Suyarma Rai – Oh Buddha

सुयर्मा राई – ओ बुद्ध … !

एक भीड मान्छेहरू
भर्खरै युद्धपोतबाट फर्केर
एकजोडा परेवा
उडाए आकाशमाथि- भुर्ररर
शान्तिको नाममा ।

म सधैंजसो देख्ने गर्छु
मान्छेहरू जीवनको लामोखण्ड
गोलावारुदमा बिताएर
एकनिमेष फूर्सद
परेवा उडाउन भीड गर्छन् यो ठाउँमा ।

लामो कालदेखि
मैले यो भीड
देख्दैभोग्दै र, यी मान्छेहरू पढ्दै आएको छु ।
एक क्रुर
तर उदासीन-आँखा ।
एक कठोर
तर नैराश्य-आत्मा ।
एक हिंस्रक
तर दिशाहीन-मानवता ।
सहसा बोकेर जसै पाइला राख्छन्-यो ठाउँमा ।
र्फकदा उज्यालो चेहरामा
असीम खुशी र चरम आनन्द
पोल्टाएर र्फकन्छन- शान्ति अनुभूतको मृदु मुस्कान लिएर ।

ओ बुद्ध…. ।
हरेक अमानव र क्रुर आत्माहरू
तिमीलाई एकजोडा परेवा उडाएकै भरमा
शान्ति प्राप्त गर्न सक्छ यदि भने
के भो र ? तिम्रो नाममा
हजारौं परेवा उडाउन तत्पर छु – आकाशमा
म एक्लै- ती सम्पूर्ण मान्छेहरूको यादमा ।