Manoj Bogati – Ankha Ko Gahiro

तिम्रो आँखामा लतपतिएको त्यो यौनिक रङले तानेर
कतै लगिरहेछ
मेरो लुते मर्यादालाई।

मेरो मर्यादा
आफ्नो सबै भन्दा सम्वेदनशील अङ्गलाई
पातलो स्वाभिमानले छोपेर
ठिङ्ग उभ्छ
आगोको दैलोमा।

तिम्रो आँखाको आगो पटक्कै निभ्दैन।

कता-कताबाट पग्लिन्छ हिउँपुरुष
कुनै पोखरीमा जम्दैन।
पग्लिबस्नुको यो मीठो स्वाद
जीवनको मीठो कविता
एक्लै भोग्छु म।

अर्धनग्न नायिकाको यो तस्वीरको गहिरोमा
जति डुब्छ मेरो मर्यादा
उति बन्द हुन्छ
उसको आँखा।

Yuddha Prasad Mishra – Sahi Bato

युद्धप्रसाद मिश्र – सही बाटो

संकीर्णताको परखाल नाघी
यथार्थ वैज्ञानिक पन्थ लागी
पीडितमा जागृति बत्ति बाल
भगाइद्यौ भारतका दलाल

प्रगति भो अब व्यापक जाज्वल
परिसके प्रतिगामीहरू तल
उठिसक्यो भई व्यापक जागृति
उदित भै जनमानसको स्थिति

विजयको भई दर्पण शानमा
प्रवल भै मनको बलिदानमा
जनजागृत भै उठदै गयो
परपीडनता टुट्दै गयो

असही शोषण जागृति हो सही
जनयथार्थ कुरो बीचमा नरही
फगत नित्य रुचाइ विलासता
रहन संभव छैन कतै यता

(०४७ पुस)
(लहर – २४)

Sudha Kiran – Mechi Ma Dukchha Malai, Mahakali Ma Dukchha

सुधा किरण कंडेल सापकोटा – मेचीमा दुख्छ मलाई, महाकालीमा दुख्छ

मेचीमा दुख्छ छोरी, मलाई महाकालीमा दुख्छ
एस्सो कोल्टे फेरेझै गर्छु, फेरी सगरमाथा र कर्णालीमा दुख्छ ।
मेरा लाला-बालालाई बोक्दै उकाली ओराली गर्दा
कहिले पहाडमा दुख्छ छोरी, कहिले तराइमा दुख्छ ।
दु:खको बर्षा मै माथि नै भएझै लाग्छ
सम्हालिदै अगाडि बड्न खोज्छु, चसक चसक हिमालमा दुख्छ ।

सम्पन्नताका च्यादरले तिमीहरुलाई ढाक्न नसके पनि
सुन्दर र शान्ता कर्म थलो दिएकै थिए ।
एकतको मुहन फोड्ने, शन्तिका सन्देशहरु छर्ने
महान हस्तिहरु जन्माएकै थिए ।
पौरख गर्ने हातहरु त तिमीहरुका हुन्,
सुनौला फुल फुलाउने माटो मैले दिएकै थिए ।
फेरी किन मेरो जनकपुरमा ठोक्छौ, मेरो बाजुरामा ठोक्छौ
पल्टाई पल्टाई मेरो मनाङ र मुस्ताङमा घोच्छौ ।

पहिले म सुन्दर आनी शान्ता थिए, तिमीहरुको प्यारो थिए
छोरी, आज मलाई आफ्नै सन्तानका रगतले पोतेका छन् ।
मेरै मुटुमा आन्दोलनका चर्का नाराले घोचेका छन्
कहिले मेरो बागमतीलाई तर्साउदै, नारायणी हसाउ छन्
कहिले मेरो राते भिरलाई उठाउदै सगरमाथा भुकाउ छन् ।
मेरा अँग अँग दुखाउ छन् छोरी
मलाई पल-पलमा रुवाउ छन् ।

दुई ढुङ्गा बिचको सानो तरुल भएपनी
खुशी थिए म,
तर मलाई कहिले उत्तरबाट चुड्छन्,
कहिले दक्षिणबाट चुस्छन ।
आफनै आमको अस्मिता लुटिदा, टुलु टुलु हेर्ने मेरा सन्तान देख्दा
दुख्छ छोरी मलाई,
कहिले मेचीमा दुख्छ, कहिले महाकालीमा दुख्छ ।

सन्देश पाएकी थिए, मलाई मै भित्रबाट चुड्दैछन अरे
मेरा आफ्नै छोरा नातिहरु फुटेर अंसको माग गर्दैछन अरे ।
बिबश छु म, छोरी लाचार छु
चिराचिरा भएर बच्नुको पिडाले सताउदा
मलाई कहिले मडिमा दुख्छ छोरी कहिले बेनिमा दुख्छ

छोरी, देश प्रेमीहरु कोही होशमै छन भने
मेरो मुटु पोल्ने काहानी सुनाइदेउ
भनिदेउ म सिकिस्त बिरामी छु
कहिले मेचीमा दुख्छ मलाई, कहिले महाकालीमा दुख्छ ।

Mina Bantawa ‘Mridu’ – Ye Deshbhakta Dai Lauu Na

“ए दाई! देशभक्त दाई लौन! रात परि अग्राख पलाई सक्यो”२
गर्नु पर्नेता नेताहरुलाई धेरै थियो तर कसैले केहि गर्न सकेन
आखिरमा जनता नै मरेका छन् नेताले खोइ के गरेका छन्
गरे भने बरु ठुलो-ठुलो घर बनाई शहर तिर डेरा सरेका छन्

ए दाई! देशभक्त दाई लौन! रात परि अग्राख पलाई सक्यो
राजनीति भनेको गफ गर्ने तासे जुवाडेको अखाडा मात्र भयो
पार्टी भन्ने नाम त लुटमार गर्ने डकैति दलालको मंडी भयो
ठगि खाने बिगीनेसको माछी भाडो भए हाम्रा भोलेनटियरहरु
नेताले पैसा पाए भने आफ्नै श्रीमति पनि बम्बाई बेच्छन बरु

ए दाई! देशभक्त दाई लौन! रात परि अग्राख पलाई सक्यो
विदेशीलाई अब सुम्पिए सत्ता जनतालाई सुख दिनुको सट्टा
पार्टी बोकी चिरा पारेर आफु-आफु ठुलो हुन खोज्ने बाठा
रोडमा कराउदै हिड्ने पागल जस्तै बनाए बोकेर जनतालाई
बिदेशी झन्डा बोकाएर हिडाए,नेताले बिर्सी आफ्नो झन्डालाई

ए दाई! देशभक्त दाई लौन! रात परि अग्राख पलाई सक्यो
आफ्नो शरीरको लुगा र मासु च्यातेर आफैले खाने बनाए
यत्ति उल्लु बनाएकी! जनतालाई पागल बनाई,मारा सम्म खुवाए
बिकसित मुलुकभए मानसिक बिकृतिको,क्रिमिनल मुद्दा परिसक्थ्यो
आफै झाक्री आफै बोक्सी बनि विश्व भरि नेपालीको इज्जतै गुमाए

ए दाई! देश भक्त दाई लौन! रात् परि अग्राख पलाई सक्यो
देश कहाँ पुग्यो अन्धो भाछ्न लड्दै ठिक्क कुर्सिको होडबाजीमा
आफै राम्रो जान्ने टोपाल्दै आफ्नो धोति खुस्कया नै थाहा छैन
बिदेशमा ज्यानगयो गुहार माग्दा माग्दै नेता भने ओलम्पिकमा
गिद्धे नजर लाउने बिस्तारवादको पुछ्रेहरुलाई नकाटी भाछैना

Rakesh Karki – Hiun Pare Kasto Hola (Nepali Baal Gajal)

इन्जिनियर राकेश कार्की – हिउँ परे कस्तो होला (बाल-गजल)

हिउँ परे कस्तो होला
छे्उमै झरे कस्तो होला

फुस् फुस् रूई जस्तै अहो
पोल्टा भरे कस्तो होला

हिम घर बनाएर
फु फु गरे कस्तो होला

हात गोडा फिँजाएर
लडी छरे कस्तो होला

हिँउको त्यो चउरमा
मने चरे कस्तो होला

माथी फ्याँकी हिउँ डल्लो
ठाउँ सरे कस्तो होला

लेखे जस्तै सुने जस्तै
देखे हरे कस्तो होला ।।

– लस् एन्जेलस्

Nawaraj Subba – Dodhar Raat

कुनै रातको त
तिखो काँडा हुँदोरहेछ
छातीभित्र हृदय पोल्ने
तातो राँको पनि हुँदोरहेछ,
यो कस्तो घडी आयो
चिच्याउँ कसैको सपना टुक्रिन सक्छ
चुपचाप सहुँ यसरी त अब
आफ्नै हृदय टुक्रिन सक्छ ।

Rajendra Shalav – Aama

राजेन्द्र शलभ – आमा

सूर्यजस्तै ठूलो रातो टीका
निधारमा लगाउँदा
मेरी आमा साह्रै राम्री देखिनु हुन्थ्यो ।
संसारकै सबभन्दा तेजस्वी स्वास्नीमानिस
तर बुवा बित्नु भएपछि
आमाले रातो टीका लगाउन छोड्नु भयो
बिना टीका मलिन देखिन्छ आमाको अनुहार ।

जबजब गोधुलीको बेला
निधारमा सूर्यको रातो टीका लगाएको
आकाशलाई देख्छु ,
म आमालाई सम्झन्छु ।
रातो टीका लगाएको
आकाश पनि राम्रो देखिन्छ
तर, आमा जत्तिको राम्रो होइन ।

Bhira Khadka – Tin Haiku

(१)
टिप्न र खान
जान्यो भने सिस्नोले
कहाँ पोल्छ र?

(२)
प्रेम सम्बन्ध
नियोजन बिरुद्द
सजिलो युद्द

(३)
उसको दाह्री
कस्तो सुहाएको
देख्दा बादर

Gopal Jhapali – Khai Ma Ke Garchhu

गोपाल झापाली  – खै म के गर्छु

घाम झकाएको बेला,
जून ब्यूझिएको बेला
मेरो यात्रा शुरु हुदै थियो
दोबाटोमा टक्क अडिएर सोध्यौ,
कहिले फर्कन्छौं ?
म त घाम खोज्न र जून भेट्न
हिडेको मान्छे
अर्थात मेरो ओडार भित्र
मुसुक्क मुस्काउने ज्योती लिन
हिडेको मान्छे
खै कहिले आउ“छु,कहिले फर्कन्छु ।

कोपिला हा“स्न लागेको बेला
फूल भाग्न खोजेको बेला
म बगैंचामा पस्न खोज्दै थिए,
मुल ढोकामा बाटो छेकेर सोध्यौ
के लिएर आउ“छौ ?
म त का“डा भित्र बाट थुङ्गो लिन र
थुङ्गो भित्र बाट का“डा फाल्न हिडेको मान्छे
अर्थात का“डो नभएको फूल र फूल नभएको
खोज्न हिडेको मान्छे
खै के लिएर आ“उछु,के दिन आ“उछु ।

म त नौं महिना देखि रजश्वला रोकिएकी स्त्री
आङ्खनो संगै अर्को प्राण बोकेर हिडेकी गर्भिणी,
हिजो सम्म आगो निलेर अंगार निकाल्ने मान्छे
ब्यथाले च्यापेर मुटु चर्किएको बेला
नाडी समातेर आ“खा जुधाएर सोध्यौ,
के जन्माउ“छौ ?
म त अचेल बरफ निलेर पानी निकाल्न
नसक्ने भएको बेला,
अर्थात प्राण निचोरेर मेरो बिंडो थाम्ने
उत्तराधिकारी पाउन लागेको बेला
खै के जन्माउ“छु,कस्तो जन्माउ“छु ।

Bhupi Sherchan – Chiso Astray

यहाँ जो आउँछन्
मुटुभरि आगो, ओठभरि ज्वाला बोकेर आउँछन्
यहाँ जो बस्छन्
हत्केलाभरि खरानी र आँखाभरि धुवाँ बोकेर बस्छन्
र यहाँबाट जो जान्छन्
पोल्टाभरि निभेका विस्वासहरु र सपनाहरु सोहोरेर जान्छन्
यस्तो छ यो चारभञ्ज्याङ् खाल्टो
एउटा चिसो एष्ट्रे जस्तो छ
यो चारभञ्ज्याङ् खाल्टो

Ashank Upadhyaya – Yaad Aaunchha (Nepali Gajal)

आशांक उपाध्याय – गज़ल – याद आउँछ

जब हेर्छु झुल्के घाम तिम्रो याद आउँछ
लेख्न खोज्छु आफ्नै नाम तिम्रो याद आउँछ

परेलीको तीर सुक्यो तिमीलाई सम्झी
गर्न खोज्छु केहि काम तिम्रो याद आउँछ

न बिरानो हुन सके न आफन्त मान्छ्यौ
भुली सके आफ्नै गाम तिम्रो याद आउँछ

आँखा खोज्छ तिम्रो चित्र मन भन्छ अब
भुल्न गर्नु छल छाम तिम्रो याद आउँछ

छाती भित्र नदेखीने गरि बसी सक्यौ
मेट्न खोज्दा मनको डाम तिम्रो याद आउँछ

Sushma Manandhar – Samayera Haat (Nepali Gajal)

सुषमा मानन्धर – समाएर हात

समाएर हात छोयौ तिमीले केही भए जस्तो छ
जगाएर रात रोक्यौ तिमीलेकेही भए जस्तो छ

पिउनेहरुलाई झैं मदमस्त मातचढ्न थालेको छ
तताएर सास पोख्यौ तिमीलेकेही भए जस्तो छ ।

नजरका वाण घरि घरि किन झुकि रहेको छ
उठाएर वाण छोड्यौ तिमीलेकेही भए जस्तो छ ।

तिमीमा पनि शरमको हल्का लाली बसेको छ
घुमाएर बात सोध्यौ तिमीलेकेही भए जस्तो छ ।

लजाउँदै हेरें आँखामा तिम्रो आँधी चलेको छ
टोकेर ओठ हेर्यौ तिमीलेकेही भए जस्तो छ ।

Rakesh Karki – Binti (Nepali Gajal)

इन्जिनियर राकेश कार्की – बिन्ती (गजल)

नसोध मेरो जात बिन्ती
नछुटाउ मेरो हात बिन्ती

हाँसीरहन देउ मुटुलाई
नगर कत्ति घात बिन्ती

झ्याङि्न देउ जीन्दगानी
नचुँड एउटै पात बिन्ति

खुशीले फिँजाउ फूलैफूल
सजाउ मेरो रात बिन्ती

चाखी राखन देउ जवानी
लाग्नदेउ मलाई मात बिन्ती

Kabita Thapa – Timro Saath (Nepali Geet)

कविता थापा – तिम्रो साथ (गीत)

खुशी बाँडि राख
तिमी हाँसि राख
तिम्रो हरेक हर्षसंगै
म मुस्कुराइरहने छु

उमङ्गले झुमि राख
तिमी नाचि राख
तिम्रा मोहक नृत्यसंगै
म ताल मिलाइरहने छु

मनमा छोइ राख
तिमी गाइ राख
तिम्रा मीठा धुनसंगै
म गुन गुनाइरहने छु

प्रीत सजाइ राख
तिमी साथ दिइराख
तिम्रा ढुक ढुकीसंगै
म माया गरिरहने छु

– क्यालिफोर्निया

Gopal Prasad Rimal – Naari

“नारी के हो ?”
सोध्ने, “लौ विचार गर, म भरेतिर आउँला”
भनेर हिँडिहाले,
जवाफ दिनु थियो, त्यसैले मैले एक्लै बसेकी—
नारीलाई लुकेर हेरेको सम्झेँ; ऊ सिँगार गर्न लागेकी छ,
ऐनामा प्रतिबिम्बित आपनो हरेक अङ्गलाई ऊ
टोह्लाएर हेर्दी रहिछ,
अनि देखा परेको आफूलाई आँखा चिम्लेर खोज्दी रहिछ,
र्बिर्सँदी रहिछ; अनि फेरि ऐनामा प्रतिबिम्बित आफ्नो हरेक
अफ्नो हरेक अङ्गलाई टोह्लाउँदै निहार्दी रहिछ ।
ए सोध्ने कता पुगे हँ ? सुनिने दूरीसम्म मात्र उनी पुगेका भए
म उनलाई चिच्याएर भए पनि भनिदिन्छु,
‘उसको रुपलाई मात्र लिने हो भने
नारी आफैँ उसको र हाम्रो पनि आश्चर्य हो !’
सिँगार सिद्धिन्छ;
उसको मीठो अधरमा अब साँझको हावाले हल्लाएको
दीप–शिखाजस्तो मुस्कान खेल्नेछ;
अनि आफ्नो प्रेमीको अङ्गालोमा बाँधिएर,
हल्लीँदो मुटुको पीङ खेलेर उसको नानीमा ऊ
आफुलाई निहारेर हेर्नेछ,
अनि सुतेपछि स्वप्नमा आपैmलाई देख्नेछ;
आफ्नै उपस्थितले रमाइलो भएको सपनाको
जूनमा ऊ अभिसार गर्नेछ ।
ए सोध्ने कता पुगे हँ ? सुनिने दूरीसम्म मात्र
उनी पुगेका भए उनलाई म चिच्याएर भए पनि
भनिदिन्छु, ‘उसको रुपलाई मात्र लिने हो भने
नारी आफैँ उसको र हाम्रो पनि आश्चर्य हो !’
नारी जस्तो यहाँ सुन्दर निर्माणजस्तै सपना
र सपनाजस्तै बुरबुरे भएकी छ, उस्तै ऊ विनाश
जस्तै खँदिली पनि छ;
ऊ झाँक्रो फिँजाएर युद्धमा आँधी भएर आउँदा
संसारलाई मसान तुल्याउँदै हुर्रिएकी पनि छ ।
यो त कथा भो, सुनेको कुरा भो;
मैले यहाँ नारीलाई धेरैजसो बरबरी रोएको देखेको छु ।
ए, सोध्ने कता पुगे हँ ? उनलाई म नारी यसरी
रोई भनेर उनको आँखामा केही आँसु ल्याउँछु,
अनि आश्वासन दिंदै भन्नेछु;
‘हो नारी रोई, तर ऊ आँसु मात्रै होइन;
कहीँ कहीँ उसले आफूलाई पाई पनि सकेकी छ !’
नारीको निर्माणको बारेमा मैले यस्तो हल्ला सुनेको छु—
चकमन्न रातमा ताराहरुले कानेखुसी गरेको सुनेथेँ
बूढा ब्रह्मा साराका सारा जूनकीरीहरुलाई
पछि लाएर संसारको सबभन्दा सुन्दर कुञ्जभित्र
चाहिने सर्दाम लिएर पसेछन् । सर्दाम यस्तो रहेछ;
रवि–शशिको पृथ्वीमा पर्ने, मरेको आधा तेज (त्यसै बेलादेखि आधी
पृथ्वी अँध्यारो भएको रे !)
आकाशको समात्न सकिने भाग;
आगोको छोए पनि नपोल्ने चाहिँ हिस्सा;
इन्द्रधनुको अदृश्य आधा चक्का बुन्ने हावा
जसको एक खुट्टा पानीमा र अर्को खुट्टा घाममा पर्दछ ।
यति सर्दाम लिएर जूनकीरीहरुको प्रकाशमा
बूढा ब्रह्मा नारी निर्माण गर्न लागेछन् ।
बनाइसकेपछि उनी हर्षले गद्गद भएछन् ।
उनले त्यस बेला छोडेको खित्का हावाको हरेक झोकामा
अझै ओसारिदै छ रे ।
मैले यो कुरा ताराहरुबाट आफैले सुनेको भनेछु ।
हैन ब्यारे, मैले यो रहरलाग्दो झुट बोलेँ ।
यस्तो राम्रो कुरा आफैले सुनेर पृथ्वीमा सबभन्दा
पहिले ल्याएको छु भन्ने श्रेय लिन को नचाहोस् ?
कुरा के भएको थियो भने ताराहरुले त्यो कुरा
रातभर आफ्नो सुनौला मनमा खेलाइसकेपछि,
पछि बिहानीपख नारीको गाला रङ्गको गुलाफको
पूmलमाथिको शीतको थोपालाई भनेर लुकिहाले;
शीतको थोपाले नारीको आँखाको नानीजस्तो
कालो भमरालाई सुनाएछ;भमराले नारीको
कपालको कालो रङ्गको नाता परेको कोइलीलाई
सुटुक्क भनेछ । अनि कुञ्जमा कोइली ‘को हो ! को हो !’ भनेर
मलाई पर्खिरहेको रहेछ । म पुगिहालेँ ।
उसले मलाई भनिहाल्यो ।
भएको कुरा यै हो ।
ए सोध्ने कता पुगे हँ ? टाढै पुगिसके होलान् ।
भरे आउनेबित्तिकै मलाई कोइलीले भनेजस्तै गरी
सबै कुरा एक–एक गरेर भनिदिन्छु ।
साथसाथै यो पनि भनिदिन्छु नारी सृजनकर्ताको आनन्द हो ।
बूढा ब्रह्मा अझै हाँस्तै छन्,
नारीले केटाकेटी छँदा पुतली लखेटेको देखेर, यौवनमा
आफ्नै छायालाई लखेटेको देखेर, पछि आफ्नै
प्रतिरुप केटाकेटीलाई माया गरेको देखेर ।
नारी के गर्छे !
ऊ चन्द्रले समुद्रमा झैँ हाम्रो हृदयोदधिमा
हाँसो र आँसुको ज्वारभाटा उमाल्छे ।
हाम्रो हृदयबाट अँजुली भरेर ऊ आफुलाई त्यसमा हेर्दछे ।
अनि नुहाउँछे । उसको यो रहस्यमय खेललाई
म के भनूँ ? प्रेम ?
सोध्ने भरे आउँछन्, बरु अलि ढिलो गरेर आऊन् ।
त्यतिन्जेल यी मीठा तीखा कल्पना र चित्रहरुलाई छहारीमा
बसेर गाईले घाँस उग्रेझैँ गरी म मनमनै खेलाइरहन्छु ।
उनी आएपछि एक–एक गरेर सबै कुरा भनिदिन्छु ।
साथसाथै यो पनि भनिदिने विचार गरेको छु, ‘हेर बाबै !
कृपा गरेर अर्कोचोटी यो प्रश्न गर्दा तिमीले
‘नारी’ शब्द बोल्दाखेरि देखिएको तिम्रो आँखाको चमकलाई
मेरो हृदयको गहिराइमा नहराउने गरी छाड्न नबिर्से
किनभने त्यो चमक नभए नारीउपरको हरेक बिचार
रुखो हँदो रहेछ, त्यो चमकबिना
नारी ‘नारी’ शब्दमा अटाउन पनि आटाउन्न ।’

Tanka Subba – Bideshi Premi Ka Prati

टंक सुब्बा – विदेशी प्रेमीका प्रति

प्रिय अन्ना
जुन बेला म आलिङ्गनमा थिए
भनेकी थियौ तिमीले
लेख्नेछु कथाहरु सगरमाथाका
देख्नेछु गाथाहरु वीरताका
जसले मेरो देश र मप्रतिका
त्रि्रो न्यानो आस्थाले
प्रफुल्लित भए
गौरवान्वित भए
कृतज्ञ भए

पाहुना भएर जुनदिन यो आगनमा
रम्न थालयौ हिउ संग
गम्न थाल्यौ पुर्खाको इतिहाससंग
तब मौन भएर अचानक
खिचिरह्यौं घर दैलो र वस्तुस्थितिलाई
अब म तिम्रो मनस्थितिको युगल बनेर
चिनारी गराउ कसरी जीर्ण भैसकेका स्थलहरु
सुसेली हालौ कसरी टुटेफुटेका मनहरुलाई
तर पनि हतारिरहेछु सोध्न तिम्रो अन्तर आत्मालाई
कस्तो छ प्रिये
रीतिथिति यो देशको
आकृति प्रकृति यो भेषको
अवाक भईन् मेरी मायालु
उल्लास हराएको मोडमा
केवल एकहोरो हेरिरही सुनिरही
जसले म जलिरहे
अप्रत्यासित प्रश्नहरुको आगोमाथि

यसपाली
झुण्डिनन् उनी मेरो ओठमा
बाधिनन् उनी मेरो अङ्गालोमा
साटिएनन् आत्माहरु उनीसंगको साक्षात्कारमा
औंसीका रातहरु पोखिए बिदाइको क्षणहरुमा
तसर्थ
अमुक हुनुको विवशता
जुनदिन पर्दाफस भयो
त्यो दिन समाचार पत्रको अग्रपङ्तीमा
छापेको रहेछिन्
मेरो महानता र यथास्थितिलाई ।

Chaitanya Adhikari – Barsha

चैतन्य अधिकारी – वर्षा

वर्षा भैरहेछ,
छड्के कोण पारेर
झ्यालबाट आकाशतिर, बादलहरुतिर चियाउँदा
आँपका पातहरुमा पटपट बजिरहेको पानी
र बलेंसिमा चुहिरहेको स्यार्र स्यार्र,
फूलहरूमाथिबाट बिस्तारै कुदिजान्छ बतास
अध्यारो र उज्यालोको दोसाँधमा
ओत लाग्न भुर्र उडी आउछन चराहरु
र बिस्तारै पिंग खेल्छन नरिवलका पातहरु
मौन भएर पनि कति संगीतपूर्ण छ आजको दिन
फेरि मलाई मेरो गाउँको याद आउँछ
असार साउनको सम्झना हुन्छ
स्याखु ओढेर धान रोप्दै होलान रोपाहारहरु
पानी छहलिइरहेको होला खेतका आलीहरुबाट
र राग घंकिदै होला असारे गीतको
मूल फुटे होलान चौर पाखाहरुमा
र पातहरु बगाएर कुलो पछ्याउंदै होलान केटाकेटीहरु
हिलो कुल्चिदै रमाउंदै होलान
जीबनको रमाइलो गतिशील हुनुमै छ
उठ्नु, दौडनु र अघि जानुमै छ
कहिलेकाहीं फूलको मनलाई आफ्नो मनसँग मिसाउनु
कहिलेकाहीं पहाडको हृदयसंग आफ्नो हृदय साट्नु
कहिले आफैं बतास भएर उड्नु
कहिले आफै फेवाताल भएर रुक्नु
र स्वयम्भूका आँखासंग आँखा जुधाउनु
फेरि मलाई मेरा भन्ज्यांग चौतारीहरुको याद आउँछ
मेची किनारदेखि काली बगरसम्म सम्झना आउँछ
कपास छरेजस्तै फुस फुस बर्षिरहेको पानी
छाँगो खसेजस्तै दर्र दर्र बर्षिरहेको पानी
आकाशले पोल्टामा कति साँच्न सक्यो होला बर्षात ?
कसले गर्जने होला त्यति साह्रो !
कसले झिम्काउने होला चट्यांग बिजुली
कौशीमा उभिएर क्षितिजतिर टोलाउँदा
घामको अत्याचारले पिल्सिएका खेतहरु
बतासको क्रुरताले सुकेका सयपत्रीका ओठहरु
र चराचर काकाकुलवत प्राणीहरु
हात फैलाएर स्वागत गरिरहेछन् बर्षातको
निथ्रुक्कै चप्लक्कै भिजेर / थापिएर
कृतज्ञता दिईरहेछन बर्षातलाई
कर्कलाका पातहरुमा मोति बनेको पानी
छानाहरूबाट तप तप खसिरहेको पानी
फेरि मलाई मेरो जन्मथलोको सम्झना ल्याउँछ
फेरि मलाई आफ्नै पाखापखेराको याद दिलाउँछ !

पोखरा

Acharya Prabha – Dastur Le [Nepali Gajal]

सँगै बाँच्ने बाचा हाम्रो,पुरा हुन दिएन दस्तुरले
हाम्रो भेटको निवेदन पनि किन लिएन दस्तुरले ?

च्यातियो हाम्रो मनको रुमाल, जहाँ माया बाँधिएथ्यो
दयालु बनी हाम्रो पक्षमा, फेरि किन सिएन दस्तुरले?

खै!कस्तो मिलन हो? समाजबिच एकसाथ हुनै नसकिने
हाम्रो चाहनाको चोखो अम्रितलाई, किन पिएन दस्तुरले?

केही ढिलो भएछ,हाम्रो जीवनले सँगै हाँस्ने पल पाउन
जिउनु पर्थ्यो हाम्रो निम्ती भएनी किन जिएन दस्तुरले?

(अमेरिका)

Rakesh Karki – Bidhuwa

इन्जिनियर राकेश कार्की – बिधुवा

कहिले सरकार पक्षको गोलीले
कहिले सरकार विरोधी टोलीले
श्रीमान् मारीयो, दु:ख बिर्सिगो
बिधुवालाई बाँच्नु पर्ने कस्तो दु:ख यो

डालो, नाङ्लो, कसौँडी रित्तै छरियो
लडीबुडी काखे बच्चा, दूधै रोकियो
छोरा छोरी भोकै रोको हेर्नै गारो
बनी गर्ने मरि गयो छैन चारो

धेरै पढेकि भए हुन्थ्यो जागिर
तर पढेकिलाई पनि छैन जागिर
लामो जिन्दगीको दु:ख हेरि सहनु पर्छ
रित्तो टपरी दुनोमा वेदना मात्र झर्छ

जति रोए पनि आँसु सकिन्न
श्रीमन्तले छोडि गयो फेरि फर्किन्न
मार्नेको जित भयो, मर्ने शान्त भो
बिधुवाको मुटु रुँदै चल्ने भो

Pawan Bhandari Kiran – Mero Nipunata

पवन भण्डारी किरण – मेरो निपुणता

रङ्गीचङ्गी फूलहरूको सौन्दर्य
सेतो हिउँको चिसो सुभाष
सानो चरिको मीठो चिरबीर
उतार्न खोज्छु मेरो क्यानभाषमा
तर असफल हुन्छु– पहिलेजस्तै।

स्वर्ण खुसीको स्वर्गीय वर्णन
न्यानो मायाको मीठो आभाष
दूर क्षितिजको सितल छहारी
उतार्न खोज्छु
उही मेरो क्यानभाषमा
पुनः असफलता चुम्न पुग्छु।

प्रकृतिको निर्मल सुगन्ध
रङ्गिन पुतली र फूलको लुकामारी
परदेशीको मातृशोक
वर्णन गर्न खोज्छु– मेरो क्यानभाषमा
असफलता पहिले जस्तै।

स्वदेश प्रेमले आशक्त मुटु
अशान्ति र मातृभूमिको रोदन
युद्ध र वियोगका आँशुहरू
टिप्न खोज्छु मेरो क्यानभाषमा
तर असफलताले जित्छ मलाई।

अब त म खुसी जेमा भेट्छु
उसैमा लागिरहन्छु
त्यो जनपक्षीय हूलमा
म पनि मिसिन्छु र निरन्तर
एउटै नारा भट्याइरहन्छु
नयाँ युगको