Deepak Jadit – Bagmati Ko Niyati Gati Nepal Ko

कठैबरा !
बागग्मती
कहिल्यै बग्न सकिनन्
स्वतन्त्र भएर सलल
खोसे मान्छेहरुले
स्वतन्त्रता उनको
खुल्न नसकेर कहिल्यै
पर्यावरणको तन्तु
मान्छेहरुको चेतमा
मात्रै सडकहरु बगिरहे
जुलुश भएर सलल
न रोक्यो कहिल्यै
पेटीमा थुपारिएको डंगुर फोहोरले
डण्डीफोर निचोरेको अनुहार जस्तो
काठ्माण्डौ खित्का छाड्छ
खुट्टा उचालेर अधुरो खुशीमा
नयाँ बजार
यौटा विचार भड्काउंछ
वालुवाटार
यौटा विचार अड्काउंछ
बल्खु ट्वाल्ल परिरहँदा
नयाँ बानेश्वर
लाजले टाउको झुकाउंछ
र भन्छ
काठ्माण्डौ बाहिर
खै नेपाल कहाँ छ ?
कर्णालीको आवाज
आवाजहरुकै भिडमा बिलायो
अब त रोल्पापनि
काठ्माण्डौ मै हरायो
निमुखो रत्नपार्क बरा !
अझै विचार बगाउंछ
उरालेर मान्छेहरु सडकमा
लहर – लहर
तरंग – तरंग
जुलुशहरुमा सलल
स्थिरप्राय: बागग्मती
पुलुक्क हेर्छिन काठ्माण्डौलाई
र भन्छिन
कठैबरा ! गति नेपालको
उन्को र मेरो नियति उस्तै
संधै रोकिनुपर्ने आफ्नो गति
स्वतन्त्रता गुमाएर
अरुअरुले नै बनाएको फोहोरमा ।

Komal Bhatta – Samjhana Ka Lahar Haru (Nepali Gajal)

कोमल भट्ट – सम्झनाका लहरहरु

सम्झनाका लहरहरु छल्किएको धेरै भयो
हृदयको भित्री घाउ बल्किएको धेरै भयो

चाहनाको संसारमा आगो लाग्दा हुरुरुरु
डंडेलोले अभिलाषा सल्किएको धेरै भयो

श्रावणको भेल जस्तै आँसु धारा बगाएर
एकान्तमा डाँको छोड्न पल्किएको धेरै भयो

कल्पनाको सिसमहल गर्ल्यामगुर्लुम ढलेपछि
बिहानीको शीत सँगै टल्किएको धेरै भयो

लुकाउन खोजे पनि अनुहारमा स्पष्ट हुँदै
विषादका छायाँ मात्रै झल्किएको धेरै भयो

जताततै निराशाले निल्न खोज्दा”कोमल”मन
आशाजनक बाटो तिर ढल्किएको धेरै भयो

पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
१८ मार्च ,२०१३

Manoj Bogati – Poster Ra Pokhiyeka Artha Haru

पोष्टर टॉंसिएको छ समयको निधारमा।
टाइमपासहरू पढ्दैछन्‌
आफ्नै अनुहारको पुरानो बिसङ्गति।

समयलाई
चप्पलले टेकेर उभिएको त्यो आदर्शको छाती छोएर
भुइँमा झरेको छ विशाक्त हावा।

त्यही हावाले बोकेको खस्रो चिच्याहटले छ्‌याप्प भिजेको भुँइ फुटाएर
उम्रिएको बिरोधपदक्षेपको छिप्पट अक्षर
दह्रो छाती गरेर उभिएको छ पोष्टरमा।

पोष्टर भनेको कुनै गोर्खाको समसामयिक अनुहार त हो
जो कञ्चनजङ्घा जत्रो अग्लो भएपनि देख्दैन
अन्धो संविधानले।

पोष्टर भनेको यही भीड़को फिङ्गरप्रिन्ट त हो
जसले सधैँ थ्याप्चेको तोक्चे हालेको छ डरछेरूवा देशलाई।

पोष्टरमा कति धपक्क बलेको छ
चिन्हारीको घाउ।
कति बलियोगरी उभिएको छ
किनारमा उम्रिएको नेपाली अक्षर।
एउटा दह्रो मर्यादा हुने गरेको इतिहासलाई
बलैले उचाल्दै आएको सत्यको पानीफोका
हत्केलामा नै फुटेपछि
आह! कसले टॉंस्यो हँ त्यो पोष्टर?
नव-उपनिवेशकारी बोराको भित्तामा?

पोष्टरको कुनै संवेदन हुँदैन
कुनै आत्म हुँदैन
कुनै जात हुँदैन
पोष्टर र वर्तमानले एकैचोटी सासमा लिने
त्यो विष्मयकारी हावा
कत्ति जोड़ले चलेको
हर्नू गोर्खाहरूको खण्डहर स्वाभिमान उख्लिनेगरी हल्लिएको!

त्यो हावाको आँखामा देखिने रङ
कुन दलको हँ
त्यसको नाइके को?
एउटा त्रसित वर्तमान टेकेर उड़ेको परेवा
यसपाली पनि फर्किन्छ -फर्किन्न।

छातीको टॉंक खुल्लै राखेर
मर्यादा र स्वाभिमानलाई स्तन जस्तै देखाउने
सेलेब्रेटी राजनीति
देह धन्दा गर्दै गाउँ पस्छ।

त्यसको फिलाभरि पोखिएको स्वप्वदोषहरूलाई
रोटीमा दलेर बॉंड्छ
भोका भविष्यहरू जो पेट बॉंधेर बसेका छन्‌
कुच्चिएको थाल जस्तो निधार बोकेर
राजनीतिको कामुक भाषामा
कति छिटो साटिन्छ
मान्छेको मर्यादा।

सालाहरू

ती नै थालहरूबाट आत्मदाह गर्दै हाम्फालेका अक्षरहरू
पोष्टर टॉंस्दैछन्‌
हेर्नू
आफ्नै मरूभूमि छातीमा
लौ, हेर्नूनी फेरि
पोष्टरमा
पढ्‌दैछन आफ्नै खिल्लीहरू
किनारा परेका अर्थहरूले।

पोष्टरको त्यो ठूलो ऐनामा टल्किएका
जायज मागहरूको चहकले
हेर्नू नी कसरी चिम्लिएको छ
सरकारको आँखा।

Acharya Prabha – Man Fulau Jindagi [Nepali Gajal]

नमान पीर हँसाऊ मन फुलाऊ जिन्दगी
हाँसोले हेर पीडाले हैन खुलाऊ जिब्दगी ।

एउटै छैन सबैको कथा अनौठो संसार
खुशीले नाँच दु:खले हैन झुलाऊ जिन्दगी ।

बाँचेर हेर हर्षले यहाँ जीवन सजाई
हर्षले बाँच ब्यथाले हैन डुलाऊ जिन्दगी ।

रित्याइदेऊ मनको पीर खुलस्त बनेर
हाँसेरै नाँच डरले हैन भुलाऊ जिन्दगी ।

(झ्याउरे लयमा ३ +२, ३ +२, ३ +३, मात्रा मा गजल लेखन अभ्यास
सबैको तारतम्य मिलाउँदा कहिं न कहिं त चुकी हाल्छ त र पनि प्रयास जारी छ )

Hemanta Pardeshi – Aau Euta Sankalpa Garaun

हेमन्त परदेशी – आउ एउटा संकल्प गरौ

सुनौलो बिहानीको स्वागतार्थ
बस्तीहरुमा गुन्जिएको भालेको डाकसंगै
धर्तीलाई छाद हाल्न आइपुग्ने
उषाको पहिलो किरणसँगै
उठ्ने जमर्को गरौ
अधुरो यात्रा पुरा गर्नको निम्ती
अनि जुट्ने संकल्प गरौ
राष्ट्रिय एकता र सामाजिक मुक्ति सहितको
संघीय लोकतान्त्रिक गणतन्त्र निर्माणको निम्ती
नत्र हाम्रा यी ब्युझाईहरु
फेरी पनि कुम्भकर्णकै निंद्रामा परिणत हुनेछन्
कहिल्यै अन्तिम बन्न नसकेका हाम्रा यात्राहरु
गन्तब्यमा पुग्न नपाउदै बीचैमा अधुरो बन्नेछन्
किनभने, ऊ, तँ र म को राजनीतिबाट बिखन्डित हाम्रा मानसिकताहरु
अझै पनि हामी र हाम्रो भावनाहरुमा अनुवाद हुन सकिरहेकाछैनन्
अस्तित्वबिहीन हाम्रा मुर्दा जिन्दगीहरु
जन्तीको जमात अथवा मलामिको ताँतको सार्थकता भन्दा
अलिकति पनि माथि उठ्न सकिरहेकाछैनन्
त्यसैले आऊ सहयात्रीहरु हो!
अन्तरआत्माबाटै एउटा यस्तो संकल्प गरौ
पूर्णिमाको जून नउदाएको रातमा पनि
यात्राको निरन्तरार्थ हातेमालो गरेर बामे सर्ने हिम्मत गरौ
चुक घोप्टिएका घनिभूत अँध्याराहरुलाई चुनौती दिन
सुषुप्त बनिरहेका हाम्रा चेतनाका दीपहरुलाई
एउटा ज्युँदो र जाग्दो ज्वालामुखिमा पारिणत गरौ
हो, लक्ष्य चुम्न निश्चय नै भने जस्तो सजिलो हुनेछैन
तर असम्भव भन्ने कुरा पनि
लाछी र कायरहरुको मनमा बाहेक
संसारमा अन्त कही छैन

हाल: दोहा, कतार

Dhan Bahadur Oli – Byunjhaideu Mera Kabita Haru

धनबहादुर ओली – बियुँझाइदेऊ मेरा कविताहरू

तिमीले गाउँ छोड्दा
बिराना भए मेरा कविताहरू
तिमी थियौ र पो
बजाउँथ्यौ बाँसुरीको धुनमा
मेलापात हिँड्ने बाटोभरि
कहिले सुसेल्थ्यौ
कहीँ चुहिन्थे तपतप्
तिमी Continue reading “Dhan Bahadur Oli – Byunjhaideu Mera Kabita Haru”

Tanka Subba – Jastai Jastai

टंक सुब्बा – जस्तै जस्तै

सोचाइहरुको समस्थलीमा उभिएर
अन्दाज गर्दा उस्तै-उस्तै
जीवनको गहिराइमा डुबेर वास्तविकतलाई छाम्दा
त्यस्तै-त्यस्तै
अब भिन्नता के भनौ
समान मान्छे भएर जिउदाका क्षणहरु
एउटै आकास सबैले ओढे जस्तै-जस्तै
समयको चाल्नोबाट भाग्यवस
छानिएर बाच्दा
आशाहरु बाधिन्छन् धेरै
जहा रङ्गीने सपनाको दुनिया
झन् हुन्छ उस्तै-उस्तै
र व्यवधानको सागरभरी मडारिने ज्वारभाटा
त्यो पनि हुन्छ त्यस्तै-त्यस्तै
अपवादमा यो मन मुस्कुराउदा
लाग्छ मलाई सारा मुस्कुराए जस्तै-जस्तै

परिस्थितिवस वर्वादिएका पलहरु
अतीत बनेर भोग्नु पर्ने पीडाहरु
हुन्छन् त्यस्तै-त्यस्तै
आफ्नाआफ्नै स्वाद हुन सक्ला
अनुभूतिहरुमा
तर दोहोरिएर आउने दिनहरु
हुन्छन् सधैंको जस्तै-जस्तै

नदीको प्रवाहसंग चालेका पाइलाहरु
यात्रामा अघिपछि भए पनि
हिंड्ने गोरेटोहरु हुन्छन् उस्तै-उस्तै
गाउवस्ती सहर जहा रहे पनि
प्रत्येकले व्यहोर्नु पर्ने अड्चनहरु
हुन्छन् त्यस्तै-त्यस्तै
अन्तराल नै के छ भनौं
मैले जिएको जिन्दगी तिमीले भोगे जस्तै-जस्तै ।

Hari Govinda Luitel – Dhedu Bandar [Bal Kabita]

आज हाम्रो छानामा
ढेडु बाँदर आएछ
कोठाभित्र पसेर
बासी रोटी खाएछ

जंगलबाट आयो कि –
पहाडबाट आयो कि –

स्वयंभूको डाँडाको
झाडीबाट आयो कि –
पशुपति मन्दिरको
छेउछाउबाट आयो कि –

बुर्लुक्क माथि उफ्रेर
झ्यालबाट भित्र पसेछ
खाटमा छोपिराखेको
ओछ्यानमाथि बसेछ

दिदीको किताब च्यातेछ
बहिनीको लिटो खाएछ
दाजुको पेटी बाँधेछ
भाइको टोपी लाएछ

साबुनको डल्लो भेटेछ
झ्यालबाट बाहिर फालेछ
तेलको भाँडो भेटेछ
भाँडोमा खुट्टा हालेछ

के के छ भित्र भनेर
खाट्मुन्तिर गएछ
पीठोको भाँडो ढालेर
धुस्रेफुस्रे भएछ

यता र उता उफ्रेछ,
भित्ताको तस्बीर झारेछ
फुटेको ऐना बिझेछ,
खुट्टामा घाऊ पारेछ ।

Gopal Kawali – Bhagya Ni Yatti Ko Ho

भाग्य नि यत्तिको हो र,ठाडो शिर तलै नुग्यो
चाईंदैन चेपारे बोलि, गालि खाएँ भयो पुग्यो

अक्षता पाती र चामल, फुकेँ फ्याकें नराम्रो भो
न गाडें शान्तिको झण्डा, डण्डा खाएँ भयो पुग्यो

बर्ष दिन शनिको चक्र,उल्का छ भामरि पनि
पर्दैन ग्रहको जाप,श्राप पाएँ भयो पुग्यो

हातका रेखा छन् उल्टा,चिना टिपन अकाट्य छ
परेन प्यारको ढर्रा,छर्रा खाएँ भयो पुग्यो

बर्तमान खोच्च्याई हिड्छ, बिगत रुन्छ धुरु धुरु
नगर भोलिका बात,बाँच्न पाएँ भयो पुग्यो!!!

अफगानिस्तान,३१/०१/२०१३

Biplav Pratik – Manchhe Kina Yatra Ma Chha

बिप्लव प्रतिक – मान्छे किन यात्रामा छ ?

केही रहर, केही महत्वाकांक्षा
थोरै सफलताका मुस्कान
अनि धेरै शूल छातीभरि बोकेर
म जिन्दगीको कठोर र रापिलो मरुभूमिमा
हिँडिरहेछु ।

कतिपल्ट सुनसान बाटो हिँड्दा
म डरले पल्याकपुलुक काम्दै हिँडेको सम्झना छ,
कतिपल्ट कहिल्यै नआइपुग्दा बिसौनी
डाँको छाडेर हुरुक्क रोएको याद छ ।
कस्ता बाधा हुँदा रहेछन् थाहा पाएको छु
कत्रो धैर्य टुट्दो रहेछ चाल पाएको छु,
यात्रा तय गर्दा कहिले घामले पोल्दो रहेछ
कहिले बर्सातले रुझाउँदो रहेछ
कहिले जाडोले कमाउँदो रहेछ
कतिले पछाडिबाट अङ्कुसे लगाउँदा रहेछन्
कतिले अगाडि नै जाल हाल्दा रहेछन्
छहारी दिने र माया गर्नेहरू परै बसेर हेर्ने गर्दा रहेछन्
म्वाइँ खाने र सहारा खोज्नेहरू दोधारमा पर्दा रहेछन्
सोच्दा रहेछन् र आपसमा सोध्दा रहेछन्
“यो मान्छे किन यात्रामा छ ?”

म पनि बिलकुल त्यही सोच्ने गर्छु
मान्छे किन यात्रामा हुन्छ ?
र म पनि केलाइरहेछु
मान्छे र यात्राबीच साइनो के छ ?

पुल्चोक, १ अक्टोबर १९८८

Tanka Wanem – Ramphu Ko Pakhama

टंक वनेम – रम्फुको पाखामा

चौंरीको घण्टी
कुहिरोको माझ
कागको इसारा
रम्फुको खोला
सुसाउँदै बग्छ
चल्दछ विरह ।

सबैले भन्छन्
गोठाला मान्छे
चौंरीको गोठमा
सल्केको मन
कसरी देखाउँ
मुटुको कोठामा ।

चौंरीको Continue reading “Tanka Wanem – Ramphu Ko Pakhama”

Shrawan Mukarung – Mohan Koirala

कति हिँडेँ हुँला
यो जीवनमा म कति हिँडेँ हुँला…!

यसरी–
कतिपल्ट बिसाएँ हुँला– यो अडेसोमा ?

मेरो सपनाजस्तो
बगिजाने यो खोलाको पानी
कहाँ पुग्यो होला अहिले…?

कठै ! यो रुख
त्यस्सै बूढो भएछ
धेरै अघि मलाई–
यसैमा झुन्डी मरुँ लागेको थियो
बचाएको थियो– यही रुखको त्यो यौवनले
त्यसको गोलो छायाँ
अझै हिँडिरहेछ– मेरो कुमकुम भएर ।
कति हिँडेँ हुँला
यो जीवनमा म कति हिँडेँ हुँला…!

मैले छोडेर आएकाहरूलाई भन्नु थियो–
मलाई लिएर आउनू !

मलाई छोडेर गएकाहरूलाई भन्नु थियो–
पुगेर मलाई भेट्नू !
उफ् ! यो मध्याह्न
रगत खाने तिर्खा
कति निमोठ्नु निधारका यी निमुखा पसिनाहरूलाई ?
भिज्छ– सप्पै आङ
गल्छ– गोडा
थाक्छ– आँत
मैले त नुन ओसारेको हुँ
पानीको नाला
कर्कटपाता ओसारेको हुँ– पहाडलाई
यो बाटोका धूलोहरूमा
कहाँ हराउँछन् कहाँ– मानिसका पदचिह्नहरू !

कति हिँडेँ हुँला
यो जीवनमा म कति हिँडेँ हुँला…!

धर्ममा मरुँ भने कर्म गरेँ
धर्र्मैको त आयु हुन्छ/ आयुको त आयु हुन्छ
हिसाब हुन्छ–
स्वर्गको कर्मको
नर्कको कर्मको
कर्मको कर्मको
छिः !
मानिसको कर्म
कतिपल्ट टेकाएँ हुँला–यो तोक्मा ?
यसरी–
सबैलाई सुनाउँछु भनेर आफैँलाई
कतिपल्ट सुनाएँ हुँला– आफ्नो गीत…?

आपत्मा सघाउने रामलाई पनि थाहा छैन–
म कति हिँडेँ ?
विपत्मा सम्हाल्ने मेरी मायालुलाई पनि थाहा छैन–
म कतिपल्ट लडेँ–लडेँ !
अरू कसलाई थाहा हुन्छ
म नरोएको मान्छेको आँसुको कथा–
कसलाई थाहा हुन्छ…?

अहा !

कति हिँडेँ हुँला
यो जीवनमा म कति हिँडेँ हुँला…!
भारी बोकेर कविताको ।

Sudhir Chhetri – Purush

सुधीर छेत्री – पुरूष

बीन बजाएर सपेराले
एकजोड़ी सॉंपलाई बजार बीचमा भीड तान्नलाई
नचाइरहेछ।
त्यसलाई कत्रो पुरूष लागेको छ आफैलाई।
सॉंप जति नाचेजस्तो गर्छ
सपेराको स्वाभिमान आनन्दविभोर बन्छ
भोक बिर्सेर
तिर्खा बिर्सेर उ मातिदिन्छ,
मदान्ध बन्छ पुरूषको गन्धले।
पुरूषार्थ घर-घरमा ढकमक्क फुलेको फूल हो,
फूल पनि के भन्नु कॉंडा हो।
फूल-कॉंडा भन्नु पुरानो भयो भने
यो पराग हो,
कहीं भूइँमा झरेपछि त्यो झर्योो झर्योो हुन्छ केही उम्रँदैन,
त्यसको जीवन थिएन अनि हुँदैन।

पुरूष कॉंचो माटो हो,
मूर्ति पनि बन्छ, भॉंडो पनि बन्छ
तर त्यो पाकेपछि सॉंपसित नाच्दैन,
सपेरासित हॉंस्दैन।

Yuddha Prasad Mishra – Badhdai Jao Badhdai Jao

युद्धप्रसाद मिश्र – बढ्दै जाओ बढ्दै जाओ

नयाँ निसाना, नवजागृति, नवचेतनाका साझा हो
हलो, कोदालो, खुकुरी, हँसिया, खुर्पि खुँडाका ताजा हो
पीडित जनले नगरी नहुने घोर क्रान्तिका बाजा हो
दलित गलित हुन बाध्य Continue reading “Yuddha Prasad Mishra – Badhdai Jao Badhdai Jao”

Yuddha Prasad Mishra – Guhar Guhar

युद्धप्रसाद मिश्र – गुहार गुहार

लाशमाथि लाश भयो डढाउँदा गाउँ
धरतीमा कतै छैन हाम्रो बस्ने ठाउँ

स्त्री जातिका गुप्तांगमा संगीनका घोचा
बदलाको भावनामा छौं कि हामी होचा ?

न्याय खोज्छौं खाँदै जान्छौं आज ताता गोली
फेराइदिन्छौं धरतीलाई हामी नयाँ चोली

भारतसित परिसक्यो नजोरिने फाटो
भिजिसक्यो रगतले नेपालको माटो

कैले हाम्रो साहसले सगरमाथा छुने
दुष्मनको रगतले हात गोडा धुने

नेपालका सन्तती हे खुकुरीका धार
दिदीबैनी दाजुभाइ गुहार गुहार

मान्छे खाने जन्तुलाई भगाइदिन आओ
जागृतिको राँको झन् झन् जगाइदिन आओ

(लहर – ०४५)

Dr. Madhu Madhurya – Euta Kabi : Nepathya Bhitra / Nepathya Bahira

डा. मधु माधुर्य – एउटा कवि: नेपथ्यभित्र / नेपथ्य बाहिर

कोठामा छिरेपछि
कविले सफेद पानामा “शान्ति” कविता लेख्यो
कोठाबाट निस्कानेबेला उसले
केहि परेवाको हाडखुर,नंग्रा र प्वाँखको पोको
फोहोर- कन्टेनरमा Continue reading “Dr. Madhu Madhurya – Euta Kabi : Nepathya Bhitra / Nepathya Bahira”

Yuddha Prasad Mishra – School Jaun (Nepali Bal Kabita)

युद्धप्रसाद मिश्र – स्कूल जाऔं (नेपाली बाल कविता)

सुनधारामा पानी भर्छन्
टुँडिखेलमा चर्छन् गाई
रत्नपार्कमा घुम्छ सिपाही
हुन्छन् नाङले पसले त्राही

धरराको त्यो टुप्पो हेर्दा
शिरमाथिको टोपी खस्छ
भई Continue reading “Yuddha Prasad Mishra – School Jaun (Nepali Bal Kabita)”

Laxmi Prasad Devkota – Mero Dharma

क.
सङ्घर्षद्धारा मिलेर मन्थन यी स्नायुजाली शिथिल हुनाले
क्या फीँज निकाले !
किरण छरी दी तब कल्पनाले !
लडका–दिलमा रहने कविले धरम निकाले, कथा सँगाले !

ख.
पुजारी डर भो, औ भक्त भो,
अज्ञातलाई अज्ञेय पारी
रचेर मन्दिर, कुँदी बसाले !
अनेक बान्की दिई छिनाले !

ग.
बालक ऋषिका कथा मीठा छन्,
म सुन्छु सुन्छु !
यो कल्पनाको परी जगत्मा,
म रसले घुम्छु म रसले घुम्छु !
सफा छ खोजी विचित्र मीठो,
म मग्न हुन्छु, सतृष्ण हुन्छु !

घ.
बगिरहेको मलाई जल देऊ !
सुकोस्, पुगोस् वा पयोधि दूर !
मलाई केवल समुद्र तृष्णा
छचल्किएको, ध्वनि प्रचुर !

ङ.
मलाई शङ्का सँगी रहन्छे !
मभित्र थोरै छ भित्रको ज्ञान
तथापि घुम्दो छ नागबेली,
तरङ्ग मेरो, समुद्रको गान !
यता छ लरबर,
उता छ आह्वान !

च.
विदित चिरेर किनार पारी, लगाउँदो छु म फूलबारी !
नभेटिएको, नछोइएको,
प्रवाहको तर छ प्राण जारी !

छ.
म गर्तमा गै, “समुद्र छैन”
भनें बराबर, अडी शिथिल प्राण !
बराबर निस्कें, नभेटिए त्यो,
मीठो छ भन्दै मनुष्यनिम्ति
मरुमा कुर्वान !

ज.
म आफूभन्दा अगाडि खोज्छु,
म आफूभन्दा पछाडि गाँस्छु !
म जलहरुमा झझल्किएको
सतृष्णताको गति मिठास छु !

झ.
यहाँ छवि छ, वहाँ छाया,
झिमिक झिमिकमा धधप्प, झप्प !
जो भेटिएको त्यहीं अडेर
यही हो भन्ने हठ प्रदर्शन
म लिन्न,
बग्छु, भजी अलभ्य !

ञ.
‘फटिक’ को मन्त्र लिई बगेथें,
जहाँ छ माटो !
म एक निर्मल पछाडि ‘कलकल’–
ले लिन्छ बाटो !

ट.
कहिलेकाहीं किरणको कर ली
कदम छ दुइचर !
टिपी झलक त्यो बनाऊँ ठेली !
म बग्छु लाचार !

ठ.
त धम्र्म के हो ? सदा पिपासा,
र त्यसको भाषा, र तृप्ति–आशा !
अनन्त पाए, घुसेर उरमा,
सँगेटी सब धार
निदाउनु एकबार !

Chandra Gurung – Naya Nepal

चन्द्र गुरुङ – नयाँ नेपाल

हिजो आज,
हुलकाहुल हुल मानिसहरु
म र म जस्ता थुप्रैलाई खोज्दै आईपुग्छन्
र माँग्छन् हाम्रो साथ
माँग्छन् हाम्रो हात
कि, अब उनीहरुले
नयाँ नेपालको निर्माण गर्दै छन् रे ।

Continue reading “Chandra Gurung – Naya Nepal”

Chanki Shrestha – Atma Katha

जिन्दगीको यौटा यस्तो भूलजस्तो मेरो कथा ।
नदीबीच बालुवाको पुलजस्तो मेरो कथा ।

यति सुन्दर बिहानीलाई कसले दागा धरिगयो,
सधैँ मौन बसिदिने फूलजस्तो मेरो कथा ।

मेरै सामु हतियारले सुसज्जित छन् मित्रहरू,
खुकुरीलाई सहिदिने तुलजस्तो मेरो कथा ।

व्यंग्य सुन्दा रमाउँदै धेरै-धेरै हाँसेपछि,
मुटुभरि बल्भिmदिने शूलजस्तो मेरो कथा ।

धमिलो छ आजभोलि, आँसु पनि धमिलो छ,
सुकिजाने संग्लो-संग्लो मूलजस्तो मेरो कथा ।