Krishna Bahadru Chhetri – Lek Ma Bihan

शीतमा नुहाएर भर्खरै
घाम ताप्न लागेकी लालीगुराँस
पहाडी खोलामा निहुरेर
आफ्नो सुन्दरता हेर्न हतारिन्छे

Acharya Prabha – Bikshipta Nagari Ilam (Nepali Gajal)

आचार्य प्रभा – बिक्षिप्त नगरी ईलाम (गजल)

प्रकृतिकी रानीलाई दैवले छल्यो किन ?
सुन्दर त्यो आक्रिती,ध्वस्त भई जल्यो किन ?

हाहाकार नै मच्च्यो होला,धुँवाले नभ ढाक्दा
त्यती मनोरम शहर,दन्दनी बल्यो किन ?

प्रकृतिलाई हँसाई,आफु पनि हाँसेथ्यो
रुखो हावा त्यहि क्षण,सरर चल्यो किन ?

उच्च शीर फैलाई,पहाडको शान राखेथ्यो
त्यहि शीर कस्तोगरी,आज फेरि ढल्यो किन ?

हँसाइ सबैलाई स्वागत गर्दै बाँच्ने शहर
हाँस्ने अधरमा नै,कालो रंग दल्यो किन ?

(बिक्षिप्त नगरी ईलाम प्रति गजलरुपी शब्दहरु समर्पण फेरि एकपटक )

Bhoj Raj Neupane – Sharanarthi Lai America

भोजराज न्यौपाने – शरणार्थीलाई अमेरिका

ढल्यो
सर्वश्व ढल्यो ।

त्यसैले दिग्भ्रमित छन् मेरा आँखाहरु
र खोज्दैछु म त्यस्तै
नोष्टाल्जिक आँखाका सुन्दर सपना

ओहो
कसरी भयो एकाएक यस्तो ?
कसले भत्कायो मेरो घर ?
कसले उखेल्यो पारिजातको रुख ?
कसले ढाल्यो तुलसीको मोठ ?
कसले सल्कायो गोठमा आगो ?

उग्राइहेका चौपाया
र भकारो सोहोरी रहेकी बुहारी
कोही जीवित भएनन
जहाँ म जन्में, त्यही हो मेरो धर्ती
थाहा छ ?
म जन्मेको देशले स्वीकार गरेन मलाई
पिता पुर्खाको के कुरा ?
आफ्नै दौंतरीका आँखामा म अनागरिक बनें
के दोष थियो मेरो , जहाँ म अनागरिक बन्न पुगें ?
आफ्नै चाहानामा मान्छे जन्मन सक्दैन भने
कसरी म अनागरिक हुन सक्छु ?
पटक्कै सक्दिन ,
म जन्मेकै देश मेरो हो
त्यसैले मलाई यही देशको माटो प्यारो छ
मलाई यही देशको माटोको सुगन्ध प्यारो छ ।

म आफ्नो सुन्दर वाल्यकालको
सुखद क्षण सम्झँदैछु ।
र, कुर्दैछु विरानो ठाउँको अत्यासलाग्दो परिवेश ।
सम्झन्छु कति रमाइलो हुन्थ्यो होला
मेरो देश यतिकै विकसित भैदिए
मेरो देशको सरकार
यतिकै विवेकी भैदिए ।
कसले विझाउन सक्थ्यो मलाई
शरणार्थीको बोझिलो शव्दमा
र अप्रिय आश्वासनमा ?
यतिबेला
पाइलै सार्न नसक्ने भएको छु म
किनभने मेरा चाहनाका पाइलाहरु रोकिएका छन्
अमेरिकाको यो विशाल आकाशमा
म मेरो देशको सानो नक्सा कोरिरहेको छु
जहाँ अनगिन्ती सपना
मेरो आँखा अगाडि विस्कुन बनेर
सुकिरहेका छन् ।

(भुटानी शरणार्थीलाई अमेरिका लगिएपछि लेखिएको कविता )

Pravin Khaling – Chupchap

प्रवीण खालिङ – चुपचाप

स्सस्स्स्स्स……
हल्ला नगर
अहिले सबैको मन सुतेको छ
तिम्रो सानो हल्लाले बिउँझन सक्छ, उसको चेतना
चेतना ब्युँझियो भने
यसले के के विगार्छ
थाहा हुँदैन के के ढाल्नसक्छ
पैह्रो जान सक्छ, आसन जानसक्छ
राशन जानसक्छ अनि त प्रशासनै जानसक्छ
त्यसैले हल्ला नगर।
सहनु भनेको हार्नु होइन
मौन रहनु भनेको चुपचाप होइन
चुपचापले धेरै चाप सिर्जना गर्छ
त्यसैले चुपचाप बस्नेहरूसित शब्द साह्रै डराउँछ
आवाजसित शान्ति डराए जस्तै।
चुपचाप बस्न थालेपछि
पहिले आवाज हराउँछ
त्यसपछि शब्द हराउँछ
अनि त अक्षरहरूको अकाल लाग्छ
उजेलोको राज शुरु हुन्छ
अक्षर भनेको अन्धकार हो कालो हो
त्यसैले कालोको कुनै रङ हुँदैन
कालोको जात हुँदैन
अनि सिर्जना हुँदैन
र श्रोत हुँदैन
उजेलोमा बाँच्नेहरूलाई
थाहा हुँदैन धिब्री बुझ्न साथै
पुनः अध्यारो कै राज हुन्छ
अध्याँरोको छाया हुँदैन
छाया खोज्नु पनि त उजेलोको सहारा चाहिन्छ
आकार नभएरै अन्धकार निराकार छ
त्यसले सबैलाई चुपचाप राख्नसक्छ
चाहे थाङ्ना मै किन नहोस सुताउन सक्छ
मसान कै किन नहोस शान्ति घोषणा गर्नसक्छ
तर चेतना उठ्न पाएको दिन पो थाहा हुन्छ
यो चुपचाप, यो शान्ति
मसानको हो कि मन्दिरको हो
त्यसैले अहिले हल्ला नगर
कतै चेतना उठेको दिन मसानको शान्ति थाहा
पाएर धेरैको शान्ति हराउनसक्छ
भ्रान्ति हराउनसक्छ
सस्स्स्स्स…
हल्ला नगर ।

Dr. Mohan Prasad Joshi – Khai Ke Garechha?

डा. मोहनप्रसाद जोशी — खै के गरेछ ?

जिन्दगीले खै के गरेछ ?
खालि रूखहरूलाई हेरेछ,
‘जङ्गल’ को भावै भुलेछ,
चित्रहरूमा नजर अड्काएछ,
‘क्यानभास’ को होसै गुमाएछ,
विश्व मानचित्रका अनेकन् धर्का
हेर्नमै व्यस्त बनेछ,
साँच्चिकैको धरतीमा ती धर्का
छैनन् भन्ने बिर्सेछ ,
डाँडाकाँडा र आकाशलाई
अलगअलग देखेछ,
एउटै ‘ल्याण्डस्केप’ को रूपमा
दर्शन गर्न सकेनछ,
कान्तिपुर र भक्तपुरलाई
भिन्नभिन्न भनेछ,
फूलचोकीबाट अभिन्न देखिने
उपत्यका भुलेछ |

यो जिन्दगीले खै के गरेछ ?
खालि अंशहरूमै आँखा गाडेछ,
पूर्णलाई सम्झनै छाडेछ |

(डा. मोहनप्रसाद जोशीको ‘कहाँ छ ठाउँ ‘ नामक कवितासङ्ग्रहमा समावेश भएको |)

Komal Shrestha Malla – Dukhyo

कोमल श्रेष्ठ मल्ल – दुख्यो

म र मेरो कर्तव्य के हो ?
सिकाउने एउटा पाठशाला चाहियो,
बन्द, हडताल, आगजनी र चक्काजाम,
लुटपाट, हत्या, दमन, तोडफोड र हानाहान
निस्तेज गर्ने, एउटा वधशाला चाहियो
किनकि, एउटा Continue reading “Komal Shrestha Malla – Dukhyo”

Bimal Nibha – Matbhed

केही वस्तुहरुसँग
मेरो गम्भीर मतभेद छ
माथि आकाशमा
अल्छी मानि–मानिकन
हिँडिरहेको चन्द्रमासँग
मेरो कुरा मिल्दैन
म रातसँग सहमत छैनँ
बगरेको चुपी,
कालाबजारीको ढक–तराजु,
पुलिस डिपार्टमेन्टको जुँगा,
गणिकाका शृङ्गार–प्रसाधनहरु
र मन्त्रीहरुका हस्ताक्षरसँग
म आफ्नो फरक विचार
जाहेर गर्छु
यद्यपि सत्तासँग
केही सुन्दर शब्दहरु छन्
जो वजनदार पनि लाग्छन्
तर त्यसको कुरुप भावलाई
म मन पराउँदिनँ
त्यसप्रतिको मेरो विरोध छ
जरुरी छैन
सांसदहरुका भत्ता,
नक्कली फुलको सुगन्ध,
गलत समाचार,
र जासुसहरुका सूचनासँग
म एकमत होऊँ
देशद्रोहीहरुले प्रयोग गरेको
चलाखीप्रति
म गहिरो मतभेद
प्रकट गर्छु
(२०५०)

Biyogi Budhathoki – Sanjha Ko Batti Bale Jastai (Nepali Gajal)

वियोगी बुढाथोकी – गजल
(मधुपर्क २०६६ भदौ)

साँझको बत्ती बलेजस्तै अनुहारमा आयौ
दुःखमा साथ निभाउन व्यवहारमा आयौ ।
आँधी, हुरी, बतास हो कि मनको त्रास मेरो
अन्धकार रातलाई छल्न बारम्बारमा आयौ ।
दिलको देउता देखाएर पूजा अर्चनामा
श्रद्धा सुमन चढाएर लगातारमा आयौ ।
घाइते मनको चाहनामा दुःख बाँड्न सखा
एक्लो भौँतारिँदै थिएँ म हरिद्वारमा आयौ ।
संयोग जुर्यो भेट भयो बसौँ चौतारीमा
चाह होइन वियोगीको हारगुहारमा आयौ ।

Umesh Rai ‘Akinchan’ – Golo Samjhana

उमेश राई ‘अकिञ्चन’ – गोलो सम्झना

मसँग
गिटारको खोलमात्र छ
गिटार

गिटारको आवाज
तिमीसगै कहाँ….. कहाँ……

यो
बर्षको समय
बगिरहेको बाग्मती जस्तो
धमिलो आँसु झँर्दै
परिरहेछ झरी


तिम्रो सम्झनाको सप्कोले
ढाकीरहेछु रातो गुलाफ
कालो सेतो खुइलिदै गएको
जेब्रा क्रसमा

एक्लै छु
कुनै क्याफेको
टेवल नं. २ मा
तर
सँगै बसेको छ
तिम्रो सम्झना
कालो कोकको बोतलमा पनि देख्छु
तिम्रै अनुहारको गोरो झझल्को
कहाँ सँगै छैनन् सम्झनाहरु ?

यो सिहदरबारको
फराकिलो गेटदेखि
त्यो सुदूर गाँउको
केरा झ्याङसम्म

अझैपनि
कुनै पहाडि बाटोमा
गुड्ने गाडीको पछाडि झुण्डिएको
गाउँले मान्छे वा उसको छाँयाँसरी
झुण्डीदै झुण्डीदै पछ्याइरहन्छ किन ?
तिम्रो एक अँगालो अनुहार

चित्रकारको आलो पेन्टिङ जस्ता
भर्खरै देखिएको छ
कोपिला इन्द्रेणी
आकाशमा
त्यो इन्द्रेणीमुनि
तिमीलाई सम्झेर लेख्दा
किन काम्छन् मेरा हातहरू
सायद
माइकल ज्याक्सनको
मृत्यूझैं
दुःखे मेरा औंलाहरू

यहिनेर हो यहिनेर
बच्चाले हिर्काएको फुटबलजस्तो
पुग्न नसकेर टाढा
रोकिएको थियो
हाम्रो गोलो यात्रा ।

Chanki Shrestha – Kayakalpa

(मणिपुरकी इरोम शर्मिलालाई जो फौजी
बर्बरताविरूद्ध गरिरहे की छन् सत्याग्रह )

मानवताविरूद्ध लडाइँले
अर्को मानवीय लडाइँ सुरु गर्छ
जसरी आतंकविरूद्ध आतंकले
सुरु गर्छ अर्को धारको व्रि्रोह ।

कुनै बादलमा Continue reading “Chanki Shrestha – Kayakalpa”

Laxmi Prasad Devkota – Barsha

आइन् वर्षा हररर चढी वायुपङ्खी विमान,
पाङ्ग्रा घर्षी शिखर गरजी थर्कियो आसमान ।
झिल्के झिल्का, अचल मुख भो त्रासले नील गाढा,
चूली नाघिन् प्रकृति कलिलिन्, देखिंदै दूर टाढा ।
बाफैको हो रथ त हलुका, शानले त्यो विशाल
पत्रे बुट्टा रजत–तहमा पर्छ कल्सिन्छ छाल ।
मुस्किन् विद्युत् वरुणदुहिता साँवली कोमलाभा
गोरा डाँडा विचरन चुली उल्किई, देखिंदामा ।
फर्फर पार्छिन् चदर हलुका, लत्रिंदो, मेघ ह्वैन,
लाखौं मोती—लुङ नपहिरी चित्त बुझ्ने हुँदैन ।
पोल्टो झोली रतन—निधिका स्नेहले मुस्कुराइन्,
यौटा मोती—लुङ चुँडिन गै शैलमा झर्झराइन् ।
नाच्दी, कुद्दी, हरष उछली, यानमै आजलाई
आएकी ती तुहिन–कलिली पार्वती भेट्नलाई,
गाँऊ भन्छिन् जगत् छहरी स्वर्गको दिव्य तान,
ठाडा बन्छन् श्रवण कविका शीतलो सुन्न गान ।
आशङ्काले भुरभुर गुँडै सम्झिंदा पङ्ख नाना
जाओ बच्चाहरु नतरसून् गर्जिदा स्वर्ग–छाना,
लर्बर् गर्दा कुशल कमिला ! लौ गरे हे हतार,
तेसै ओर्ली चिर चकँरिंदो चील ! होला अबेर ।
तस्वीरै झैं अलि छिन उडी वायुले पक्ष फेर्दा,
सन्नाटामा तरुवरहरु ! उक्लिंदो खात हेर्दा,
पर्खी बस्थ्यो पवन पहिलो सुन्न फर्मान दूर
तिम्रा राजा सलिलनिधिका ! लौ सुने यो नुहेर !
“लाखौं मूरी रतन–जलका वायु मैले उचालें,
पारावार प्रभुहृदयका उच्च आदेश पालें,
बाफीला ती रजत घटका चारु बान्की उचालें,
वर्षी बोकी वरणदुहिता पार्वती भेट्न थालें ।
“लेखें मैले जलदपटमा अक्षराकार धेर,
इच्छा छारा प्रभु वरुणको, वर्षको यो सवेर,
हाँगा, लच्की, लहर लहरी, खातिई, पत्रिएर
बोल्दा छन् ती अमिट सुरमा कान थापेर हेर ।
“तानाशाही दिनकर भए, सुन्छु यस्तो फिराद,
मेरो छाती जल, जल छ ! ती सन्किएछन् फसाद !
दण्डी दिन्छु स्थगन रविको राजको होस् धरामा,
शून्याभासी कुछ दिन बनून्, दुःख भो उर्वरामा ।
“बच्चा ! दुःखी ! हिम अचलका पङ्ख ! प्राणी ! प्रशाख !
तिम्रा भेजा मम हृदयका रत्न छन् लेउ लाख !
लामा छाया सजल घनका लाख तिम्रा सियाल !
रङ्गीचङ्गी धनु विजयको, दैन्य सारा पखाल ।
“धूली खोला सलिल, वरर्षी शानजस्तो अटूट,
पाई प्राणी अमृत–लहरी फस्टिनेछन् अछूट,
दौरामा छन् जलधि–दुहिता, साम्य कारुण्यभाव,
फैली चाँडो मुख अवनिको, हुन्छ, आनन्द–लूट ।
“पृथ्वी फल्लिन् सलिल–कलिली धानले छापिएर
गाई रोप्लान् चपलवयसी, दृक्–बिजुली लिएर ।
बाली राम्रो, तृण अति हरा, वर्ष राम्रो कबूली
पारावार प्रभु–हृदयको फुट्छ सङ्गीत केली ।
“मीठा, मीठा अमृत रसका बिज्जुले लाख, लाखा
भर्दै राम्रा फल तरुहरु पाउँछन् भन्न, ‘चाख’ ।
भारी शाखा शरदऋतुमा लच्किंदा दानलाई,
मेरो इच्छा यति छ, यति हो नील आदेश, भाइ !
“लौ लौ गाओ दल दल वनै, वृक्ष हो ऊठ सारा,
बर्षे घैंटा घट घट गरी स्वर्ग–पीयूष धारा ।
दर् दर् दर्के अमित–कनिका, प्यून लागिन् धराले,
उफ्री, नाची चल विटप हो, पाउनेटौ जराले,
“यो बेला हो रस–मिलनको, प्राप्तिको यो चहाड,
यो गानाको गगन, जनको कल्पनाको बहाड,
यो पौडीको सुखजलधिमा फूल रातो असारे
झन्डा सम्झी, मुजुर–मन भै पिच्छमा रङ्गधारे ।”

Santosh Lamichhane – Hami ra Hamro Batawaran

सन्तोष लामिछाने – हामी र हाम्रो वातावरण

मेरो वरीपरी
घनघोर जंगलबाट आउने
शित्तर हावाहरु
गर्मीका पंखा हुने गर्थे

चराका चिर्चिरसँगै
धर्ती अनि आकाश
खोलाका सुसाइमा
संगीत सिर्जना गर्थे

गहेन्द्र सम्सेरका बन्दुक बोकेका
जंगबहादुरहरु
मेरै चारकोसे झाडीहरु अनि
बाँसका झाङहरुमा
वनक्रिडा गर्थे

शान्तिका साधना गर्ने बुद्धहरु
‘ॐ शान्ति शान्ति’ भन्दै
मेरै छहरा अनि पहरा गुञ्जाउँथे

वेदध्वनीहरु संखका धूनमा समाहित भएर
गीता र त्रिपिटक उराल्थे

तर आज
मेरा वागमती र विष्णुमतीहरु
नालीको गन्धले टाइफाइड र जण्डिसका रोगी भएका छन्

मेरा आफन्तहरु
अनेकौं रोगले च्यापेर
मृत्युशैयामा सिकिस्त छन्

वातावरणको विनाशले
मेरा डाँफे नाँच्ने गुँरासे पाखाहरु नाँगिएका छन्
हरिया वन अनि केराका घारीहरु
ऐंसेलुका बोट अनि बयरका बुटयानहरु !
फाँडिएर उजाड मरुभूमिझैं भएका छन्
अनि मेरो माटो
बाढी पिडित भएर तप्प तप्प आँसु चुहाइरहेछ

यसरी वातावरण मबाट भाग्न खोलेको छ
मबाट भाग्न खोजेको छ ।

Basanta Mohan Adhikari – Maile Bish Piyeko Raichhu (Nepali Gajal)

बसन्त मोहन अधिकारी – मैले बिष पिएको रै’छु

अमृत भनेर मैले बिष पिएको रै’छु
जीवन दिएर मैले मृत्यु रोजेको रै’छु

आँसु पुछेर उनको आफैँ रुँदैछु आज
यो खुसी लुटाई मैले आँसु साँचेको रै’छु

भिजेर उनको विष Continue reading “Basanta Mohan Adhikari – Maile Bish Piyeko Raichhu (Nepali Gajal)”

Baidyanath Upadhyaya – Haami

वैद्यनाथ उपाध्याय – हामी

सुन्दर विचारहरूले
पृथिवी सुन्दर छ ।
दुष्ट विचारहरूको कालो मुश्लो
उठदै छ क्षितिजभरी
चारैतिर अस्थिरता, नश्वरता
छाएको यो समयमा
कुन स्थायित्वको सोचमा
मग्न भएछौं हामी..?

सुरसाको Continue reading “Baidyanath Upadhyaya – Haami”

Ashesh Malla – Farkai Deu Mero Manko Ek Jodi Parewa

अशेष मल्ल – फर्काइदेऊ मेरो मनको एक जोडी परेवा

आज कतै गएर
एउटा चर्को आवाजले चिच्याउँ लागिरहेछ
मनका सबै लगाम फुकाएर
आज कतै दौडूँ लागिरहेछ

मन सधैँ पानी भएर बग्यो
उठेर कहिले-काहीँ त आगो भएर पनि बल्न Continue reading “Ashesh Malla – Farkai Deu Mero Manko Ek Jodi Parewa”

Madhav Prasad Ghimire – Afnai Roop Ko Chhaya Heri

माधबप्रसाद घिमिरे – आफ्नै रूपको छायाँ हेरी
(‘किन्नर-किन्नरी’)

अञ्जुलिमा उबाएर पिऊँपिऊँ पानी
आफ्नै रूपको छाया हेरी छक्कै रूपा रानी

अञ्जुलिको यही पानी आफैं पिइद्यूँ त
आफ्नै रूप पिइन्छ कि? यही पानीसित

अञ्जुलिको यही पानी भुइँमा पोखिद्यूँ त
आफ्नै रूप पोखिन्छ कि? यही पानीसित

काँपिगयो अञ्जुलि त, भुइँमा पर्यो पानी
त्यस्तै फुल्यो फूल पनि, जस्ती रूपा रानी

Indra Kumar Sunuwar – Sapanima Kina Aairahanchhau

ईन्द्र कुमार सुनुवार – सपनीमा किन आइरहन्छौ ?

तिम्रो खुशी त मागेको छैन मैले
घरिघरि किन मलाई रुवाइरहन्छौ ?
बिछोडको सीमारेखा कोरिसकें मैले
अझै पनि सपनीमा किन आइरहन्छौ ?

मेरो पनि मुटु छ तिम्रो जस्तै
पीरमा दुख्छ अनि पोल्छ ब्यथाले
किन घोचिरहन्छौ तातो झिर बारबार
तिम्रो खुशी बिथोल्ने छैन मेरो प्रेमकथाले

छैनन अब जलिसके सारा प्रेमपत्रहरू
खरानी झै उडे छताछुल्ल मेरा खुशीहरू
समेटेर नसमेटिने अनगिन्ती घाउहरू
चरचराइरहन देऊ पिडामा केही छैन रुचीहरू

तिमी सुनौलो बिहानी किरण छर्दै जाऊ
म ढल्न लागेको साझ बिस्तारै ढल्दैछु
तिमी सफलता र सुखको महल बनाउदै जाऊ
यो खुशीको संसारलाई बिदा माग्दैछु

Kashiram Biras – Piratiko Nasaama Jhulekai Ta Raamro (Nepali Gajal)

काशीराम विरस – पिरतीको नसामा झुलेकै त राम्रो (गजल)
(मधुपर्क बैशाख, २०६७)

यौवनका फूलहरू फुलेकै त राम्रो
पिरतीको नसामा झुलेकै त राम्रो ।

फूल पनि फुल्न खोज्छन् घामपानी मिल्दा
समझदार भएर खुलेकै त राम्रो ।

द्यौरालीमा पर्खिबसें आँखा डुलाएर
चौतारीमा बोलाएर भुलेकै त राम्रो ।

मनको फूलबारीमा रोपिएर फूल
भँमरा भै लटि्ठएर डुलेकै त राम्रो ।

यौवनका फूलहरू फुलेकै त राम्रो
पिरतीको नसामा झुलेकै त राम्रो ।

Pradeep Chapagain – Taara Ra Jun Ka Kura

प्रदीप चापागाईं – तारा र जुनका कुरा

आमा
कोशौँ टाढा स्वदेशमा
उनको स्नेहले भरिएको मन
अनी परदेशिएको सन्तान
यादै यादले घोच्ने समय
उनका रित्तिएका आँखाहरु
बाटोभरी ओछ्याएर
पर्खाईमा थाक्दिनन् आमा आफ्नो छोरोको
तर्कनाहरु बुन्दै बस्छिन् मायाको डोरोको !!

बिरानो माटोभित्र नपाउने आत्मियता
झझल्कोमा त्यही पखेरोको सामिप्यता
वरिपरी लाखौं अनुहारहरु
मागेर नमिल्ने गुहारहरु
सुखदु:खको मझेरीमा अल्झदै
दिन र रातको फरक नदेखि
बढ्दो छ अघी तिम्रो छोरो आमा
तिम्रै वचनलाई साक्षी राखेर
तिम्रो व्यग्र चाहनालाई
थाती मै राखे अझै केहि वर्ष आमा
अनि
मेरा हँसिला तस्विरलाई
छाती मै राखे अझै केहि वर्ष आमा !

करेसामा मैले रोपेका फूलहरु
रोदनले फुल्दै होलान्
साथीसँगी का बेसारे हूलहरू
म विनै डुल्दै होलान्
मेलापातको रौनक
चाडबाडको उत्साह
र छिमेकीका गुनासाहरु
एक एक गरी सबैलाई
मिलाउँदै बसे अझै केहि वर्ष आमा
छुटेको साथ अनि टुक्रेको मन
सिलाउँदै बसे अझै केहि वर्ष आमा !

घडी पक्कै पनि रोकिने छैन
आशा पक्कै पनि भाँचिने छैन
त्यही सुनौलो दिनको बिहानीमा
तिम्रो मन टाल्न
तिम्रो काख भर्न
अनि तिम्रा सपनाहरु सजाउन
तारा र जूनका कुरा बोकी आउँला आमा,
सकेँ भने सुनका चुरा बोकी आउँला आमा !

Sabina Sindhu – Ghantaghar Ra Sapana

सबिना सिन्धु – ‘घण्टाघर र सपना’

प्रत्येक दिन नयाँ प्रणयसाथ
म उभिन्छु घण्टाघरझैं
समयले अँगाल्छ मलाई ।
र रातमा पोल्टटाभरीका
जून निलेर निदाउँछु ।
घण्टाघरले फेरी
रातको बाह्र बजाउँछ
म झलमल्ल
घामको सपना देख्छु
निन्द्रामै छट्पटिन्छु
जीवनका कलिला हाँगाहरुमा
फेरी
उभिन खोज्छन् मेरा रहरहरु
मेरा नपुङ्सक सपनाहरु
फेरी घण्टाघरको घडिसँगै
पछि दौडन खोज्छन्
म नबोली नबोली
मिठो सपनी देखिरहन्छु
जीवनहीन जीवन बाँचिरहन्छु
मृत्युपत्रमा
हस्ताक्षर गर्न नचाहेर ।

व्यँुझिएर घडि हेर्छु
एउटा सङ्ग्तिमय सुरुवात
फेरी सम्प्रेषित हुन्छ

म केही होइन
संसार केही होइन
टेबुलबाट घडि उठाउँछु
कैद गर्छु
मेरो नाडीमा कैद हुन्छ
ठिङ्ग उभिएको घण्टाघर ।