Manoj Bogati – Poster Ra Pokhiyeka Artha Haru

पोष्टर टॉंसिएको छ समयको निधारमा।
टाइमपासहरू पढ्दैछन्‌
आफ्नै अनुहारको पुरानो बिसङ्गति।

समयलाई
चप्पलले टेकेर उभिएको त्यो आदर्शको छाती छोएर
भुइँमा झरेको छ विशाक्त हावा।

त्यही हावाले बोकेको खस्रो चिच्याहटले छ्‌याप्प भिजेको भुँइ फुटाएर
उम्रिएको बिरोधपदक्षेपको छिप्पट अक्षर
दह्रो छाती गरेर उभिएको छ पोष्टरमा।

पोष्टर भनेको कुनै गोर्खाको समसामयिक अनुहार त हो
जो कञ्चनजङ्घा जत्रो अग्लो भएपनि देख्दैन
अन्धो संविधानले।

पोष्टर भनेको यही भीड़को फिङ्गरप्रिन्ट त हो
जसले सधैँ थ्याप्चेको तोक्चे हालेको छ डरछेरूवा देशलाई।

पोष्टरमा कति धपक्क बलेको छ
चिन्हारीको घाउ।
कति बलियोगरी उभिएको छ
किनारमा उम्रिएको नेपाली अक्षर।
एउटा दह्रो मर्यादा हुने गरेको इतिहासलाई
बलैले उचाल्दै आएको सत्यको पानीफोका
हत्केलामा नै फुटेपछि
आह! कसले टॉंस्यो हँ त्यो पोष्टर?
नव-उपनिवेशकारी बोराको भित्तामा?

पोष्टरको कुनै संवेदन हुँदैन
कुनै आत्म हुँदैन
कुनै जात हुँदैन
पोष्टर र वर्तमानले एकैचोटी सासमा लिने
त्यो विष्मयकारी हावा
कत्ति जोड़ले चलेको
हर्नू गोर्खाहरूको खण्डहर स्वाभिमान उख्लिनेगरी हल्लिएको!

त्यो हावाको आँखामा देखिने रङ
कुन दलको हँ
त्यसको नाइके को?
एउटा त्रसित वर्तमान टेकेर उड़ेको परेवा
यसपाली पनि फर्किन्छ -फर्किन्न।

छातीको टॉंक खुल्लै राखेर
मर्यादा र स्वाभिमानलाई स्तन जस्तै देखाउने
सेलेब्रेटी राजनीति
देह धन्दा गर्दै गाउँ पस्छ।

त्यसको फिलाभरि पोखिएको स्वप्वदोषहरूलाई
रोटीमा दलेर बॉंड्छ
भोका भविष्यहरू जो पेट बॉंधेर बसेका छन्‌
कुच्चिएको थाल जस्तो निधार बोकेर
राजनीतिको कामुक भाषामा
कति छिटो साटिन्छ
मान्छेको मर्यादा।

सालाहरू

ती नै थालहरूबाट आत्मदाह गर्दै हाम्फालेका अक्षरहरू
पोष्टर टॉंस्दैछन्‌
हेर्नू
आफ्नै मरूभूमि छातीमा
लौ, हेर्नूनी फेरि
पोष्टरमा
पढ्‌दैछन आफ्नै खिल्लीहरू
किनारा परेका अर्थहरूले।

पोष्टरको त्यो ठूलो ऐनामा टल्किएका
जायज मागहरूको चहकले
हेर्नू नी कसरी चिम्लिएको छ
सरकारको आँखा।