Kedar Shrestha ‘Gagan’ – Sapani Ma Dekhen Aaja

केदार श्रेष्ठ‘गगन’ – सपनीमा देखेँ आज

सपनीमा देखेँ आज गाउँमै भएको
कान्छीसँगै घाँस,दाउरा,मेला गएको ।

आँगनभरि मखमली,वेली फुलेको
लहलह धानको बाला खेतमा झुलेको
साद्या गुन्द्रुक,मकै,भटमास,मोही खाएको
कान्छीसँगै घाँस,दाउरा,मेला गएको ।

उस्तै थियो घाम,जून उस्तै गाउँघर
सोध्दै थियो चौतारीको पीपलु र वर
धेरै पछि देखेँ आज गाउँमै भएको

Manoj Neupane – Manchhe Bhitra Ajhai Jangal Jibit Chha (Gajal)

मनोज न्यौपाने – मान्छेभित्र अझै जङ्गल जीवित छ (गजल)
(Source: मधुपर्क असार, २०६८)

मान्छेभित्र अझै जङ्गल जीवित छ
र त पाइलैपिच्छे ऊ विभाजित छ ।
दुनियाँ बदलियो भन्नु मात्र हो
पुरानै दुःखले जो कोही आजित छ ।
किताब लेख्न जनावरले जान्दैन
यसै कारण मानिस सम्मानित छ ।
ब्याटरी सकिएपछि ऊ चुप लाग्नेछ
अहिले रिमोटबाट सञ्चालित छ ।
अरुलाई दोष दिने बानी नराम्रो
मान्छे आफ्नै कर्मबाट प्रताडित छ ।

Komal Shrestha Malla – Nelson Mandela

कोमल श्रेष्ठ मल्ल – नेलसन मण्डेला !

नढल्नु पर्ने बृक्ष ढल्यो ???
बिना बादल
विश्वमै झरि पर्यो
आखा आखाबाट ..!!
पृथ्बी भरी फैलियको एउटा बृक्ष
विश्व चेतनामा
बाचेकोछ तर
हासेकोछ तर
बिजयमा फहरायको छ तर .. !!
बिशाल आकास मुनी
बिशाल धर्ती भरी
पुस्तक बने उनी
अलौकिक पाठ सिकाउने
उपहार बने उनी
बिश्वकै हात मिलाउने
चादनी िकरण बने उनी
स्वाधिनताका
एकताका
समानताका समानताका …!!
नेलसन मण्डेला !

Bidhya Prasad Ghimire – Nishthurilai Afno Thaani Prit Laaye Pachhi (Nepali Gajal)

विद्याप्रसाद घिमिरे – निष्ठुरीलाई आफ्नो ठानी प्रित लाएपछि (गजल)

निष्ठुरीलाई आफ्नो ठानी प्रित लाएपछि
सस्तो बन्न थालेँ मित्र धोका पाएपछि ।

दिन–रात, हाँसो–खुसी उस्तैउस्तै लाग्छ
यस्तै हुने रै’छ साथी होश हराएपछि ।

कहिले छट्पटिन्छु कहिले मुर्छा परी रून्छु
मुर्दा सरी हुन्छु उनको याद आएपछि ।

मिल्नु–छुट्नु, हाँस्नु–रूनु जिन्दगीको खेल
नाङ्गिएछु यस्तै खेलमा सब गुमाएपछि ।

यही प्याला रह्यो साथ यस्मै रम्छु अब
आपैmलाई बिर्सिन्छु म यो रित्याएपछि ।

जीवन भन्नु गुम्नु अनि गुमाउनु नै रै’छ
मान्छे बन्न खोजिरा’छु सब लुटाएपछि ।

निष्ठुरीलाई आफ्नो ठानी प्रित लाएपछि ।
सस्तो बन्न थालेँ मित्र धोका पाएपछि ।

Shakuntala Joshi – Abhiyukta Samaya Ra Sapana Ko Taltal

शकुन्तला जोशी – अभियुक्त समय र सपनाको तलतल
(मधुपर्क पुस, २०६७)

झरी थामिएपछिको झिसमिसे
पीडाको धराप साँघु बिछ्याएर छातीमा
निर्निमेष हेरिरहेछ ऊ-जूनको दोछाँयामा
कोही फर्केर आउने आशाको
साँघुरो गल्छेडीतिर
उन्मत्त वैंश उम्लिएको
घोडा युगलाई कोर्रा मार्दै
आगोका झरिला कोइला चबाउने
तरुनी अनुहारहरूले
थुन्सेभरि लिएर आउने उज्यालो हेर्न
धमिलो आँखा मिच्दै
पर्खिरहेछ ऊ आतुर मन लिएर
के आउलान् त तिनीहरू ?
चिसो आङहरूमा न्यानो स्पर्श लिएर
वा कस्ता होलान् ती सपनाहरू ?
उसको आदिम बस्तीमाथि
पिरामिड उभिएको
अभियुक्त समयको टाउकोमा टेकेर
हिँडिरहेका जवान छोराहरू हेर्दै
नियाल्छ सुस्तरी
आकाश चुहिएको छाप्रोको छानो
कहिल्र्य नभरिने अभावको मानो
धनुकाँड खोसिएका रित्ता काँध
सभ्यताको पोल्टाबाट लुछिएका
झुलो, चकमक र दल्छिन् ढुङ्गाहरू
ढुङ्गासँगै टुक्रिएका विश्वासहरू
विश्वाससँगै भत्किएका जीवनहरू
यस्तै-यस्तै होलान् ?
या कस्ता होलान् ती सपनाहरू ?
ऊ नागरिकता पाएर अनागरिक बाँचेको मान्छे
तिम्रो आश्वासनको जीवन्त अभिनय
हेरिरहेछ ध्यानपूर्वक
आफ्नै आँगनमा परदेश उभिएका
मेची र महाकाली
आफ्नै धारमा बेधार बग्न विवश
कोशीका छालहरू हेर्दै
सोचिरहेछ ऊ
के फेरि फुल्छन् बागहरूमा निर्भयफूल ?
या कस्ता होलान् ती सपनाहरू ?

Pravin Khaling – Narcotics Gaun

प्रवीण खालिङ – नार्कोटिक्स गाउँ

यो बर्खादेखि
धाराको पानी सुक्यो
खोल्सामा मूल फुटेन
धनमानले पनि खेत जोतेन।
अनौ समात्ने हातले झण्डा समातेपछि
गाउँ बाझो भएको छ जीवन उमार्न नसकेर।
माटोको गन्धले मस्त हुने गाउँ
अहिले डोपिङ गर्छ
सानुमतिको ढुग्री, बुलाकी र तिलहरूहरू चिटफण्डमा हालेर
सुकेनाश भनेपछि थर थर काप्ने गाउँ
एड्सको विज्ञापन सुन्न मन पराउँछ।

यतिले पनि गाउँलाई पुग्दैन
सँञ्चो विसँञ्चो छदै छ
अपुगको लहरे खोकि चलिबस्छ
बेला न कुबेला ख्वाक ख्वाक..
पहेलो फायल बोकेर गाउँ शहर गइबस्छ
गोरेटोहरूको सेक्स चेञ्ज गर्न चहान्छ गाउँ
अलकत्रे सटकमा हिँडन चाहन्छ गाउँ
नरेगाको क्यामोफ्लाइज रोजगारले
हराएको जस्तो लाग्ने गाउँको दुःख
प्रत्येक दिन हाम्मे हाम्मेमा दुख्छ
गाउँलाई पनि अवसाद हुन्छ
हाइपर टेन्सन हुन्छ
यत्रो विशाल व्यवस्थासित भिड्न्त गर्नसक्ने क्षमता कहाँबाट ल्याओस गाउँले
त्यसैले डोपिङ गर्छ गाउँ
नार्कोटिक्स लिन्छ गाउँ।
पहिलेको हली अहिले राजनीतिको हल्ला भएको छ
पाटीमा पार्टीको कुरा गरिबस्छ
तर उसले बुझ्दैन

पार्टीले दशैं नटर्ने कुरा
पार्टीले मूल नफुट्ने कुरा
पार्टीले न चाढ़ टर्छ
न त मुखमा माड़ पर्छ
तरैपनि यो गाउँ डोपिङ गर्छ
राजनीति गर्छ।

Saroj Dhital – Saitan Ko Yug

सरोज धिताल – सैतानको युग

क्षमा गर भगवन् !
अब यो रुखको वास
तिमी छोडिदेऊ
र चित्त बुझाऊ
सानो गमलाको तुलसीमा
यो त पीपलको रुख हो
पायो भने बेस्सरी पैmलिन्छ यो
जगतै ढाक्न सक्छ यसले त ।

म त मान्छे
तिमीलाई जत्तिकै खुसी पार्नुपर्ने
अर्को छ मेरो जीवनमा
सैतान ।

उसको लागि
तिमीलाई जत्तिकै ठाउँ चाहिन्छ यहाँ
युग त
तिम्रोभन्दा बढी उसैको हो ।

हिउँद, २०६०

Rupesh Rai – Kranti

रुपेश राई – क्रान्ति

अब, कस्तो क्रान्ति चाहियो हँ?

प्रश्नै प्रश्न मात्र उम्लिरहन्छ
अरुवा उम्लने गाउँमा। सहरले
छ्वाइँय भुटुन हाल्यो राजमा दाल।

बास्ना चल्दैन गाउँमा
रुगाले प्याल-प्याल सिङान मात्र Continue reading “Rupesh Rai – Kranti”

Suyarma Rai – Oh Buddha

सुयर्मा राई – ओ बुद्ध … !

एक भीड मान्छेहरू
भर्खरै युद्धपोतबाट फर्केर
एकजोडा परेवा
उडाए आकाशमाथि- भुर्ररर
शान्तिको नाममा ।

म सधैंजसो देख्ने गर्छु
मान्छेहरू जीवनको लामोखण्ड
गोलावारुदमा बिताएर
एकनिमेष फूर्सद
परेवा उडाउन भीड गर्छन् यो ठाउँमा ।

लामो कालदेखि
मैले यो भीड
देख्दैभोग्दै र, यी मान्छेहरू पढ्दै आएको छु ।
एक क्रुर
तर उदासीन-आँखा ।
एक कठोर
तर नैराश्य-आत्मा ।
एक हिंस्रक
तर दिशाहीन-मानवता ।
सहसा बोकेर जसै पाइला राख्छन्-यो ठाउँमा ।
र्फकदा उज्यालो चेहरामा
असीम खुशी र चरम आनन्द
पोल्टाएर र्फकन्छन- शान्ति अनुभूतको मृदु मुस्कान लिएर ।

ओ बुद्ध…. ।
हरेक अमानव र क्रुर आत्माहरू
तिमीलाई एकजोडा परेवा उडाएकै भरमा
शान्ति प्राप्त गर्न सक्छ यदि भने
के भो र ? तिम्रो नाममा
हजारौं परेवा उडाउन तत्पर छु – आकाशमा
म एक्लै- ती सम्पूर्ण मान्छेहरूको यादमा ।

Rakesh Karki – Priya Dharahara Timi Bina

इन्जिनियर राकेश कार्की – प्रिय धरहरा तिमी बिना

प्रत्येक चाहनाको आँखामा
अल्झिरहन्थ्यो तिम्रो पिरती
प्रिय धरहरा तिमी बिना
हाय शून्य छ यो धरती

हातहरू तिमीलाई सुम्सुमाउदै
तिम्रो टुक्रा टुक्रा अङ्ग Continue reading “Rakesh Karki – Priya Dharahara Timi Bina”

Badri Palikhe – Rastra Pida

बद्री पालिखे – राष्ट्रपिडा

शरीर
राष्ट्रपिडाको ज्वरोले निष्लोट छ ।
शरीर राष्ट्रनै त हो,
सगरमाथा शिर निहुरिएको छ ।
सँधै घाम उदाउने उज्यालो अनुहार
अँध्यारो देखिन्छ ।
शरिर ज्वरोले निष्लोट छ ।
तनमा ज्वरो छ,
मनमा ज्वरो छ ।
ज्वरो चढेको चढै छ ।
राष्ट्र
पराधिनताको भयस्वास फेरिरहेछ,
जिवन
प्रत्येक साँझ बिहान
मृत्युभय बाचिरहेछ ।
हामि प्रत्येक क्षण र पलहरुमा
भयमिश्रीत गाँस र पिडादायक बासका लागि
ज्वर पिडा भोगीरहेछौ,
राष्ट्र
दुशासनको हातमा परेको छ,
राष्ट्र कुशासनको जालमा फसेको छ ।
शरीर
राष्ट्र नै त हो,
हामी राष्ट्रपीर भोगीरहेछौ,
राष्ट्र
नदीहो जोखिम तिरमा हिडिरहेछ,
शरिर
राष्ट्रपिडाले ज्वरग्रस्त छ,
राष्ट्र
शरीर नै त हो,
शरिर ज्वरोले निस्लोट छ ।

Komal Bhatta – Muluk Ko Khajana Luterai Sakhap Bho (Nepali Gajal)

कोमल भट्ट – मुलुकको खजाना लुटेरै सखापभो (गज़ल)

मुलुकको खजाना लुटेरै सखापभो
भरोषा र आशा चुटेरै सखापभो

गरीवी र भोकले सधैँ ग्रस्त पार्दा
समाजका सुस्वप्ना टुटेरै सखापभो

अशिक्षा र अन्धो समझ फैलिनाले
भविष्यत र भाग्य फुटेरै सखापभो

इलम क्यै नपाई युवाशक्ति सारा
विदेश तर्फ लर्कन छुटेरै सखापभो

कहाँहो सुशासन गयो भक्ति देशको
सबै पद र लोभमा जुटेरै सखापभो
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

Ananda Ram Paudel – Byakaran

आनन्दराम पौडेल – ब्याकरण

साँधसीमाना मिचिएछकि
छिमेकीसँगको व्यवहारमा तलवितल परेछकि
ज्यापुनी दिदी कराइन्
प्रोफेशर सरले
भाषा पढाउन छाडेर
ध्यान दिएर सुने
ज्यापुनी दिदीले धारे हात लाएको
उफ्रि-उफ्रि चिच्याएको
प्रोफेशरले हेरिरहे
र अन्तमा भने
ब्याकरण मिलेन
शव्दसंयोजन, शव्दविन्यास
एउटै मिलेन।

Padma Prasad Mainali – Jastako Tasto

पद्यमप्रसाद मैनाली – जस्ताको तस्तो

कोही उड्छन् गगन विचमा कोही गुड्छन् धरामा ।
कोही रुन्छन् पथ अपथमा नाङ्गीदै यो धरोमा ।।

कोही रम्छन् महलहरुमा शानले भर्भराई ।
कोही घुम्छन् जततत कतै गाँस बास नपाई Continue reading “Padma Prasad Mainali – Jastako Tasto”

Muktinath Sharma – Sahitya

मुक्तिनाथ शर्मा – साहित्य
(Source: मधुपर्क जेठ, २०६९)

पाकेका स्याउका दानाभित्रको रसमाधुरी
काफल् ऐंसेलु सुन्तला आँप अम्बा भरी भरी
जस्तो पाइन्छ सुस्वाद खाँदा आनन्द आउँछ
साहित्य रस हो त्यस्तै स्वादिलोपन ल्याउँछ ।।
के गर्न हुन्छ के गर्न हुँदैन जो बताउँछ
क्रोधको बेग जो रोक्छ सभ्य शान्त बनाउँछ
शान्ति क्रान्ति यही बोल्छ बेला मौका उदाउँछ
साहित्य जीवनीभित्र स्वादिलो पन ल्याउँछ ।।
वन काफलमा जस्तै वासना मग्मगाउँछ
छल्छल्कल्कल खोलीको बोलीमा कल्कलाउँछ
चिर्बिर् चरी जुरेलीको बोल्छ माया लगाउँछ
खाना समाजको हो यो स्वादिलो पन ल्याउँछ ।।
ज्ञानको भोक मेटिन्छ भेटिन्छ चेतना सफा
सच्चिदानन्द सौन्दर्य भावना उच्च निर्मल
उन्नति प्रगति निम्ति ज्ञान विज्ञान छाउँछ
साहित्य चेतना छर्दै स्वादिलो पन ल्याउँछ ।।
भाषाको जननी हो यो मान्छेको श्रेष्ठ मित्र हो
जिन्दगीको उचाइ यो भोगको स्वाद एहि हो
स्रष्टा द्रष्टा यही नै हो समाज मन्पराउँछ
विशाल क्षेत्र साहित्य स्वादिलो पन ल्याउँछ ।।

Aryabiman Chitrakar – Manai Ta Ho

आर्यबिमान चित्रकार – मनै त हो

मनै त हो के बुझोस् यसले
तिम्रा ऐतित्युदका बाघचालहरु
मनै त हो, सहेरै बसिदिन्छन्
तिम्रा करकापहरु
के बुझोस् यसले
तिम्रा स्वार्थका ब्यालेन्ससीतहरु
गाएरै बसिदिन्छन्
आफ्ना यूलोजीका गीतहरु

मनै त हो के बुझोस् यसले
तिम्रा षड्यन्त्रका भुइचालोहरु
मनै त हो नबोलेरै कुर्छन्
आफ्नो पालोहरु
के बुझोस् यसले
तिम्रा सिम्प्याथीका अद्जस्तमेंटहरु
सहजै बनिदिन्छन् साउने भेलका
रेंटल टेन्टहरु

मनै त हो के बुझोस् यसले
तिम्रा डाइमेन्सनका परिधिहरु
मनै त हो बाधेरै राख्छन्
आफ्ना बचाऊ बिधिहरु
के बुझोस् यसले
तिम्रा रंगमंचका नाटकहरु
स्वीकार्य ठान्छन् पार्श्वध्वनिका
कथित बादकहरु

मनै त हो के बुझोस् यसले
तिम्रा पाराडाइम सिफ्टहरु
मनै त हो हाँसेरै थाप्छन्
अनवान्टेड गिफ्टहरु
के बुझोस् यसले
तिम्रा कटुवचनका धारहरु
रेत्त्तिऐरै बस्छन् बरु
गर्दैन् छेकबार अरु

मनै त हो के बुझोस् यसले
तिम्रा दोषका निराधारहरु
मनै त हो कम्प्रोमाइज गर्छन्
धैर्यका आधारहरु
के बुझोस् यसले
तिम्रा मृगतृष्णाका प्रकारहरु
अझै फराकिलो पार्छन्
आफ्नै आकारहरु

मनै त हो केहि बुझ्दैन यसले
मनै त हो केहि जान्दैन यसले
मनै त हो!!
मनै त हो !!!!

Shiva Prakash – Virtuous Maanchhe !

शिव प्रकाश – भर्चुअस मान्छे !

धेरैलाई उस्तै देख्छ
थोरैलाई आफू जस्तै
आफू धेरै हुन सक्दैन
धेरै, थोरै हुन चाहदैन
खुम्चिएर बसेको हुन्छ-
थोरै,
चेतनाको विशाल आयतनमा
एउटा मान्छे जस्तै !

उन्नत छ-
सफेद झूठको खेती
सम्मुन्नति ल्याएको छ –
मान्छे जस्ता देखिने
धेरै मान्छेको जीवनमा धेरै
उ जान्दैन-
धेरैले गरेको खेती
कर्महिन बसेको छ –
एउटा सानो कित्तामा
थोरैभित्र
एउटा मान्छे जस्तै !

बतासमा आकार देख्छ
पानीमा रंग देख्छ
तर केही देख्दैन-
मान्छे जस्ता देखिने धेरै मान्छेभित्र
एउटा भर्चुअस बुद्ध जस्तै
एउटा भर्चुअस मान्छे !

(अश्रृंगार कविता अभियान…)
बोस्टन, अमेरिका

Biplav Pratik – Upaya Ko Khoji Ma

बिप्लव प्रतिक – उपायको खोजीमा

निरुपाय
सुर्यझैँ, जसको अरू उपाय छैन
मानिसका लागि बिहान बिउँझिदनु र सुतिदिनु रातमा
बिलकुल सुर्यजस्तै म पनि बिउँझदै, सुत्दै
उदाउँदै, अस्ताउँदै
एउटा नियममा बाँधिएको छु
अनि उद्देश्य ढाँटेर बाँच्नु
साह्रै कष्टदायक छ मलाई ।
त्यसैले विरोध बोलिरहेछु, नयाँको खोजीमा ।

केही अवश्यै हराएको छ
चोट निरन्तर परिरहेछ
घाउ हराएको छ सायद
आर्तनादलाई मेरो
कहिले समाजले, कहिले जुलुसले
कहिले सामयिक घटनाले
विवेचना गर्न नसकेर
अल्मल्याइदिएको छ ।

यस्तो अवस्थामा जो कोही पनि
निरुपाय छट्पटिन सक्छ, कहालिन सक्छ
तर, मथ्न पनि सक्छ
आफ्नो शेष ऊर्जालाई मस्तिष्कभरि ।
आज त्यही सम्झेर
म मथिरहेछु मस्तिष्क
यातना बिर्सेर, पीडा बिर्सेर
टुङ्गोको तस्बिर हातमा च्यापेर
एउटा परिवर्तित मार्ग रोजेर
अनुहारभरि इन्द्रेनी बुनेर, उनेर, पोतेर ।

– नयाँसडक, ७ मे १९८७

Baidyanath Upadhyaya – Drishya

वैद्यनाथ उपाध्याय – दृश्य

मेरै पीडाहरूको
समागमले
प्रगाढ छ यो रात!
मेरो वश चल्दथ्यो भने
म सूर्य झूल्काई दिन्थें
त्यो कालो पर्दा जस्तो रात
म च्यातेर मिल्काई दिन्थें।
सँधैं
केही छुटीरहेछ
केही जुटीरहेछ
जीवनको क्रम..
मेरो बौद्धिक सीमादेखि पर
केही घटिरहेछ निरन्तर
भौतिक लालसाको विस्तारमा
खुम्चिएको छ आकाश
भोगवादको प्रवल्यले
डगमगाएको छ यो धरती
संकटग्रस्त हिमाल
वन-सम्पदाहरू
निद्राग्रस्तहरूको सपनाको
दैल्हो चियाई
शरण माँगिरहेछन
थरि थरिका
मानव अत्याचारले
पीडित
नदी-नालाहरू
आफ्नै अस्तित्वको
तलाशमा
काल्लिंदैं बगिरहेछन
अँध्यारो यो कैनवासभित्र
म यो कुन दृश्य
प्रत्यक्ष गरिरहेछु!

Tirtha Yatri Paudel – Maane Danda Chautariko (Nepali Gajal)

तिर्थ ‘यात्री’ पौडेल – माने डांडा चौतारीको

माने डांडा चौतारीको बर याद आयो
दुई खोलीको बीचको मेरो घर याद आयो

बर्खा लाग्यो खोला नाला बौलाएरे भन्छन्,
पैरो जादा घर छोडेको डर याद आयो

बन पाखा भीर पहरा खोल्सा खोल्सिहरुमा,
घर छाउन शीला खोज्या खर याद आयो

बासी खादै दिन काट्दा बिदेशमा आज,
खुशी साट्दै मिलि खा’को दर याद आयो ॥

लखनपुर ३ झापा,नेपाल
हाल:बहराइन