Bhupin Byakul – Naksa

भूपिन ब्याकुल – नक्सा

पुर्व, पश्चिम, उत्तर, दक्षिण
कुनै दिशाहरु छैनन्
कुनै निश्चित अक्षांशा र देशान्तरहरु छैनन्
कुनै निश्चित सीमानाहरू छैनन्
पानिमाथी लेखेको प्रेमिकाको नामजस्तो
मात्र एउटा प्रिय अनुभूति छ
मात्र एउटा गहिरो आभाष छ
एउटा नबुझिने ग्लोब छ
जसमा स्पस्ट बुझिने
देशका कुनै नक्साहरु छैनन् !

कुनु प्रयोजन छैन
कुनै उदेश्य छैन
मात्र उदेश्य छ भन्ने भ्रम छ-
यो नक्सा बनाउनुमा
नभएका सीमानाहरू काट्नु छ
नभएका बाटोहरु छिचोल्नु छ
जानीनजानी
छालहरुले पखाल्ने समुद्रको किनारामा
सपनाहरुको सुची लेख्नु छ !

हावामा कोर्नु छ प्रेमपत्र
र त्यसलाई सुरक्षित
झोलाभित्र राख्नु छ
हिड्दाहिड्दै
यात्रामा हराएँ भने
यही नक्सा हेरेर
नभएका सीमानाहरु हुँदै
नभएका बाटोहरु काट्दै
नभएका दिशाहरु छिचोल्दै
पुग्नु छ –
नपुग्न भनेर हिँडेका अनाम ठाउँहरुमा !