Chandra Gurung – Maile Bancheko Shahar

चन्द्र गुरुङ – मैले बाँचेको शहर-१

यो शहरको शरीरैभरि
च्याउसरी उम्रेका कंक्रीट बील्डिङ्गहरू
सबका सब
-तन्काउँदै जीवन थाकेका ढाडहरू
-उचाल्दै शान झुकेका टाउकाहरू
-फुलाउँदै स्वाभिमान खुम्चिएका छातिहरू
-उघार्दै सपना थुनिएका आँखाहरू
प्रदुषित आकासमा
गुनगुनाउँदै छन् कोरस, आफ्नो खोक्रो उँचाई ।

जीवनको अधबैँसे यौवन नाप्दै
हेरेको छु
-हरियो खेतबारी खाएर मोटाएका घरघडेरीहरू
-कुआँपँधेरो निलेर उभिएका पानीटैँकीहरू
-वल्लोपल्लो डाँडा छेल्दै बसेका घरहरू
-रुखहरूका सौर्न्दर्य मास्दै ठडिएका पर्खालहरू
-असंख्य पाउमुनि थिचिएका सडकहरू
यहाँ, मैले बाँचेको शहरमा ।

भेटेकोछु यहाँ
रोधीँहरू लखेट्दै आइपुगेका सिनेमाघरहरू
चियापसलको ठाउँमा पलाएका फाष्टफुड क्याफेहरू

सडकका वारिपारि
-दुइ हातहरूमा चित्ताकर्ष शो-रूम उचाल्दै
-काँधहरूमा रंगीन दोकानहरू बोक्दै
-अनुहारैभरि कृत्रिम मुस्कान कोर्दै
मानिसहरूका ‘टाइमपास’ हूललाई आकषिर्त गर्न
ठेल्ामठेल उभिएका स्योपिंग सेण्टरहरू ।

मैले बाँचेको शहर
यहाँ
-फलानो पार्टीलाई भोट दिए देशमा शान्ति
एउटा चुनावी घोषणा ।
-दुइ किने एक प|mी- नयाँ साबुनको जन्म ।
-गुप्तरोग पनि चवाट्टै पार्ने ‘छाडा’ आयुर्वेदीय औषधी ।
यीयस्ता विज्ञापनका
थरीथरी रंगीन लिपिस्टीकले ओँठ रंग्याएर
उभिएका फेशनदार पर्खालहरू
हाँस्दैछन् स्र्टाईल स्र्टाईलका वेश्या खित्काहरू ।

यहाँ,
भोकाएका झुप्राहरूअघि
तारे होटलहरू -बेहिच्चक)असभ्य थुक्छन् ।
ख्याउटिएका नाङ्गाबुङ्गाहरूलाई र्
इ˜˜˜खा इ˜˜˜खा गर्दै
छोटो पहिरानमा उखरमाउलो समय
हिँड्छ र्याम्पमाथि अत्याधुनिक क्याटवाक
र, यहाँका अग्ला घरहरू
इनामेलको रसायनिक सौर्न्दर्य बसाउँदै
कुममा कुम जोडेर उभिन्छन्
पाल्दै एकआपसमा नमिल्ने सप्तरंगी प्राणीहरू ।

मैले बाँचेको शहर-
चोकचोकमा असंख्य फर्सदिला सालिकहरू
उभेका छन् चुपचाप
नियाल्दै हाम्रा अस्त-व्यस्त जीवनहरू ।
यहाँ,
अल्पत्रे -अलकत्रे) सडकहरूमाथि
देखिन्छन् दुखाई चिच्याउँदै कुद्ने एम्बुलेँसहरू
र,
-यहाँका आकासे पुलहरूमाथि
-यहाँका एकान्त पार्कका कुनातिर
-यहाँका अँध्यारा सडकका छेउछाउमा
भेटिन्छन् भीडका अनुहारमा कारोबार खोज्ने नगरवधूहरू ।

यो…मैले बाँचेको शहर !
न त छोपिएको छ मायाको घुम्टोले
न त बाँधिएको छ मानवताको डोरीले
न त घेरिएको छ मेलमिलापको पर्खालले ।

चारैतिरबाट एक्लिएको…यो…मैले बाँचेको शहर ।

Chanki Shrestha – Sankraman

मैले फेरि देखेँ
तिनीहरूका आँखामा
कुहिरोको बतासजस्तो कुरूपता
जहाँ एक्काइसौँ सताब्दीको
महान् षड्यन्त्रको घना जंगल फैलिन्छ
पानीजस्तो निर्मल गीत र फूलजस्तो मुलायम संगीतबीच
किन तालमेल छैन ?
त्यहाँ पशु र पारिजातको संवेदना तुलिन्छ ।
देख्छु- सन्त र निलकण्ठको पाखण्डमा
सामेल छन् हाम्रै मानिस
जो चढिरहेछन्
मिथ्या राजनीतिको बाइपंखी घोडा
जसमा महाराजको बिलासी रूपरङ देखिन्छ
जसका सफा लुगाभित्र छ
परपीडक सनातन धर्मको पोखरी
जहाँबाट निस्केको गोहीले
वियोगजस्तो दुःखी अनुहारमाथि
आँसु चुहाउँछ
त्यहीँबाट जारी हुन्छ दमनको अध्यादेश
हत्याराहरूका नाममा
त्यहीँबाट पुरस्कारको सिफारिशपत्र लेखिन्छ ।
सफा आकाशमा बिजुली चम्केजस्तो
समयको यो मोडमा
बारम्बार म आफैसँग सोधिरहेछु
यो देशमा शासक र चटकेमा
को बढी हाँस्यकलाकार छ ?
व्यवस्था र कुहिएको कागतीमा कुन बढी अमिलो छ ?
देख्छु, सत्ताको बिलासी गद्दामा
आन्दोलनको झण्डाको रङ धमिलो छ ।
सोध्छु- लोकतन्त्रको बगैँचामा
सप्रिएका महाराजहरूको संगीत र बलात्कारीको
सदाचारी भाषणमा कति अन्तर छ ?
औतारी नेताको किताब र
देशद्रोहीको राष्ट्रिय गीतमा कुन बढी परपीडक छ ?
सुरक्षा संयन्त्र र सुँगुरतन्त्रमा
कहाँ बढी सुशासन छ ?
देख्छु, द्रौपदीको यौवनमाथि कृष्णका आँखामा दुःशासन छ ।
देख्छु, पुना विश्वकर्मा र कान्छी मिजारका आँखामा आँधी
जसको आवेगमा हत्याराको दुस्साहस तुहिन्छ
देख्छु, अस्मिता र्घर्ती र झुमा किरातीको उत्तेजनामा ज्वालामुखी
जसको सामु बन्दुक स्वयं नुहिन्छ
देख्छु, देख्छु र देख्छु
अर्ढाई करोड मानिसका आँखा-आँखामा प्रचण्ड ज्वाला
जसको रापमा सपनाको इन्द्रेनी देखिन्छ
जसले भन्छ, आगामी इतिहासमा यही कुरा लेखिन्छ
कि तिनका आँखाका ज्वालाले भष्म भएथे
इश्वर, औतारी र महाराजहरू ।

Acharya Prabha – Badami Chhan Gala Mera

बदामी छन गाला मेरा नयन छन लट्ठ
मेरो रूप हेरि हेरि पर्छन सबै दंग

नागबेली केशराशी लहराउँदा झन
रूप मेरो देख्दा अझ मान्छ कस्को मन

पिपलपाते अधर् मेरो मुहार छ हिस्सी
चाल मेरो हेरेर नै सबै हिँड्छन् जिस्की

लचकदार हिँडाइ मेरो हाँसो छ मीठो
लजालुपन देख्दा मेरो फंस्छन् जवान ठिटो

Seema Abhash – Ritu Ko Geet

घङ्गारुको लौरो टेकेर
कोशी किनारमा उभिएकी हजुरआमा
रित्ता गिजा मजेत्रोले छोप्दै
अन्जुलीभरि पानी उघाएर भन्छिन्-
फेरिएनन् यी रुखका पातहरु
संग्लिएन सप्तकोशी
चरा ब्यूँझनुअघि हराएकाहरु भेटिएनन्
ऋतुको पोल्टाबाटै हराए बसन्तबहार

बाबै !
आस्थाको तोरण चुँडियो
बिश्वासको छानो भत्कियो
फूलको रङ हरायो
रगतले नुहाएर देउराली रोयो
साँझको घामसँग गएका
नातिनातिना फर्किएनन्

लामो सास तान्दै भन्छिन्-
उफ !
ताराका लामसँगै
इतिहासका पाना फेरिए
लोककथा दन्त्यकथा गीतका धून श्लोक फेरिए
अँहँ ! फेरिएनन्
आँगनमै घोप्टिएका
चिसा काला अमिला…
ऋतु गीतहरु

सन्तान हराएको दलानमा बसेर
सुर्तीको लामो सर्को तान्दै भन्छिन्-
दैलाको सङ्घार लिप्ने रातोमाटोमा
छोराको रङ छ
तुलसीमठमा चढाउने पानीमा
छोरीको रङ छ

सम्झनाको नमिठो छाँया लिपेर
औँलाले तस्विर कोर्छिन्-
आँसुका गीतको
नफेरिएका ऋतुका गीतको

पूर्णचन्द्रमूनि उभिएर भन्छिन्-
बुझिराखेस् बाबै !
फूलको रङमा मेरा नातिनातिना छन्
जो हराए आँखाबाट
जो भेटिएनन् आजसम्म
यीनैलाई सम्झँदै
मेरो आँसुमा-फूल चरा झण्डा माटो…
रोईरहे
यी नभेट्टिउन्जेल
आँखामा सप्तकोशी छचल्किरहनेछ
सम्झिराखेस् बाबै !
आँखामा सप्तकोशी छचल्किरहनेछ ।

ओखलढुङ्गा
हालः- त्रिभुवन विश्वबिद्यालय किर्तिपुर
अङ्ग्रेजी केन्द्रीय विभाग

Bikram Subba – Ragat

विक्रम सुब्बा – रगत

रगतको आफ्नै मगज हुँदैन
दिमागका हरेक रेसामा रगत नपुगे
गिदी मर्ला र समाज बदल्ने
संघर्षको मार्गचित्र कसले सोच्ने?

रगतको आफ्नो आँखा हुँदैन
आँखाको नानीले रगत खान नपाए
दृष्टीहरू मर्लान्
र, स्वतन्त्र मानिसका अनुहार केले हेर्ने?

रगतको छुट्टै कान हुँदैन
कानका सबै अबयबमा रगत नपुगे
श्रव्यशक्ती मर्ला
र, मानिसको विजयी गीत केले सुन्ने?

आफ्नो ओठ पनि हुँदैन रगतको
आधरका हरेक सिरामा रगत नपसे
आमाका चुम्बनलाई
केले ममतामयी, ज्युँदो र न्यानो बनाउँने?

रगतको आफ्नो गला हुँदैन
पुग्दो रगत कण्ठमा सिंचित नभए
निर्जीव गलाले
मुलुकको मायामा
गर्विलो गीत कसरी गाउला?

रगतको आफ्नो हात पनि हुँदैन
देशबासीका सहस्र हातहरूमा रगत नपुगे
हातहरू पनि मर्लान्
र ठूठाजस्ता हातले हतियार समाउँदैनन्
अनि सिमानाका प्रत्येक गौँडामा
देशको रखवारी कसरी गर्ने?

कुनै किसिमको मुटु पनि हुँदैन रगतको
मुटुका अणुअणुमा रक्तकण नपुगे
मुटु पनि मर्ला
र आर्यघाट पुगेको मुटुले
सारा नेपालीको ढुकढुकी कसरी बोलिदेला?

फोक्सो पनि हुँदैन रगतको आफ्नो
फोक्सोका दुबै फप्लेटामा हर्दम् रगत नपुगे
फोक्सो मर्ला र मृत फोक्सोले
जातजातका मानिसले कसरी सास फेर्ने?

पाठेघर पनि हुँदैन रगतको
हरेक जवान युवतीका गर्भाशयमा
नित्य स्वच्छ रगत नपुगे
सृष्ठीको मुहान मर्ला
र क्रन्तीवीर जन्माउँने
मातृसपना कसरी पुरा होला?

रगतको हिँड्ने खुट्टा पनि हुँदैन
खुट्टाका हड्डी, नसा र मांसपेसीहरूमा
मनग्गे रगत नपुगे
खुट्टहरू मर्लान्
त्यसपछि त,
परिवर्तनको नयाँ क्षितिज टेक्न
इन्क्लाबी जुलुसमा कुन पाइला हिँड्लान् ?

Acharya Prabha – Tarun Man Ko Apil Yauwana Lai

(यौन कबिता)

तिमी यौवनको मातले निथरुक्क भिजेको बेला
म बैँशको उन्माद बोकेर
आँधीको बेग बनी आउँला
त्यो पल केवल तिमी हुनेछौ
मेरो चाहनाभित्र
अनी म हुनेछु
तिम्रो लज्जित भावनाभित्र
म आवेगले मात्तिएको Continue reading “Acharya Prabha – Tarun Man Ko Apil Yauwana Lai”

Yatiraj Ajanabee – Ma Aatankabaadi

यतिराज अजनबी – म आतंकवादी

मेरो मस्तिष्कको आगनमा
भावनाका च्याङ्बा र मैचाङहरू
भौतिकताको ठटाउँदै
डम्फु र मादल
सेलोमा आडम्बरको
नाचिरहन्छन हमेसा

निमन्त्रणा आउँछ मलाई
त्यो नृत्यमा भाग लिन
धन्यवाद ज्ञापन गरी
गर्दै सेलोको मेरो
अनभिज्ञता प्रकट
अनंगीकार गर्छु

उनीहरू देखी मेरो दरिद्रता
गिज्याउँदै गिरफ्तार गर्न
खोज्छन मलाई
अवाक हुन्छु म धेरै बेर
जब मेरो मौनताको
लाभ लुट्न खोजिन्छ
मेरो आँखाबाट फिलुङगा छुट्छ
म आतंकवादको शरणार्थी हुन्छु
म यिनीहरूको बिभत्स,
पाशविक हत्या गर्छु

कतैबाट
कसैबाट
यसको भत्सर्ना हुँदैन
लस्कर ए तोइबकी आमा
हफिज देखी
अलकायदाका पिता
लादेन सम्म मेरै
शाखा सन्तान हुन्
यद्यपि मेरो नाम
रेड कर्नर नोटिसको
तपसीलमा छैन
इन्टरपोलले मलाई
किन चिन्दैन ?

८ अगस्ट २००९, एड्लेड

Bhupin Byakul – Naksa

भूपिन ब्याकुल – नक्सा

पुर्व, पश्चिम, उत्तर, दक्षिण
कुनै दिशाहरु छैनन्
कुनै निश्चित अक्षांशा र देशान्तरहरु छैनन्
कुनै निश्चित सीमानाहरू छैनन्
पानिमाथी लेखेको प्रेमिकाको नामजस्तो
मात्र एउटा प्रिय अनुभूति छ
मात्र एउटा गहिरो आभाष छ
एउटा नबुझिने ग्लोब छ
जसमा स्पस्ट बुझिने
देशका कुनै नक्साहरु छैनन् !

कुनु प्रयोजन छैन
कुनै उदेश्य छैन
मात्र उदेश्य छ भन्ने भ्रम छ-
यो नक्सा बनाउनुमा
नभएका सीमानाहरू काट्नु छ
नभएका बाटोहरु छिचोल्नु छ
जानीनजानी
छालहरुले पखाल्ने समुद्रको किनारामा
सपनाहरुको सुची लेख्नु छ !

हावामा कोर्नु छ प्रेमपत्र
र त्यसलाई सुरक्षित
झोलाभित्र राख्नु छ
हिड्दाहिड्दै
यात्रामा हराएँ भने
यही नक्सा हेरेर
नभएका सीमानाहरु हुँदै
नभएका बाटोहरु काट्दै
नभएका दिशाहरु छिचोल्दै
पुग्नु छ –
नपुग्न भनेर हिँडेका अनाम ठाउँहरुमा !

Dr. Mohan Prasad Joshi – Ghantilai Swatantra Paren

डा. मोहनप्रसाद जोशी — घाँटीलाई स्वतन्त्र पारेँ

सुट फुकालेँ, टाई फुकालेँ,
घडी फुकालेँ, फोन फालेँ,
खुट्टामा हल्का जुत्ता हालेँ,
ढोका उघारेर हिँडिहालेँ |

सडक र मोटर बाइपास गरेँ,
एउटा गोरेटोमा प्रवेश गरेँ,
लम्केर अगाडि बढ्दै गएँ,
रिङरोड छिचोल्दै पारि गएँ |

हिँड्दै जाँदा अलि टाढा पुगेँ,
रूख, बिरुवा र डाँडा देख्न पुगेँ,
अलिअलि जङ्गल जस्तोमा पुगेँ,
त्यहाँ म हल्का बन्न पुगेँ |

कोलाहल काठमाडौँ पछाडि छाडें,
सहरिया बोझलाई विसर्जित पारेँ,
टाईबिना घाँटीलाई स्वतन्त्र पारेँ,
अलिकति हिँडेर आनन्द उमारेँ |

(डा. मोहनप्रसाद जोशीको ‘कहाँ छ ठाउँ ‘ नामक कवितासङ्ग्रहमा समावेश भएको |)

Abir Khaling – Sambedana Swar

अबिर खालिङ्ग – संवेदना स्वर

मेरा हात खुट्टा काटेर
पर मिल्काईदियौ
र जितें भन्दै
कुटिल हाँसो हाँस्यौ ।
तर मैले जोगाईराखें
मेरो एक मुठ्ठी विरोध … मेरो मुटुमा ।

आँखा फोर्‌यौ /
कान काट्यौ
जिब्रा Continue reading “Abir Khaling – Sambedana Swar”

Tanka Subba – Abhiyan

टंक सुब्बा – अभियान

अहिले हामी अभियानमा छौ
त्यो कसैलाई थाहा होला
कसैलाई थाहा नहोला
कुन अभियानमा छौ
वा कस्तो अभियानमा छौ भनेर
तर हरेक मान्छेले
चाहेर होस् या नचाहेर होस्
आफ्नो जिन्दगीको
अभियानमा Continue reading “Tanka Subba – Abhiyan”

Shrawan Mukarung – Purano Manis

यस धर्तीको सबभन्दा पुरानो मानिसलाई मार्न
सबभन्दा नयाँ कुरा चाहिन्छ

तिमीसित अब
के छ त्यस्तो कुरा…?

सुधारिएको प्रजातन्त्र ?
गणतन्त्र ?

अत्याधुनिक बन्दुक
ट्याङ्क, मिसाइल, रकेटलन्चर
वा–
जैविक Continue reading “Shrawan Mukarung – Purano Manis”

Rabindra Nath Thakur – Adekh Bilauna [From Geetanjali]

प्रभो ! यदि अब यो जीवनमा तिमीलाई भेट्न सकिनँ भने :
यो कुरो मेरो मनमा काँढा झैँ घोचिरहन्छ, तिमीलाई भेट्न सकिनँ !
यो कुरो म भुल्न नसकुँला, यसको वेदनाले सुत्दा–उठ्दा, निशिदिन
विरक्त पारिरहन्छ ।
जगतीतलको बजारमा मैले मति दिन बिताइसकेँ, मेरा दुइ हात
धन–दौलतले कतिपल्ट भरपूर भइसके, तर त्यसले मलाई के लाभ
भयो र ! यो कुरो मेरो मनमा काँढाले झैँ घोचिरह्यो, मैले तिमीलाई
भेट्न सकिनँ ।
आलस्यवश म जब बाटोको छेउमा बसेको थिएँ अनि विश्रामका
लागि बिछ्यौना लगाउन बन्दोबस्त गरेँ, त्यही वेला स्मरण भयो,
यो प्रवास निष्प्रयोजन छ । तिमीलाई भेट्न सक्दिनँ, यो कुरो मनदेखि
भुल्न सकिँदैन ।
तिमीले मलाई नभूल, सुत्दा–जाग्दा मेरो यही चिन्ता रहन्छ ।
मेरो घर कातकै हास्य होस्, कति बाँसुरी बजोस्, जति नै
सजधजले घर चम्कोस, तर ‘तिमी आउँदैनौ’ :
यो कुरो सम्झँदा ह्दय चकनाचुर हुन्छ । यो वेदना कहिल्यै भुल्न
सकिन्न ।
तिमीले मलाई नभूल : यो शंकाले सुत्दा–जाग्दा, दिन–रात मलाई
सताइरहन्छ ।

Abhas – Suren Babu

सुरेन बाबु
यो सामान्य कुरो हो
रगत रातो हुन्छ
सुरेन बाबु
तिमीले आनन्द लिन
रइफल बोक्ने गरेका छौ
साँझको गोधूलिमा
तिमीले निरीह ढुकुर मार्ने अभ्यास गरेका छौ
तिमीलाई थाहै छ
ढुकुरको रगत रातो हुन्छ
सुरेन बाबु
यो सामान्य कुरो हो
रगत रातो हुन्छ
सुरेन बाबु
तिमीले आनन्द लिन
रइफल चलाएका छौ
र अब सरकार पनि चलाएका छौ
सुरेन बाबु
भरखरै तिमीले
भोका आशालालहरूको भीडमा
आधुनिक मट्याङ्ग्रा चलाएका छौ
तिमीलाई राम्ररी दिव्यज्ञान प्राप्त भएको छ
तिम्रो मट्याङ्ग्राले
छाती छेड्दा निस्केको
भीडको रगत पनि रातो हुन्छ
सुरेन बाबु
अब रगतमा रङ्ग परीक्षण जरुरी छैन
प्राणीको धमनी र शिरामा बग्ने तरल रातै हुन्छ
सुरेन बाबु
यो पनि त निर्विवाद छ
भीडबाट कुनै मट्याङ्ग्रो
तिम्रो छातीमा बज्रियो भने
तिम्रो छातीको भुलभुले पानी पनि रातै हुन्छ ।

Harihar Dahal – Bhok Ra Mrityu

मैले उनीहरूलाई भात माँगें-
उनीहरूले मलाई भात र बन्दुक दिए
मैले पेट्भरि भात खाएँ र बन्दुक पड्काएँ |

थुप्रै छातीहरू च्याँतेँ
अनगिन्ती टाउकाहरू पड्काएँ
रगतका फाल्सा र लासका डुंङुरहरूसँग
मनभरी रोंएर पेट्भरि खाएँ |
मैले माटो खाएँ, रगत पिएँ र ढुङ्गा सुतेँ |
घाइतेहरूको आर्तनादसँग
मानवता बाँचिन, क्रुरता ओकलेँ
तिनीहरूलाई निचोरी – निचोरी मारेँ|
र मैले उनीहरूको नुनको गुन फर्काएँ|

ठीक तेसबेला उनीहरू
इन्क्लाब-जिन्दाबादका आवाजहरूले
मृत बस्तीहरूमा बिजय उत्सब मनाउदै थिए|

र मैले यसरी भोकसँग मृत्यु साँटें,
मनभरि रोएर पेट्भरि खाएँ |

Rambikram Thapa – Ankha

रामविक्रम थापा – आँखा
(मधुपर्क २०६६ माघ)

संसार देख्ने रमिता हजार
यो ज्योति आँखा सबको छ सार
सौन्दर्य हेने नयननाभिराम
सानो छ हेर्दा कति धेर काम

लेख्ने र पढ्ने हतियार हाम्रो
देखाउने यो मतियार राम्रो
राम्रो, नराम्रो सबमा छ दृष्टि
हेरेर भन्दै नवभाव सृष्टि

यो ज्ञानदाता र अनेक भाका
यो प्रेमदाता रसिलो छ भाषा
राम्रो र मीठो नयनी इसारा
स्वभाव पोख्ने कतिको सहारा

जो नेत्रवाणी मुखले नभन्दा
त्यो भाव राम्रो अझ शब्द भन्दा
ढोका खुलायो मनको महान्
नेत्रास्त्र सानो, हचुवा नठान

-बालकन्या उमावि फाक्टाङ-२, खोटाङ

Ram Prasad Prasain – Bidambana

रामप्रसाद प्रसाईं (आशुतोष आंशु) – विडम्बना

श्रीपेच वस्त्राभूषित कविताहरू
चिचिला टोपीधारी कविताहरूसँग जोरी खोजिरहदा
निधारको डिलभरि नाम्लाका डामका भाग्य टाँस्न
जिजीविषाको अलकापुरीमा खुइया काढ्दै भरिया दाइको
सपना सोध्छ,
बा ! बा !! यो KFC किन King’s Way मा नै त।?!
किन हुनन्
यिनीहरू
माने भञ्ज्याङ्ग, सिरूघारी र मोफसलका लोकमार्गहरूमा
जीवनदेखि दिक्क लागेर
थालेकाछन्
मृत्युहरू अमरत्वको
समाधिलेखनमा—
“ससीम बन्धनयुक्त अस्तित्वभन्दा असीम जीवनबादी मृत्यु प्यारो”

कालीखोला -२(तेम्बोक), ताप्लेजुङ्ग, नेपाल
अबुधाबी श्रमशिबिरबाट।

(Sent to Sanjaal Corps via Email)

Saraswati Shrestha ‘Saru’ – Mrityutsav

सरस्वती श्रेष्ठ ‘सरु’ – मृत्युत्सव
(मधुपर्क २०६६ जेठ)

किन भोगिरहेछौ हामीले
जताततै मृत्यु-मृत्यु जिन्दगीहरू.
किन बाचिरहेछौ हामीले
जताततै मृत्यु-मृत्युका जिन्दगीहरू
एकोहोरो स्यालहरू हासेका बेसुरा Continue reading “Saraswati Shrestha ‘Saru’ – Mrityutsav”

Ganga Prasad Upreti – Jeewan

गंगाप्रसाद उप्रेती – जीवन

हार र तिरस्कारको बिस्कुन फिजाउँदै
सुकिला आकांक्षाका नानी खेलाउने
बूढीआमाका चाउरिएका अनुहारमा पनि
जीवन नाचिरहेको मैले देखेको छु
सूर्यादयको मीठो किरणको उन्मादी चुम्बनमा
मसक्क मस्कने रुमानी गुलाबसँगै
कहिले रत्तिदै, कहिले मस्किदै
जीवन हाँसिरहेको मैले भेटेको छु।

निराशाको घुर्मैलो कात्रो ओढाई
जबर्जस्ती दाहसंस्कार गर्न जीवन ऊर्जाको
घाट झर्दै गरेका ए मलामीहरु हो
खोई काखी मुनिको दुर्गन्ध ? खोई सिसिपसको कथा ?
कहाँ नाचेको देख्यौ ख्याक तिमीले
जीवनको यो हरियाली करासोमा ?

होला ! नुनीला पिरा आँसुहरुले
यसको कथा भिजेको होला
पीडन र ग्लानिको झापट खपेर
जीवन कतै झुकेको होला
तर यो झुकाइको अन्तरपीडाबाट
एउटा फिलुंगो बुत्ताइरहेछ
राम्रो हेर त धैर्यको चश्माले
पिरो नुनिलो आँसु पिएर
प्रसव वेदना थामथुम पार्दै
नयाँ आशा र उज्यालो
पौरख बिछ्याइ बाटाहरुमा
तेजिला बिम्ब बनी लम्किरहेछ
स्वाभिमानले उठेका शिखरहरुमा
जीवन आफैं कुर्लिरहेछ
मस्त झुलेका बेसी फाँटमा
जीवन बाला झुलिरहेछ
कोशी, गण्डकीको सुरिलो भाकामा
विजय गीतको राग सुसेल्दै
कोही अघि बढिरहेछ
हरेक खेतमा हरेक पाखामा
नयाँ कलेबर बनिरहेछ
काँडाहरुको पीडा भुली
जीवन क्रमशः फुलिरहेछ ।

Bijaya Raj Sharma – Durbhagya Ko Jhonkka

विजय राज शर्मा – दुर्भाग्यको झोंक्का

आर्कटिक सागरबाट बगेको सिरेटोले जस्तै
जब दुर्भाग्यको झोंक्काले मेरो छाति छेड्दछ
बाक्लो हुस्सुले तलाउलाई ढपक्क ढाकेझैं
जब छटपटीले मेरो मस्तिष्कलाई ढाक्दछ
त्यसबखत बिलाउँछ मेरो अनुहारबाट आभा
मबाट हराउँछ चनाखोपना र प्रत्युत्पन्नमति
म उभिन त उभिन्छु कक्षामा पढाउन
तर मात्र भट्याउँछु कुनै भरिएको टेपसरी
निस्सासिन थाल्दछ मेरो जीवन
जिउनु बन्दछ सुल्झाउनै नसकिने पहेली
यस्ता क्षणमा म चाहन्छु भइजान निश्चल
जसरी हुने गर्दछ ब्याट्री सकिएको पुतली
साँच्चिकै साँच्चिकै चाहन्छ मेरो दिल
रोकियोस् यो पृथ्वी, थामियोस् पूर्ण प्रकृति
तर उफ्! मैले चाहेर मात्र के हुन्छ र?
घुमिरहन्छ घडीको सियो, रोकिंदैन खोलाको गति
मानिसको उदासीको के नै मूल्य छ र समयचक्रलाई?
आफैले आफुलाई ठूलो मानेर के हुन्छ नै,
जब चिन्ता छैन कसैको कसैलाई।