Gokul Bhandari – Hami Mare Pani Hamro ANESAS Rahi Rahos

गोकुल भण्डारी – हामी मरेपनि हाम्रो अनेसास रहिरहोस्‌

“नेपाली खसको मात्रै, अरुले बोल्नु हुन्न त्यो
पञ्चायती प्रशासन्‌को कालो षड्‌यन्त्र मात्र हो
लादियो यो जबर्जस्ती, गोली ठोकेर माथमा
नबोल्ने जतिलाई चै, बांधियो नेल हातमा “

यस्ता विद्वेषले व्याप्त हल्लाले देश ग्रस्त छ
देश टुक्राउने तत्व यस्तैमा आज व्यस्त छ
अस्ती सम्म थिए हाम्रा देवकोटा, महाकवि
उनै व्यक्ति भए आज, सामन्ती खसका कवि ?

नेपाली जनजिब्रोले मालती मंगले टिप्यो
मुना मदनको रोदन्‌ कस्बाट, कहिले छुप्यो ?
यी दुबै कृति लेखीए नेपालीमै भनेपछी
आज चांहि्‌ अकस्मात, किन दुर्दुर्‌ छिछि छिछि ?

यो सबै क्रोध, अज्ञान, स्वार्थका वशमा परि
प्रतिक्रिया त्यसैको नै देखिदैंछ घरी घरी
फर्की हेर्छन्‌ कुनै जाती, एक्‌ डेड्‌ सौ सालका कुरा
कोही देख्छ्न्‌ कबिलामा हिडेको बन टाकुरा

आफ्नो संस्कृति, भाषाको मोह गर्नु गलत्‌ कुरा
नलागोस्‌ अर्थ यस्बाट, बुझ्ने हो कि पुरा कुरा ?
जगेर्ना संस्कृति भाषा गर्नु् ज्यादै जरूरी हो
किन्तु हौं अग्रगामी र सापेक्षी बर्तमानको

बद्‌लिदै जान्छ भाषा र संस्कृति, देश कालमा
पैलेकै रुपमा फर्कौं भन्नेको आज जालमा
पर्यौं हामी भने हुन्छ, देश टुक्रा छरिबरि
त्यो बेला क्वै हुने छैन, फगत्‌ शत्रु वरिपरि

इन्टर्नेट र कम्प्युटर्‌ टिभी सर्वत्र फैलिए
के सक्छौं झिक्न तिन्लाई ? सबैको बोली भैसके
कर्णालीबाट निस्केको खस्‌ भाषा यसरी बढ्‌यो
अरुलाई लडाएर न कैल्है उच्च यो बन्यो

गुछ्छा हुन्‌ फूलका हाम्रा सयौं भाषा र भाषिका
नेपाली हो सबैलाई बांध्ने धागो समष्टीका
बिना धागो, बिना मियो एकता हुन्छ के गरी ?
टुक्रिए देश जिब्रोमा, आंखामा – जोडनु के गरी ?

आफ्नो सम्बृद्धीको निम्ति आफ्‌नै देश फुटाउने ?
भाइको रिसले गर्दा, शत्रु ल्याई लुटाउने ?
यो भन्दा दुर्नीति के छ ? विरोधाभास झन्‌ कति ?
खुट्टा काटेर उभ्भिन्छु भन्ने मूर्ख कति कति

नेपाली हौ्‌ सबै हामी, छरिए जुन्‌ कुना पनि
भाषाको सेतु चाहिन्छ, बोली बेग्लै भए पनि
एकताको बनोस्‌ केन्द्र, सबैको उन्नति गरोस्‌
हामी मरेपनि हाम्रो अनेसास रहिरहोस्‌

विण्ड्‌सर्‌, क्यानाडा
कृष्ण जन्माष्टमी, २००९

Acharya Prabha – Khushi Le Hansa Anukul Timi

परदेशमा भए पनि, खुशीले हाँस अनुकूल तिमी
दु:खको भूमरीलाई हाँसोले नास अनुकूल तिमी ।

नसोँच कहिल्यै म मात्र, बिदेशको पीडामा छु सधैं
खुशीमा फूलको माला, प्रेमले गाँस अनुकूल तिमी।

छट्पटिमा बिते कठै! तिम्रो रात अनि दिन पनि
मनको पीडालाई, धैर्यताले मास अनुकूल तिमी ।

बगाउँदैछौ पसिना बिदेशमा, त्यो क्षणिक हो जान
तरै पनि देशलाई, मनमा टाँस अनुकूल तिमी ।

(यो गजल मैले अनुकूलको नामबाट प्रभावित बनी लेखेँ
१९/१९ अक्षरबाट प्रयास छ।समर्पित अनुकूललाई यो शिशु गजल)

Komal Bhatta – Sirjana Lai Khoji Khoji

कोमल भट्ट – सिर्जनालाई खोजी खोजी (गज़ल)

सिर्जनालाई खोजी खोजी चोर्न थाले अचेल भरी
लुटाहारले लुट्दा जस्तै सोर्न थाले अचेल भरी

प्रस्तोता लाई हटाएर लाज र शरम पचाउँदै
आफ्नै नाम र ठेगाना पो कोर्न थाले अचेल भरी

दुनियाँका आँखा भित्र छारो हाल्दै पित्तलमा
सुनको जलप लगाएर मोर्न थाले अचेल भरी

नभन्दानि अचाक्लीभो भन्दा रिसले भुत्भुताउँदै
मित्रतालाई झर्ल्यामझुर्लुम फोर्न थाले अचेल भरी

नैतिकता र इमान्दारी रछान माथि मिर्काएर
सच्चा होइन झुट्टा नाता जोर्न थाले अचेल भरी

पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

Chandra Kumar Ghimire – Mansoon Kavita

चन्द्रकुमार घिमिरे – मनसुन कविता
(असोज मधुपर्क, २०६८)

पानी र बैँस
मनसुनले भिसा के पायो
आकाशको मचानबाट
बादल फत्केर पानी
छानामा
छानाबाट बलेँसीमा
बलेँसीबाट करेसामा
मकैका पल्टनहरूमा
इस्कुसे आरोहणहरूमा
तप-तप-तप-तप
चुहिँदै
वाह ! छेड्यो पानीले शास्त्रीय राग
“झमझम पानी पर्‍यो असारको रात”
सुनेर मास्टर रत्नदासलाई
– ओदानमा सुतेकी दिलमाया
व्यूँझी
र अरब भासिएको लोग्ने सम्झेर
रोमाञ्चित भई
आँगनमा देखेर उसलाई
तर भ्रममा ।
– मध्यरातमा ब्यूँझेर
उमेरले खर्किएकी बिन्दुले
डिभी भरेको रात
हर्षको पँधेरामा गाग्रो भरी
मलेसियाबाट चाँडै फिर्छु भन्ने
पागल-प्रेमी सम्झेर ।
– नव-तन्नेरी दीपेश
अमेरिकी भिसाको भोलि अन्तर्वार्ता
नतिजाको अम्लीय-भय बिर्सिएर
त्यसैत्यसै भयो लीन
मिसिसिपीको सेरोफेरोमा
छुटेकी प्रेमिका भेटेर
तर मृगमरिचिकामा ।
– बूढा भक्तमान बमजन
लाहुरे बिदामा गाउँ फिर्दा
बँैसका मास्टरकार्ड च्यापेर
भरेका
पान्धारेका हाटहरू
मस्सऽऽमस्सऽऽ पिएका जाँडहरू
छिल्ल्िाएका मनसाइँलीहरू, सम्भि”mदै
गँडयौलोझैँ गुडुल्कियो विगतको ओढारभित्र
र खोक्दै बाथरुम जान लाठी खोज्न लाग्यो
तर नभेटेर अड्कियो ।
मनसुन जस्ौ के आयो
हुलिया गुमेको श्यामश्वेत तस्बिरमा
रूप फिर्‍यो
रंग फिर्‍यो
यो धर्तीको औकात फिर्‍यो
अहा ! यो के छुमन्तर भयो ?
जस्तो कि बूढो भक्तमानले
भुक्तान गरेको बैँस एकाएक फिर्ता पायो
युवा बैँकर भएर ऊ, कर्पोरेट अफिसभरि छरियो
ब्यूँझेर छाम्दा
भक्तमानलाई बूढो उमेर झन् घाँडो भो ।

Abhas – Ma Kathor Kavi

मन धराप भएपछि
यसमा केही अट्दैन
तिमी प्रेमको प्रश्न गर्छौ ?
यहाँ त घृणा पनि अट्दैन

त्यही धराप मन बोकेर हिँडेको
एउटा भरिया
म एक्काइसौँ शताब्दीको द्वारमा उभिएको
एउटा आश्चर्य
म कठोर कवि
जसलाई
प्रेममा कुनै चासो छैन
र घृणामा पनि
म सम्वेदना बिहिन हुँदै गएको
एउटा मासुको डल्लो
जसलाई
जताबाट ठुँगे पनि हुन्छ
कुनै दर्दानुभूति हुनेछैन
धराप मनमा दर्दको स्थान हुन्न
दर्दहीनलाई
जसरी चोक्ट्याए पनि हुन्छ
तिम्रो खुसी
तिमी खुकुरी बने हुन्छ
तिमी नै अचानो बने हुन्छ ।

Abhas – Bikshipta Ghodchadhi

घोडचढी
घोडामाथि छ
र ऊ आफैंलाई थाहा छैन
ऊ केमाथि चढिरहेछ
अहिले
चर्को घाम छ या बादल
यो पनि उसलाई थाहा छैन
सडकमा
कालो लम्पसार सडकमा
केको लस्कर लम्किरहेछ
जुलुस, मलामी या जन्ती
आकाशमा
नीलो आकाशमा
चमचम के चम्किरहेछ
चन्द्रमा, तारा या उपग्रह
उसलाई केही थाहा छैन
कहिलेकाहीँ
घोडचढी सपना देख्छ
घोडामाथिबाटै सपना देख्छ
सपनामा–
चिहानमा गडिएको मान्छे उठ्छ
र निर्धक्क उसित बोल्छ
अस्ताएको घाम
फेरि उदाउँछ
र उसलाई पोल्छ
अनि ऊ
बरबराउँछ
बारम्बार बरबराउँछ
जब ऊ ब्युँझन्छ
घोडालाई सन्निपात भएको छ
या ऊ आफैंलाई
ऊ केही थाहा पाउँदैन
आकाशमा
माथि माथि नीलो आशमा
मेघ गर्जिरहेछ
या सडककै
कङ्कलाशब्दको प्रतिध्वनि
अविराम वर्षा भैरहेछ
या उसकै स्वागतमा पुष्पवृष्टि
अथवा
बूढा पातको मृत्युले ल्याएको पतझड
उसलाई केही थाहा छैन
अहिले ऊ
बगैँचाको सुगन्धमा
यात्रा गरिरहेछ
या तबेला भित्रकै जात्रा
यो समेत उसलाई थाहा छैन
घोडचढी
मात्र घोडा चढिरहेछ
घोडा
उसको प्रिय घोडा
सकि नसकि हिनहिनाइरहेछ
विक्षिप्त घोडचढी
मात्र घोडा चढिरहेछ ।

Pratima KC – Jeevan Mrityu

प्रतिमा के.सी. – जीबन मृत्यु

ईश्वरको बरदान् मानिस जीवन् चैतन्य रुप गरी
मिल्दछ एकदिन् गएर उसैमा उडेर हावा सरी
जन्म मृत्यु बीचमा बग्ने समय त्यही हो हाम्रो जीवन्
भूतकाल र भबिष्य बीचको वर्तमान हो जीवन

बुझिन्छ जीबन् मृत्युका पनि सार आत्मदर्शन गरे
प्राणीहरु सबमा अति उत्तम मानव् जीवन् नै छ रे
नास र अविनासी तत्व मीलि मानब् शरीर बन्दछ
जन्मेर यस धरती मा उसले कसरी त्यो भुल्दछ

रीस राग मोह लोभको खेती गरेर जीवनभर
आउनु छ एक्लै जानु छ एक्लै लानु आखीर के छ र
अमूल्य रतन हो मानीस जीवन् मिल्दैन बारम्बार
पर्दछ जीवन सफल पार्न भए नि भवसागर

जन्मिन्छौ यस धरतीमा जसै बोल्छिन् आमा प्यारले
गर्नु के थियो किन जन्मियौ भुलिदिन्छौं सब साराले
बाबा आमा दाजु भाई बहिनी नाता र कुटुम्ब भनी
गाउँ समाज देश वरिपरी घुमेर बित्छ जीबनी

शैशबकाल सबै बितेर जान्छन् माटोमा खेली खेली
आमा बाबा मामा अनि बुबु पापा सिक्दैमा तोतेबोली
आउँछ बालककाल क ख रा एक दुई सिक्नै पर्ने
थाहै नपाई सिकाउछ यौवनले मायाप्रीति गर्ने

घुम्दछ मानवचक्र जगतमा बालक बृद्ध गरी
बालक फेरी बन्दछ बाबुआमा थपिन्छ जिम्मेबारी
पुरा गर्छु भन्दै कर्तब्यहरु लागेर जीबनभर
नबुझिकनै गुम्दछ यो जीबन पराई हुन्छ घर

बांच्दछौं जतिनजेल, त्यसको आधा निद्रादेबीलाई
बांकी रहन्छ जो हामीलाई संसारमा जीउनलाई
आधामा आधा खेलेर हांसेर गैहाल्छ जीबन फेरी
शेष समय जे रहन्छ उर्बर बनाउँ केही गरी

कहिल्यै नमर्ने म अजम्बरी भनेर गरे नि ढिपी
पापी कालले आएर एकदिन् लैजान्छ टपक्क टिपी
के गर्नु खै तेरो र मेरो जगमा यो मानिसको चोला
मिलेर बसनु हासेरै बोलनु यसैमा बेश होला

न भन्छ उसले बालक युवा न बृद्ध निरोगी पनि
दुखी सुखी लैजान्छ सब्लाई क्षणभरमै गनी गनी
सवार गर्दछ पवन रथमा अदृश्य भई कन
नाता कुटुम्ब धन सबबाट चुडाईदिन्छ जीबन

जब छुट्दछ प्राण देहबाट नीर्जिब् शरीर बन्दछन्
पारी खरानी नदी किनारामा मृत्यु घोषित गर्दछन्
यही सत्य राखेर मनमा सत्यको नजिक रहनु
धुलाई सारा मनका बिकार हृदय पबित्र हुनु

नियमै उसको दुख र सुखमा संझौता गर्दैन त्यो
बाटो नै हो उसको मानब देह टारेर टर्दैन त्यो
लिएपछि जीबन हामीले गर्नै पर्दछ मृत्यु धारण
त्यसैले असल सेवामा गर्नु पर्छ जीबन अर्पण

हाल: बेलायत
१८ डिसेम्बर २०१०

(Sent to Sanjaal Corps via Email)

Rajendra Pahadi – Shuvakamana Kheti

राजेन्द्र पहाडी – शुभकामना खेती

एक ठेली शुभकामनाका
प्रचार सामग्री
काखी च्यापेर
ऊ हतार र बेहोशी दौडिरहेछ
चोक, गल्ली र खुल्ला सडकमा
दशैं, तिहार, महः पूजा,
नेपाल सम्बत्, छठ,
बकर इद, क्रिस्मस र आदि इत्यादि
सुभेच्छा बा“ड्ने बहानामा,
आफ्नै प्रचारको खेती गर्न
कार्ड छपाउ“छ ऊ
हुलाक कामविहिन भएको देखेर
दुईबीस कार्ड जिम्मा लगाउ“छ
टा“चा लगाएर
ठालूहरुको ठेगानामा,
र मेट्छ शुभकामना बा“ड्ने प्यास ।

ऊ अर्थात् ऊहरु
पत्रिकाका पानामा आफ्नो फोटो छाप्छन्–
खिसिक्क नक्कली मुस्कान सहितको
र दुनियालाई उल्लु बनाउ“छन् ।
शुभकामना र बधाईको बहानामा
फेसबुकको भित्तो टालेर
बेतुक प्रचार सामग्रीले
आत्मरतीमा बा“च्छन् ऊ र ऊहरु ।

प्रचारको फाइदा जानेका यिनीहरु
हल्लाको काइदा बुझेका यिनीहरु
कहिले हुकिचिल हुइ“किन्छन्
कहिले गुमनाम स्थलतिर सुइ“किन्छन्
अनि…
रेडिमेड समाचार छापेर छापामा
कपिड न्यूज पढाएर एफएममा
अब्बल घोषण गर्दै आफूलाई
अनन्त शुभकामना बा“डिरहेछन्
ऊ र ऊहरु ।

झिना–मसिना ठानेर अरुलाई
बेइमानी र घमण्डको लात्तो हान्नेहरु
आफ्नो ‘माल’ को गुणवत्ता
दाउमा लगाइरहेछन् सडकभरी
र निरपेक्ष मसिहा ठानिरहेछन् आफूलाई
विश्व विजेता झैं ।

सडक पेटीका दुबै किनारा
हात थापेर प्रसस्तीको
भिख मागेर अमरत्वको
श्रेष्ठ भनी माग्न
वीर भनी ठान्न
याचना गरिरहेछन्
शुभकामनाको बहानामा
अशुभ खेल खेलिरहेका
ऊ र ऊहरु ।।

कुश्मा, पर्वत

Shrawan Mukarung – Sanki Tara

कसैलाई वास्ता छैन– उसको आगमनको ।

बरु छ–
भर्खरै,
त्यो तरुनी चन्द्रमाको हातबाट एउटा निरीह फूल झरेको
खेतको आकाशलाई सानो झरीको दाग लागेको
धानको बाला थोरै उठेको
लाटोकोसेरो ढिलो उडेको

बरु छ–
भर्खरै,
त्यो Continue reading “Shrawan Mukarung – Sanki Tara”

Pravin Rai Jumeli – Gaunle Gajni

प्रवीण राई जुमेली – गाउँले गजनी

जुन दिन त्यसले मेरो टाउकोमा १७७९ अगिको फ्रान्स बजारेर गयो
त्यस दिनदेखि यता म एन्टेरोग्रेड अम्नेजियाले ग्रस्त छु
म भन्न सक्तिनँ कतिबेला मेरो स्मृति जान्छ र कतिबेला त्यो फर्किन्छ
भुलेकाहरुलाई सम्झिनैलाई जिउभरि झरी र बादलहरुको टाटू खोपिराखेको छु

विपनाको पत्करहरु टेक्दै जीवनको फारम भर्न
आउनेहरुलाई म सधैँ तयार राख्छु मेरो जवाफ
पहाड मेरो आमा माटो मेरो पत्नी र पसिना मेरो सन्तान
ब्लिडिङ टेक्नोलजीको बैसाखी टेक्दै खेलहरु बेचिहिंड्ने ब्रोकरहरु झैं
भ्रमको अविराम ‘कमेडी सो’मा थप्पडीहरु खोज्दै गाईजात्राहरु
मेरो जिउने कलाको खिल्ली उडाँउदै खूब ‘मिमिक्री’ रच्छन्
अहो म तिनीहरुको समृद्धि बढाउने गाउँले गजनी सत्ते होइन
मेरो मनको हार्ड-डिस्कबाट तिनीहरुकै घमण्ड र रीसले
सन्तोक र रसमयताका फाइलहरु चुन्दै डिलिट गरेको छ
अहिले-अहिले सुन्दैछु मैले भुलेको ती स्मृतिहरु सबै
विस्मृतिको मेमोरी-चिपमा हालेर कुन्नि
समयको कमोडमा फ्लस् गरिएका छन् अरे

म एउटा रुख यो भेकको वारिपारि फैलिन सक्छु
केही घामको प्रकाश र झरीका थोपाहरु यतातिर पनि छिरिदिए
म पनि हरियै भएर झ्याँगिन सक्छु
कसले छोप्यो हँ यो अकासलाई कसले छोप्यो
कसले चुँडायो नी मेरो गाउँले-स्मृति मबाटै हँ
कसले डण्ठ्यायो मेरो गाउँले-इच्छाहरुको टाउकोमै
भनिन्छ यस्तै स्मृतिहरु खाएर मात्रै नअगाउनेहरु त कति छन् कति
फेरि भागेर आफैलाई सन्तोकको एकान्तसित
बहाल गराउने त्यस्तो मुलुक पनि खै कहाँ पाइयो र
तबै त साधु-बाक्केहरु अवसरहरुको झोलाभरि बोकी
स्मृतिको व्यापार गर्न आउनेहरुदेखि लुकिहिंड्नै पनि कहाँ सकियो र

ठूलो केही नाप्दैनस् भने किन जन्मिस् नाथे
सोद्धथे मासुले निर्मित बाबु
खै जन्मिनु अगिको अनाम र अचेतनतामा
जीवनको रहर उम्रिसकेको थियो पनि कसरी भन्नसक्छु र
त्यसरी मेरो आउनु यो संसारमा पूर्वनियोजित नै कहाँ थियो नी
यसैले भनिदिन्छु म त औल्याउँदै अनाम समयको चित्रगुप्तलाई
अब यसलाई पनि तँ एउटा षडयन्त्रको रुपमा दर्ता गर् ए
अनि भनिदे कि यो म जस्तो भएर मेरो आउनु
कतै पच्य कुरा होइन स्वागतयोग्य विषय होइन
यसैले मलाई तँ सधैँ रिमान्डमा राखिबस्
र यो खप्परमा १९१७ अगिको रुस ठोक्दै सोधिबस् सोधिबस्
तेरो आत्मकथा के हो र चुनौतीहरु के-के हुन्
के हो तेरो उद्देश्य र के-के हुन् पहलहरु
स्वाभिमान तेरो के हो र तँ मर्ने पुर्पुरो कहाँ छ
अनि म देखाइदिऊँला त्यही समयको खोल्सातिर
जहाँ तिमीहरुको भागको समय पनि
मेरो स्मृतिको मेमोरी-चिप खोज्दा खोज्दै तुरिजानेछ।।

Bikram Subba – Barnan

सुन्दर छ जवानी चढेको तिम्रो जिउ
तिम्रो काखीका ढिस्कोमा उम्रेका सग्ला पाखुरा
सलक्क पाखुरामा फलेका हत्केला
र सलसलाउँदा औँला फलेका हत्केलाहरू
जसले बोकेका थिए – इन्क्लाबी झण्डाहरू !
हातहरुलाई लाठ्ठीले गोदेर भाँचिदिए
यत्तिबेला तिम्रा हातहरूमा
डम्म बाँधिएकाछन् प्लाष्टर–ब्यान्डेज
प्लाष्टरले बेरबार गरेपछि पनि तिम्रा हातहरु
नेपालको ईतिहासमा
राजाका शासनजति भद्दा देखिएकाछैनन् ।

हात्तीका सुँडझैँ मिलेर सर्लक्क झरेका तिम्रा खुट्टा
त्यहाँ जडित् इमान्दार तिघ्रा, घुँडा, पिँडुला र पाइताला
जो सम्पूर्ण शक्तीसहित आन्दोलनमा हिँडिरहेका थिए
खुट्टाका आँख्ला-आँख्लामा गोली हानेर भाँचे
तर अझै पनि तिम्रा खुट्टाहरु
यो मुलुकको गोठालो बिहिन सम्बिधानका
दफाहरुझैँ छियाछिया भएका छैनन् ।

दुनियाको सबैभन्दा सुन्दर चित्र भन्नु
ढकमक्क यौवन फक्रेको अनुहार हो
हेरिरहुँ… लगातार हेरिरहुँजस्ता
आँखा, नाक र गाला जडित तिम्रो वैसालु अनुहार
मसालझैँ धपक्क बलेर
नयाँ युगको नारा वातावरणमा फालिरहेथ्यो
सृष्टिको त्यो कञ्चन फूललाई
मुक्का र लात हानेर रक्त–रञ्जीत तुल्याए
नील-डाम र घाउहरू देखिन्छन् मुखैभरि
तर अझै पनि तिम्रो अनुहार,
पार्टीका बाँदरहरुले लुछेर थाङथिलो पारेको
यो मुलुकको लोकतन्त्रझैँ कुरुप देखिएको छैन ।

Gopal Kawali – Hami Dui Mili Khelna Lai

गोपाल कवाली – हामी दुइ मिलि खेल्न लाई

हामी दुइ मिलि खेल्न लाई जान्थौँ पूर्व छ कट्ठामा
लुकिडुम खेल्दा म जित्थें सधै उ जित्थी गटटामा

कहिले काहीं म नि गाई हेर्न जान्थें रुद्रेको सट्टामा
चोरेर ल्याउथि उ धुले अचार हर्लिस को बट्टामा

सुन्बर्सी थान दुध लियी जन्थौँ बैसाखे मेलामा
जेरी र बरफ किनेर खान्थौँ फर्किने बेलामा

जिस्केर मैले केहि भने भने तरक्क रोइ दिन्थी
रिसाई फेरी झर्केर मलाई लाटीको पोइ भन्थी

टाडाको स्कूल बाटो थ्यो लामो गफमै काटिनथियो
मयुरको प्वाख लुकाई भित्र नोट कपि साटिनथियो

यस्ता थिए पल बालक कालका कहाँ गए बिलाई?
सम्झेर ल्याउछु हुर्केको मेरो सुनौलो “भेलाही”

Tulasi Prawas – Timi Sanga Ta Prem Po Bhayechha

तुलसी प्रवास – तिमीसँग त प्रेम पो भएछ

प्रिय बेगनास !
तिमीसंग त पहिलो नजरमै
प्रेम पो भएछ
लामो यात्रादेखि थकित पाइलाहरु
हिउँदका उदास आँखाहरु
तिम्रो शरदीय मुस्कानमा भुलेछन्
कस्तो अचम्म बेगनास
तिमीसँग त प्रेम पो भएछ ।

आफ्ना निश्छल आँखाहरु
एकोहोरो मैतिर टोलाउँदै
प्रतीक्षारत तिमी
उपत्यकाको माझमा लमतन्न सुतेर
मेरो आगमनको ,मेरो पवित्र प्रेमको
स्वागत गरेकी रहिछौै
कस्तो अचम्म बेगनास
तिमीसंग त प्रेम पो भएछ ।
बेगनास तिम्रो वरिपरि त
हिउँदमा पनि वसन्ती हावा सुसाउँदोरहेछ
शरदीय सुुवास फैलँदोरहेछ
पानी पानी भन्दै मरेका
लाखौं मरुभूमिवासीको निम्ति
पृथ्वीको स्वर्ग बनेकी रहिछौ
त्यसैले बेगनास
तिमीसंग त प्रेम पो भएछ ।
मेरो धर्तिकी स्वर्ग तिमी
मेरो हृदयकी धड्कन तिमी
अलिकति पर हिमाल हँसाउदै
अलिकति वर आफू रमाउँदै
लाखौंको क्यामेरामा कैद भइछौ
तर पनि तिमी पवित्र छौ बेगनास
तिम्रो निर्मल प्रेमको सागरमा
डुबुल्की मार्ने मेरो धोको पूरा भयो
अचम्म बेगनास
तिमीसंग त प्रेम पो भएछ

तिमीले थाहै पाइनौ बेगनास
तिमीलाई मैले सुटुृक्क लुटिसकें
तिम्रा अधरको रस चुसिसकें
चाहे त्यसलाई तिमी स्वीकार गर
या बलत्कार भन
तिम्रा वक्षस्थलमा म रमाइसकें
अब तिमी केवल मेरी भयौ
म तिम्रो भएँ
त्यसैले त भन्छु बेगनास
तिमीसंग त प्रेम पो भएछ ।

बेगनास तिम्रो जवानी अचम्मको छ
अजीवको छ त्यो कहिल्यै बूढो हुदैन
कुनैबेला तिमीलाई लेखनाथले लुटे
कुनैबेला तिमीलाई माधवले लुटे
कुनैबेला तिमीलाई अलीदाइले लुटे
तिमीले धेरै कविबाट लुटिइसक्यौ
आज मैले लुटेँ
त्यसैले तिमी मेरी हौ बेगनास
कस्ता संयोग
तिमीसंग त प्रेम पो भएछ ।

Lekhnath Paudyal – Kedar Darshan Ko Rahasya

लेखनाथ पौड्याल – केदार दर्शनको रहस्य

लाखौँ चोसे र मोसे
विषयसुख-शिलाशैल चिर्दै बहेकी
श्रद्धा-मन्दाकिनीको
विकट तटतटै भै चनाको विवेकी ।
कैलासेपत्यकाको
सुमधुर छबिमा गुस्छ जो भक्तिसाथ
तीर्थाऽऽत्मा Continue reading “Lekhnath Paudyal – Kedar Darshan Ko Rahasya”

Krishna Dev Rimal – Aaran

कृष्णदेव रिमाल – आरन

हो आमा !
अब म चाँडो फर्कन्न
अचेल मैले टुँडीखेलमा
एउटा आरन थापेको छु
यहाँका थुप्रै बोधाहरुलाई
अर्जाप्न थालेको छु ।

पहेंला पत्रकारहरु
काला पसलेहरु
समय चोर अगुवाहरु
थुप्रै देखिरहेछु म
अर्जाप्न बाँकी मेरा
अनुमानका सूचीहरुमा ।
क्रान्तिले नफोरेका गाँठाहरु
मतको इज्जत लुट्ने स्वाँठहरु
रक्षकभेषी भक्षकहरु
यी सबका सबलाई
मैले नै अर्जाप्ने हो आमा
अब म चाँडो फर्कन्न ।
सासलाई बेस्करी सरापेर
लाशको प्रार्थना गर्नेहरु
यी सारा बोधा मष्तिष्कहरु
पक्तिबद्घ देख्छु यही वरिपरि
धेरै अर्जाप्नु छ आमा
अब म चाँडो फर्कन्न ।

गरीवीका बाध्यतालाई
दुखीका आँसुलाई
अन्यायका चोटहरुलाई
सर्पझैंं चिप्ला हातहरुले
सुम्सुम्याएर
बोधोपन बिस्कुन्याउने
यहाँ यथेष्ट छन्
यी अविवेकीहरु अझै
अर्जाप्न बाँकी छ आमा
अब म चाँडो फर्कन्न ।

चोइट्याएर मातृचेतहरु
चपाएर भातृचेतहरु
तपाईको मुटुमै हात हुल्ने
हुँडारहरु अझै
अर्जाप्न बाँकी छ आमा
अब म चाँडो फर्कन्न ।

चरित्रका सगरमाथाबाट
हर्दम हिउँ पगाल्नेहरु
स्वार्थतिर शिखरिनेहरु
फूललाई धूलो ठान्नेहरु
नेपाली निश्छलताको
व्यापार गर्नेहरु
देखिइसके टुँडीखेलतिर
अझै अर्जाप्न बाँकी
कति कति आमा
अब म चाँडो फर्कन्न ।

Ram Kumar Basnet – Awaz Haru

रामकुमार बस्नेत – आवाजहरू
(मधुपर्क २०६६ भदौ)

केही आवाजहरू
तलबाट बढ्दै, चढ्दै
क्षितिजमा पुगे
र मौनतामा बिलाए ।
केही आवाजहरू
जो पहिल्यै
क्षितिजमा थिए
ती झर्दै, लड्दै र झर्दै
शून्यतामा हराए
Continue reading “Ram Kumar Basnet – Awaz Haru”

Tilak Thangden – Mero Desh

तिलक थाङदेन – मेरो देश

मेरो आखाभरिको मेरो देश
मेरो आत्माभित्रको परीवेशमा
मिठो सपनाबाट बिउझेको बिहान लिएर
मेरो झ्यालबाट मेरो आङ्गणबाट
पलाउने र फक्रने गर्छ ।
मेरो देश सागर महासागरको देश होइन
अति उफ्रिरहने छालहरुको देश पनि होइन ।
घुम्टो ओढेर घुम्टो उघारेर बसेको थुप्रै थुप्रै
परिहरुको भेषमा चराहरुको आवाज लिएर
मेरो देश गुन्जने गर्छ ।
मेरो देशमा युध्द छैन ।
यो बुध्द्को देश हो ।
युगौ युगदेखि पुराण र इतिहास अंगालेर
बसेको यो सेतो हिमालको देश हो ।
अलौकिक श्रींगारले सजिएकी परीजस्तै
मेरो देश देशहरुको पनि देश हो ।

Ananda Ram Paudel – Loktantra Ko Aawaj

आनन्दराम पौडेल – लोकतन्त्रको आवाज

कोलाहललाई पुरेर
त्यसमाथि गरिएको ढलानमा
मचक-मचक हिंडिरहेछन् बुटहरू
बुटबाट आवाज आइरहेछ- लोकतन्त्र
(यथार्थमा आफ्नै अन्तरआत्माबाट प्रस्फुटित)
बुटको पदचापबाट ध्वनित आवाजले
सिपाही झस्कन्छ
सदियौंदेखि
मस्त सुतिरहेको
सत्ता छेवैमा छ
ढलान हेर्छ
बुट हेर्छ
कहीँ चुक छैन
सिपाहीलाई यत्ति थाहा छ-
सत्ताको ऐसआराममा
दखल पु-याउनेलाई
सिध्याउनै पर्छ
सत्ता सुकुमारी छ
कोमल गुलावी छ
सानो आवाजले पनि चोट पार्छ
झन् असन्तुष्टिको आवाज
कति कर्कश हुन्छ !
व्यथाहरू, पीडाहरू, आर्तनादहरू
झर्को लाग्ने आवाजहरू
सबै पुरिसकिएकै छ
पुराइमा शङ्का छैन
बरु यो बुटभित्र के छ ?
यो बुट बनाउने
मजदुरको अनुहार
रातो-रातो, तातो-तातो थियो
स्वर ठ्याक्कै यस्तै थियो
मजदुरलाई खोज्दै
सिपाही जति छिटो
जुत्ता कारखानातिर लम्कियो
बुटबाट त्यत्तिकै छिटो
लोकतन्त्र लोकतन्त्र आइरह्यो
त्यो शब्ददेखि तर्सेर
सिपाही झन्-झन् छिटो कुदिरह्यो ।

Biwash Bipra – Ankhaharuma Jiwan

बिवश बिप्र – आँखाहरुमा जीवन
(Sent to Sanjaal Corps via Email)

हेर्दै,
परागकणहरु बाँचेको !!
भर्दै,
टोकरी स्वेत–जीवनको !!

…समानता
उहि भ्रुणहरु
उस्तै बिकासक्रम
अनुमानीत
कर्मकलम पनि
एकै … Continue reading “Biwash Bipra – Ankhaharuma Jiwan”

Geeta Tripathi – Bina Wajan Ka Manchhe Haru

गीता त्रिपाठी – विना वजनका मान्छेहरु

बादलको देशमा
बादलकै मान्छेहरु
टेक्छन् बतासे खुट्टाहरु र
सरिरहन्छन् कहिले यता
कहिले उता

तिनका हलुका वजनहरु
तानिँदैनन् पृथ्वीको गुरुत्वाकर्षणतिर
मातृशक्तितिर
ती Continue reading “Geeta Tripathi – Bina Wajan Ka Manchhe Haru”