू थिए । डुबिएला कि भन्ने कत्रो पीर । हामी वर्षामा एक्लै हिँड्दैनथ्यौँ । ठूला मान्छेका साथ लगाएर मात्रै पठाउनुहुन्थ्यो, बाले । कहिले आपैmँ काँधमा राखेर हेलिँदै पु¥याउनुहुन्थ्यो । पढ्नलाई राखिएको थियो, विराटनगरमा । छुट्टी भयो कि खुरुरु कुदेर घर जान खोज्ने हामी दाजुभाइ वर्षाको समयमा भने ट्वाल्ल पथ्र्यौं र सीतागन्ज जाने कोही छन् कि ठूला मान्छे ? ढुकेर केसलिया रोडमा बस्थ्यौँ ।

यसरी पुग्दा पनि बा चिन्तित बन्नुहुन्थ्यो र हकार्नुहुन्थ्यो, “किन आउनुप¥यो, एक दिन छुट्टी हुँदै !”

हामीलाई बारम्बार घर आउन आमाको स्नेहमा लुटपुटिने वा बाको काखमा लडीबुडी गर्ने लालसाले धकेल्ने गर्थेन, बरु कताकता यही जन्कु र जन्कुको सेर–तराजुले चुम्बकले झैँ तान्ने गर्दथ्यो ।

हामीलाई भीमपुर हुँदै घर जाँदै गरेको देख्नै हुन्थेन, कराइहाल्थ्यो— “है बौवा ! छुट्टीमा घर आइगयो ?” अनि घर पुगेको केही घण्टा पनि बितेको हुन्थेन, एउटा सानोसानो घोडामा सेर–तराजु र बोरा लट्काएर जन्कु हाजिर भइहाल्थ्यो ।

हामी हल्ला गर्न थालिहाल्थ्यौँ, “पैसा दिनू आमा ! पैसा दिनु न आमा !”

“भौजी ! ल्याउनु ने त के छ तोरी–धान ?” ऊ झटपट सेर–तराजु लिएर तौलिन तयार भइहाल्थ्यो ।

आमाका कान र आँखा चनाखा हुन्थे । साउती मार्नुहुन्थ्यो, “एइ बिस्तारो बोल् ! तेरो बाले थाहा पाउनुभयो भने मार्नुहुन्छ ।”

अनि हतारहतार तोरी, धान जे छ बेचेर पैसा हाम्रा हातमा हालिदिनुहुन्थ्यो र जन्कुलाई कराउनुहुन्थ्यो, “भाग छिटो ।”

जन्कु पनि पल्याकपुलुक गर्दै टाप ठोक्थ्यो । यस्तो होइन कि बाले हामीलाई पैसै दिनुहुन्थेन, दिनुहुन्थ्यो तर अत्यन्त कम । भन्ने गर्नुहुन्थ्यो, “पैसा लिने बानी राम्रो होइन ।” अनि घरका अन्नहरू बेच्ने कुरामा सख्त मनाही गर्नुहुन्थ्यो, “आपैmँलाई खान नपुग्ने अन्न यसरी जथाभाबी बेच्नु हुँदैन ।”

सम्झिन्छु— एकपल्ट विराटनगरबाट घर जाँदा जन्कु बनियाँ भीमपुरमा देखिएन । राम्रो मौका थियो— बा विराटनगरमै हुनुहुन्थ्यो । घर पुगेर पनि बाटैतिर आँखा डुलाइरह्यौँ, तर अहँ ! जन्कु आएन । त्यो दिन पनि आएन । भोलिपल्ट पनि आएन । आमाले पर्सिपल्ट एउटा झोलामा तोरी हालिदिनुभयो, “ला यो भीमपुरमा लगेर बेच्नू ।”

फेरि त्रास देखाउनुभयो, “बाले फेरि बाटामा भेट्नुहोला र मार्नुहोला नि ।”

मायाले कन्जुसी नगरी ठूलो झोलामा हालिदिनुभएको तोरी निकै गहुँगो लाग्यो ।

हामी दाइभाइ निकै खुसी भयौँ र मुन्टो अररो हुने भए पनि खुसी हुँदै पालैपालो बोक्दै अघि बढ्यौँ ।

हामी बा विराटनगरबाट यही बेला आउँदै गरेको नहुनुहोस् भनेर राजाजी थान र संसारी माइथानसित भाकल गर्दै अघि बढ्दै थियौँ ।

ट्याङ्ग्राको पुल यसो के उक्लिएका थियौँ— बा त प्रत्यक्ष सामुन्ने पो !

हामी भयले त्रस्त भयौँ— अवाक् । बाले मेरो मुन्टोबाट केही नभनी एक हातले झोला उठाउनुभयो र, ‘ल हिँड’ भन्दै घरतिर पाइला चाल्नुभयो । हामी स्वचालित यन्त्रझैँ पछिपछि डोरियौँ ।

त्यो दिन घर पुगेर आमाको सातो खानुभएको अझै स्मृतिमा ताजा छ, मेरो । बाले हामीलाई केही भन्नुभएन । घर पुगेर दुवैको टाउको सुमसुम्याउनुभयो । अनि दुवैका हातमा एकुन् रुपियाँ राखेर ‘लौ जाओ’ भनेर हाम्रो डरलाई धपाइदिनुभयो । हामी त्यसपछि हृदयमा बाप्रति स्नेह उमार्दै खुसीखुसी विराटनगरतिर लागेका थियौँ ।

म झसङ्ग हुन्छु, खोइ जन्कु ?! खोइ जन्कुको दोकान ?! भीमपुर पहिलेजस्तो छैन अब । वरिपरिका खाल्टाखुल्टी, ठूलठूला गड्ढा अब एउटै छैनन् । बाटो ग्य्राभेलिङ भइसकेछ । अब पिच बन्न मात्र बाँकी छ ।

एउटा बाटोमै बाँसको खुट्टा र पन्नी हालेको छाना भएको टेम्प्ररी चियादोकानको, बस्दा पनि हल्लिने बाँसकै भाटा खप्ट्याएर बनाएको ‘टेम्प्ररी’ बेन्चमा बस्दै चियाको आदेश फर्माउँछु ।

मैले परशु दाइलाई भनेँ, “मेरो सम्भावित कथाको पात्र यही ठाउँमा छ— जन्कु बनियाँ ।”

मैले आफ्ना बाल्यकालका कुराहरू उहाँलाई सुनाएँ । बाल्यअवस्थामा सधैँ हिँड्ने मेरो बाटो यही हो भन्दै बाटोसितको स्नेह प्रकट गरेँ ।

चिया खाँदै हामीले गफ गर्दै ग¥यौँ ।

चियादोकानमा एउटी आइमाई थिई । केटाकेटी पनि थिए । ऊ मेरो अनुहार निकै चाख मानेर हेर्दै थिई ।

“कथि देखै छी ?” म ऊतिर उन्मुख भएँ र फेरि बोलेँ— “हम्रा चिनै छी ?”

“कथिला नै चिन्बे ! रामजी भैयाके बेटा नै छे तुँ ?” म छक्क पनि परेँ, तर तत्कालै अनुभूत गरेँ— मैले परशु दाइसित गरेको कुराकानीका आधारमा यसले मलाई चिनिछ । नत्र कहाँ बीस÷पच्चीस वर्षअघिको केटाकेटी अनि कहाँ यो उमेरको सुटेड–बुटेड सहरिया बाबु !

अचानक म झस्किएँ— यो को हो नि ? ऊ मुसुमुसु हाँस्दै थिई ।

“जन्कु बनियाँ कहाँ छ हँ आजकाल ? उसको घर त उः त्यो ठाउँमा थियो ।” मैले फुसको उही पुरानो आदिम घर भएकै ठाउँतिर औँलाले सङ्केत गरेँ ।

तर, मैले त्यो फुसको घरलाई नै जन्कुको घर हो भनेर एक मनले पनि औँल्याउन चाहेको थिइनँ । किनभने एउटा घोडा र सेर–तराजु लिएर गाउँगाउँ हिँड्ने ‘गामलाल’ को कथा मलाई थाहा थियो । ऊ अहिले अरबपति छ र नेपालको एक नम्बरको लब्धप्रतिष्ठित व्यापारी ।

विराटनगरकै निमको गाछीमुन्तिर सेर–तराजु लिएर बस्ने भवँरलाल आज सहरकै एक नम्बर काँटावाल करोडपति बनेको छ । अनि हाम्रो जन्कु बनियाँ यो २५÷३० वर्षमा केही बनेन होला त ?

“त्यही त छ हाम्रो घर !” म फेरि झस्किएँ ।
“कसको घर ? को हाम्रो ?” म अटपटाएर बोलेँ ।
“जन्कुको घर, मेरो घर हो बौवा !” ऊ हाँस्दै बोल्दै थिई ।
“ए जन्कुको घरवाली तिमी, भौजी ?”
“हँ !” उसले टाउको हल्लाई ।
“मैले त चिन्नै नसकेको !”
“कहाँ चिन्नुहुन्छ त ! अब त तपाईंंहरू सहरिया भयो, ठूलो मान्छी भयो । हामी गरिब मान्छीलाई कहाँ चिन्नुहुन्छ ?”

छिनभर अघिको उसको उज्यालो अनुहार अब केही मलिन भएको अनुभूत भयो मलाई ।
‘गरिब’ शब्दले मलाई बेसरी चिमोट्यो । कहाँ म त हाम्रो जन्कुलाई पनि गामलाल र भवँरलालसँग तुलना गर्दै थिएँ । अब त हाम्रो जन्कु पनि अरबपति नभए पनि करोडपति नभए पनि लखपति त भइसक्या होला भन्दै गुन्दै थिएँ, म । भीमपुरमा देखिएका एक÷दुई पक्काका घरमध्ये कुनै
एक त पक्कै हाम्रै जन्कुको होला भन्दै थिएँ म । उसकी जहान यसरी एउटा मामुली चियादोकानमा मैलो सारी लगाएर चिया घोट्दै होली भन्ने के कल्पना ?
“अनि खोइ त जन्कु भैया ?” मैले अधीर हुँदै बोलेँ ।
“उहाँ बिरामी छ ।” उसले उही फुसको घरतिर सङ्केत गरी ।
“के भएको ?”
“के हुनु ! खोकी छ, ज्वरो पनि छ ।”

मैले अनुमान गरेँ— गरिबीको रोग हो, उसलाई लागेको रोग ! गामलाल र भवँरलालले झैँ पैसा कमाउन सकेको भए ऊ यसरी ओछ्यानमा बिरामी भएर लम्पसार हुने थिएन ।

परशु दाइ र म उसलाई भेट्न त्यही फुसको घरतिर लाग्यौँ । एउटा सानी बच्ची भौजीले हाम्रो साथ लगाइदिई ।

ओसरामा नै एउटा बूढो रुग्ण मानिस लम्पसार, देख्दा सास फेरिरहेछ । हाम्रो पदचापले ऊ आँखा खोल्छ । हामीलाई देख्दा ऊ आश्चर्यमा परेको कुरा उसका आँखाले बताउँछन् । ऊ सकीनसकी उठ्न खोज्छ । म लम्किन्छु र उसलाई ‘पर्दैन उठ्न’ भन्दै टाउकानेर समातेर पुनः सुतिरहन मद्दत गर्छु । ऊ यसो कोल्टे परेर हामीतिर हेर्दै आँखैले प्रश्न फाल्छ, मानौँ परिचय पाउने अपेक्षा गर्दै होस् ।
“मलाई चिनेनौ जन्कु भैया ?” म मुसुमुसु हाँस्दै प्रश्न फाल्छु ।
“चिन्नै सकेन मैले !” ऊ अलमलिन्छ । धसेका आँखा, भित्र पसेका गाला, झुस्स परेका दाह्री— मैले पनि कहाँ चिन्न सकेको हुँ र जन्कुलाई ?!
“म उही प्रमोद क्या त रामजीको छोरा !”

ऊ मेरो अनुहारमा आँखा गाड्छ र फुसफुसाउँछ— “रामजी भैयाको बेटा परमोद ! भाग थियो मेरो, जो भेट भइगो । अब तो मर्ने बेरमा बाबूहरूसित कहाँ भेट हुने !”

उसका आँखाका कुनाबाट आँसु चुहुन उद्यत भइरहेछन्— म देख्छु ।
“अनि रवीन्दरबाबू कता छ आजकाल ?” ऊ मेरो दाजुबारे सोध्छ र परशु दाइतिर खुबै नियालेर हेर्छ ।

म उसको आशय बुझ्छु । ऊ परशु दाइलाई मेरो रवीन्द्र दाइ हो कि भनेर चिन्ने प्रयत्न गर्दै छ ।
“उहाँ मेरो छिमेकी दाइ हुनुहुन्छ !” ऊ सकीनसकी दुवै हात जोड्छ ।

त्यसपछि ऊ हाम्रो परिवारका बारेमा धेरै कुरा सोध्छ । दिदीबहिनी कहाँकहाँ छन् ? भाइहरू के गर्छन् ? अनि रवीन्द्र दाइ के गर्नुहुन्छ ?
“रामजी भैया र भौजीसिते त कुनेकुने बेला भेट भइहाल्छ तर तपाईंंहरू कहिले यता आएन !”

वास्तवमा हामीहरू राम्रै गरी सहरिया भएछौँ । आफ्नो गाउँको मायाले कहिल्यै हामीलाई तानेन । म नै पनि कसोकसो आज यता आइपुगेँ । त्यो पनि परशु दाइको जोडले । बाआमा अझै खेती धाउनुहुन्छ । त्यसैले उहाँहरूसित भने उसको भेट भइरहँदो हो ।

म पनि उसका बारेमा धेरै कुरा सोध्छु । छोराछोरीहरू के गर्छन् ? कतिकति पढ्न सके ? सबैको पक्का र टिनका छाना भएका घरहरू छन्, किन तिम्रो मात्रै फुसको ? यावत् कुराहरू सोधेँ मैले ।

उसले बतायो— “एउटा छोरो ‘लफुवा’ भएर निस्कियो, पढ्ने त कुरै छाडिदिऊँ । काम पनि केही गर्दैन खालि जिन्दाबाद र मुर्दावादको नारा लगाई हिँड्छ । ऊ भन्छ, एक दिन म देखाउनेछु बाबू ! गरिबको पनि पालो आउँछ एक दिन देखाउनेछु !”

ऊ खुइय सुस्केरा काढ्छ “बेटी सबको पनि बिहे गरिदिएँ । दहेज र बिहेको भार बोक्दाबोक्दा त अब धेरै गलिसक्यो,” ऊ शून्यमा हेर्छ ।

‘जन्कु भैया ! एउटा टिनको छाना पनि हाल्न सकेन?’
‘कहाँबाट हाल्ने ? बाबूलाई थाहै छ, म कसैलाई ठग्दैन, कसैलाई ढाँट्दैन । त्यस्तो मान्छेले कताबाट टिन हाल्ने ?’

ऊ उल्टो प्रश्न ठड्याउँछ ममाथि । मार्मिक लाग्छ, मलाई उसको प्रश्न । अचानक म पुनः विगतमा फर्किन्छु । ऊ कहिलेकाहीँ विराटनगर आउँदा स्वयम् हाम्रा हातमा एक÷दुई रुपियाँ राखिदिएर जान्थ्यो । तर, त्यो पैसालाई ऊ कहिल्यै हिसाब गर्थेन ।

आमालाई हामी घर गएको बेला भन्थ्यौँ, “जन्कुले हामीलाई पैसा दिएको छ । उसलाई फर्काइदिनू ।”

“के फर्काउनु ! लिनै मान्दैन,” आमा व्यग्र हुँदै भन्नुहुन्थ्यो ।

साँच्चै उसले कसैको केही खाएन बरु, ख्वायो । आज टिनका छाना भएको र पक्काका घरमा बस्नेहरू अधिकांशले नै बरु उसलाई खाए । ऊसित धान दिने, तोरी दिने भनेर रुपियाँ लिनेहरूले कसैले बिर्सिएको अभिनय गरे र कसैले यति कहाँ हो, यति मात्रै पो हो भनेर कसैले उल्टै उसलाई झपारेर बर्बाद पारे ।

म चिन्तित हुन्छु— ऊ साह्रै सहृदयी छ, इमानदार छ, समाजसेवी छ । त्यसैको गलत फाइदा गाउँका भद्रभलादमीभनाउँदाहरू र ठूलाठालुले उठाएका छन् ।

सबै बनियाँले लुट्छन् भन्ने पनि कहाँ हो रहेछ र ! कुनैकुनै त बनियाँहरू पनि लुटिँदा रहेछन् । इमानदार र सत्यवादी मानिसहरूको जहाँसुकै पनि बर्बादी रहेछ । यो कस्तो समाज हो ? मभित्र संवेदना जागिरहन्छ कुरा खेलिरहन्छन् ।
“जाऊँ अब !” परशु दाइ घचघच्याउनुहुन्छ । म झसङ्ग हुन्छु ।
“ए चिया सोध्ने पनि बिर्सियो !” जन्कु स्नेह ओकल्छ ।
“तिम्रै दोकानमा त भौजीले हामीलाई चिया ख्वाइसक्यो ।”

हामी उठ्यौँ । ऊ उठ्न बल गर्छ ।

म पुनः लम्केर “पर्दैन उठ्न बिरामी मान्छे” भन्दै उसलाई सुतिरहन मद्दत गर्छु ।

जन्कुका दुवै हात जोडिन्छन् र स्वर फुट्छ, “बौवासित मर्ने बेलामा भेट भइगयो ।”

मेरो मन भारी हुन्छ । बोली फुट्दैन । आँखा रसाउन खोज्छन् मेरा ।

त्यति बेलासम्म घरको पिँढीमा भौजी र अन्य ससाना केटाकेटीहरू पनि आइसकेका हुन्छन् ।

यसो भौजीका आँखातिर हेर्छु र बिदाइको हात जोड्छु । भौजीका आँखा पनि रसाएका छन् ।

त्यसै बेला एउटा जुलुस पनि जिन्दाबाद र मुर्दावादको नारा घन्काउँदै बाटोबाट गुज्रिन थाल्छ ।

अचानक भौजीको रुन्चे अनुहार पनि धपक्क बल्छ र उच्च स्वर सुनिन्छ, “उः त्यही छ हाम्रो बेटा । जुलुसमा सबैभन्दा अगाडिको उः त्यही छ मेरो बेटा ।”

म अनुभव गर्छु उसको स्वरमा खुसी छ आशा छ । मानौँ, उसको छोराले घामको सुनौलो प्रकाश छर्नेछ, एक दिन । उसको पोल्टामा उज्यालो पोखिदिनेछ एक दिन ।

हामी त्यहाँबाट जुलुस पछ्याउँदै अघि बढ्छौँ । टाढा पुगेर यसो फर्किन्छु । सबै हामीतिरै अझै हेर्दै छन् । जुलुसतिरै अझै हेर्दै छन् ।

Madhav Kavreli – Jijivisha

माधव काभ्रेली – जिजीविषा

म उपन्यासको पछिल्लो फन्कामै व्यस्त थिएँ । जेसिकाको सम्पत्तिसँग भनौं या विदेशिने मोहले भनौं हिमालको विचार डग्मगाएको थियो । उर्सुलाजस्ती नायिकालाई छोडेर ऊ बान्की नमिलेकी, विदेशी, सेती, नेपाली पनि राम्रो बोल्न नजान्ने एउटी केटीसँग बिहे गर्न तयार भएको थियो । हुन त त्यसअघि हिमालले उर्सुलासँग बिहे गर्ने बाचा गरेको पनि थिएन । मात्रै उनीहरुको सामिप्यता देख्दा अड्कल मारिएका कुरा थिए । हिमालले दिएको चोट खप्न नसकेर उर्सुला बेपत्ता थिई । हिमालले उर्सुलालाई दिएको धोका मलाई पनि पचिरहेको थिएन । हिमालसँगको रिस खैँचेर म उर्सुलालाई सहानुभूति दिँदै थिएँ ।

खल्तीको फोनले डिस्टर्ब गरेपछि उपन्यास ओझेल प¥यो । । फोनमा एउटा आर जे सोध्दै थियो –‘सर, कथा तयार भएन ? आज त मंगलबार भरे त्यो कथा दिनुपर्छ । प्रोमो गैसक्यो । कतिखेर भेटूँ ?’ उसको प्रश्नले म झसङ्ग भएँ । कथा सुरु पनि भएको थिएन ।
‘एक दुईटा कथा त जगेडा राख्नु पर्छ नि !’— म उसलाई सुझाब दिएर आफ्ना कमजोरीलाई ओझेलमा पार्न चाहन्थें ।
‘प्रोमो अस्तिदेखि नै बजिसक्यो ।’— मेरो जवाफमा गम्भीरता नभेटेर होला, उसले एउटै कुरा दोहो¥यायो ।
‘अरे, आजकालका एफएम प्रोग्रामको के चिन्ता, चारपाँच ओटा गीत बजाउनुस्, छआठ ओटा सायरी पढ्नुस्, सबसे पपुलर ।’– मेरा कुराले ऊ निक्कै गम्भीर भयो । अलिबढी नै भनेछु क्यारे मैले । उसको गम्भीरताले मलाई पनि चीसो बनायो । भन्न त सही नै भनेको हुँ एफएम प्रोग्रामले टीन एजर बाहेक अरुलाई तान्नै कहाँ सकेका छन् र ?
मैले जत्ति बहाना बनाए पनि उसको स्वर ठूलो हुनु स्वभाविक थियो । आखिर कथा लेखेको ज्याला त मैले नायिकालाई भेटेकै दिन पाइसकेको थिएँ । अघिल्लो शनिबार उसले नायिकासँग भेटाएको थियो । नायिकाले आफ्नो कथा सबै भनेकी थिई । उसको भनाइमा जीवन्तता थियो । मैले अडियो रेकर्ड गरेको भए कथा अझै मर्मस्पर्शी हुन्थ्यो । उसले एउटै शर्त राखेकी थिई– ‘नाम गोप्य राखिदिनू ।’
कथामा नायक थिएन, नायिका मात्रै थिई । ऊ चाहन्थी अनन्तबाट उठेर एउटा नायक आओस् र उसका सबै पीडा हरेर लैजाओस् । सायद आर जेलाई नायक बन्ने रहर थियो र उसले यो कथा लेखाउनका निम्ति यतिधेरै मरिहत्ते ग¥यो ।
ऊ राम्री थिई, उमेरः १७ वर्ष, हुलियाः गोरी, पोटिली, हँसिली, डाह लाग्दो रुप थियो उसको । भर्खरभर्खर कलेज जान थालेकी थिई । नयाँ नयाँ साथीहरुका माझ रानो नै थिई ऊ । समूहको नेतृत्व गर्थी । समस्याहरु पहिचान गर्थी, समाधानका निम्ति अग्रसर हुन्थी, प्रतिभावान र क्षमतावान पनि थिई ऊ ।
‘ए उजेली ! मसँग बिहे गर्छेस् ?’ –कलेजको बाटोमा एउटाले जिस्क्यायो । उसले आँखा तरी । ढुंगा टिपेर हान्ने मन थियो तर हानिन । जिस्क्याउने केटो त्यही थियो जसले अघिल्लो दिन पछिल्लो बेञ्चबाट उसको लामो कपालमा चुइगम टाँसिदिएको थियो ।
अर्काेले उसलाई चिठी लेख्यो– ‘प्रिया, आखिरमा म तिम्रो लोग्ने हुँ, मैले तिमीसँग जिन्दगी बिताउन देउराली भाकें, शनिबार देउरालीमा पूजा छ, आऊ ल ।’ चिठीका अक्षर नराम्रा थिए । उसलाई पढ्ने मन थिएन तर पढी । रिस पनि थोरै उठेको होइन, पोख्ने ठाउँ कहीं नपाएर दबाई उसले ।
उसकी आमाका धेरै छोरीहरु मध्येकी जेठी छोरी, बहिनीहरुको स्याहारसुसारले झण्डैझण्डै हैरानजस्तै थिई ऊ ।
गाउँको भारो–पर्ममा एक नम्बर थिई । गाउँभरिकाले उसैलाई डाक्थे । ऊ पनि जीउको माया नराखी काम गरिदिन्थी । ‘छोरी हुनु त यस्ती’ –अरुहरु उक्साउँथे । ऊ मख्ख पर्थी ।

गाउँको कलेज आउँदा र जाँदा एक घण्टाको बाटोमा उसले धेरै अश्लिल शब्दहरु सुन्नु पथ्र्यो । केटाहरु उसलाई देख्ने बित्तिक्कै सिठ्ठी बजाउँथे, थप्पडी मार्थे । अब उसले कसको कानमा आइ लभ यू भन्छे भनेर तँछाडमछाडको तमासा झिक्थे । ऊ यो सबै देखेर दिक्क हुन्थी । केटाहरु आ–आफ्ना हात चुमेर फू–फू गर्दै ऊतिर सार्थे । ऊ भूइंतिर हेरेर हिड्थी । रिसले भनूँ या लाजले उसको अनुहार रातो हुन्थ्यो । सिनेमामा राजेश हमाल र निखिल उप्रेतीलेजस्तो सबलाई एकएक गरी पछारुँ भन्ने पनि उसलाई नलागेको होइन तर त्यो सजिलो थिएन । ‘आओ, तिमीहरुसँग एकएक गरी लड्छु ।’–उसले मनमनले भनी तर ओठसम्म ल्याइन ।
‘ओ मैया, एक चुम्बा देऊ न । एउटा हात्ती दिउँला ।’—सिकटेसिकटे ज्यान परेको एउटा फटाहाले भन्यो । उसले त्यता ध्यान दिइन ।
‘हात्तीहात्ती थोरै हो र ! दश दिनको ज्याला ।’– अर्काे कुहिरा आँखावालाले विष ओकल्यो ।
कतिखेर त उसलाई कुदेर गएर एक कीस दिउँ अनि ल झिक् भनूँजस्तो पनि लागेको थियो । त्यसपछि….. ऊ डराई, आत्तिई झसङ्ग भई । धत् ! ऊ आफैंले आफैंलाई हकारी । एकै छिनमा समालिई ऊ ।

पहिले पहिले धेरै छोरी जन्माएकोमा आमाप्रति उसको असन्तुष्टि थियो । आमाले अभावका कुरा झिकेर आँशु झार्दा उसले प्वाक्क भनेकी थिई –‘तिमीले नै त हो नि यत्तिका छोरी जन्माएकी ।’
उसलाई जीवनको सबैभन्दा ठूलो पश्चाताप थियो यसै वाक्यमा । त्यही वाक्यले उसकी आमाले चित्त दुखाइन् र गाउँभरि भन्दै हिंडिन् । ऊ पश्चातापकै भूमरीमा फस्दै गई । त्यस दिनदेखि उसले कसैलाई मुख फर्काइन । दुखका बज्रपात भइरहे, उसले धर्ती बनेर सहँदै गई ।

आफ्नै टोलको एउटा झ्याप्ले केटाले प्रेम पत्र लेखेछ । उसकी बहिनीले भेट्टाई । बहिनी जब्बर थिई । त्यसमा केके लेखिएको थियो उसले चाल पाईन । उसले भेटेकी भए पढ्थी र च्यातिदिन्थी । उसलाई सहने बानी परेको थियो । बहिनीले सहन सकिन, रातो सल कम्मरमा बाँधी, ‘झ्याप्ले बोकाहरु कता छन् ?’– भनेर बर्बराउँदै टोलतिर लागी । उसले बहिनीलाई पनि झगडा गर्नु हुँदैन भनेर रोक्न चाहेकी थिई तर भ्याइन ।
बहिनीले बहादुरी देखाई । त्यो झ्याप्लेलाई गोदेर छाती फुलाउँदै आई ।

ऊ कलेज जाँदै थिई । बाटोमा केटाहरुको हूल थियो । केटाहरुले सधै त्यसरी नै जिस्क्याउँथे । ऊ अभ्यस्त थिई । ऊ न तिनीहरुप्रति आशक्ति देखाउँथी न प्रतिकार नै गर्थी । एउटा मोटे केटाले हतारहतार उसलाई अंगालो हाल्यो, निधारमा चुम्यो र छोडिदियो । ऊ आतंकीत थिई, के गर्ने के नगर्ने उसले पत्तै पाइन । उसको ठाउँमा तपाई भए चिच्याई–चिच्याई गुहार माग्नुहुँदो हो । प्रतिकारमा ढुंगा वा चप्पल उचाल्नुहुँदो हो । सायद, म भएको भए पनि त्यसै गर्थें ।

ऊ आफू स्वतन्त्र जीवन जिउन चाहन्थी । त्यसैले अरुको जीवनमा पनि उसले कुनै आघात दिन चाहिन र मोटेलाई माफ दिई । मोटेले माफै दिन नसकिने दुव्र्यावहार, खुलेरै भन्दा बलत्कारै गर्न खोजेको जस्तो पनि लाग्दैनथ्यो । सायद, मोटेले नायिकालाई एकतर्फी प्रेम ग¥थ्यो, सम्मान ग¥थ्यो । यस्तो लाग्थ्यो, उसले मर्ने आदेश दिन्थी भने ऊ आज्ञाकारी बनेर मर्न तयार थियो ।
हैजाको महामारीभन्दा पनि छिटो यो खबर गाउँभरि फैलियो । उसको चरित्रमाथि अनेकौं बाँणहरु प्रहार भए । ऊ बनदाम भई । टोलभरीका आँखा उसलाई खैखबर गर्न थाले । गाउँलेहरुले आँखा मात्रै तरेनन्, उसलाई भेट्दा निधार खुम्च्याए, मुन्टो बटारे । गाउँकै इज्जत नाशेको भनेर अघिल्तिरै तथानाम गाली गर्न थाले ।
मलाई पनि लागेको थियो, ऊ चिच्याउन सकेकी भए राम्रै हुन्थ्यो । गाउँलेहरु चुप्प लाग्थे । भ्रम चिरिन्थ्यो । ऊ ठाडो शिर लिएर निर्धक्कसँग हिंड्न पाउँथी ।
खातमाथि खात पीडाहरु सहँदासहँदै उसका दिनहरु निरस भए । बाँचेको पनि व्यर्थै लाग्न थाल्यो । उसलाई निर्दाेष देख्ने र सहानुभूति दिने एउटा मान्छे पनि फेला परेन । त्यसपछि हरेक सोमबार बस्दै आएको व्रतलाई पनि क्रम भंग गरी । नाम जाने जति एउटै देउतालाई पनि गाली गर्न बाँकी राखिन उसले । विषको शिशीलाई सबैभन्दा प्यारो र उपयोगी सम्झी । टिनको बिर्काे हातैले फोर्न सजिलो थिएन, उसले हिम्मत गरी । हर्के पुग्दा आँ गरेर मुख बाउन बाँकी थियो । उसले दुवै हात फिजाएर भनी —‘तपाईंसँग अलिकति पनि हिम्मत छ भने मलाई भोग्नुस, पत्नी बनाउनुहोस् र जीवन दिनुहोस् ।
यहाँसम्मको कथा सुनुन्जेल आर जे पनि मसँगै थियो । आर जे चुरोटको अम्मली थियो । चुरोट तान्ने बाहानामा निस्केको आर जे दश दिनपछि रेडियोमा कथा पढ्ने दिन मात्रै भेटियो । सायद, उसले लेखाउन खोजेको कथा पनि यति नै थियो । ऊ देखाउन चाहन्थ्यो कि नायिका निर्दोष थिई ।

मेरो जिज्ञासा मरिसकेको थिएन । म कथा अगाडि बढोस् भन्ने चाहन्थें । आर जे निस्किएपछि ऊ मौन भएकी थिई । यति कथा भनीसक्दासम्म उसमा लाज र धकको अंश पनि देखिएको थिएन । त्यसैले म आशावादी थिएँ ।
‘हर्केलाई विश्वास गर्नुहुन्थ्यो?’— मैले मौनतालाई भंग गर्दै सोधें ।
‘चिहान राम्रो होस्् या नहोस् लाशलाई केही फरक पर्दैन ।’—उसले पेचिलो जवाफ दिएर फेरि बग्न थाली । ऊ चाहिनेभन्दा बढी नै निर्भिक देखिन्थी ।
त्यसपछि नायिका गाउँबाट गायब भई । उर्सुला पनि त्यसरी नै गायब भएकी थिई । हर्केसँगै शहर भाग्दा उसले धेरै सपना सजाएकी थिई । दुखले डाँडो काट्यो भनेर मख्ख पनि थिई ।
शहरको जीवन शैलीमा न हर्के भिजेको थियो न ऊ । अभावमा हर्के धेरै दिन टिक्न सकेन र गायब भयो । सायद, भाग्यो । रातभर अँगालोमा बेरिएर झिसमिसे हुनभन्दा एकाध घण्टा अगाडि डेराबाट निस्केको हर्के फेरि फर्केन । यहाँ जान्छु, उहाँ जान्छु पनि भनेन । कुनै खटपट परेको पनि थिएन ।
हर्के भागेपछि उसले शहरभरि खोजी वा फेरी आत्महत्याको प्रयास गरी, मैले यस्तै सोचेको थिएँ ।
‘त्यसपछि कहाँ–कहाँ खोजियो त ?’– उसको कथामा पुरै डुबेछु क्यारे, मेरो सोधाइमा औपचारिकताको अंश पनि थिएन ।
मेरो प्रश्न सुनेर उसले कुम उचाल्दै भनी –‘किन खोजूँ हर्केलाई ? शहरमा त्यस्ता हर्के कति पाइन्छन् कति ।’ उसको आँखाकै जवाफले म गलिसकेको थिएँ, त्यसमाथि मुखले पनि दिई ।
‘तपाईं मलाई कमजोर बनाएर कथा नलेख्नु होला ।’–उसले मलाई उपदेश दिन पनि भ्याई ।
मैले ऊसँग धेरै तर्क गरें भने उसले कथा लुकाउँछे वा बङ्ग्याउँछे भन्ने डर थियो । म बोलिनँ ।
उसले कथालाई फेरि जोड्दै भनी – ‘हर्केले न प्रेम गरेको थियो, न सँगै जिउने कसम खाएको थियो ।’ ऊ घरि मतिर घरि ढोकातिर हेर्थी । म एकतमास उसको अनुहारमा हेर्ने भैसकेको थिएँ । खास गरी उसले हर्केलाई यसरी बेवास्ता गरी कि एउटा बदाम बेच्ने केटो आयो र गयो । मलाई हर्केको बारेमा कौतुहलता थियो । म हर्के किन भाग्यो भनेर जान्न चाहन्थेँ । आफैंले भेटेको भए किन भागिस् भनेर हप्काउँथेँ पनि । त्यसपछि उसले हर्केको बारेमा केही बताइन । सायद, उसलाई पनि थाहा थिएन ।
हर्के र हिमाल दुवै सहानुभूति पाउन लायक थिएनन् । यी दुवै पुरुष पात्र थिए । मलाई आत्मग्लानी भो । कताकता लाज पनि लाग्यो । ‘किन म यिनीहरुजस्तै पुरुष भएँ ?’– मन खिन्न भइरह्यो ।

त्यसपछि उसले शहरको नयाँ हर्के भेट्टाई ।
‘नयाँ र पुरोनोमा यत्ति पनि फरक थिएन ।’– उसले चोर औला र बुढी औलाका टुप्पा जोडेर देखाउँदै भनी । नयाँ हर्केको फगत एउटा गुण बढी थियो । ऊ पुरानो जस्तो फोकटलाल थिएन । बेलाबेला धेरथोर पैसा पनि दिन्थ्यो ।
उसले फरक थिएन भन्नुको तात्पर्य दोस्रो पनि त्यसरी नै गायब भयो जसरी पहिलो गायब भएको थियो ।

दोस्रो पनि गायब भएपछि उसका दिनहरु सग्ला भएका थिए । कसैसँग पनि उसको गुनासो थिएन । उसले निर्जीव रेडियोलाई साथी बनाएकी थिई । रेडियोमै उसले आर जेले कथा पढेको सुनी । आर जेले रेडियोबाटै अनुरोध पनि गरेको थियो —‘तपाईंका पनि यस्तै मर्मस्पर्शी कथा छन् भने सम्पर्क गर्नुहोला ।’
उसले आर जेलाई सम्पर्क गरी । आर जे उसको कथा सुन्न र सुनाउन राजी थियो ।
ऊ आफ्ना दुखहरु देखाएर कमजोर हुन चाहन्नथी । यो कथा सुनाएर दुनियाको सहानुभूति बटुल्न चाहेको पनि होइन भन्थी । यति निर्भिक र आँटिली मान्छेले रेडियोबाटै कथा सुनाउने रहर पो किन गरी भन्ने मेरो जिज्ञासा बाँकी नै थियो ।
छुट्टिने बेलामा दह्रो गरी हात मिलाउँदै उसले भनी–‘अब एकपल्ट आमा बन्ने रहर बाँकी छ ।’

लोड सेडिङ्गको समस्याले गर्दा मैले कथालाई ईमेल ठेगानामा राखिदिन नसक्ने बताइको थिएँ । आर जे कथा लिन आयो । कथाका पन्नाहरु थुनेको खाम मैले उसका हातमा दिनु थियो । उसले त्यो खाम यसरी थुत्यो कि मायालुले उसलाई सस्पेन्स गिफ्ट दिँदै थिई, ऊ त्यसमा के छ भनेर जान्न असाध्यै उत्सुक थियो ।
ऊ असाध्यै खुसी देखिन्थ्यो । त्यति खुसी त म सानोमा दशैंका नयाँ लुगा लगाएपछि मात्रै भएको थिएँ हुँला । उसले मेरो कान नजिकै मुख ल्याएर खुसुक्क भन्यो –‘गाउँमा टुप्लुक्क पुग्ने हर्के मै त थिएँ ।’ उसले ङिच्च दाँत देखाएर हाँस्यो र हेलमेट लगायो । हेलमेटले नछोपुन्जेलसम्म उसको मुख त्यसरी नै हाँसिरहेको थियो ।

—साँगा,२०६६ काभ्रेपलाञ्चोक

(Sent to Sanjaal Corps via Email)

Bishwa Raj Adhikari – Aaja Geeta Aaundai Chhan

विश्वराज अधिकारी – आज गीता आउँदै छिन

श्याम दाइ कहाँ म साँझमा पुगेको थिए। हुन त फोनमा कुरा गर्दा वहाँले भन्नु भएको थियो ‘सानो भाइ, मिल्छ भने दिउँसो नै आउन, है। शनिवार त के फुर्सत नै होला नि, अफिस हुने त कुरै भएन, होइन त? अँ रातिको खाना यतै खाने गरी आउनु नि।’ तैपनि म साँझ पुगेको थियो। म पुगेको थिएँ तेजारथटोल, बीरगंज।

म पुगे पछि श्याम दाइको खुसीको मात्रा झनै बढेको थियो। त्यो दिन अरु दिन भन्दा अलि बढी नै खुसी देखिनु भएको थियो वहाँ। त्यति बढी खुसी हुनुको कारण मैले बुझ्न सकेको थिन। हुन त मैले वहाँको त्यस्तो खुसीमा कुनै ठूलो नै कारण होला भनी संका गरि नै हाल्नु पर्ने स्थिति पनि थिएन। मलाइ श्याम दाइको बानी थाहा थियो। दुखी तुल्याउने सानो कुराले पनि ज्यादै दुखी हुने अनि सुखी तुल्याउने सानो कुराले खुसी पनि उत्तिकै हुने वहाँको बानी मेरो लागि नौलो थिएन। साहित्यकार मान्छेमा त्यस्तो विशेषता हुनु स्वभाविक पनि थियो। तर वहाँको भावुकता भने कहिले काहिँ अलि बढी भएर पोखिन पुग्थ्यो। एक चोटी त्यस्तै भएको मैले आफ्नै आँखाले देखेको थिएँ। एक चोटीको कुरा हो वहाँले आफूले लेखेको एउटा कथा सुनाउनु भयो मलाई, आफ्नो कोठामा लगेर। कथा ज्यादै दुखान्त थियो। कथा सकिने बित्तिकै मैले भने- श्याम दाइ, मानिसको जिन्दगीमा यस्तो पनि हुन सक्छ र? मेरो प्रश्नको जबाफमा वहाँले भन्नु भयो- किन न हुनु, यो यथार्थ घटना हो। मैले कुनै एक घटनालाई केवल कथाको रुपमा प्रस्तुत गरेको मात्र हो। म त केवल एउटा माध्यम मात्र हो, त्यो घटेको घटेको घटना प्रस्तुत गर्ने। तिमी कल्पना समेत गर्न सक्तैनौ कतिसम्म कष्टकर जिवन बिताउन मान्छेहरु बाध्य छन। त्यति मात्र हो र? मानिसहरु अकाल मृत्यु वरण गर्न समेत विवश छन, यो समाजमा। मेरो कथामा उल्लेखित ती युवतीको मृत्यु सामुहिक बलत्कारद्वारा भएको थियो, कथामा भनिए जस्तै।’ यति भनेर श्याम दाइ रुन थाल्नु भयो।

श्याम दाइ एक्लै बस्नु हुन्थ्यो डेरा लिएर। छोरा वहाँसँग थिएन। छोरा हजुरबा हजुरआमासँग बस्थ्यो, बर्दिबास। श्याम दाइको श्रीमती, गीता भाउजुको कुरा चाँहि नगरौ।
श्याम दाइले अनेक कुराहरु पकाउनु भएको थियो, जाँगर उठाएर, मलाई खान बोलाउनु भएको त्यो दिन । आलुको तरुआ बनाउनु भएको थियो। भन्टा, कोभी, लौकाको पनि तरुआ बनाउनु भएको थियो। त्यति मात्र हो, केराको समेत। माछा तार्नु भएको थियो। माछा पनि, बोआरी। पाक्दै गरेको भातले त कोठा नै मग मग पारेको थियो। भान्सा भरि छरिएको सुगन्ध नाकमा परे पछि जसले पनि भन्न सक्थ्यो बासमति चामल पाक्दै गरेको, त्यहाँ। खान पिनको अति सौकिन श्याम दाइले पकाउनमा पनि उत्तिकै कुशलता पाप्त गर्नु भएको थियो।

कोठा भित्र पस्ने बित्तिकै मेरो मुखबाट फ्याट्ट निस्क्यो ‘बासमति चामल पाकेको जस्तो छ नि, त्यो पनि खाँटि एक नम्बर, हँ श्याम दाई? मेरो प्रश्नको उत्तरमा वहाँले भन्नु भयो ‘हो, एकदम प्योर बासमति, अनि महँगो पनि उत्तिकै। यति भनेर श्याम दाइले मेरो मुखतिर हेर्नु भयो अनि हाँस्दै भन्नु भयो ‘आज अलि अलि ड्रिंक पनि गर्नु पर्छ। तिमीलाई मन पर्ने ब्रान्ड नै ल्याएको छु नि। ओहो त्यो त सार्है महँगो पो हुँदो रहेछ। जे होस सँधै खान होइन, वर्षमा एक दुइ पटक, यस्तै खुसीको बेलामा रमाइलो गर्नका लागि त खाने हो नि। कहिले काँहि अलिकति पैसा खर्च पनि गर्नु पर्छ रमाइलो गर्नका लागि। मौरीले जस्तै मह जम्मा गर्यो गर्यो, खाने भने अरुले। त्यस्तो पनि गर्नु हुँदैन।’

श्याम दाइको कुरा सुनेर मलाइ अचम्म लाग्यो। अचम्म वहाँले पनि ड्रिंक गर्ने कुरा सुनेर लाग्यो। मैले मेरो आँखाले वहाँले बियरसम्म पनि खाएको देखेको थिन, हिव्स्कि त टाढाको कुरा हो। मेरो मनले बोइङको गतिमा कल्पना गर्न थाल्यो र कारण खोज्न थाल्यो के त्यस्तो कारण होला जसले श्याम दाइलाई यति खुसी तुल्याइ दियो। मैले मन मनै बिचार गरे श्याम दाइको प्रोमोशन भएको हुनु पर्छ, पक्कै पनि। मैले सोध्ने बिचार गरे- श्याम दाइ के कारण हो आज अरु दिन भन्दा अति नै प्रशन्न देखिनु भएको छ नि? तर के मनमा आयो प्रश्न गरिन। बरु श्याम दाइको छेउमा रहेको म बसेको कुर्सीलाई झन वहाँको नजिक पारें। म वहाँको अझै नजिक सरेकोमा वहाँले के सोँच्नु भयो म भन्न सक्तिन तर अलि प्रशन्न हुँदै भन्नु भयो ‘त्यो सित त यसो अलि सितन पनि त चाहिन्छ होला नि। तिमी त खाइ रहने मान्छे तिमीलाई थाहा होला नि?’ वहाँको त्यो भनाईको प्रतिक्रिया मैले केवल हाँसेर ब्यक्त गरें। मैले ड्रिंक गर्न छाडेको कुरा कुरा भनिन। र त्यो भनेर श्याम दाइले गरेको तयारीलाई मैले अर्थहीन तुल्याउन चाहिन पनि। म हाँसि रहेकै बेलामा वहाँले फेरि भन्नु भयो ‘अलिकति सेकुआ पनि ल्याएको छु। बगेडी पनि ल्याउन खोजेको थिएँ तर के गर्नु, पाईन, बल्ल बल्ल आधा दर्जन ल्याएको छु। अँ, बरु झिंगा माछाको फ्राई अलि बढी ल्याएको छु, त्यो त सजिलै पाइयो, मागे जति। मिक्स कि खोइ के भन्छन्, त्यो भुजा पनि छ। यति भए पुग्दैन होला?’ मैले हाँस्दै भने पुग्दैन होला होइन, बरु बढी नै हुन्छ। तर मैले आफूलाई रोक्न खोज्दा खोज्दै मेरो मुखबाट फ्याट्ट निस्क्यो- श्याम दाइ किन यति खर्च गर्नु भएको, बढी भएन र भन्या? ‘कहिले काँहि राजा जस्तो भएर खर्च गर्न सक्नु पर्छ, बुझेउ सानो भाइ’ भन्दै आफूले बढी खर्च गर्नुको औचित्य पुष्टि गर्न भन्नु भयो, वहाँले। मेरा दाजुहरुले सानो भाइ भनेको हुनाले वहाँले पनि मलाई सानो भाइ नै भन्नु हुन्थ्यो। र खासमा श्याम दाइको बढी उठ बस मेरो ठूलो दाइसँग थियो। तर पनि किन हो, मेरो संघत खुब मन परेको थियो क्यारे, प्राय जसो मेरो घरमा आइ पुग्नु हुन्थ्यो मलाई भेट्न। अनि म पनि जाने गर्थ्ये वहाँलाई भेट्न कहिले डेरामा कहिले अफिस छुट्ने बेलामा, वहाँको।

एक चोटी दुई चोटी हो र, म पच्चिसौं चोटी श्याम दाइको डेरामा गइ सकेको थिए। वहाँको बस्ने तौर तरिका मात्र होइन, वहाँलाई के मन पर्छ के मन पर्दैन भन्ने कुरासम्म मोटा मोटी रुपमा सम्पूर्ण थाहा थियो मलाई, यदि मान्छेको मन भित्र त पस्न सकिँदैन नि भन्ने मान्यतालाई छाडेर कुरा गर्ने हो भने। तर त्यो दिन मैले श्याम दाइको कोठाको रुप बेग्ले किसिमको देखें। कोठा एकदमै राम्रो गरी सफा सुग्घर पारिएको थियो। तकियाका खोल, तन्ना हिंजो आज मै धोएको हो भन्ने प्रष्ट हुन्थ्यो। तल भूँइको कार्पेट मैलो भएता पनि फोहर देखिने गरी त्यसमाथि केही पनि राखिएको थिएन, सफासँग बढारिएको थियो। मैले पहिले कहिले श्याम दाइ ब्यवस्थित भएर बसेको देखेको थिन, त्यस किसिमबाट। गीता भाउजुले वहाँलाई ‘चौपट अल्छि’ भनेको कति पटक सुनेको छु मैले मेरो यी दुई कानले। त्यति मात्र हो ‘ढुंगा लडे झै लडे पछि कतै पनि हलचल न हुने, छि कस्तो अल्छी’ भन्दै गीता भाउजुले वहाँमाथि ठट्टा गरेको पनि सुनेको छु। हुन पनि कहिले काहिँ श्याम दाइले अति नै गर्नु हुन्थ्यो पनि। पुस माघको जाडोमा, खास गरी बिहानी पख, खाट माथि बसेर, सिरक ओढे पछि खाट माथि नै वहाँका लागि चिया पुर्याउनु पर्ने। त्यतिसम्म भए ठिकै हो रे। गीता भाउजुले चुरोट पनि दिनु पर्ने, वहाँको हातमा। अनि सलाई खोजेर चुरोट सल्क्याइ दिनु पनि पर्ने। त्यति सबै गरेर पनि गीता भाउजुले कहाँ मुक्ति पाउनु र। चुरोटको खरानी झार्न स्ट्रे पनि वहाँको छेउमा राखि दिनु पर्ने। मैले त एक दुइ चोटी भनेको पनि थिए- यो त अति नै भयो श्याम दाइ। यतिसम्म अल्छि हुन त भएन नि। मेरो त्यस्तो भनाइमा वहाँले दिने प्रतिक्रिया एउटै थियो ‘सानो भाई, जिन्दगीको मजा भनेको त यै हो नि, सबै कुरा एकै ठाउँ पाउनु। यति भनेर वहाँले केही बेर हाँस्ने गरेको पनि मैले बिर्सेको छैन।

त्यस्तो अल्छि मान्छेले त्यस किसिमबाट कोठा सफा सुग्घर गरेको देखेर म अचम्ममा परेको थिए, त्यस दिन।

हामी कोठामा बसेर कुरा गरि रहेका थियौ। केही सम्झे झै गरी वहाँले भन्नु भयो ‘सानो भाइ, भान्सा तिर नै बस्ने हो कि, यसो अलि खान, अनि यसो अलिकति पिउन पनि सजिलो हुन्छ।’
मलै, किन श्याम दाइ, आज निकै खुसी देखिनु भएको छ, के होला यति बिदि खुसी हुने कारण भनी सोध्न खोजेको धेरै बेर भइ सकेको थियो। आफूलाई रोक्न गार्हो भइ रहेको थियो मलाई, त्यो प्रश्न सोध्नदेखि। रोक्न खोज्दा खोज्दै पनि मेरो मुखबाट फ्याट निस्क्यो- श्याम दाई, आज निकै खुसी देखिनु भएको छ नि। खुसीले आकाश माथि उड्न लाग्नु भएको छ, केवल पखेटा लाग्न मात्र बाँकी छ। कुनै ठूलो नै खुसी होला जस्तो छ, तपाँईको खुट्टा भुँईमा नभएको स्थितिलाई हेर्दा। मेरो कुरा सुनेर श्याम दाइले हाँस्दै भन्नु ‘छ, भाइ, त्यस्तै कुरा छ, अति नै खुसी हुने कुरा छ एउटा। एक किसिमले भन्ने हो भने मेरो मन भित्र खुसीको बाढी नै पसेको छ। र त्यो बाढीले मेरा मन भित्रका गर्हुंगा ढुंगाहरुलाई बगाएर कता पुर्याए कता।’ श्याम दाईको कुराले थप आश्चर्यमा पार्यो मलाई। मैले तत्काल प्रश्न गरि हाँले- श्याम दाइ, ढिलो नगरेर छिटो भन्नुस, के हो त्यस्तो कुरा जसले तपाँईलाई यति खुसी तुल्याएको छ।

श्याम दाइले खुसी हुँदै भन्नु भयो ‘आज गीता आउँदै छिन नि, यहाँ, यै डेरामा। हिँजो रक्सौलमा, बजारतिर पस्दा, भेट भएको थियो, गितासँग। धेरै बेर, लामो कुराकानी भयो हामी बिच, करिब करिब तीन चार घण्टा जति। म सँग कुराकानी हुँदा उनी त रोइन पनि, केही बेरसम्म।’

श्याम दाइको कुरामा मैले आश्चर्य मान्दै प्रश्न गरे- होइन, गीत भाउजु र तपाँई बीच डिभोर्स पनि भइ सकेको छ। अब कसरी सम्भव होला त, तपाँईहरु फेरि सँगै बस्ने स्थिति? त्यति मात्र हो र, गीता भाउजुले माया प्रीति पनि गाँसि सक्नु भएको छ रे अर्को मान्छेसँग।

मेरो कुरा सुने पछि श्याम दाइले भन्नु भयो ‘गिताले त्यो मान्छेसँग गरेको माया जिउको माया हो र थियो, तर मनको माया त उनले मलाई गरेकी हुन र अहिले पनि गर्छिन र तयार छिन पनि, सँगै बस्न, मसँगै, त्यो मान्छेलाई छाडेर।’

यति भनेर श्याम दाइ निकै बेर हाँस्नु भयो। अनि हाँस्दै फेरि भन्नु भयो ‘यसो, खाने होइन? स्कच हो, रेड लेबल।’

Ratna Prajapati – Fagu Ko Rang Le Tarangiyeko Man

रत्न प्रजापति – फागुको रङले तरङ्गएिको मन

उसले औँला भाँचेर गन्ती गरी- ठ्याक्कै दुई वर्ष भएछ उसको लोग्ने विदेश गएको ।

देशमा द्वन्द्व चर्किर्एपछि गाउँमा टिक्न नसकेर उनीहरू सहर पसे । सहर पसेर मात्रै उनीहरूको हैरानी सकिएन । बाँच्नै पर्‍यो र बाँच्नका लागि खानै पर्‍यो । अनि खानका लागि कमाइ हुनै पर्‍यो तर उनीहरूको भरपर्दो कमाइको स्रोत केही पनि थिएन सहरमा । लोग्नेस्वास्नी एउटा कोठा भाडामा लिएर बसेका थिए । त्यही कोठाको भाडा पनि समयमा तिर्न नसकिने स्थिति उत्पन्न हुँदै गइरहेको थियो उनीहरूको । लोग्ने दिनभरि काम खोजेर साँझ लखतरान भएर कोठामा र्फकन्थ्यो र दुखी समाचार सुनाउँथ्यो- आज पनि कतै कामको कुरो मिलेन । सुनेर ऊ पनि दुखी हुन्थी तर केही गर्न सक्दिनथी । अनि ऊ चुप लागेर लोग्नेको मुख हेरेर टोलाएर बस्थी ।

उनीहरूको भर्खरै बिहे भएको थियो । त्यसैले बाँच्नेक्रममा आˆनो गरिखाने घरखेत र गाउँ छोडेर सहर पस्दाको दुःख त थियो नै तर लोग्नेस्वास्नीको आत्मीय प्रेमको सुख पनि साथै थियो । विरानो सहरमा बेरोजगार भई बस्नु पर्दाको दुःख जतिसुकै भए पनि लोग्नेस्वास्नी सँगै भइसकेपछि उनीहरूले सारा दुःखलाई बिर्सेर प्रेम गर्न भने कहिल्यै भुलेनन् । लोग्नेको मीठो स्पर्श मात्रैले ऊ सारा दुःख बिर्सन्थी भने उसको उस्तै मीठो समर्पणले उसको लोग्नेले पनि आˆना सारा तनावहरू बिर्सन्थ्यो ।

दिनहरू यसैगरी बित्दै गए । एक दिन उसको लोग्नेले एउटा प्राइभेट कम्पनीमा जागिर पायो । जागिर पाएको खुसीमा उसको लोग्नेले त्यस दिन एक जना साथीसित सापटी मागेरै भए पनि आधा किलो मासु लिएर आयो । त्यो दिन उनीहरूका लागि ठूलो खुसीको दिन भयो । सहर पसिसकेपछि त्यसै दिन मात्रै उनीहरूले सुखको अनुभूति गरे । सोचे – अब जिन्दगीको नाउ सहज ढङ्गले चल्नेछ ।

चल्दै गयो जिन्दगीको नाउ तर अब जिन्दगीको नाउ जसरी चल्छ भनेर उनीहरूले सोचेका थिए, त्यसरी भने चल्न सकेन । प्राइभेट कम्पनीको जागिरको सीमित कमाइले सहरको जिन्दगी त्यति सहज ढङ्गमा चल्नु सम्भव पनि थिएन । हरेक कुरामा महँगी यसरी चुलिएको थियो, त्यो चुलीलाई उसको कमाइले कहिल्यै भेट्न सकेन । त्यसैले उनीहरूको जिन्दगीलाई फेरि पनि अभावले लखेट्न छोडेन । अभावको अघिअघि भाग्दाभाग्दै सहरको जिन्दगीले केही महिना पार गर्‍यो । यसैबीच ऊ उनीहरूको गहिरो प्रेमको प्रतिफलस्वरूप आमा बन्ने भई तर जिन्दगीमा पहिलोपटक प्राप्त यस्तो खुसीको बेलामा पनि उनीहरू खुलेर खुसी हुन सकेनन् किनभने अभावको पीडाले उनीहरूलाई कताकता घोचिरहेको थियो ।

‘के छ र जिन्दगी, यसैगरी बिताइदिन्छु ।’ कुनै कविको कविताको अंश हो यो । उनीहरूले पनि यही कविताजस्तै उसैगरी जिन्दगी बिताउने अठोट नगरेका होइनन् तर अभावको पीडाले कहिलेकहिले कताकता दुख्न भने छोडेन उनीहरूको जिन्दगीमा । अनि यही दुखाइ कम गर्न एक दिन उसको लोग्नेले धेरै कमाइ हुने आशामा काम गर्न विदेश जाने निधो गर्‍यो ।

अरूले जस्तै उसको लोग्ने पनि साथीभाइ र आफन्तसँग ऋणपान गरेर अरू धेरै जनासित काम गर्न विदेश गयो । दुई जीउ भएकी उसलाई एक्लै छोडेर उसको लोग्ने विदेश गयो । लोग्ने विदेश गएको दुई महिनामै उसले छोरा जन्माई । तथापि छोरो जन्मिएको खुसीमा रम्न उसले आˆनो तन र मन दुवै मिल्ने साथी पनि पाइन । लोग्ने सँगै हुँदो हो त उनीहरू कति खुसी हुँदा हुन् । लोग्ने साथमा नभएको हुँदा सँगैको कोठामा भाडामा बस्नेहरूले नै उसलाई मद्दत गरे र उनीहरूसितै उसले आˆनो खुसी बाँडी । यो खुसी कागजमा लेखेर उसले लोग्नेसम्म पुर्‍याई । लोग्नेले पनि विदेशमै पटकपटक त्यो कागजलाई चुमेर आˆनो खुसी प्रकट गर्‍यो ।

लोग्नेले विदेशबाट कमाइ गरेर पठाएपछि उसलाई बाँच्नका लागि नभई नहुने धनको अभाव भएन । तैपनि कुनै कुराको अभावको महसुस भने हुन छोडेन । सायद त्यो कसैको तनको अभाव थियो र मनको अभाव थियो । एउटा त्यस्तो तन जससित अँगालोमा बाँधिएर सुखदुःख बाँड्न सकियोस् र त्यस्तो मन जससित छातीभित्रबाट अटेसमटेस गर्दै उर्लिएर आउने भावनाहरू साट्न सकियोस् । हो, उसलाई त्यस्तै तन र मनको अभाव महसुस हुनथाल्यो ।

दुई वर्ष भएछ उसले लोग्नेलाई नछोएको र उसको लोग्नेले उसलाई नछोएको । एकले अर्कोलाई छुँदा पनि कस्तो मीठो तृप्ति मिल्थ्यो त्यसबेला । उसले त्यो तृप्ति नपाएको पनि दुई वर्ष भएछ । अहिले फेरि उसका हातका औँलाहरू सलबलाउन थालेका छन् लोग्नेलाई स्पर्श गर्नलाई । उसैगरी उसको शरीरका अङ्गअङ्गहरूमा लोग्नेले स्पर्श गर्दाका काउकुतीको अनुभव हुन थालिरहेछ उसलाई तर खोई उसले लोग्नेलाई एकपटक यसो छुन पाएको ? अनि खोइ उसको लोग्नेले उसका काउकुती लाग्ने अङ्गहरूमा सुस्तरीसुस्तरी स्पर्श गरेको ? एकले अर्कोलाई स्पर्श गर्ने कुरा सोचेर अझ भनुँ सम्झेर ऊ भित्रभित्रै रोमाञ्चित हुन थालेकी छ । ऊ सोच्न थालेकी छ- एकले अर्कोलाई एकपटक पनि नछोइकन कसरी बिते यी दुई वर्ष ?

ऊ सोच्न थालेकी छ- कस्तो अनुभव हुन्छ होला अब लोग्नेमान्छेलाई छुँदा ? अथवा लोग्नेमान्छेले आफूलाई छुँदा ? यस्तो सोचेर मात्रै पनि ऊ रोमाञ्चित भई । लाजले उसको शरीर खुम्चेजस्तो भयो । शरीरको कोमल अङ्गमा कसैले स्पर्श गरेजस्तो लाग्यो । कताकता काउकुती लागेजस्तो भयो । अनि ऊ खितखिताएर हाँसी ।

‘किन हाँस्नु भो भाउजू ?’ सँगैको कोठामा बस्ने तन्नेरी लोग्नेमान्छेले ऊ हाँसेको सुनेर सोध्यो ।

ऊ झसङ्ग भई । हाँस्नका लागि कोठामा ऊबाहेक अरू कोही थिएन । उसको छोरो आनन्दले सुतिरहेको थियो । अब किन हाँसेको भन्ने ? ऊ अलमल्ल परी । अनि एकछिन् सोचेर भनी, ”यत्तिकै ।”

‘ए.. ।’ उता कोठाबाट लोग्नेमान्छेले यस्तो भनेको सुनियो । ऊ भने भर्खरै आफू एक्लै हाँसेको र लोग्नेमान्छेले सुनेको कुराले झनै रोमाञ्चित भइरही ।

अब उसको मन त्यही लोग्नेमान्छेतिर एकोहोरिन थाल्यो । त्यो लोग्नेमान्छेलाई लिएर ऊ केके कुरा सोच्न थाली । मैले उसलाई छोएँ भने कस्तो अनुभव हुन्छ होला ? उसले यस्तो सोची । मैले छुँदा उसको प्रतिक्रिया कस्तो हुन्छ होला ? उसले यस्तो पनि सोची । ऊ अब यस्तैयस्तै मात्र सोच्नथाली । ऊ लोग्नेमान्छेलाई छुन आतुर हुनथाली ।

ऊ बाहिर घाममा निस्की । त्यो लोग्नेमान्छे पनि बाहिर घाम तापिरहेको थियो । त्यसलाई देखेर ऊ एकपटक झस्की । दुवैका आँखा जुधे । अनि अघिको कुरा सम्झेर ऊ फेरि एकपटक फिस्स हाँसी । त्यो लोग्नेमान्छे पनि हाँस्यो । उसलाई कताकता लाज लागेजस्तो भयो । कताकता काउकुती लागेजस्तो पनि भयो । अनि त्यो लोग्नेमान्छे निहुरिरहेको मौका पारेर उसले त्यसलाई नियालेर हेरी । त्यो लोग्नेमान्छे साँच्चै नै सुन्दर थियो । त्यसका बलिष्ठ बाहु, चौंडा छाती र कस्सिएका तिघ्राले उसलाई निकै आकषिर्त गर्‍यो । उसले ख्यालै गरेकी रहिनछ त्यो लोग्नेमान्छे त्यति लोभलाग्दो रहेछ ।

उसको भित्री मनमा कताकता एकपटक त्यही लोग्नेमान्छेलाई छोइ हेर्न रहर लाग्यो तर के भनेर छुने ? ऊ अलमलमा परी । फेरि छोएर मात्रै के नै पो हुन्छ र  अलिकति यसो छातीमा मुख लुकाउन पाए पो  ऊ सोचमग्न हुनथाली । अनि उसले यस्तो पनि सोची- उसको मनमा यस्ता भावनाहरू किन आइरहेछन् ? किन लोग्नेमान्छेलाई छुने रहर लागिरहेछ उसलाई ? किन लोग्नेमान्छेको स्पर्श पाउने रहर लागिरहेछ उसलाई ? यो कस्तो तृष्णा जागिरहेछ उसलाई ? आˆनो लोग्ने आफूसित नहुँदा सबै स्वास्नीमान्छेलाई यस्तै हुन्छ ? ऊ मनमनै आफैँलाई प्रश्न गरिरहेकी छे ।

उसले विदेशमा रहेको आˆनो लोग्नेलाई सम्झी तर उसको आँखामा लोग्नेको तस्बिर आएन । बरु त्यही लोग्नेमान्छेको तस्बिर आयो उसका आँखामा । ऊ झसङ्ग भई । यो के भयो मलाई ? उसले आफैँलाई प्रश्न गरी । अनि फेरि उसले आँखा चिम्म गरी र आˆनो लोग्नेलाई सम्झी । फेरि पनि उसको आँखामा त्यही लोग्नेमान्छे नै देखापर्‍यो । त्यसपछि भने उसको मुटुको धड्कन तेज हुनथाल्यो । कुन्नि यो के हुनथाल्यो उसलाई ।

अब भने उसलाई एकपटक त्यो लोग्नेमान्छेलाई नियालेर हेर्न मन लाग्यो । उसले त्यो लोग्नेमान्छेको कोठाको ढोकाबाट भित्र चियाएर हेरी । त्यो लोग्नेमान्छे किताब पढिरहेको रहेछ । त्यसले उसलाई देख्यो र भन्यो- ”किन त्यहाँ उभिइराख्नुभएको, भित्रै आउनुस् न ।”

आफूले लुकीलुकी हेरेको त्यो लोग्नेमान्छेले थाहा पाएको हुँदा उसलाई निकै अप्ठ्यारो लाग्यो । मुटुको धड्कन झन् तेज भयो । उसलाई के गरुँ के गरुँ भयो । लोग्नेमान्छे मात्रै बसेको कोठामा ऊ भित्र पस्नु हुन्छ कि हुँदैन भन्ने कुरा उसले सोच्नै भ्याइन । त्यो लोग्नेमान्छेको बोलीले तानिएझैँ ऊ खुरुखुरु कोठाभित्र पसी तर ऊ त्यहाँ उभिइरहन सकिन । उसको मुटुको धड्कन एक्कासि बढेर आयो र उसलाई उकुसमुकुस हुनथाल्यो । अनि त्यो लोग्नेमान्छेले केही भन्नुभन्दा अघि नै ऊ त्यहाँबाट दौडिँदै आˆनै कोठामा पुगी र ढ्याम्म ढोका लगाई । छोरालाई सुताइराखेको खाटमा ऊ पनि डङ्रङ्ग पल्टी र छातीमा हात राखेर छिटोछिटो सास फेर्न थाली ।

‘हे भगवान्, मलाई यो के हुन लागिरहेछ ?’ यसो भनेर उसले एक छिन आँखा चिम्म गरी र फेरि खोली । यसपटक उसको आँखा भित्तामा झुण्डिरहेको लोग्नेको तस्बिरमा पर्‍यो । अनि ऊ एकछिनसम्म त्यही तस्बिर हेरेर टोलाइरही । उसलाई आˆनो लोग्नेको अनुहार अरू बेलाभन्दा बढी मायालाग्दो लाग्यो ।

एकातिर लोग्नेमान्छेको स्पर्श पाउने रहर र अर्कोतिर आˆनै आँखामा आˆनो लोग्ने परपर र त्यो लोग्नेमान्छे आफ्नो वरवर आइरहनुको डरले गर्दा ऊ सोचमग्न हुनथाली । अनि एकातिर छातीभित्र भावनाको भुसे आगो विस्तारै बल्दै गइरहेछ भने अकोतिर चिन्ताले मुटु जल्दै गइरहेछ । यसैले गर्दा उसलाई बिसन्चो महसुस हुनथाल्यो । ऊ विस्तारै आफैँभित्र हराउन थाली । हिजोअस्तिसम्म वास्तै नगरेको त्यो लोग्नेमान्छेको बारेमा पनि अब उसले बेलाबेलामा सोच्नथाली ।

उसको केही बद्लिएको र अनौठो व्यवहार देखेर त्यो लोग्नेमान्छेले पनि उसलाई अनौठोसित हेर्नथाल्यो । त्यसको मनमा पनि उसका बारेमा विभिन्न भावनाहरू आउन थाले । उसको व्यवहारप्रति त्यो लोग्नेमान्छेलाई चासो लाग्नथाल्यो । ऊ भित्रबाहिर गर्दा त्यो लोग्नेमान्छेले उत्सुकतापूर्वक उसलाई नियाल्न थाल्यो । स्वास्नीमान्छेलाई देखेर अथवा नजिक पाएर हरेक लोग्नेमान्छेको मनमा उठ्ने तरङ्ग र भावनाहरू त्यो लोग्नेमान्छेको मनमा पनि आउन थाले । अनि त्यसले अनेक उपायले उससित नजिक हुने प्रयत्न गर्न थाल्यो ।

उसलाई पनि त्यो लोग्नेमान्छे आफूसित नजिक हुन खोजिरहेको आभास हुनथाल्यो । कताकता ऊ स्वयं पनि त्यो लोग्नेमान्छेको नजिक हुँदै गएकी हो कि जस्तो लाग्नथाल्यो । यसरी दुवै जनामा जानीनजानी नजिक हुने क्रम चली नै रहृयो । एकआपसमा विस्तारैविस्तारै नजिक हुँदाहुँदै फागु पूणिर्माको दिन फागु खेल्ने निहुँमा उनीहरूको जम्काभेट भयो र जेजे हुनुपर्ने हो त्यही दिन भयो ।

फागु पूणिर्माको दिन । बिहानैदेखि केटाकेटीहरू लुकेर लोला र पिच्कारीले हान्ने, रङ दल्ने र पानी छ्याप्ने गरिरहेका थिए । घरको छतमा बसेर सँगैको घरका छतहरूमा लोला हान्ने क्रम निरन्तर चलिरहेको थियो । विशेषगरी केटाकेटी र युवायुवतीहरू फागुको रङमा रमाइरहेका थिए । मध्यान्ह भएपछि घरका गृहिणीहरू पनि घरधन्दा सकेर केटाकेटी र युवायुवतीसँगै फागु उत्सवमा सामेल हुनथाले । एकले अर्कालाई रङ दलिदिने र पानी छ्याप्ने तथा बाल्टिनबाट जीउभरि पानी खन्याइदिने काममा सबै उमेरका मानिसहरू सहभागी हुनथाले । कहिले लुक्दै, कहिले छल्दै र कहिले भाग्दै रङ र पानी छ्याप्दै रमाइलो गर्ने क्रम चलिरहृयो ।

त्यो लोग्नेमान्छे पनि विभिन्न रङहरूले रङ्गिइसकेको थियो । त्यसको हातमा पनि रङको पोको थियो र कसलाई दलिदिउँ भनेर मौका हेरिबसेको थियो । यता ऊ पनि झ्यालको पर्दापछाडिबाट बाहिरको रमिता हेरिरहेकी थिई । अरू रमाएको देखेर उसलाई पनि त्यो रङ र पानीको रमाइलो खेलमा सामेल हुन रहर लागिसकेको थियो । तैपनि रङ खेल्नुभन्दा त्यो रमाइलो हेर्ने मनसाय लिएर ऊ कोठाबाट बाहिर निस्की । ऊ बाहिर निस्कनेबित्तिकै अघिदेखि मौका पर्खिबसेको त्यो लोग्नेमान्छेले उसलाई रङ दलिदिने प्रयास गर्‍यो । ऊ भागेजस्तो गरेर आˆनै कोठाभित्र पसी । त्यो लोग्नेमान्छेले भने उसको पिछा छोडेन र कोठाभित्रैसम्म आएर उसलाई गालाभरि रङ दलिदियो । उसले पनि दुई हातले छेकेजस्तो गरिरही तर त्यसले भने रङ नदली छोडेन । उसको हात समातेरै भए पनि दुवै गाला राताम्मे हुनेगरी त्यसले रङ दलिदियो ।

त्यो लोग्नेमान्छेले त्यसरी जबरजस्ती रङ दलिदिँदा उसलाई रिस उठ्नुपर्ने हो तर उठेन । त्यो लोग्नेमान्छेले उसको गालामा हात रगडीरगडी रङ दलिदिँदा र उसको हात पन्छाउने क्रममा उसको हात बेसरी अँठ्याउँदा उसलाई धेरै दिनपछि एक किसिमको आनन्द र तृप्ति मिलेजस्तो भयो । त्यो लोग्नेमान्छेको हातको स्पर्शले उसलाई असीम सुखद अनुभूति भयो । उसलाई धेरै दिनदेखि नपाएको कुरा बल्ल पाएजस्तो भयो । उसलाई एकदमै सन्चो अनुभव भयो । जुन कुराको उसलाई धेरै दिनदेखि प्रतीक्षा थियो, त्यो आज पूरा भएजस्तो लाग्यो । धेरै दिनदेखि लोग्नेमान्छेलाई छोएर सुखद अनुभूति प्राप्त गर्ने उसको मनको रहर पनि आजै पूरा भयो । त्यसैले ऊ भित्रभित्रै खुसी भई ।