Komal Bhatta – Sirjana Lai Khoji Khoji

कोमल भट्ट – सिर्जनालाई खोजी खोजी (गज़ल)

सिर्जनालाई खोजी खोजी चोर्न थाले अचेल भरी
लुटाहारले लुट्दा जस्तै सोर्न थाले अचेल भरी

प्रस्तोता लाई हटाएर लाज र शरम पचाउँदै
आफ्नै नाम र ठेगाना पो कोर्न थाले अचेल भरी

दुनियाँका आँखा भित्र छारो हाल्दै पित्तलमा
सुनको जलप लगाएर मोर्न थाले अचेल भरी

नभन्दानि अचाक्लीभो भन्दा रिसले भुत्भुताउँदै
मित्रतालाई झर्ल्यामझुर्लुम फोर्न थाले अचेल भरी

नैतिकता र इमान्दारी रछान माथि मिर्काएर
सच्चा होइन झुट्टा नाता जोर्न थाले अचेल भरी

पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका